Friday, November 24, 2023

Nepali Economy Needs Peace not Struggles-Article-433

 नेपालको अर्थतन्त्रले मुठभेड धान्न सक्दैन

नेपालको अर्थतन्त्रले मूठभेड धान्न सक्तैन, नेपालको अर्थतन्त्रले अस्थिरता धान्न सक्तैन। नेपालमा जतिजति अस्थिरता बढ्ने छ, नेपालको अर्थतन्त्र त्यसैगरी उधो लाग्नेछ। स्थिति यस्तै रहेमा, विकासका लागि त परको कुरा, सरकारसँग कर्मचारीहरूलाई तलब तथा पारिश्रमिक दिनसम्म रकम हुनेछैन। नेपालको अर्थतन्त्रप्रति विश्वास उठेर अन्तर्राष्ट्रिय ऋणदाताहरूले ऋण दिने छैनन् भने शर्तसहित प्राप्त हुने विदेशी सहयोगले नेपालको अर्थतन्त्रलाई झनै धराशायी पार्नेछ। राष्ट्रिय राजनीति झनै अस्थिर भएर जानेछ।

अहिले नै पनि नेपालको अर्थतन्त्र दयनीय स्थितिमा छ। देशमा रोजगार छैन। रोजगारको लागि विदेश जानुपर्ने बाध्यता छ। देशको जनसङ्ख्याको एक तिहाई रोजगारको लागि विदेशमा छ। राष्ट्रिय उत्पादन घटेर देश आयातमुखी हुन पुगेको छ। बजारमा सामानको मूल्यले आकाश छोइरहेको छ। यस्तो बेलामा आन्दोलन हुनु भनेको देशलाई आर्थिक रूपमा टाट पल्टिने स्थितिमा पु–याउनु हो। तर देशको आर्थिक स्थिति यस्तो हुँदाहुँदै पनि दुवै समूह नेपालको राजनीति अस्थिर बनाउन उद्धत छन्। जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमाले पनि भीडन्ततर्फ उन्मुख भएको छ। एमालेले पनि जुलूस प्रदर्शन गर्नु पूर्णतया गैरजिम्मेवार कार्य हो। मुठभेडको बाटो, हिंसाको बाटो रोज्नु हो। दुर्गा प्रसाई र महेश बस्नेतले नेतृत्व गरेका दुई समूहले नेपालको राजनीतिलाई कुन स्तरमा अस्तव्यस्त पार्ने हो त्यो कुरा अहिले भन्न सकिने स्थिति छैन। मङ्सिर ७ गतेको पछिको स्थितिले भन्ने छ, नेपालको राजनीतिले कुन मोड लिने छ भन्ने कुरा। तर एउटा कुरा प्रस्ट रूपमा के भन्न सकिन्छ भने यी दुई समूहले गर्ने जन प्रदर्शनले नेपालको राजनीतिलाई अस्तव्यस्त पार्नेछ। अस्तव्यस्त राजनीतिको प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ। नेपालको अर्थतन्त्र झनै दयनीय हुनेछ। नेपालका केही क्षेत्रमा जनताले दुई छाक खान नपाउने र भोकमरीको स्थिति नै पनि आउन सक्ने छ। एमालेका नेता महेश बस्नेतले नेतृत्व गरेको एमालेका कार्यकर्ता तथा अभियन्ता कहलिएका राजावादी दुर्गा प्रसाईका समर्थकहरूबीच भीडन्त भएमा, भीडन्तले हिंसा–हत्याको रूप लिएमा, बजारमा अनेक किसिमका हडताल, चक्काजाम, तालाबन्दी जस्ता कार्य हुन सक्नेछ। यस्तो स्थिति भएमा नेपालका दुई क्षेत्र १. उद्योग र व्यापार तथा २. आन्तरिक र बाह्य पर्यटन नराम्ररी प्रभावित हुनेछन्। यी दुई समूह वा एउटै कुनै समूहको विरोध, जुलूस प्रदर्शन लामो समयसम्म चलेमा पर्यटन त झनै नराम्रो स्थितिमा पुग्नेछ। आशान्त देशमा पर्यटकहरू भ्रमणका लागि जाँदैनन् भन्ने जगजाहेर कुरा हो। देशमा अशान्ति बढेमा, निम्न मात्रामा भए पनि अनेक परिवारको रोजगार सृजना गर्ने पर्यटन क्षेत्र पनि सुकेर जानेछ। वर्तमान सरकारका कार्यहरूबाट रुष्ट भएर जनस्तरमा विरोध प्रदर्शन हुनु असामान्य होइन। यस अर्थमा दुर्गा प्रसाई नेतृत्वको समूहले जुलूस प्रदर्शन गर्नु, विरोध गर्नुलाई नौलो, अनौठो वा गैरजिम्मेवार मान्न सकिंदैन। प्रजातन्त्रमा यस्तो गर्न पाइन्छ। तर एमालेजस्तो जिम्मेवार राजनीतिक दल र त्यसका नेताहरू पनि सडकमा आउनु, उनीहरूले जुलूस प्रदर्शन गर्नु अनौठो हो। गैरजिम्मेवार कार्य हो। एकजना सामान्य नागरिक दुर्गा प्रसाईले त्यस्तो गर्नु ठूलो कुरा होइन, तर देशको प्रमुख प्रतिपक्षी सडकमा आउनु र दुर्गा प्रसाई समूहसँग भिडन्त गर्न तम्सिनु अति अनौठो मात्र होइन, हठ हुन पुगेको छ। देशको आर्थिक स्थिति अति दयनीय भएको बेला जुलूस, प्रदर्शन, भिडन्त आदि नगरेर, देशमा स्थिरता कामय गर्न एमाले र यसका नेताहरूले सत्तारूढ दलहरूसँग वार्ता गर्नु पर्ने हो। सहमति र वार्ताद्वारा आर्थिक समस्याको समाधान खोज्नुपर्ने हो। तर यस्तो नगरेर एमाले मुठभेडका लागि तम्सिएको छ। एमालेले दुर्गा प्रसाइ–समूहसँग मुठभेठ किन गर्न खोजेको हो, त्यो प्रस्ट हुन सकेको छैन। यो विषय रहस्यको गर्भमा छ।

एमाले, दुर्गा प्रसाई–समूहसँग मुठभेड गर्न उद्धत हुनुले एमालेको राजनीतिक संस्कार अपरिपक्व हुनु र यसले कुनै पनि समस्याको समाधान हिंसाद्वारा खोज्छ भन्ने कुराको पुष्टि हुनु हो। हुनत विगतमा पनि एमाले प्रतिपक्षमा रहँदा तोडफोड गरेको, जुलूस प्रदर्शन गरेको ताजा इतिहास छ। रेलिंग तोडेको, सडक भत्काएको, जनताको आँखामा झल्झल्ती छ।

