Friday, March 27, 2020

Financial Solutions For Corona Crisis In Nepal-Article-270


कोरोना सङ्कटका वित्तीय समाधानहरू

नगद प्रवाह (Cash Flow) ले आधुनिक अर्थ व्यवस्थामा रक्त सञ्चारको कार्य गर्दछ। रक्त सञ्चार बन्द भएमा जीवन समाप्त हुने भएझै नगद प्रवाह व्यवस्थित किसिमले नभएमा आधुनिक अर्थ व्यवस्था गतिहीन हुन पुग्छ। त्यसकारण अर्थ व्यवस्थालाई गतिशील राख्न नगद प्रवाहलाई निरन्तर क्रियाशील राख्न आवश्यक छ। तर वर्तमान कोरोना सङ्कट (Lock down, Isolation, curfew) ले गर्दा नगद प्रवाह नराम्रो गरी प्रभावित भएको छ, एक किसिमले रोकिएको छ। नगद प्रवाह नराम्ररी लामो समयसम्म रोकिएमा ज्याला–मजदूरी गर्ने व्यक्तिहरू भोकभोकै मर्ने मात्र होइन, देशनै टाट पल्टिने स्थिति आउन सक्छ। कोरोनाको कारणले गर्दा मुलुकमा आउने वित्तीय सङ्कटबाट जोगिन तत्काल यस समस्याका उपायहरू पत्ता लगाउन आवश्यक छ। यसबारे गम्भीर भएर सोच्न आवश्यक छ।

नगद प्रवाह भनेको के हो ?
    नगद प्रवाह भनेको हरेक व्यक्तिसँग प्रतिदिन, प्रतिहप्ता, वा प्रत्येक महीना हातमा आय (नगद) हुनु हो। आम्दानी वा आर्जनविहीन अवस्थमा नहुनु हो। प्रत्येक व्यक्ति (विकसित देशमा प्रत्येक वयस्य व्यक्ति तथा विकासशील देशमा प्रत्येक परिवार) सँग आम्दानी वा आर्जन अनिवार्य हुनैपर्छ। जीवन निर्वाहका लागि प्रत्येक व्यक्तिसँग आम्दानी हुन आवश्यक छ। ऊ (श्रमिक वा उपभोक्ता) सँग आम्दानी भएमा मात्र ऊ बजार जान्छ, बजारबाट सामग्री खरीद गरेर आफूसँग रहेको आम्दानी (नगद) को केही भाग बिक्रेतालाई दिन्छ। बिक्रेताले पनि नगद प्राप्त गर्छ। बिक्रेताले आफ्नो आयको केही भाग वितरक एवं उत्पादकलाई दिन्छ। उत्पादकले आपूmसँग रहेको आम्दानी (नगद) को केही भाग आफ्नो कारखानामा कार्य गर्ने श्रमिकहरूलाई दिन्छ। श्रमिकले यसरी प्राप्त गरेको आय (नगद) बोकेर बजार जान्छ, र विभिन्न सामग्रीहरू खरिद गर्छ। बजारमा नगद यसरी प्रवाहित हुन्छ भन्ने अवधारणाको यो एउटा उदाहरण हो। नगदले यसरी बजारमा चक्कर लगाउँछ वा भ्रमण गर्छ। अर्थतन्त्रलाई गतिशीलता दिन वा न्यून आय भएकाहरूको आर्थिक जीवन सरल पार्न नगदले भ्रमण (प्रवाहित हुन) गर्न अत्यावश्यक हुन्छ। नगद विभिन्न आवश्यक ठाउँमा पुग्नु र फर्किनु नै नगद प्रवाह हो। नगद रक्तझै राष्ट्रको अर्थ व्यवस्थामा प्रवाहित हुनुपर्छ।
    नेपालमा कोरोना सङ्कटसँग लड्नका लागि अहिले सरकार वा सम्बद्ध संस्थाहरूबाट  गरिएका अनेक तयारीहरू वा ल्याइएका समाधानका विभिन्न उपायहरू केवल लघुकालीन एवं उपलब्ध समाधानहरूमध्ये ज्यादै सामान्य र सजिलै गर्न सकिने किसिमका हुन्। जस्तै ‘लक डाउन’, ‘बन्द’, ‘आइसोलेशन’, ‘आवागमन निषेध’ आदि प्रभावकारी समाधान होइन। विना ठूलो योजना, सोचाइ वा मेहनत, यी सजिलै दिन सकिने किसिम समाधान हुन्। यी समाधान सामान्य व्यक्तिले पनि दिन सक्छ। ठूलो अध्ययन चाहिंदैन। यी समाधानहरू लघुकालीन एवं अति सामान्य अर्थात् सजिलै दिन सकिने समाधानहरू हुन्। यी समाधानले जीवन नै निष्क्रिय पार्छ, जीवनलाई गतिहीन बनाउँछ। तर जीवन कहिले पनि, कुनै पनि हालतमा, निष्क्रिय वा गतिहीन हुन सक्तैन। जीवन भीषण युद्धमा पनि चलेका छन्।
    कोरोना नियन्त्रण गर्न कति दिनसम्म घरभित्र बस्ने? कति दिनसम्म भौतिक वा समाजिक दूरी (Physical or social isolation) मा बस्ने ? कति दिन सम्म एकान्त (Isolation) मा बस्ने? यी प्रश्नहरूको उत्तर खोज्न वा यी समाधानहरूको विकल्प खोज्न अति आवश्यक छ। प्रत्येक दिनको ज्याला मजदूरीमा बस्ने एक सामान्य श्रमिक कसरी लामो अवधिसम्म लकडाउन सहन सक्ला? ऊ लामो अवधिसम्म घर बसेमा ऊसँग आय नभएर उसको परिवारको भरण–पोषण कसले गर्ने? यी कुराको उत्तर खोज्न अति आवश्यक छ।
    नागरिकहरू लामो समयसम्म एकान्तमा गतिविधिविहीन भएर बस्दा कोरोना सङ्क्रमणले भन्दा भोकभोकै मर्नेछन्, कोरोनाको तुलनामा काम गर्न नपाएर, ठूलो सङ्ख्यामा मानिस मर्नेछन्। श्रमिक वा न्यून आय हुनेहरू मात्र होइन, धनीहरू पनि भोकभोकै मर्ने स्थिति आउन सक्छ। श्रमिकहरूले काम गर्न नपाएर, उत्पादन हुन नसकेर बजारमा खाद्य सामग्रीको अभाव भएमा त्यो अभावबाट धनीहरू पनि प्रभावित हुनेछन् किनभने बजारमा खाद्य सामग्री (उत्पादन हुन नसकेर) नभएमा उनीहरू पनि भोकभोकै बस्नुपर्ने हुन्छ किनभने उनीहरूसँग (बैंकमा) रहेको पैसा, सुन, चाँदी, वा धन सम्पत्तिले खाद्यान्नको काम गर्दैन। उनीहरू पैसा, सुन, चाँदी खाएर बाँच्न सक्तैनन्। त्यसकारण ‘एकान्तवास’ धनीहरूको लागि पनि डरलाग्दो स्थिति हो।

