उत्तर आधुनिक युगको त्रासदी
३१
चरम
उपभोक्तावाद
उत्तर आधुनिक युगमा उपभोक्ता वस्तुहरूको संख्यामा ब्यापक
वृद्धि हुनेछ। जुन अनुपातमा उपभोक्ता वस्तुहरू ठूलो संख्यामा बजारमा आउने छन्,
सोही अनुपातमा समाजमा उपभोक्तावादमा वृद्धि हुनेछ। अनेक उपभोक्ता वस्तुहरू उपभोग
गर्न उपभोक्ताहरू लालायित रहने छन। बजारमा ठूलो संख्यामा रहेका उभोक्ता वस्तुहरूले
उपभोक्ताहरूलाई ती उपभोक्ता वस्तुहरू प्राप्त गर्न अतिनै उत्प्रेरित गर्ने छन। अर्थात
उपभोक्ता वस्तुहरूले नै उपभोक्ताहरूलाई उत्प्रेरित गर्नेछन। वस्तुका विशेषता,
आकार, प्रयोग विधि आदि नै प्रेरक तत्व हुनेछन।
बलियो क्रय शक्ति भएका वा राम्रो आम्दानी भएका
ब्यक्तिहरूले त सजिलै गरी ती उपभोक्ता वस्तुहरू प्राप्त गर्ने छन तर कमजोर आम्दानी
भएकाहरूले खल्तीमा कम पैसा भएको कारणले बजारमा भएका कम मात्र उपभोक्ता वस्तुहरू
खरिद गर्न सक्ने छन। र यसरी कम उपभोक्ता वस्तुहरू खरिद गर्न पाएको वा परेकोमा तथा
केही उपभोक्ता वस्तु खरिद गर्न नपाएकोमा, कमजोर आम्दानी भएका उपभोक्ताहरूकमा ठूलो
अशन्तोष देखिने छ। त्यो अशन्तोषले उनीहरूमा आफूले प्राप्त गर्ने खोजेको वस्तु
अपराध कर्म गरेर भए पनि वा भ्रष्टाचार गरेर भए पनि प्राप्त गर्ने सोंच वा दृढता उत्पन्न
गराउने छ। उनीहरूको सोंच भ्रष्टाचार वा अपराध गर्ने तर्फ उन्मुख हुनेछ। अर्को
स्थितिमा, आफूले प्राप्त गर्न खोजेको वस्तु खरिद गर्ने नपाएका उपभोक्ताहरूमा
लघुताभाषले स्थान बनाउने छ।
उपभोक्ता वस्तु भनेको के हो?
उपभोक्ता वस्तुहरू निम्न चार प्रकारका हुन्छन:
१ अति आवश्यक्ताका उपभोक्ता वस्तु
२ आवश्यकताका उपभोक्ता
वस्तु
३ अर्ध विलासी उपभोक्ता
वस्तु
४ विलासी उपभोक्ता वस्तु
अति आवश्यक्ताका वस्तु
दैनिक जीवन यापन गर्नका लागि आवश्यक पर्ने वस्तुहरू
उपभोक्ता वस्तुहरू हुन्। यिनीहरूको अभावमा जीवन यापन गर्न सम्भव हुँदैन। यस्ता
वस्तुहरूलाई अति आवश्यकताका उपभोक्ता वस्तुहरू भन्ने गरिन्छ। जस्तै दाल, चामल,
तरकारी, पानी वा भोजन भित्र पर्ने अनेक वस्तुहरू उपभोक्ता वस्तुहरू हुन।
२ आवश्यक्ताका उपभोक्ता वस्तु
जीवन सरल तुल्याइ दिने वस्तुहरू आवश्यक्ताका उपभोक्ता
वस्तुहरू हुन्। यी वस्तुहरूको अभावमा बाँच्न सकिन्छ तर यी वस्तुहरूको उपस्थितिले
जीवन कठिन हुन पाउँदैन। जस्तै सार्वजनिक सवारीका साधन, फर्निचर, कपडाहरू, ऊर्जा
आदि आवश्यकताका उपभोक्ता वस्तुहरू हुन्।
३ अर्ध विलासी वस्तु
केवल प्रदर्शन गर्न, आत्मसन्तुष्टि वृद्धि गर्न,
प्रतिस्पर्धा गर्न प्रयोग गरिने वस्तुहरू अर्ध विलासी वस्तुहरू हुन्। यी
