Wikipedia

Search results

Monday, June 11, 2018

The Formulas of Success Part 7


नराम्रो अनुभवबाट प्रेरित हुनु

सुत्र ७

यो कारोबारी जिन्दगानीमा कुनै पनि व्यक्ति स्वेच्छा र बाध्यता दुबै किसिमको स्थितिबाट तानिएर विभिन्न व्यक्तिहरूको सम्पर्कमा आउँछ। उसको सम्पर्कमा आउने सबै व्यक्तिहरू सुसंस्कृत, असल र दयालु स्वभावका हुन सक्दैनन्। केही तुच्छ किसिमका हुन्छन र यी तुच्छ किसिमका व्यक्तिहरूले व्यवहारको क्रममा मन दु:ख्ने वा कसैको स्वाभिमानलाई मर्माहित तुल्याइ दिने किसिमका वचनहरू वा होच्याउने किसिमका कुराहरू गर्छन। त्यस किसिमका व्यक्तिहरूले गर्ने ती होच्याउने कुरा सुनेर उनीहरूमाथि तत्काल आक्रामक हुन भन्दा उनीहरूको त्यो तुच्छ कुराहरूलाई आफ्नो उद्देश्य पूरा गर्न उत्प्रेरित (Motivator) गर्ने तत्वको रूपमा प्रयोग गर्नु पर्छ। उनीहरूले भनेका तुच्छ वचनलाई मनको डायरीमा कहिले पनि नमेटिने गरी लेखेर राख्नु पर्छ। मनको डायरीमा लेखिएको त्यस किसिमका तितो अनुभवहरू बेलाबेलामा पढ्ने (मनन गर्ने) गर्नु पर्छ। र आफ्नो निर्धारित लक्ष्य पूरा गर्न निरन्तर अगाडि बढ्नु पर्छ।

यो प्रशङ्गलाई अझै प्रष्ट पारौ। यदि तपाइँलाई पैसाको अति खाँचो परेर कसैसँग पैसा पैंचो माग्न जानु भयो। पैसा दिने व्यक्तिले पैसा त दिएन नै, उल्टो “तिमी कस्तो कङ्गाल। जहिले पनि पैसाको खाँचो भयो भन्दै आइ पुग्छौ“ भन्यो भने उसले तपाइँलाई कंगाल भन्दा तपाइँले उसलाई कुट्ने वा तपाइँले पनि उसलाई क्षुद्र वचन लगाउनु उपयुक्त हुँदैन। बरू उसले भनेको त्यो वचन “कंगाल” लाई तपाइँले आफूलाई सफल हुन प्रेरित गर्ने एक सार्थक तत्वको रूपमा लिनु पर्दछ।
एक अर्को सन्दर्भलाई जोड्न चाहन्छु। यो घटना २०३७ सालतिरको हो। नातामा दाजु पर्ने मेरो दुई अग्रजहरूसँग म कुरा गरि रहेको थिएँ। कुराकानी चलिरहँदा मैले भने, “मलाई प्रोफेसर” बन्ने ठूलो इच्छा छ, दाइ…………….।“

मेरो यो भनाइ सुनेर मेरा ती दाजुहरू अति जोडले र लामो समयसम्म हाँस्नु भयो। एक अर्कालाई ब्यग्यात्मक दृष्टिले हेर्नु भयो पनि। उहाँहरूको हाँसोले प्रष्ट हुन्थ्यो उहाँहरू मेरो उपहास गर्दै हुनु हुन्छ भन्ने यथार्थ। गहिरिएर अर्थ लगाउने हो भने उहाँहरूले ‘बस्नु छ झोपडीमा देख्नु छ महलको ख्वाव’ भनेर मेरो उपहास गर्नु भएको थियो।

त्यसबेला म विहान, काठमाडौ स्थित सरस्वती क्याम्पसमा अध्ययन गर्थे भने दिउँसो त्रिभुवन  अन्तरार्ष्ट्रिय विमानस्थल कार्यालयको राजस्व शाखामा राजस्व सुब्बाको रूपमा काम गर्थ्ये। त्यसताका म बीकम पढ्दै थिएँ।

दाजुहरूले गरेको त्यस किसिमक भद्र बेइज्जतिले मलाई उद्देश्य प्राप्ति तिर झन कठोर परिश्रमका साथ अगाडि बढ्न सहयोग पुर्यायो। मलै काठमाडौ स्थित नेपाल कमर्स क्याम्पसबाट एमबीए (बजारशास्त्रमा) गरे।

निर्धारित लक्ष्य प्राप्तिको दिशातर्फ लागिरहँदा, त्यसपछि युनिभर्सिटी अफ लुजियाना (अमेरिका) बाट पुन: एमबीए गरे। नेपालका, पाटन क्याम्पस, ललितपुर नर्सिंग क्याम्पस, नमूना मच्छिन्द्र क्याम्पसमा १५ वर्ष भन्दा बढी अध्यापन गरे।