कोरोना सङ्गटको दीर्घकालीन समाधान के होला?
    बजारलाई नियमित पार्न, जीवनलाई गतिशीलता दिन, आयविहीन हुन पुगेका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्न सरकारले तत्काल आर्थिक राहत वितरण गर्न आवश्यक छ। यस्तो गर्न ढिलो गर्नुहुँदैन। हरेक दिनको ज्याला, मजदूरी वा तलबमा बाँच्नेहरूलाई आर्थिक सहयोग दिन सरकारले ढिलाइ गर्नुहुँदैन, छिटै  निर्णय गरेर दिनुपर्छ। यो सङ्कटको समयमा निम्न आय भएका व्यक्ति एवं व्यापारी (फुटपाथ वा सामान्य किसिमले व्यापार गर्ने व्यक्ति) हरूलाई कुन किसिमले आर्थिक सहयोग गर्ने भनी, खासगरी अर्थमन्त्री गम्भीर हुन आवश्यक छ। यो समय हो, अर्थमन्त्रीले आफ्नो ‘काबलियत’ देखाउने, क्षमता उपयोग एवं प्रदर्शन गर्ने। कोरोना–सङ्कटले ल्याएका वित्तीय समस्याहरूको समाधान खोज्ने।
    यो सङ्कटको समाधान गर्न एवं विपन्न परिवारलाई सहयोग गर्न तथा देशभरि व्यवस्थित किसिमले नगद प्रवाह गर्न विभिन्न देशका सरकारहरूले विभिन्न योजनाहरूको घोषणा गरेका छन्। संयुक्त राज्य अमेरिकाले यस सङ्कटको समाधान गर्न राष्ट्रिय कोषबाट दुई ट्रिलियन डलर खर्च गर्ने घोषण गरेको छ। र साथै यो आर्थिक सहयोगले देशमा मुद्रा प्रवाहको अवरोधमा कमी आउने विश्वास गरेको छ। साथै प्रत्येक कम आय भएका व्यक्तिलाई सहयोगस्वरूप (पाउनेले फिर्ता नदिनेगरी) १२०० डलर दिने योजना पनि अगाडि सारेको छ। अमेरिकी सरकारको यो कदमले बजारमा गतिशीलता आउने विश्वास गरिएको छ। अमेरिकाको इतिहासमा खास किसिमको सङ्कटको घडीमा सरकारले आर्थिक सहयोगका लागि छुट्याएको यो सबैभन्दा ठूलो रकम हो। यसबाट पनि थाहा हुन्छ, अमेरिकी सरकार कम आय भएकाहरूलाई सहयोग गर्न, राष्ट्रिय व्यापार अवरुद्ध हुन नदिन एवं नगद प्रवाहलाई पहिलेकै स्थितिमा ल्याउन कति चिन्तित छ।
    यसैगरी कोरोना–सङ्कटसँग जुझ्न बेलायतले पनि इतिहासमैं सर्वाधिक ठूलो आर्थिक राहत जनतासम्म पुर्याउने निधो गरेको छ। बेलायतका अर्थमन्त्रीले केही अवधिसम्म देशभरिका कर्मचारीहरूलाई बेलायती सरकारले तलब दिने घोषणा गरेका छन्। बेलायत सरकारले गर्ने यस किसिमको आर्थिक हस्तक्षेपले बजारमा आर्थिक सुस्तता कम हुने विश्वास पनि अर्थमन्त्रीले व्यक्त गरेका छन्। बेलायती सरकारले ल्याएको यस किसिमको समाधानले वर्तमान वित्तीय सङ्कट समाधान गर्न ठोस भूमिका खेल्नेछ। अमेरिका र बेलायतले गरेका कार्यहरूबाट नेपालले पनि सिक्न सक्नुपर्छ।

नयाँ संयन्त्रहरूको विकास कसरी गर्ने?
    कोरोना–सङ्कटले बजारमा ल्याएको अनिश्चितता कम पार्न सरकारले विभिन्न उपायको खोजी गर्नुपर्छ। अर्थात् कोरोना–सङ्कट समाधानका लागि दीर्घकालीन योजना अन्तर्गत सरकारले नयाँ संयन्त्रको विकास गर्नुपर्छ। नयाँ संयन्त्र विकास भनेको मानव–सम्पर्क नहुने वा कम हुने गरी व्यापार व्यवसाय सञ्चालन गर्ने तरीकाहरूको खोजी गर्नु हो। व्यापार, व्यवसाय भनेको कुनै पनि देशको मुटु हो । यो मुटु बन्द भएमा, देश धराशायी हुन्छ। त्यसकारण यस्तो विषम परिस्थितिमा पनि व्यापार, व्यवसाय सदाझैं सञ्चालन गर्न सरकारले विभिन्न उपायहरूको खोजी गर्नुपर्छ।
    बिक्रेताको स्थानमा स्वचालित मेशीनहरू राखेर पनि खरीद–बिक्रीमा मानवीय सम्पर्क कम पार्न सकिन्छ। यसैगरी उत्पादन व्यवस्थामा पनि उच्च प्रविधि प्रयोग गरेर मानवीय सम्पर्क कम पार्न सकिन्छ। मुख्य कुरा सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएर, मानव सम्पर्क कम पारेर कसरी व्यापार व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोच्नुपर्छ। त्यस किसिमका विधि, प्रविधि, तरीका, पद्धति आदिको खोज गर्नुपर्छ जस अन्तर्गत मानव–मानवबीच कम सम्पर्क होस्, तर कारोबारले निरन्तरता पाइरहोस्।
    मुख्य कुरा त सरकारले सङ्कटकाल घोषणा गरेर भएपनि, राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्छ। वितरण व्यवस्थापन (Supply chain) चुस्त राख्नुपर्छ। कालोबजारी, अनावश्यक भण्डारणलाई दुरुत्साहित गर्नुपर्छ, त्यस्ता गर्नेहरूलाई दण्डित गर्नुपर्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 27, 2020

