Friday, April 26, 2019

Special Characteristics of American Economy-Social System and Harmony-Article 244


सामाजिक व्यवस्था र सद्भाव

युरोपका विभिन्न मुलुकहरूबाट अनेक व्यक्ति उत्तर अमेरिका आउनुको प्रमुख उद्देश्य धन कमाउनु र आफ्नो देशमा खेपिरहेको धार्मिक एवं राजनैतिक शोषणबाट उन्मुक्ति पाउनु थियो। युरोपियनहरू त्यस्तो भूमिको खोजीमा थिए, जहाँ पुगेपछि आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक बाँच्न सकियोस र कृषिका लागि भूमिको उपलब्धता पर्याप्त मात्रामा होस्। हुन पनि सीमित भूमि (जनसङ्ख्या विस्तारको अनुपातमा) र अर्कोतिर बढ्दो जनसङ्ख्याले गर्दा युरोप साँघुरो हुँदै गइरहेको थियो। र यो कारणले गर्दा पनि युरोपियनहरू एशिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा उपनिवेश खडा गर्न हिंडेका थिए। नयाँ फराकिलो भूमिको खोजीमा भौंतारिएका थिए। धनको लालसाले नै युरोपियनहरूलाई युरोपबाट अन्यत्र बसाइँ सर्न बाध्य पारेको थियो।
    इङ्गलिश अर्थशास्त्री एवं जनसङ्ख्या विद् थोमस रोबर्ट माल्थसको जनसङ्ख्या सिद्धान्तले युरोपियनहरूलाई एक किसिमले डराइ नै दिएको थियो र त्यो डरले गर्दा पनि उनीहरू फराकिलो भूमि खोज्न बाध्य भएका थिए, उत्प्रेरित भएका थिए।
    सन् १७९८ मा थोमस रोबर्ट माल्थस (सन् १७९८१८२३) को एउटा पुस्तक प्रकाशित भएको थियो जसको नाम थियो An Essay on the Principle of population। यो पुस्तकले त्यो समयमा निकै चर्चा पाएको थियो। माल्थसको त्यो जनसङ्ख्या वृद्धि सिद्धान्तको लोकप्रियतामा अहिले पनि कमी आएको छैन। अहिले पनि संसारका अनेक विश्वविद्यालयहरूमा माल्थसको उक्त जनसङ्ख्या सिद्धान्त पढाउने गरिन्छ। उनले आफ्नो जनसङ्ख्या सिद्धान्तमा भनेका थिए जनसङ्ख्या वृद्धि ज्यामितीय प्रगति (२,,१६,१३२ ) मा हुन्छ तर खाद्य उत्पादन वृद्धि भने गणितीय प्रगति (,,,८) मा हुन्छ। यसरी जनसङ्ख्या वृद्धि तीव्र गतिमा हुन्छ भने खाद्य उत्पादन वृद्धि सुस्त गतिमा हुन्छ। र यो कारणले गर्दा ठूलो असन्तुलन उत्पन्न हुन्छ। र यो असन्तुलनले मानव जीवनमा ठूलो सङ्कट ल्याउन सक्छ।
    माल्थसले थपेका थिए–“भविष्यमा ठूलो असन्तुलनको स्थिति आउने हुनाले युरोपको भविष्य सुरक्षित छैन। अन्धकार छ।माल्थसको उक्त भनाइले पनि युरोपियन र खासगरी आइरिश, इङ्गलिश र स्कोटिसहरूलाई युरोप बाहिर जान प्रेरित गर्यो। जनसङ्ख्या वृद्धि ज्यामितीय गतिमा हुन्छ भन्ने माल्थसको भनाइ अहिले पनि काट्न सकिएको छैन, खाद्य उत्पादन वृद्धि केवल गणितीय प्रगतिमा हुन्छ भन्ने उनको मान्यताको खण्डन भए पनि।
    संयुक्त राज्य अमेरिकामा सर्वप्रथम स्पेनिसहरू आएको इतिहासले देखाउँछ। उनीहरू पनि यो भूभागमा धन कमाउने उद्देश्यले नै आएका थिए, भूमिको विस्तार गर्न आएका थिए। तर स्पेनिसहरू मात्र आएका होइन, अमेरिका आउनेहरूमा जर्मन, फ्रेन्च, इटालियन, ब्रिटिश, चाइनिज पनि थिए। विभिन्न देशबाट ठूलो सङ्ख्यामा अनेक परिवार अमेरिका आए तापनि उनीहरूको उद्देश्य भने एउटै थियोधन कमाउनु। यसरी धन कमाएर आर्थिक समृद्धि हासिल गर्नुपर्छ भन्ने चाहना अमेरिकीहरूमा बसाइँसराइ गर्दाको कालदेखि नै थियो। धन आर्जन गर्नुपर्छ भन्ने प्रारम्भिक उद्देश्यले पनि अमेरिकीहरूलाई धनी हुन, विश्वको एक नम्बर धनी राष्ट्र बन्न सहयोग पुर्याएको हो। अमेरिका परापूर्वकालदेखि नै व्यापारिक देश हो। अमेरिकीहरूले धार्मिक कट्टरतालाई पन्छ्याए, धन कमाउनुपर्छ भन्ने भावनालाई बलियो पार्दै लगे।