म अहिले, अमेरिकाको ओक्लहोमा राज्य स्थित ओक्लहोमा सिटी कम्युनिटी कलेजमा अध्यापनरत छु। व्यापार, व्यवस्थापन, बजारशास्त्र विषय आदि अध्यापन गर्छु। यसबाहेक अमेरिकाको नै, लुजियाना राज्य स्थित साउथ लुजियाना कम्युनिटी कलेजमा पनि मैले व्यापार, बजारशास्त्र र व्यवस्थापन विषयहरू अध्यापन गरे। अमेरिकी कलेजहरूमा मैले अध्यापन गरेको पाँच वर्ष भन्दा बढी भयो। खस्किंदो उमेर र परिस्थितिले साथ दिइ रहेको छैन, यदि दिने हो भने युरोपका कलेजहरूमा पनि अध्यापन गर्ने ठूलो रहर छ। विभिन्न कलेजहरूमा अध्यापन गरिरहँदा ती दाईहरूको व्यंगपूर्ण हाँसो अहिले पनि चित्र बनेर मेरो आँखा अगाडि चल्ने गर्दछ।
      
दाइहरूले गरेको उपहासलाई मैले ऊर्जामा रुपान्तरण गरे। त्यसबाट कुप्रेरित भएर आफ्नो लक्ष्य (प्रोफेसर हुने) पुरा गरे। दाइहरूले दिएको नराम्रो अनुभवबाट म उत्प्रेरित नभएको भए म अहिले एक प्रध्यापक हुने थिइन।  

एउटा भनाइ निकै प्रचलित छ। यदि तपाइँलाई कसैले ढुंगाहरू प्रहार गरि रहेको छ भने तपाइँले पनि त्यो ढुंगा प्रहार गर्नेलाई ढुंगा प्रहार नगर्नु होस। बरू ती ढुंगाहरू संकलन गरेर, एक एक टिपेर राख्नु होस। ती ढुंगाहरूको एक पर्खाल बनाउनु होस। र त्यस पर्खाल भित्र बसेर आफ्नो रक्षा गर्नु होस। अनि अव त्यो व्यक्तिलाई ढुंगा प्रहार गर्नु होस जसले प्रारम्भमा तपाइँलाई ढुगां प्रहार गरेको थियो।
खराब अनुभवबाट धेरै फलदायी कुराहरू सिक्न सकिने बारे एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। कथा चाण्यक्कको कालको हो।

(क) यसरी लिए चाणक्यले नराम्रो अनुभवबाट शिक्षा

चाण्यक्यको जन्म-नाम विष्णु गुप्त हो। उनी चणकको पुत्र भएकोले उनलाई चाण्यक्य भनिएको हो। चाण्यक्यलाई कौटिल्य पनि भन्ने गरिन्छ। उनले अर्थ र राजनीतिक व्यवस्थाका कुटिल नीतिहरू निर्माण गरेका हुनाले उनलाई कौटिल्य भनिएको हो। कौटिल्यको जन्म उहिलेको भारतवर्षमा भएको थियो। अहिलेको दक्षिण एशियामा भएको थियो। अहिले भारत भनेर चिनिने क्षेत्र (देश) भित्र त्यसबेला अनेक देशहरू थिए। खासमा भारतको एकीकरण अंग्रेजहरूले गरेका हुन। र यो एकीकरण धेरै पछि भएको हो।

एक पटक एक प्रख्यात राजाको भोजमा सहभागी हुन चाण्यक्य त्यस राजाको राजदरबार पुगे। राजदरबारमा अतिथिहरूका लागि भोजनको व्यवस्था गर्न बनाइएको गृहमा अन्य ब्राह्मणसँग चाण्क्य पनि भोजन गर्दै थिए। सोही समयमा आफ्नो दरबार भित्र अनेक विद्वानहरूको आगमान भएको र उनीहरूले भोजन ग्रहण गर्दै गरेको दृश्य हेर्न राजा त्यहाँ उपस्थित भए। तो गौरवशाली दृश्यलाई राजाले बडो आनन्दपूर्वक अवलोकन गरे अनि हर्षित मात्र भएनन, आफू विदवान एवं प्रतापी राजा भएकोमा गर्व पनि गरे। उनले गर्व गर्नुको मुख्य कारण थियो उनको दरबारमा विद्वानहरूको उपस्थिति हुनु।

भोजन गरि रहेका विद्वानहरू तर्फ लक्षित हुँदै राजाले आफ्नो सहयोगीलाई प्रश्न गरे, “सबै उपस्थित विद्वानहरूलाई मैले चिने तर उहाँलाई चिन्न सकिन। उहाँको परिचय पाउँ।”
राजाले जसको परिचयको माग गरेका थिए, ती चाण्क्य थिए। विद्वताका लागि विश्वविख्यात चाणक्य।

राजाले आफूलाई चिन्न नसक्नुलाई चाण्क्यले आफ्नो बेइज्जतिको घटना (अनुभव) को रुपमा लिए। आफू देशकै ठूलो विद्वान रहेको र सबैले सजिलै उनलाई चिन्नु पर्ने उनको अपेक्षा थियो। देशको राजाले त झनै चिन्नु पर्ने उनको दृढ विश्वास थियो।

