चीन
भ्रमणको आर्थिक महत्व
गएको मङ्गलवारदेखि प्रम केपी ओलीको चीन भ्रमण
प्रारम्भ भएको छ। भ्रमणको प्रमुख उद्देश्य सुस्पष्ट न पारिए पनि यो भ्रमण केवल
परम्परागत भ्रमण,
सद्भावना
भ्रमण मात्र हो भन्नमा कुनै द्विविधा हुनुपर्ने देखिंदैन। जसरी केही समय पूर्व ओलीले
भारतको सद्भावना भ्रमण गरे, उनको चीनको यो भ्रमण पनि केवल सद्भावना भ्रमण हो। र सद्भावना भ्रमणमा
नै सीमित रहने छ। सद्भावना भ्रमण भएकोले ओलीले यति ठूलो टोली चीन भ्रमणमा
लग्नुपर्ने कुनै आवश्यकता थिएन। २०–२५ जना विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो
साथमा लगेको भए हुने थियो। स्मरण रहोस्, ओली १ सय २० जना सम्मिलित टोलीको नेतृत्व गर्दे चीन पुगेका छन्।
यति ठूलो टोली साथमा लिएर प्रम केपी ओली किन
चीन पुगे त? यो प्रश्न जटिल नभएकोले यसको उत्तर पनि
जटिल छैन। जसरी नेपाल तपाईंहरूको घनिष्ठ मित्र हो, तपाईंहरूको चिन्ता र चाँसोलाई नेपालले सर्वाधिक महत्वपूर्ण प्राथमिकतामा राखेको छ भन्ने कुरा प्रदर्शित गर्न ठूलो टोली
लिएर केही समय पूर्व ओली भारत पुगेका थिए, त्यसैगरी दक्षिण एसियाको राजनैतिक शक्ति सन्तुलनमा नेपाल तपाईंहरूका
लागि भरपर्दो मित्र मात्र होइन, एउटा ‘रणनीतिक साझेदार’ पनि
हो भन्ने कुरा प्रदर्शित गर्न ओली दलबलका साथ चीन पुगेका हुन्। आफू स्वयं कम्युनिस्ट रहेको तथा कम्युनिस्ट
सरकारको नेतृत्वसमेत गरेकोले आफ्नो कार्यकालमा कम्युनिस्ट चीनसँग नेपालको
परम्परागत सम्बन्ध झन् बलियो र विश्वासिलो हुने कुरा पनि चीनलाई प्रदर्शित गर्ने
उद्देश्य ओलीको रहेको प्रस्ट हुन्छ। एमालेको स्थिति नेपालमा बलियो पार्न चीनले
एमालेलाई सहयोग गरोस् भन्ने अपेक्षा पनि ओलीले गरेका छन्। चीन अहिले दक्षिण एसिया
मात्र होइन, विश्वमा नै एउटा नेतृत्ववादी शक्ति
राष्ट्रको रूपमा स्थापित हुन खोजिरहेको छ, अमेरिकाझैं। यस्तो बेला उसलाई त्यस्तो राजनीतिक साझेदार चाहिएको छ, जसले उसको स्वरमा स्वर मिलाएर कराओस्, स्याल कराएझैं। कम्युनिस्ट (ओली) सरकार
चीनलाई नेपाल चीनको भरपर्दो साझेदार रहेको तथ्य आश्वस्त पार्न चाहन्छ।
जसरी ओलीको भारत भ्रमण एक सद्भाव भ्रमण वा
राजनैतिक भ्रमण थियो, उनको
चीनको यो भ्रमण पनि केवल सद्भाव वा राजनीतिक भ्रमण हो। उनको यो भ्रमणलाई आर्थिक महत्वको भ्रमण मान्ने आधारहरू अहिलेसम्म देखिएको छैन। भ्रमणपश्चात् वा
अन्तिम समयमा के कस्ता सम्झौताहरू हुनेछन्, त्यसबाट केही अनुमान गर्न सकिए पनि हाललाई चीन भ्रमणको आर्थिक महत्को
सङ्केत कतै देखिएको छैन। हुनत, स्पष्ट रूपमा भन्ने हो भने चीनसँग नेपालले आर्थिक (व्यापारिक)
फाइदाहरू लिन असामान्य गृहकार्य नै गर्नुपर्छ । सामान्य गृहकार्यले पुग्दैन। चीन
पक्का ‘बनिया’ देश हो, जसले
नेपालमा लगानी केवल फाइदा हुने स्थिति छ भने मात्र गर्छ। मैत्री वा भावनाको भरमा
