नम्र हुनु र नरम
विचार राख्नु
सुत्र १३
“विद्यां ददाति
विनयं, विनयाद् याति
पात्रताम्।” संस्कृतको यो श्लोकले भन्छ, “विद्याले व्यक्तिलाई नम्र बनाउँछ र
नम्रताले व्यक्तिलाई असल पात्र अर्थात असल व्यक्ति बनाउँछ।” यो पङ्क्तिमा उल्लेख
गरिएको विचारले प्रत्येक व्यक्तिका लागि नम्रता कति उयोगी र आवश्यक हुन्छ भन्ने
कुरा दर्शाउँछ।
हरेक सफल व्यक्ति
नम्र र नरम विचारका देखिएका छन्। नम्र स्वभावको हुनलाई कसैले स्वाभिमान नहुन पनि
भन्ने गर्दछन। तर यो भनाई सत्य होइन। नम्र स्वभाव र नरम विचारले मानिसलाई सफलता
प्राप्त गराउनु मात्र होइन महान् पनि तुल्याउँछ। नम्रताको महत्व हाम्रो जीवनमा कति
हुन्छ भन्ने कुरा यहाँ छोटकरीमा दर्शाउन चाहन्छु।
(क) कन्फ्युसियस
छोराको मृत्युले कन्फ्युसियसलाई निकै गलित र दु:खी तुल्याएको थियो। उनको
छोरा झु लिको मृत्यु एक युद्धमा भएको थियो। जीवनमा अन्तिम समयमा, म अब धेरै दिन
बाँच्दिन जस्तो लागे पछि, एक पटक
कन्फ्युसियसले आफ्ना शिष्यहरूलाई एकदमै नजिक बोलाएर भने, “आज म तिमीहरूलाई
एउटा अति नै महत्वपूर्ण शिक्षा दिन्छु। ध्यानपूर्वक सुन्नु र यो शिक्षालाई आफ्नो
जीवनमा प्रयोग गर्नु।” यति भनेर कन्फ्युसियसले आफ्नो मुख खोले र औलाले जिब्रो तिर
देखाए। उनले शिष्यहरूलाई प्रश्न गरे, “तिमीहरूले यो देखेर केही शिक्षा प्राप्त गरेउ।”
शिष्यहरूले आश्चर्य प्रकट गर्दै उनको भनाइ नबुझेको तथ्य सीर हल्लाएर दर्शाए।
कन्फ्युसियसले पुन: मुखतिर औला पुर्याएर सोधे, “मेरो जिब्रो छ?” शिष्यहरूले छ भने।
कन्फ्युसियस पुन: प्रश्न गरे, “अनि दाँतहरू नि?” शिष्यहरूले छैन भने। कन्फ्युसियसले
अर्को पश्न गरे, “यस्तो (जिब्रो रहेको तर दाँत झरेर गएको) किन भएको होला?”
शिष्यहरू जबाब दिन सकेनन। कन्फ्युसियसले भने, “हेर, दाँत स्वभावले कडा थियो,
कडापनाले गर्दा झरेर गयो। दाँतले आफ्नो अस्तित्व चिर काल सम्म राख्न सकेन। तर जिब्रो
नरम छ, नरम भएकोले अहिलेसम्म पनि आफ्नो अस्तित्व कायम राख्न सफल भएको छ। त्यसकारण
जहिले पनि नम्र हुनु। नम्रतले व्यक्तिलाई सफल तुल्याउँ।”
(ख) को थिए
कन्फ्युसियस?
