Wikipedia

Search results

Tuesday, January 2, 2024

Terrifying Impacts of Postmodernism Part 2

 उत्तर आधुनिक युगको त्रासदी

सङ्कटमा विवाह सङ्गठन

विवाह भन्ने सङ्गठन कहिलेदेखि आरम्भ भयो?  यो सङ्गठन कति पुरानो हो? यसको प्रारम्भ विश्वको कुन क्षेत्रबाट भयो? कुन उद्देश्यका साथ र के आवश्यकता पूर्तिको लागि भयो? यस्ता अनेक प्रश्नहरूको उत्तर दिन नसकिएता पनि एउटा प्रश्नको उत्तर भने दिन सकिन्छ। विवाह भनेको एक पुरानो सङ्गठन हो। तर अति प्रचीन भने होइन। मानिसहरू जंगलमा बस्दा विवाह भन्ने संगठनको विकास भइसकेको थिएन। यस्तो अनुमान गर्ने आधारहरू धेरै छन्।

जङ्गली जीवन परित्याग गरी, गाउँहरूको निर्माण गरी, मानिसहरू त्यहाँ बस्न थाले पछि ती गाउँहरूमा विवाहको परम्पराको उत्पत्ति भएको हुन सक्छ। कृषि युग फष्टाउन थाले पछि विवाह परम्पराले समाजमा  बलियो गरी जरा गाड्न थालेको अनुमान गर्न सकिन्छ।

कतैकतै विवाह भन्ने संस्था ४ हजार ५ सय वर्ष पुरानो हो भनिएको छ। इतिहासकारहरू भन्छन विवाह भन्ने सङ्गठनको उत्पत्ति मेसोपोटामियामा भएको हो। त्यहाँ बि सि २३५० मा विवाह भएको घटना पहिलो पटक अभिलेखीकरण गरिएको थियो।

समयको गति सङ्ग सङ्गै विवाह भन्ने सङ्गठन वा संस्थाको विस्तार हिब्रु, ग्रिक्स तथा रोमनहरूमा भयो। पछि क्रमश: युरोपभरि फैलियो। युरोपमा विवाह सङ्गठन त्येति पुरानो भने होइन।

हालको दक्षिण एशियामा भने बैदिक कालदेखि विवाह परम्परा चलि आएको देखिन्छ। चर्चित व्यक्ति एवं राजा महाराजाहरूको विवाहका कथा र लोक युक्तिको रुपमा, श्रुति र स्मृतिमा अभिलेखिकरण गरिएको पाइन्छ। विवाहले कथाको रुपमा धारण गरेर समाजमा फैलिएको उदाहरणहरू धेरै छन। यस्तै विवाह-कथा आयोद्धाका राजा रामको हो। हालको जनकपुरमा भएको सीता र रामको विवाहले लोक-कथाको रुपनै धारण गरेर ठूलो लोक प्रियतासमेत प्राप्त गरेको देखिन्छ। यस विवाहमा, विवाह मात्र होइन, विवाह विधि एवं जन्तिहरूको पनि चर्चा गरिएको छ।  

इतिहास र साहित्यहरूमा उल्लेख गरिए अनुसार भगवान् रामको जन्म इसा पूर्व ५११६ मा भएको थियो। भगवान् रामको जन्म र मृत्यु बिचको समयलाइ रामको युग भन्ने गरिन्छ। अर्थात रामको युगमा, हालको दक्षिण एशियामा, विवाह भन्ने सङ्गठनले स्थाईत्व प्राप्त गरिसेको थियो। साथै विवाहलाई एक अनिवार्य कार्यको रुपमा स्थपित गरिसकिएको थियो। राजा रामको विवाहको चर्चालाई मान्दा विवाह भन्ने सङ्गठनको उत्पत्ति हालको दक्षिण एशियबाट भएको अनुमान गर्न सकिन्छ। तर यो विषयले थप अनुसन्धानको माग गर्दछ।

स्त्री र पुरुष बिच हुने यौन-क्रियाकलापलाई व्यवस्थित गर्न तथा आर्थिक सुरक्षा प्राप्त गर्न विवाह भन्ने सङ्गठनको स्थापना एवं विस्तार भएको मानिन्छ। यौन पछि, विवाहको ठूलो आवश्यकता आर्थिक सुरक्षाका लगि महसुस गरिएको थियो।

