Friday, April 26, 2024

Nepal-Qatar Trade: Opportunity and Challenge-Article- 450

 नेपाल–कतार व्यापारः अवसर एवं चुनौती

यो आलेख तयार परिरहँदा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा थिए। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल आएका शेख तमिमको नेपालको राजकीय भ्रमणको अवधि नेपाल–कतार सम्बन्धको गहनताको तुलनामा ज्यादै छोटो थियो। मङ्गलवारदेखि बुधवार (२०८१ वैशाख ११ देखि १२)सम्मको दुई दिने भ्रमणमा उनले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गरे। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।

नेपाल वा कतार, कुन सरकारको सक्रियतामा शेख तमिमको नेपालको भ्रमण भएको भनी समाचारहरूमा उल्लेख नभए तापनि नेपाल सरकारले उनको यो आगमनलाई अति महत्व दिएको भन्ने तथ्य प्रस्टरूपमा देखिन्छ। शेखको नेपाल भ्रमणको पहिलो दिन नेपाल सरकारले मुलुकभरि एक दिन सार्वजनिक बिदा दिएको थियो। यसरी नेपाल सरकारले सार्वजनिक बिदा दिनुले नेपाल सरकारले शेखको भ्रमणलाई उच्च महत्व दिएको थप स्पष्ट हुन्छ। साथै नेपालको सार्वजनिक जीवनमा पनि शेखको नेपाल भ्रमणले उच्च सम्मान पाएको छर्लङ्ग हुन्छ।

कुनै पनि सरकारले गर्ने कुनै पनि कार्यलाई केवल उक्त सरकारसँग सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरूले मात्र प्रशंसा गर्ने तर विरोधी दलका नेता तथा कार्यकर्ताहरूले सरकारले गर्ने कुनै पनि कार्यको केवल विरोध मात्र गर्ने हाम्रो अनौठो एवं चतुर–चाकडी परम्परालाई छाडेर कुरा गर्ने हो भने वर्तमान सरकारले कतारका अमिर नेपाल आउने वातावरण तयार पार्नु र कतारी सरकारले शेखको नेपाल भ्रमणलाई उपलब्धिपूर्ण मान्नु वर्तमान सरकारले एक असल कार्य गरेको रूपमा हामी जनताले लिनुपर्छ। भन्नु पनि पर्छ। लेख्नुपर्छ। र त्यस्तो गर्न कन्जुस्याइँ गर्नुहुँदैन।

आर्थिक प्रगतिको दृष्टिकोणले भन्ने हो भने कतार अहिले आर्थिक विकासको प्रतिस्पर्धामा दौडिरहेको त्यस्तो घोडाको हो, जो अन्यलाई पछाडि पार्दै उक्त दौड प्रतिस्पर्धाको पहिलो पङ्क्तिमा छ। कतार अहिले छोटो अवधिमा तीव्र गतिमा आर्थिक विकास गर्ने राष्ट्रमा पर्छ। विश्वको सर्वाधिक प्रतिव्यक्ति आय हुने देशहरूमा (सन् २०२३) पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमशः लक्जेम्बर्ग (४१,२८,८२०), आयरल्यान्ड (४१,०६,९९८) र स्वीट्जरल्यान्ड (४९४,८३५) पर्छन् भने कतार चौथो नम्बरमा (४८९,४१७) पर्छ। कतारको प्रतिव्यक्ति आय संसारको सर्वाधिक ठूलो अर्थतन्त्र भएको तथा एक नम्बर धनी देश अमेरिका (४७७,९५०) भन्दा अधिक रहेको छ। नेपालको प्रतिव्यक्ति आय केवल ४४,७५० रहेको छ। नेपालको तुलनामा कतार निकै धनी छ।

विश्वका सर्वाधिक तेल उत्पादन गर्ने राष्ट्रहरूको सूचीमा कतारको स्थान १५ औ रहेको पाइन्छ। पेट्रोलियम र प्राकृतिक ग्याँस कतारी अर्थव्यवस्थाको मेरुदण्ड हो। कतारी सरकारले ७० प्रतिशत आय यिनै दुई क्षेत्रबाट प्राप्त गर्छ। कतारले ठूलो परिमाणमा इन्धन निर्यात गर्छ। कतार विश्वको तेस्रो ठूलो प्राकृतिक ग्याँसको भण्डार भएको देश हो भने विश्वको दोस्रो ठूलो प्राकृतिक ग्याँस निर्यात गर्ने देश हो। 

कतारले आउने वर्षहरूमा इन्धनमा अतिनिर्भर रहेको आफ्नो अर्थव्यवस्थालाई अन्य क्षेत्रमा लग्न वा विविधीकरण गर्ने, पर्यटनतिर पनि आफ्नो ध्यान केन्द्रित गरेको छ। यसैगरी, आफ्नो राष्ट्रिय हवाई व्यवस्थालाई संसारको नै ‘हब’ वा केन्द्र बनाउने तरखरमा छ। र उपलब्धि पनि हासिल गरेको छ। अहिले कतारको दोहाबाट संसारका अनेक राष्ट्रहरू पुग्नका लागि हवाई उडान गर्न सकिन्छ। अर्थात् कतारबाट सोझै विश्वका अनेक देशहरूमा पुग्न सकिन्छ। कनेक्टिङ फ्लाइटको सहयोग लिनुपर्दैन। एक सानो राष्ट्र कतारले गरेको यो सर्वाधिक ठूलो उपलब्धि हो।

तेल र प्राकृतिक ग्याँसप्रतिको अतिनिर्भरतालाई कम पार्न कतारले अहिले पर्यटन क्षेत्रमा पनि उत्तिकै ध्यान दिएको छ। कतारलाई विश्वसामु परिचित गराउन तथा देशभित्र ठूलो सङ्ख्यामा पर्यटकहरू ल्याउन कतारले सन् २०२२ मा फिफा वल्र्ड कप २०२२ को आयोजना गरेको थियो। कतार विश्वभरि चर्चित पनि भएको थियो।

कतारसँगको सम्बन्धलाई थप सुमधुर पार्न नेपाल सरकारले विशेष पहल गरेको हो वा कतार सरकारले नै विशेष पहल गरेको हो, स्थिति जे जस्तो होस्, तर यो स्थिति नेपालको अति हितमा छ। नेपाल–कतारबीचको सुमधुर सम्बन्धले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यो कुरा विश्वासका साथ भन्न सकिन्छ।

नेपाल–कतार सुमधुर सम्बन्धको फाइदा हामीले तीन क्षेत्रहरूमा लिन सक्छौं। र ती क्षेत्रहरू हुन्– पर्यटन, निर्यात तथा श्रम।