आफू बसको स्थानबाट चाणक्य उठे र क्रोधित मुद्रामा प्रस्तुत भए। राजातिर फर्केर चाणक्यले भने, “जुन राजाले आफ्नो देशको विद्वानहरूलाई चिन्न सक्तैन त्यो राजा आफैमा विद्वान होइन। अयोग्य हो। मूर्ख हो। मूर्ख र अयोग्य राजाबाट देश चल्न सक्तैन। र मूर्ख राजाको शासनमा बस्नु मूर्ख हुनु हो। अपमानित हुनु हो।” यति भनेर चाणक्यले बाँधिएको आवस्थमा रहेको आफ्नो शिखा (टुप्पी) खोले अनि फेरि भने, “मेरो यो शिषा यो राजालाई गद्दीच्यूत गरे पछि मात्र मैले बाँध्ने छु।”
चाणक्य दरबारबाट तत्काल बाहिर निस्के। अब चाणक्य राजासँग आफ्नो बेइज्जतिको बदला लिन भौतिरिन थाले। बाटोमा उनले एउटा अचम्मको दृश्य देखे।

(ख) असामान्य दृश्य

कुनै एक स्थानमा दस जना जति बालकहरू “घोडा र घोडचडी” खेल खेल्दै थिए। ती बालकहरू मध्ये केवल एउटा बालक मात्र “घोड सबार” बनेको थियो भने बाँकि सबै बालकहरू घोडा बनि रहेका थिए। अर्थात त्यो एक बालक बाहेक अन्य बालकहरूले आफू घोडा हुने अभिनय रोजेका थिए। पटक पटक यो खेल खेलिरहँदा पनि त्यो बालक घोड सबार हुने र बांकि बालकहरू घोडा हुने क्रम लामो समयसम्म चलिरह्यो। चाण्यक्यले त्यो दृश्य गम्भीरतापूर्वक अवलोकन गरि रहे।
चाणक्यले घोडसवार हुने त्यो बालकमा बौद्धिकता, वीरता र नेतृत्वदायी क्षमता देखे। उनले त्यो बाकललाई आफूसँगै लगे। त्यो बालकलाई युद्ध लगायत अनेक विधाका शिक्षा दिए। विद्वान, एक कुसल योद्धा बनाए, त्यो बालकलाई चाणक्यले।

आफूले शिक्षा दिएको त्यो बालक युवा भएपछि, र हरेक विधामा निपूर्ण भए पछि, चाणक्यले ती युवकको नेतृत्वमा त्यो राजाको दरबारमा आक्रमण गर्न लगाए, जुन राजाले एक भोजमा, भोजनको समयमा,  उनको परिचय सोधेर उनको घोर अपमान गरेका थिए, उनलाई नराम्रो अनुभव दिएका थिए। 

चाणक्यद्वारा पोषित र शिक्षित ती युवकद्वारा राजा पराजित भए। सत्ताच्युत भए। ती युवकलाई चाणक्यले त्यो राज्यको राजा घोषणा गरे। इतिहासमा त्यो युवक नै राजा चन्द्रगुप्त मौर्यको नामले प्रख्यात भए। चन्द्रगुप्त मौर्यको बारेमा ग्रिक साहित्यमा पनि उल्लेख गरिएको पाइन्छ।

(ग) चन्द्रगुप्त मौर्यको छोटो परिचय

चाणक्यको संरक्षण र निर्दैशन पाएका चन्द्रगुप्त मौर्यको शासन काल ३२१-२९७ बीसीई रहेको थियो। उनको शासनकालमा नै ग्रिसबाट एलेक्जेन्डर ग्रेट भारत विजय गर्न भारतीय उपमहाद्विपको उत्तरपश्चिमबाट भारत पुग्न प्रवेश गरेका थिए। तर अलेक्जेन्डरले आफ्नो सो योजना परित्याग गर्नु परेको थियो किनभने उनले भारतको गंगा नदीको समतल भागमा राज गरि रहेका ‘नन्द वंश’ को कठोर प्रतिरोधको सामना गर्नु पर्ने हुन्थ्यो। अलेक्जेन्डर भारत नपसी नै पर्के। चन्द्रगुप्त कालिन भारत वर्ष अति नै समृद्ध भएको थाहा पाएर सम्पत्ति लुट्ने उद्देश्यका साथ अलेक्जेन्डरले भारत प्रवेश गर्ने योजना बनाएका थिए। भारत, इतिहासको परापूर्वकाल देखि नै धनी थियो र उसको सो स्थिति पछि सम्म पनि रह्यो। पछिल्लो समयमा परसिया र हालको इरानबाट नदिर वा नादेर शाह (जन्म १६८८ मृत्यु १७४७) दिल्ली लुट्न मार्च १७३९ भारत पुगेका थिए। दिल्लीमा हजारौको हत्या गरेर उनले ठूलो लुटपाट गरेका थिए। उनको शासनकाल सन् १७३६ देखि १७४७ सम्म रहेको थियो।

चन्द्रगुप्तले राज्यको विस्तार मात्र गरेका थिएन साथै तत्कालिन भारत वर्षलाई धनी पनि पारेका थिए। उनको समयमा नै चाणक्यले व्यवस्थित किसिमले अर्थ शास्त्रको व्याख्या गरेका थिए। उनले गरेका अर्थ तन्त्रसम्बन्धी ती व्याख्याहरू नै पछि “कौटिल्यको अर्थशास्त्र” को नामले प्रख्यात भयो।
भारत वर्षका सम्राट अशोक चन्द्रगुप्त मौर्यका नाती थिए।