Friday, March 20, 2020

Corona Crisis and Supply Chain Disruption-269


आपूर्ति व्यवस्थामा कोरोना सङ्कटको कुप्रभाव

कोरोना सङ्कटले गर्दा अहिले विश्व आपूर्ति व्यवस्थाले ठीकसँग काम गर्न सकिरहेको छैन। संसारभरि फैलिएको यो सङ्कटले विकसित एवं विकासशील दुवै राष्ट्रहरूलाई फरक–फरक किसिमले प्रतिकूल प्रभाव पारेको छ। विकसित देशहरूमा भने उपभोक्ताहरूले नियमित आवश्यकताका लागि चाहिनेभन्दा बढी माग (खरीद) गरिरहेको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन र बजारमा मुख्यतः खाद्य सामग्री, औषधी, स्वास्थ्य सामग्रीहरूको अभाव हुन पुगेको छ भने विकाशील मुलुकहरूमा राम्रो मुनाफा हात पार्ने उपयुक्त मौका यही हो भनेर कालाबजारीहरूले महँगोमा बिक्री गर्न सामान लुकाएको हुनाले आपूर्ति व्यवस्थाले व्यवस्थित किसिमले काम गर्न सकिरहेको छैन। उत्पादन व्यवस्थाले नियमित किसिमले कार्य गरे तापनि उपभोक्ताहरूले बढी माग गरिरहेको र केही देशमा कालाबजारीहरूले लुकाइरहेको हुनाले बजारमा अहिले एक किसिमको अनिश्चितता देखिएको हो। उपभोक्तामा एक किसिमको त्रास देखिएको हो। हुन पनि विकसित देशहरूमा उपभोक्ताहरूले सामान्यतया एक हप्ताका लागि सामग्री भण्डारण गर्छन्। तर अहिले कोरोना–सङ्कटले गर्दा तीनचार महीनाका लागि सामग्री भण्डारण गर्ने प्रयास गरिरहेका छन्। यसरी एक हप्ताका लागि भण्डारण गर्ने र सोही अनुसार उत्पादन हुने अवस्था रहेकोमा अहिले उपभोक्ताहरूले महीनौंका लागि भण्डारण गर्दा आपूर्ति व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ।
    युद्धको समयमा द्वन्द्वरत दुई पक्षमा ठूलै हताहती निश्चित भए पनि जीवन बाँचिरहेको हुन्छ, जीवन रोकिंदैन। त्यसैगरी उत्पादन र वितरण व्यवस्थाले कार्य गरिहरेको हुन्छ। सानो वा ठूलो परिमाणमा किन नहोस्, उत्पादन भइ नै रहन्छ। वितरण व्यवस्थाले पनि कार्य गरिरहेको हुन्छ। उपभोक्तामाझ उपभोग्य सामग्री पुगिरहेको हुन्छ। तर कोरोना भाइरसबाट सङ्क्रमित भएपछि निको हुने सम्भावना रहने, युद्धको तुलनामा यो रोगबाट सीमित सङ्ख्यामा मृत्यु हुने भए तापनि मानिसहरूमा यो रोगबारे अनावश्यक त्रास फैलिएको छ। पत्रपत्रिका मात्र होइन, व्यक्तिहरूले पनि अनावश्यक, अपुष्ट एवं भ्रामक समाचार वितरण गरेर उपभोक्तामाझ सन्त्रास फैलाउने कार्य गरिरहेका छन्। यस किसिमको कार्य गलत हो। मानिस त्रासमा बाँचिरहेको समयमा थप त्रास फैलाएर समाजलाई आतङ्कित पार्नुहुँदैन। र यसरी उपभोक्ताहरू आतङ्कित हुँदा आपूर्ति व्यवस्थाले ठीकसँग कार्य गर्न सकिरहेको छैन।
के उत्पादन व्यव्स्था रोकिन्छ?
    कोरोना सङ्कटको विस्तार भएपनि उत्पादन व्यवस्था रोकिंदैन। केही समय (एक वा दुई महीना) को लागि उत्पादन अनियमित वा बन्द नै भए पनि पछि उत्पादन सञ्चालन हुन्छ, हुनैपर्छ। कारखानामा काम गर्ने कर्मचारीहरूले काम गर्न आरम्भ गर्छन्। श्रमिकहरूले काम नगरी (बचत नभएकोले) खान नपाउने हुनाले जीवन निर्वाहका लागि उनीहरू कार्य गर्न अनिवार्यरूपमा कारखानामा उपस्थित हुन्छन्। कोरोना भाइरसबाट जोगिने अनेक उपायहरू प्रयोग गरेर भए तापनि श्रमिकहरू कार्य गर्न कारखानामा पुग्छन् नै। जीवन निर्वाहका अनेक आवश्यकता (पारिश्रमिक वा ज्याला आर्जन गर्नुपर्ने अनिवार्यता) हरूले धकेलेर भएपनि श्रमिकहरूलाई काम गर्न कारखानासम्म पुर्याउने छन्। र यसरी दीर्घकालका लागि उत्पादन व्यवस्था रोकिने छैन। उत्पादन व्यवस्था सञ्चालन हुन्छ नै। त्यसकारण लामो समयसम्म उत्पादन रोकिन्छ, आपूर्ति व्यवस्था अनियमित (सामानको अभाव) हुन्छ भन्ने आशङ्का पूर्णतया गलत हो। जीवन निर्वाहका लागि कोरोनाको जोखिम लिएर भएपनि श्रमिक एवं कर्मचारीहरू कारखाना पुग्छन् र आपूर्ति व्यवस्था क्रियाशील हुन्छ।
किन पर्छ अल्पकालीन प्रभाव?
    अहिले केही यथार्थ घटना तर अधिक कोरोना भाइरससम्बन्धी अनावश्यक समाचार, विचार, सामग्री आदिको प्रसारण एवं वितरणले समाजमा एक किसिमको सन्त्रास एवं अनिश्चितता फैलाएको छ जसले गर्दा मानिस आतङ्कित भएका छन्। बाढीले एकैपटक धेरै पानी ल्याएर बस्तीमा चारैतिर पानी नै पानी भएको स्थिति पारिदिएझैं अहिले जताततै, जुनसुकै देशमा अति जानकारी प्रवाह हुँदा मानिसमा एक किसिमको अनिश्चितता छ, त्रास छ। पछि बाढीको पानी गएपछि बस्ती सुखा भएझैं केही समयपछि व्यक्तिको मनोविज्ञान सफा र स्थिर हुन्छ। अति डरबाट मुक्त हुन्छ। सङ्कटपूर्ण घडीमा पनि व्यवस्थित किसिमले समाजमा बस्ने एक खास किसिमको मनोविज्ञान मानिसमा निर्माण हुन्छ। मानिसहरूले स्थिरताको अनुभूति गर्न थाल्छन्। र एक खास अवधिपछि जीवन सामान्य हुन्छ। जीवन सामान्य हुनुको अर्को विकल्प नै छैन। यसरी जीवन सामान्य अवस्थामा फर्केपछि आपूर्ति व्यवस्था पनि सामान्य हुन आउँछ। त्यसकारण अहिलेको यो त्रासदि अल्पकालीन हो, दीर्घकालीन होइन। र हुन पनि सक्तैन।
भ्रमको खेती किन?
    एकथरी मानिस, खासगरी केही व्यापारीहरूले यस्तो स्थितिमा थप अनिश्चितता सृजना गरेर बजारमा अस्थिरता ल्याउने कार्य योजनाबद्ध र सुनियोजित किसिमले गर्छन्। र यो कार्य गोप्य किसिमले गर्छन्। यस्तो स्थितिको सृजना गरेर, त्यही समयमा कालाबजारी गरेर, ठूलो नाफा हात पार्ने रणनीति बनाउँछन् । त्यसकारण यस किसिमका व्यापारीहरूबाट निर्मित ‘कालाबजारी रणनीति’ बाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ। यो समस्या खासगरी विकासशील मुलुकहरूमा देखिन्छ। विकासशील मुलुकहरूमा संवेदनाहीन व्यक्तिको ठूलै जमात हुने हुँदा उनीहरूले मानवीय सङ्कटको घडीलाई राम्रो मुनाफा कमाउने अवसरको रूपमा देख्छन्।
    बजारमा चलेको हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी सामग्री खरीद गर्ने मनोविज्ञान उपभोक्ताहरूले त्याग्नुपर्छ। कालाबजारीहरूले गर्ने भ्रमको खेतीबाट उपभोक्ताहरू जोगिएर बस्नुपर्छ। सरकारले पनि कालाबजारीहरूलाई त्यस्तो नगर्न आग्रह गर्नुपर्छ। अटेर गर्नेलाई कठोर दण्ड दिनुपर्छ। विकासशील मुलुकहरू, मुख्यगरी नेपाल भारतजस्ता देशमा सरकारले अभावको हल्ला फैलिन दिनुहुँदैन र अभावको हल्ला फिजाउने र कालाबजारी गर्नेलाई दण्डित गर्नुपर्छ।

माग र आपूर्तिको अन्तक्र्रिया किन र कसरी?
    यो अति व्यापारिक युगमा माग र आपूर्तिबीच स्वाभाविक अन्तक्रिया चलिरहेको हुन्छ। र त्यस्तो अन्तक्र्रिया छोटो समयका लागि रोकिएपनि लामो समयसम्म रोकिंदैन। अर्थात् अहिले बजारमा देखिएको अनिश्चितता (आपूर्तिमा बाधा) लामो अवधिसम्म रहँदैन, कोराना सङ्कटले छिटै उन्मुक्ति नदिएपनि। व्यापारलाई निरन्तरता दिन उत्पादकहरूले उत्पादन कार्यलाई निरन्तरता दिन्छ नै। उत्पादित वस्तुहरू लिएर आपूर्तिकर्ताहरू बजार पुग्छन् नै। उपभोक्ताहरूले विभिन्न सामग्री खरीद गर्छन् नै। यसरी बाह्य शक्ति (कोरोना–सङ्कट, युद्ध, गृहयुद्ध, प्राकृतिक प्रकोप, महामारी) ले प्रतिकूल स्थिति सृजना गरे पनि माग र आपूर्तिबीच हुने अन्तक्र्रिया रोकिंदैन। यो चलि नै रहन्छ। अर्थात् उत्पादन, वितरण र उपभोग कहिले रोकिंदैन, चलि नै रहन्छ। यो बहुसम्बन्ध (multi relations) र परस्पर निर्भरता (interdependence) को युग हो। एकलाई अर्कोको सहयोग आवश्यक हुने भएकोले अर्थतन्त्र गतिहीन हुनै सक्तैन। त्यसकारण भोलि आपूर्ति व्यवस्था तहसनहस होला, बजारमा सामान नपाइएला भनेर डराउनुपर्ने स्थिति छैन।
के उपाय प्रयोग गर्ने?
    यस्तो स्थितिमा सरकारहरू सक्रिय हुनुपर्छ। नेपालको सन्दर्भमा तीनै तहका सरकारहरू आपूर्ति व्यवस्था नियमित पार्न हरदम क्रियाशील रहनुपर्छ। कालाबजारीलाई नौतिकता र कानून दुवै किसिमका औजार प्रयोग गरेर आपूर्ति व्यवस्था सहज पार्न उत्प्रेरित र बाध्य पार्नुपर्छ। न टेर्नेलाई दण्डित गर्नुपर्छ।
विश्वराज अधिकारी
Friday, March 20, 2020