एमालेको नेतृत्व केपीशर्मा ओलीले गरिरहेसम्म न एमाले बलियो दल बन्न सक्छ, न नेपालको राजनीतिले स्थिरता पाउन सक्छ। एमाले, माधव नेपालसमूह सँग छुट्टिने, पुष्पकमल दहालासँग जोडिने जस्ता अपत्यारिला कार्यहरू ओलीकै कार्यकालमा भएको हो। र यस्ता कार्यहरू ओलीले एमालेको फाइदाका लागि होइन, आफ्नो फाइदाका लागि गरेका हुन्। अहिले पनि महेश बस्नेतलाई ओलीले नै उचालेका हुन्। ओलीकै बल पाएर महेश बस्नेत उफ्रेका हुन्। तर नेताहरू यसरी उफ्रेर देशको आर्थिक विकास हुँदैन। देशको आर्थिक विकासका लागि नयाँनयाँ सोच चाहिन्छ। नयाँनयाँ योजनाहरू चाहिन्छ। ध्वंस होइन, शान्ति र स्थिरता चाहिन्छ।

अब मूल विषयतिर लागौं। दुर्गा प्रसाई नेतृत्वको समूहले गर्ने विरोध प्रजातन्त्रको विरोध होइन। पूर्णतया वर्तमान व्यवस्थाको विरोध पनि होइन। दुर्गा प्रसाई समूह र दुर्गा प्रसाई प्रवृत्ति समूहको विरोध मुख्यगरी शेरबहादुर देउवा, पुष्पकलम दहाल, केपीशर्मा ओली, माधव नेपाल आदिका कार्यशैलीको विरोध हो। आफ्नो फाइदाका लागि उनीहरूले गरेका राजनीतिक शक्तिको दुरुपयोगको विरोध हो। उनीहरूको असफल नेतृत्व क्षमताको विरोध हो। उनीहरूले उत्पन्न गरेको राजनीतिक अस्थिरताको विरोध हो। देश उनीहरूको अक्षम नेतृत्वको कारण आर्थिकरूपमा टाट पल्टिन थालेको स्थितिको विरोध हो। दुर्गा प्रसाईले केका लागि आन्दोलन गरेका हुन् प्रस्ट हुन सकेको छैन। यदि उनको नेतृत्वमा भएको आन्दोलनले यो व्यवस्था हटाएमा आउने व्यवस्था कस्तो हुने हो त्यो पनि प्रस्ट छैन। दुर्गा प्रसाईले यो आन्दोलन आफ्नो फाइदाका लागि वा जनताको हितका लागि गरेका हुन् त्यो पनि प्रस्ट हुन सकेको छैन। स्तिति अति अन्योलपूर्ण र जटिल छ। त्यस कारण झन चिन्तापूर्ण हुन पुगेको छ।

एउटा कुरा सत्य र प्रस्ट के छ भने दुर्गा प्रसाईको पछाडि लागेको भीड उनका समर्थकहरूको मात्र होइन। नेपाली काङ्ग्रेस, एमाले, माओवादी (पुष्पकमल), मधेसी दलहरूका क्रियाकलापबाट निराश व्यक्ति पनि अहिले दुर्गा प्रसाईको आन्दोलनमा शरीक हुन पुगेका छन्। यी दलका क्रियाकलापबाट जनता निराश छ। निराश जनतालाई आफ्नो आवाज बुलन्द पारिदिने एक व्यक्ति चाहिएको छ। हो, त्यस्तै व्यक्ति बनेर अहिले दुर्गा प्रसाई प्रस्तुत भएका छन्। भोलिका दिनमा दुर्गा प्रसाई बदलिए, आफ्नो स्वार्थमा लागे, जनताको असन्तुष्टिको स्तर यस्तै रह्यो भने जनताको आवाज बुलन्द पार्न पुनः अर्को दुर्गा प्रसाईको उदय हुनेछ।

भविष्यमा उत्पन्न हुन सक्ने हिंसा, उथलपुथल, अराजकताको व्यवस्थापन गर्न नेपाली काङ्ग्रेस, एमाले र माओवादी जस्ता दलहरूले गम्भीर भएर सोच्न आवश्यक छ। यी दलहरूले उठेका विरोधको कुशलतापूर्वक व्यवस्थापन नगर्ने हो भने नेपालको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ, भारतले हस्तक्षेप गर्ने मौका पाउने छ। चीनले आफ्नो सक्रियता बढाउने छ। देश गृहयुद्धको दलदलमा फस्नेछ।

नेका, एमाले र माओवादी दल र मुख्यगरी यी दलका नेताहरू शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहालले यो विषय (दुर्गा प्रसाईको नेतृत्वमा हुने प्रदर्शन) लाई गम्भीरतापूर्वक लिन आवश्यक छ। दुर्गा प्रसाई समूहको विरोध यी नेताहरू (देउबा, ओली, नेपाल, दहाल आदि) को विरोधमा हो, वर्तमान व्यवस्थाको विरोधमा होइन भनी बुझ्न आवश्यक छ। तर अचम्म! दुर्गा प्रसाई समूहको विरोधलाई वर्तमान व्यवस्थाको विरोध भनेर यी नेताहरू (देउवा, ओली, नेपाल, दहाल आदि) पन्छिन खोजिरहेका छन्। आफू चोखो हुन खोजिरहेका छन्।

समस्याको समाधन

मुठभेड र हिंसातर्फ उन्मुख हुन थालेको नेपाली राजनीतिलाई शान्तिको पथमा डो–याउन केही नेताले त्याग गर्न र देशभक्ति देखाउन आवश्यक छ। शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, महन्त ठाकुर, उपेन्द्र यादव आदिले सक्रिय राजनीतिबाट सन्न्यास लिएर सामान्य नागरिकसरह जीवन बिताउने हो भने नेपालको राजनीतिले गति पाउने छ। देशमा स्थिरता आउने छ। आर्थिक विकासको बाटो खुल्नेछ। यी नेताहरूले राजनीतिबाट सन्न्यास मात्र लिएर पुग्दैन, कुनै पनि किसिमको राजनीतिक क्रियाकलापमा भाग नलिने प्रतिबद्धतासमेत जाहेर गर्नुपर्छ। तर यी नेताहरू नेपालको राजनीतिमा सक्रिय रहेसम्म नेपालमा न राजनीतिक स्थिरता आउन सक्छ, न आर्थिक विकास नै हुन सक्छ। शेरबहादुर देउवा सातपटक, पुष्पकमल दहाल पाँचपटक, ओली चारपटक नेपालको प्रधानमन्त्री भएमा यो देशको आर्थिक विकास हुन्छ भनी कसैको मनमा लागेको छ भने त्यस्तो लाग्नेले आफ्नो बौद्धिक क्षमता आफैंले परीक्षण गर्नुपर्छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 24, 2023

https://eprateekdaily.com/2023/11/23/58717/

Friday, November 17, 2023

China: Race to be Economic Super Power-Article-432

 चीन: विश्वको सर्वाधिक ठूलो अर्थव्यवस्था हुने दौड

चीनिया राष्ट्रपति सि जिनपिङ

अमेरिका वर्षौंदेखि विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था रहँदै आएको छ। तर अन्य देशहरू भने पहिले जुन अवस्थामा थिए, अब छैनन्। जापान, जर्मनी, इटली, फ्रान्स आदिको स्थिति पहिले जस्तो थियो अहिले त्यस्तो छैन। तर अमेरिका सन् १९६५ देखि नै विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था रहँदै आएको छ। सन् १९९५ मा भने जापान विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था रहेको देखिन्छ।