राज्यको व्यापक विस्तार गरे पछि चन्द्रगुप्तले राज्यको राजधानी पाटलीपुत्र (हालको पटना) लाई बनाएका थिए।

अनुभवले मानिसलाई धेरै कुरा सिकाउँ छ। प्रत्येक व्यक्तिको पहिलो र अति महत्वपूर्ण गुरू व्यक्तिको आफ्नै अनुभव हो। खराब अनुभवले त व्यक्तिलाई झनै बढी सिकाउँछ।

पूर्वीय संस्कृतले गुरुलाई ज्ञानको स्रोत मान्दछ र गरूको पूजा गर्नु पर्छ भन्ने कुरामा विश्वास गर्छ। 

(घ) नकारात्मक अनुभवबाट सकारात्मक कार्य

एउटी राजकुमारी थिन, जसको नाम थियो विद्धोत्मा। तर्क वितर्क वा वक्तृत्व कलामा निपूर्ण ती राजकुमारीलाई आफ्नो ज्ञानमा अति घमण्ड थियो। उनले आफ्नो राज्य लगायत वरिपरिका अन्य राज्यका कुनै पनि विद्वानलाई आफूसँग भएको ज्ञान चर्चामा विजयी हुन दिएकी थिइनन र सबै उनीसँग सिर झुकाएर बसेका थिए। 

यसै बीच विद्योत्माले घोषण गरिन, “म केवल त्यो युवकसँग मात्र विवाह गर्नेछु जसले मलाई शास्त्रार्थ वा ज्ञान चर्चामा परिजित गर्न सकोस।”

राजकुमारीको घोषणा अनुरूपको  व्यक्ति भेटिन गार्हो भयो। साथै दरबारियाहरूको चिन्ता पनि चुलियो किनभने राजकुमारी भन्दा जानकार व्यक्ति नभेटिएको कारण राजकुमारी अविवाहित हुन स्थिति उत्पन्न भयो।

राजकुमारीको घोषणाबाट पहिलेदेखि अपमानित भएका विदवान एवं दरबारियाहरू राजकुमारीको लागि उपयुक्त वर खोज्न हिंडे। खासमा उनीहरू राजकुमारीको विवाह कुनै मूर्खसँग गराएर राजकुमारीको घमण्ड झार्न चाहन्थे।

वर खोजि रहेकै क्रममा उनीहरूले एउटा अनौठो दृश्य देखे। एक युवक आफू जुन हाँगमा बसेको  थियो त्यो हाँगा नै माथितिरबाट काटिरहेको थियो। अर्थात हाँगा काटिए पछि काट्ने व्यक्ति तल झरेर हात खुट्टा भाँचिने स्थिति थियो।

हाँगा काट्ने त्यो युवक भन्दा ठूलो मूर्ख अन्त कतै खोजेर नपाइनेमा उनीहरू विस्वस्त भए।
हाँगा काट्ने त्यो युवकलाई उनीहरुले भने, “हामी तिम्रो विवाह एक राजकुमारीसँग गराइ दिन्छौ तर तिमीले एक सर्त मान्नु पर्छ। तिमीले केही पनि नबोल्नु केवल इसारा मात्र गर्नु र आफूले भन्ने खोजेको कुराहरू इसारामा नै व्यक्त गर्नु।” युवक दंग पर्दै दबारतिर लागे।  
ती विद्वान र दरबारियाहरूले त्यो युवकलाई लिएर दरबार पुगे। राजकुमारीका लागि हुन सक्ने एक योग्य एवं अति विद्वान वर खोजेर ल्याएको विन्ति राजालाई गरे। राजा प्रशन्न भए। 
त्यो युवक र राजकुमारी आमने सामने गरेर बसे। ज्ञान चर्चा वा शास्त्रार्थ दरबारमा प्रारम्भ भयो। राजकुमारीले त्यो युवकलाई आफ्नो खुला हतकेला देखाइन। राजकुमारीले आफूलाई एक थप्पड हिर्काउ छु भनेको अर्थ ती युवकले लगाउँदै उनले पनि राजकुमारीलाई मुडकी हिर्काउने भन्दै आफनो कसेको मुडकी देखाए।

विद्वानहरूले ती दुई बीच भएको मौन- सम्वादको यसरी अर्थ लगाए। राजकुमारीले ती युवकतिर फर्काएर आफ्नो खुला हत्केला देखाउनुको अर्थ मानिस पाँच इन्द्रियहरूको जोड भन्नु हो। र राजकुमारीको तर्कको जबाफ त्यो युवकले आफ्नो कसिएको मुडी देखाउनुको अर्थ मानिसले पाँच इन्द्रियहरूलाई सदैव नियन्त्रणमा राख्नु पर्छ भनेको हो। राजकुमारी भन्दा विद्वता युवकमा बढी छ। युवक प्रकाण्ड विद्वान छन्।

