Friday, May 18, 2018

We Should Develop Entrepreneurship-Article-199


उद्यमशीलता र आर्थिक विकास

उद्यम र व्यापार फरक–फरक कार्य हो। तर हामीले परम्परागतरूपमा यी दुवै कार्य समान हो भन्ने किसिमले बुझ्छौं। अन्तर खोज्ने प्रयास गरेनौं। किन होला?
    उद्यम भनेको नितान्त नौलो सोच सहितको नौलो किसिमको व्यापार गर्नु हो। परम्परागतरूपमा चलिआएको व्यापारको अनुकरण नगरेर नयाँ किसिमको व्यापार गर्नु र ग्राहकहरूलाई त्यस किसिमको व्यापारमा आबद्ध गराउनु हो। त्यसकारण उद्यमीहरूले नयाँनयाँ किसिमका व्यापारको खोजी गर्दछन् र त्यो नयाँ व्यापारमा संलग्न हुन सामान्य नागरिकलाई प्रेरित गर्दछन्। फेसबूक, माइक्रोसफ्ट, गुगल, उबर, भाइबर, एपल, एमेजन आदि उद्यम हुन्, व्यापार होइन। यी नितान्त नौला व्यापार हुन्। पहिले नगरिएका वणिक कार्य हुन्।
    उद्यमहरूले समाजलाई गति दिन्छन्। थप रोजगार दिन्छन्। थप आय सृजना गर्छन्। व्यापारीहरूले बढी मुनाफा गर्न पाउँछन् भने उपभोक्ताहरूले नयाँनयाँ वस्तु एवं सेवा उपभोग गर्ने अवसर पाउँछन्। यस भनाइको प्रत्यक्ष उदाहरण हो फेसबूक। सन् २०१८ को पहिलो त्रैमासिकसम्म फेसबूक मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या २.१९ बिलियन रहेको देखिएको थियो। फेसबूक नितान्त नौलो सोचसहित आएको थियो र उसले व्यापारमा ठूलो सफलता प्राप्त गर्यो पनि। सन् २०१७ मा फेसबूकको आय ४० हजार ६ सय ५३ मिलियन डलर थियो। उसले सोही अवधिमा १५ हजार ९ सय ३४ मिलियन खुद मुनाफा आर्जन गरेको थियो। अहिले २५ हजार १ सय ५ कर्मचारी फेसबूकमा काम गर्छन्।
    व्यापार भनेको परम्परागतरूपमा चलिआएका वाणिज्य कार्यहरूको अनुपालन वा अनुसरण गर्नु हो। नयाँ वाणिज्य सोच ल्याउनुहोइन। कसेलै कुनै किसिमको होटल खोल्छ, रेस्टुरेन्ट सञ्चालन गर्छ, कलेज सञ्चालन गर्छ, यातातात सेवा प्रदान गरेर मुनाफा प्राप्त गर्दछ भने त्यो व्यापार हो, उद्यम (Entrepreneurship) होइन। यस किसिमको परम्परागत व्यापार सञ्चालन गर्दा सञ्चालकले आफ्नो रचनात्मक सोचको प्रयोग कुनै किसिमबाट पनि गरेको हुँदैन। केवल कसैले गरेको कार्य को अनुकरण (नक्कल) मात्र गरेको हुन्छ। उसले नयाँ किसिमको सोंच ल्याएर, त्यो सोचको प्रयोग व्यापारिक क्षेत्रमा गरेको हुँदैन। परम्परागत किसिमको व्यापार गर्ने व्यक्तिले कुनै पनि किसमको जोखिम उठाउन चाहँदैन। र सजिलो गमन (easy going) चाहन्छ। तर उद्यमीले भने जोखिम वहन गर्दछ। र ‘मुनाफा भनेको जोखिम वहनको पुरस्कार हो’ भन्ने अर्थशास्त्रको परिभाषामा पूर्ण विश्वास गर्दछ।
    नेपालमा किन व्यक्तिहरूले उद्यम गर्न मन पराउँदैनन्? अथवा नेपालमा किन उद्यमीहरूको अभाव भएको होला?  