सन् १९६५ मा विश्वको सर्वाधिक ठूलो वा पहिलो अर्थ व्यवस्था रहेको जापान अहिले विश्वको चौथो (सन् २०२३) ठूलो अर्थ व्यवस्थामा सीमित हुन पुगेको छ। वर्षौदेखि विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था भएको देश, यदि अहिले रूसलाई लिने हो भने, यो दौडमा धेरै पछि परेको छ। तर सन् १९६० देखि १९८५ सम्म सोभियत रूस विश्वको दोस्रो ठूलो अर्थ व्यवस्थाको रूपमा थियो।

वर्तमानमा आर्थिक महाशक्ति हुने दौड रहेको भारत विगतमा निकै पछाडि थियो। सन् १९९० भन्दा पहिले भारतलाई आर्थिक शक्तिको रूपमा व्यवहार पनि गरिन्नथ्यो। सन् २०१० तिर बल्ल भारत विश्वको नवौं ठूलो अर्थतन्त्र हुन सफल भएको देखिन्छ। यसैगरी विश्वका ठूला अर्थ व्यवस्थाको लेखाजोखा गर्दा चीनको उपस्थिति सन् १९६० देखि सन् २००५ सम्म महत्वपूर्ण देखिंदैन। सन् २०१० देखि भने चीन निरन्तर विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था रहँदै आएको छ। सन् २०२३ को कुरा गर्ने हो भने विश्वका यी देशहरू अमेरिका, चीन, जर्मनी, जापान, भारत, संयुक्त अधिराज्य, फ्रान्स, इटली, ब्रजील र क्यानाडा विश्वको क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौ, सातौं, आठौं, नवौं र दशौं ठूलो अर्थ व्यवस्था रहेको देखिन्छ।

चीन र भारत भने अहिले विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने दौडमा रहेको देखिन्छ। यो दौडमा भारत क्रमिक रूपमा अगाडि बढेको पाइन्छ भने चीन आक्रामक किसिमले अगाडि बढिरहेको पाइन्छ।

विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुन चीनले अहिले साम, दाम, दण्ड र भेद समेत प्रयोग गरिरहेको छ। विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने दौडलाई निरन्तरता दिन चीनका राष्ट्रपति सि जिनपिङ अहिले अमेरिकामा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच (November 15, 2023) सान फ्रान्सिसकोमा भेटघाट हुँदैछ।

राष्ट्रपति सि अमेरिका आउनुको प्रमुख उद्देश्य भने एपेक २०२३ (APEC–Asia–Pacific Economic Cooperation को फ्रान्सिसको–समिटमा भाग लिनु हो। अर्थात् नोभेम्बर १५ देखि एपेकको शिखर सम्मेलन अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिसको शहरमा प्रारम्भ भएको छ।

सि अमेरिका आउनु र अमेरिकी राष्ट्रपतिलाई भेट्नु पछाडि अन्य विभिन्न कारण भए तापनि मुख्य कारण भने अमेरिकासँग सम्बन्धमा सुधार ल्याउनु हो। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रेको चीन–अमेरिकी सम्बन्ध सुमधुर पार्नु हो। र यी सबै कार्य गरेर चीन–अमेरिकी व्यापारलाई चीनको पक्षमा पार्नु हो। चीन विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने आधारहरू तयार पार्नु हो। 

सबैलाई ज्ञात भएकै कुरा हो अहिले चीन र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा छ। बेलाबेला बिग्रिने र बेलाबेला सुध्रिने स्थितिमा रहेको अमेरिका–चीन सम्बन्ध अहिले भने सुधारोन्मुख देखिएको छ। राष्ट्रपति बाइडेनले चीनसँग अमेरिकी सम्बन्धलाई थप महत्व दिएका छन्। जुन कुरा पूर्व राष्ट्रपति ट्रम्पको पालामा हुन सकेको थिएन।

चीन पक्का व्यापारी देश हो। आर्थिक फाइदाका लागि वर्षौंको कट्टर दुश्मनी बिर्सेर चीन कुनै पनि बेला दुश्मनसँग हात मिलाउन अगाडि बढ्न सक्छ। आर्थिक फाइदाका लागि जे पनि गर्न सक्छ। उदाहरणका लागि चीन–भारत सम्बन्धलाई लिन सकिन्छ।

आर्थिक फाइदाको हिसाबले चीनको न कोही स्थायी शत्रु छ, न स्थायी मित्र नै। चीनको यस किसिमको व्यापारिक रणनीति रहेकोले नै चीन अहिले चारैतिर दौडिरहेको छ। अमेरिकाको पक्षमा रहेका देशहरूलाई समेत आफ्नो पक्षमा पार्न प्रयासरत छ। अमेरिकाको अति नजीकको मित्र इन्डोनेशिया अहिले चीन नजीक भएको छ। बर्मा त चीनको घनिष्ट मित्र नै भयो। अफ्रिकी देशहरूमा पनि चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको छ। यस्तै स्थिति दक्षिण अमेरिकाका देशहरूमा पनि छ। चीनले लैटिन अमेरिकी देशहरूमा अनेक क्षेत्रमा लगानी गरेको छ। अर्जेन्टिना, ब्रजील, बोलिभिया, चिले, पेरूजस्ता देशमा चीनको राम्रो लागानी छ।

चीनको सहयोगमा इन्डोनेशियाले अहिले दक्षिण एशियामा नै पहिलो द्रुत गति रेल (Bullet Train) सेवा स्थापना (निर्माण) एवं सञ्चालन गरेको छ। चीनले गरेको यो सहयोग इन्डोनेशियाको लागि आर्थिक मात्र होइन, भावनात्मक पनि हो। यस्तो गरेर सर्वसाधारण इन्डोनेशियालीहरूलाई पनि आफ्नो समर्थक बनाउन चाहन्छ, चीन।

हुनत चीनले चाहेमा नेपाल–चीन रेल सेवा स्थापना गर्न सक्छ। निर्माण खर्च आफैंले बेहोर्न सक्छ। तर नेपालका नेताहरूको पिपलपाते चरित्रको कारण चीनले रेला सेवा स्थापना गरिहेको छैन। नेपालका नेताहरू जस्तै शेरबहादुर देउवा, पुष्पकमल दहाल, माधव नेपाल, केपीशर्मा ओली, खासमा चीनको पक्षमा हुन वा भारतको, यो निश्चय गर्न चीनलाई कठिन भएको छ। यदि नेपालका यी नेताहरूले र मुख्यगरी एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले आफूहरू चीनको घनिष्ट मित्र हो भन्ने चीनलाई अनुभूत गराउने हो भने चीनले तुरून्त नै नेपाल–चीन रेल सेवा स्थापना गर्नेछ।

माथिका कुराहरू त भए चीनले विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुन गरेका कार्यहरू र भविष्यमा गर्न सक्ने कार्यहरूको विवरण। अब आउनुहोस् चर्चा गरौ, के चीन विश्वको पहिलो ठूलो अर्थ व्यवस्था बन्न सक्छ? भारत विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने सम्भावना त अहिले दशकौं पर छ। त्यसकारण यो चर्चालाई केवल चीनमा केन्द्रित गरेर हेरौं। 

चीनको अर्थ व्यवस्था ठूलो हुनु र बैलुनमा हावा भरेर बैलुन ठूलो हुनु उस्तै उस्तै हो। चीनले आफ्नो ठूलो जनसङ्ख्याको फाइदा उठाइरहेको छ। ठूलो जनसङ्ख्या भएकोले चीनले श्रम लागतमा ठूलो बचत गरिरहेको छ र यो कारणले चीनले उत्पादन लागत कम पार्न सकेको छ। विश्वको जुनसुकै देशमा चिनियाँ सामान पुग्दा चिनियाँ सामान सस्तो हुनु पुगेको छ। भोलिका दिनमा चिनियाँहरूको जीवनस्तरमा व्यापक वृद्धि भएर चिनियाँ श्रमिक र कामदारहरूलाई अमेरिका, युरोपका श्रमिक एवं कामदार सरह तलब एवं सुविधा दिनुपर्ने भएमा के चीनले सस्तो उत्पादन लागतमा वस्तुहरू उत्पादन गरेर आफ्ना वस्तुहरू सस्तोमा बिक्री गर्न सक्छ?