    अमेरिकामा इङ्गलिशहरूको उपस्थिति भने अति प्रभावकारी थियो। सन् १६५० सम्म एटलान्टिक कोस्टमा इङ्गलिशहरूको उपस्थिति ठूलो सङ्ख्यामा भइसकेको थियो। इङ्गल्यान्डबाट अमेरिका आएका आप्रवासीहरूले भर्जिनियाको जेम्सटाउनमा प्रथम उपनिवेश (Colony) खडा गरिसकेका थिए। सन् १७७० सम्म ग्रेट ब्रिटेनबाट अमेरिका आएका आप्रवासीहरूले अमेरिकाको विभिन्न स्थानमा १३ वटा उपनिवेश खडा गरिसकेका थि । उपनिवेश खडा गर्न आएका व्यक्ति एवं परिवार र उनीहरूले अफ्रिका महादेशबाट ल्याएका कामदारहरू (Slaves) गरी अमेरिकामा खडा गरिएको १३ वटा उपनिवेशमा सन् १७७० सम्ममा बसोवास गर्ने व्यक्तिहरूको सङ्ख्या २० लाख हुन पुगेको थियो। ग्रेट ब्रिटेनबाट नयाँ भूमि (उत्तर अमेरिका) आउनेहरूले नयाँ भूमि आउने आफ्नो प्रमुख उद्देश्य धार्मिक स्वतन्त्रता भने तापनि उनीहरूको स्थानान्तरणको प्रकृति हेर्दा ब्रिटिश वा अन्यहरू अमेरिका आउनुको प्रमुख कारण वा उद्देश्य आर्थिक नै देखिन्छ। समृद्धि हासिल गर्नु नै रहेको देखिन्छ, धन कमाउनु नै रहेको देखिन्छ।
    आर्थिक समृद्धिका लागि अहिले पनि संसारका विभिन्न मुलुकबाट व्यक्ति एवं परिवारहरू अमेरिका आउने क्रम जारी छ। अमेरिकी भूमिमा निरन्तर अप्रवासीहरूको प्रवेशले गर्दा अहिले अमेरिकाको जनसङ्ख्या ३२ करोड ८६ लाख ४७ हजार (सन् अप्रिल २०१९, संयुक्त राष्ट्रसङ्घका अनुसार) हुन पुगेको छ। विश्व जनसङ्ख्याको अनुपातमा अमरिकाको जनसङ्ख्या हाल ४.२७ प्रतिशत छ। अर्थात विश्वको ४.२७ प्रतिशत व्यक्ति केवल अमेरिकामा बसोवास गर्छन्।
    देश बाहिर राजनैतिक मामिलामा अमेरिकीहरूले विश्व राजनीतिमा बढी चाFसो राखेको देखिए तापनि देशभित्र भने त्यस्तो स्थिति छैन। आम अमेरिकीलाई राजनीतिमा कुनै चाँसो छैन। स्कूल, कलेज, कार्यालय वा अन्य समारोहहरूमा धर्म र राजनीतिका कुरा गर्नु राम्रो मानिंदैन। कार्यालयमा राजनीतिक कुरा गर्नु, नेताहरूमाथि टीका टिप्पणी गर्नुलाई कार्य नैतिकता (Work ethics/Business ethics) विरुद्ध मानिन्छ। कार्य समयमा, केवल काममा व्यस्त रहनुपर्छ र तोकिएको र सुम्पिएको कार्य इमानदारीपूर्वक गर्नुपर्छ भन्ने सिद्धान्तमा अमेरिकी समाजको दृढ आस्था छ। यो विश्वासले पनि अमेरकीहरूलाई आर्थिकरूपमा सम्पन्न तुल्याउन विशेष भूमिका खेलेको हुनुपर्छ। अमेरिकाभित्र परिवर्तन भइरहने सरकारहरूले अमेरिका बाहिर, अन्य राष्ट्रहरूमा राजनैतिक प्रभाव जमाउन खोजेपनि, विश्व राजनीतिलाई शक्तिद्वारा निर्देशित गर्न खोजेपनि, आम अमेरिकीहरूलाई यस विषयमा कुनै चाँसो हुँदैन। आम अमेरिकीको प्रमुख चासोको विषय सुविधा सम्पन्न जीवन बाँच्नुपर्छ भन्नेमात्र हुन्छ। यो कारणले गर्दापनि आम अमेरिकीले आर्थिक प्रगतिलाई केन्द्रमा राखेर जीवनका अनेक गतिविधि सञ्चालित गरिरहेका हुन्छन्। अर्थात् अमेरिकी समाज सुविधाभोगी समाज हो।
    तर अमेरिकी समाजले केवल सुविधालाई मात्र महत्व दिएको भन्नु चाहिं गलत हुनेछ। रूस, चीन, भारत आदि धनीहरूको बसोवास रहेको राष्ट्रको तुलनामा, जनस्तरमा, विभिन्न राष्ट्रका नागरिकलाई आर्थिक सहयोग गर्ने मामिलामा अमेरिकीहरू विश्वमा नै अग्र स्थानमा छन्। अमेरिकाका विभिन्न सेवा एवं गैरमुनाफामूलक संस्थाहरूले विश्वका पिछडिएका एवं गरीब नागरिकहरूको सेवामा ठूलो धनराशि खर्च गरिरहेका छन्। Bill & Melinda Gates Foundation” “Bill, Hillary & Chelsea Clinton Foundation”, “Ford Foundation”, “Rockefeller Foundationआदि सामाजिक सेवा संस्थाहरूले विश्वभरिका कमजोर वर्गलाई सहयोग गरिरहेका छन्।