Sunday, March 15, 2020

Story Book "Nabolneharu" 's Review


कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को समीक्षा

कृतिकार: महेश्वर पन्त
समीक्षक: विश्वराज अधिकारी
मिति: मार्च 15, 2020

कथाकार महेश्वर पन्तको आख्यान कृति, कथा सङ्ग्रह ‘नबोल्नेहरू’ अनेक विशेषताहरूले युक्त छन्। विभिन्न विषयमा लेखिएक कथाहरूले केवल मनोरञ्जन मात्र होइन ज्ञान पनि दिन्छन। वहुसंस्कृति समेटेका उनका कथा-कृतिले जीवनका अनेक पक्षहरूलाई सशक्त किसिमले बयान गरेको छ। कथाहरू रोचक छन्, घोचक छन, अनि मनमोहक पनि छन्।  
कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को पहिलो कथा हो रजस्वला। यस कथामा परम्परागत नेपाली समाजमा एक नव युवतीले प्रथम रजस्वला हुँदा खप्नु पर्ने शारिरीक र मानसिक पीडा अति नै मार्मिक किसिमले बयान गरिएको छ। परम्परागत समाजले रजस्वला हुनुमा अहिले पनि युवतीहरूलाई नै दोषी देख्छ र रजस्वला हुनेहरूसँग ठूलो भेदभाव गर्छ। रजस्वला हुने महिलाहरूलाई पीडा दिनमा महिलाहरू नै सक्रिय रहेको देखिएको छ। यो तथ्यलाई यो कथाले यथार्थ किसिमले बयान गर्दै, प्रष्ट पारेको छ। यो कथाले नै भन्छ- पुरुषहरू भन्दा पनि बढी महिलाहरूमा यो रुढीवादी सोंचले गहिरो जरा गाडेको छ।
प्रथम रजस्वला हुँदा एक नव युवतीको मनोविज्ञान कस्तो हुन्छ? उसले कस्तो मानसिक एवं भौतिक पीडा भोग्नु पर्छ? जस्ता प्रश्नहरूको उत्तर यो कथाले प्रभावकारी किसिमले दिएको छ। साथै यो कथाले कथाकारमाथि एउटा प्रश्न पनि खडा गरेको छ- रजस्वला, गर्भधारण, प्रशव पीडा आदि महिलाहरूले अनुभूत गर्ने कुरा हो। यो पीडाको प्रकृति र गहिराइ पुरुषहरूलाई बोध हुन सक्तैन। तर कथाकारले यस कथामा प्रथम रजस्वल भएको एक युवतीको मनोदासको शूक्ष्म विश्लेषण गरेका छन्। उनको त्यो विश्लेषणले के नारी प्रकृतिको प्रतिधिनित्व गर्ला? कथाकारले यस्तो गर्नु उनको कथा लेखनको विशेषता हो वा कमजोरी? यो प्रश्नको उत्तर दिने जिम्मा पाठकहरूमा नै छोड्न चाहन्छु।
यो कथाको मध्य भागसम्म आउँदा कथाका पात्रहरूले आफ्नो चरित्र अनुसार कार्य गरेको देखिन्छ। तर मध्य भाग पछि कथाका पात्रहरूलाई कथाकारले यसो गर, त्यसो गर भनेर निर्देशित गरेको पाइन्छ। मेरो विचारमा कथाकारले कथाका पात्रहरूलाई निर्देशित गर्नु हुन्न। उनीहरूको प्रकृति र चरित्र अनुसार कार्य गर्न दिनु पर्छ। कथालाई बढी रुचिकर एवं जनउपयोगी वा सन्देशमूलक बनाउन कथाकारले त्यस्तो गरेको हुनु पर्छ जस्तो लाग्छ।
यस कथा सङ्ग्रहको दोस्रो कथा हो ‘द्रोपदीको सुहागरात’। यस कथामा सडकको छेउमा सञ्चालित एक होटल र त्यसमा कार्य गर्ने एक युवतीको कथा समेटिएको छ। एक युवती यौन व्यवसायमा लागेको र त्यस्तो गर्न समाजले नै उनलाई बाध्य तुल्याएको स्थिति निकै मार्मिक किसिमले उल्लेख गरिएको यो कथामा सच्चा प्रेम गर्न आउनेले पनि ती युवतिलाई कसरी ठग्यो र विवाह गर्ने भन्दै झुक्याएको स्थितिको वयान प्रभावकारी छ।
तेस्रो कथा ‘नबोल्नेहरू’ मा एक अपांगको मनोदसाको प्रभावकारी चित्रण गरिएको छ। यो एक आदर्श कथा हो जुन यथार्थ भन्दा पनि कथाकारको कल्पनाले बढी काम गरेको देखिन्छ। अपांगहरू शरीरले विकलांग भएता पनि बौद्धिक रुपमा मेधावी हुन सक्छन भने सन्देश दिन खोजेको यो कथाले ‘मानिसहरुले अपांगहरूलाई यसरी बुझिदिए हुन्थ्यो’ जस्तो किसिमको अपेक्षा यस कथामा गरिएको देखिन्छ। यस कथामा कथाकारको कल्पना पक्ष निकै सक्रिय भएको देखिन्छ। यो कल्पनाको कारणले गर्दा नै यस कथाको प्रमुख पात्र शान्तरामलाई कथाकारले यसो गर, त्यसो गर भनेर निर्देशित गरेको पाइन्छ। शान्तिरामले आफ्नो मनस्थिति भन्दा कथाकारको निर्देशन अनुसार कार्य गरेको देखिन्छ। यो कारणले गर्दा यो यथार्थ नभएर एक आदर्श कथा हुन पुगेको छ।
यस कथा सङ्ग्र्हको चौथो कथा हो ‘पदुवाकाजी’ जुन एक हास्य कथा हो। यस कथा मार्फत कथाकारले जीवनमा अनेक रङ्ग हुन्छ भन्ने सन्देश दिन खोजेझै देखिन्छ। जीवन केवल गम्भीर घटनाहरूको सृङ्खला मात्र होइन, जीवनमा हाँसो, उमङ्ग, मनोरञ्जन पनि उत्तिकै छ भन्ने कुरामा कथाकार विश्वस्त रहेको देखिन्छ। पदुवाकाजी एक पदुवा व्यक्तिको प्रकृति-चित्रण हो जसमा एक व्यक्ति आफ्नो पदुवा विमारी वा बानीले गर्दा अमार्यादित किसिमले पाद्न बाध्य छ। र हाँसोको पात्र बनेको छ।
यो कथा एक हास्य कथा हो र यसले जीवन नौ रस (आश्चर्य, श्रृङ्गार, हास्य, वीर, करुणा, शान्त, भयानक, रौद्र, वीभत्स) को संयोग हो भन्ने सन्देश दिन्छ। केवल गम्भीर र दु:खद घटनाहरू मात्र कथा मार्फत प्रस्तुत गर्नु हुँदैन हास्य र व्यंगका कथाहरू पनि प्रस्तुत गर्नु पर्छ भन्ने संकेत यस कथा मार्फत कथाकारले व्यक्त गरेको पाइन्छ। यो एक अति नै सामान्य कथा हो।
‘नजलेका लाशहरू’ यस कथा सङ्ग्रहको पाँचौ कथा हो। यस कथाको मूल आशय माओवादीका हिंसक आन्दोलनमा तत्कालीन राज्य पक्ष र मावोवादीहरूबाट अतिनै क्रूरतापूर्वक सोझासाझ व्यक्तिहरूको हत्या भएको यथार्थ दर्शाउनु हो। माओवादीका नेताहरूले सुखद जीवनको सपना देख्ने युवा युवतीहरूलाई लडाकू बनाएर कसरी आफ्नो स्थार्थ (सत्तामा पुग्ने) पूरा गरे, युवा युवतीका रहरहरूलाई चेक बनाएर कसरी साटे, निर्थक माओवदी अति रक्तपातपूर्ण बिद्रोहले राष्ट्रको हितमा कुनै काम गरेन उल्टो हजारौ निर्दोष व्यक्तिहरूले ज्यान गुमाए जस्ता तथ्यहरूलाई यस कथाले समेटेको छ।