चीनलाई धनी बनाउन यसको ठूलो जनसङ्ख्याले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। जनसङ्ख्या ठूलो भएर आर्थिक कारोबारको आकार पनि ठूलो भएको हो। गरीबीको रेखामुनि रहेका चिनियाँहरूको आर्थिक अवस्थामा चीनले ठूलो सुधार गरे तापनि अहिले पनि चीनमा गरीबहरूको सङ्ख्या ठूलो छ। जनसङ्ख्या ठूलो भएको कारणले गर्दा ज्यादै गरीब चिनियाँहरूसम्म आर्थिक सेवा–सुविधा पुर्याउने बलियो व्यवस्था चीनसँग छैन।

चिनियाँ र अमेरिकी समाजको तुलना गर्ने हो भने अमेरिकी समाजभन्दा चिनियाँ समाज अहिले पनि निकै परम्परागत छ। अमेरिकी समाजमा जति उद्यमशीलता  (Entrepreneurship) छ त्यति चिनियाँ समाजमा छैन। यसैगरी अमेरिकीहरू अध्ययन र अनुसन्धान दुवैलाई अति महत्व दिन्छन् र यी कुराहरू गरेर अग्रपङ्क्तिमा रहन चाहन्छन्। यो कारणले गर्दा नै माइक्रो सफ्ट, गुगल, एमेजन, फेसबूकजस्ता नयाँनयाँ वस्तु एवं सेवाहरूको अमेरिकामा अविष्कार हुन सम्भव भएको हो। अमेरकी शिक्षा पद्धतिले युवाहरूलाई सानैदेखि उद्यमी बनाउन जोड दिन्छ। परिवारको सहयोग र सहारामा होइन, आफ्नो बल–बर्कतमा आफ्नो उन्नति–प्रगति गर्न युवाहरूलाई प्रेरित गर्छ।

श्रमिक एवं कामदारहरूलाई उच्च ज्याला दिएर पनि अमेरिका विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था हुन सफल भएको छ। भोलिका दिनहरूमा चीनले पनि आफ्ना श्रमिक एवं कामदारहरूलाई उच्च ज्याला दिनुपर्ने भएमा चीनको स्थिति के होला?

चीनमा अहिले कम्युनिस्ट व्यवस्था छ। यो व्यवस्थामा सबैलाई नियन्त्रण गर्न सजिलो छ। श्रमिकहरूको मुख थुन्न सजिलो छ भने कर्मचारीहरूको कुनै हैसियत नै छैन। सर्वेसर्वा केही कम्युनिस्ट नेताहरू छन्। तर मानौं भोलिका दिनमा चीनमा प्रजातन्त्र आयो रे! के प्रजातान्त्रिक व्यवस्थाभित्र रहेर चीन विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र बन्न सक्छ?

माथिका र साथै अन्य विभिन्न कारणहरूको विश्लेषण गर्दा चीन विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था हुन सक्ने सम्भावना देखिंदैन। चीन विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था हुने दौडमा कस्सिएर लागे तापनि विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था हुने सम्भावना छैन। 

आफ्नो जनतालाई विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था चीन हुन्छ भनी सपना देखाउनुको विकल्प चिनियाँ नेताहरूसँग छैन पनि। किनभने यो सपना देखाएर नै कम्युनिस्ट नेताहरूले चिनियाँ जनताको ध्यान प्रजातन्त्रप्राप्ति तर्फ उन्मुख हुन दिएका छैनन्। आफूहरू सत्तामा सदा सर्वदा बस्न सफल पनि भएका छन्।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, November 17, 2023

https://eprateekdaily.com/2023/11/16/58581/ 

Friday, November 10, 2023

Three Blunders in Nepali Economy-Article-431

 नेपाली अर्थतन्त्रमा तीन महाभूल

नेपाली अर्थतन्त्रमा तीन महाभूल भएका छन्। नेपालका सर्वजनिक संस्थानहरूलाई सार्वजनीकरण नगरेर निजीकरण (बिक्री) गर्नु, माओवादीहरूले जनयुद्धको नाममा आर्थिक संरचनाहरू ध्वस्त गर्नु र अर्थ मन्त्रालय विज्ञहरूको हातमा होइन, नेताहरूको हातमा हुनुलाई नेपाली अर्थतन्त्रका तीन महाभूलको रूपमा लिन सकिन्छ। यी तीन महाभूलले नेपालको आर्थिक विकास हुन दिइरहेको छैन। ती तीन महाभूलको असरले गर्दा नेपाली अर्थतन्त्र आक्रान्त छ। देश आर्थिक विकासको पथमा ज्यादै सुस्त हुन पुगेको छ।

माथि उल्लेख गरिएका तीन महाभूल र तिनको प्रभावले देशको अर्थ व्यवस्था अति चिन्ताजनक स्थितिमा पुगेको छ। र यो कारणले गर्दा नेपालको इतिहासमा नै अहिले नेपाली युवाहरू ठूलो सङ्ख्यामा विदेश पलायन भइरहेका छन्। कोही अध्ययनको बहानामा त कोही रोजगारको बहानामा स्वदेश (नेपाल) छोड्न आतुर छन्। अहिले हरेक युवा नेपाल छोड्ने मनस्थितिमा छ।

नेपाली युवाहरू यतिसम्म निराश भएका छन् कि उनीहरूले स्वदेशमा आफ्नो भविष्य देखिरहेका छैनन्। अर्कोतिर निराश र हताश युवाहरूमा आशाको सञ्चार गराउनुको साटो नेताहरू–मुख्यगरी नेका, माओवादी, निराश युवाहरूको भविष्य खतरामा होइन, गणतन्त्र खतरामा भएको देखिरहेका छन्। ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुपर्छ’ भन्दैछन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था देशमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने दलहरू एक हुनुपर्ने भन्दै प्रम पुष्पकमल दहाल ती दलका नेताहरूलाई आह्वान गर्दैछन्।