    अमेरिकी समाज खुला समाज हो। अनेक किसिमका अनौपचारिक बन्धन तोडेर, स्वतन्त्र किसिमले साथै निर्भीक भएर बाँच्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्ने अमेरिकीहरूको मनमा जे छ, मुखमा पनि त्यही हुन्छ। व्यक्तिको गोपनीयता र उसको स्वतन्त्रतालाई सर्वाधिक महत्व दिनुपर्छ भन्ने विचारमा दृढ विश्वास गर्ने अमेरिकी समाजले उमेर पुगेका आफ्ना सन्तानसमेतको पनि निजी जीवनमा (के पढ्ने, कोसँग बिहे गर्ने, कस्तो लगाउने, कसलाई भेट्ने, कसलाई नभेट्ने) कुनै किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्दैन। उमेर पुगेका सन्तानलाई आफूबाट अलग रहेर, स्वतन्त्र भएर निर्णय गर्न दिनुपर्छ भन्ने कुरामा जोड दिन्छ। यो कारणले गर्दा पनि अमेरिकी युवाहरू दब्बु प्रवृत्तिको नभएर निर्भीक स्वभावका हुन्छन्। आफ्नो  पैतृक सम्पत्तिमा होइन आप्mनो आर्जनमा विश्वास गर्छन्। यस किसिमको सामाजिक व्यवस्थाले पनि अमेरिकीहरूलाई धनी हुन सहयोग पुर्याएको हो।
    राष्ट्र निर्माणकालदेखि नै अमेरिकीहरू स्वतन्त्र रही कसैको अधीन नरहेको र कुनैपनि देशको उपनिवेश नभएकोले अमेरिकीहरूमा स्वतन्त्र भएर निर्णय गर्ने क्षमता परम्परादेखि चल्दै आएको देखिन्छ। यो कारणले युवाहरूले स्वतन्त्रतापूर्वक पेशा रोज्ने र त्यो पेशामा रहेर आफ्नो वृत्ति विकास गर्ने हुनाले आर्थिक विकासको मामिलामा उनीहरू विश्वमा नै अगाडि भएको हुन सक्छ। हरेक कार्य आफैंमा सम्मानित हो र कुनै पनि किसिमको कार्य गर्न लजाउनु हुँदैन भन्ने भाव अमेरिकी समाजमा व्याप्त रहेको पाइन्छ। अमेरिकी समाजले कार्यप्रति भेदभाव राख्दैन बरु कुन कार्य गरेर बढी लाभ प्राप्त हुन्छ, त्यसतर्फ बढी ध्यान दिन्छ।
    कुनै समयमा कुनै तानाशाह, कुनै निरङ्कुश राजनैतिक नेता, कुनै राजा वा महाराजा, कुनै सेनाको जनरल वा कुनै उपनिवेशको अधीन हुर्केको समाजमा स्वतन्त्र भएर निर्णय गर्ने क्षमता कम हुन्छ। त्यस्तो समाजमा हुर्केका व्यक्तिले नयाँनयाँ किसिमका वस्तु वा सेवाको अविष्कार पनि ज्यादै कम गरेको पाइन्छ। कठोर एवं तानाशाही समाजमा हुर्केका व्यक्तिहरूमा पेटमा एउटा कुरा मुखमा अर्को कुराजस्तो संस्कृति विकसित भएको हुन्छ। त्यसकारण उनीहरूमा स्वतन्त्र भएर निर्णय गर्न सक्ने क्षमता ज्यादै कमजोर हुन्छ। त्यस्तो उनीहरू सामाजिक व्यस्थाले गर्दा भएका हुन्छन्।
    अमेरिकीहरूको सामाजिक व्यवस्थाले नै स्वतन्त्र भएर बाँच्न सिकाउने हुनाले अमेरिकीहरूमा सानै उमेरदेखि उद्यमी बानीको विकास भएको हुन्छ। केही नौलो कार्य गरौं भन्ने चाहनाले उनीहरूलाई आर्थिक विकास गर्न उत्प्रेरित गरेको हुन्छ।
    अमेरिकामा सर्वाधिक आश्चर्यलाग्दो कुरा त के छ भने अमेरिकाभित्र एउटा मूल अमेरिकी संस्कृति छ र त्यो मूल अमेरिकी संस्कृतिलाई भाषा (अंग्रेजी) ले बलियो सूत्रमा बाँधेको छ। बलियो एकता प्रदान गरेको छ। तर त्यो मूल अमेरिकी संस्कृतिभित्र अनेक चाइनिज, मिडिल इस्ट, इस्लाम, हिन्दू, बहाइ, जुइस, मङ्गोल, केथोलिक, प्रोटेस्टेन्ट ताओइज्म, बुद्धिष्टजस्ता उपसंस्कृतिहरू छन्। यी उपसंस्कृतिहरूबीच कुनै पनि किसिमको मनोमालिन्य छैन। सबै एक आपसमा, शान्ति कायम गरेर बसेका छन्। एउटा धर्मले अर्को धर्मको आलोचना गरेको वा एउटा समुदायले अर्को समुदायको आलोचना गरेको पाइँदैन। अमरिकालाई आर्थिक समृद्धि हासिल गराउन यहाँ रहेको जातीय सद्भावको पनि ठूलो भूमिका छ। उपसंस्कृतिभित्र रहेकाहरूले घरभित्र आफ्नो मातृभाषा बोले तापनि घर बाहिर भने अंग्रेजी बोलेर पिज्जासंस्कृतिमा रमाएको देखिन्छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 26, 2019

Friday, April 19, 2019