विद्वानहरूको तर्कबाट राजकुमारी सन्तुष्ट भइन। त्यो युवक निकै ठूलो विद्वान रहेकोमा उनी सहमत भइन। ती युवक र राजकुमारी बीच विवाह भयो। तर विवाह भए लगतै राजकुमारीले ती युवक महा मूर्ख रहेको थाहा पाइन। राजकुमारीले त्यो युवकलाई तिरष्कार गर्न थालिन। अभद्र व्यवहार गर्न थालिन।  

आफू तिरष्कृत भएको थाहा पाएर अब विद्वान भए पछि मात्र घर फर्किने निर्णय पत्नीलाई सुनाउँदै ती युवकले ज्ञानको खोजीमा गृह त्याग गर्दै बहिर्गमन गरे।
वर्षौ पछि, विद्वान भएर, राजकुमारी समक्ष आउँदा ती युवक मूर्खबाट महा कवि कालीदास भइसकेका थिए। महा कवि कालिदासले ठूलो विद्वानको ख्याति आर्जन गरि सकेका थिए।
यसरी महा कवि कालिदासले आफूले पाएको नराम्रो अनुभव (पत्नीको तिरष्कार) लाई आफ्नो सफलताको सिंढीको रुपमा प्रयोग गरे। एक सफल कवि भए। विश्व प्रख्यात भए।

(ङ) कालिदास र उनको प्रशिद्धि

अनुमान गरिए अनुसार सयौं वर्ष (CE-Common Era चौथो देखि पाँचौ सप्ताब्धि बीचमा) पहिले कालिदासले संस्कृत भाषामा अभिज्ञान साकुन्तलम, रघुवंश, मेघदूत, कुमारसम्भव जस्ता उत्कृष्ट विश्व विख्यात साहित्यहरूको रचना गरेका थिए। हाल भारतको मध्यप्रदेशमा रहेको उज्जैन सहरमा कालिदासको जन्म वा बसोबास रहेको थियो। उज्जैन आफ्नो वा कुनै समयमा साहित्य र ज्ञानको थलो मान्ने गरिन्थ्यो। भारतका एक सय सहरहरूलाई “स्मार्ट सिटी” को रूपमा विकास गर्ने भनी मोदी सरकारले घोषणा गरेको छ। ती  एक सय सहरहरू मध्ये उज्जैन पनि एक हो।
कालिदासका सबै रचनाहरू उत्कृष्ट छन। मेघदूत भने रति-प्रेम, रति-सुख वर्णनन् कालागि प्रसिद्ध छ। मेघदूतको रचना गरेर कालिदासले दैहिक र मनोवैज्ञानिक, दुबै किसिमका प्रेम मानव जीवनका महत्वपूर्ण पक्षहरू हुन भनेर देखाइ दिए। आफ्नो समयको ठूलो विद्वान र कवि भएको हुनाले कालिदासलाई महाकवि भनिएको हो। कालिदासले नराम्रो अनुभव नपाएको भए एक मूर्खबाट एक महाकवि हुने थिएनन। कवि कालिदासको कथाबाट नराम्रो अनुभवले हामीलाई धेरै कुरा सिकाउने, सफलताको पथतिर दौडाउने यथार्थ प्रमाणित हुन्छ।
अनुभव हासिल गर्नु पर्छ। अर्थात ज्ञान आर्जन गर्नु पर्छ। ज्ञान जोबाट पनि प्राप्त गर्न सकिन्छ। एक व्यक्तिले मृत्यु नहुनजेलसम्म ज्ञान प्राप्त गरिनै रहन्छ। खराब अनुभवले भने ठूलो ज्ञान दिन्छ। 

(च) दत्तात्रेयका चौबिस गुरूहरू

भनिन्छ पौराणिक कालका दत्तात्रेय (भगवान्) जहिले पनि ज्ञानको खोजिमा हुन्थे। हरेक व्यक्ति, वस्तु वा घटनाबाट केही न केही सिक्न सकिन्छ भन्ने उनको विश्वास थियो। त्यसकारण कुनै पनि कुरालाई सानो वा ठूलो नभनेर केवल त्यसबाट केही सिक्ने प्रत्येक पल दत्तत्रेयको प्रयास रहन्थ्यो। भगवान् विष्णुका २४ औतार मध्येको एक औतार दत्तात्रेयलाई मानिन्छ। ज्ञानको सृजना, महत्व र उपयोग मानव जीवनमा दर्शाउनका लागि नै भगवान् विष्णुले दत्तात्रेयको औतार लिएको (रुप धारण गरेको) विश्वास गरिन्छ।

“बाहिरी स्वरूपको मात्र अवलोकन गरेर त्यसप्रति धारणा नबनाउनु। त्यस भित्र के छ भन्ने कुरा पनि थाहा पाउनु” दत्तात्रेय

दत्तात्रेयका २० गुरूहरू थिए र ती गुरूहरूबाट उनले निम्न कुराहरू सिकेका थिए।

1.    पृथ्वी: सहनसिलता। असल र खराब बीच भिन्नता नगरेर पृथ्वीले सबैलाई आश्रय दिने गरेको छ। व्यक्ति सहनसिल हुनु पर्छ।