अब आउनुहोस् नेपालको अर्थतन्त्रलाई सदा आक्रान्त पार्ने ती महानभूलबारे चर्चा गरौं।

स्वदेशी कच्चा पदार्थ उपयोग गरेर स्थानीय बासिन्दालाई रोजगार उपलब्ध गराउनेजस्ता जनहितका लागि पञ्चायतकालमा स्थापना भएका सार्वजनिक संस्थानहरू–जनकपुर चुरोट कारखाना, वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना, हेटौंडा कपडा उद्योग आदि निजीकरण गर्नुको सट्टा सर्वजनीकरण गर्नुपथ्र्यो। ती संस्थानहरूमा रहेको सरकारी स्वामित्व समाप्त गरेर सार्वजनिक स्वामित्व कायम गर्नु पथ्र्यो। स्थानीय जनतालाई ती संस्थानहरूको स्वामित्व दिनुपथ्र्यो। तर अदूरदर्शी एवं स्वार्थी नेताहरूले ती संस्थानहरू निजीकरण गरे। अनेक व्यापारीहरूलाई बिक्री गरे। सरकारी स्वामित्वमा रहेका ती संस्थानहरू सर्वजनीकरण गर्नुको सट्टा निजीकरण गर्नु ठूलो भूल थियो। नेपाली उद्योगको घाँटी निमोठ्नु थियो।

सरकारी स्वामित्वमा रहेका ती संस्थानहरू घाटामा चुर्लुम्म डुब्ने स्थितिमा पनि नेताहरूले नै पुर्याएका थिए। आफ्ना दलका र आफ्ना नजीकका अदक्ष व्यक्तिहरूलाई ती सार्वजनिक संस्थानको निर्णायक तहमा पुर्याएर, अध्यक्ष र महाप्रबन्धक बनाएर ती संस्थानहरूलाई अति घाटा खाने स्थितिमा दल र तिनका नेताहरूले नै पुर्याएका थिए। नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरू नष्ट पार्न महत्वपूर्ण भूमिका नेपाली काङ्ग्रेसका नेताहरूले खेलेका थिए भने सहायक भूमिका एमालेका नेताहरूले खेलेका थिए।

नेपाली अर्थतन्त्रलाई विपरीत दिशामा पुर्याउने काम गरेर माओवादीहरूले पनि ठूलो भूल गरेका थिए। भूलभन्दा पनि अपराध गरेका थिए। र यो अपराध माओवादीका कार्यकर्ताहरूले होइन, माओवादीका नेताहरूले गरेका थिए। माओवादीको नेतृत्वकर्ता, कमान्डर पुष्पकमल दहालले गरेका थिए। माओवादी नेताहरूको योजना र आह्वानमा माओवादी कार्यकर्ताहरूद्वारा बैंक लुट्ने, उद्योग ध्वस्त पार्ने, कल कारखाना नष्ट गर्ने, पुल भत्काउने कामहरू भएका थिए। सर्वसाधारणको आवागमनसमेत प्रभावित पार्नेगरी माओवादीहरूले बम विस्फोट गराएका थिए। चितवन जिल्लाको माडी भन्ने स्थानमा, बाँदरमुढे खोला नजीक, सामान्य नागरिक सवार बसलाई माओवादीहरूले बमले उडाएका थिए। माओवादीहरूले थापेको त्यो विद्युतीय धरापमा परी त्यो बस ध्वस्त भएको थियो । २०६२ साल जेष्ठ २३ गते भएको त्यो हृदय विदारक घटनामा ४१ जना, सुरक्षाकर्मी होइन, सामान्य नागरिकको ज्यान गएको थियो।

माओवादीहरूले अति रक्तपातपूर्ण किसिमले मचाएको त्यो तथाकथित जनयुद्धले अर्थतन्त्रको जग बेस्सरी हल्लाइदियो। त्यस बेला हल्लिएको अर्थतन्त्रको जग अहिलेसम्म स्थिर हुन सकेको छैन। २०५२ देखि २०६३ सालसम्म माओवादीहरूले मचाएको सङ्घर्षले नेपालको औद्योगिक एवं व्यापारिक वातावरण तहसनहस भयो, अति नै क्षतिग्रस्त भयो। उद्यमी एवं व्यापारीहरू दीर्घकालमा प्रतिफल आउने क्षेत्रमा लगानी गर्न हच्के। देशका उद्योगी एवं व्यापारीहरू ‘पटके व्यापार’ मा लागे। देशमा अनिश्चितता देखियो। यसरी माओवादीकालमा राष्ट्रिय अर्थतन्त्र अनिश्चितताको खाडलमा जाकियो। नेपालको उद्योग एवं व्यापार ध्वस्त हुनेगरी माओवादीहरूले जनयुद्ध गर्नु नेपाली अर्थतन्त्रको लागि दोस्रो महाभूल थियो।

स्मरण होस्, माओवादीहरूले जनयुद्ध प्रारम्भ गरेपछि नै नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुने क्रम शुरू भयो। कतिपय खाडी देशहरूमा काम गर्न (उतातिर) हिंडे भने कतिपय शरणार्थी बनेर अमेरिका तथा युरोपका विभिन्न देशहरूमा पसे।

२०४६–४७ सालमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा एउटा ठूलो कुचलनको सूत्रपात भयो। त्यो के भने नेपाल र नेपालीको आर्थिक भविष्य निर्माण गर्ने निकाय–अर्थ मन्त्रालयमा दलहरूले सम्बन्धित क्षेत्रका विज्ञ (अर्थशास्त्री) होइन, आफ्ना मान्छे राख्ने परम्पराको थालनी गरे। जुन दलको सरकार छ, त्यही दलका नेता एवं कर्मचारीहरू अर्थ मन्त्रालयको मन्त्री हुने, सचिव हुने परम्पराको थालनी भयो। जसलाई अर्थ व्यवस्थाको ‘अ’ सम्म थाहा छैन, त्यस्ता व्यक्तिहरू पनि अर्थ मन्त्री भए। अनि त्यस्ता मन्त्रीहरूबाट कसरी हुन्छ देशको आर्थिक विकास? 

२०४६–४७ पछि नेका, एमाले र माओवादीहरूले अर्थ मन्त्रालयलाई आफ्नो कार्यकर्ता भर्ति केन्द्र बनाएर देशको अर्थतन्त्र नै ध्वस्त पारे। बरु निरङ्कुश भनिएको पञ्चायतकालमा अर्थमन्त्रीको रूपमा नियुक्त भएका व्यक्तिहरू सम्बन्धित क्षेत्रका विज्ञ हुन्थे, जानकार हुन्थे।

अर्थ मन्त्रालयजस्तो संवदेनशील निकायमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई नपठाएर नेका, एमाले, माओवादीले आफ्ना दलका मान्छेलाई पठाउनु तेस्रो महाभूल हो। यस्तो भूल यी दलका नेताहरूले विगतमा पनि उत्तिकै गरे, अहिले पनि गरिरहेका छन्।

विगतमा भएका यी तीन महाभूलको प्रभावले गर्दा नेपालको अर्थतन्त्र अहिले आर्यघाटमा पुगेको छ।

नेपालको अर्थतन्त्रलाई मृत्यु नजीक पुर्याउन केही नेताहरूको ठूलो भूमिका छ। यिनीहरूको ‘कुर्सी मोह’ ले नेपाली अर्थतन्त्रलाई अगाडि बढ्न दिइरहेको छैन। अगाडि बढ्न नदिए स्थिर रहन दिए हुन्थ्यो नि! त्यो पनि भएको छैन। उल्टो पछाडि हिंड्ने स्थितिमा पुर्याएको छ। अहिले देशको आर्थिक स्थिति यतिसम्म दयनीय भएको छ कि यदि विदेशबाट नेपालीहरूले कमाएर स्वदेश नपठाउने हो, नेपालमा रेमिट्यान्स न भित्रिने हो भने नेपाललाई देशको रूपमा स्थिर राख्न, यसको अस्तित्व कायम राख्न समेत कठिन हुनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा यस्तै हुन्छ देशको अर्थतन्त्र?