Special Characteristics of American Economy: Cheap Energy-Article-243


अमेरिकी अर्थ व्यवस्थाका विशेषत: सस्तो ऊर्जा

कच्चा सामग्री उत्पादन स्थलसम्म पुर्याउन र उत्पादित सामग्री उपभोगका लागि बजारसम्म पुर्याउन यातायातका अनेक साधनको आवश्यकता पर्दछ। यसैगरी नागरिकलाई आवागमन सुविधा उपलब्ध गराउन वा गन्तव्य (कार्यस्थल) सम्म पुर्याउन र त्यहाँबाट फर्काउन यातायातका साधनहरूको आवश्यकता पर्दछ। अर्कोतिर यी यातायातका साधन सञ्चालन गर्न ऊर्जाको आवश्यक्ता पर्दछ। ऊर्जा यातायातका लागिमात्र होइन, उद्योग सञ्चालन गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन, जीवन निर्वाह गर्न र प्रभावकारी शिक्षा सुविधा उपलब्ध गराउन पनि आवश्यक पर्दछ। अब जमाना त्यो रहेन, घरमा टुकी बालेर पनि रात बितोस्। के गाउँ के शहर, हरेक क्षेत्रका आवासहरूमा उज्यालोको लागि दियो, वा बिजुली बाल्नैपर्ने हुन्छ। अर्थात् जीवन निर्वाहका लागि हामीले उपयोग गर्ने प्रायः वस्तु वा सेवा सञ्चालन गर्नका लागि हामीलाई आधुनिक ऊर्जा (जल विद्युत्, पेट्रोलियम पदार्थ, बैट्री आदि) आवश्यक पर्छ। स्थिति यस्तो छ कि आधुनिक ऊर्जाबिना हाम्रो भान्सा सञ्चालन हुन नसक्ने अवस्था छ। हाम्रो जीवन पूर्णतया ऊर्जामा आश्रित छ। ऊर्जाविना हाम्रो जीवन चलायमान हुँदैन।
    यसरी आधुनिक ऊर्जा मानव सभ्यताको अत्यावश्क अङ्ग हुन पुगेको छ। ऊर्जाको अभावमा यो गतिशील मानव जीवन नीरस र उद्देश्यहीन हुन पुग्छ। ऊर्जा, सभ्यता विकासको क्रममा पत्ता लागेको अति महत्वपूर्ण तत्व हो।
    तर अर्कोतिर कटु यथार्थ के पनि छ भने ऊर्जा जति सस्तो र सरल किसिमले उपलब्ध हुन सक्यो त्यही अनुसार जीवन निर्वाह लागत (Living Costs) कम हुन्छ। जीवन निर्वाह लागत जति कम भयो, सोही अनुसार व्यक्तिको बचत गर्ने क्षमताको विकास भएर राष्ट्रले पनि आर्थिक विकास गर्छ। यसरी कुनै पनि राष्ट्रको आर्थिक विकास त्यहाँ उपलब्ध हुने (सस्तो र नियमित) ऊर्जाको स्थितिमा निर्भर गर्दछ।
    अमेरिकाको आर्थिक विकासमा यहाँ सस्तोमा पेट्रोलियम पदार्थ (Gasoline) उपलब्ध हुने स्थितिले महत्वपूर्ण भूमिका खेलेको छ। पेट्रोलियम पदार्थबाहेक अन्य ऊर्जा पनि अमेरिकाले देशवासीलाई सस्तोमा उपलब्ध गराउन सकेको छ। अमेरिकामात्र यस्तो देश हो जसले संसारभरि यातायात उद्योग एवं सामान्य अमेरिकी उपभोक्तालाई अति नै सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँछ। यो कारणले गर्दा पनि एउटा सामान्य आर्थिक स्थिति (सर्वाधिक न्यून आय) भएको एक अमेरिकीले पनि सजिलै यातायात सुविधा (कार खरीद एवं सञ्चालन) उपभोग गर्न सक्छ वा भनौ कार, ट्रक, भ्यान आदि खरीद गरेर सञ्चालन गर्ने क्षमता राख्छ। पहिलो भेनेजुएला, दोस्रो साउदी अरेबिया, तेस्रो कुवेत, चौथो इजिप्ट, पाँचौ इरान, छैठौ युनाइटेड अरब इमिरेट्स, सातौं नाइजेरिया, आठौं मलेशिया, नवौं रूस गरी प्रेट्रोलिय पदार्थ उत्पादन गर्ने राष्ट्रहरूमा अमेरिका दसौं स्थानमा पर्दछ। संसारमैं बढी पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्रहरूमा अमरिकाको स्थान दसौं भए तापनि ती राष्ट्रहरूको तुलनामा अमरिकाले आफ्ना देशवासीहरूलाई सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकेको छ।  अमेरिकाको लागि यो ठूलो आर्थिक उपलब्धि हो।
तर पेट्रोलियम पदार्थ मात्र अमेरिकाको प्रमुख ऊर्जा श्रोत भने होइन। प्राकृतिक गैस, कोइला, पुनरनवीकरण ऊर्जा, आणविक विद्युतीय शक्ति पनि अमेरिकाका लागि महत्वपूर्ण ऊर्जाका श्रोतका रुपमा रहेका छन्। अमेरिकाले प्राप्त गर्ने, कूल ऊर्जा मध्ये, प्राकृतिक गैसबाट ३१.८%, पेट्रोलियम पदार्थबाट २८%, कोइलाबाट १७.८%, पुनरनवीकरण ऊर्जाबाट १२.७% र न्युक्लिएर इलेक्ट्रिक शक्तिवाट ९.६% ऊर्जा प्राप्त गर्दछ।
