दक्षिण एशियामा गरीबी कम हुन नसक्ने कारण
भारत र पाकिस्तानको सम्बन्ध राम्रो हुने हो भने
दक्षिण एशिया विश्वको नै एक लाभदायक साझा बजार हुन सक्थ्यो। त्यस साझा बजारले यस
क्षेत्रको गरीबी कम पार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो। तर यी दुई देशको
सम्बन्ध राम्रो हुन सकिरहेको छैन। सम्बन्ध झनै खराब हुने स्थिति देखिएको छ। भारत र
पाकिस्तानबीच सानो स्तरको युद्ध आरम्भ नै भइसकेको छ।
भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै युद्धरत्
छन्। ठूला र साना युद्ध यी दुई देशबीच विगतमा धेरैपटक भइसकेका छन् र भविष्यमा पनि
भइ नै रहनेछ। पछिल्लो समय, भारत नियन्त्रित
कश्मीरमा भएको घटनाले भारत र पाकिस्तानबीचको सम्बन्ध झनै खराब पारिदिएको छ। अहिले
यी दुई देशले एक अर्कामाथि सानो स्तरमा हमला गरिरहेका छन्। यसै महीना (अप्रिल
२०२५) को २२ तारिखका दिन भारत नियन्त्रित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले त्यस
क्षेत्रको भ्रमणमा गएका पर्यटकहरूको हत्या गरेका थिए। आतङ्कवादीहरूले छानीछानी
हिन्दू पुरुषहरूको निर्मम हत्या गरेका थिए।
पहलगाममा भएको त्यो आतङ्कवादी आक्रमण
पाकिस्तानले गर्न लगाएको भारतले आरोप लगाएको छ भने आफ्नो कुनै भूमिका नरहेको
पाकिस्तानले सफाइ दिएको छ। भारत, पाकिस्तानको
सफाइबाट सन्तुष्ट छैन। आफूलाई अनावश्यक किसिमले यो घटनामा तानेको भन्दै
पाकिस्तानले भारतलगायत अन्य शक्ति राष्ट्रहरूलाई प्रस्ट पारिरहेको छ। अर्कोतिर
भारत, पाकिस्तानको त्यो भनाइबाट सन्तुष्ट छैन।
पाकिस्तानमाथि भारतीय सेनाले भीषण आक्रमण गर्ने चेतावनी दिइरहेको छ। केही दिन
पहिले भारतले पाकिस्तानमाथि सानो स्तरको सैन्य कारबाई गरि पनि सकेको छ।
अहिलेसम्म त यी दुई देशबीच केवल सानो स्तरको
युद्ध भइरहेको छ। तर पछि के हुने हो, भन्न सकिने स्थिति छैन। कमसेकम अहिलेका लागि।
भारत र पाकिस्तानबीच, यो तनावपूर्ण स्थितिमा, केवल सानो स्तरको युद्ध मात्र हुने, घातक हातहतियारसहित ठूलो स्तरमा युद्ध नहुने भन्नेहरू पनि
छन्। वर्तमान परिस्थितिले पनि यी दुई देशबीच ठूलो स्तरमा युद्ध नहुने सङ्केत
दिइरहेको छ। यी दुई देशबीच भीषण युद्ध हुनु दक्षिण एशिया क्षेत्रको लागि राम्रो
होइन। यी दुई देशबीच भीषण युद्ध भएमा र त्यो युद्ध लम्बिएमा, भारत र पाकिस्तान मात्र होइन दक्षिण एशियामा नै
गरीबी थप वृद्धि हुनेछ। रोजगार बजारमा सङ्कुचन आउने छ। सीमान्तकृत परिवारहरूको
आर्थिक जीवन झनै कष्टकर हुनेछ।
जुन गतिमा पाकिस्तानको आर्थिक विकास हुनुपर्ने
थियो त्यो गतिमा हुन सकेको छैन। पाकिस्तानी सरकार जहिले पनि सेनाद्वारा नियन्त्रित
हुने गरेकोले यस देशको अर्थ व्यवस्थाले कुशलतापूर्वक कार्य गर्ने सकेको छैन। यो
कारणले गर्दा पाकिस्तानको आर्थिक स्थिति अहिले त्यति बलियो छैन। यस्तो आर्थिक
स्थितिमा पाकिस्तानले ठूलो युद्ध थेग्न सक्ने देखिंदैन। पाकिस्तानको कमजोर आर्थिक
स्थितिले यस देशलाई अति आक्रामक हुनबाट रोकिरहेको छ। अहिलेको लागि त्यस्तो देखिएको
छ।
भारतको आर्थिक स्थिति अहिले तुलनात्मकरूपमा अति
राम्रो छ। विगत लामो समयदेखि भारतले बलियो सरकार पाएको र सरकार पनि छिटोछिटो
परिवर्तन नभएकोले भारत अहिले आर्थिक प्रगतिको पथमा तीव्र गतिमा दौडिन सक्ने क्षमता
राख्दछ, अहिले पनि मन्द गतिमैं भए पनि दौडिरहेको छ।
प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीबीच राम्रो समन्वय भएको र भारतको