2.    वायु: स्वन्त्रता। वायुको यात्रामा असल र खराब कुरा आएता पनि उसले स्वतन्त्र भएर विचरण गर्ने आफ्नो प्रकृतिलाई कायम राखेको छ। व्यक्तिले स्वतन्त्र विचार राख्नु पर्छ।

3.    आकास: प्रभावमुक्तता। बादलले आकासलाई केही क्षणको लागि छेकेता पनि आकास सदैव वादलको प्रभावबाट मुक्त रहन्छ। व्यक्ति खराब कुराको प्रभावबाट मुक्त रहनु पर्छ।

4.    जल: पवित्रता। पानीले जुन सुकै खराब कुरालाई पनि सफा पार्ने कार्य गर्छ। व्यक्तिले अरूलाई पनि असल बनाउनु पर्छ।

5.    अग्नि: जलनशीलता: अग्नीले जस्तो सुकै ठूलो संरचना, बलियो वस्तु आदिलाई जलाएर समाप्त पारि दिन्छ। अग्नीलाई बल्नबाट कसैले पनि रोक्न सक्दैन। व्यक्तिले आफू भित्र रहेको खराब विचारलाई जलाउनु पर्छ।

6.    चन्द्र: परिवर्तन। चन्द्रमामा निरन्तर वृद्धि हुने र ह्रास आउने क्रम जारि रहन्छ। आफूमा निरन्तर परिवर्तन आएमा पनि त्यो परिवर्तनबाट चन्द्रमा प्रभावित हँदैन। व्यक्ति सुख र दु:खमा समान हुनु पर्छ।

7.    सूर्य: हार्दिकता। सूर्यले सबैलाई प्रकाशित तुल्याउँछ। प्रकाशको कारणले नै कुनै वस्तु देख्न सकिन्छ। व्यक्तिले अरूलाई सहयोग गर्नु पर्छ।

8.    पक्षी (परेवा): प्रेम। परेवाको जोडीले एक अर्कालाई अति प्रेम गर्छ। सन्तानलाई पनि उत्तिकै प्रेम गर्छ। नवजात बच्चालाई भाले र पोथी दुबैले पालै पालो हेर्छन। व्यक्तिले प्रेम गर्न सिक्नु पर्छ।

9.    अजिंगर: सन्तुष्टि। अजिंगर धेरै हिंड डुल गर्न सक्तैन र उसको अगाडि जे आउँछ त्येही खारएर सन्तुष्ट रहन्छ। व्यक्तिले हरेक परिस्थितिमा सन्तुष्ट रहन सिक्नु पर्छ। 

10.  मौरी: कुशलता। मौरीले फूलबाट मह झिक्दा फूललाई कुनै पनि किसिमको क्षति पुर्याउँदैन। व्यक्तिले पनि आफ्नो कुशलताको प्रयोग गर्दा अरूलाई क्षति पुर्याउनु हँदैन।

11.  मह काट्ने: दान कर्म। मौरीले कठोर परिश्रम गरेर मह संकलन र भण्डार गर्दछ तर मह काट्नेले मौरीद्वारा संग्रहित सबै मह काटेर लैजान्छ। धन थुपार्नु  हुँदैन। त्यसको भोग केवल अरूले गर्दछ र थुपार्नेले मृत्युको समयमा केवल सम्पत्ति-पीडा मात्र भोग छ। व्यक्तिले त्याग गर्न जान्नु पर्छ। दान पुन गर्नु पर्छ।

12.  पक्षी (सिकारी): त्याग। एक सिकारी चराले आफ्नो चुंचोमा भएको खाने कुरा झारेर आफू भन्दा बलियो चरालाई त्यो खाने कुरा तिर आकर्षित गरेर बलियो चराको आक्रमणबाट जोगिएझै व्यक्तिमा त्याग भाव हुनु पर्दछ। व्यक्तिले खास समयमा आफ्नो सम्पत्ति पनि त्याग्न सक्नु पर्छ।

13.  सागर: स्थिरता। सागरमा न त कहिले बाढी आउँ न त सुक्छ नै। सागर जहिल पनि शान्त र स्थिर रहन्छ। व्यक्ति सम वा विषम परिस्थितिमा पनि स्थिर रहनु पर्छ।

14.  किरा (अग्नि किरा): मुक्ति। लोभ, मोह, प्राप्तिबाट मुक्त रहनु पर्छ। जसरि एक अग्नी किरा  तेज प्रकाशबाट मोहित भएर त्यो प्रकाश छुने क्रममा डढेर मर्छ मानिसले पनि लोभ, मोहमा परेर सुखी जीवन बिताउन पाउँदैन। व्यक्तिले आफूलाई लालचबाट संधै मुक्त राख्नु पर्छ।  
  
15.  हात्ति: भ्रम मुक्ति। हात्ति समात्न जंगल पसेकाहरूले एक ठूलो खाडल तयार पार्छन। त्यस खाडललाई हरियो हाँगा, पात आदिले छोप्छन  र माथि कागज र काठले तयार पारिएको पोथी हात्ती राखि दिन्छन। साथै हाँगा, पातमा पोथी हात्तीको शरीर-सुगन्ध छरि पनि दिन्छन। भाले हात्ती पोथी हात्तीको यौन मोहमा खाडलतिर अग्रसर हुन्छ र समातिएर सदाको लागि अरूको दास हुन्छ। संसारमा पनि यसै गरी चारैतिर भ्रमहरू राखिएका छन्। व्यक्तिले आफूलाई अनेक भ्रमहरूबाट मुक्त राख्नु पर्छ।