    अमेरिकाका धेरै राज्यहरूमा पेट्रोलियम पदार्थ ठूलो परिमाणमा उत्पादन हुन्छ। सर्वाधिक उत्पादन गर्ने राज्यहरूमा (सन् २०१७) भने प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ गरी क्रमशः  टेक्सास, नोर्थ डकोटा, अलास्का, क्यालिफोर्निया, न्यु मेक्सिको राज्यहरू पर्दछन् । यसबाहेक ओक्लहोमा, कोलोराडो, वाएमिंग, लुजियाना, क्यान्सस, युटाह, मोन्टाना, ओहायो, मिसिसिपी, वेस्ट भर्जिनिया, इलिन्वाय, एलाबामा, पेन्सिलभेनिया, मिचिगन, आर्कान्सा, केन्टकी, नेब्रास्का, फ्लोरिडा, इन्डियाना, साउथ डकोटा, नेवादा, टेनेसी, न्युयोर्क, मिजोरी, एरिजोना, भर्जिनियामा पनि पेट्रोलियम पदार्थ ठूलो परिमाणमा उत्पादन हुन्छ। यसरी आन्तरिक माग पूर्ति गर्ने हिसाबले पनि अमेरिकामा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन हुन्छ। अनेक राज्यमा उत्पादन गर्न सकेकोले पनि अमेरिकाले आफ्ना उपभोक्ताहरूलाई सस्तोमा पेट्रोलियम पदार्थ सहजै उपलब्ध गराउन सकेको हो।
    अमेरिकामा, यहाँका नागरिकका लागि सरकारले गैसोलिन (पेट्रोलियम पदार्थ) कतिसम्म सस्तो उपलब्ध गराएको छ भन्ने कुराको एउटा उदाहरण हेरौं। अमेरिकाको सङ्घीय सरकारले न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७ डलर २५ सेन्ट तोकेको छ। अमेरिकामा न्यूनतम पारिश्रमिक पाउने व्यक्तिले पनि आफ्नो एक घण्टाको आम्दानी (पारिश्रमिक) ले १० लिटर पेट्रोल खरिद गर्न सक्छ। अब यस स्थितिको तुलना विकासशील मुलुकहरूसँग वा नेपालको स्थितिसँग गरेर हेरौं। नेपालमा एक व्यक्तिले यदि न्यूनतम ज्याला वा पारिश्रमिक ८ घण्टाको एक कार्य दिनमा ७०० रुपियाँ प्राप्त गरेको छ भने उसको प्रतिघण्टा आम्दानी (पारिश्रमिक) ८८ रुपियाँ हुन आउँछ। यदि नेपालमा पेट्रोलको मूल्य रु ११०। प्रति लिटर छ  भने न्यूनतम पारिश्रमिक पाउने व्यक्तिले आफ्नो एक घण्टाको आम्दानीले केवल एक लिटर पनि पेट्रोल खरिद गर्न सक्तै ।
    नेपालमा न्यूनतम पारिश्रमिक पाउने व्यक्तिको लागि कार खरिद गर्नु महँगो सपना होउसको जीवन कालमा त्यो सपना कहिले पनि साकार हुन सक्तैन। किनभने नेपालमा ऊर्जा (पेट्रोल) अमेरिका भन्दा दस गुणा महँगो छ। अमेरिकामा भने एपउटा गरीब वा निम्न आय भएको व्यक्तिले पनि कार खरीद गर्न सक्छ, किनभने अमेरिकामा ऊर्जा अति सस्तो छ यसबाट पुष्टि हुन्छ कि अमेरिकाले तीव्र गतिमा आर्थिक विकास गर्नुको पछाडिको कारण ऊर्जा सस्तो हुनु हो।
    अमेरिकाको प्रतिव्यक्ति ऊर्जा उपभोग संसारमैं उच्च छ। अमेरिकमा प्रतिव्यक्ति ऊर्जा उपभोग (per capita energy consumption) सन् २०१६ मा ३०२ मिलियन ब्रिटिश थर्मल युनिट थियो। सो अवधिमा विश्वको प्रतिव्यक्ति ऊर्जा उपभोग औसतमा ७६.८ मिलियन ब्रिटिश थर्मल युनिट थियो।
    कुनै पनि देशको आर्थिक विकासको स्थितिलाई, त्यस देशमा हुने प्रतिव्यक्ति ऊर्जा खपतले दर्शाउँछ। जुन देशमा जति बढी ऊर्जा खपत हुन्छ त्यो देशले त्यति नै बढी आर्थिक विकास गरेको मानिन्छ। तर ऊर्जा मात्र आर्थिक विकास मापक विधि भने होइन।
    आर्थिक विकासको मेरुदण्ड सस्तो ऊर्जा हो भन्ने कुरा अमेरिकाले राम्ररी बुझेको हुनाले नै यहाँ ऊर्जालाई सस्तो पार्ने प्रयास मात्र गरिंदैन, भविष्यमा ऊर्जाको मूल्य अझै कसरी कम पार्न सकिन्छ भनी पत्ता लगाउन अनेक खोज एवं अनुसन्धानहरू पनि गरिन्छ। 