प्रकृतिको नियम अनुसार स्त्री पुरुषप्रति र पुरुष स्त्रीप्रति आकर्षित हुने भएको र एउटै परिवारमा स्त्री (आमा, बैनी, दिदी, फुपु आदि) हरू रहने र यसैगरी पुरुष (पिता, दाजु, भाइ, काका आदि) पनि रहने भएकोले उनीहरू बिच हुनसक्ने यौन सम्पर्कको सम्भावनालाई रोक्न वा नष्ट पार्न तथा आफ्ना परिवारका सदस्यहरू बिच (जस्तै दाजु र बहिनी, पिता र छोरी, आमा र छोरा आदि) यौन सम्पर्क हुन नदिन विवाह भन्ने संगठनको स्थापना एवं विकास भएको हो। विवाह भन्ने संगठनको स्थापना यौन कर्मलाई व्यवस्थित पार्नका लागि भएको हो। विवाह भन्ने सङ्गठनको प्रकृतिले त्येही तथ्य भन्छ।  

विवाह पछि एक नया परिवारको निर्माण हुन्छ। त्यस परिवारमा नया नया सदस्य (सन्तान) हरू थपिंदै जान्छ। त्यो नया परिवारको आकार पनि बढ्दै जान्छ। र एकले अर्कोलाई सहयोग गर्ने अवधारणाको पालना गर्दै त्यस परिवार भित्र रहेका सदस्यहरूले आफूलाई सुरक्षित र प्रफुल्लित अनुभूत गर्छन।

यति सुन्दर, परिवार नाम गरेको यो सङ्गठनमाथि उत्तर आधुनिक युगले सङ्कट खडा गरिदिएको छ। उत्तर आधुनिक युगमा परिवार भन्ने सङ्गठन क्षतिग्रस्त हुने वा विनास हुने हो कि भनी चिन्ता गर्न थालिएको छ।

अधिक अस्तित्ववादी सोंच र अति स्वतन्त्रताको मागले गर्दा, जुन सुकै देशमा, प्रत्येक वर्ष हजारौका संख्यामा विवाहहरू टुटिरहेका छन। वृहत् पारिवारमा किन बस्ने? सानो परिवारमा नै पनि किन वस्ने? यस्ता सोंचहरू त थिए नै समाजमा अब पति र पत्नी भएर किन बस्ने सोंचले परिवारहरूलाई टुक्रा टुक्रा पारि रहेको छ। अमेरिका लगायत युरोपका देशमा पारपाचुके लिएर एकल पुरुष र एकल महिला भएर बाँच्नेहरूको संख्या ठूलो छ।

पति र पत्नी बिचको सम्बन्ध सम्झौताको जगमा उभिएको हुन्छ र पति-पत्नी सम्बन्धलाई कायम राख्न दुबै पक्षले पाइला पाइलामा, हरेक पल, हरेक दिन सम्झौता गर्नु पर्छ। एकले अर्काको भावनालाई बुझे पछि, सम्मान गरे पछि मात्र सुचारू रुपले चल्ने यो सङ्गठन अहिले भने अति स्वतनत्रतावादी सोंचले गर्दा समस्याग्रस्त छ। म स्वतन्त्र छु, म कसैको अधिनमा किन रहने, म आफूले इच्छा गरे अनुसारको जीवन बाँच्छु, म किन कसैको अधीनमा रहने जस्ता अति स्वतन्त्रतावादी सोंचले पत्नी एवं पति, दुबै पक्षले पारपाचुके लिन प्रेरित गरिरहेका छन्।

विवाह पूर्व पनि युवा युवतीहरूले आफूले प्रेम गरेको युवक वा युवतीसङ्ग सहजै यौन सम्पर्क कायम गर्न सक्ने स्थिति वा यौन इच्छा पूर्ति गर्न कुनै बन्धन नभएको अवस्थाले विवाहको महत्वलाई कम पार्दै लगेको छ। यौन चाहना पूर्तिका लागि विवाह नै गर्नु पर्ने बाधयात्मक स्थितिको लगभग अहिले अन्त्य भएको छ। तर यी विषयहरू त्येति गम्भीर भने होइनन्।

विवाह पछि कुनै महिलाले पर पुरुषसङ्ग र कुनै पुरुषले कुनै पर महिलासङ्ग यौन सम्पर्क गर्न पाउने स्थितिले विवाहको आवश्यक्ता एवं महत्वलाई घटाउँदै लगेको छ। पतिप्रति पत्नीको र पत्नीप्रति पतिको शारिरीक समर्पण भाव कम हुँदै गएको छ।

अमेरिका तथा युरोपतिर विवाहनै नगरी एक महिला तथा पुरुष सङ्गै, पति एवं पत्नीको रुपमा बस्नु सामान्य हुँदै गएको छ। यसरी बस्ने महिला एवं पुरुषले सङ्गै वर्षौ बसेर पछि मात्र विवाह गरेको वा पछि छुट्टिएको घटनाहरू पनि अनगिन्ति छन्।