16.  मृग: आकर्षण। मृगलाई संगीत निकै मन पर्छ। सिकारीहरूले त्यो थाहा पाएर जंगलभित्र लुकेर कुने स्थानमा संगीत बजाउँछन। संगीतबाट आकर्षित भएर मृग संगीत बजेको स्थानमा पुग्छ। र शिकारीको प्रहारबाट पछि त्यो मृगले मृत्यु वरण गर्छ। यो मनलाई झूठो कुरामा आकर्षित गर्ने कुराहरू धेरै छन। व्यक्तिले आफूलाई झूठो आकर्षणबाट टाढा राख्नु पर्छ।
 
17.  माछा: नियन्त्रण। माछाले आफ्नो लोभी जिब्रोलाई नियन्त्रण गर्न सक्तैन र नया कुरा चाख्ने लोभमा बल्छीमा अल्झिन्छ। यसरी लोभमा परेर माछाले आफ्नो जीवन समाप्त पार्छ। व्यक्तिले अनावश्यक लोभ परित्याग गर्नु पर्छ।

18.  पिङ्गला (नर्तकी): मौक्ष। प्रचीन समयमा पिङ्गला नामकी एक वेश्या थिन जसको काम पुरूषहरूलाई यौन सुख दिएर धन आर्जन गर्नु थियो। साथै आफ्नो यौन इच्छा पनि तृप्त गर्नु थियो। एक पटक पिङ्गलाले ग्राहकको प्रतीक्षा गर्दा गर्दै आधा रात बित्यो। लामो प्रतीक्षा गर्दा पनि न त कुनै ग्राहक नै आयो न त धन नै आर्जन भयो। उनको रति-कामना पनि पूरा भएन। यी सबै कुराबाट विरक्त भएकी पिङ्गलाले त्यो यौन कर्म भोलि देखि नै परित्याग गर्ने निर्णय गरिन। अनि सुत्न गइन। उनलाई राति मन शान्ति सहितको मस्त निद्रा पर्यो। सन्तुष्टि पनि प्राप्त भयो। पिङ्गलाले के अनुभव गरिन भने कुनै पनि कुरा प्रतिको अति कामनाले मानिसको मन अशान्त पार्छ र सुखपूर्वक बाँच्न दिंदैन। धन र यौन सुख पाउने अति कामना परित्याग गरे पछि पिङ्गलाले शान्तिपूर्ण बाँच्ने औसर पाइन। व्यक्तिले ठूलो अपेक्षा, कामना, मोह आदि बाट मोक्ष पाउनु पर्छ।

19.  वालक: मुक्ति। कुनै पनि वालक इर्ष्या, डाहा, क्रोध, घृणा, गुनासो, अहम् भाव, लालच आदिबाट मुक्त हुन्छ। र यस किसिमको मुक्तिले गर्दा नै वालकहरू जहिले पनि हाँसि रहेका हुन्छन वा उनीहरू लाई सहजै हँसाउन सकिन्छ। वालकहरूको जीवन अति नै सुखमय हुन्छ। वालकहरू एक्लै हँदा पनि खेलि रहेका हुन्छ, उमंगका साथ। वालकहरूलमा क्रोध, भय, लोभ आदि नभएकोले नै उनीहरूक जीवन सरल हुन पुग्छ। व्यक्तिले पनि आफ्नो जीवन सरल र सुखमय तुल्याउन लोभ, डाहा, क्रोध आदिबाट मुक्ति पाउनु पर्छ। 

20.  कुमारी: एकान्त। ज्ञानीहरूको लागि एकान्त प्रिय हुन्छ। अर्थात लोभि पापी संसार देखि ज्ञानी व्यक्तिहरूले आफूलाई मुक्त राख्नु पर्छ। धेरै थरिका लोभ, अपेक्षा, लालच आदि साथमा लिएर बाँच्न सकिंदैन किनभने ती कुराहरूले पहिले आफैले द्वन्द गर्छन र जसको मनमा त्यो द्वन्द चलेको छ त्यसलाई पनि सुखी रहन दिंदैनन।