    नेपालमा ऊर्जा (जल विद्युत् र पेट्रोलियम पदार्थ) अति महँगो भएको हुनाले न उद्योगले सन्तोषजनक किसिमले विकास गर्न सकेको छ, न व्यापारले नै। ऊर्जा महँगो भएर यातायात लागत पनि चर्को हुन पुगेको छ। यातायात लागत चर्को भएर कम मूल्य का वस्तुहरू जस्तै खानेपानी, तरकारी, फलफूल, दूध, दही, नौनी, सागसब्जी, अन्न आदि पनि नेपाली बजारमा महँगो भएको छ। ती वस्तुहरू यातायात लागत चर्को भएर महँगो भएको हो।
    अमेरिकामा यातायात लागत कम भएको हुनाले कम मूल्यका वस्तुहरू पनि हजारौ माइलसम्म सस्तोमा ओसारपसार गर्न सकिने स्थिति छ। यसले गर्दा कम मूल्यका वस्तुहरू अमेरिकाका विभिन्न बजारमा पुग्दा, हजारौं माइलको यात्रा पार गर्दा पनि महँगो हुन पाउँदैन। अर्कोतिर यातायात लागत चर्को नभएको हुनाले उपभोक्ताहरूले सस्तोमा वस्तु प्राप्त गर्छ। उपभोक्ताले सस्तोमा वस्तु प्राप्त गर्न सक्नु भनेको उनीहरूको क्रय शक्तिमा वृद्धि हुनु हो।
    हुन त अमेरिकालाई धनी बनाउन अन्य तत्वले पनि महत्वपूर्ण योगदान पुर्याएको छ। ऊर्जामात्र महत्वपूर्ण तत्व भने होइन। तर ऊर्जाको भूमिका अमेरिकालाई धनी पार्ने सन्दर्भमा अहम् छ। व्यापार, सेवा, उद्योग, कृषि गरी प्रत्येक क्षेत्रको विकासमा अमेरिकी सस्तो ऊर्जाले महत्वपूर्ण भूमिका खेलेको प्रत्यक्ष्य देख्न पाइन्छ।
    राष्ट्रिय खपतका लागि अमेरिकाले तेल (पेट्रोलियम पदार्थ) आफुलेले मात्र उत्पादन गर्दैन, विदेशबाट खरीद पनि गर्छ। क्यानाडा, साउदी अरेबिया, भेनेजुएला, मेस्किको, कोलम्बियाबाट ठूलो परिमाण तेल आयात गर्छ।
    अमेरिकी ऊर्जाको अर्को एक विशेषता पनि छ। त्यो हो, अमेरिकामा ऊर्जाका विविध स्रोत हुनु। जस्तै प्राकृतिक ग्याँस, कोइला, न्युक्लियर पावर, पुनः नवीकरणीय ऊर्जा, विन्ड मिलजस्ता थुप्रै स्रोत छन् । यी स्रोतहरूको उपयोग घरेलु र व्यापारिक किसिमले गरिएको छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, April 19, 2019

Friday, April 12, 2019

Special Characteristics of American Economy: Mass Production-Article -242


अमेरिका अर्थ व्यवस्थाको विशेषता: बृहत् मात्रामा उत्पादन

अमेरिका यस्तो देश हो जहाँ कुनै पनि अमेरिकावासीले केवल एक घण्टाको परिश्रमिक (आय) ले दुई छाक पुग्ने खानेकुरा सजिलै खरीद गर्न सक्छ र बाँकी ७ घण्टाको परिश्रमिकलाई अन्य खर्च (स्वास्थ्य, सुरक्षा, शिक्षा, आवास, मनोरञ्जन आदि) मा उपयोग गर्न सक्छ। अमेरिकाको सङ्घीय सरकारले न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७ डलर २५ सेन्ट तोकेको छ। कुनैपनि रोजगारदाताले यो तोकिएको पारिश्रमिकभन्दा कम दिन पाउँदैन। तर बढी जति पनि दिन ऊ स्वतन्त्र रहन्छ। अर्थात् प्रतिदिन ८ घण्टे कार्य समयको केवल १२.५ प्रतिशत आम्दानीले कुनै पनि व्यक्तिले एक दिनका लागि आवश्यक पर्ने सामान्य खाद्य पदार्थ सजिलै खरीद गर्न सक्छ।
    यो त भयो न्यूनत्तम आम्दानी गर्ने व्यक्तिको बजेट। न्यूनतम आम्दानी गर्ने व्यक्तिहरूको सङ्ख्या तुलनात्मकरूपमा कम छ र न्यूनतमभन्दा बढी आम्दानी गर्नेहरूको सङ्ख्या ठूलो छ। र यसरी न्यूनतमभन्दा बढी आम्दानी गर्नेहरूले जीवन निर्वाहका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री एवं सेवा खरीद गरेर पनि बचत गर्न सक्छन्।