    यो प्रश्न ज्यादै जटिल र अर्थपूर्ण पनि छ। नेपालमा युवा एवं विद्यार्थीहरूलाई उद्यमी नतुल्याउनमा सरकार र समाज दुवै पक्ष उत्तिकै दोषी छ। सरकारले उद्यमीहरू उत्पादन गर्ने किसिमको शिक्षा नीति ल्याउन सकेको छैन। यस विषयमा सरकारले पर्याप्त गृह कार्य पनि गरेको छैन। हाम्रो शिक्षा नीतिले विषयवस्तुको ज्ञान त दिन्छ, तर त्यो ज्ञानलाई व्यावहारिक किसिमले प्रयोग गरेर स्वतःरोजगार सृजना गर्ने किसिमको सोच, आँट र सीप दिंदैन। ज्यादै न्यून सङ्ख्यामा मात्र विद्यार्थीहरूले औपचारिक अध्ययन समाप्त गरेपछि कुनै व्यापार सञ्चालन गरेको पाइन्छ। ठूलो सङ्ख्यामा विद्यार्थीहरू कुनै सङ्गठनमा गएर जागिर खाएको पाइन्छ।
    यसैगरी कुनै व्यक्तिले कुनै नयाँ सोच ल्याएर कुनै नयाँ किसिमको कार्य गरेको छ भने उसको त्यो सोच (Intellectual properties) लाई सरकारले बलियो कानूनी संरक्षण दिन नसकेको पनि देखिएको छ। उदाहरणको लागि कुनै गायकले आफ्नो गीतको एउटा एलबम बनाएर ल्यायो र ऊ ज्यादै लोकप्रिय भएर उसको उक्त एलबम ठूलो सङ्ख्यामा बिक्री हुन थालेपछि, अन्य बिक्रेताहरूले सो गायकको स्वीकृतिबिना, चोरी गरेर, उक्त गायकको एलबमको नक्कल गरेर, नक्कल प्रति बिक्री गर्न आरम्भ गर्छनन्। यस्तो अवस्थमा गायकहरू गीतको एलबम बनाउन कसरी प्रोत्साहित हुन सक्छन्? अमेरिकामा हो भने त्यस्तो किसिमले अनुमतिबिना नक्कल गर्नु गम्भीर अपराध मानिन्छ र त्यस्तो गर्ने व्यक्ति सजायको भागीदार हुनुपर्छ। त्यसकारण अमेरिकामा ‘कपी’ गरिएका कुरा खरिद बिक्री हुँदैन। अमेरिकामा कसैको पनि बौद्धिक सम्पत्तिको सरकारले पूर्ण सुरक्षा दिन्छ।
    हामीलाई उद्यमी बन्न नदिन हाम्रो समाज झनै बढी दोषी छ। हरेक व्यक्तिलाई चाहिने, ाँच्नका लागि आधार बनेको आम्दानी (रोजगार) बारे हाम्रो समाजमा कमै कुरा हुन्छ। राजनीतिबारे बढी चर्चा हुन्छ। अनावश्यक चर्चा हुन्छ।
    भारतीय प्रम नरेन्द्र मोदी नेपालको भ्रमणमा आए, गए पनि। जनकपुरमा अभिनन्दित भए। उनको भ्रमण सकिएको कैयौ दिन भइसक्यो, तर मोदीको भ्रमण कालमा यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले के भने, केन्द्रीयमन्त्री ईश्वर पोखरेलले के भने, प्रम ओलीले कस्तो लुगा लगाएजस्ता कुराहरू अहिले पनि सञ्चार माध्यमहरूले स्वादिलो पारेर प्रकाशित गरिरहेका छन्। पाठकहरूले पनि स्वाद लिएर, आनन्द मानेर त्यस्ता समाचार पढिरहेका छन्। तर त्यस क्षेत्रका व्यक्तिलाई आम्दानी दिने, रोजगार दिने कुराहरू भइरहेका मात्र छैनन्, त्यस किसिमका विषयहरूले पटक्कै महत्व पाएका छैनन्। यस्तो किन होला?
    मोदी–भ्रमणले जनकपुरको अर्थ व्यवस्थामा कुन किसिमको सकारात्मक प्रभाव पर्न सक्छ त्यसबारे कतै चर्चा परिचर्चा भएको पाइँदैन। मोदी भ्रमण पछि जनकपुर क्षेत्रमा कसरी धार्मिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्न सकिन्छ त्यसबारे पनि अध्ययन, अनुसन्धान, चर्चा परिचर्चा भएको पाइँदैन। हाम्रो समाजले चाहिनेभन्दा बढी राजनीति गर्छ। यस्तो किन होला ? यस प्रश्नको उत्तर गम्भीर भएर खोज्न आवश्यक छ।