हामीले माथि नै भनिसक्यौं, कतार एक धनी देश हो। कतारीहरूको क्रयशक्ति पनि ज्यादै बलियो छ। यदि कतारीहरूलाई नेपाल आउन, नेपालमा लामो समयसम्म बस्न तथा पर्वतीय क्षेत्रहरूको भ्रमणमा जान उत्प्रेरित गर्न सक्यौं भने हामीले पर्यटनबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छौं। प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण देश नेपालमा आउन कतारीहरू अवश्य पनि इच्छुक एवं उत्साहित हुनेछन्। कतारमा मरुभूमिको बाहुल्यता रहेको छ भने उच्च हिमाल र अग्ला पहाडहरूको अभाव छ। कतारीहरूका लागि उच्च हिमाल र अग्ला पहाडहरू आकर्षक र प्रमुख गन्तव्य हुन सक्छन्। हामीले हाम्रो पर्यटकीय क्षेत्रको प्रचारप्रसार प्रभावकारी किसिमले कतारमा गर्न सक्यौं भने अवश्य पनि ठूलो सङ्ख्यामा कतारीहरू भ्रमणका लागि नेपाल आउनेछन्। नेपाल–कतार आर्थिक सम्बन्धले अवश्य पनि नेपालमा बेरोजगारी कम पार्नमा सघाउ पु-याउने छ।

चीन र भारत जस्ता दुई धनी छिमेकीको बीचमा रहेको हाम्रो स्थितिले गर्दा हामीले सस्तोमा औद्योगिक वस्तुहरू अनेक देशहरूलाई बिक्री गरेर राम्रो आम्दानी पाउन सक्दैनौं। हामीले नेपालमा उत्पादन गर्दा उत्पादन लागत (भारत र चीनको तुलनामा) कम पार्न सक्दैनौं। 

तर यदि हामीले मौलिक नेपाली वस्तुहरू, हस्तकलाका वस्तुहरू, जडीबुटी आदि कतारलाई बिक्री गर्ने हो भने ती वस्तुहरू कतारमा सजिलै बिक्री गर्न सक्छौं। ती वस्तुहरू हाम्रा मौलिक वस्तु भएकाले कतारी बजारहरूमा ती वस्तु बिक्री गर्दा अन्य वस्तुहरूसँग हाम्रा वस्तुहरूले प्रतिस्पर्धा गर्नुपर्दैन।

हामीले मौलिक नेपाली वस्तुहरू ठूलो परिमाणमा कतार निर्यात गर्न अनेक अध्ययन र अनुसन्धान गर्नुपर्छ। कतारी उपभोक्ताहरूको प्राथमिकता, रुचि, इच्छा आदि बुझ्नुपर्छ। कतारी उपभोक्ताहरूको खरीद व्यवहार बुझेर हामीले मौलिक नेपाली वस्तुहरू कतारतिर निर्यात गर्नुपर्छ। उच्च प्रशोधित जल पनि हामीले कतारी बजारहरूमा बिक्री गर्न सक्छौं।

हामीले अहिले कतारको श्रम बजारबाट राम्रो आम्दानी प्राप्त गर्न सकेका छैनौं। तर योजनाबद्ध किसिमले कार्य गर्ने हो भने कतारको श्रम बजारबाट राम्रो लाभ प्राप्त गर्न सक्छौं। अहिले कतारमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। यति ठूलो सङ्ख्यामा नेपाली कामदारहरू कतारमा कार्यरत छन्, तर उनीहरू कम आय प्राप्त हुने क्षेत्रमा छन्। नेपालबाट कतार पुगेका लाखौं अदक्ष कामदार अहिले कतारको निर्माण क्षेत्रमा कार्यरत छन्। श्रमिकको रूपमा कार्यरत छ। अर्थात् अहिले कतारमा अदक्ष नेपाली कामदारहरूको सङ्ख्या ठूलो छ।

यदि दक्ष कामदारको रूपमा नेपालीहरूले कतारमा काम गर्न पाउने हो र ठूलो सङ्ख्यामा नेपालीहरूलाई कतारी सरकारले दक्ष कामदारको रूपमा कार्य गर्न दिने हो तथा नेपालबाट ठूलो सङ्ख्यामा दक्ष कामदारहरू कतार पठाउन हामी सफल हुने हो भने कतारको श्रम बजारबाट हामीले ठूलो लाभ प्राप्त गर्न सक्छौं। कतारको श्रम बजार हाम्रोलागि ठूलो व्यापारिक अवसर हो।

चीन र भारत हाम्रोलागि नाम मात्रका ठूला बजारहरू हुन्। सूचना र प्रविधिको क्षेत्रमा उनीहरूले गरेका अभूतपूर्व विकास र उद्योगको क्षेत्रमा रहेको उनीहरूको वर्चस्वले गर्दा यी दुई छिमेकीबाट हामीले व्यापारिक क्षेत्रमा कुनै पनि किसिमको उल्लेखनीय आर्थिक फाइदा लिन सक्दैनौं। हाम्रो सानो बजारले उनीहरूको ठूलो बजारसँग प्रतिस्पर्धा गर्न सक्दैन।

नेपाल–कतार सुमधुर सम्बन्धको उपयोग हामीले नेपालको आर्थिक विकासमा गर्न सक्छौं। यदि हामीले यस विषयलाई महत्व दिने हो भने।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 26, 2024

https://eprateekdaily.com/2024/04/26/66703/ 

Monday, April 22, 2024

Autocratic Democracy and Economic Development-Article-449

 लोकतान्त्रिक निरङ्कुशतावाद र आर्थिक विकास

समय परिवर्तनसँगै अनेक किसिमका पद्धति, सिद्धान्त र वादहरूको विकास भयो। तिनको प्रयोग पनि भयो। तीमध्ये केहीले मात्र दीर्घ जीवन पाए। धेरैको मृत्यु भयो।

केही वाद र सिद्धान्त लोकहितका लागि निर्माण भएका थिए। तर तिनको प्रयोगकर्ताले ती वाद र सिद्धान्त केवल आफ्नो हितको लागि उपयोग गरे। केही वाद र सिद्धान्त निर्माण केही व्यक्तिले केवल आफ्नो हितका लागि गरे। आफ्नो स्वार्थ पूर्तिका लागि तिनको प्रयोग गरे। ती वाद र सिद्धान्तको प्रयोग गरेर जनतालाई झुक्याए, ठगे।

कुनै समय राजा, महाराजा र बादशाहहरूले निर्माण गरेका राष्ट्रवाद पनि निकै प्रचलनमा रह्यो। लोपप्रिय पनि रह्यो। राष्ट्रवादको नाममा करोडौं व्यक्तिले एकआपसमा युद्ध गरे। आफ्नो ज्यान दिए। राष्ट्रवादको नाममा, राज्य विस्तारको नाममा करोडौं व्यक्तिले युद्ध गरे। राजा, महाराजा र बादशाहहरूलाई फाइदा पु-याए। खासमा राष्ट्रवादको निर्माण राजा, महाराजहरूले आफ्नो फाइदाको लागि गरेका थिए। राजगद्दी वा सिंहासनको रक्षाका लागि गरेका थिए। राष्ट्रवादबाट जनताले के फाइदा पायो, के फाइदा पाइरहेको छ?