   यस सम्बन्धमा एउट कथा यस्तो छ। एक पटक केही व्यक्तिहरू वधुको खोजमा एक कुमारी कन्याको घरमा पुग्छन तर संयोगले  गर्दा त्यो घरमा ती कन्या बाहेक कोही हुँदैन। ती कन्याले अतिथिहरूको स्वागतार्थ भोजन तयार गर्ने योजना गर्छिन र भान्सामा पुग्छिन। चामलको केही परिकार पकाउने उद्देश्यका साथ ती युवतीले चामल कुट्न (धूलो पार्न) थाल्छिन। चामल कुट्दा उनले लगाएको चुडीबाट ध्वनी आउँछ। चुडीको ध्वनीबाट ती कन्या यो सोंचेर त्रसित हुन्छिन कि अतिथीहरूले उनीहरू अति निर्धन भएको र चामल पनि आफैले कुट्ने सोंचेर उनको परिवारलाई हेला गरुन र उनको विवाह नहोस। यो भयले उनले एउटा हातमा एउटा अर्को हातमा एउटा मात्र राखेर बाँकि सबै चुडी तोडेर फाल्छिनय। तैपनि उनको हातबाट ध्वनी निस्कन्छ। उनले बाँकि ती दुई चुडी पनि तोड छिन। अव ध्वनी आउँदैन र उनले खाना पनि तयार पार्छिन। व्यक्तिले ती युवतीले चुरी फुटाएर फाले झै आफू भित्र रहेका अनेक खराब तत्व (लोभ, क्रोध, इर्ष्या) तोडेर फाल्नु पर्छ।  

21.  सर्प: एकान्त प्रियता। सर्प एक्लै बस्न सक्छ। मानिसले पनि अनेक लोभी पापीको संघत छाडेर एक्लै बस्न सक्नु पर्छ। यसै गरी सर्पले पुरानो छाला परित्याग गरेर नया छाला आफ्नै शरीरबाट उत्पन्न गर्छ। मानिसले पनि पुराना (खराब) बिचार परित्याग गरेर नया (असल) बिचार ग्रहण गर्नु पर्छ। व्यक्तिले एकान्तमा बस्न र खराब कुरा परित्याग गर्नु पर्छ।

22.  तिर बनाउने लोहार: एकाग्रतालोहारले जब तातो फलाम पिट्न थाल्छ उसको ध्यान केवल तातो फलाममा मात्र केन्द्रित हुन्छ। फलामलाई चाहेको आकारमा नल्याएसम्म लोहारले अन्त कतै हेर्दैन। यसबारे एक लोक कथा यस्तो छ: एक पटक एक लोहार धनुषको लागि तिर बनाउँदै थिए। ठिक त्येही समय एक राजाको भव्य सबारी ठूलो लाबा लस्कर हात्ती घोडा, बाजा गाजा सहित त्यो लोहारको छेउबाट गयो। राजाका सेनाहरूले ती लोहारलाई राजाको सबारीको समय किन उठेर राजाको दर्शन (स्वागत) नगरेको भन्दै प्रश्न गर्छन, प्रताडित गर्छन। लोहारले जबाफमा भन्छ, “म तिर बनाउने काममा यति एकाग्र थिएं कि मेरो छेउबाट राजको सबारी चलेको मैले पत्तो पाउन सकिन। लक्षित उदेश्यमा केन्द्रिय भएर सफल हुन व्यक्तिमा एकाग्रता हुन आवश्यक छ। 
   
23.  माकुरा: सृजना। माकुराले आफ्नो लागि घर (जाल) आफैले निर्माण गर्छ। त्यो घरमा बस्छ। रमाउँछ। व्यक्तिमा पनि सृजना गर्ने कला हुन आवश्यक छ।

24.  झुसिल किरा: आत्मकेन्द्रियता। झुसिल किरालाई केवल आफ्नो परिस्थितिको मात्र ज्ञान हुन्छ। जहिल पनि आफैमा केन्द्रित रहन्छ। यसै गरि मानिसले जे जस्तो सोंच्छ उ त्यस्तै हुन्छ। हरदम आफ्नो फाइदाको कुरा गर्ने मानिस स्वार्थी भएझै। व्यक्ति संधै केवल आफ्नो मात्र स्वार्थमा केन्द्रित हुनु हुँदैन।

(छ) गाँधीको अनुभव

नराम्रो अनुभवबाट महात्मा गाँधीले पनि प्रेरण लिएका थिए। एक पटक गाँघी रेलबाट दक्षिण अफ्रिकी सहर प्रिटोरिया जाँदै थिए। उनी पहिलो श्रेणीको डब्बामा बसेका थिए। रेलको एक गोरा कर्मचारीले एक काला व्यक्ति पहिलो श्रेणीमा बसेको स्थिति सहन गर्न सकेन र उसले महात्मा गाँधीलाई रेलबाट तल फालिदियो। एक गोराबाट भएको आफ्नो त्यो घोर जातीय बेइज्जतीबाट गाँधी  रत्ति पनि विचलित भएनन। उनले दक्षीण अफ्रिका छाडेनन। बरू त्यहाँ २१ वर्षसम्म बसेर भारतीय एवं कालाहरूको अधिकारका लागि संघर्ष गरे। भारत फर्के पछि त उनी पूर्ण रूपमा गोराहरूको विरुद्धमा लागे नै। गाँधीले गरेको त्यस किसिमको खराब अनुभवले पनि उनलाई मोहनदास गाँधी बाट महात्मा गाँधी हुन सहयोग पुर्यायो।

   नकारात्मक अनुभव यथार्थमा ज्ञानका स्रोत हुन। सफलताका सिंढीहरू हुन। नराम्रा अनुभवहरूलाई व्यवस्थित गर्ने हो भने तीनले व्यक्तिलाई सफल हुन अवश्य पनि सहयोग पुर्याउँछन। 

No comments:

Post a Comment