यस कथाको प्रस्तुती नितान्त नौलो किसिमको छ। कथाका पात्रहरू मृत आत्माहरू छन्। राज्य पक्ष र माओवादीद्वारा हत्या गरिएकाहरूका आत्मा अहिले पनि यस लोकमा भड्किरहेका छन्। प्रेत आत्मामा परिणत भए पछि भने उनीहरू बीच कुनै किसिमको द्वेष छैन, द्वन्द छैन। यस किसिमका भावहरु यस कथामा प्रस्तुत भएका छन्। कथालाई रोचक बनाउन प्रेत आत्माहरूको प्रयोग गरिएको हुन सक्छ तर त्यो प्रयोगले यो कथालाई रोचक तुल्याउन सकेको छैन। कथाका विषय सामान्य छ किनभने माओवादी द्वन्दका पीडाहरू समेटिएका थुप्रै कथाहरू लेखिसकिएका छन्। कथाको विषय वस्तु नितान्त नौलो भने छैन। यो पनि एक सामान्य कथा हो।
यस कथा संग्रहको छैठो कथा हो ‘न्यूयोर्कको गन्धर्व’ जुन एक अति हवाइ कल्पना प्रयोग गरिएको कथा हो। कथामा कल्पनाको पनि प्रयोग गर्नु पर्छ भन्ने मान्यतालाई मान्ने हो भने बेग्लै कुरा हो तर अति हवाइ कल्पनाले कथालाई दन्त कथा बनाइ दिन्छ भन्ने तर्क पत्याउने हो भने यो कथा कथाकारको हवाइ कल्पना हुन पुगेको छ र यो हवाइ कल्पनाले कथाको वजनमा कमी ल्याइदिएको छ।
एक अमेरिकी अश्वेत युवती (अफ्रिकन अमेरिकन) नेपाल पुगेको बेलामा पोखरामा एक नेपाली युवक सँग प्रेम हुनु। विभिन्न परस्थितिको चपेटामा परेर उनीहरूको मिलन हुन नसक्नु। पछि त्यो युवती अमेरिका फर्के पछि एक यौन- दुर्घटनामा शिकार हुनु। ऊ अपांग हुनु। त्यो युवतीबाट जन्मेको छोराले न्यूयोर्कमा भिख माग्नु। भीख माग्ने क्रममा उसले एक नेपालीलाई भेट्नु र त्यो नेपालीलाई आफ्नी आमासँग भेट गराइ दिनु। भिख माग्ने त्यो केटोले आफ्नी आमासँग भेट गर्ने त्यो नेपाली व्यक्ति आमाको प्रेमी हुनु। र अन्त्यमा, पोखराको त्यो व्यक्तिले बर्षौपछि न्यूयोर्कमा आफ्नी प्रेमीकालाई भेट्नु तर भेटे पछि आफ्नो प्रेमिकालाई त्येतिकै उसको घरमा नै छाड्नु, कुनै किसिमको मदद गर्ने तत्परता न देखाउनु। यस्ता अनेक घटना परि घटनाहरूले यो कथाको विषय वस्तु र प्रस्तुती दुबैलाई हल्का पारिदिएको छ। कथा पढि रहँदा लाग्छ यो कथा, कथा लेख्नका लागि लेखिएको कथा हो। हुन त यो कथाले नेपाल, अमेरिका र हाइटीसम्मका घटनाहरू लाई समेटेको छ। कथाकमा प्रस्तुत घटना हुन सक्ने घटना हो ( वा भएको घटना हो) भने यस कथाबारे मैले गरेको समीक्षा कमजोर समीक्षा मान्नु पर्ने हुन्छ। यो कथामा वर्णनन गरिएको घटना सत्यको कति वरपर छ (वा छैन) भनी पत्ता लगाउने जिम्मा पाठकहरूमा नै छाड्न चाहन्छु।
यस कथामा कथ्य रचना पक्ष भने निकै बलियो छ। कथाले विभिन्न उपकथाहरुलाई जोडेर एक अर्को कथा बनाएको छ जुन कुरा कथाकारको कथा लेख्ने विषेशता हुन पुग्छ।
सातै कथा ‘चनेकी थममायाँ’ यस सङ्ग्रहको एक औसत कथा हो। यस कथमा नेपालको एक खास जातिमा विद्यमान रहेको संस्कृतलाई रोचक किसिमले दर्शाउने प्रयास गरिएको छ। यस कथाको मूल पात्र चनेको मनोविज्ञानको विश्लेषण कथाकारले शुक्ष्म किसिमले गर्न खोजेको पाइन्छ।    
यस सङ्ग्रहको आठौ कथा निकै रोचक किसिमको छ। कथाको शिर्षक ‘कमिनिष्ट बाउसाप’ ले नै कथामा रोचकता रहेको पुष्टि गर्छ। यो कथा विषय पुरानै भएता पनि प्रस्तुति पृथक र नौलो किसिमको छ, आकर्षक पनि छ। यो कथाले नेपाल भएको माओवादी सङ्घर्षमा सामान्य व्यक्तिहरू पनि कसरी माओवादी हुन पुगे, परिस्थितिले उनीहरूलाई कसरी माओवादी बन्न बाध्य तुल्यायो, सामान्य व्यक्तिहरू परिस्थितिले गर्दा माओवादी बनेपछि माओवादीका चलाख नेताहरूले त्यो स्थितिको कसरी फाइदा उठाए जस्ता मुद्दाहरू प्रभावकारी एवं विश्वनीय किसिमले प्रस्तुत गरेको छ। यो कथा यस सङ्ग्रहको बेजोड कथा हो। गाउँका शोषकहरूको क्रियाकलापले गर्दा पनि कतिपय व्यक्तिहरू माओवादी हुने पुगे भन्ने कुरालाई पनि यो कथाले खास किसिमले उजागर गरेको छ।
‘पातालको नर्क’ यस सङ्ग्रहको नवौं कथा हो। यो कथा अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरूले भोग्ने सत्य कथा हो। यो कथाले ठूलो सपना बोकेर नेपालबाट अमेरिका आउने एक युवतीको पीडा वर्णनन् अति नै मार्मिक किसिमले गरेको छ। केवल क्षमतावान् व्यक्तिहरूको लागि मात्र अमेरिका सपनाको देश हो, सामान्य व्यक्तिहरूको लागि भने अमेरिका जता ततै समस्याहरूको पहाडै पहाड भएको देश हो। त्यसकारण क्षमता (सिप, शिक्षा, कला, वौद्धिकता, आंट) भएका व्यक्तिहरू मात्र अमेरिका आउन उपयुक्त हुन्छ। सामान्य व्यक्तिहरू स्वदेश (नेपाल) मा बस्नु नै बेस हुन्छ। यस किसिमका सन्देशहरू बोकेको यो कथा एक सशक्त कथा हो। यो कथाले नेपाली विद्यार्थीहरूले अमरिकामा भोग्ने यथार्थ समस्याहरू दर्शाएको छ। अमेरिका सबैको लागि स्वर्ग हुन सक्तैन। कसैको लागि मृत्यु पनि हुन सक्छ। यो कथाले यसरी नेपालबाट आउने युवा युवती एवं तिनका अभिभावकहरूलाई सचेत गराएको छ। यस कथामा नेपाली विद्यार्थीहरूको अमेरिकी बसाइ-पीडाको चर्चा भएझै यो समीक्ष स्यवंले एक नेपाली युवकले अमेरिकामा भिक्षा माग्दै हिंडेको देखेको छ।
यस्ता कथाहरू अझै लेखिनु पर्छ र नेपालमा भएका व्यक्तिहरू जसले अमेरिकामा पैसाको बोट छ र त्यहँ पुगेर पैसा टिप्न सकिन्छ भन्ने किसिको सपना देख्छन, त्यस किसिमका व्यक्तिहरू त्यो सपना यस्ता कथाहरू लेखेर तोडिनु पर्छ।
‘सिपाहीको बढुवा’ यस सङ्ग्रहको दसौं कथा हो। यो कथालाई यस सङ्ग्रहको उत्कष्ट कथाको रुपमा लिन सकिन्छ। नेपालको कर्मचारी तन्त्रको जाँतोमा सोझा सोझा र इमान्दार राष्ट्रसेवकहरु कसरी पिसिएर धूलो हुन पुग्छन, सोर्स-फोर्स नेपालको कसरी संस्कृति हुन पुगेको छ, हाकिमको चाकडी गरेर छोटो समयमा माथिल्लो ओहदामा कसरी पुग्न सकिन्छ, इमान्दा कर्मचारीहरुलाई आफ्नो स्वाभिमानको रक्षा गर्दै काम गर्न कति कठिन छ भन्ने यथार्थहरू यस कथामा सजीव एवं नौलो किसिमले दैखाइएको छ।
