Friday, April 17, 2020

Corona Crisis: South Asia May Experience Bad Recession-Article-273


कोरोनाबाट द. एशियालाई ठूलो आर्थिक क्षतिको सम्भावना

कोरोना सङ्कटले आर्थिक क्षेत्रमा ल्याउने अनिश्चितता र विपत्तिबारे सुन्दा सुन्दा तपाईं हामीलाई अति नै दिक्क लागेको होला। त्यस्तो लाग्नु स्वाभाविक पनि हो। सञ्चार माध्यमहरूमा कोरोना सङ्क्रमणबारे प्रकाशित एवं प्रसारित केही भ्रामक खबरहरूले यो रोगलाई झनै भयावह तुल्याइदिएका छन्। हाम्रो चिन्तालाई थप उचालिदिएका छन्।
    विश्वभरि अहिले केवल कोरोना सङ्कटकै चर्चा छ। इच्छा हुन्छ, कुनै नयाँ र फरक सन्दर्भ सुन्न पाइयोस्। तर के गर्नु यस यथार्थबाट पन्छिन सकिंदैन। यो वैश्य युगमा हामी व्यापारसँग बलियो गरी बाँधिएका छौं। कृषि युग अब पहिलेको स्थितिमा फर्किने अवस्था छैन। जीवन गुजारा गर्नका लागि पहिलेजस्तो, करोडौं व्यक्तिहरूसँग अहिले आफ्नो जग्गा छैन। सानो बारी भए पनि जग्गा जोतेर, खनेर गुजारा गर्न सक्ने स्थिति अहिले रहेन। यस कारणले बहुसङ्ख्यक व्यक्ति व्यापारमा आश्रित हुन बाध्य छन्। अनि यो कारणले गर्दा नै कोरोना सङ्कटले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारमा पार्ने नकारात्मक असरबारे सुन्न, पढ्न हामी बाध्य छौं, अभिशप्त छौं। व्यापार अहिले हाम्रो जीवनसँग नङ र मासुझैं जोडिएको छ। माछा पानीविना बाँच्न नसकेझैं हामी अहिले व्यापारविना बाँच्न सक्तैनौं। यो कृषि होइन, वैश्य युग हो। वणिकहरूको युग हो। माया, मोह त्यागेर निस्स्वार्थी जीवन गुजारा गर्ने जोगीको जीवन पनि अहिले व्यापारबाट प्रभावित हुन पुगेको छ। व्यापारमा आश्रित हुन पुगेको छ। जोगी बस्ने शहरमा व्यापार न हुने हो भने जोगीलाई पनि जीवन धान्न ज्यादै कठिन हुनेछ। कोरोना सङ्कटले यो तथ्य सत्य रहेको प्रमाणित गरेर देखाइदिएको छ।
    अफ्रिका महादेशलाई छाडेर कुरा गर्ने हो भने कोरोनाले अत्यधिक नकारात्मक प्रभाव दक्षिण एशियाको बजारलाई पार्ने देखिन्छ। अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, भारत, नेपाल आदि देश नराम्ररी प्रभावित हुने देखिएको छ। यी देशका जनता र सरकारहरूले कोरोना सङ्कट उचित किसिमले व्यवस्थापन गर्न नसक्ने हो भने यी देशका नागरिक आम्दानीको अभावले गर्दा कोरानाले भन्दा भोकमरीले ठूलो सङ्ख्यामा मर्ने देखिन्छ। अर्कोतिर दक्षिण एशियाका मुलुकहरू गरीब भएका हुनाले र स्वास्थ्य सुविधा यथोचित उपलब्ध गराउन नसक्नाले कोरोनाबाट प्रभावित भएर यो क्षेत्रमा लाखौंको मृत्यु हुन सक्नेछ। यो क्षेत्रमा कोरोना अमेरिका, इटली, स्पेनझैं विस्तारित हुन बाँकी नै छ। दक्षिण एशियालाई कोरोनाले स्पर्शमात्र गरेको छ, थिच्न बाँकी छ।
    दक्षिण एशियामा ठूलो सङ्ख्यामा गरीबहरूको बसोवास छ। यस क्षेत्रका बहुसङ्ख्यक नागरिकसँग बचत शून्य बराबर छ। प्रत्येक दिनको आम्दानीले गुजारा गर्नुपर्ने स्थिति छ। लामो समयसम्म कोरोना सङ्कट रहिरहेमा यो क्षेत्रका बहुसङ्ख्यक व्यक्ति बेरोजगारी हुनेछन्। उनीहरूसँग एक छाकको खाँचो टार्ने आर्थिक क्षमता हुने छैन। त्यसकारण दक्षिण एशियाली क्षेत्र भोखमरीको ठूलो जोखिममा छ।
    भारत, पाकिस्तान, बङ्गलादेश, नेपालले सेवा एवं वस्तु व्यापारबाट राम्रो आम्दानी गर्छन्। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारबाट राम्रो आय प्राप्त गरिरहेको छ भने बङ्गलदेशले ‘कटन इन्डस्ट्री’ बाट राम्रो आम्दानी प्राप्त गरिरहेको छ। भारतको आर्थिक स्थिति (आय स्रोत) भने बहुआयामिक किसिमको छ। यसले अन्तर्राष्ट्रिय श्रम बजार एवं अन्तर्राष्ट्रिय वस्तु व्यापारबाट पनि राम्रो आय प्राप्त गर्छ। र यी क्षेत्रहरूबाट प्राप्त आयले गर्दा भारत आफ्ना बहुसङ्ख्यक नागरिक समक्ष थोरै मात्रामा भएपनि एक निश्चित आय पुर्याउन सफल भएको छ। भारतले अन्तर्राष्ट्रिय व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सकेको छ। र यो स्थितिले यसलाई दक्षिण एशियाको आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ। भारत अहिले आर्थिक क्षेत्रमा दक्षिण एशियाको ‘बाघ’ हुन पुगेको छ।
    दक्षिण एशियाली मुलुकहरू (खासगरी भारत र बङ्गलादेश) ले छोटो समयमा उल्लेखनीय आर्थिक प्रगति गरे तापनि दक्षिण एशियाली मुलुकहरूको आर्थिक प्रगति परनिर्भरताबाट भएको हो। अर्थात् दक्षिण एशियाली राष्ट्रहरूले आर्थिक प्रगति आफ्नो स्रोत र साधनको अत्यधिक एवं प्रभावकारी उपयोग गरेर होइन, अन्तर्राष्ट्रिय व्यापारमा अति आबद्ध भएर प्राप्त गरेका हुन्। पश्चिमी राष्ट्रहरूसँग सम्बन्ध खराब हुनासाथ दक्षिण एशियाली राष्ट्रहरूको आर्थिक स्थिति डामाडोल हुन पुग्छ।