उत्तर आधुनिक युगले मानिसको स्वतन्त्र र स्वछन्दवादी चिन्तलाई अझै उकास्ने काम गरेको छ। अर्कोतिर स्वतन्त्र र स्वछन्दवादी चिन्तनले विवाहको आवश्यक्ता एवं महत्वलाई क्रमिक रुपमा क्षिण पार्दै लगेको छ।

उत्तर आधुनिकताले ल्याएको विचारहरूको बाढीले विवाह भन्ने सङ्गठनलाई बगाएर कहाँ पुर्याउने हो भन्न कठिन छ।   

पूर्वीय दर्शन अनुसार विवाह सात जन्मसम्म एउटै पुरुष वा स्त्रीसङ्ग होस् भन्ने कामना गर्दै बेहुली एवं बेहुलाले विवाह मण्डप सात पटक घुम्ने वा सङ्कल्प गर्ने कार्यको पनि अब कुनै अर्थ रहेन। विवाह अव केवल यौन आवश्कता पूर्ति गर्ने कुनै उपभोक्ता वस्तु सरह हुन पुगेको छ। यसैगरी पश्चिमी दर्शन वा धर्म शास्त्र अनुरुप विवाह दुई विपरित लिंगको बिचमा हुन्छ भन्ने सामाजिक तथा धार्मिक नियम पनि समाप्त हँदैछ। पश्चिमी समाजले अब समलिङ्गी (Same Sex Marriage) विवाहलाई मान्यता दिंदै दुई विपरित लिंगमा मात्र विवाह हुन्छ भन्ने नियमलाई परित्याग गरेको छ। पश्चिमका वा क्रसिचियनका धर्मगरूहरूले पनि समलिङ्गी विवाहलाई धार्मिक मान्यता दिएका छन। उनीहरूले अब देखि दुई महिला वा दुई पुरुष बिच हुने विवाहमा एउटालई पुरुष र अर्कोलाई स्त्री मान्दै दुबैलाई आशिर्वाद दिने कुरा सार्वजनिक रुपमा भनेका छन। धार्मिक देश ‘भेटिकन’ का प्रमुख पोप फ्रान्सिसले ‘रोमन क्याथोलिक प्रिस्ट’ हरूले समलिङ्गी विवाह गर्ने वरवधुलाई आशिर्वाद दिने भनी डिसेम्बर १८, २०२३ मा भेटिकन सिटीमा घोषणा गरेका थिए। स्मरण होस, पोप फ्रान्सिस (अहिले, यो पुस्तक तयार पार्दासम्म) रोमन क्याथोलिकहरूका, विश्वभरिका, धर्म गुरु हुन्।

उत्तर आधुनिक युगले ल्याउने ठूलो त्रासदीको रुपमा विवाह सङ्गठन कमजोर हुने र क्रमिक रुपमा समाप्त हुने स्थितिलाई लिन सकिन्छ।

पति, पत्नीप्रति तथा पत्नी, पतिप्रति समर्पित हुने भाव वा प्रेमलाई यो उत्तर आधुनिक युगले क्रमश: समाप्त पार्ने छ।

परिवारको आकार अति सानो हुँदै गएको यो नया परिस्थितिले परिवारको आकार अब झनै सानो पार्नेछ। परिवार भन्नाले अब केवल पति र पत्नी वा केवल पति वा केवल पत्नी भनी बुझ्नु पर्ने हुनेछ। सन् २०२२ को तथ्यांक अनुसार अमेरिकामा एक व्यक्ति (महिला वा पुरुष मात्र) भएको परिवारको संख्या करिब ३ करोड ८० लाख थियो। अर्थात अमेरिकमा एक्लै बस्ने ब्यक्ति (पति वा पत्नीको साथमा होइन, वा पारपाचुके गरेर) बस्ने ब्यक्तिहरूको संख्या लगभग ४ करोड छ। जब यति ठूलो संख्यामा महिला वा पुरुषहरू एक्लै बस्छन भने विवाह भन्ने संगठनको के अर्थ रह्यो?

उत्तर आधुनिक युगको उत्तरार्धमा विवाह भन्ने संगठन नै नरहने भय बढेर गएको छ। सन्तान जन्माउन तथा यौन सुख प्राप्त गर्न महिलालाई पुरुष र पुरुषलाई महिला नचाहिने स्थिति अहिले विज्ञानेल सृजना गरिदिएको स्थितिमा विवाह भन्ने संगठन भविष्यमा के रहला भनी प्रश्न गर्ने अनेक आधारहरू खडा भएका छन।     

 

 

No comments:

Post a Comment