२०४६ सालपछि, को कतिपटक मन्त्री भयो? को कतिपटक अर्थमन्त्री भयो? को कतिपटक प्रधानमन्त्री भयो? कुन राजनीतिक दलले कतिपटक सरकार बनायो? जनताले उनी (नेता) हरूबाट अब हिसाबकिताब माग्नुपर्छ। नेपालको आर्थिक विकास किन भएन, प्रश्न गर्नुपर्छ।

कुर्सी मोह त्याग गरेर निस्वार्थ देशको विकास गर्नुपर्छ भन्ने भावना नेपालीहरूमा जगाउन शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहाल, माधव नेपाल आदिले राजनीतिबाट सन्न्यास लिन अब ढिलो गर्नुहुँदैन। तपाईंहरूको नेतृत्वमा देशको आर्थिक विकास हुन सकेन।

अनेक महाभूल गर्ने यी नेताहरूलाई अब नेतृत्व तहमा पुर्याउने अर्को महाभूल आम मतदाताले अब गर्नुहुँदैन।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 10, 2023

https://eprateekdaily.com/2023/11/09/58435/ 

Monday, November 6, 2023

Interview With Mahesh Poudyal

 महेश पौडेलसङ्ग कुराकानी

चर्चित साहित्यकार महेश पौडेल अहिले अमेरिकाको भ्रमणमा हुनु हुन्छ। यसै क्रममा उहाँ अहिले ओक्लहोमा आइ पुग्नु भएको छ। उहाँको परिचय केवल एक चर्चित साहित्यकार मात्र होइन, एक असल ब्यक्ति पनि हो। प्रस्तुत छ विश्वदर्पणका लागि ब्लगर विश्वराज अधिकारीले महेश पौडेलसङ्ग गरेको संक्षिप्त कुराकानी।

. केही हप्तादेखि अमेरिकाको भ्रमणमा हुनु हुन्छ। अमेरिकाको विभिन्न शहरहरूमा पुग्नु भएको छ। अमेरिकाको नेपाली साहित्यिक वातावरण कस्तो रहेको अनुभव गर्नु भयो?

अमेरिकामा नेपाली साहित्यको वातावरण निकै उर्वर रहेको पाएँ। व्यक्तिगत र संस्थागत दुवै तहमा साहित्यिक कार्यहरू भइरहेका रहेछन्। पेन्सिल्भेनियको ह्यारिसबर्गजस्तो सानो ठाउँमा मात्रै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्रिवेणी साहित्यिक मन्च, स्वीकारोक्ति फाउण्डेसन, ग्लोबल भुटानी साहियिक संघ, मातृभाषा संरक्षण मान्च आदि अनेक संस्था नेपाली भाषासाहित्यकै कार्यमा लागिरहेको पाएँ। टेक्ससमै पनि अनेसास, स्रष्टा साँझ अमेरिका, ग्लोबल नेपाली स्कुल, नेप्लिज सोसाइटी अफ डालस, डालस एभरेष्ट लायन्स क्लब आदि संघसंस्था यस दिशामा अग्रसर रहेछन्। मलाई अहिल्यै थाहा छ, मेरै भ्रमणताका ओक्लाहोमा सिटी, न्यु ह्यामसायर, भर्जिनिया र ओहायोमा पनि कार्यक्रम हुँदैछन्। अमेरिकाबाट संस्थागत र व्यक्तिगत प्रयासमा भएका प्रकाशन र कार्यक्रमहरूबारे पनि म धेरेथोर जानकार छु। यसै आधारमा मैले भनेको, यहाँको नेपाली साहित्यिक धरातल ज्यादै उर्वर छ।

. साहित्यका अनेक विधाहरू मध्ये कुन विधामा बढी लेख्न रुचाउनु हुन्छ?

लेखाइका हिसाबले त म धेरै विधामा विभक्त छु, यद्यपि सिर्जनाको क्षेत्रमा मैले सबैभन्दा बढी माया कथाकारको रूपमा पाएको छु। प्रौढ र बाल पाठकका लागि गरेर मेरा ७ कथासंग्रह रहनुले पनि कथातिर मेरो झुकाउ बढी रहेको प्रस्ट हुन्छ। तर पनि, कविता, समालोचना, गीत, अनुवाद र सैद्धान्तिक लेखनमा पनि मेरो धेरथोर समय व्यतीत भइरहेकोछ।

. साहित्यिक श्रृजना स्रष्ठाले आफ्नो सन्तुष्टिको लागि लेख्नु पर्ने हो वा लोक हितका लागि लेख्नु पर्ने हो?

यसमा दुवै खाले मतहरू छन्। समाजवादी चिन्तकहरू लेखन समाजकै लागि हुनुपर्छ भन्ने सोच्छन्, तर स्वच्छन्द चिन्तकहरू सिर्जनालाई विचार वा भावको विरेचन मान्छन्, जसले मनोभावको प्रकटीकरण हुँदाहुँदै पनि समाजको पनि भावलाई सम्बोधन गर्छ। म यो दास्रो कित्ताको लेखक हुँ।

. साहित्य अराजक हुन्छ भनिन्छ। त्यस्तो हो?

सहमत छु। मान्छेको व्यक्तिगत वा समूहिक स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै पनि व्यवस्थाको उच्छेदन गर्छ सिर्जनाले। राज्य वा शासक वर्गले कुनै न कुनै बहानामा मान्छेको स्वतन्त्रतालाई सीमित वा बाधित तुल्याने उपक्रम गरिरहेको हुन्छ। यो राज्यको प्रपञ्च तोड्ने अर्थमा सिर्जना अराजक हुने हो। तर यो अराजकता त्यस्ता प्रपञ्चको विरोधको अर्थमा हो, जीवनको सम्पूर्ण व्यवस्था वा मूल्यविधान तोड्ने अर्थमा होइन। अँ, कतिपय सन्दर्भमा, लेखकहरूले आफूलाई प्राप्त अराजकताको लाइसेन्सको दुरूपयोग गरेर स्वस्थ्य मूल्यहरूको विरोधमा पनि आफूलाई उभ्याएको पाइन्छ, तर त्यस्तो अराजकता टक्दैन पनि, र त्यसले अनुयायी भेट्न पनि सक्दैन।

. अध्ययन, मनन र चिन्तनको आधारमा नेपाली लेखकहरू र अमेरिकी लेखकहरूमा के कस्ता लेखन-विविधताहरू देख्नु भयो?

