Wikipedia

Search results

Friday, January 19, 2024

Nepal: Overseas Employment and Fatality-Article- 438

 वैदेशिक रोजगारका डरलाग्दा जोखिम

नेपालमा गरीबी छ। बेरोजगारी छ। यो सत्य हो। तर के नेपालमा त्यो मात्रामा अति नै गरीबी र बेरोजगारी छ कि कुनै पनि किसिमको काम गर्न नपाएर दुई छाक खान पनि समस्या होस्?

के नेपालमा काम गर्न खोज्दा कस्तै पनि काम नपाएर, आम्दानीको अभावमा, खाना खान नपाएर भोकभोकै मर्नुपर्ने स्थिति छ? के नेपालमा कुनै पनि किसिमको काम गर्छु भन्दा कुनै पनि किसिमको काम गर्न नपाइने स्थिति छ? के नेपाल रोजगार–शून्य देश हुन पुगेको छ?

नेपालमा बेरोजगारीको कुरा गर्दा माथिका प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ। नेपालमा पर्याप्त मात्रामा रोजगार छैन यो सत्य कुरा हो। कामदारहरूले जुन किसिमको काम गर्न खोजेका छन् त्यस किसिमको काम पाउन कठिन छ त्यो पनि सत्य हो। कामदारहरूले जति आम्दानी हुने काम खोजेका छन् त्यति आम्दानी हुने काम पाउन कठिन छ भन्ने कुरा पनि सत्य हो। यसैगरी आफ्नो अनुभव, शैक्षिक योग्यता वा तालीम अनुसार काम गर्न खोज्दा त्यस किसिमको काम नपाउने स्थिति छ, त्यो पनि सत्य हो। तर उपलब्ध जस्तोसुकै काम गर्छु भन्नेहरूका लागि काम पाउन कठिन छ भन्ने कुरा सत्य होइन।

नेपालमा बेरोजगारी चरम मात्रामा हुनुका अनेक कारण छन्। नेताहरूको स्वार्थी र सत्तामुखी प्रवृत्तिका कारण देशको आर्थिक विकासको गति मन्द हुनु र पर्याप्त मात्रामा रोजगार सृजना नहुनु पनि नेपालमा बेरोजगारीको एक कारण हो। यस्ता अनेक कारण छन्, जसले गर्दा नेपालमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सकिरहेका छैन।

नेपालमा अहिले देखिएको चरम बेरोजगारीको एउटा महŒवपूर्ण कारण भने युवाहरूमा चरम निराशा हो। अहिले नेपालमा युवाहरू अति उच्च बिन्दुमा निराश हुन पुगेका छन्। युवाहरूले स्वदेशमा रोजगार नै देखिरहेका छैनन्। आफ्नो भविष्यसमेत सुरक्षित देखिरहेका छैनन्। आफ्नो भविष्य विदेशमा मात्र सुरक्षित देखिरहेका छन्, वैदेशिक रोजगारमा देखिरहेका छन्। यस कारणले गर्दा स्वदेशमा रोजगार सृजना नगर्ने र विदेशमा पुगेर जस्तो पनि काम गर्न तयार रहने मनस्थितिमा नेपाली युवाहरू पुगेका छन्।

विदेशमा पुगेर अति जोखिमपूर्ण काम गर्न युवाहरू तयार छन्। वैदेशिक रोजगारको क्रममा ज्यानसमेत दिन तयार छन्, नेपाली युवाहरू अहिले। रूस– युक्रेन युद्धमा अहिलेसम्म रूसको पक्षबाट युद्ध गर्ने १२ नेपाली युवाहरूको ज्यान जानुले यस तथ्यको पुष्टि गर्दछ। हालै केही दिन पहिले मात्र, रूसको पक्षबाट युद्ध गर्दा युद्धभूमिमा लम्जुङ जिल्ला निवासी ३२ वर्षीय साजन गुरुड्ढो ज्यान गएको छ। साजन गुरुङ माओवादीका ‘वाइसिएल’ नगर पदाधिकारी पनि थिए। रोजागारको खोजमा हिंडेका साजन गुरुङ रूसको सैनिक हुन तयार भएका थिए, सेनामा भर्ना भएका थिए। 