    अमेरिकी एवं युरोपेली समाजले युवाहरूलाई सानै उमेरदेखि उद्यमी हुन उत्प्रेरित गर्दछ। र सरकारले पनि शिक्षा नीतिलाई रोजगार सृजना गर्ने किसिमको पारेको हुन्छ।
    सानै उमेरदेखि उद्यमीले सामाजिक वातावरण पाएको हुनाले युवाहरूमा पनि केही नयाँ काम (व्यापार) गरौ भन्ने सोचको विकास भएको हुन्छ। नयाँ सोच सहित नयाँ किसिमको कार्य गर्न प्रेरित भएका हुन्छन्। प्रधान कार्यालय स्वीडेनमा रहेर संसारभरि नै फैलिएको संसारकै सर्वाधिक ठूलो खुद्रा फर्निचर भण्डारका संस्थापक इन्गाभार काम्प्राडले सन १९४३ मा यस खुद्रा भण्डारको स्थापना गर्दा उनको उमेर केवल १७ वर्ष थियो।
    माइक्रोसफ्टका संस्थापक बिल गेट्स केवल १५ वर्षको हुँदा उनले सानोतिनो किसिमको व्यापार गर्न आरम्भ गरिसकेका थिए। उनी २३ वर्षको उमेरमा नै माइक्रोसफ्टको प्रमुख भइसकेका थिए। २३ वर्षको कलिलो उमेरमा लखपति भइसकेका थिए।
    फरवरी ४, २००४ मा स्थापना भएको फेसबूकका अविष्कारकर्ता मार्क जुकरबर्गको उमेर (जन्म १९८४) अहिले केवल ३४ वर्ष छ। यो युवा अवस्थमा नै उनले नाम र दाम दुवै कमाइसकेका छन् र साथै संसारलाई एउटा नितान्त नौलो प्रविधि (व्यापारको तरिका) दिन सफल पनि भएका छन्।
    यसैगरी लैरी पेजको, जसले सर्जी ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका थिए, उमेर (जन्म १९७३) अहिले मात्र ४५ वर्ष छ। संसारको नै सर्वाधिक ठूलो अनलाइन खुद्रा बिक्री भण्डार ‘अमेजन’ का संस्थापक, प्रमुख, प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको उमेर (जन्म १९६४) अहिले ५४ वर्ष छ।
    नाम र सम्पत्ति कमाउने यी उद्यमीहरूले कम उमेरमा नै अति आम्दानी हुने व्यापारको सृजना गर्न सकेको र आफूले सृजना गरेको व्यापारबाट हजारौंलाई रोजगार दिन सकेको देखिन्छ।
    पुरानो प्रसङ्गमा फर्कौं। केवल २३ वर्षको उमेरमा बिल गेट्स माइक्रोसफ्टका प्रमुख भइसकेका थिए। उनले नयाँ किसिमको व्यापार सृजना गरिसकेका थिए। यो उमेरमा हाम्रो समाजमा बहुसङ्ख्यक युवा अभिभावक (बाबुआमा) को खर्चमा पढिरहेका हुन्छन्। आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर हुन सकेका हुँदैनन्। हाम्रो समाजले आत्म निर्भर हुन नै सिकाउँदैन। शिक्षा नीतिले पनि सिकाउँदैन। उमेर पुगेका युवाहरू पनि बाबुआमासँग एउटै बृहत् (Extended) परिवारमा बस्छन्। आफ्नो स्वतन्त्र अस्तित्व एवं परिवेश बनाउन प्रोत्साहित हुँदैनन्। कतिपय युवा बाबुआमाको सम्पत्तिमा गर्व गरेर, आफू केही काम नगर्ने पनि देखिएको छ। यस किसिमको मनोवृत्तिले कुनै पनि व्यक्तिलाई उद्यमी हुन दिंदैन।
उद्यमी हुन स्वतन्त्र परिवेश, स्वतन्त्र चिन्तन जरुरी छ।
    अबको समयमा हामीले देश, समाज र परिवारलाई धनी बनाउन उद्यमीहरूको उत्पादन गर्न जोड दिन आवश्यक छ। देशको समाजिक परिवेश र शिक्षा नीतिलाई पनि उद्यमी उत्पादन गर्ने किसिमको तुल्याउन आवश्क छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकशिस Friday. May 28, 2016


Friday, May 11, 2018

How to Control Costs?-Article-194


लागत कसरी नियन्त्रण गर्ने?