नेपाली भाषी लेखकहरूकै कुरा गर्दा, नेपाल र अमेरिकाका सर्जकहरू उस्तै उस्तै पाएँ। विधागत रूपमा पनि उस्तै छन्। अँ, अमेरिकी नेपालीहरूसँग आप्रवासनका, डायस्पोरा हुनुका, क्रमिक रूपले मौलिक संस्कृतिसँग टाढिँदै जानुका र अमेरिकाभित्रको विकसित र विविध संस्कृतिको ज्ञान र अनुभवको कुरा अतिरिक्त विषयवस्तुका रूपमा विद्यमान छन्। जहाँसम्म यहाँकै रैथाने लेखक र हामी नेपाली लेखकको लेखनको प्रश्न छ, त्यहाँ तात्तिवक भिन्नता छ। यिनीहरू विश्वका नवीनतम घटनापरिटनाहरूलाई तत्काल लेखको विषय बनाइदिन्छन् र वैश्विक ध्यानलाई आकृष्ट गर्छन्। हामी, धेरैजसो, परम्परित विषय लेख्छौँ, अथवा पुराना भइसकेपछि त्यतातिर लम्कन्छौँ। यहाँको ठूलो लेखन समुदाय मूलधारकै विधाहरू, यानि कविता, कथा वा उपन्यासतिर बढी केन्द्रित छ, ताकि एउटा ठोस सामुदायिक कथा भन्न सकियोस्। यहाँका अश्वेत, आप्रवासी चाइनिज वा हिस्पोनिकको साहित्यले पनि समूहकै कथा भनिरहेको पाइन्छ, र तिनको सिर्जनालाई समग्रमा हेर्ने हो भने त्यसले अमेरिकको सरकारी इतिहासले छुटाएको अर्को इतिहास भनिरहेको हुन्छ। हामी नेपाली साना आकारका र भावप्रधान विधाहरूमा बढी व्यस्त छौँ कि जस्तो लागिरहेको छ। त्यसले गर्दा, हाम्रो मूल कथा कतै छुटिरहेको छ। उदाहरणका लागि भुटानी नेपालीले भुटान छोड्नु र अमेरिका आइपुग्नु सामान्य कथा होइन। तर आजसम्म पनि यस कथाको सटीक, गहन र आधिकारिक प्रकटीकरण गर्ने सिर्जना आएन भन्दा पनि हुन्छ। नेपालकै पनि, यतै जन्मिएको र हुर्किएको दोस्रो वा तेस्रो पुस्ताको यथार्थ बोक्ने मूलधारको लेखन आएको पाउँदिनँ। यी मूलभूत भिन्नता म प्रस्टै देखिरहेको छु।

. नेपाली लेखकहरू नया नया मुद्दा भन्दा केवल पुराना, पारम्परिक कुराहरू लेख्न रुचाउन छन्। अनि पाठकहरू पनि केवल पारम्परिक सोंच भएका साहित्यिक सामाग्री पढ्न मन पराउँ छन। के यी आरोपहरू सत्य हुन्?

लेखहरूको हकमा यो कुरा साँचो हो, तर पाठकहरूको होइन। पाठकहरू सदैव नवीन विषयको खोजीमा हुन्छन्, र लेखकहरूले दिन सकेनन् भने उनीहरू क्रमशः ती लेखकहरूलाई पढ्न छोड्छन् र अन्य भाषाका साहित्यतिर उन्मुख हुन थाल्छन्। त्यसैले, सोच्नुपर्ने लेखकले हो । विविध भाषा जानेका लेखकहरूसँग त अनेक विकल्प हुन्छन् नि।

. अर्थ साहित्य बिच तालमेल मिलाउँदा अमेरिकीहरूले साहित्यलाई कति महत्व दिनु भएको पाउनु भयो?

यो केही अहदसम्म सत्य रहेको पाइरहेको छु। मैले भ्रमणताका मेरा केही सहपाठी र सहकर्मी पनि भेटेँ। मजस्तै ती पनि साहित्य पढेका हुन् र साहित्यिक रुझान् भएकै हुन्। तर, अमेरिका आएपछि उनीहरूको साहित्यिक रुझान् कतै छुटिसकेको पाएँ। नेपाल हुँदै केही नाम कमाएका लेखकहरू निरन्तर लेखिरहेका भेटेँ, तर यतै हुर्केको नयाँ पुस्ताले साहित्यलाई त्यति प्राथमिक रुचिको विषय बनाएको पाइनँ। उसको अभीमूखीकरण नै पढाइ, जागिर र पैसा भएको छ। अमेरिकी जीवन छ नै यस्तै। स्वाभाविक पनि हो। अँ, संघसस्थाहरूले बालबच्चामा नेपाली भाषा र साहित्यिको ज्ञान र रुचि बढोस् भनेर विशेष प्रयास र पहल गरेको पनि पाएँ। तर यसको परिणाम ठोस रूपमा देखिन त समय लाग्छ।

. आफ्नो अनेक अमेरिकी सहरहरूको भ्रमणको क्रममा, यात्रामा हँदा, अमेरिकीहरूले फुर्सतको क्षण अध्ययन गरेर बिताएको कत्तिको पाउनु भयो?

श्वेत अमिरिकीहरू त जाइँताइँ किताबै बेकेर उभिएका भेटिन्छन्। तर हामी, स्वभावैले निश्चित ठाउँ र परिवेशमा मात्रै पढ्छौँ। यसलाई म अन्यथा लिन्नँ पनि। म आफैँ पनि बाहिर, वा भीडभाडमा पढ्दिनँ। यो त हाम्रो जातीय स्वभाव हो। अमेरिकावासी नेपालीहरूको हकमा फुर्सदको क्षण भन्ने नै खासै नदेखिने रहेछ। तर पनि, पढाइप्रति तीव्र रुचि र अनुराग भएका पाठकहरू निरन्तर पढिरहेकै हुँदारहेछन्। यात्राकै क्रममा मैले भर्खरै आएका राम्रा नेपाली पुस्तक मगाएका र पढिसकेका पनि साथीहरू भेटेँ। कतिपय साथीहरू यहीँ बसेर समीक्षा लेखिरहनुभएको छ, बोलिरहनुभएको छ। यसको अर्थ, पढिरहने एउटा समूह पनि छ। तर यो समूह निकै सानो छ, र यसमा नयाँ पुस्ताको उपस्थिति ज्यादै पातलो छ।

. तपाइँको अमेरिकी भ्रमणको उद्देश्य के हो? त्यो उद्देश्य पूरा भएको पाउनु भयो?

मलाई अमेरिका आउने बाटो खोलिदिएको त अनेसासको पुरस्कार वितरण कार्यक्रमले हो, जसका लागि मेरो पुस्तक अपरिचित अनुहार पनि छानिएको छ। तर यस कार्यक्रमको मितिभन्दा करिब डेढ महिनाअघि नै म अमेरिका आएँ। मलाई, मैले पढेका वा पढाएका कतिपय विषयहरूलाई नजिकबाट बुझ्नु थियो। विशेषतः अमेरिकाका दक्षिणी राज्यमा विद्यमान अश्वेत अमेरिकीहरूको दारुण कथालाई नजिकबाट जान्न मन थियो। मेरो अलाबमा यात्राले मलाई त्यो अवसर दियो। न्युयोर्कमा मैले विश्वशक्तिका कतिपय केन्द्र र स्तम् देखेँभ, जो मेरो लागि रोमाञ्चक अनुभव रह्यो। टोनी मोरिशन तथा जोन स्टनेबेकका रचनामा पढिने दक्षिण अमेरिकी ग्रामिण परिवेश र यहाँको अश्वेत समाजलाई पनि जान्ने मौका पाएँ। यहाँ बसिरहनुभएका नेपाली, तथा नेपाली भाषी भूटानीहरूको कथाव्यथालाई पनि नजिकबाट बुझ्न पाएँ। मजस्ता अध्येताका लागि हार्वार्ड यनिभर्सिटी, मार्टिन लुथर किङको घर तथा रोजा पार्क्स आन्दोलनस्थलमा पुग्न पाउनु निकै ठूलो उपलब्धि हो।  सपनाको अमेरिका र यथार्थको अमेरिकाका बारेमा म थप प्रस्ट भएको छु। डेढ महिनाको छोटो अवधिमा अमेरिकाका करिब १२ राज्यका केही विशेष स्थानको भ्रमण, मलाई लाग्छ, निकै हो।

१०. नेपालमा साहित्य लेखनको कुरा गर्दा, नेपालका साहित्यकारहरूको चिन्तन धारा कत बगेको जस्तो लाग्छ?