यो कथा एक मनोवैज्ञानिक कथा पनि हो। यो कथामा कथाकारले यस कथाको मुल पात्रको मनोविज्ञानको विश्लेषण अति नै प्रभावकारी किसिमले गरेका छन। प्रेत्येक व्यक्तिले आफ्नो निराशा एवं क्रोधको निकास खोज्छ र ती कुराहरू उचित स्थानमा पोख्न नपाए कुण्डित भएर एक विशेष किसिमको मनोविज्ञानको सिकार हुन पुग्छ। यो विषयलाई सिपाहीको बढुवा कथाले रोचक एवं प्रभाव किसिमले प्रस्तुत गरेको छ।
“एS नारना !’ यस कथा सङ्ग्रहको एघारौं कथा हो। यो कथा अनेक विशेषाहरूले युक्त छ र यो यस सङ्ग्रहको उत्कृष्ट कथा पनि हो। यस कथाको प्रमुख विशेषता के हो भने यो कथा पढ्न आरम्भ गरेपछि कतै नरोकिएर कथा समाप्त गर्न मन लाग्छ। अर्थात यो कथाले पाठकलाई निरन्त बाँधिनै रहन्छ। यो कथा पढिरहँदा यस पछि के हुन्छ, यस पछि के हुन्छ भन्ने खुलदुली पाठकको मनमा निरन्तर चलिनै रहन्छ। कथाहरूमा यस्तो विशेषता हुनु पर्दछ।
यो एख कथाको रुपमा प्रस्तुत भएता पनि यसले उपन्यासको रुप लिन सक्ने क्षमता राखेको पाइन्छ। यो कथामा एउटा चलचित्र नै पनि बनाउन सकिन्छ। यस कथाका पात्रहरू सशक्त भूमिका लिएर उपस्थित भएका छन। उनीहरुका कार्य पनि समाजका लागि उपयोगी एवं उदाहरणीय छन्।
सत्यको वरपर चक्कर काट्ने यो कथाले एक खास सन्देश दिन्छ जुन पाठकले पढे पछि मात्र थाहा पाउँछ। नेपाल र अमेरिका जोड्ने यो कथाले एक खास परिस्थितिको सजीव चित्रण गर्दछ जुन अति नै कौतुहलतापूर्ण अनि रोचक पनि छ। कथाकारले यस कथामा सामान्य शब्द  र भावहरू प्रयोग गरेर उत्कृष्ट कथा-शिल्पको प्रयोग गरेका छन्। वोधगम्य र सरलशैलीको यो कथा यति शक्तिसाली छ कि यो कथा पढेको कैयौं दिनसम्म यो कथा पाठकको दिमागमा नाचिरहन्छ। कथाका पात्रहरू पाठकको मानस पटलबाट छिटै हराउँदैनन्, हिन्दी ‘कला फिल्ल’ का पात्रहरूझै। यो कथाले एक चर्चित हिन्दी फिल्मको यो गीत “ठोकर तु जबतक नखाएगा, जिन्दगी है चिज क्या नही जान पाएगा, रोता हुआ आया है रोता चला जाएगा’ याद गराउँछ।
बारौं कथा ‘पिटर जोनले देह त्याग्यो’ पूर्णतया अमेरिकी जीवनको कथा हो। धनी र शक्तिसाली राष्ट्र हुनाका लागि अमेरिकीहरूले कति मूल्य चुकाएका (भावना, माया, दया, प्रेम हराएका) छन् भन्ने कुराको व्यवस्थित किसिमले यो कथाले पुष्टि गरेको छ। अमेरिकीहरू धनी त छन् तर धेरे निरास पनि छन्। जिन्दगीको ‘भागदौड’ मा यति दौडिरहेका छन् कि जिन्दगी के हो भनी गहिरिएर बुझ्ने उनीहरूसँग समय छैन। प्रत्येक पललाई डलरमा रुपान्तरण गर्दा उनीहरूसँग केवल डलर र समयको मात्र गणना छ, भौतिक साधनहरू प्राप्तिको पहाड-चाहनाहरू छ तर भावना र प्रेम छैन। यथार्थ रुपमा जिन्दगीले के खोजेको हो र के कुराले जिन्दगीलाई खुसी तुल्याउँ छ भन्ने यथार्थ थाहा पाउन पनि उनीहरूसँग समय छैन। कार्यस्थलमा ‘व्यवसायिक हाँसो’ हाँस्दा हाँस्दै उनीहरूले यथार्थ हाँसो के भन्ने कुरा पनि भूल्ने स्थिति भइसकेको छ। यस्ता यस्ता अनेक सन्देश यो कथाले दिन्छ। यो कथाको मूल भाव के हो भने अमेरिकीहरू बाहिरबाट जति खुसी देखिन्छन त्येति खुसी भित्रबाट छैनन र व्यस्त अमेरिकी जीवनले उनीहरूलाई मानवबाट यन्त्र तुल्याइ दिएको छ र यो यथार्थ उनीहरूलाई पनि थाहा छैन। यो कथामा पनि कथाकारले अति राम्रो कथा-शिल्पीको प्रयोग गरेको पाइन्छ। यथार्थ समस्या बोल्ने यो कथा पनि यस सङ्ग्रहको एक उम्दा कथा हो।
यस सङ्ग्रहको अन्तिम कथा ‘हजुरबाको पुनर्जन्म’ एक ऐतिहासिक कथा हो। यो कथा ‘सत्य कथा’ हो जस्तो लाग्छ। कथामा वर्णनन् गरिएका घटनाहरू यथार्थ जस्तो लाग्छन। कथाका मूल पात्र पनि कुनै राजनीतिक व्यक्तिझै लाग्छन। त्यसकारण, यो कथाको अन्तमा ‘सत्य कथा’ लेखिदिएको भए पाठकहरूलाई स्पष्ट हुन सजिलो हुने थियो। र कथालाई यथार्थ कथा मानेर कथाको विषयमा केन्द्रित हुन्थै।  
नेपाली राजनीतिक इतिहासका विभिन्न कालखण्ड जान्न र नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनहरू बुझ्न यो कथाले पाठकहरूलाई सहयोग पुर्याउँछ। संस्मरणलाई केन्द्रमा राखेर लेखिएको यो कथा एक सामान्य कथा हो तर एक ऐतिहासिक घटनाको सशक्त विवरण पनि हो।  
ज्यादै सरल किसिमले प्रस्तुत गरिएकोले यस सङ्ग्रहका कथाहरूमा क्लिष्टता छैन जसले गर्दा कथाहरू बुझन सजिलो छ। अर्थात कथा सङ्ग्रह सुवोध छ। कथाकारको यो मौलिकतालाई उनको विशेषताको रुपमा लिन सकिन्छ।
कथाहरू पढिरहँदा आफू गाउँघरमा डुलेझै लाग्छ। कुनै बेला भने अमेरिका पुगेझै पनि लाग्छ। कथाका पात्रहरू सँग आफूले पनि विभिन्न स्थानहरूको विचरण गरेझैं लाग्छ। कथाहरूमा कहिं कहिं भने लामा लामा बयानहरू भएको पाइन्छ। यो कारणले गर्दा पाठकको ध्यान कतै कतै विकेन्द्रित हुन पुग्छ। यथार्थमा केही कथाहरूलाई छोटो छोटो पनि पार्न सकिन्थ्यो। तर कतिपयको विचारमा आख्यानहरू लामा लामा नै हुन्छ भन्ने पनि छ।
कथाहरू अति सरल किसिमका छन्। बुझ्न कुनै पनि किसिमको कठिनाइ हुँदैन। र कथाकारको यो तरिकालाई उनको लेखन-विशेषताको रुपमा लिन सकिन्छ। कथाहरूमा विविधता छ। केही कथाल सशक्त विषयहरू ऊठएका छन् भने केहीले अति नै सामन्य विषय उठाएक छन। वहु प्रतिभाका धनी महेश्वर पन्तले आफू साँच्चै वहु प्रतिभाको धनी रहेको भन्ने प्रमाण, परीक्षा उतिर्ण गरेर (असल कृति- नबोल्नेहरू लेखेर) प्रमाणित गरेका छन्। विभिन्न किसिमका अनुभब बटुलेका एवं वहुसंस्कृतिका अध्येता पन्त एक असल प्रस्तोता पनि हुन पुगेका छन्। कथाहरूहरूमा सामान्य किसिमका भाषागत त्रुटीहरू छन् तर ती क्षम्य छन्।
कथाकार महेश्वर पन्तको कथा-यात्राको सफलताको कामना गर्दछु। यस किसिमको कृति प्रकाशन गरेकोमा शिखा प्रकाशन, काठमाडौलाई धन्यवाद दिन चाहन्छु।