गर्दैन। चीनले अहिले ‘बनिया’ रूप धारण गरेको स्थितिमा चीनबाट यही अपेक्षा गर्न
सकिन्छ, चीनले मञ्चमा जस्तै कुरा गरे
तापनि।
हुनत केही समय पूर्व ओलीले गरेको भारत भ्रमण
पनि आर्थिक महत्वको थिएन। केवल राजनैतिक महत्वको थियो। मात्र नेपालले भारतलाई पाइला पाइलामा साथ दिनेछ भन्ने कुरा
प्रदर्शित गर्नुरहेको थियो। भ्रमणको उद्देश्य त्यस्तो रहेकोले नै ओलीको भारत
भ्रमणको समयमा भारतसँग बढ्दो व्यापार घाटा नेपालले कसरी कम पार्नेबारे नेपाली
पक्षले गम्भीर कुरा राख्न सकेन, तातो छलफल वा गहकिलो विचार विमर्श गर्न सकेन। त्यति मात्र होइन, भारतसँग बढ्दो व्यापार घाटा कम पार्न
यी विभिन्न तरिकाहरू प्रयोग गर्न सकिन्छ भन्ने तथ्यहरू भारतलाई देखाउन नेपाली
पक्षसँग ठोस योजना पनि थिएन। कस्तो अचम्म! भारतसँग चुलिंदै गएको व्यापार घाटा कसरी
कम पार्ने, भारतप्रति बढ्दै गएको आर्थिक
निर्भरतालाई कसरी कम गर्ने, नेपाल भारतको एपउटा सेटेलाइट अर्थ व्यवस्था हुन थालेको स्थिति
नियन्त्रण कसरी गर्नेबारे भारत भ्रमणको समयमा नेपाली पक्षले जोडदार किसिमले आवाज
उठाउनुपर्दथ्थो। तर उठाएन। तरिका र योजनाहरू देखाउनुपर्दथ्यो, सकेन।
दुःखद पक्ष के छ भने नेपालबाट हुने कुनै पनि
उच्चस्तरीय विदेश भ्रमणमा नेपाली पक्षले जहिले पनि त्यहाँ (विदेश) पुगेर नेपालका
लागि के के आर्थिक सहयोग माग्ने वा हात पसार्ने काममा मात्र बढी जोड दिएको पाइन्छ।
नेपाल जहिले पनि विदेश जाँदा ‘याचक’ भएर पुगेको छ। दाताको मुख ताकेको छ। यो स्थिति
कहिलेसम्म कायम राख्ने?
नेपालले अब आफ्नो आर्थिक विकास स्वयं
गर्नुपर्छ। आफ्नै स्रोत र साधनहरूको प्रयोग गर्नुपर्छ। सम्भावना प्रशस्त छ।
स्रोतहरू प्रशस्त छन्। केवल इच्छाशक्ति र इमानदारी अनि मेलमिलापको खाँचो छ।
यथार्थमा भन्ने हो भने नेपालले परम्परागत
किसिमको व्यापार न भारतसँग, न चीनसँग गरेरे कुनै आर्थिक फाइदा प्राप्त गर्न सक्छ। उच्च प्रविधि र
कुशल व्यवस्थापनको प्रयोग गरेर यी दुवै राष्ट्रहरूले ज्यादै सस्तोमा वस्तु वा सेवा
उत्पादन गरिरहेका छन्। र संसारभरिमा नै आफ्ना वस्तु सस्तोमा बिक्री गर्न सफल भएका
छन्। यस्तो स्थितिमा नेपालले चीन र भारतमा उत्पादन हुन नसक्ने, उत्पादन हुन सके पनि ज्यादै महँगो हुने
किसिमका वस्तुहरू उत्पादन गरेर मात्र ती राष्ट्रहरूमा बिक्री गर्न सके फाइदा हुने
देखिन्छ। चीन र भारत, दुवैले
उत्पादनका विभिन्न क्षेत्रहरूमा ‘इकोनोमी अफ स्केल’ (Economy of Scale) प्राप्त गरेको ले ती राष्ट्रहरूलाई
सामान्य वस्तु बिक्री गरेर नेपालले आर्थिक फाइदा गर्न सक्ने सपना नदेखे हुन्छ। यो
सपना देखेको हुनाले नै भारतसँग नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपरेको हो।
नेपालले केवल दुई परिस्थिति रहेका वस्तु वा