हामी कहाँ वस्तु एवं सेवाको उत्पादन, बिक्री तथा वितरण लागत कम पार्न व्यापारीहरूले हरसम्भव प्रयास गर्नुपर्छ भन्ने सोच पटक्कै विकसित हुन सकेको छैन। यसैगरी वस्तु एवं सेवाको मूल्य कम पार्नुपर्छ भन्ने सोचको पनि विकास हुन सकेको छैन। उल्टो, नेपाली समाजलाई के चिन्तनले छोडेको छैन भने वस्तुको मुल्य जति चर्को (उच्च) राख्यो त्यस वस्तुको बिक्रीबाट त्यति नै बढी मुनाफा प्राप्त हुन्छ। यो परम्परागत र अति गलत सोच हो। यथार्थ के हो भने वस्तुको मूल्य जति कम भयो, मूल्य कम भएको कारणले जति बढी ग्राहकले खरिद गर्छन् त्यति बढी मुनाफा प्राप्त हुन्छ। अर्थात् वस्तु वा सेवाको मूल्य कम पारेर, ग्राहकहरूको क्रय शक्ति वृद्धि गरेर, उनीहरूले बढी वस्तु खरिद गर्न सक्ने स्थिति सृजना गरेर व्यापारीहरूले बढी मुनाफा प्राप्त गर्न सक्छन्। यो नीति दीर्घ कालको लागि अति नै उपयुक्त हो। विश्वभरि र मुख्यगरी विकसित राष्ट्रहरूमा अति प्रचलित नीति हो।
    विश्वविख्यात अमेरिकी खुद्रा भण्डार ‘वालमार्ट’ ले प्रतिस्पर्धीहरूको वस्तुको मूल्यभन्दा आफ्ना वस्तुको मूल्य कम पार्न हर सम्भव प्रयास गर्दछ। वस्तुहरूको मूल्य कम पारेर आर्थात् सस्तो पारेर बिक्री गर्ने हरपल प्रयास गर्दछ। वालमार्टले आफ्नो दीर्घकालीन लक्ष्य (Mission) नै के राखेको छ भने ‘पैसाको बचत गर र रामरी जीवनयापन गर’ (Save money live better)। यस भनाइको आशय के हो भने हामीबाट सस्तोमा आवश्यकताका वस्तुहरू खरिद गरेर बचत गर अनि सजिलै आरामको जीवन गुजारा गर। वस्तुहरू सस्तोमा बिक्री गर्न अमेरिका मात्र होइन, विश्वभरि नै वालमार्टले ख्याति प्राप्त गरेको छ । सस्तोमा बिक्री गरेर बढी मुनाफा गर्नु वालमार्टको सफल व्यावसायिक रणनीति हो।

वस्तु एवं सेवाको मूल्य कसरी कम पार्ने?
    वस्तु एवं सेवाको मूल्य कम पार्ने कार्य ज्यादै महत्वपूर्ण हो। यो कार्य गर्नका लागि अनेक किसिमका अध्ययन, अनुसन्धान एवं खोज गर्नुपर्दछ। र त्यसै अनुसार वस्तुहरूको गुण, स्वरूप, प्रकृतिमा निरन्तर सुधार (Improvement) गर्दै जानुपर्दछ। नयाँनयाँ वस्तु र सेवा विकास गर्नुपर्छ।
    वस्तु एवं सेवाको मूल्य कम पार्ने अनेक उपाय छन्। ती सबै उपाय यस छोटो आलेखमा उल्लेख गर्न सम्भव नभएकोले केही मात्र प्रस्तुत गर्ने प्रयास गरिएको छ।
    स्वीडेनको वहुराष्ट्रिय कम्पनी आइकिया (IKEA) को प्रमुख उद्देश्य ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउनु हो। सन् १९४३ मा स्थापना भएको यो विश्वविख्यात कम्पनीले प्रमुख रूपमा घरायसी फर्निचर बिक्री गर्दछ। यसबाहेक भान्सा र गृह–शृङ्गारका सामग्रीहरू पनि बिक्री गर्दछ। आइकियाले तयारी फर्निचर बिक्री गर्दैन। खरिद गर्दा ग्राहकहरूलाई सस्तो होस् भन्ने उद्देश्यले अर्ध तयारी अवस्थामा रहेका फर्निचरहरू बिक्री गर्दछ। यसलाई यसरी बुझौं–आइकियाको स्टोरमा खरिद गरिएका फर्निचर जोड्नुपर्ने अवस्था (Ready-to-assemble) का हुन्छन् । खरिद गरिसकेपछि त्यो फर्निचर ग्राहकले घर वा कार्यालयमा लगेर जोड्नुपर्छ। एउटा बाक्सामा त्यो फर्निचरका अनेक अङ्गहरू तयारी अवस्थामा राखिएको हुन्छ। यसरी पूर्ण तयारी अवस्थमा फर्निचरहरू नराखेर आइकियाले सर्वप्रथम भण्डार लागत बचत गर्दछ। दोस्रो, फनिर्चर जोड्ने (Assemble) कार्य स्वयं ग्राहक वा खरिदकर्ताले गर्ने हुनाले आइकियाले जोड्ने लागत बचत गर्दछ। यसरी दुई किसिमका लागत (भण्डार लागत र जोड लागत) बचत गर्न सकिएकोले आइकियाले प्रतिस्पर्धीहरूको भन्दा सस्तोमा उपभोक्ताहरूलाई फर्निचर बिक्री गर्न सक्छ। अर्कोतिर ग्राहकहरूले आफ्नो श्रम उपयोग गरेर बचत गर्न पाउँछन्।