    दक्षिण एशियाको आर्थिक विकास क्यानाडा, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता केवल आफ्नो आन्तरिक स्रोतको समुचित र वैज्ञानिक उपयोग गरेर भएको होइन। त्यसकारण कोरोना सङ्कटले गर्दा अन्तर्राष्ट्रिय व्यापारबाट प्राप्त हुने लाभ अवरुद्ध हुनासाथ दक्षिण एशियाली राष्ट्रहरूको आर्थिक स्थिति ओरालो लाग्न थाल्नेछ। उदाहरणका लागि कोरोना सङ्कटको कारण नेपालीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेर आफ्नो श्रम बिक्री गर्न कठिन हुना साथ नेपालको आर्थिक स्थिति डामाडोल हुन आरम्भ हुनेछ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजार एवं पर्यटन उद्योगबाट राम्रो आय प्राप्त गर्दछ। कोरोना सङ्कटले नेपाल र माल्दिभ्सको पर्यटन क्षेत्रलाई ठूलो र दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।
    कोरोना सङ्कटले गर्दा दक्षिण एशियाली क्षेत्र महामन्दी (Depression) को स्थितिमा पुग्ने अनुमान गरिंदै छ। भोलिका दिनमा स्थितिमा सुधार भएर महामन्दी नआए पनि दक्षिण एशियाली क्षेत्र मन्दीको चपेटामा भने अवश्य पर्नेछ। स्थिति समान्य भइदिएको भए यो क्षेत्रको आर्थिक वृद्धिदर ६.३ प्रतिशतले हुने प्रक्षेपण गरिएको थियो । अब यस क्षेत्रको आर्थिक वृद्धि लगभग ३ प्रतिशतमा सीमित हुने देखिएको छ। बाँकीका दिनहरू (सन् २०२० अप्रिलपछि) मा दक्षिण एशियाको आर्थिक स्थिति ज्यादै कष्टकर हुने देखिएको छ र यो कष्टकर स्थितिले यस क्षेत्रका गरीबहरूको जीवनयापन झनै पीडादायी हुनेछ, अनिश्चित हुनेछ।
    दक्षिण एशियाली क्षेत्रका दुई स्थायी शत्रुहरू ‘आर्थिक भ्रष्टाचार’ र ‘कर्मचारीतन्त्र’ (Bureaucracy) ले आउन थालेको मन्दीको यो स्थितिलाई थप कष्टकर तुल्याउन महत्वपूर्ण भूमिका खेल्नेछन्। कोरोना सङ्कटका कारण उत्पन्न हुने आर्थिक समस्या समाधानका लागि सरकारहरूले गर्ने प्रयासलाई प्रभावकारी हुन नदिन यी स्थायी शत्रुहरूले अग्रणी भूमिका निर्वाह गर्नेछन्। उदाहरणका लागि सरकारले गरीबहरूको जीवन थप कष्टकर हुन नदिन वितरण गर्ने राहत (बन्दोबस्तीका सामान, खाद्यान्न एवं नगद) लाई गरीबहरूसम्म लक्षित किसिमले यी खलनायकहरूले पुग्न दिने छैनन्। अर्थात् मन्दीसँग लड्न प्रयोग गरिने औजार (राहत पैकेज) भोथो पार्न यी खलनायकहरूको भूमिका ज्यादै महत्वपूर्ण हुनेछ। यो कारणले गर्दा पनि दक्षिण एशियाली क्षेत्र आर्थिक किसिमले ज्यादै असुरक्षित र अनिश्चित हुने सम्भावना बढेर गएको छ। तर विकसित एवं धनी मुलुकहरूमा यो समस्या गम्भीर छैन। आर्थिक भ्रष्टाचार एवं कर्मचारीतन्त्र, दुवैको कुप्रभावलाई कम पार्न विकसित देशका सरकारहरू धेरै हदसम्म सफल देखिएका छन्। कर्मचारीतन्त्रको कुप्रभाव र आर्थिक भ्रष्टाचार चीनमा कम हुने भएकोले कोरोना सङ्कटको कुप्रभाव चीनको आर्थिक वृद्धिमा कम पर्ने अनुमान गरिएको छ। चीनको आर्थिक वृद्धिदर यो वर्ष केवल १.२ प्रतिशत हुनेछ जुन सन् १९७६ पछिको ज्यादै सुस्त हुनेछ। तर पनि चीनमा दक्षिण एशियाजस्तो आर्थिक मन्दी देखिने छैन। गति सुस्त नै भए पनि आर्थिक विकासको गति चीनमा अवरुद्ध भने हुनेछैन।
    हुन त कोरोना सङ्कटले विकसित देशहरूलाई पनि उत्तिकै सताएको छ। यो सङ्कटको कारण अमेरिकाको अर्थतन्त्रमा लगभग ६ प्रतिशतले सङ्कुचन आउने छ। बेरोजगारी बढेर १०.४ प्रतिशत हुनेछ। यसैगरी संयुक्त अधिराज्यको अर्थतन्त्रमा पनि ६.५ प्रतिशतले सङ्कुचन आउने छ। यस किसिमका अनुमानहरू गरिएका छन्। तर अमेरिका, संयुक्त अधिराज्यलगायत क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान जस्ता राष्ट्रहरूको आन्तरिक संयन्त्र बलियो र व्यवस्थित भएकोले ती राष्ट्रहरूले यो मन्दीको असर कम पार्न सक्नेछन्। यस्तो विश्वास गरिएको छ ।
    यो विषम परिस्थितिमा आर्थिक विकासको गतिलाई स्थिर हुन नदिन दक्षिण एशियाले उत्पादन बढाई आपूर्ति व्यवस्था (supply chain) लाई चुस्त पारेर मात्र हुँदैन। दक्षिण एशियाले कर्मचारीतन्त्रको कुप्रभाव एवं आर्थिक भ्रष्टाचार पनि कम पार्नुपर्छ । आर्थिक विकासका आफ्ना यी दुई शत्रुहरूलाई दक्षिण एशियाले नियन्त्रणमा राख्नुपर्नेछ ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 17, 2020