अहिले चीन रहेको
भूभागमा कन्फ्युसियसको जन्म ५५१ बीसी मा भएको थियो। कन्फ्युसियस एक विश्व विख्यात
शिक्षक, दार्शनिक एवं राजनीतिज्ञ थिए। तत्कालीन चीनको हान, तांग र सोंग वंशको
बेलामा उनको शिक्षा र दर्शन राज्यको नीतिको रूपमा प्रयोग भएको थियो। उनको मृत्यु
नोभेम्बर २१, ४७९ (बीसी) मा भएको थियो। कन्फ्युसियसको ख्याति महान दार्शनिकको
रुपमा तत्कालीन चीनमा त फैलिएको थियो नै वर्तमान चीनमा पनि कन्फ्युसियस उत्तिकै
प्रख्यात छन। चीनका केही समदायहरूले कन्फ्युसियसका शिक्षाहरूलाई धर्मको रूपमा
अनुपालन गर्दछन। कन्फ्युसियसका नीति र शिक्षाहरूको पालन अहिले पनि जापान, कोरिया,
भियतनाम र मंगोलियामा गरिन्छ।
“अरूलाई प्रेम
गर्नु” र “जुन कुरा तिम्रो लागि असल छैन त्यो अरूको लागि पनि असल हुँदैन भन्ने
विचार राख्नु” कन्फ्युसियसको सुनौलो नियमको रुपमा अहिले पनि प्रचलित छ। राजनीतिमा,
कन्फ्युसियसले नेताहरूलाई आफ्नो आचरण पवित्र राख भन्थे। उनको शिक्षाले इमान्दर र
नैतिकवान् भएर बाँच्न प्रेरित गर्छ। कन्फ्युसियसले तत्कालीन चीनिया समाज लगायत
विश्वलाई नै इमान्दार भएर बाँच्न प्रेरणा दिए। उनले बाँच्नका “छ कला” आवश्यक हुने
भनेका थिए। ती हुन (१) धनुर्विद्या (२) लिपि वा लेख्न क्षमता (३) गणीतको ज्ञान (४)
संगीतको ज्ञान (५) रथ-चालन सिप (६) धर्मको पालन।
कन्फ्युसियस
भन्थे, “उग्र विचार, कडा सिद्धान्त आदिको आयु लामो हुँदैन। गरम मिजाजले पनि
व्यक्तिहरूलाई असल व्यवहार प्रदर्शित गर्न दिंदैन।”
(ग) नरम स्वभवाका
महात्मा गाँधि
नरम स्वभावका
महात्मा गाँधी अहिंसाका कट्टर समर्थक थिए। अहिंसामाथि उनको विश्वास अडिग थियो।
भारतबाट अंग्रेजहरूलाई हिंसाद्वारा होइन, शान्तिपूर्ण तरिकाले लखेट्नु पर्छ भन्ने
उनको आन्दोलनमा लाखौं भारतीयहरूले उनलाई सक्रिय एवं वैचारिक साथ दिएका थिए। शान्ति
र अहिंसाप्रतिको उनको प्रतिवद्धताको कथा सुनेर मानिसले ‘के गाँधी साँच्चिकै हाड
छालका मानिस थिए?’ भनेर अहिले पनि प्रश्न गर्छन। गाँधीलाई उनको नरम स्वभावका लागि
संसारभरिक मानिसहरूले चिन्दछन।
सरल स्वभावका
महात्मा गाँधी पछिल्लो समयमा र भारतको स्वतन्त्रता आन्दोलनमा लागे पछि केवल एक
धोती मात्र लगाउँथे। एक पटक गाँधी बेलायतको पुगेको बेलामा एक पत्रकारले उनलाई
प्रश्न गरे, “तपाइँ अति नै गरिब हुनु हुन्न। खान लगाउन त पुग्छ नै। तैपनि किन केवल
एउटा धोती मात्र लगाउनु हुन्छ?”