संसारभरिकै गरीबहरूको कुरा गर्ने हो भने उनीहरूको जन्म एउटा देशमा हुन्छ, आजीवन अर्को देशमा बस्छन्। खोइ त गरीब व्यक्तिको राष्ट्रवाद? शान्ति, सुरक्षा, रोजगारजस्ता कारणले गर्दा अहिले पनि विश्वको लगभग एक चौथाई जनसङ्ख्या आफू जन्मे, हुर्केको देशमा होइन, अर्को देशमा बसेको पाइन्छ। यथार्थमा उच्च महत्वाकाङ्क्षा र पेटभित्रको भोकले मानिसभित्र रहेको राष्ट्रवादलाई अर्थहीन तुल्याइदिएको हुन्छ। तर पनि राष्ट्रवादको प्रयोग अझै व्यापक भइरहेको छ। राष्ट्रवाद, नेताहरूको लागि सुन दिने कुखुरा भएको छ।

साम्यवाद र समाजवादको निर्माण कुनै समयमा केही व्यक्तिले लोकहितको लागि गरे। कार्लमाक्र्स तिनै केही व्यक्तिमध्येका थिए। तर पछि, समाजवाद र साम्यवाद, दुवै वादको प्रयोग बहुसङ्ख्यक स्वार्थी नेताहरूले आफ्नो फाइदाका लागि गरे। प्रयोग मात्र गरेरनन्, आफनो देशको जनताको चरम शोषण गरे। चीनका माओत्से तुङ, रूसका स्टालिन र लेनिन, उत्तर कोरियाका किम इल सुङ, भेनेजुएलाका ह्युगे चाभेज, क्युबाका फिडेल कास्ट्रोजस्ता व्यक्तिले साम्यवादको भरपूर प्रयोग केवल आफ्नो फाइदाका लागि गरे। सतह बाहिर हेर्दा र यी नेताहरूको भनाइ अनुसार साम्यवादको प्रयोग देश र जनताको लागि गरेको भने तापनि यथार्थमा यी नेताहरूले साम्यवादको प्रयोग आफ्नो हितका लागि गरे।

संसारभरिमा सर्वाधिक दुरुपयोग भएको वाद, साम्यवाद वा समाजवाद हो। दक्षिण एशियामा, मुख्यगरी भारतमा इन्दिरा गाँधीले पनि समाजवादको निकै दुरुपयोग गरिन्। भारत होइन, आफूलाई बलियो बनाउन इन्दिरा गाँधीले समाजवादको चरम दुरुपयोग गरिन्। भारतलाई अति गरीब पारिन्। भारतीय कम्युनिस्टहरूले पनि साम्यवाद (नक्स्लाइट आन्दोलन) को चरम दुरुपयोग गरे। पश्चिम बङ्गाललाई त गरीब नै बनाए। 

साम्यवादको अत्यधिक दुरुपयोग हुने राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। नेपालमा कम्युनिस्ट नेताहरूले साम्यवादको चरम दुरुपयोग गरेका छन्। गरीब जनतालाई साम्यवाद नामको लड्डु देखाएर नेपालका नेताहरूले अति नै ठगेका छन्। भोलिका दिनमा तपाईंहरूको दुःख समाप्त हुन्छ भन्दै नेपालका कम्युनिस्ट नेताहरूले जनतालाई बन्दूक बोकाएका छन्। आफ्नै दिदीबहिनी दाजुभाइको हत्या गर्न लगाएका छन्। साम्यवादको पासो थापेर जनतालाई त्यस पासोमा पारेर नेपालका धेरै साम्यवादी नेताहरू शक्तिमा पुगेका छन्। सांसद, मन्त्री र प्रधानमन्त्री भएका छन्। कुन कुन कम्युनिस्ट नेताहरूले नेपालीहरूलाई कसरी ठगे भन्ने कुरा घामझैं छर्लङ्ग छ। ती नेताहरूको नाम लिनुपर्दैन। अहिले भने संसारभरि नै एउटा वादको निकै प्रयोग हुन थालेको छ। र त्यो हो लोकतान्त्रिक निरङ्कुशतावाद।

सर्वप्रथम लोकतान्त्रिक निरङ्कुशतावाद के हो त्यो बुझौं। लोकतान्त्रिक निरङ्कुशतावाद भनेको नाम लोकतन्त्र तर व्यवहार निरङ्कुश। लोकतान्त्रिक निरङ्कुशतावादमा व्यवस्था तथा देशभित्र न्यायालय हुन्छ, संसद् हुन्छ, सरकार पनि हुन्छ। तर यी तीनै अङ्ग केवल एक वा केही नेताको नियन्त्रणमा हुन्छ। स्वतन्त्र हुँदैन। कार्यपालिका, न्यायपालिका र विधायिका, एक वा केही नेताहरूको कठपुतली मात्र हुन्छन्। यो वादमा प्रजातान्त्रिक किसिमले चुनाव हुन्छ, चुनाव निष्पक्ष भएको अति प्रचार प्रसार पनि गरिन्छ। तर चुनावमा जीत भने त्यही एक व्यक्ति वा केही व्यक्तिको हुन्छ। अन्य प्रतिस्पर्धी पाखा लाग्छन्। उनीहरूलाई पाखा लगाइन्छ।

रूसमा अहिले लोकतान्त्रिक निरङ्कुशतावादको प्रयोग चरम किसिमले भइरहेको छ। भ्लादमिर पुटिन यही वाद प्रयोग गरेर पटकपटक चुनावमा विजयी भइरहेका छन्। रूसको कार्यपालिका, न्यायपालिका र विधायिका, राष्ट्रका तीनै अङ्ग, अहिले पुटिनको नियन्त्रणमा छ। रूसमा लोकतन्त्र त छ, तर पुटिन मोडेलको छ। रूसको लोकतन्त्र निरङ्कुश लोकतन्त्र हो। पाकिस्तानको लोकतन्त्र पनि निरङ्कुश लोकतन्त्र हो।

भारत पनि अहिले निरङ्कुश लोकतन्त्रको मार्गमा दौडिन तयार अवस्थामा छ। केही दिनपछि नै भारतमा लोकसभा चुनाव हुँदैछ। र यो चुनावमा भाजपाले विजय प्राप्त गर्ने पक्का छ। नरेन्द्र मोदीले विजय प्राप्त गर्ने पक्का छ। मोदीले पनि पुटिनको मोडेल प्रयोग गरेका छन्, तर अलि फरक किसिमले। मोदीले धर्मलाई चुनावी रणनीति बनाएका छन् भने पुटिनले राष्ट्रवादलाई।

