सफलताका सुत्रहरू
अशल व्यक्तिहरूको
संघत
सुत्र १
मानव एक सामाजिक
प्राणी हो। स्वस्थ्य किसिमले बाँच्न मानिसलाई सामाज चाहिन्छ। जसरी चराहरू एक्लै
आकासमा उडेको बिरलै देखिन्छ त्यसैगरी मानिस पनि एक्लै बसेको बिरलै देखिन्छ। चराहरू
झुन्डमा उडे (बसे) झै मानवहरू पनि मिलेर एक अर्काको नजिक भएर बस्न रूचाउँछन्। यस
अर्थमा समाज मानवको रहर मात्र होइन बाध्यता पनि हो।
समाज मानवको बाध्यता
भएकोले एक व्यक्तिले आफ्नो जीवनकालभरिमा अनेक व्यक्तिहरू सँग सम्पर्क गर्छ। अनेक
व्यक्तिहरूसँग सम्बन्ध कायम गर्छ। संघत गर्छ।
यसरी संघत गर्दा भने
कुनै पनि व्यक्तिले के कुरामा विचार पुर्याउनु पर्दछ भने उसले संघत गरिरहेका वा
गर्ने व्यक्तिहरू असल स्वभावका छन वा छैनन? कुनै पनि व्यक्ति असल छ वा छैन भन्ने
कुरा उसको विचार र व्यवहारबाट थाहा पाउन सकिन्छ। विचार द्वारा पनि व्यक्तिहरूको
स्वभावको अध्ययन, विश्लेषण एवं मूल्यांकन गर्न सकिन्छ तर कुनै पनि व्यक्तिको उसको
विचारद्वारा मात्र उसको मुल्यांकन गर्दा उसको विचारहरूको शूक्ष्म किसिमले अध्ययन
गर्नु पर्दछ। किनभने विचारद्वारा मात्र व्यक्तिहरूको मूल्यांकन गर्दा कुनै
व्यक्तिले ठूला ठूला कुराहरू गरेर आफूलाई असल विचारको देखाउन सक्छ। त्यसकारण
व्यक्तिको सही पहिचान उसको व्यवहारद्वारा हुन्छ। व्यक्ति कति असल र विवेकी छ भन्ने
तथ्य उसको व्यवहारद्वारा प्रष्ट हुन्छ।
व्यक्ति कति असल छ
भन्ने कुराको पहिचान गर्ने उत्तम तरिका उसको कारोवारी व्यवहारद्वारा उसको परीक्षण
गर्नु हो। कारोबार गर्दा व्यक्तिले आफ्नो भद्रताको स्पष्ट गरी पहिचान दिन्छ।
कारोबार गर्दा, त्यस कारोबारबाट लाभ र हानी उत्पन्न हुने स्थित छ, र त्यो
करोबारबाट त्यो व्यक्तिले लाभ पाउने वा हानी बेहोर्ने स्थिति छ भने त्यस किसिमको
व्यवहारले उक्त व्यक्तिको परीक्षण कसीले सुनको गरेझै गरि दिन्छ। अझै आर्थिक
व्यवहारद्वारा सरल र प्रभावकारी किसिमले व्यक्तिहरूको पहिचान हुन्छ। उदाहरणका लागि
कृपण वा कंजुस व्यक्तिहरू स्वार्थी प्रवृतिका हुन्छन। यीनीहरूले केवल आफ्नो
स्वार्थ पूर्ति गर्न मात्र जानेका हुन्छन। कृपणताको मात्रामा जति वृद्धि हुँदै
जान्छ उक्त व्यक्तिको स्वार्थीपनाको मात्रा पनि सोही अनुसार वृद्धि हुन्छ। एक अति
नै कृपण व्यक्ति घोर स्वार्थी हुन सक्छ। यस किसिमका स्वार्थी व्यक्तहरू ज्यादै नै
डर लाग्दा हुन्छन किनभने यिनीहरूले आफ्नो सानो लाभ वा हितका लागि अरुलाई ठूलो
क्षति पुर्याउन सक्छन। कृपण व्यक्तिहरूबाट समाज विकासको ज्यादै कम मात्र अपेक्षा
गर्न सकिन्छ।
असल व्यक्तिहरूसँग
उठ बस गर्द उनीहरूको भद्र व्यवहारबाट धेरै
असल कुराहरू सिक्न सकिन्छ। असल व्यक्तिहरूले आफूलाई संकट परेको बेला त्यस
किसिमको संकटबाट पार पाउन सल्लाह पनि दिन्छन। त्यसकारण असल व्यक्तिहरू भनेको औषधी
जस्ता हुन। यिनीहरू समत्ति सरह हुन, जो विपत्तिको बेलामा काम लाग्छन। त्यसकारण
यिनीहरूलाई औषधी जस्तो महत्व दिएर साँचेर राख्नु पर्दछ। निष्कर्षमा, सफल हुनका
लागि असल व्यक्तिहरूको संघत गर्न आवश्यक छ।
यहाँ एक उदाहरण
प्रस्तुत गरौ। २०३७ सालको घटना हो। त्यसबेला म त्रिभुवन अन्तर्राष्ट्रिय विमान
स्थल कार्यालय, काठमाडौमा ‘राजस्व सुब्बा’ पदमा जागिरे थिएँ। पद अस्थाइ थियो। र त्यो
जागिर मैले कलेजको अध्ययन खर्च जुटाउन का लागि गर्नु परेको थियो। विहान बिकम पढ्न
काठमाडौ स्थित सरस्वती कलेज जाने गर्थ्ये। विहान पढ्न जानु, कक्षा सकिए पछि पुरानो
वानेश्वरस्थित डेरामा खान खान आउनु, अनि पुन: जागिरका लागि विमानस्थल पुग्नु मेरो