“म एक भारतीय
नागरिक हुँ। आम भारतीय नागरिकहरू यति गरिब छन् कि उनीहरूले केवल एउटा धोती बल्ल
बल्ल खरिद गर्न सक्छन। र म पनि एक आम
भारतीय नागरिक हुँ।”। गान्धीले विनम्रतापूर्वक यस्तो भने। यथार्थमा गाँधी एक
व्यापारिक समुदायका थिए। प्रारम्भमा कानून व्यवसायी रहेका गाँधीलाई खान लगाउन त्यति
ठूलो अभाव थिएन। केवल एउटा धोती मात्र लगाउनु पर्ने स्थिति थिएन।
गाँधी ज्याद नम्र
स्वभावका थिए। उनले सबै धर्मलाई समान किसिमले आदर गर्थ्ये। उनको हत्याको दिन पनि
उनी विभिन्न धर्म अनुसारको सन्ध्या पूजा (आराधना) गरेर फर्कि रहेका थिए। र सोही
समयमा उनको हत्या भएको थियो। गाँधीको हत्या नाथुराम विनायक गोड्सेले ३० जेनुअरी
१९४८ मा गरेका थिए।
दिल्ली स्थित
हालको गाँधी स्मृति र त्यसबेलाको बिड्ला हाउसको परिसरमा गाँधीको हात्या गर्न
गोड्सेले उनीमाथि तिन पटक गोली प्रहार गरेका थिए। गोली लागेर गाँधी ढलेपछि नाथुराम
गोड्सेलाई इंगित गर्दै उनले भनेका थिए रे, “हे ईश्वर! यी (नाथुरामा गोड्से)
अज्ञानी छन्। यिनलाई माफ गरिदिनु।” गाँधीको बिड्ला भवन परिसरमा नै तत्काल मृत्यु
भएको थियो। आफ्नो हत्यारालाई पनि माफी दिन सक्ने गाँधी महान हृद्यका थिए। अति कोमल
हृदयका थिए। गाँधी यति सम्म महान थिए।
महात्मा गाँधीको
जन्म नाम मोहन दास करमचन्द गाँधी हो। उनी भारतको गुजरात राज्यमा २ अक्टोबर १८६९ मा
जन्मेका थिए। बेलायतको लण्डन स्थित इनर टेम्पलबाट कानून-शिक्षा प्राप्त गरेका थिए।
गाँधीको
परिवारलाई नै पनि अहिंसामा अति विश्वास थियो। गाँधीक प्रमुख हत्यारा नाथुराम
गोड्सेलाई अदालत ले ८ नोभेम्बर १९४९ मा मृत्यु दण्डको सजाएँ सुनाए पछि गाँधीका
छोराहरू मनिलाल गाँधी र रामदास गाँधीले गोड्सेको सजाए कम पारिदिन (मृत्यु दण्ड
खारेज गर्न) सरकारलाई अपील गरेका थिए। तर सो अपीललाई तत्कलिन प्रम जवाहरलाई नेहरू,
उपप्रम वल्लभभाइ पटेल र गभर्नर जेनेरल चक्रवर्ती राजागोपालाचारीले अस्वीकार गरेका
थिए।
१५ नोभेम्बर १९४९
मा अम्बालाको सेन्ट्रल जेलमा नाथुराम गोड्सेलाई फाँसी झुन्ड्याएर मृत्यु दण्ड
दिइएको थियो। त्यसबेला गोडसेको उमेर ३९ वर्ष थियो।
गाँधीको नरम
स्वभावले उनालई महान बनायो।
(घ) गोली भन्दा
घातक बोली
विनम्रताको ठूलो
महत्व छ। अर्कोतिर खराब वचनले श्रोतलाई रुष्ट पार्ने मात्र होइन ऊ माथि गोलीझै
प्रहार गर्न सक्छ। अर्थात नराम्रो वचन गोली बराबर हुन्छ। नराम्रो वचनले गोलीले झै
घात गर्छ। त्यसकारण जहिले पनि मिठो बोल्नु पर्छ।
(ङ) विनम्रताबारे
स्वामी विवेकानन्दको धारणा
बोली गोली भन्दा
घातक हुन्छ भन्ने यथार्थको उदाहरण स्वामी विवेकानन्दले यस प्रकार दिएका थिए।
एक पटक प्रवचन
गरि रहेको क्रममा विवेकानन्दले भने, “बोलीले गोली भन्दा घातक किसिमले प्रहार गर्छ।