लोकतान्त्रिक व्यवहार देखाएर के भ्लादमिर पुटिन र नरेन्द्र मोदी आफ्नो उत्तराधिकारीलाई सत्ता हस्तातन्तरण गर्न सक्तैनन्? आफ्नो दलका अन्य योग्य व्यक्तिहरूलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सक्तैनन्? लोकतन्त्रमा एउटै व्यक्ति पटकपटक एउटै पदमा बस्न पाउँदैन। एउटै व्यक्ति सदा पद र शक्तिमा रहँदा निरङ्कुश हुन्छ भनेर नै लोकतन्त्रमा निर्वाचन गराइन्छ। पुटिन र मोदी आआफ्नो देशभित्र लोकप्रिय भए भन्दैमा के ती देशको जनताले यी दुईलाई नै जहिले पनि सरकार प्रमुख बनाउने

अब कुरा गरौ नेपालको। नेपालका यी नेताहरू– केपी ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर आदि लोकतान्त्रिक निरङ्कुशतावादमा विश्वास र सोही अनुसार व्यवहार गर्ने नेता हुन्। जतिपटक चुनाव भए पनि, घुमाउरो पाराले (समानुपातिक, मनोनीत) भए पनि, यिनै नेता पटकपटक सत्तामा पुग्छन्। शक्तिशली बन्छन्। मन्त्री, प्रधानमन्त्री राष्ट्रपति बन्छन्। २०४७ सालदेखि यी नेताहरू जहिले पनि शक्ति र सत्तामा छन्। यिनीहरूलाई न चुनावले, न व्यवस्थाले विस्थापित गर्न सक्छ।

नेपालमा अहिले लोकतान्त्रिक निरङ्कुशतावाद छ। अहिले यो वादले केही नेताहरूलाई निकै फाइदा पुर्याएको छ। यो वादको प्रयोग गरेर नै केही नेता शक्तिशाली भएका छन्। पटकपटक उनीहरू नै सत्ता र सरकारमा पुगेका छन्। दुईपटक, तीनपटक, पाँचपटक प्रधानमन्त्री भएका छन्।

लोकतान्त्रिक निरङ्कुशतावाद र अर्थ व्यवस्थाबीच कस्तो सम्बन्ध हुन्छ तथा लोकतान्त्रिक निरङ्कुशतावादले राष्ट्रलाई कसरी गरीब पार्छ अब त्यसबारे चर्चा गरौं।

रूसका राष्ट्रपति भ्लादमिर पुटिनले लोकतान्त्रिक निरङ्कुशतावाद प्रयोग गरिरहेका छन्, यो कुरा जगजाहेर छ। राष्ट्रवादको नारा दिएर उनी चुनावमा विजयी हुन सदा सफल भएका छन्। त्यति मात्र होइन, आफू राष्ट्रवादी हुँ भनी प्रदर्शन र प्रमाणित गर्न उनले युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेना खटाएका पनि छन्। अर्थात् आफूलाई राष्ट्रवादी देखाउन उनले युक्रेनमाथि अनावश्यक आक्रमण गरेका छन्। रूसलाई निरन्तर युद्धरत पारेर रूस र रूसी जनतालाई गरीब पार्ने कार्य गरेका छन्। यदि रूस युद्धमा नलागेको भए, रूसमा शान्ति रहेको भए, रुसले तीव्र गतिमा आर्थिक विकास गर्ने थियो। तर पुटिनलाई राष्ट्रवादी देखाउन, जहिले पनि सत्तामा रहिरहन रूस गरीब हुनुपरेको छ। युद्धमा अनावश्यक किसिमले लाग्नु परेको छ। युक्रेन सही छ वा गलत, त्यो चर्चाको अर्को पाटो हो। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की अन्य राष्ट्रद्वारा उचालिएर, अन्य राष्ट्रहरूका लगि रूससँग युद्ध गरिरहेका छन्। यो विश्लेषणको अर्को पाटो हो। यहाँ मुख्यरूपमा लोकतान्त्रिक निरङ्कुशतावादले कसरी देशलाई गरीब बनाउँछ, भन्नु हो। निरङ्कुशतावाद प्रयोग गरेर पुटिनले जसरी रूसलाई गरीब बनाइरहेका छन् त्यसैगरी विश्वका अन्य केही नेताले निरङ्कुशतावाद प्रयोग गरेर आफ्नो देशलाई गरीब बनाइरहेका छन्। निरङ्कुशतावादमा, शक्ति र सत्तामा रहिरहन, नेताहरू देशको स्रोत एवं साधनको, आफ्नो हितमा चरम दुरुपयोग गर्छन्।

नेपाललाई पनि लोकतान्त्रिक निरङ्कुशतावादी नेताहरूले गरीब तुल्याइरहेका छन्। जहिले पनि, आफूहरू नै, शक्ति र सत्तामा रहने यिनीहरूको स्वभावले गर्दा, वा यिनीहरूको निरङ्कुश चरित्रले गर्दा आर्थिक विकासका ठूला ठूला विषयले महत्व पाएका छैनन्। यिनीहरूको अर्जुन–दृष्टि केवल कुर्सीमा रहेकोले विकासका कार्यहरू अवरुद्ध भएका छन्। यी नेताहरूको सत्तालोलुप स्वभाव देखेर अहिले नेपालीहरूमा चरम निराशा व्याप्त भएको छ। विशेषगरी युवाहरू नेपालमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन् र प्रत्येक दिन चराजस्तो झुन्ड बनाएर, विदेशी आकाशतर्फ उडिरहेका छन्।A

नेपालका यी नेताहरूको लोकतान्त्रिक निरङ्कुशतावादले देशलाई झन्झन् गरीब पार्दै लगेको छ। यस गम्भीर विषयप्रति अति गम्भीर भएर एकजना नेताले मात्र पनि, शेरबहादुर देउवाले नै मात्र पनि, ‘मैले राजनीतिबाट सन्न्यास लिएँ’ भन्ने घोषणा गरिदिए नेपाली राजनीतिमा केही तरङ्ग आउने थियो। र त्यो तरङ्ग सकारात्मक हुने थियो। नेपालको आर्थिक विकासको लागि अनुकूल हुने थियो।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित:Friday, April 19, 2024

https://eprateekdaily.com/2024/04/18/66343/ 

Friday, April 12, 2024

People: Top Cause of Poverty-Article- 448

 जनताको मनोवृत्तिले देश गरीब हुन्छ

गरीब देश हुने हो कि जनता? यो प्रश्नको उत्तर जति सरल छ, उत्तर त्यतिकै जटिल छ। देश गरीब भएपछि जनता पनि गरीब हुनु स्वाभाविक हो। गरीब देशको जनता पनि गरीब नै हुन्छ। देशमा उपलब्ध स्रोत एवं साधनले जनतालाई धनी बनाउने हो। तर यो धारणा परम्परागत हो। र उपर्युक्त प्रश्नको सरल उत्तर हो।