    संसारभरि नै सस्तोमा फर्निचर बिक्री गर्ने भनी ख्याति आर्जन गरेको यो कम्पनी सन् २००८ देखि फर्निचर बिक्रीका लागि विश्वको नै सर्वाधिक ठूलो खुला भण्डार हुन पुगेको छ। पर्यावरणमैत्री फर्निचर निर्माण गर्नु पनि यो कम्पनीको लक्ष्य रहेको छ। सन् १९४३ मा स्वीडेनमा यो कम्पनी स्थापना हुँदा यसका संस्थापक वा मालिक इनग्भार काम्प्राडको उमेर केवल १७ वर्ष थियो। यी सत्र वर्षीय युवकले फर्निचरको दुनियाँमा, जोडेर फर्निचर प्रयोग गर्न सकिने र लागत पनि घटाउन सकिने सोच ल्याएर तहलका मचाए। यिनको यो खोज वा प्रयोग नितान्त नौलो थियो। उत्पादन लागत घटाउने ठूलो आविष्कार थियो।
    विश्वभरि (सन् २०१७ सम्म) आइकियाका ४ सय १५ भण्डार ४९ राष्ट्रमा सञ्चालित छन्। यसले १२ हजार थरीका वस्तुहरू बिक्री गर्दछ। विश्वभरि नै व्यावसायिक प्रयोजनका लागि काठको हुने कुल उपभोगमा आइकियाको हिस्सा १ प्रतिशत छ। यसरी संसारभरिमा नै आइकिया निर्माणका लागि काठको सर्वाधिक ठूलो प्रयोगकर्ता भएको छ। आइकियामा लगभग १ लाख ५० व्यक्ति रोजगारी छन्।
    आइकियाका संस्थापक इनग्भार काम्प्राड, फोब्र्सले दिएको जानकारी अनुसार, सन् २०१५ मा विश्वका दश अति धनीमध्ये एक हुन पुगेका थिए। उनको सम्पत्ति ४० बिलियन डलर रहेको उल्लेख गरिएको थियो।
    अनेक लागत घटाएर वस्तु वा सेवाको मूल्य कम पार्ने तरिकामध्ये एक हो, खरिद–बिक्री प्रक्रियामा ग्राहकलाई पनि केही कार्य गर्न लगाउनु। अर्थात खुद्रा भण्डारहरूले खरिदकर्तालाई नै वस्तु छान्न, पैक गर्न र पैसा दिने स्थानसम्म आउन लगाउनु। फास्ट फूड एवं अन्य रेस्टुरेन्टहरूले ग्राहकलाई नै काउन्टरमा आएर खाद्यवस्तु लैजान लगाउनु, आदि।
    अनेक किसिमका अध्ययन गरेर विभिन्न किसिमका लागत कम पारेर उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सकिन्छ। तर अफसोच! हामी कहाँ वस्तु एवं सेवाको मूल्य सकेसम्म कम पार्नुपर्छ भन्ने सोचले महत्व पाउन सकेन। व्यापार लामो समयसम्म परम्परागतरूपमा चल्यो र अहिले पनि चलि नै रहेको छ। यो कारणले गर्दा पनि नेपालमा जीवनयापन लागत ज्यादै चर्को हुन पुगेको छ। सामान्य आम्दानी भएको व्यक्तिले नेपालमा अझै काठमाडौंमा जीवन गुजारा गर्न ठूलै सङ्घर्ष गर्नुपर्छ ।
    विकसित मुलुकहरूमा र खासगरी अमेरिकामा मानवीय कोरा श्रमलाई मेसिन र प्रविधिद्वारा लगभग पूर्णरूपमा विस्थापित गरिएको छ। र यसरी मानवीय श्रम विस्थापित गरेर, वस्तु एवं सेवाको उत्पादन लागत कम पारेर,  वस्तु एवं सेवाको मूल्य कम पार्ने प्रयास गरिएको छ। अमेरिकाका कतिपय खुद्रा भण्डारहरूमा वस्तु खरिद गरेपछि काउन्टरमा पुगेर कुनै व्यक्ति (Cashier) लाई पैसा भुक्तान गर्नुपर्दैन, मेसिन (Self-check out) द्वारा भुक्तान गरे हुन्छ। यसरी व्यापक मात्रामा मेसिन र प्रविधिको प्रयोग गरेर अमेरिकामा वस्तु एवं सेवाको बिक्री मूल्य कम पारेर उपयोक्ताको जीवनयापन लागत (Living costs) कम पार्ने प्रयास गरिन्छ।
    वस्तु वा सेवाको मूल्य कम पारे सामान्य आय हुनेको जीवन गुजारा कसरी सरल पार्न सकिन्छ त्यसबारे स्थानीय सरकारहरूले गम्भीरतापूर्वक सोंच्न आवश्यक हुन आएको छ। जुन किसिमले नेपालको जीवनयापन लागत अति नै महँगो छ, वस्तु र सेवाको मूल्य आकाशिएको छ, त्यसै किसिमले नेपाललाई रेमिट्यान्स को सहयोग प्राप्त नभइदिएको भए नेपालको स्थिति पनि रोबर्ट मुगाबीकालीन जिम्बाब्वेजस्तो हुने थियो । सन् २००८ मा जिम्बाब्वेमा मुद्रास्फीति (Inflation) ७९ अर्ब प्रतिशत पुगेको थियो ।

Bishwa R Adhikari
Published on Prateekdaily on Friday, May 11, 2018

Friday, May 4, 2018

Modi-Visit: Impact on Local Economy-Article-193


मोदी भ्रमणको आर्थिक महत्व

समाचारहरूमा उल्लेख भए अनुसार भारतीय प्रम नरेन्द्र दामोदर मोदीले नेपालको भ्रमण गर्दैछन्। उनको यो भ्रमण केवल दुई दिवसीय हुनेछ। भ्रमण कुनै राजनैतिक मुद्दामा केन्द्रित नरहने र  यसले केवल सद्भावमा जोड दिने कुरा पनि प्रकाशमा आएको छ। तर के यो साँच्चीकै सद्भाव भ्रमण मात्र हो त?