    कुनै व्यक्तिले केवल एक घण्टाको आम्दानीले मात्र पनि दुई छाकका लागि आवश्यक खाद्य सामग्री खरिद गर्न सक्ने स्थिति अमेरिकाले कसरी प्राप्त गर्यो? अमेरिकी मुद्रा, डलरको क्रय (विनिमय) शक्ति के कति कारणले यति बलियो भयो? अमेरिकी मुद्राको सर्वाधिक सानो एकाइ (एक डलर) ले पनि बलियो विनिमय क्षमता (एक डलरमा पनि विभिन्न वस्तुहरू खरिद गर्न पाउने स्थिति) कसरी प्राप्त गर्यो? अमेरिकी अर्थतन्त्रको कुन विशेषताले अमेरिकामा जीवन निर्वाह लागत यति सस्तो भयो? यी प्रश्न सर्वाधिक महत्वपूर्ण छन्। यी प्रश्नको उत्तरले अमेरिका कसरी विश्वमा सर्वाधिक धनी राष्ट्र बन्न पुग्यो भन्ने प्रश्नको त उत्तर दिन्छ नै, साथै विकासशील राष्ट्रलाई कसरी तीव्र गतिमा आर्थिक विकास गर्न सकिन्छ भन्ने मार्ग दर्शन पनि गराउँछ।
    अमेरिकाले उपरोक्त स्थिति प्राप्त गर्न सक्नु वा विश्वको नै सर्वाधिक धनी राष्ट्र हुन सक्नुमा अमरिकाले गर्ने बृहत् उत्पादनले ठूलो भूमिका खेलेको छ। अमेरिकी अर्थ व्यवस्थाको प्रमुख विषेशताहरूमध्ये एक होअमेरिकाले कुनै पनि वस्तु बृहत् मात्रामा उत्पादन गर्नु वा गर्ने क्षमता राख्नु। अमेरिकाले विभिन्न सामग्री ठूलो परिणाममा उत्पादन गर्छ, खासगरी खाद्यान्न ज्यादै नै ठूलो परिमाणमा उत्पादन गर्छ। यस कारणले अमेरिकाले मुलुकभरि तुलनात्मकरूपमा सस्तोमा खाद्यान्न वा खाद्य पदार्थ बिक्री गर्न सकेको हो।
    उत्पादन लागत कम पार्न अमरिकाले कुनै पनि वस्तु ठूलो परिमाणमा उत्पादन गर्छ। यसैगरी विभिन्न किसिमका औजार, उपकारण, सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो वितरण र बिक्री लागत कम पार्ने प्रयास पनि गर्दछ। अमेरिकामा कतिपय स्थानमा बिक्रेताविहीन बिक्री भइरहेको देख्न सकिन्छ। अर्थात् बिक्री कार्य बिक्री मेशिन  (Vending Machine) ले गरिरहेको हुन्छ र त्यस्ता बिक्रीमेशिनहरूले बिक्री लागत घटाएर उपभोक्तालाई सस्तोमा वस्तु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। बिक्री लागत कम पार्ने यो एउटा सानो उदाहरणमात्र हो। बिक्री लागत कम पार्न गरिएका यस्ता थुप्रै प्रयास सजिलै गरी हेर्न सकिन्छ।
    बृहत् मात्रामा उत्पादन गर्न सकेको हुनाले नै अमेरिकी उत्पादकहरूले विभिन्न किसिमका लागत नियन्त्रण गरेर सस्तो मूल्यमा अनेक उपभोग्य सामग्री बजारमा ल्याउन सक्षम भएका छन्। उत्पादन प्रणालीमा अमेरिकी उत्पादकहरूले ठूलो मात्रामा औजार, उपकरण, मेशिन, प्रविधि एवं आधुनिक सूचना प्रणाली (Modern Information Technology) उपयोग गर्छन् र यी सुविधाहरूले सस्तोमा उत्पादन र बिक्री गर्न सहयोग पु¥याउँछन्। कृषिमा आधुनिक मेशिन, औजार आदिको ठूलो परिमाणमा प्रयोग हुन्छ। कृषि बाली ठूलो परिणाममा उत्पादन गर्न सकेको हुनाले अमरिकाले देशभित्र खाद्यान्नको मूल्य सस्तो पारेर उपभोक्ताहरूलाई उपलब्ध गराउन सक्षम भएको हो। अमेरिकाले ओट (नोर्थ डकोटा), बार्ली (मोनटाना), चामल (आर्कान्सा), सोरघम (क्यान्सस), कटन (टेक्सास), डुरम गहुँ र स्प्रिंग गहुँ (नोर्थ डकोटा), विन्टर गहुँ (क्यान्सस), पराल (टेक्सास), भटमास (आएवा), मकै (आएवा) जस्ता कृषि उत्पादनहरू ठूलो परिणाममा उत्पादन गर्छ। र राष्ट्रिय उपभोगका लागि राखेर बाँकी उत्पादन ठूलो परिमाणमा निर्यात पनि गर्छ। उपभोग्य वस्तु ठूलो परिमाणमा उत्पादन गर्न सकेको हुनाले अमरिकालाई The World's Bread Basketअर्थात संसारको खाद्य भण्डारपनि भन्ने गरिन्छ ।