आधुनिक वा नवधारणा अनुसार कुनै पनि देश गरीब हुँदैन। हरेक देशसँग कुनै न कुनै किसिमको प्राकृतिक सम्पत्ति हुन्छ नै। संसारमा यस्तो देश बिरलै भेटिएला जहाँ कुनै पनि किसिमको साधन र स्रोत नहोस्।

सर्वाधिक गरीबी र गरीबहरूको बसोवास भएको महादेश अफ्रिकालाई मान्ने गरिन्छ। अफ्रिकी महादेशका राष्ट्रहरू गरीब छन्। तर अफ्रिकी देशहरू स्रोत र साधनको अभावले गरीब भएका होइन, जनताको व्यवहार, सोच, संस्कार, परम्परा आदिले गर्दा गरीब भएका हुन्। निरन्तरको द्वन्द्व र सङ्घर्षहरूले गर्दा गरीब भएका हुन्। माथिको प्रश्नको यो जटिल उत्तर हो।

अफ्रिकी राष्ट्रहरू–बोत्सवाना र कङ्गो विश्वका क्रमशः दोस्रो र चौथो सर्वाधिक हीरा भएका राष्ट्र हुन्। संसारभरि सर्वाधिक ठूलो तेल भण्डार दक्षिण अमेरिकी देश भेनेजुएलामा छ। भेनेजुएला दक्षिण अमेरिकाको गरीब राष्ट्रमध्ये पर्दछ। कम्युनिस्ट शासकहरूले यो देशलाई गरीब पार्ने क्रम जारि नै छ।

विश्वमा सर्वाधिक कच्चा तेल उत्पादन गर्ने पाँच राष्ट्रमा कमशः १ संयुक्त राज्य अमेरिका, २ साउदी अरेबिया, ३ रूस, ४ क्यानाडा र ५ इराक पर्दछन्। विश्वमा ठूलो मात्रामा कच्चा तेल उत्पादन गर्ने राष्ट्रहरूमा साउदी अरेबिया र इराक परे तापनि संयुक्त राज्य अमेरिको तुलनामा साउदी अरेबिया र इराक दुबै गरीब छन्।

घाना, बुरकिना फासो, तान्जानिया, साउथ अफ्रिका, इजिप्ट, जिम्बाब्वे, माली, ग्युनी, अल्जेरिया अफ्रिकी महादेशका यस्ता राष्ट्र हुन् जहाँ ठूलो परिमाणमा सुन उत्पादन हुन्छ। ठूलो परिमाणमा यी राष्ट्रहरूमा सुन उत्पादन भए तापनि यी राष्ट्रहरू धनी राष्ट्रको श्रेणीमा पर्दैनन्।

कुनै पनि राष्ट्रलाई गरीब वा धनी बनाउने त्यहाँको जनता नै हो। देशलाई गरीब वा धनी तुल्याउने प्रमुख तत्व जनता नै हो। जनताको क्रियाकलाप सकारात्मक छ भने देश धनी हुन्छ, नकारात्मक हुँदा गरीब हुन्छ। अफगानिस्तानलाई अति गरीब र द्वन्दग्रस्त त्यहाँको जनताले नै बनाएको हो। साधन र स्रोतको अभावमा अफगानिस्तान गरीब भएको होइन। 

संयुक्त राज्य अमेरिका र मेक्सिको दुवै छिमेकी राष्ट्र हुन्। यी दुवै राष्ट्रको साझा आकाश छ। साझा जलवायु छ। साझा मौसम छ। साझा भूमि पनि छ। जनताको सोच र मनोविज्ञान भने साझा छैन।

संयुक्त राज्य अमेरिका विश्वको सर्वाधिक धनी राष्ट्र हो भने मेक्सिको दोस्रो, तेस्रो वा चौथो धनी राष्ट्र पनि होइन। विश्वका सर्वाधिक ठूला अर्थ व्यवस्थाको सूचीमा मेक्सिकोको स्थान १४ औं रहेको छ। अमेरिका र क्यानाडा जस्ता धनी राष्ट्रहरूको निकट रहेर पनि मेक्सिको यी दुई राष्ट्रहरूको तुलनामा गरीब छ। किन होला?

क्यानाडा र अमेरिकालाई यी देशका जनताले धनी पारेको हो, स्रोत एवं साधनले होइन। क्यानाडा र अमेरिकाका कतिपय स्थानमा मौसम जहिले पनि प्रतिकूल हुन्छ र मानिसको बासोवाससमेत छैन। कतिपय भूमि बञ्जर छ। त्यहाँ केही पनि उत्पादन गर्न सकिंदैन। तर स्थिति प्रतिकूल भए पनि यी देशहरूले विकास गरेका छन्। धनी देश कहलिएका छन्।

अमेरिकीहरूले आफ्नो पसिना र परिश्रमद्वारा यो देशलाई धनी बनाएका हुन्। अमेरिकीहरू औसतमा अत्यधिक कार्य गर्ने विश्वका नागरिकमध्ये पर्छन्। काम गर्नुपर्छ र इमानदारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्ने अमेरिकीहरू यो विश्वास गर्छन् कि हामीले नै आफ्नो टोल, शहर, राज्य र देशको विकास गर्ने हो। लडाइ–ँझगडा, सङ्घर्षले देशको आर्थिक विकास हुँदैन, बरु मिलेर बसेमा देशको आर्थिक विकास हुन्छ भन्ने कुरा अमेरिकीहरूलाई राम्ररी थाहा छ। यो सोच र समझदारीले गर्दा ५० राज्य भएको संयुक्त राज्य अमेरिकामा राज्य–राज्य बिच कुनै द्वन्द् छैन।

छिमेकी राष्ट्र मेक्सिकोको स्थिति भने विपरीत छ। राष्ट्रको आर्थिक विकासको लागि मेक्सिकनहरू पनि अति परिश्रम गर्छन् तर मेक्सिकोमा अपराध ठूलो मात्रामा हुन्छ। लागू औषध व्यापारका लागि मेक्सिकोलाई ‘स्वर्ण भूमि’ मान्ने गरिन्छ। विश्वका सर्वाधिक ठूला र कुख्यात पाँच लागू औषध कारोबार गर्ने संस्था (Drug Cartels) हरू मध्ये चार संस्था मेक्किकोमा छ। मेक्सिकको कतिपय स्थानमा लागू औषध कारोबार गर्ने ‘दादा’ हरूले समानान्तर सरकार सञ्चालन गरेका छन्। सिनोला कार्टेल, गल्फ कार्टेल, लस जेटास, जुराज कारटेलजस्ता कुख्यात लागू औषध कारोबार गर्ने संस्था (कारटेल) हरू मेक्सिकोमैं छन्। र यी संस्थाहरूको कारोबार युरोप, अफ्रिका, उत्तर अमरिका, दक्षिण अमेरिका र एशियाभरि फैलिएको छ।