लागि भ्याइ न भ्याइ भइ रहेको थियो। कलेजको पढाइमा मैले राम्रो गर्न सकिरहेको थिए।
यस्तैमा मलाई द्विधाले सताउन थाल्यो- पढाइ बन्द गरेर केवल जागिर मात्र गर्ने वा
जागिर छाडे पढाइमा निरन्तरता दिने। धेरैले मलाई जागिरलाई निरन्तरता दिन सल्लाह
दिए। उनीहरूको तर्क थियो, “जागिर पाउन गार्हो हुन्छ। तर पढ्न त जहिले पनि सकिन्छ।”
म निकै अलमलमा परे। यसै क्रममा मेरो भेट संयोगले रमेश भट्टराई, जो पछि वित्तीय
क्षेत्रमा एक विशेषज्ञको रुपमा स्थापित हुनु भयो, सँग हुन पुग्यो। उहाँलाई मैले
मेरो द्विविधा विस्तृतमा सुनाए। भट्टराईले मलाई प्रष्ट गरी भन्नु भयो, “शिक्षा र
योग्यता व्यक्तिको पूँजी हो। यो पूँजीदवारा जुन बेला पनि व्यवसाय (जागिर प्राप्त)
गर्न सकिन्छ। त्यसकारण पढाइलाई नै निरन्तरता देउ।”
भट्टराईको सल्लाहमा
मैले गुरू-तौल र साहस दुबै पाएँ। उहाँको सल्लाह मान्दै मैले खाइ रहेको जागिर छाडे।
बिकम पढ्न वीरगंज आए। हाम्रो घर वीरगंजमा थियो। तर हाम्रो आर्थिक स्थिति ज्यादै
नाजुक थियो। कसैगरी बिकमको पढाइ वीरगंजमा समाप्त गरे। पढाइलाई मैले जहिले पनि
उत्तम विकल्प र प्रमुख प्राथमिकतामा राखे।
पछि त्येही पढाईले गर्दा मैले अमेरिका आउने मौका पाएँ। अमेरिका आएर विभिन्न
कलेजहरूमा अध्यापन गर्न मौका समेत पनि पाएँ। नेपालमा नै पनि, विभिन्न कलेजहरूमा
करिब १५ वर्ष अध्यापन गरे। तर मैले जागिरलाई प्राथमिकता दिएर, पढाइलाई महत्व न
दिएको भए, रमेश भट्टराईको सल्लाह नमानेको भए, मेरो जीवनको नक्सा बेग्लै हुन्थ्यो।
होला। रमेश भट्टराई र उनी जस्ता अनेक असल व्यक्तिहरूको संघतले मलाई असल
व्यक्तिहरूको संघत कति महत्वपूर्ण हुन्छ भन्ने यथार्थ बलियो गरी बोध गरायो।
कतिपय खराब
व्यक्तिहरूको संघतमा परेर धेरै पटक नराम्रो बाटोमा पनि म अल्मलिएको छु। जीवनका
केही महत्वपूर्ण क्षण बरवाद पनि गरेको छु। तर समयमा नै उनीहरूको संघत परित्याग
गरेकोले जोगिएको छु। माथिकै प्रशङ्गमा, जागिर गर्ने वा पढाइ गर्ने भनी म अलमलमा
परेको बेला उचति सल्लाह माग्दा कतिपयले तँ कमजोर, सहि निर्णय गर्न नसक्ने
हुत्तिहारा भनी भन्दै मेरो आलोचना मात्र गरेका थिएनन्, पाएको जागरि छाडेकोमा मूर्ख
समेत पनि भनेका थिए।
मेरो एक दाजुले मलाई
यस्तो पनि भन्नु भएको थियो, “तँलै जीवनमा केही गर्न सक्छस जस्तो छैन। तँ
हुत्तिहारा होस। बरू (काठमाडौबाट) जा र गाउँ (रौतहट जिल्लाको भवानीपुर) मा गएर
किराना पसल खोल।”
असल व्यक्तिहरू
भनेको रूख जस्तो हुन जसले आफू घाममा पोलिएर भए पनि अरूलाई छाहारी दिन्छन। र खराब
व्यक्तिहरू भनेको आगो जस्तो हुन जो स्वयं पनि जल्छन र अरूलाई पनि जलाएर नष्ट
पार्छन।
असल व्यक्तिहरू खोजि
खोजि उनीहरूसँग संघत गर्नु पर्छ। असल व्यक्तिहरू चन्दन हुन जो स्वयं पनि सुगन्धित
हुन्छन र अरूलाई पनि सुगन्धित तुल्याउँछन।
(क) असल व्यक्तिको
मानक के हो?
असल व्यक्तिमा यी
स्वभावहरू देख्न सकिन्छ।
१ असल व्यक्तिहरू
निष्पक्ष हुन्छन। आफ्नो स्वार्थ पूर्तिका लागि कसैको पक्ष लिने गर्दैनन।
२ असल व्यक्तिहरूमा
लोभ, लालच, छट्टुपना हुँदैन।
३ असल व्यक्तिहरूले
केवल आफ्नो फाइदा मात्र सोंच्दैनन।
४ असल व्यक्तिहरू
देश र समाजका लागि पनि बाँचेका हुन्छन।
५ असल व्यक्तिहरू
सहयोगी स्वभावका हुन्छन।
महात्मा गाँधी, गौतम
बुद्ध, मार्टिन लुथर किंग, नेल्सन मन्डेला आदि असल व्यक्तिहरू थिए जो समाजका लागि बाँचेका
थिए। महात्मा गाँधी र मार्टिन लुथर किंगले समाजको लागि आफ्नो ज्यान नै पनि दिएका
थिए।
No comments:
Post a Comment