यसले गोलीले भन्दा गम्भीर किसिमले घाइते पार्छ।” यस तथ्यको प्रमाण म कुनै समयमा
दिने छु।
एक पटक प्रवचन
गरि रहेको क्रममा विवेकानन्द एक छिन चुप लागे। र केही पछि उपस्थित श्रोताहरूलाई
अनेक किसिमक गाली गर्न थाले। उनको त्यस्तो व्यवहार देखेर श्रोताहरू अत्यन्तै
क्रोधित भए। केही श्रोताहरू विवेकानन्दमाथि हातपात गर्न अगाडि बढे पनि।
“पर्खनु होस,
मेरो सम्पूर्ण कुरा सुन्नु होस। सम्पूर्ण कुरा सुनेर मात्र मलाई प्रहार गर्नु होस।”
विवेकानन्दले थपे, “ममाथि तपाइँहरू किन यति क्रुद्ध भएको? के मलै तपाइँहरूमाथि
कुनै घातक हतियार प्रहार गरेको छु। के मैले तपाइँहरूको शरीर स्पर्स गरे? के
तपाइँहरूले मबाट ठूलो चोट खानु भएको छ? मैले त केवल केही शब्दहरूको प्रयोग मात्र
गरेको छु। तर मेरा ती शब्दहरूले तपाइँहरूमाथि बन्दुकको गोली भन्दा पनि घातक
किसिमले प्रहार गरे। तपाइँहरूको शरीरको रगत उमालिदिए। त्यो उम्लिएको रगतले
तपाइँहरूलाई ममाथि प्रहार गर्न निर्देशित गर्यो।”
श्रोताहरूले छक्क
पर्दै विवेकानन्दको कुरा सुने। विवेकानन्दले फेरि भने, “मैले अस्ति भनेको थिए,
बोली गोली भन्दा घातक हुन्छ। मैले भनेको त्यो सत्य आज प्रमाणित गरेर देखाइ दिएँ।
खराब बोली गोली भन्दा पनि घातक हुन्छ भन्ने तथार्थ आज स्वयं तपाइँहरूले नै अनुभव
गर्नु भयो।”
विवेकानन्दले
श्रोतहरूलाई आग्रह गरे, “बोली गोली भन्दा पनि घातक हुने भएकोले बोल्दा होस
पुर्याएर बोल्नु पर्छ। सधै नम्र भएर बोल्नु पर्छ।”
(च) को थिए
स्वामी विवेकानन्द?
स्वामी
विवेकानन्दको जन्म नाम नरेन्द्रनाथ दत्त थियो। उनको जन्म १२ जेनुअरी १८६३ मा भएको
थियो भने मृत्यु ४ जुलाई १९०२ मा भएको थियो। कलकत्ता (हालको कोलकाता) को एक धनी
बंगाली कायस्थ परिवारमा जन्म लिएका विवेकानन्दको सानो उमेरदेखि नै धर्ममा निकै
रूचि थियो। वेदान्त र योगको दर्शन पश्चिमी संसारमा फिजाउनमा उनको योगदान ज्यादै
ठूलो मानिन्छ। उनले अमेरिका, इंगलैण्ड लगायत युरोपका धेरै देशहरूको भ्रमण गरेर
हिन्दु धर्मको दर्शनमा प्रवचन दिएका थिए। विश्व सामु हिन्दु धर्मको परिचय गराएका
थिए। महान् सन्त विवेकानन्दको सबै धर्मप्रति समान आदर थियो। हिन्दु धर्ममा
सहनशीलता धेरै छ भन्ने तर्क उनी जहिले पनि उल्लेख गर्थ्ये।
एक पटक भारत
बाहिर उनले शून्यमा सात दिन सम्म लगातार प्रवचन दिएक थिए। सम्पूर्ण जीवन र जगत्लाई
शून्यमा परिभाषित गरेका थिए। उनको भनाइ अनुसार यो जीवन र जगत शून्य हो। मानिस वा
जीवन शून्यबाट प्रारम्भ हुन्छ र शून्यमा समाप्त हुन्छ। विवेकानन्दले भन्ने गर्थे,
“म हप्तौ र महिनौसम्म शून्यमा प्रवचन गर्न सक्छु।”
सन १८९३ मा अमेरिकाको