वस्तुहरूको अभावमा बाँच्न सकिन्छ। अर्ध विलासी वस्तुको प्रकृति कस्तो हुन्छ भने
कुनै समयमा, कसैको लागि यो आवश्यक्ताको उपभोक्ता वस्तु हुन पुग्छ। जस्तै दाउरा
प्रयोग गरेर खाना पकाउने परिवारको लागि गैस प्रयोग गरेर खान पकाउने चुल्हो अर्ध
विलासी वस्तु हुन पुक्छ। सामान्य कुर्सी खरिद गर्न सक्नै क्रय शक्ति भएको
ब्यक्तिको लागि घुम्ने कुर्सी अर्ध विलासी वस्तु हुन सक्छ।
४ विलासी वस्तु
आफ्नो सन्तुष्टि वृद्धि गर्न, प्रदर्शन गर्न, आफू अन्य
भन्दा फरक रहेको बोध गराउन जस्ता अनेक मनोवैज्ञानिक कारणबाट प्रेरित भएर खरिद
गरिने वस्तुहरू विलासी वस्तुहरू हुन। विलासी वस्तुहरूको अभावमा बाँच्न कुनै पनि
किसिमको कठिनाई हुँदैन। आवश्यता होइन, लघुताभास वा उच्चताभाष जस्तो मनोभावबाट
प्रेरित भएर खरिद गरिने वस्तुहरू विलासी वस्तुहरू हुन्। विलासी वस्तुहरू महँगा
प्रकृतिका हुनुका साथै सजिलै, जुन बेला पनि, जहाँ पनि प्राप्त हुने किसिमका
हुँदैनन। हिरामोति जडित गहना, सुनका गहना, दरबार जस्तो भवन, अति महँगो आरामदायी कार,
निजी विमान आदि विलासी वस्तुका उदाहरणहरू हुन्।
उपभोक्तावाद भनेको के हो?
उत्तर आधुनिक युगमा उपभोक्तावादमा ब्यापक अभिवृद्धि हुनेछ
भनी चर्चा गर्नु पूर्व उपभोक्तावाद भनेको के हो त्यो बुझ्न आवश्यक छ।
उपभोक्तावादको परिभाषा विभिन्न किसिमले दिइएको पाइन्छ। आफ्नो हक र हित संरक्षण
गर्न उपभोक्ताहरू सुसूचित र संगठित हुनुलाई कसैले उपभोक्तावाद भनेको पाइन्छ। आफ्नो
अहित हुन बाट जोगिन उपभोक्ताहरू सङ्गठित हुनु उभोक्तावाद हो।
तर वर्तमान सन्दर्भमा, र यो पुस्तकको विषयसङ्ग सम्बन्धित
भएर भन्नु पर्दा उपभोक्तावाद भनेको अत्यधिक उपभोक्ता वस्तुहरू उपभोग गर्न खोज्नु
हो। आवश्यक्ता नभएका वस्तुहरू पनि उपभोग गर्न खोज्नु हो। एउटै किसिमको आवश्यक्ता
परिपूर्ति गरिदिने किसिमको वस्तु भएता पनि उक्त वस्तुका अनेक प्रकारहरू उपभोग गर्न
खोज्नु हो। उदाहरणका लागि कुनै सामान्य किसिमको जुत्ताले आफ्नो आवश्यकता परिपूर्ति
हुने स्थिति भएता पनि १० ओटा ख्याति प्राप्त ‘ब्रान्ड’ का जुताहरू खरिद गर्नु
उपभोक्तावादको राम्रो उदाहरण हो। यो स्थितिमा उभोक्ताले आफ्नो आश्वयताकतालाई होइन
जुत्ताको ब्राण्डलाई आधार मानेर जुत्ता खरिद गरेको छ। महँगो ब्राण्डका जुत्ता खरिद
गरेको छ।
बढी भन्दा बढी वस्तु प्रयोग गर्नु, नया नया वस्तुहरू
प्रयोग गर्न सदा तत्पर रहनु, आवश्यकता नभएका वस्तुहरू खरिद गर्नु, उपयोगी अवस्थामा
रहेका पुराना वस्तुहरू फालेर नया वस्तुहरू खरिद गर्नु, उपभोक्ता वस्तुहरूको खरिदमा