Friday, April 10, 2020

Fighting Corona Crisis With Extending Production-Article-272


कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन

विश्व अर्थव्यवस्थामा अब कृषिको अत्यधिक प्रभाव पहिलेजस्तो रहेन। उद्योग र सेवा व्यवसायले मानवजीवनलाई पूर्णतया आफ्नो नियन्त्रणमा लिएको छ, परस्पर निर्भरता बढाएको छ। अमेरिका, क्यानडाजस्ता मुलुकहरूमा कृषिको प्रभाव ठूलो मात्रामा भए तापनि युरोपलगायत अफ्रिका, एशियाका मुलुकहरू उद्योग र सेवा व्यवसायमा ज्यादै आश्रित हुन पुगेका छन्। यो कारणले गर्दा विकासशील राष्ट्रहरूका लागि व्यापार मानव शरीरमा रक्तसञ्चारको भूमिकाझै  महत्वपूर्ण हुन पुगेको छ। व्यापार स्थिर हुनेबित्तिकै मानिस भोकभोकै मर्ने स्थिति छ।
    अर्कोतिर, कोरोना–सङ्कटले गर्दा अहिले नेपालको व्यापार क्षेत्र अवरुद्ध हुन पुगेको छ। व्यापार अवरुद्ध हुन पुगेकोले पर्यटन, उद्योग, सेवा–व्यवसाय, उत्पादन सबै गतिहीन हुन पुगेको छ। व्यापार यसरी स्थिर हुनुहुँदैन। सरकार एवं सम्बन्धित पक्षले व्यापारलाई स्थिर हुन दिनुहुँदैन, जीवित राख्नुपर्छ। लकडाउनको स्थिति, भौतिक दूरी कायम राखेर भएपनि, व्यापार सञ्चालित भइरहनुपर्छ। बरु लकडाउनको स्थितिमा व्यापार, व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर भएर सोच्नुपर्छ। लकडाउनमा पनि व्यापार सञ्चालन गर्न नयाँ–नयाँ पद्धति, प्रक्रिया, विधि एवं उपायको खोजी गर्नुपर्छ। तर व्यापार कुनै पनि हालतमा अवरुद्ध पार्नुहुँदैन। यस्तो गरिएमा गरीब जनता, दैनिक आम्दानीमा बाँच्ने श्रमिक, मजदूरहरूको जीवन कठिन हुने मात्र हुने होइन, देश नै पनि दिवालिया हुन सक्छ।
    अहिले नेपालको कृषि सुस्त स्थितिमा छ। कृषि उत्पादनमा ठूलो ह्रास आएको छ। अर्कोतिर नेपाली श्रमिकहरू अन्तर्राष्ट्रिय बजारमा पुगेर काम गर्न पाउने स्थिति छैन। ‘रेमिट्यान्स’ एक किसिमले रोकिएको स्थिति छ। पर्यटन त नराम्ररी धराशयी हुन पुगेको छ। नेपालको अन्तर्राष्ट्रिय पर्यटन व्यवसायलाई पहिलेको स्थितिमा आउन वर्ष दिनभन्दा बढी लाग्नेछ, त्यो पनि कोरोना सङ्कट आजभोलिमा समाप्त भएमा। यो अझै लम्बिने हो भने पर्यटनको भविष्य  अनिश्चित हुने निश्चित छ। त्यस कारण यो स्थितिमा व्यापार अवरुद्ध पार्नु भनेको शरीरमा रक्तसञ्चार रोक्नु हो। यो यथार्थलाई सरकारका पदाधिकारीहरू, नीति निर्माता एवं सम्बद्ध पक्षले गम्भीरतापूर्वक सोच्न आवश्यक छ। स्थानीय सरकारहरूले गम्भीरतापूर्वक लिन आवश्यक छ। यो सामान्य होइन, अति महत्वपूर्ण कुरा हो। जीवन–मृत्युसँग सम्बन्धित कुरा हो। अव्यवस्थित ‘लकडाउन’ समस्याको समाधान होइन। बरु समस्यामाथि समस्या थप्नु हो।