 Bishwa Raj Adhikari
Sunday, March 15, 2020

Friday, March 13, 2020

Economic Remedies of Corona Virus Crisis Article-268


कोरोनाजनित आर्थिक सङ्कट र बच्ने उपायहरू

कोरोना भाइरसको चिन्ताले अहिले विश्वभरिका मानिसलाई समान किसिमले सताएको छ। गरीब होस् वा धनी, सबै देशका नागरिक यस रोगबाट त्रस्त छन्। यसरी त्रसित हुनुको प्रमुख कारण हो यो भाइरसविरुद्ध कुनै औषधी अहिलेसम्म पत्ता लागेको छैन। अमेरिकाजस्तो धनी मुलुकले पनि यो रोगको औषधी पत्ता लगाउन सकेको छैन। यो कोरोनाबाट बच्ने उपाय केवल बिरामीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु मात्र मानिएको छ। त्योभन्दा अर्को भरपर्दो उपाय छैन।
    यस आलेखमा भने कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्या र त्यस आर्थिक समस्याबाट बच्ने उपायबारे चर्चा गरिने छ। यो स्तम्भकार स्वास्थ्य विज्ञ नभएकोले कोरोना सङ्कटले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभाव एवं यो सङ्कट कम पार्ने गर्नुपर्ने तयारीहरूबारे लेख्नु उचित ठहर्दैन। सञ्चारकर्मी वा मेडियामा बोल्ने, लेख्नेहरूले आफ्नो क्षेत्रको कुरा मात्र बोल्ने, लेख्ने गर्नुपर्छ र आफूलाई ज्ञान नभएको विषयमा लेखेर, बोलेर भ्रम फैलाउनु हुँदैन भन्ने तथ्यमा यो स्तम्भकार विश्वास गर्दछ। अर्थात् कोरोनाले स्वास्थ्यमा पार्ने प्रभावबारे केवल स्वास्थ्य क्षेत्रका व्यक्ति वा विज्ञहरूले लेख्नु, बोल्नु उपयुक्त हुन्छ। सम्बन्धित क्षेत्रमा ज्ञान नभएका व्यक्तिले बोलेर समाजमा भ्रम र त्रास फैलाउनु हुँदैन। अहिले कतिपय व्यक्ति जानेर वा नजानेर कोरोना सङ्कटबारे भ्रम फैलाइरहेका छन्। सामाजिक सञ्जालहरूमा यसबारे अनेक खबर सम्प्रेषण, टीकाटिप्पणी गरिरहेका छन्। त्यसकारण अहिले कोरोनाको वास्तविक सङ्क्रमणभन्दा मानिस, बजारमा यस रोगबारे फैलिएको भ्रमले गर्दा बढी त्रसित भएका छन्।
    संसारका विभिन्न मुलुकले कोरोना सङ्कटले ल्याउन सक्ने ठूलो आर्थिक क्षतिबाट राष्ट्रलाई जोगाउन अहिलेदेखि नै पूर्व तयारी आरम्भ गरिसकेका छन्। अमेरिका एवं युरोपका अनेक राष्ट्रले कोरोना सङ्कटको सामना कसरी गर्नबारे विभिन्न योजना तथा कार्यक्रम घोषणा गरेरहका छन्। चीनले पनि विभिन्न किसिमको तयारी गरेको छ र उसको यो तयारीले राष्ट्रलाई कम आर्थिक क्षति हुने कुरामा विश्वस्त छ।
    नेपालको सन्दर्भमा, कोरोना–सङ्कटले मुलुकमा ल्याउन सक्ने आर्थिक समस्याबाट बच्ने पहिलो उपाय हामी सबैले आफूलाई गलत सूचनाबाट जोगाउनु हो। अहिले नेपालले प्रेस स्वतन्त्रताको उपयोग गरिरहेकोले मेडियाहरूले मात्र होइन व्यक्तिले पनि आफूलाई राम्रो ज्ञान नभएको विषयमा बोल्ने, लेख्ने, अपुष्ट समाचार प्रसारण गर्ने (सेयर गर्ने), प्रकाशन गर्ने कार्य गरिरहेका छन्। यसरी बजारमा सूचना र जानकारी अहिले चाहिनेभन्दा बढी आएको स्थिति छ। अहिले लगभग हरेक व्यक्तिले सूचना एवं जानकारीको भारी बोकेको (overloaded) स्थिति छ। हरेक व्यक्ति अनावश्यक सूचना र जानकारीको बोझले थिचिएको छ। कोरोना भाइरस सम्बन्धी अनावश्यक सूचना एवं जानकारीको भारी बोक्नु राम्रो होइन किनभने त्यो भारी (गलत सूचना एवं जानकारी) ले ब्यक्तिलाई नकारात्मक सोच बनाउन बाध्य पार्छ। र व्यक्तिको त्यस्तो नकारात्मक सोचले राष्ट्रिय उत्पादन र आपूर्ति व्यवस्थालाई नराम्ररी प्रभावित पार्न सक्छ। व्यक्तिले अनावश्यकरूपमा उपभोग्य सामग्री भण्डारण गर्ने, सामान लुकाउने कार्य गर्न सक्छन् । बजारमा कृत्रिम अभाव सृजना भएर मूल्य वृद्धि गर्न सक्छन्।
    बजारमा फैलिएको भ्रम र अनिश्चितताको कारण उत्पादन बन्द पनि हुन सक्छ। त्यसकारण हामी गलत सूचना एवं जानकारीबाट जोगिनुपर्छ र अरूलाई जोगाउनु पनि पर्छ। र जोगिन र जोगाउन हामीले गर्नुपर्ने प्रमुख कार्य हो आधिकारिक र भरपर्दो स्रोतबाट सम्प्रेषित समाचार (सूचना एवं जानकारी) मात्र ग्रहण गर्ने, विश्वसनीय समाचार मात्र पत्याउने। गलत सूचना एवं जानकारी (स्रोत नखुलाइएको, स्रोत अविश्वसनीय लागेको) बाट पर रहने।