    मोदीको यो भ्रमण सामान्य सद्भावमा केन्द्रित रहेको भन्ने कुरा भारतीय पक्षले उल्लेख गरे तापनि भित्री तहमा भने यस भ्रमणको उद्देश्य सामान्य देखिंदैन। भ्रमणको लागि मोदीले पहिलो स्थान नेपालको जनकपुरलाई रोज्नु र उनको सम्मानमा त्यहाँ विभिन्न कार्यक्रमहरू आयोजना हुनुले उनको यो भ्रमणले गुरु महत्व राखेको स्वतः प्रमाणित हुन्छ, तर कसरी?
    पटनाबाट भारतीय वायुसेनाको विमान चढी सोझै रामजानकी विवाह नगरी, जनकपुर पुगेर मोदीले नेपाल र भारत दुवैतिर आफू कट्टर हिन्दूवादी रहेको सन्देश दिन खोजेको प्रस्ट देखिन्छ। यसर्थ यस भम्रणको उद्देश्य आवरणमा धार्मिक भए तापनि आचरणमा भने राजनीतिक रहेको प्रस्ट हुन आउँछ। मोदीको जनराजनीतिको आधारशिला ‘हिन्दूवादी छवि’ रहेकोले उनले यस्तो गर्नु आश्चर्य होइन। र यस्तो गर्न उनी चतुर पनि छन्।
    मधेसी दलहरूलाई खुशी पार्न मोदीले नेपाल भ्रमणको सन्दर्भमा भ्रमण गर्ने पहिलो स्थल जनकपुर रोजेका हुन्। धेरैले व्यस्तो विश्वास गरेका छन्। तर यथार्थमा त्यो सोंचाइ गलत हो। भारतीय सत्ता पक्षले नेपालका न मधेसी, न पहाडी नेताहरूलाई विशेष सहयोग गरेको इतिहास छ। नेपालमा जुन दल शक्तिशाली छ वा रहन्छ, भारतीय सत्ता पक्षले त्यसैलाई सहयोग गर्दै आएको नजिर छ। प्रम राजीव गाँधी भए तापनि मोदी भए तापनि भारतको नेपालप्रतिको दृष्टिकोण यही छ। २०६३ सालमा भएको सत्ता सङ्घर्षमा भारतले पहिले दरबार (राजा ज्ञानेन्द्र) लाई पूर्ण सहयोग मात्र गरेन, नेपालमा चलिरहेको आन्दोलन बलपूर्वक दबाउन सेनाको प्रयोग गर्न राजा ज्ञानेन्द्रलाई उक्सायो पनि। तर पछि दरबारविरुद्ध सङ्घर्ष गर्ने राजनीतिक दलहहरू (जनताको समर्थन पाएर) बलियो हुँदै गएपछि दरबारलाई दिएको समर्थन अप्रत्याशितरूपमा चटक्क फिर्ता लिएर राजनैतिक दलहरूलाई समर्थन गरेको थियो। राजा ज्ञानेन्द्रलाई भारतीय सत्ता पक्षले एक किसिमले ‘बलीको बोका’ बनाएको थियो। भारतीय सत्ता पक्षको अप्रत्याशित कदमले राजा ज्ञानेन्द्रको धमलिएको राजनैतिक छवि अहिलेसम्म सफा हुन सकेको छैन। सत्ता शान्तिपूर्वक राजनैतिक दलहरूलाई हस्तातन्तरण गरेर नेपालमा थप हिंसा हुने स्थिति हुन नदिएको जस्तो महत्वपूर्ण भूमिका राजा ज्ञानेन्द्रले खेलेको यथार्थलाई राजनैतिक दलहरूले बिर्से। जनताले पनि बुझ्न सकेन।
    भारतको यस्तो भूमिका उसको विदेश नीतिको हिस्सा हो। छिमेकीहरूसँग भारतले कस्तो व्यवहार गर्छ भन्ने कुराको अदृश्य यथार्थ हो। यो छोपिएको, तर जगजाहेर पाटो हो।
    चीनसँग नजिक हुने नेपालको कोशिशलाई विपरीत दिशातिर फर्काउन भारतले नेपालसँग हाम्रो घनिष्ठ धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ भन्ने कुरा तासको तुरुपको रूपमा प्रयोग गर्दै आएको छ।
    तर यस आलेखमा मोदी भ्रमणको राजनैतिक महत्वको चर्चा गर्न खोजिएको भने होइन। उनको भ्रमणले आर्थिक क्षेत्रमा के कस्तो प्रभाव पार्नेछ भन्ने कुराको लेखाजोखा गर्न खोजिएको हो। त्यो पनि समग्र राष्ट्रको आर्थिक अवस्थामा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा हेर्न खोजिएको होइन, केवल जनकपुरको आर्थिक अवस्थामा कस्तो प्रभाव पार्नेछ भनी हेर्न खोजिएको हो।