सेवाका उत्पादनका क्षेत्रहरू रोजेर त्यस क्षेत्रका वस्तु वा सेवाहरू उत्पादन गरेर
मात्र भारत वा चीनलाई बिक्री गर्नु फाइदा हुन सक्ने देखिन्छ।
ती दुई परिस्थितिहरू हुन: १)
प्रतिस्पर्धात्मक लाभ (Competitive Advantage) २) पूर्ण लाभ (Absolute
Advantage)।
प्रतिस्पर्धात्मक लाभ– प्रतिस्पर्धात्मक लाभ
त्यो स्थिति हो जस अन्तर्गत कुनै देश वा कम्पनीले आफ्ना प्रतिस्पर्धीहरू भन्दा
सस्तोमा प्रतिस्पर्धीहरू सरहको वस्तु वा सेवा उत्पादन गर्न सक्छ। यो अवस्थमा
कम्पनीले, आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा, विभिन्न किसिमका उत्पादन एवं बिक्री
खर्च उच्च बिन्दुमा नियन्त्रण गर्न सकेको हुन्छ। र यी कारणहरूले गर्दा
प्रतिस्पर्धीहरू भन्दा सस्तोमा बिक्री गरेर बढी मुनाफा गर्न सक्षम भएको हुन्छ।
चीनले अहिले उत्पादनका विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न
सकेको छ। अमेरिकाले यो लाभ पचास साठ्ठी वर्ष पहिले नै पाप्त गरिसकेको थियो।
पूर्ण लाभ– पूर्ण लाभ कुनै मुलुक वा कम्पनीले
त्यो अवस्थामा प्राप्त गर्न सक्छ जब त्यसले प्रतिइकाइ सस्तोमा उत्पादन गर्न सक्छ।
यो अवस्थामा कुनै मुलुक वा कम्पनीले उत्पादनका साधनहरू (भूमि, श्रम, पूँजी, सङ्गठन)
कम प्रयोग गरेर ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्न सक्छ र प्रतिस्पर्धीहरूभन्दा
सस्तोमा बिक्री गरेर बढी मुनाफा प्राप्त गर्न सक्छ। जापान, जर्मनी, अमेरिका आदि उच्च प्रविधि प्रयोग गर्ने मुलुकले कार उत्पादनमा पूर्ण
लाभ प्राप्त गरेका छन्।
नेपालले भारत र चीनबाट पर्यटनको क्षेत्रमा
भने राम्रो व्यापारिक लाभ प्राप्त गर्न सक्छ। चीन र भारत अहिले पर्यटनमा राम्रो
खर्च गर्ने राष्ट्रहरूमा पर्दछन्। चीन र भारतका ठूलो सङ्ख्यामा रहेका, मध्यमवर्गीय परिवारसँग राम्रो आम्दानी
छ र उनीहरूले घुमफिरमा बढी जोड दिन थालेका छन्। उनीहरूको जीवनशैलीमा आएको
परिवर्तनले उनीहरूलाई सैरसपाटामा जान प्रेरित गरिरहेको छ।
नेपालले यो स्थिति वा
‘मारकेटिंग अपरचुनिटी’ लाई प्रयोग गर्ने योजना तत्काल बनाउन आवश्यक छ।
चीन भ्रमणको समय प्रम ओलीले नेपालमा कसरी चिनियाँ
पर्यटकहरूको सङ्ख्या वृद्धि गर्नेबारे वार्ता केन्द्रित गरे हुन्छ। चिनियाँ
यात्रुहरूलाई आउन सजिलो हुने गरी बार्हबिसे वा धुन्चेतिर
अन्तर्राष्ट्रियस्तरको विमान स्थल निर्माण गर्न चिनियाँ नीजी कम्पनीहरूलाई ओलीले
आग्रह गरे हुन्छ। ती स्थानमा विमान स्थल निर्माण हुने हो भने देश र विदेशमा रहेका
नेपालीहरू स्वतः लगानी गर्न तयार हुनेछन्। नेपालमा अहिले पूँजीको कमी छैन।
पर्याप्त मात्रा छ। कमी छ भने केवल एउटा स्पष्ट लगानी नीतिको, दीर्घकालिन योजनाको।
विश्वराज
अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित Friday, June 22, 2018
No comments:
Post a Comment