सिकागो सहरमा ‘पार्लियामेन्ट अफ द वर्ल्डस रिलिजन्स (Parilamanet of the World’s Religion) मा स्वामी विवेकानन्दले दिएको प्रवचन विश्व प्रसिद्ध एवं अति नै
वौद्धिक मान्ने गरिन्छ। त्यहाँ उनले हिन्दु धर्मको दार्शनिक व्याख्य गरेका थिए।
“अमेरिकाका दिदीबहिनी तथा दाजुभाइहरू” भनी उनले सम्वोधन गरेको प्रवचनले धरैलाई
प्रभावित गरेको थियो।
संस्कृत भाषामा एउटा
श्लोक निकै चर्चित छ र मनन योग्य पनि उत्तिकै छ। यो श्लोक माथि नै पनि चर्चा गरि
सकिएको छ। पुन: चर्चा गर्ने अनुमति चाहन्छु। उक्त श्लोकमा भनिएको छ,
“विनयाद्याति
पात्रताम्।” यसको भावार्थ हुन्छ- कुनै व्यकक्तिमा भएको विनम्र स्वभावले उसलाई
योग्य बनाउँछ।
यस श्लोकको पूर्ण
पाठ यस प्रकार छ।
“विद्या ददाति
विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम्।।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम्।।
माथिको श्लोकको
भावार्थ:
विद्याले कुनै
पनि व्यक्तिलाई विनम्रता सिकाउँछ। विनम्रताले व्यक्तिलाई योग्य तुल्याउँछ। योग्य
व्यक्तिले धन आर्जन गर्न सक्छ। साथमा रहेको धनले व्यक्तिलाई दान पुन गर्न सजिलो
हुन्छ। दान पुन कार्य गरेर व्यक्ति प्रशन्न हुन्छ। प्रशन्नताले गर्दा सुख पाउँछ।
(छ) मानव-व्यवहार
कुशलता
कुनै एक व्यक्ति
वा विभिन्न व्यक्तिहरू अथवा कुनै समूह सँग कुरा गर्दा नरम मिजाजले त महत्वपूर्ण
भूमिका खेल्छ नै साथै मानव-व्यवहार कुशलताले पनि सहयोग पुर्याउँछ। मानव व्यवहार कुशलता भनेको विभिन्न पृष्ठ
भूमिका व्यक्तिहरूसँग अन्तरक्रिया गर्दा प्रभावकारी किसिमले अन्तरक्रिया गर्नु हो।
यो एक सिप हो। कला हो।
सामाजिक
मनोविज्ञानको सन्दर्भमा, मानव व्यवहार कुशलता भनेको अन्य व्यक्तिहरूलाई आफ्नो
विचारप्रति स्वीकृति जनाउने स्थितिमा पुर्याउनु हो। कार्य गर्नका लागि दिएको
निर्दैशनको पालना गर्ने मन स्थितिमा पुर्याउनु। मानव व्यवहारमा कुशलता प्राप्त
गरेको व्यक्तिले अन्यको मन सजिलै जित्न सक्छ।
एक व्यक्तिसँग वा
समूहमा मिसिएर काम गर्ने दक्षता हुनु मानव व्यवहार कुशल हुनु हो। सम्पर्कमा आउने
व्यक्ति वा सहकर्मीहरू लाई प्रभावकारी किसिमकले सञ्चार गर्ने, उत्प्रेरित गर्ने,
निर्देशित गर्ने, विश्वस्त पार्ने, उत्साहित गर्न जस्ता क्षमता हुनु मानव व्यवहार
कुशल हुनु हो।
मानव व्यवहार
कुशल व्यक्तिहरूमा निम्न मानसिक गुणहरू रहेको विश्वास गरिन्छ:
·
सम्पर्कमा आउने
वा अन्य प्रति सम्वेदनशील हुने।
·
सबैलाई समान
किसिमले व्यवहार गर्ने।
·
कसैले भनेको कुरालाई महत्व दिएर ध्यानपूर्वक
सुन्ने।
·
प्रष्ट र मिठो
भाषामा सञ्चार गर्ने।
·
सौहर्दता
प्रदर्शन गर्ने।
·
मानव व्यवहारको
राम्रो जानकारी राख्ने।
·
सबैप्रति समान
सहानभूति राख्ने।
·
सही समयमा सही
कुरा सोंच्ने र गर्न सक्ने।
No comments:
Post a Comment