    सन् १९६२ मा जानकी मन्दिर परिसरमा राजा महेन्द्रमाथि दुर्गानन्द झाले बम प्रहार गरेपछि जनकपुर सत्ता पक्ष (दरबार र दरबारका अदृश्य शक्तिहरू) को कुदृष्टिमा परेको थियो। र यो क्रम लामो समयसम्म चलि नै रह्यो । यो बमकाण्डपछि सत्ता पक्षले जनकपुरको विकासमा खासै चासो देखाएन। जनकपुर आर्थिक विकासको मामिलामा उपेक्षित नै रह्यो। सडक, खानेपानी, शिक्षाजस्ता कुराहरूले महत्व पाएन।
    जनकपुरको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सोभियत सङ्घको पूर्ण सहयोगमा सन् १९६५ मा त्यहाँ जनकपुर चुरोट कारखानाको स्थापना गरिएको थियो। चुरोट कारखानाको स्थापनाले जनकपुरको आर्थिक विकासमा केही टेवा पु¥यायो पनि। र नेपालले ठूलो मात्रामा भारतबाट चुरोट आयात गर्नुपर्ने स्थितिको समाप्ति पनि गरिदियो। तर बमकाण्डको कारणले गर्दा दरबारको ‘हिट लिस्ट’ मा परेको जनकपुरले पछि आर्थिक विकासका राम्राराम्रा योजनाहरू पाउन सकेन। जनकपुर (बमकाण्डमा, बम प्रहार गर्ने दुर्गानन्द झा र सहयोगी अरविन्द कुमार ठाकुर र दलसिंह थापा पछि जनकपुरमा नै समातिएका थिए। तत्कालीन प्रशासनले सन् १९६३ मा दुर्गानन्द झाको हत्या गोली प्रहार गरेर गरेको थियो भने अरविन्दकुमार ठाकुर एवं दलसिंह थापाको मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरेको थियो। राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था समाप्त पारेर निरङ्कुश पञ्चायती व्यवस्था लादेविरुद्ध उनीमाथि त्यसरी जनकपुरमा बम प्रहार गरिएको थियो। यसरी हेर्ने हो भने राजनैतिक चेतना पहाडभन्दा मधेसमा बढी रहेको पाइन्छ। जनकपुरमा त राजनैतिक चेतना सर्वाधिक नै थियो। तर पनि आर्थिक मामिलामा जनकपुर अनगिन्ती पूर्वाधारका बावजुद पनि पछाडि पर्यो।
    कारण जे होस् तर सम्भव त कुनै पनि देशको राष्ट्राध्यक्ष वा सरकार प्रमुख काठमाडौ नपुगेर देशको कुनै अर्को शहर सोझै पुगेको यो (मोदी–भ्रमण) पहिलो उदाहरण हो। अहिलेसम्मको स्थितिमा विदेशी पाहुनाहरूलाई सोंझै काठमाडौ अवतरण गराउने अभ्यास सिंहदरबारले गर्दै आएको देखिएको छ। र पाहुनाहरूको भ्रमणलाई केवल काठमाडौमा सीमित गराउने गरेको देखिएको छ। सार्क सम्मेलन हुँदा पनि वा कुनै ठूला उत्सवहरूको आयोजना गर्दा पनि ती कुराहरू वीरगंज, जनकपुर, विराटनगर, नेपलागंज वा महेन्द्रनगर आदिमा गराएको देखिएको छैन। यस्तो प्रचलन कायम गर्नु आर्थिक विकासको दृष्टिकोणले पटक्कै राम्रो मानिंदैन। सन्तुलित आर्थिक विकासका लागि मुलुकको हरेक भागमा यस्ता गतिविधिहरू हुन आवश्यक छ।
    मोदीको जनकपुर भ्रमणले त्यहाँको स्थानीय आर्थिक विकासमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ। मोदी जनकपुर पुग्नासाथ उनको भ्रमणसँग सम्बद्ध पक्षहरू जनकपुर पुग्न आरम्भ गर्नेछन्। जनकपुरमा थुपै सङ्ख्यामा मानिसको आगमनले खासगरी लज, होटल, स्थानीय यातायात प्रदायकको आम्दानीमा निश्चय पनि वृद्धि हुनेछ । छोटो अवधिको लागि नै सही, त्यहाँको आर्थिक गतिविधि चुलिने छ। यो त भयो प्रत्यक्ष प्रभाव, मोदी भ्रमणले जनकपुरको आर्थिक विकासमा अप्रत्यक्ष सकारात्मक प्रभाव पनि पार्नेछ। तर कसरी?