    नेपाली जीवनपद्धति अहिले पूर्णतया उद्योग, व्यापार, सेवा–व्यवसायमा आश्रित हुन पुगेको छ। चालीस–पचास वर्ष पहिले स्थिति यस्तो थिएन। अधिकांश व्यक्तिसँग जग्गा थियो। तराईको कुरा गर्ने हो भने ज्यादै निर्धन परिवारबाहेक, गरीब परिवारसँग पनि पाँच या दश धुर जग्गा थियो। जग्गा नहुने परिवारले अरूको जग्गा अधिया वा बटैयामा जोत्ने गर्दथे। यस्तै स्थिति पहाडमा पनि थियो। यस किसिमको स्थितिले गर्दा तराई होस् वा पहाड, व्यापार अवरुद्ध हुँदा कोही भोकभोकै मर्ने स्थिति थिएन। आफूसँग रहेको भूमिको उपयोग गरेर, त्यसमा विभिन्न किसिमका अन्नहरू फलाएर परिवार आफ्नो भरणपोषण गर्न सक्षम थियो। धान, मकै, कोदो, गहुँ, अलुआ, चिना, कौनी, फापर, चना, खेसारी, तोरी आदि भएपनि उत्पादन गरेर पेट भर्न सक्ने स्थिति थियो। उहिले कृषिको अधिक प्रभाव रहेको समयमा परिवारहरू अनेक किसिमका भौतिक, विलासी वस्तुहरू उपयोग गर्न सक्ने स्थितिमा नभए पनि भोकै बस्नुपर्ने स्थिति थिएन। किनभने व्यक्तिहरू जीवन निर्वाह अत्यावश्यक वस्तु आफै उत्पादन गर्न सक्षम थिए। प्रत्येक गाउँ एक किसिमले आत्मनिर्भर थियो। आफूलाई आवश्यक पर्ने वस्तु (चामल, दाल, तरकारी, मासु, तेल, मसला, इन्धन आदि) उत्पादन गर्न सक्षम थियो। कपडा, भाँडा आदि उत्पादन गर्न न सके तापनि। पशु–अवशेष (गोबर)को प्रयोग गरेर, गोहरा–चिपरी बनाएर, गाउँहरू ऊर्जा (खाना पकाउने) उत्पादन गर्न पनि सक्षम थिए।
    तर अहिलेको मानवजीवन अति पारस्परिक सम्बन्ध (Interdependence) मा बाँचिरहेको छ। नेपालमा त झनै पारस्परिक सम्बन्ध उच्च बिन्दुमा छ। अहिले नेपालमा प्रत्येक व्यक्तिले, आफूले केवल श्रममात्र उत्पादन गर्छ, बाँकी सामग्री बजारबाट खरीद गर्छ। एकजना मानिसले एउटा श्रम मात्र बिक्री गर्छ र श्रम बिक्रीबाट प्राप्त आम्दानीले अनेक किसिमका सामग्री खरीद गर्छ। यसरी प्रत्येक व्यक्ति सघन पारस्परिक सम्बन्धमा बाँचिरहेको छ भने प्रत्येक व्यक्ति जीवनयापनका लागि आफ्नो श्रम बिक्री गर्न बाध्य छ। स्वेच्छाले होइन, अनिवार्यताले, विकल्पहीनताले गर्दा। यस्तो स्थितिमा यदि व्यापारलाई पनि लकडाउन गरिदिने हो भने जीवन निर्वाह असम्भव हुन पुग्नेछ। त्यस कारण जीवन निर्वाहलाई गतिशीलता दिन लकडाउनको स्थितिमा पनि व्यापार सञ्चालन गर्न सकिने उपायहरूको खोजी गर्न आवश्यक छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेझैदियो बालेर’ कोरोना सङ्कट समाधान हुन सक्तैन। कोरोना सङ्कट समाधान गर्न व्यापारका नयाँ–नयाँ तरीका, उपाय, पद्धति, विधिको खोजी आवश्यक छ। कोरोना सङ्कट लम्बिएमा, मध्यमवर्गीय परिवारका लागि पनि जीवन निर्वाह कठिन हुन सक्छ। अहिले त उनीहरूसँग बचत रहेकोले त्यो बचत प्रयोग गरेर, जीवन निर्वाह गरिरहेका छन्। तर भोलिका दिनहरूमा मध्यमवर्गीय परिवारको त्यो बचत सकिएमा उनीहरूको जीवन निर्वाह पनि कष्टकर हुनेछ।