मेक्सिकोको करीब ३५ प्रतिशत जमीनमा सरकारको होइन, लागू औषध कारोबारीहरूको नियन्त्रण छ। मेक्सिकन सरकारको अति सक्रियता हुँदाहुँदै पनि लागू औषधको कारोबार त्यस देशमा नियन्त्रण हुन सकेको छैन। सोनारा, बाजा कालिफोर्निया, नायारित, जालिस्को, चियापास आदि यस्ता मेक्सिकन राज्य हुन् जहाँ ठूलो मात्रामा लागू औषधका कारोबारीहरू छन्। मेक्सिकोको कुलिएकान शहर त लागू औषध खरीद–बिक्रीका लागि बदनाम नै छ।

सन् २०१९ को अक्टोबर महीनामा मेक्सिकोको सिनोला राज्यको कुलिएकान भन्ने शहरमा लागू औषधका कारोबारीहरू र मेक्सिको सरकारका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा, अनेक कारणले गर्दा, सरकारी सुरक्षाकर्मी पछडि हट्नुपरेको थियो। सरकारी सुरक्षाकर्मीहरू पराजित हुनु परेको थियो। सरकारले लागू औषध विरुद्ध कार्यवाही बन्द गर्नुपरेको थियो। लागू औषध कारोबारीहरू मेक्सिकोमा त्यतिसम्म बलिया छन्।

अब नेपालको कुरा गरौं। नेपाल गरीब हुनुका कारणहरू खोजौं। नेपाल जनताको सोच, व्यवहार, संस्कारको कारणले गर्दा गरीब भएको हो। जबसम्म हामी नेपालीहरू आफ्नो व्यवहार, सोच, संस्कारमा परिवर्तन गर्दैनौ तबसम्म हामी निर्धन नै रहिरहने छौं। जबसम्म हामीले धूर्त, बेइमान र भ्रष्ट नेताहरूलाई आफ्नो अमूल्य भोट दिएर चुनावमा विजयी गराइरहन्छौं, उनीहरूलाई शक्ति र सत्तामा पुर्याइ रहन्छौ तबसम्म हामी गरीब रहिरहन्छौं।

कहिले जातीयताको, कहिले क्षेत्रीयताको, कहिले साम्प्रदायिकताको, त कहिले वेशको त कहिले भाषाको कुरा लिएर आउने र हामीबीच विभाजन गरेर हामीमाथि शासन गर्ने, हामीलाई गरीब पार्ने नेताहरूको पछि लाग्न नछाडेसम्म हामी समृद्धिको दिशातर्फ अग्रसर हुन सक्तैनौं।

निर्वाचित प्रतिनिधिहरूको कार्य देशको लगि आवश्यक नियम–कानून निर्माण गर्नु हो। यसका लागि जनताले उनीहरूलाई निर्वाचित गरेको हो। यो कार्य गरेबापत जनप्रतिनिधिहरूले पारिश्रमिक पाउने गर्छन्। राज्यले उपलब्ध गराएको स्रोत र साधनको भरपूर उपभोग गर्छन्।

सांसदहरूको कार्य संसद् सञ्चालन गर्नु हो। गृहमन्त्री रवि लामिछाने प्रकरण अगाडि सारेर सांसदहरूले, मुख्यगरी नेपाली काङ्ग्रेसका सांसदहरूले संसद् अवरुद्ध पारेका छन्। संसद सञ्चालन गर्न दिएका छैनन्। यो कस्तो राजनीतिक संस्कृति हो? यो समस्याको समाधान खोज्ने कस्तो तरीका हो? एकजना मन्त्रीको कार्यको विरोधमा संसद् नै अवरोध गर्ने? देशको कार्य नै अवरुद्ध पार्ने? नेपाली काङ्ग्रेसको दलगत फाइदाको लागि संसद् नै चल्ने नदिने?

रवि लामिछानेले यदि कुनै कसूर गरेका छन् भने त्यस कसूर उपर छानबीन गर्ने प्रशासन छ। यदि कसूर गरेको ठहर भएमा लामिछानेलाई सो अपराध गरेबापत सजाय दिने अदालत छ। नेपाली काङ्ग्रेसलाई लामिछानेको कार्यप्रति शङ्का छ, उनले सहकारी–ठगी गरेका छन् भन्ने नेपाली काङ्ग्रेसलाई लागेको छ भने लामिछाने उपर काङ्ग्रेसले मुद्दा हाले हुँदैन? अदालत गए हुँदैन? संसद् नै अवरुद्ध गर्नुपर्छ?

देशको लागि आवश्यक नियम कानून निर्माण गर्ने संसद् कुनै पनि बहानामा अवरुद्ध हुनुहुँदैन। देशको आर्थिक विकासका लागि मार्ग निर्माण गर्ने संसद् निर्वाध सञ्चालन हुनुपर्छ। सांसदहरूलाई केही कार्य नै नगरी केवल होहल्ला गर्न जनताले निवार्चित गरेर संसद्मा पठएको होइन। संसद्भित्र होहल्ला गर्न राज्यले अनेक सुविधा र तलब भत्ता दिएको होइन। 

हो, यस्तैयस्तै कारणले गर्दा हामी नेपालीहरू गरीब भएका हौं। आवश्यक कार्य नगर्ने, अनावश्यक कार्य खोजीखोजी गर्ने हाम्रो प्रवृत्तिले गर्दा नै हामी गरीब भएका हौं। हामी, आफ्नो विकास विरोधी सोच र व्यवहारहरूले गर्दा गरीब भएका हौं।

जनताले बेइमान र भ्रष्ट नेताहरू निर्वाचित गरेर पठाउने र त्यस्ता नेताहरूले देशको होइन, केवल आफ्नो विकास गर्ने र यसरी स्वार्थी नेताहरूबाट देशको आर्थिक विकास नहुने अनि हामी सदा गरीब हुने। यो गोल–चक्करबाट हामी बाहिर नआएसम्म नेपालको आर्थिक विकास सम्भव छैन। नेपाल र नेपालीको आर्थिक विकास गर्न माथि भनिएको त्यो गोलचक्कर अर्थात् कुचक्र तोड्नैपर्छ। हामीले इमानदार नेता मात्र निर्चाचित गर्नुपर्छ।

नया संस्करणमा देखिएका राजेन्द्र महतो र यस्तै प्रवृत्तिका अन्य नेताहरूको पछि लागेसम्म हामी गरीबीको त्यो कुचक्रबाट कहिले बाहिर आउन सक्तैनौं।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 12, 2024

https://eprateekdaily.com/2024/04/12/66033/ 

Friday, April 5, 2024

Why Is SAARC Not Functioning?-Article-447

 दक्षिण एशियामा क्षेत्रिय बजार विकासमा अवरोध

कुनै पनि क्षेत्रको आर्थिक विकासमा त्यस क्षेत्रको क्षेत्रीय बजारले अति नै महत्वपूर्ण भूमिका खेलको हुन्छ। र यो कारणले गर्दा नै विश्वभरि अनेक क्षेत्रीय बजारको स्थापना भएको छ। ती क्षेत्रीय बजारहरूले आआफ्ना क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याएका छन्। यस्तै उद्देश्य लिएर दक्षिण एशियामा यस क्षेत्रको आर्थिक विकास गर्नका लागि डिसेम्बर ८, १९८५ मा बङ्गलादेशको राजधानी ढाकामा सार्क (SAARC– South Asian Association for Regional Cooperation) को स्थापना भएको थियो। यस सङ्गठनका सदस्य राष्ट्रहरूको रूपमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काजस्ता बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रहरू छन्। नेपालको राजधानी काठमाडौंमा प्रधान कार्यालय रहेको यस सङ्गठनले आर्थिक क्षेत्रमा शून्य बराबर उपलब्धि हासिल गरेको छ। त्यस्तो किन भएको होला?