    भारत र दक्षिण एसियाको नै एक शक्तिसाली राष्ट्रका प्रधानमन्त्री जनकपुर आउन थालेको खबर पाउना साथ नेपाल, भारतलगायत विभिन्न मुलुकका पत्रकारहरू क्यामरासहित जनकपुर पुग्नेछन्। श्रव्य र दृश्य दुवै माध्यमबाट जनकपुर अत्यधिक चर्चामा हुनेछ। जानकी मन्दिरको चर्चा हुनेछ, राम मन्दिरको चर्चा हुनेछ, विवाहमण्डपको चर्चा हुनेछ, बार्हबिघाको चर्चा हुनेछ, लक्ष्मण अखाडाको चर्चा हुनेछ आदि आदि। यी चर्चाहरूले समाचार सुन्ने र हेर्नेहरूलाई ऐतिहासिक नगरी जनकपुर जान प्रेरित गर्नेछ। अनि निश्चयरूपमा पर्यटन प्रवद्र्धन भएर जनकपुरको आर्थिक विकासमा टेवा पुग्नेछ। समाचारमा ओझलमा परेको जनकपुर एकैपटक समाचारको प्रमुख पङ्क्तिमा देखा पर्नुले निश्चय पनि जनकपुरको प्रचारप्रसार जोडतोडका साथ हुनेछ।
    धनीहरूको पैसा गरिबहरूको हातमा पुर्याउन पर्यटनले ठूलो भूमिका खेलेको हुन्छ। हातमा पैसा भएर धनीहरू घुम्न निस्कन्छन् र घुमाइमा पैसा खर्च गर्छन् अनि यसरी पैसा गरिबहरूको हातमा पुग्छ।
    कुनै पनि शहर वा गाउँको आर्थिक विकासका लागि त्यहाँ विभिन्न किसिमका आर्थिक गतिविधिहरू (कुस्ती, मेला, खाद्य मेला, सडक खाद्य मेला, कृषि प्रदर्शनी, व्यापारिक प्रदर्शनी, प्राचीन वस्तु प्रदर्शन, सांस्कृतिक महोत्सव, सङ्गीत महोत्सव, सभा, सम्मेलन, खेलकुद आदि) हुन आवश्यक छ। यस्ता गतिविधिहरूले शहरमा आर्थिक कारोबारमा वृद्धि मात्र गर्दैन, धनीहरूको पैसा गरिबहरूसम्म पुर्याउन सहयोग पनि गर्छ। गरिबहरू बिक्री कार्यमा संलग्न भएर दुई पैसा हातमा पर्ने स्थितिमा पुग्छन्। हामी कहाँ यस्ता गतिविधि सञ्चालन गर्ने सोचको अभाव त छ नै, साथै पैसा खर्च गर्नुहुन्न, जोगाएर राख्नुपर्छ भन्ने मानसिकताले हामीलाई नउठ्न सक्नेगरी थिचेको छ। पैसा ज्यादै कम हुनेले पो जोगाउने हो, पैसा हुनेहरूले त खर्च गर्नुपर्छ। खल्ती रित्तिनेगरी खर्च गर्नुपर्छ। धनीहरूले खुब पैसा खर्च भने मात्र गरिबहरूको हातमा पैसा पुग्छ। अर्थात् राष्ट्रको अर्थ व्यवस्था खर्चमा आधारित हुनुपर्छ, सञ्चयमा होइन। सबैले सञ्चय गर्न थाले बजारमा वस्तुको बिक्री कसरी हुन्छ? अमेरिकी अर्थव्यवस्था खर्चमा आधारित अर्थ व्यवस्था हो। नेपालमा पनि खर्च गर्ने परिपाटी विकास गर्नुपर्छ।
    पुरानै सन्दर्भमा फर्कौं। प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले भरपूर जनकपुरमा उच्च नेता (मोदी) को भ्रमण हुन थालेको स्थितिले निश्चितरूपमा त्यहाँको आर्थिक विकासमा सहयोग पुर्याउने छ।


Bishwa R Adhikari
Published in Prateekdaily on Friday, May 04, 2018