    नेपालको आपूर्ति व्यवस्था लगभग पूर्णरूपमा भारतमाथि आश्रित छ। खाद्य वस्तु एवं तरकारीसमेत भारतबाट ठूलो मात्रामा नेपालमा आयात हुन्छ। कोरोना सङ्कट विस्तार भएमा भारतले पनि आफ्नो लागि अपुग हुने भन्दै निर्यातमा कटौती गर्नेछ जसले गर्दा नेपालका बजारहरूमा विभिन्न किसिमका सामानको अभाव भएर हाहाकार मच्चिन सक्छ। यो स्थितिबाट जोगिन हामीले आफ्नो उत्पादन व्यवस्थामा जोड नुपर्छ। खासगरी कृषि उत्पादन बढाउन जनस्तरमा नै जोड दिनुपर्छ। कहीं कतै खाली जग्गा रहन नदिई त्यसमा कुनै न कुनै बाली लगाउनुपर्छ।
    स्थानीय सरकारले आफ्नो गाउँ एवं नगरमा, प्रान्तीय सरकारले आफ्नो क्षेत्रमा तथा सङ्घीय सकारले राष्ट्रिय स्तरमा अहिलेदेखि नै ‘कृषि उत्पादनमा वृद्धि ल्याउने अभियान’ सञ्चालन गर्नुपर्छ। र यो उत्पादन वृद्धि अभियानलाई कोरोना सङ्कटबाट बच्ने रणनीतिको रूपमा लिनुपर्छ। र यो कुरा जनतामाझ पनि पुर्याउनुपर्छ। उत्पादन वृद्धि कार्यमा जनतालाई पनि संलग्न गराउनुपर्छ।
    ऊर्जाका लागि पनि हामी ठूलो मात्रामा भारतमा नै भर पर्छौ। खान पकाउनका लागि आवश्यक पर्ने एलपिजी (ग्याँस) हामी पूर्णरूपमा भारतबाट नै आयात गर्छौ। भान्सामा प्रयोग हुने इन्धनमा बिजुलीको हिस्सा एकदमै कम छ। अर्कोतिर बिजुली पनि हामीले चाहिएको परिमाणमा उत्पादन गर्न सकेका छैनौं। शहरी क्षेत्रका भान्सामा ग्याँसको उपयोग अत्यधिक हुन्छ। दाउरा एवं पशु–अवशेष (चिपरी, गोइँठा) आदिको प्रयोग केवल ग्रामीण क्षेत्रमा हुन्छ तर ज्यादै सीमितरूपमा। कोरोना सङ्कटको सामना गर्न हामीले तत्काल, अहिलेदेखि, आजैदेखि एलपिजीको विकल्प खोज्न आवश्यक छ। सरकारले ‘कार्यदल’ निर्माण गरेर तत्काल ग्याँसको विकल्प खोज्ने जिम्मा उक्त कार्यदललाई छिटोभन्दा छिटो दिन आवश्यक छ। वन पैदावारलाई ग्याँसको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ कि त्यसवारे सोंच्न आवश्यक छ।
    नेपाली बजारमा अधिकांश बिक्रेताको नैतिकता र इमानदारिताको स्तर (Business Ethical Standard)  ज्यादै तल झरेको छ। कोरोना–सङ्कटलाई धेरै व्यापारी (उत्पादक, वितरक एवं आपूर्तिकर्ता) ले उच्च मुनाफा हात पार्ने सुनौलो अवसरको रूपमा पनि प्रयोग गर्न सक्छन्। उनीहरूले कृत्रिम अभाव सृजना गरेर मूल्य वृद्धि गर्न सक्छन्। रातोरात करोडपति बन्ने सपना देख्न सक्छन्। हाम्रा व्यापारीहरू आफ्नै नैतिकताभन्दा नियम कानूनले बढी डराउने गर्छन्। यस्तो मनोविज्ञानको निर्माण जन चेतनाको अभावले गर्दा भएको हो। त्यसकारण सरकारले कडा कानून बनाएर, पालना गर्न लगाएर, कालाबाजारी गर्ने व्यापारीहरूलाई दण्डित गर्ने घोषणा गर्नुपर्छ। साथै यस्तो राष्ट्रिय सङ्कटको घडीमा मुनाफा मात्र उद्देश्य हो भन्ने भावना त्यागेर देश र जनताको सेवा गर्न सरकारले व्यापारीहरूलाई अनुरोध (अपील) पनि गर्नुपर्छ। अर्को शब्दमा, सरकारले व्यापारीहरूलाई जनसेवामा लाग्न उत्प्रेरित गर्नुपर्छ। उत्प्रेरित हुने वातावरण तयार पार्नुपर्छ।
    कोरोना–सङ्कटको सामना गर्न सरकारले (राष्ट्र बैंकमार्फत) वाणिज्य बैंकहरूलाई ब्याजदर (ऋणमा) घटाउन आग्रह गर्नु उपयुक्त हुन्छ। ब्याज दर घटेमा लगानीकर्ताहरू ऋण लिएर लगानी गर्न उत्प्रेरित हुन्छन्, लगानीको राम्रो वातावरण तयार हुन्छ। उत्पादनमा वृद्धि भएर एकातिर आपूर्तिको परिमाणमा वृद्धि हुन्छ भने अर्कोतिर रोजगार, श्रम बजार स्थिर हुन्छ। अर्थात् ब्याजदर कम पारेर राष्ट्रिय श्रम बजारलाई स्थिर पार्न सकिन्छ।
    त्यस्तो स्थिति न आउला, तर यदि आएमा (कम आय भएका व्यक्तिहरू बेरोजगारी भएमा) सरकारले निर्धन परिवारहरूलाई प्रोत्साहन रकम (Stimulus check) दिने सोच राख्नु उपयुक्त हुन्छ। अन्तर्राष्ट्रियस्तरमा यस्तो गरिएको पनि छ। सन् २००८ मा अमेरिकी अर्थतन्त्रमा सुस्तता (recession) आएको बेला राष्ट्रिय अर्थतन्त्रलाई गति प्रदान गर्न अमेरिकाको सङ्घीय सरकारले जनतालाई प्रोत्साहन रकम बाँडेको थियो र त्यसको असर प्रभावकारी देखिएको थियो। त्यो प्रोत्साहन रकमले अमेरिकी बजारमा आर्थिक क्रिया कलाप बढाएको थियो। त्यो बेला एक व्यक्तिलाई तिन सय डलर चेक मार्फत दिइएको थियो।
    कोरोना सङ्कटले ल्याउन सक्ने आर्थिक समस्याको प्रमुख समाधान भनेको नै राष्ट्रिय उत्पादनमा तीव्र अभिवृद्धि हो, तत्काल उत्पादन वृद्धि गर्न सकिने क्षेत्र पहिचान गर्नु हो। र प्रमुखरूपमा खाद्यान्न उत्पादनको परिमाणमा वृद्धि गर्नु हो।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 13, 2020