    तीव्र गतिमा आर्थिक विकास गर्न सफल भएको चीन (Nominal GDP: $12.01 trillion, GDP (PPP): $23.15 trillion) ले विश्वको ठूलो अर्थ व्यवस्था हुने दौडमा कुनै समयमा विश्वका दोस्रो, तेस्रो ठूलो अर्थ व्यवस्था रहेका जापान र जर्मनीलाई उछिनिसकेको छ र अहिले दोस्रो स्थानमा छ। केही दशक पहिलेसम्म पनि विश्वको ठूलो अर्थ व्यवस्था हुने दौडमा चीन निकै पछाडि थियो, आठौं, दसौं स्थानमा थियो। चीनले तीव्र गतिमा आर्थिक विकास गरे तापनि यो दौडमा अमेरिका (Nominal GDP: $19.39 trillion, GDP (PPP): $19.39 trillion) लाई उछिन्न सकेको छैन। र अमेरिकालाई उछिनेर चीन विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने सम्भावना टाढा टाढासम्म देखिंदैन। अमेरिका जस्तो चीनले उत्पादनकुशलता प्राप्त गरे तापनि चीनको सामाजिक अवस्था र राष्ट्रिय आय वितरण अहिले पनि दुई ठूला चुनौतीको रूपमा रहेको छ । यस्तै स्थिति भारतको पनि छ। भारतको थप समस्या अझै के पनि छ भने भारतले अमेरिकाजस्तो कृषिमा व्यापकमात्रामा आधुनिक मेशिन एवं उपकारणहरू र उन्नत प्रविधिको प्रयोग गर्न सकेको छैन। कृषिको सन्दर्भमा, र अमरिकाको तुलनामा, भारत एकातिर भौगोलिकरूपमा सानो छ भने अर्कोतिर भारतमा भूखण्डीकरण (कृषियोग्य भूमि सानोसानो टुक्रमा विभाजित) समस्याले भीमरूप धारण गरेको छ। बहुसङ्ख्यक भारतीयहरूको आयको प्रमुख स्रोत कृषि नै भएकोले कृषियोग्य भूमि सानासाना टुक्रामा विभाजित छ।
    हुनत अमेरिकालाई बृहत् मात्रामा उत्पादन गर्न यहाँ उपलब्ध भूमिको प्रचुरताले पनि सघाएको छ। तर भूमिको प्रचुरता मात्र बृहत् उत्पादनको आधार भन्दै यो भनाइलाई नै पूर्व शर्तको रूपमा मान्ने हो भने रूस (१७.१ मिलियन स्क्वाएर किलोमिटर), ब्रजील (८.५१ मिलियन स्क्वाएर किलोमिटर), अर्जेन्टिना (२.७८ मिलियन स्क्वाएर किलोमिटर), कजाख्स्तान (२.७२ मिलियन स्क्वाएर किलोमिटर), अल्जेरिया (२. ३८ मिलियन स्क्वाएर किलोमिटर) जस्ता भूभागका आधारमा ठूला मुलुकहरू विश्वका ठूला अर्थ व्यवस्थाको दौडमा रहन्थे। तर यिनीहरू यो दौडमा पछाडि छन्। अर्कोतिर तुलनात्मकरूपमा साना देशहरूजापान, जर्मनी, फ्रान्स, बेलायत अगाडि छन्। यस्तो किन भएको होला ? उत्तर सजिलो छकुनै पनि मुलुकलाई धनी बनाउन त्यहाँ बसोवास गर्ने नागरिकहरूको चेतनाको स्तरले ठूलो प्रभाव पारेको हुन्छ। र चेतनाको स्तरमा अमेरिकीहरू अग्र स्थानमा छन्। र अग्रगमन गर्न हरपल तत्पर रहन्छन्।
    अग्रगमन गर्ने आम अमेरिकी मनोविज्ञानले नै अमरिकालाई ठूलो परिमाणमा उत्पादन गरेर उत्पादन लागत नियन्त्र गर्न सघाएको छ।
    अमेरिकामा नयाँ वस्तु (जस्तै चालक रहित कार) को विकास गर्न अनुसन्धानमा लाखौं, करोडौं डलर खर्च गरिन्छ। साथै ती वस्तु कसरी उपभोक्ताहरूलाई सस्तोमा उपलब्ध गराउन सकिन्छ भनेर गम्भीरतापूर्वक विचारसमेत गरिन्छ। अनेक किसिमका अध्ययनअनुसन्धान गरिन्छ। अनावश्यक लागत नियन्त्रण गर्ने उपायको खोजी पनि गरिन्छ।
    उपभोग्य वस्तु सस्तो पारेर सस्तोमा बिक्री गर्ने कार्यलाई अमेरिकी उत्पादकहरूले प्रमुख उद्देश्यको रूपमा लिएका हुन्छन्। आम (अन्य मुलुकका) उत्पादकभन्दा अमेरिकी उत्पादकहरूको मुनाफामनोविज्ञान निकै भिन्न छ। अमेरिकी उत्पादक एवं बिक्रेता (खुला भण्डार) थोरै मुनाफामा तर बढी परिमाणमा बिक्री गरेर अधिक लाभ प्राप्त गर्नमा विश्वास गर्छन् भने बाँकी उत्पादक र खासगरी दक्षिण एशियाली उत्पादकहरू बढी मुनाफा राखेर छोटो समयमा बढी लाभ प्राप्त गर्ने कुरामा विश्वास गर्छन्। यसै कारणले गर्दा दक्षिण  एशियालीहरू बृहत् उत्पदान गरेर सस्तोमा वस्तु उत्पादन गर्नु  आवश्यक ठान्दैनन्।
    अमेरिकी उत्पादक र बिक्रेताहरूले ग्राहकको क्रयशक्तिलाई ध्यानमा राखेर वस्तु एवं सेवाको मूल्य निर्धारण गरेका हुन्छन् वा त्यस्तो गर्ने प्रयास गर्छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकाम प्रकाशित Friday, April 12, 2019