सार्कको आर्थिक उपलब्धि शून्य हुनुको कारणबारे चर्चा गर्नु पूर्व संसारमा रहेका केही क्षेत्रीय सङ्गठन वा साझा बजारबारे कुरा गरौं। अनेक राष्ट्रको आर्थिक विकासमा तिनले पु-याएका योगदानबारे चर्चा गरौं।

युरोपको क्षेत्रीय बजार युरोपियन युनियनले आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। सदस्य राष्ट्रहरूबीच सुमधुर सम्बन्ध कायम गरेर यस क्षेत्रको आर्थिक विकासमा युरोपियन युनियनले महत्वपूर्ण योगदान पु-याएको छ। युरोपियन युनियनका राष्ट्रहरूले यस सङ्गठनबाट आर्थिक फाइदा मात्र प्राप्त गरेका छैनन्, राजनीतिक फाइदा पनि प्राप्त गरेका छन्। यस युनियनभित्रको कुनै सदस्य राष्ट्रलाई राजनीतिक सङ्कट आइपरेमा सङ्गठनका अन्य राष्ट्रहरू एकजुट भएर सहयोग गर्ने गरेका छन्। यस अर्थमा युरोपियन युनियनले सदस्य राष्ट्रहरूबीच क्षेत्रीय वा साझा बजारको काम गरेको त छ नै, राजनीतिक सङ्गठनको पनि काम गरेको छ।

१. अस्ट्रिया, २. बेल्जियम, ३. बल्गेरिया, ४. क्रोएशिया, ५. साइप्रस, ६. चेक गणतन्त्र, ७. डेनमार्क, ८. इस्टोनिया, ९. फिनल्यान्ड, १०. फ्रान्स, ११. जर्मनी, १२. ग्रीस, १३. हङ्गेरी १४. आयरल्यान्ड, १५. इटाली १६. लाटभिया, १७. लिथुआनिया, १८. लक्जेम्बर्ग, १९. माल्टा, २०. निदरल्यान्ड्स, २१. पोल्यान्ड, २२. पोर्चुगल, २३. रोमानिया, २४. स्लोभाकिया, २५. स्लोभेनिया, २६. स्पेन र २७. स्वीडेनजस्ता युरोपका राष्ट्रहरू सदस्य रहेका यो समूह (युनियन) ले आयात र निर्यातलाई सरल पार्न व्यापार बाधा (Trade barriers) कम पारेका छन् र सीमा वारपार हुने वस्तु र सेवा प्रवाह पनि सरलीकृत गरेका छन्। यस युनियनभित्रका देशहरूबीच स्वतन्त्र किसिमले व्यापार हुन्छ।

युरोपियन युनियनभित्रका सदस्य (देश) हरू धनी राष्ट्रहरूको समूहभित्र पर्दछन्। एउटा युनियन बनाउनु र त्यस युनियनको उपयोग यसका सदस्य राष्ट्रहरूको आर्थिक विकासका लागि गर्नु र त्यस्तो गरेर यो क्षेत्रको नै आर्थिक विकास गर्ने लक्ष्य राख्नुले युरोपका यी देशहरूको बौद्धिकताको स्तर माथि रहेको त प्रमाणित हुन्छ नै, कुनै पनि क्षेत्रको आर्थिक विकास गर्न त्यस क्षेत्रका राष्ट्रहरू मिलेर कार्य गर्नुको विकल्प नरहेको तथ्यको पुष्टि पनि गर्दछ। महत्वपूर्ण कुरा त के छ भने यस युनियनभित्रका राष्ट्रहरू क्षेत्रफल र जनसङ्ख्याको हिसाबले तुलनात्मकरूपले सानो भए तापनि आआप्mना आर्थिक हित संरक्षण गर्न सफल भएका छन्।

एक खास क्षेत्रको आर्थिक विकास गर्नका लागि स्थापना भएको क्षेत्रीय बजार, नाप्mटा (NAFTA– North America Free Trade Agreement), जसलाई हाल संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता नामले विस्थापित गरिएको छ, ले पनि यो क्षेत्रको आर्थिक विकासका लागि ठूलो योगदान पु-याएको छ। जनसङ्ख्याको हिसाबले, तीन देशका उपभोक्तालाई जोड्दा ठूलो बजार क्षेत्र हुने भएकोले यस सम्झौताका पक्षधर राष्ट्रहरू संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले, यो साझा बजारबाट राम्रो लाभ प्राप्त गरेको देखिन्छ। यी तीन देशको समूहलाई संसारभरिकै सर्वाधिक ठूलो स्वतन्त्र बजार क्षेत्र (Free Trade Zone) को रूपमा लिने गरिन्छ।

अर्को क्षेत्रीय बजार ओपेक OPEC– Organization of the petroleum Exporting Countries) हो जसले विश्वभरिमा तेल (पेट्रोलिय पदार्थ) को उत्पादन, आपूर्ति र मूल्य निर्धारणमा महŒवपूर्ण भूमिका खेलेको छ। इरान, इराक, कुबेत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अल्जेरिया, अङ्गोला, कङ्गो, इक्वेटोरियल ग्युनी, गाबोन, लिब्या, नाइजेरिया र भनेजुएलाजस्ता राष्ट्रहरू, जो यस सङ्गठनका सदस्यहरू छन्, ओपेकबाट राम्रो लाभ प्राप्त गरेका छन्। यस सङ्गठन वा साझा बजारको माध्यमबाट सदस्य राष्ट्रहरूले आफ्नो हितको, धेरै हदसम्म, संरक्षण गर्न पाएका छन्। पेट्रोलियम पदार्थको उत्पादन अनियन्त्रित किसिममले ठूलो परिमाणमा भएमा मूल्यमा अत्यधिक कमी आउने र यसले गर्दा केही वा कुनै सदस्य राष्ट्रलाई मार्क पर्ने भएकोले ओपेकको केन्द्रीय प्रशासनले कति परिमाणमा तेल उत्पादन गर्ने भनी आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गर्छ र केही अवस्थामा निर्देशित पनि गर्छ। प्रत्येक सदस्य राष्ट्रले ओपेकको निर्देशन अनुसार तेलको उत्पादन, आपूर्ति र मूल्य निर्धारण गर्दछ।