किन त्यसरी जीउ–ज्यानको बाजी लगाएर रूस पुगेका होलान् नेपाली युवाहरू? यस प्रश्नको उत्तर सरल छ। स्वदेशमा व्याप्त चरम निराशाले युवाहरूलाई विदेशतिर रोजगारको लागि पलायन हुन बाध्य पारिरहेको छ।

समाचारहरूमा उल्लेख भए अनुसार नेपालका २०० भन्दा बढी युवा रूसी सेनामा भर्ति भएका छन्, युक्रेनविरुद्ध युद्ध गर्न। कति ठूलो निराशा नेपाली युवाहरूमा? रोजगारको नाममा भाडाको सैनिकसम्म बन्न तयार भएका छन्। कति उदेकलाग्दो स्थिति!

यसैगरी रूसविरुद्ध युक्रेनको पक्षबाट युद्ध गर्न पनि युक्रेनी सेनामा भर्ना भएका छन, नेपाली युवाहरू। कस्तो दुःखलाग्दो स्थिति! कति ठूलो निराशा! केवल रोजगारको नाममा, केही बढी पारिश्रमिक पाइएला भन्ने आसमा, नेपाली युवाहरू एक आपसमा युद्ध गरिरहेका छन्। केवल रोजगारका खातिर नेपाली युवाहरूमध्ये केही रूसको पक्षमा त कोही युक्रेनको पक्षमा, आपसमा युद्ध गरिरहेका छन्। नेपाली इतिहासमा कहिले यस्तो देखिएको थिएन।

रूस र युक्रेन पुगेका नेपाली युवाहरूलाई राम्ररी थाहा छ त्यसरी युद्ध गर्न जाँदा ज्यान पनि जान सक्छ। उनीहरूलाई राम्ररी थाहा छ युक्रेन र रूसबीच भएको युद्धमा युक्रेनतर्फ ३० हजारभन्दा बढी व्यक्तिहरूको (युद्धका कारण) मृत्यु भइसकेको छ। यसैगरी रूसतर्फ ६ हजारभन्दा बढी व्यक्तिको हत्या भइसकेको छ। अर्थात् रूस र युक्रेनबीच डरलाग्दो युद्ध भइरहेको छ भन्ने कुरा नेपाली युवालाई राम्ररी थाहा छ। तर यो तथ्य थाहा पाएर पनि नेपाली युवाहरू रूसी र युक्रेनी सेनामा भर्ति हुन ती देशतर्फ लाग्नुले नेपाली युवाहरूमा निराशाले सीमा पार गरेको कुरा छर्लङ्ग हुन्छ।

कुनै पनि युद्धमा सेना नै अग्र पङ्क्तिमा हुन्छ। उच्च जोखिममा पहिले उनीहरू नै पर्छन्। युद्धको क्रममा युद्धरत सैनिकको कुनै पनि बेला मृत्यु हुन सक्छ। यो कुरा थाहा पाउँदापाउँदै पनि नेपाली युवाहरू जीउ–ज्यानको बाजी लगाएर रोजगारका लागि युद्धभूमिमा जानु र युद्धभूमिलाई रोजगारको सुरक्षित स्थल देख्नु आफैंमा उदेकलाग्दो विषय हो। चरम निराशाको द्योतक हो।

रोजगारका लागि विदेश पलायन हुन थालेका नेपाली युवाहरूलाई रोक्न तथा उच्च जोखिम भएका स्थान (देश) हरूमा जान नदिन सर्वप्रथम उनीहरूमा आशाको सञ्चार गर्न आवश्यक छ। उनीहरूलाई निराशाको भुमरीबाट बाहिर ल्याउन आवश्यक छ। युवाहरूमा आशा सञ्चार गराउने कार्य सरकार र समाज दुवैथरीले गर्नु आवश्यक छ।

अब प्रसङ्ग बदलौं। रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त दुई धारणाबारे चर्चा गरौं। पहिलो धारणा– वैदेशिक रोजगार सरल र अति लाफदायक हुन्छ। दोस्रो धारणा–रोजगार सृजना गर्ने कार्य केवल सरकारको हो। 

रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त यी दुवै धारणा गलत छन्। कसरी? केही अपवादलाई छाडेर कुरा गर्ने हो भने वैदेशिक रोजगार सरल हुँदैन, सुरक्षित हुँदैन। कुनै पनि देशको सरकारले सरल र सुरक्षित किसिमको काम पहिले आफ्नो नागरिकलाई उपलब्ध गराउँछ। कठिन, असुरक्षित, उच्च जोखिम भएका काम गराउन विदेशी कामदारहरूलाई देशमा आउन अनुमति दिन्छ वा ल्याउँछ। उदाहरणका लागि, वल्र्ड कप–२०२२ का निम्ति कतारमा स्टेडियम निर्माण गर्दा वा तत्सम्बन्धी कार्य गर्दा ६,५०० विदेशी कामदारको मृत्यु भएको थियो। मृत्यु हुनेमा भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश र श्रीलङ्कका नागरिक थिए। माथिको तथ्याङ्कबाट स्पष्ट हुन्छ वैदेशिक रोजगार सुरक्षित र सरल हुँदैन भन्ने यथार्थ।

विदेशमा राम्रो पारिश्रमिक पाइन्छ भन्ने हल्ला पनि पूर्ण सत्य होइन। कुनै पनि देशको सरकारले राम्रो तलब, सुविधा सर्वप्रथम आफ्नो देशको नागरिकलाई उपलब्ध गराउँछ। विदेशी कामदारलाई कम सुविधा र पारिश्रिमिक दिएर आफ्नो देशमा भित्र्याउँछ।

अब दोस्रो गलत धारणाबारे कुरा गरौं। नेपालमा व्याप्त धारणा ‘रोजगार सरकारले सृजना गर्ने हो’, यो पूर्णतया गलत हो। कुनै पनि देशमा रोजगार समाजले सृजना गर्ने हो। सरकारले रोजगार सृजना हुने वातावारण तयार पारिदिने हो। नियम, कानून निर्माण गरेर व्यापार स्थापना र सञ्चालन गर्न सजिलो पारिदिने हो। सरकार केवल सहजकर्ता हो। रोजगार, कुनै पनि समाज भित्र रहेका व्यवसायीहरूले सृजना गर्ने हो। उदाहरणका लागि वीरगंजका युवाहरूको लागि रोजगार सृजना गर्ने दायित्व वीरगंजका व्यवसायीहरूको हो। लगानीकार्ताहरूको हो। व्यापारीहरूको हो। उद्योगपतिहरूको हो। यी पक्ष प्रमुख जिम्मेवार हुन् वीरगंजमा रोजगार सृजना गर्नका लगि। सरकारले केवल नैतिक दायित्व मात्र बोक्ने हो।

रोजगार सृजना गर्ने दायित्व केवल सरकारको हो भन्ने गलत धारणा हाम्रो समाजमा व्याप्त रहेसम्म देशमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सक्तैन। यो धारणामा तत्काल परिवर्तन ल्याउन आवश्यक छ।

समाजमा रोजगार सृजना गर्ने दायित्व प्रत्येक नागरिकको हो भन्ने भावना जनजनमा पुर्याउन आवश्यक छ। यस्तो भए मात्र पर्याप्त मात्रामा रोजगार सृजना गर्न सकिन्छ। युवाहरूलाई रोजगारका लागि विदेश पलायन हुनबाट रोक्न सकिन्छ।

कुनै एक व्यक्ति वा कुनै एक उद्यमी (Entrepreneur) ले जब एउटा व्यवसाय (रेस्टुरा) स्थापना गर्छ तब उसको त्यो कार्यबवाट तत्काल रोजगार सृजना हुन्छ। उसको त्यो व्यवसायमा दुईचार जनाले रोजगार पाउन सक्छन्। यसरी एउटा सामान्य व्यक्ति, एउटा उद्यमीको प्रयासबाट पनि समाजमा रोजगार सृजना हुन सक्छ।

यसरी एक व्यक्तिले मात्र पनि, फ्नो एउटा सामान्य क्रियाकलापबाट पनि, रोजगार सृजना गर्न सक्छ रोजगार सृजना गर्ने आफ्नो सामाजिक दायित्व पूरा गर्न सक्छ। यो भावना हामीले प्रत्येक व्यक्तिमा पुर्याउन आवश्यक छ। र सोही भावन अनुरूप क्रिया गराउन आवश्यक छ।





विश्वराज अधिकारी

akoutilya@gamil.com

Thursday, January 19, 2024

https://eprateekdaily.com/2024/01/18/61549/

 

No comments:

Post a Comment