    कोरोना सङ्कटको सामना गर्न, वर्तमान परिस्थितिमा नेपालसँग केवल एकमात्र उचित एवं प्रभावकारी विकल्प छ। र त्यो हो, राष्ट्रिय उत्पादनमा वृद्धि गर्नु। नेपालले खासगरी कृषि उत्पादनमा वृद्धि गर्नुको अब विकल्प छैन। अन्य आवश्यकतालाई थाती राखेर, केवल बाँच्न सकिने आवश्यकता पूरा गर्न नेपालले कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ। कोरोना सङ्कटको सामना गर्न सरकारले दिएको ‘राहत’ वा आर्थिक सहयोगले केही समयसम्म मदत मिल्ला तर सरकारले यस किसिमको राहत कहिलेसम्म दिन सक्छ? व्यापार–व्यवसाय ठप्प भएको स्थितिमा (विभिन्न किसिमका शुल्क एवं कर प्राप्त हुन नसकेकोले) सरकारले पनि कसरी आय प्राप्त गर्न सक्छ?  आय क्रमशः घट्दै गएमा सरकारले राहत दिन सक्छ? धनी राष्ट्रहरूको अर्थव्यवस्था पनि धरमराएको स्थितिमा के नेपालले धनी राष्ट्रहरूसँग सहयोगको अपेक्षा गर्न सक्छ?  के नेपालले अन्तर्राष्ट्रिय दाताहरूबाट सहयोग पाउला? सर्वाधिक धनी राष्ट्र अमेरिकाको स्थिति त अहिले नाजुक छ। यस्तो स्थितिमा कसले नेपाललाई सहयोग गर्ला?
    अबको स्थितिमा यो अनिश्चितताको कालो बादलले घेरेको समयमा, हामीले कृषि उत्पादनमा जोड दिन आवश्यक छ। जसले जे सक्छ, जोसँग जुन किसिमको अनुभव छ, जहाँ जे हुन सक्छ, जति हुन सक्छ, जुन स्थान जे कुराको लागि उपयुक्त छ, हरेक व्यक्तिले त्यो सीप, साधन र जमीनको उपयोग गर्नुपर्छ।
    यो विषम परिस्थितिमा हामीले केवल गमलामा तरकारी रोपेर पनि मुलुकलाई तरकारी उत्पादनको क्षेत्रमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सक्छौं। दीर्घकालमा आत्मनिर्भर नै पनि बनाउन सक्छौं। यो कोरा कल्पना होइन, यथार्थ हो। यही अवधारणालाई मान्यता र महत्व दिएर नै इजरायलले कृषि क्षेत्रमा अभूतपूर्व विकास गरेको हो। सानो मुलुक भए तापनि इजरायल कृषिमा आत्मनिर्भर छ।
    यो स्थितिको सामना गर्न प्रत्येक व्यक्तिले आफ्नो बारी, खेत वा उपलब्ध जुनसुकै जमीनको उपयोग प्रभावकारी किसिमले गर्न आवश्यक छ। कोरोना सङ्कटले देशलाई नै दिवालिया पार्न सक्ने स्थिति आउन नदिन प्रत्येक व्यक्तिले यो विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ। कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ।
    खासगरी पहाडी विकट क्षेत्र, जहाँको भूमि उपयोग हुन सकेको छैन, ती भूमिमा कृषि कार्य विस्तार गर्न आवश्यक छ। पहाडमा रहेका सामुदायिक, सरकारी भूमिहरूलाई ‘अल्पकालीन नीति’ तयार पारेर, त्यस अन्तर्गत रहेर, गरीब वा भूमिहीन परिवारलाई उपयोग गर्न दिन आवश्यक छ। तराईका सामुदायिक एवं सरकारी जग्गाहरू पनि गरीबहरूलाई जोत्न दिनुपर्छ।
    संसारकै सर्वाधिक धनी देश अमेरिकाले यो कोरोना सङ्कटमा व्यापार स्थिर (बन्द) हुन दिएको छैन। अनेक किसिमका सावधानी अँगालेर अमेरिकीहरूले व्यापारलाई स्थिर हुन दिएका छैनन्। व्यापार चलि नै रहेको छ। भौतिक दूरी कायम राखेर व्यापार गर्न सकिने नयाँ–नयाँ विधिको प्रयोग भइरहेको छ। अमेरिकाले व्यापारको महत्व बुझेको छ। व्यापार अवरुद्ध भएमा कस्तो स्थिति आउन सक्छ भन्ने हेक्का अमेरिकी सरकार र जनता दुवैलाई छ ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 10, 2020