पछिल्लो समयको नेपाली लेखनमा अभूतपूर्व राजनैतिक सामाजिक सचेतता पाइन्छ। विभिन्न जात, जाति र वर्गका अधिकारका कुरा आजको लेखनका मूल मुद्दा बनिरहेका छन्। सीमान्नकृतलाई मूल धारमा ल्याउने उपक्रम नै आजको नेपाली साहित्यको केन्द्रीय विषय बनेको छ। साथै, वातावरण संरक्षण, युद्ध, पलायनजस्ता विषय पनि सहायक धारा बनेर बगिरहेको देख्छु। कतिपय आख्यानकारहरू प्राचीन र मिथकीय विषयहरूको पुनरपठनतिर पनि लागेका देखिन्छ। अँ, पुरानो आर्दवाद, एक वा दुई जातिका मूल्यविधानको पृष्ठपोषण र सत्ताको प्रसस्तिगान जस्ता विषय भने करिब करिब नामेट नै बनेर गए।

११. अन्त्यमा, विदेशमा बसेका नेपालीहरूले आफू जहाँ बसेको हो त्यहाँको बारेमा सोंचे हुन्छ। विदेशमा बसेर यता नेपालमा हामी (नेता) हरूलाई यसो गर, त्यसो गरे भन्ने होइन। नेपालको बारेमा सोंच्न हामी छौ। अमेरिकाको भ्रमण गरिसके पछि त्यस किसिमक नेताहरूको भनाइ तपाइँलाई कस्तो लाग्यो?

नेपालको बारेमा हामी सोच्छौँ भन्ने नेताले देशको बोरेमा सोचे? म कलेज र विश्वविद्यालयहरूमा पढाउँछु। मेरो कुनै पनि विद्यार्थी नेपालमा भविष्य छ, नेपालमै बस्छु भन्ने सोच्दैन। किन? यो निराशाको कारण देशको नेतृत्व र सत्ता होइन? नेपालका छिमेकीले ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हाँसिल गरिरहँदा हामी ५ भन्दा कममा रहेको वर्षौं भयो। नेपाली विश्व वा ब्रह्माण्डको जुनसुकै कुनामा रहेको होस्, उसले स्वदेश वा पितृभूमिको चिन्ता गर्छ। माया गर्छ। सहयोग गर्ने, आलोचना गर्ने, बोल्ने, सुझाव दिने र चिन्ता प्रकट गर्ने अधिकार राख्छ। गैरआवासीय नेपालीहरूको मनोलोक, देशप्रतिको माया, आपदविपदमा उनीहरूले देखाएको तदारुकता र सहयोगी भावना, देशभित्रका दलहरूलाई देशबाहिरबाट दिइरहेको आर्थिक र नैतिक सहयोग, देशका ठूला साना परियोजनाहरूमा यिनका लगानी, र कुनै कारण विदेश आइपुगेर समस्यामा परेका नेपालीको सहयोगआदि बारे जानकारी नराख्ने अदूरदर्शी, गैर जिम्मेवार र आलाकाँचा नेताहरूले यस्ता असंवेदनशील कुरा बोल्छन्।

अमेरिका आएपछि थाहा पाएँ — यहाँ बस्ने नेपालीहरूमा नेपालप्रति अगाध माया छ। समर्पण छ। यसको वर्तमान र भविष्यप्रति चिन्ता छ। मातृभूमिको लागि केही गरौँ भन्ने भावना पनि छ। अँ, ससाना मतभिन्नता प्रजातान्त्रिक समाजको चरित्र हो। त्यसबाट अमेरिका वा विदेश पनि अछुतो छैन। यो गौण कुरा हो। देशभित्र रहेर देशको नेतृत्व गर्छु भन्नले विदेशमा रहेका आफ्ना नागरिक वा परिजनबाट सक्दो प्रेम र सहयोग जित्ने वातावरण बनाउनु जरुरी छ।

१२. उक्त नेताहरूले भनेझै के नेपालीहरू विदेश केवल सेवा, सुविधा उपभोग गर्न आएका हुन्छन?

नेपालीहरूलाई विदेशिने वातावरणसम्म हुत्याएको यस्तै आलाकाँचा नेताहरूले हो। धेरै बाध्यताले, र कलिकति रहरले विदेशिएका छन् नेपालीहरू। आखिर, देशमा जीवन सहज भएन, र सरकार अभिभावकको रूपमा उभिन सकेन भने आजको भूमण्डलीकृत समयमा एउटा मान्छे राष्ट्रवाद राष्ट्रवाद भन्दै देशभित्रै झुण्डिरहन्छ भन्ने मलाई लाग्दैन। कोरा भावुकताभन्दा निकै पृथक् छ आजको यथार्थ। मानिसहरू आफ्नो मात्रै होइन, आफ्ना सन्ततिको भविष्यप्रति पनि चिन्तित छन्। देशले दशकौँ दशकमा पनि विकासको एउटा सम्मानजक गति समात्न नसकेको सन्दर्भमा  पलायन अवश्यंभावी हुन पुग्छ।

१३. विदेशमा रहेका (नेपाली) हरूले स्वदेशप्रति देखाउने माया कित्रिम हो वा अर्थहीन हो?

साँचो अर्थमा माया कहिल्यै क्रितृम वा अर्थहीन हुँदैन। र, आजको समयमा मान्छे जहाँ बसोस्, उसले आफ्नो मातृ वा पितृभूमिप्रति माया देखाउने, त्यसप्रति चिन्ता प्रकाट गर्ने र परेका बखत त्यसलाई सहयोग गर्ने पूरापूर अधिकार राख्छ। भावनाको कुरालाई यो हुन्छ वा हुँदैन भनेर तर्क गुर्न अर्थहीन छ। यो आस्था हो, र आस्थामा तर्क गरिन्न।

एकदुई जना अपरिपक्व र अनुभवहीन नेताको भनाइलाई बेवास्ता गरेर आफ्नै लयमा अघि बढौँ भन्न चाहन्छु। तिनका भनाइहरूको कुनै तुक वा आयु हुँदैन, यद्यपि चित्त भने ज्यादै दुखाउँछ। 

Monday, November 6, 2023

Norman, Oklahoma, USA

साहित्यकार महेश पौडेल