राजनीतिमा मोदीको राम्रो नियन्त्रण भएकोले भारतको अर्थ व्यवस्थाले प्रगति गर्ने
राम्रो अवसर प्राप्त गरेको छ। भारत अहिले भीषण युद्धभन्दा पनि, आर्थिक विकासतिर केन्द्रित हुन इच्छुक देखिएको
छ, बाहिरी रूपमा ऊ भीषण युद्ध गर्न इच्छुक रहेको
देखिए तापनि। भित्रीरूपमा भारत पाकिस्तानसँग भीषण युद्ध गर्ने पक्षमा छैन। तर यो
परिस्थितिमा परिवर्तन आउन पनि सक्छ।
दक्षिण एशियाको साधन र स्रोतहरूको उच्चत्तम
उपयोग गर्न सन् १९८५ मा सार्क (SAARC–South Asian Association for Regional
Cooperation) को स्थापना भएको थियो। स्थापनाकालमा बङ्गलादेश,
भूटान, भारत, मल्दिभ्स, नेपाल, पाकिस्तान र
श्रीलङ्का गरी सात देशहरूबीच दुई र बहु पक्षीय व्यापार विस्तार गरेर यस क्षेत्रको
गरीबी कम पार्ने यस सङ्गठनको साझा लक्ष्य निर्धारण गरिएको थियो। तर त्यो लक्ष्यले
काम गर्न सकेन। भारत र पाकिस्तानबीचको निरन्तर कटुतापूर्ण सम्बन्धले गर्दा जुन
उद्देश्यका साथ सार्कको गठन गरिएको थियो त्यो लक्ष्यको नजीकसम्म पनि यो सङ्गठन
पुग्न सकेन। भविष्यमा पनि पुग्ने सम्भावना देखिंदैन।
दक्षिण एशियाको जनसङ्ख्या २ अर्ब ८ करोड छ।
विश्वको कुल जनसङ्ख्या मध्ये करीब २५ प्रतिशतको बसोवास यस क्षेत्रमा रहेको छ।
जनसङ्ख्या र साधन एवं स्रोतको दृष्टिकोणले दक्षिण एशिया क्षेत्र एउटा भरपर्दो र
अति लाभदायक साझा बजार हुन सक्नेमा शङ्का गर्ने ठाउँ छैन। दक्षिण एशिया साझा
बजारले यस क्षेत्रको गरीबी कम पार्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा दुई मत हुन
सक्तैन।
२८ देश सम्मिलित युरोपको साझा बजार ‘युरोपियन
युनियन’ ले आफ्ना सदस्य राष्ट्रहरूलाई समृद्ध पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
केही राष्ट्रहरू जस्तै, इटाली, फ्रान्स, निदरल्यान्ड्स, जर्मनीलाई अति धनी बनाउन सफलसमेत भएको छ। दक्षिण एशिया साझा बजार वा सार्क,
युरोपियन युनियनझै महत्त्वपूर्ण बजार हुन
सक्थ्यो। तर हुन सकेको छैन। भारतका केही प्रभावशाली नेताहरूले छिमेकी
राष्ट्रहरूप्रति राख्ने ‘हेपाहा’ वा ‘अभिभावक’ अथवा ‘नियन्त्रक’ व्यवहार परित्याग
गर्ने हो र पाकिस्तानका सैन्य शासकहरूले आफ्नो फाइदाका लागि, सधैं सत्तामा रहिरहने उद्देश्यलाई सघाउन
भारतसँग निहुँ नखोज्ने हो भने, र भारत र
पाकिस्तानबीच सम्बन्ध सुमधुर हुने हो भने दक्षिण एशिया विश्वको नै एक शक्तिशाली
साझा बजार बन्न सक्छ। यो साझा बजारले यस क्षेत्रको जनतालाई समृद्ध पार्न सक्छ।
भारतका केही नेताहरूको हैकमवाद र पाकिस्तानका
सैन्य सासकहरूको शक्ति मोहले गर्दा दक्षिण एशियाको आर्थिक विकास सुस्त हुन पुगेको
छ। साथै दक्षिण एशियामा चिरशान्ति पनि स्थापना हुन सकेको छैन।
युरोपियन युनियनका जनता एवं नेताहरूले आर्थिक
विकासलाई महत्त्व दिएझैं दक्षिण एशियाका जनता एवं नेताहरूले, जातीयता, साम्रदायिकता, शक्तिमोह परित्याग गरेर दक्षिण एशियाको आर्थिक विकासलाई महत्त्व दिने हो भने
दक्षिण एशिया आर्थिकरूपमा समृद्ध हुने थियो। यस क्षेत्रका नागरिक रोजगारका लागि
मध्यपूर्व एवं खाडीका देशहरूमा, अमेरिका र युरोपका
देशहरूमा बाध्य भएर पुग्नुपर्ने स्थितिको अन्त्य हुने थियो।
भारत र पाकिस्तानबीच भीषण र लामो युद्ध नहोस्।
दक्षिण एशिया क्षेत्र थप अशान्त र असुरक्षित नहोस्। अहिलेको लागि यो आशा गरौं।
भवतु सब्ब मङ्गलम्!
विश्वराज अधिकारी
प्रतीक दैनिकाम प्रकाशित: Friday, May 9, 2025
https://eprateekdaily.com/2025/05/09/84527/