Friday, April 3, 2020

Will Corona or Corona-Like Crisis Change Our Entire Life Style? Article.-271


के कोरोना भाइरसले आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउला?

चीनको हुबेई प्रान्तको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महीनाको अन्त्यबाट संसारभरि फैलिएको कोरोना भाइरसले अहिलेसम्म ४२ हजार ३५४ व्यक्तिको ज्यान लिइसकेको छ। ८ लाख ६१ हजार व्यक्तिमा यो रोगको लक्षण देखिएको छ। अन्टार्कटिकाबाहेक यो रोग अहिले सबै महादेशमा फैलिएको छ। यो रोगको चपेटमा संसारका लगभग सबै देश परेका छन्। कस्तो अचम्म!  अन्तरिक्षको यात्रा गर्दै, चन्द्रमामा पुगेर मङ्गल (ग्रह) मा पुग्न खोज्ने मानवजाति अहिले स्थिर हुन पुगेको छ। निरीह हुन पुगेको छ। गतिहीन हुन पुगेको छ। संसारलाई एक मिनेटमा ध्वस्त पार्न सक्छु भन्नेहरू अहिले एक्लो, लुकेर, डराएर, थुनिएर कोठामा बसेका छन्। कोरोनाले अहिले मानवजीवनमा अकल्पनीय परिवर्तन ल्याइदिएको छ।
    अहिले, जो जहाँ छ, ऊ त्यहीं थुनिएको छ। कोरोना भाइरसले मानवजीवनलाई गतिविधिविहीन तुल्याइदिएको छ। प्रत्येक पल, के दिन के रात क्रियाशील रहने, खोलाझै बग्ने मानवजीवन अहिले स्थिर हुन पुगेको छ। यतिमात्र होइन, कोरोनाको कारण अचम्मका स्थितिहरू पनि देखिएका छन्। कतिपय देशका अनुभवहीन सरकारले आफ्नै देशका नागरिकलाई आफ्नो देशभित्र पस्न दिएका छैनन् भने कतिपयले ‘लकडाउन’को विरोध गर्नेलाई अपराधीझै कुट्न लगाएका छन्। अन्य प्रभावकारी विकल्पको खोजी नगरेर ‘लकडाउन’लाई मात्र कोरोनाबाट छुटकारा पाउने रामबाण मानेर कतिपय सरकारले कोरोनाभन्दा पनि, काम गर्न नपाएर भोकभोकै हजारौं मान्छेहरू मर्ने स्थिति सृजना गरिदिएका छन्। रोजगारका लागि गाउँ छाडेर ठूला–ठूला शहर पसेका कामदारहरू अहिले शहर त्यागेर आफ्नै गाउँ जान खोजिरहेका छन्। जीवनरक्षाका लागि, शहरबाट गाउँतिर जान खोज्नेहरूको लस्कर भारतमा अहिले सन् १९४७ को भारत–पाक विभाजनको बेलाजझैं देखिएको छ। त्यसताका कोही भारत पस्न खोज्ने, कोही पाकिस्तान पस्न खोज्नेहरू लस्करै हिंडेझै अहिले शहरबाट गाउँ जान खोज्ने कामदारहरू लस्करमा हिंडेका छन्। कस्तो अचम्मको स्थिति! कस्तो भयावहको स्थिति! कति ठूलो परिवर्तन! कति डरलाग्दो मानवीय सङ्कट!
    कोरोनाले हाम्रो जीवनपद्धतिमा ज्यादै ठूलो परिवर्तन ल्याउने सङ्केत देखिन थालेको छ। मुख्यगरी, हाम्रो आर्थिक जीवनमा कोरोनाको कारण नयाँनयाँ परिवर्तन देखा पर्नेछन्। कोरोनाका कारण हुने परिवर्तन यस किसिमका हुन सक्छन्–
(क) जीवनपद्धतिमा परिवर्तन
(ख) परस्पर निर्भरतामा कमी
(ग) भौतिक दूरी राखेर कार्य गर्ने नयाँ पद्धतिको विकास
(घ) ठूला शहरहरूको खण्डीकरण एवं साना शहरहरूको विकास
(ङ) निको पार्न नसकिने रोगहरू आउनेक्रम जारी