आफ्नो आम्दानीको ठूलो भाग खर्च गर्नु उपभोक्तावादका लक्षणहरू हुन्। सक्षेममा भन्ने
हो भने उपभोक्तावाद अनेक अनके वस्तुहरू उपभोग गर्ने सीमाहीन इच्छा हो। आफूले
खोजेका वस्तुहरू उपभोग गर्न नपाएमा कुण्ठाको शिकार हुनु हो।
विकसित देशहरूमा उपभोक्तावाद झनै चर्को स्थितिमा छ। एउटा
उदाहरण मात्र हेरौं। तथ्याङ्कहरूले देखाए अनुसार अमेरिकाको एउटा परिवारले आफ्नो
जीवनकालमा ३ लाख भन्दा बढी वस्तुहरू उपभोग गर्छ। अर्थात अमेरिकाको एउटा परिवारको
घरमा ३ लाख भन्दा बढी वस्तुहरू रहेको पाइएको छ।
अमेरिकामा कतिपय वस्तुहरू केवल कुनै एक क्षण, एक घण्टा,
वा केही समयको लागि मात्र प्रयोग हुने त्यसपछि त्यसको पुन: प्रयोग नहुने
वस्तुहरूको संख्या हजारौ होला। उदाहरणका लागि, जन्मदिनको दिन काटिने केकमा राखिएको
मैन बत्ति पुन: प्रयोग हुँदैन। १० वा १२ जन्मदिन भनेर लेखिएको बैलुन पुन: प्रयोग
हुँदैन। यसैगरी सन् २०२३ भनेर लेखिएको ओर्नामेन्ट (क्रिसमस ट्री सजाउन प्रोयग
गरिने सेरामिकको वस्तु) पुन: २०२४ मा प्रयोग हुँदैन। अमेरिका लगायत संसारका अन्य
विकसित देशहरूमा केवल एक पटक वा खास क्षणमा प्रयोग हुने वस्तुहरूको संख्या हजारौं
छ।
गरिव देशहरूले पनि अहिले धनी देशहरूलाई पछ्याइ रहेका छन्।
गरिब देशहरूमा पनि ठूलो संख्यामा उपभोक्ता वस्तुहरू उपभोग भइरहेको छ। अनुमानहरूले
देखाए अनुसार गरिब देशहरूमा एउटा परिवारको घरमा ५० हजार उपभोक्ता वस्तुहरू रहेको
देखिएको छ। अर्थात गरिब देशका नागरिकहरूले आफ्नो जीवन कालमा ५० हजार भन्दा बढी
वस्तुहरू उपभोग गरेको पाइन्छ।
उत्तर आधुनिक युगमा उपभोक्ताहरूले चारै किसिमका उपभोक्ता
वस्तुहरू- १. अति आवश्यक्ताका
उपभोक्ता वस्तु, २. आवश्यकताका उपभोक्ता वस्तु, ३. अर्ध विलासी उपभोक्ता वस्तु र ४. विलासी उपभोक्ता वस्तु, ठूलो संख्यामा उपभोग गर्ने छन्।
उत्पादक एवं बिक्रेताहरूले पनि मुनाफा अभिवृद्धि गर्न र छोटो समयमा करोडौ रुपैंया
कमाउन ठूलो संख्यामा नया नया उपभोक्ता वस्तुहरू बजारमा ल्याउने छन। नया नया
उपभोक्ता वस्तुहरूको आविष्कार गर्नेछन।
उत्तर आधुनिक
युगमा देखिएको चरम उपभोक्तावादले समाजमा थप असन्तुलन ल्याउने छ। नागरिकहरूमा
निरासा अभिवृद्धि गराउने छ। प्रेम, सद्भाव, दया, करुणा जस्ता भावमा कमी आएर मान्छे
मेसीन हुनेछ।
उत्तर आधुनिक युगमा
मानिसले मेसिन जस्तो भएर निकै धन कमाउन खोज्ने छ। ठूलो आम्दानी गर्ने इच्छा राख्ने
छ। र ठूलो आम्दानी सहित बजारमा पुगेर अनेक अनावश्यक उपभोक्ता वस्तुहरू खरिद गर्ने
छ।
बढ्दो
उपभोक्तावाद उत्तर आधुनिक युगको एक ठूलो त्रासदी हुनेछ।
No comments:
Post a Comment