जे होस, जति मात्रा होस्, यो सङ्गठन (ओपेक) ले एउटा साझा बजारको भूमिका निर्वाह गरेको छ र सदस्य राष्ट्रहरूलाई आफ्नो हित संरक्षण गर्ने अवसर प्रदान गरेको छ। ओपेकका सदस्य राष्ट्रहरू यस सङ्गठनबाट लाभान्वित नै भएका छन्।

आउनुहोस् अब सार्कको आर्थिक उपलब्धि शून्य हुनुका कारणहरू खोजौं–

यदि चीनका उपभोक्तालाई पनि सार्कमा राखेर हेर्ने हो भने सार्क संसार भरिको नै सर्वाधिक ठूलो बजार क्षेत्र हुनेछ। अर्थात् सार्कले चीनलाई आफ्नो सदस्य राष्ट्रको रूपमा नलिएर केवल चीनका उपभोक्ताहरूलाई मात्र समाविष्ट गर्ने हो भने सार्कले आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्नेबारे दुई मत हुन सक्तैन। अर्थात् सार्कसँग पर्याप्त अवसर छ, यदि उपयोग गर्ने हो भने। तर सार्कले यो मात्र होइन, कुनै पनि अवसर उपयोग गर्ने सम्भावना पर क्षितिजसम्म कहीं देखिंदैन। 



सार्कलाई उपलब्धिविहीन क्षेत्रीय बजार तुल्याउनमा मुख्यतः दुई राष्ट्र भारत र पाकिस्तानको भूमिका महत्वपूर्ण रहेको पाइन्छ। अर्थात् भारत र पाकिस्तानजस्ता परम्परागत शत्रू राष्ट्रले गर्दा सार्कले आफ्नो उद्देश्य अनुरूप कार्य गर्न सकेको छैन। पाकिस्तान र भारतबीच शत्रुतापूर्ण सम्बन्ध रहेसम्म सार्कले यस क्षेत्रको आर्थिक विकासमा कुनै पनि किसिमको योगदान पु¥याउन सक्तैन। यो सङ्गठन हुन र नहुनमा कुनै फरक पर्दैन। बरु यो सङ्गठनको विघटन गर्दा उपयुक्त हुन्छ। भारत र पाकिस्तानको सम्बन्ध, कुनै चमत्कार भए मात्र, राम्रो हुने देखिन्छ। नभए यो संसारमा मानव सभ्यता रहेसम्म यी दुई राष्ट्रबीच सम्बन्ध सुमधुर हुने कहीं कतै सम्भावना देखिंदैन। यो कारणले गर्दा सार्कको पनि भविष्य छैन।

सार्कलाई अर्थहीन तुल्याउन पाकिस्तान र भारतमध्ये कुन देश बढी दोषी हो भनी प्रश्न गर्ने हो भने यस प्रश्नको उत्तर हुनेछ, भारत। हुनत पाकिस्तान पनि दोषी हो तर बढी दोषी भारत हो। कसरी? भारतले आफूलाई यस क्षेत्रको शक्ति राष्ट्रको रूपमा देख्दछ। सोही अनुरूप कार्य गर्छ। दक्षिण एशियाका राष्ट्रहरूलाई आफूले चाहेको बाटोमा हिंडाउन खोज्छ। उनीहरूको गतिविधि नियन्त्रित गर्न चाहन्छ। त्यति मात्र होइन, भारत आफूले चाहे अनुसारको सरकार यस क्षेत्रमा निर्माण गर्न चाहन्छ।

भारतले गर्ने नियन्त्रणकारी कार्यको कुरा गर्दा एउटा के कुरामा प्रस्ट हुन आवश्यक छ भने भारतका नेताहरू शक्तिमा रहन र सरकारमा पुग्न भारतलाई यस क्षेत्रको नेता वा शक्ति राष्ट्रको रूपमा स्थापित गर्न खोज्छन्। भारतीय जनताको कुरा गर्ने हो भने भारतीय जनता शान्तिको पक्षधर रहेको देखिन्छ। लडाइँ–झगडादेखि पर रहन खोजेको देखिन्छ। तर भारतीय नेताहरूले बलपूर्वक आप्mनो स्वार्थका लागि भारतलाई द्वन्द्वमा अल्झाएको प्रस्ट हुन्छ। भारतको जनता होइन, नेताहरूको कारण भारतको छिमेकीहरूसँग सम्बन्ध राम्रो हुन सकेको छैन। बरु नित्य–निरन्तर खराब हुँदैछ।

पाकिस्तानको स्थिति पनि उस्तै छ। सैनिक शासकहरू पाकिस्तानको राजनीतिमा सक्रिय र शक्तिशाली रहेसम्म पाकिस्तान र भारतको सम्बन्ध सुमधुर हुने सम्भावना देखिंदैन। र भारत तथा पाकिस्तानको सम्बन्ध खराब रहेसम्म दक्षिण एशियामा कुनै पनि किसिमको साझा बजारले काम गर्न सक्तैन।

अब निष्कर्षतिर लागौं। भारत र पाकिस्तानका शासकहरू वा भनौं नेताहरूले आफ्नो फाइदाको कारण दक्षिण एशिया क्षेत्रमा कुनै पनि किसिमको साझा बजारलाई सफल हुन दिइरहेका छैनन्, र दिने पनि छैनन्। यदि दुवै देशका शासकहरूले आफ्नो महत्वाकाङ्क्षा पन्छ्याएर, आपसी कटुता समाप्त पारेर, यस क्षेत्रमा रहेको क्षेत्रीय बजारलाई राम्ररी काम गर्न दिने हो भने उनीहरूको त्यस किसिमको कार्यले दक्षिण एशियाको गरीबी उल्लेखनीय किसिमले कम हुनेछ।

भारत र पाकिस्तानका महत्वाकाङ्क्षी नेताहरूको सोच र व्यवहारले गर्दा दक्षिण एशियामा रहेको ठूलो साझा बजार (सार्क) को राम्रो उपयोग हुन सकेको छैन। यस क्षेत्रमा पर्याप्त आर्थिक विकासका अवसर भए तापनि त्यसको उपयोग हुन सकेको छैन। उल्टो यस क्षेत्रमा गरीबी बढेको छ। दक्षिण एशियामा समृद्धि नआउनुको मुख्य कारण भारत र पाकिस्तानका केही नेताहरूको हैकमवादी सोच नै हो भन्ने आधारहरू पर्याप्त छन्।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 5, 2024

https://eprateekdaily.com/2024/04/05/65791/