(क) जीवनपद्धति
    कोरोना–सङ्कट लम्बियो भने वा कोरोनाजस्तो निको नहुने रोग आउने र फैलिने कार्य जारी रह्यो भने हाम्रो वर्तमान जीवनपद्धतिमा ठूलो परिवर्तन आउनेछ। यस किसिमका रोगहरूले हामीलाई एक्लो पारेर, परिवार र समाजसँग छुट्टिएर बस्न बाध्य पार्नेछन् र मानव सभ्यता त्यो परिवर्तन मान्न तयार पनि हुनेछ। सयौं व्यक्ति मिलेर गरिने काममा कमी आउने छ। मानव सभ्यताले परस्पर निर्भरता कम गर्ने प्रयास गर्नेछ। मानिसले उद्योग र सेवा व्यवसायभन्दा कृषिलाई महत्व दिनेछ। कुनै समयमा कृषि नै मानिसको लागि जीवनको मुख्य आधार भएझैं यो परिवर्तित समयमा कृषि पुनः मानवजीवनका लागि मुख्य आधार हुन सक्नेछ। हुनत अहिले पनि औद्योगिक विसर्जनले गर्दा यो पृथ्वी अति प्रदूषित हुन पुगेको छ। कार्बन इमिसन र प्रयोग गरेर फालिएका प्लास्टिकले यो पृथ्वीलाई आक्रान्त पारेर पर्यावरण दूषित पारेको छ।

(ख) परस्पर निर्भरतामा कमी
    अहिले बहुसङ्ख्यक मानिस परस्पर निर्भरतामा बाँचिरहेका छन्। कुनै पनि व्यक्ति एक्लै बाँच्न सक्ने अवस्था छैन। जीवन गुजाराका लागि हामीले अनेकौं व्यक्ति वा सेवाप्रदायकसँग सम्बन्ध गाँस्नुपर्छ। हामी बहुसङ्ख्यक व्यक्ति श्रममात्र उत्पादन गर्छौं र त्यो श्रम बिक्री गरेर जीवन निर्वाहका लागि आवश्यक पर्ने हजारौं वस्तु एवं सेवाहरू खरीद गर्छौं। कृषि युगमा यस्तो थिएन। परिवारले खाना पकाउन आवश्यक पर्ने इन्धन (गोहरा, गुइँठा, चिपरी आदि) समेत आफैले  उत्पादन गर्दथ्यो। तेलहन, दलहन, तरकारी, अन्नसमेत उत्पादन गथ्र्यो। यसरी अनेक कुरा उत्पादन गरेर परिवारले परस्पर निर्भरता कम पारेको थियो। परस्पर निर्भरता कम भएकोले वितरण व्यवस्था (Supply Chain) बन्द हुँदा पनि मानिस भोकै मर्ने स्थिति हुन्थेन। तर अहिले वितरण व्यवस्था अवरुद्ध हुनेबित्तिकै मानिस भोकभोकै बस्नुपर्ने स्थिति उत्पन्न हुन पुग्छ। कोरोना जस्ता महामारी, पछि आउन सक्ने यस किसिमका प्राणघातक रोगले वितरण व्यवस्था अवरुद्ध हुन सक्ने अनुमानबाट भयभीत भएर अब धेरै व्यक्तिले परस्पर निर्भरता कम पार्नेछन् र स्वउत्पादनमा जोड दिनेछन्।

(ग) भौतिक दूरी राखेर कार्य गर्ने नयाँ–नयाँ पद्धतिको विकास
    कोरोना होस् वा अन्य महामारी, प्राणघातक रोग होस् वा सामान्य, प्रायः सबै रोग सम्पर्क गर्दा वा नजीक पर्दा सर्ने भएकोले अब एक निश्चित भौतिक दूरी कायम गरेर कारोबार गर्न सकिने यन्त्र, प्रक्रिया, प्रविधि, पद्धतिहरूको विकास अब तीव्र गतिमा हुनेछ। हुनत विकसित देशहरूमा यस किसिमका पद्धतिहरूको यथेष्ठ विकास भइसकेको छ तर अब यस्ता पद्धतिहरूको विकास विकासशील राष्ट्रहरूमा तीव्र गतिमा हुनेछ। एटिएम, सेल्फ चेक आउट, टुगो, ड्राइभ थ्रु, टेक–होम, अनलाइन सपिङ, अनलाइन अर्डरजस्ता मानव–सम्पर्क कम हुने पद्धतिको प्रयोग विकासशील राष्ट्रहरूमा पनि हुनेछ। विकसित मुलुकहरूमा भने यस्ता पद्धतिको थप विकास एवं प्रयोगमा झनै व्यापकता आउनेछ। परिवर्तित समय र परिस्थितिले त्यस्तो गर्न बाध्य पार्नेछ।

(घ) ठूला शहरहरूको खण्डीकरण एवं ससाना शहरहरूको विकास
    चीन होस् वा अमेरिका वा इटाली कोरोना भाइरस सबैभन्दा बढी ठूला शहरहरूमा छिट्टै फैलिएको देखिएको छ। साना शहरहरूमा छिट्टै फैलिएको देखिएको छैन। र साना शहरहरू ठूलाभन्दा सुरक्षित देखिएका छन्। ठूला शहरहरूमा सम्पर्क दर बढी र सम्पर्क बाध्य भएकोले पनि कोरोना तीव्र गतिमा फैलिएको हो। त्यस कारण कोराना र कोरोनाजस्ता प्राणघातक रोगबाट जोगिन मानिस अब साना–साना शहरतिर बस्न इच्छुक हुनेछन्। यसरी एकातिर सानासाना शहरहरूको विकास हुनेछ भने अर्कोतिर स्वास्थ्य सुरक्षाको कारण ठूला–ठूला शहरहरूको खण्डीकरण हुनेछ। यो नयाँ परिस्थितिमा अब सानासाना शहरहरूको विकास तीव्र गतिमा हुनेछ। ठूला शहरहरूबाट मानिसहरू पलायन हुनेछन्।
    भारत, नेपालजस्ता देशहरूको सन्दर्भमा ठूला शहरहरू रोजगार रहुन्जेल बस्न उपयुक्त तर रोजगार नभएपछि ती शहरले नै लखेट्ने भएकोले अब ठूला शहरहरूलाई मान्छेहरूले विश्वास गर्न छाड्नेछन् र दुःख गरेर भएपनि आफ्नै साना शहर वा गाउँहरू उपयुक्त भन्ने मनोविज्ञान निर्माण गर्न बाध्य हुनेछन्। अहिले नै यस्तो भएको देखियो पनि। कोरोनाका त्रासका कारण नेपाललगायत भारतका अनेक ठूला शहरबाट मानिसहरू ठूलो सङ्ख्यामा आफ्नो गाउँतिर लागेको देखियो। यो एक किसिमको नौलो एवं ऐतिहासिक मनोवैज्ञानिक परिवर्तन हो। हुनत ठूला शहरहरू पर्यावरण प्रदूषणका कारण उहिलेदेखि नै अनेकौं रोगको उद्गमस्थल भएर बस्न अनुपयुक्त हुँदै आएका हुन्। उद्योग र सवारीका साधनहरूले वायु प्रदूषित पारेर ठूला शहरहरूलाई जहर भरिएको शहर पार्दै आएका छन्। यो तथ्यलाई अब मानिसहरूले गम्भीरतापूर्वक लिनेछन्।

(ङ) निको पार्न नसकिने रोगहरू आउनेक्रम जारी
    विकासशील राष्ट्रहरूजस्तै चीन, भारत तथा धनी राष्ट्रहरूजस्तै अमेरिका, फ्रान्स, जर्मनीले औद्योगिक विसर्जन र कार्बन इमिसन पर्यावरणमा यति बढी मात्रामा छाडिरहेका छन् कि हामी बाँच्ने पर्यावरण नराम्ररी बिथोलिएको छ, प्रदूषित भएको छ। पर्यावरण बिथोलिने क्रम यस्तै रहिरहने हो भने कोरोना भाइरसजस्ता घातक रोग लगाउने अन्य भाइरस पनि आउनेक्रम जारी रहनेछ। र ती भाइरसहरूले मान्छेहरूको ज्यान लिनेक्रम पनि जारी राख्नेछन्। तसर्थ कोरोना निको पार्ने औषधि आउँदैमा यस किसिमको समस्या सदाका लागि समाधान हुनेछ भनी ढुक्क हुने स्थिति छैन। दूषित पर्यावरणको कारण मानवजीवन सङ्कटमा रहनेक्रम समाप्त हुनेछैन। यस्तो चिन्ताले मानिसलाई एक्लो  बस्न वा भौतिक दूरीमा जीवन निर्वाह गर्न, अन्तर्निर्भरता कम पार्न, एवं आफूले पनि अनेक किसिमका वस्तु एवं सेवा उत्पादन गर्न बाध्य पार्नेछ र सानासाना शहरहरूमा बस्न बाध्य पार्नेछ।

सम्पूर्ण विषम परिस्थितिहरूको अध्ययन, विश्लेषण एवं मनन गर्दा कोरोना वा अब आउने यस किसिमको रोग-सङ्कटले मानवजीवन पद्धतिमा परिवर्तन ल्याउने निश्चित छ। आर्थिक जीवनमा त परिवर्तन ल्याउने निश्चित नै छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित