Thursday, March 31, 2022

Bad Impacts of Over Idustrialization-Article-369

 अति उद्योगीकरणले ल्याएको विपत्ति

औद्योगिक क्रान्तिपूर्व वस्तुहरूको उत्पादन गर्दा मेशिन प्रयोग हुन्थेन। मानिसहरू केवल हातले आवश्यक सामान निर्माण गर्थे। हरेक वस्तु हातले निर्माण गर्दा थोरै समयमा ठूलो परिमाणमा उत्पादन सम्भव थिएन। त्यसकारण जे जति उत्पादन वा निर्माण हुन्थ्यो त्यो केवल जीवन निर्वाहका लागि हुन्थ्यो। औद्योगिक क्रान्तिपूर्व उत्पादनका लागि हातको प्रयोग गरिने भएकोले ठूलो परिमाणमा उत्पादन गर्न सम्भव नभएर व्यक्तिहरू धनी हुन कठिन थियो। औद्योगिक क्रान्तिपूर्व धनी र गरीबबीचको दूरी निकै कम थियो। धनीद्वारा गरीबमाथि गरिने शोषणको मात्रा पनि ज्यादै कम थियो।

सन् १७६० मा बेलायतमा औद्योगिक क्रान्तिको सूत्रपात भयो। सन् १७६० देखि १८४० सम्म चलेको त्यो  औद्योगिक क्रान्तिले बेलायतलगायत युरोपका अन्य मुलुकहरूको आर्थिक स्थिति निकै बलियो पारिदियो। अमेरिकाले पनि औद्योगिक क्रान्तिको ठूलो फाइदा उठायो। बेलायतबाट बसाइँ सर्दा उद्योग व्यवस्थापनको विशेष अनुभव लिएर आएका बेलायतीहरूले उद्योग सञ्चालन गरे र अमेरिकालाई धनी तुल्याए।

यही कालमा बेलायतमा भापबाट चल्ने इन्जिन भएको रेलको आविष्कार र व्यापक प्रयोग भयो। कपडा उत्पादन, फलाम उत्पादन आदिमा मेशीन प्रयोग गदाए उत्पादन सजिलो भयो र छोटो समयमा ठूलो परिमाणमा अनेक वस्तु उत्पादन गर्न सम्भव भयो। कारखाना प्रणाली र व्यवस्थित वितरणले ठूलो परिमाणमा उत्पादन त सम्भव भयो नै, वितरण पनि अनेक स्थानमा गर्न सकियो। परिणमस्वरूप बेलायत र युरोपका अन्य देशहरूमा धनढ्यहरूको सङ्ख्या ह्वात्तै बढ्यो।

उपनिवेश स्थापना गर्न दक्षिण एशिया पुगेका अङ्ग्रेजहरूले मुख्यगरी भारतमा औद्योगिक क्रान्तिको विशेष लहर पुर्याए। कुनै समय यस्तो थियो जब औद्योगिक क्षेत्रमा भारत चीनभन्दा निकै अगाडि थियो। अंग्रेजहरूले ल्याएका अनुभवले अहिलेको भारत (त्यस बेलाका अनेक देशहरू) लाई औद्योगिक विकासतर्फ अग्रसर हुन निकै सहयोग पुर्यायो।

अहिले वर्तमान विश्वमा, औद्योगिक क्षेत्रले चरम विकास गरेको छ। अहिले औद्योगिक उत्पादनको क्षेत्रमा मेशीनको प्रयोगका साथै प्रविधि पनि निकै उपयोग हुन्छ। अहिले उत्पादन र वितरण अभूतपूर्व किसिमले सरल एवं प्रभावकारी भएको छ।

यस आलेखको उद्देश्य भने अति उद्योगीकरणले मानव जीवनमा कति सकारात्मक र कति नकारात्मक प्रभाव पार्यो त्यसबारे चर्चा गर्नुरहेको छ। उद्योगीकरणले हाम्रो जीवनमा सकारात्मक प्रभाव पारेको सजिलै देखिन सक्छ, आउनुहोस् यसले पार्ने प्रायः अदृश्य तर नकारात्मक प्रभावबारे चर्चा गरौं।

विखण्डित परिवारः

औद्योगिक क्रान्तिपछिको स्थिति विशेष किसिमको देखियो। विभिन्न देशमा ठूला–ठूला शहर स्थापना भए। कृषि कार्यतर्फ व्यक्तिहरूको आकर्षण घटेकोले शहरहरूमा ठूलो सङ्ख्यामा बसोवास हुन थाल्यो। शहरहरूमा उद्योग र व्यापार ठूलो परिमाणमा हुने भएकोले रोजगारको खोजी गर्दै मानिसहरू गाउँ छाडेर शहरतिर पलायन हुन थाले। यसरी उदाहरणका लागि, कुनै एउटै परिवारका चार सदस्य रोजगारका लागि चार भिन्न भिन्न शहरमा पुगे। कुनै एक परिवारका चारजना रोजगारका लागि चार पृथकपृथक शहरमा पुग्नु परेकोले पारिवार नराम्ररी विखण्डित भयो। कृषि युगमा भने परिवारका सबै सदस्य मिलेर कृषि कार्य सम्पन्न गर्नुपर्ने भएकोले कृषि युगमा दर्दनाक किसिमले परिवारहरू विखण्डित हुने स्थिति थिएन। अति उद्योगीकरणले अहिले विश्वभरि परिवारलाई अति दुःखद किसिमले विखण्डित पारिदिएको छ। अहिले एउटै परिवारका सबै सदस्य एउटै शहरमा बस्नु प्रायः असम्भव हुन पुगेको छ।

पारिवारिक कलहः

कृषि युगमा परिवारका सदस्यहरू मिलेर सामूहिक उत्पादन गर्दथे। उत्पादनको वितरण वा उपभोग उनीहरूबीच समान किसिमले हुन्थ्यो। तर मानव सभ्यताले औद्योगिक युगमा प्रवेश गरेपछि एउटै परिवारका सदस्यहरू आफ्नो बौद्धिक क्षमता अनुसार फरक–फरक किसिमले आय आर्जन गर्न सके। एउटै परिवारमा, त्यसका सदस्यहरू फरक–फरक किसिमले आय आर्जन गर्न सक्ने स्थितिमा पुगेको हुनाले फरक–फरक आम्दानीले गर्दा परिवार अनेक कलहमा फसे। एउटै परिवारमा कम आय भएका सदस्य बढी आय भएका सदस्यहरूबाट अपहेलित भएको महसूस गर्न बाध्य भए। यो स्थिति खासगरी दक्षिण एशियामा बढी देखियो।

अनावश्यक वस्तु एवं सेवा उत्पादनः

अहिले यो अति औद्योगिक युगमा केवल त्यस्ता वस्तु उत्पादन गर्न उत्पादकहरूले बढी जोड दिइरहेका छन् जसमा उनीहरूलाई बढी मुनाफा होस्। कुनै वस्तुले उपभोक्ताहरूको हित गर्नुभन्दा त्यो वस्तुले उत्पादकलाई कसरी बढी मुनाफा हुन्छ, त्यसतर्फ उत्पादकहरूको ध्यान केन्द्रित हुन पुगेको छ। यो अति डरलाग्दो स्थिति हो। यस कारणले गर्दा अहिले बजारमा स्वस्थ खाद्यान्नभन्दा उत्पादक र बिक्रेतालाई बढी मुनाफा हुने खाद्यान्न वा वस्तुहरू बिक्रीमा राखिएको पाइन्छ। अबको केही दशकमा धेरै जमीन उपयोग गरेर थोरै फल्ने र उत्पादकलाई मुनाफ कम हुने वस्तुहरू– जस्तै जीरा, धनिया, मेथी, तोरी आदिको उत्पादन कम हुनेछ वा त्यसको मूल्य अति चर्को हुनेछ। यसविपरीत कम जमीन उपयोग गरेर धेरै फल्ने र उत्पादक एवं बिक्रेताहरूलाई बढी मुनाफा हुने वस्तुहरू बिक्री हुनेछन् । जस्तै कोभी, फर्सी, भन्टा आदिको उत्पादन बढी हुनेछ भने करैला, झिगुनी, भिन्डी आदि हराएर जानेछन्।

यसैगरी बजारमा उपभोक्ताहरूलाई आवश्यक नभएका तर उत्पादकलाई बढी नाफा हुने वस्तुहरू–जस्तै स्मार्ट फोन,  स्मार्ट वाच, आइपैड, टेबलेट बजारमा ठूलो परिमाणमा देखा पर्नेछन्। यी वस्तुहरू प्राप्त गर्न एकातिर उपभोक्ताहरूमा लालसा ह्वात्त बढ्ने छ भने कम आय भएका केही व्यक्तिहरू यस्ता सामान खरीद गर्न अनेक आर्थिक अपराध गर्न समेत पनि तत्पर हुनेछन्।

वातावरणीय ह्रासः

सन् २०१९ मा आरम्भ भएको कोभिड–१९ बाट संसारभरिमा अहिलेसम्म जति मानिसको मृत्यु भयो त्योभन्दा बढी मानिसको मृत्यु वातावरणमा आएको ह्रासले गर्दा भएको छ। अहिले संसारका ठूला शहरहरू वायु प्रदूषणले पीडित छन् । लाहोर (पाकिस्तान), गाजियाबाद, (भारत), दिल्ली (भारत), आग्वहुसकालीइन्तेज (मेक्सिको), लखनऊ (भारत), मुजफ्फरनगर (भारत), ढाका (बङ्गलादेश), पेशावर (पाकिस्तान) र हाजीपुर (भारत) विश्वका क्रमशः प्रथम देखि दशौं अति प्रदूषित शहर हुन पुगेका छन्। भनिन्छ दिल्लीमा बस्ने व्यक्तिमध्ये चुरोट नखानेले पनि वायु प्रदुषणले गर्दा दिनको २० देखि २५ चुरोट खाए सरह (नोक्सान) हुन्छ।

कसरी विश्वभरि वायु प्रदूषित भएको होला?

यातायातका साधन (हवाईजहाज, मोटर, पानीजहाज) तथा उद्योग सञ्चालनका लागि ठूलो परिमाणमा फोसिल फ्युल (पेट्रोलिय पदार्थ, कोइला, प्राकृतिक ग्याँस आदि) को प्रयोग हुन्छ। बढीभन्दा बढी वस्तु उत्पादन गरेर ती सामग्री बजारसम्म पुर्याउन उद्योग र यातायातका साधनहरूको निकै प्रयोग हुन्छ। अर्कोतिर बढी मुनाफा गर्न व्यापारीहरूले ठूलो परिमाणमा फोसिल फ्युल उपयोग गर्छन्। विश्वभरि भएका अनेक ठूला–ठूला अनुसन्धानबाट के पत्ता लागेको छ भने फोसिल फ्युलको उपयोगले गर्दा विश्व वातावरणको ह्रास डरलाग्दो किसिमले भएको छ। अति उद्योगीकरणले हाम्रो जीवन पहिलेभन्दा निकै सरल त भएको छ र केही व्यक्ति करोडौं कमाउन र अति धनी बन्न सफल भएका छन्। तर यो स्थितिसम्म पुग्न करोडौं व्यक्तिहरूको ज्यान गएको छ।

के अति उद्योगीकरणले हामीलाई यथार्थमा अति फाइदा भएको छ? अब यो महत्वपूर्ण प्रश्नको उत्तर खोजौं। अति उद्योगीकरणले हामीले जति पाएका छौं त्योभन्दा बढी गुमाएका छौं। अति उद्योगीकरणले गर्दा नेपाल, भारत, बङ्गलादेश, पकिस्तानजस्ता देशमा परिवारहरू अभूतपूर्व किसिमले विखण्डित भएका छन्। आगामी वर्षहरूमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानजस्ता मुलुकको एकचौथाई जनसङ्ख्याको बसोवास विदेशमा हुने स्थिति आउन सक्छ।

अति उद्योगीकरणले मानिसमा लालसा यति बढी भएको छ कि जस्तोसुकै राम्रो–नराम्रो काम गरेर पनि व्यक्तिहरू अर्ध एवं पूर्ण विलासी वस्तु खरीद गर्न लालायित छन्। केवल सुवियायुक्त जीवन बिताउने लालसामा अहिले, नेपालको सन्दर्भमा, ठूलो सङ्ख्यामा मानिस आफ्नो परिवार, गाउँ, समाज र संस्कृति परित्याग गरेर विदेश पलायन हुँदैछन्।

अति उद्योगीकरणको सर्वाधिक ठूलो अवगुण त के छ भने यसले हामीलाई ‘नगद संस्कृतिमा बाँच्ने’ पारिदिएको छ। हामी आफू अब केही पनि उत्पादन नगर्ने र आवश्यक सबै सामानहरु बजारबाट खरीद गर्ने स्थितिमा पुगेका छौं। प्रायः अहिले हामी, विश्वभरि नै, केवल श्रम मात्र उत्पादन गर्छौं। आफूले उत्पादन गरेको त्यो श्रम बेचेर नगद प्राप्त गर्छौं। प्राप्त नगदले जीवन निर्वाहका लागि अवश्यक पर्ने अनेक कुराहरू खरीद गर्छौं। आफूलाई आवश्यक पर्ने न्यूनतम वस्तुसम्म उत्पादन गर्ने स्थितिमा छैनौं। हामी अहिले डरलाग्दो किसिमले नगदमा निर्भर हुने स्थितिमा पुगेका छौं। के यो स्थिति सुखद हो?






Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, March 25, 2022

https://eprateekdaily.com/2022/03/24/32285/



Saturday, March 19, 2022

Building Construction in USA and Costing-Article-368

 अमेरिकामा भवन निर्माण: किन सस्तो?

आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ भनी अमेरिकामा आकाश छुने र ठूला–ठूला घरहरू छन् भनी दर्शाउनका लागि गर्न थालिएको होइन। अमेरिकामा कसरी सस्तो घर निर्माण गर्न सकिन्छ त्यसबारे चर्चा गर्न अमेरिकाको भवन निर्माण उद्योगको चर्चा गर्न थालिएको हो।

अमेरिकामा मुख्यगरी आवासीय र व्यापारिक गरी दुई किसिमका भवन निर्माण गरिएको पाइन्छ। यस आलेखमा भने आवासीय भवन र तिनको निर्माण विधिबारे चर्चा गरिने छ।

दक्षिण एशियामा भवनहरू प्रायः आर्थिक समृद्धि एवं गर्व प्रस्तुत गर्नका लागि निर्माण गरिएको हुन्छ। वासको आवश्यकता घर निर्माणको प्रमुख कारण भए तापनि घर निर्माणकर्ताले घरको सजावटलाई आफ्नो इज्जतसँग जोडेको हुन्छ। यो कारणले गर्दा भवन निर्माण गर्नेहरूले घरभित्र अनेक किसिमका भौतिक सुविधा जडान गर्नु, घरलाई स्वस्थकर बनाउनुभन्दा बाहिरबाट हेर्दा अत्यन्तै सुन्दर एवं अन्यभन्दा भिन्न होस् भन्ने कुरालाई बढी प्राथमिकता दिएका हुन्छन्। एउटा उदाहरण प्रस्तुत गरौं। काठमाडौंको स्थिति निकै सान्दर्भिक हुने भएकोले काठमाडौंलाई उदाहरणको रूपमा प्रस्तुत गर्दैछु। काठमाडौं ठण्ढा ठाउँ हो। यहाँ घर निमाण गर्दा निर्माण सामग्री यस्तो प्रयोग गर्नुपर्छ जसले घरलाई न्यानो परोस्। अर्थात् घर निर्माणमा काठको प्रयोग बाहिर एवं भित्र गरेमा घर जाडोको समयमा न्यानो हुन्छ। तर काठमाडौंमा घर निर्माण गर्दा सिमेन्ट र मार्बलको यति बढी प्रयोग हुन्छ कि जाडोको समयमा काठमाडौंका घरहरू चीसो हुन पुग्छन्।

घर निर्माणको यस्तै स्थिति तराईतिर पनि देख्न सकिन्छ। तराइमा गर्मीको मौसम लामो कालसम्म रहने गर्दछ। गर्मी लामो समयसम्म रहने हुनाले यहाँ घरहरू शीतल हुन आवश्यक छ। तर स्थिति विपरीत छ। तराईतिर र मुख्य गरी वीरगंज, जनकपुर, विराटनगर जस्ता शहरहरूमा घर निर्माण गर्दा सिमेन्टको प्रयोग बढी मात्रामा हुन्छ जसले गर्दा घर गर्मी याममा झनै गरम हुन्छ। यदि घर निर्माण गर्दा तराईतिर काठको प्रयोग हुने हो भने काठले घरहरू शीतल पार्छ, साथै काठ पुनः नवीकरणीय स्रोत भएकोले पुनःपुनः प्रयोग गर्न सकिन्छ। तर सिमेन्ट पुनः नवीकरणीय स्रोत होइन। सिमेन्ट उत्पादन गर्दा नवीकरण गर्न नसकिने गरी नष्ट गर्नुपर्ने हुन्छ। अर्थात् सिमेन्ट उत्पादन गर्न प्रयोग हुने ढुङ्गा र बालुवा पुनःपुनः उत्पादन गर्न सकिंदैन। त्यति मात्र होइन, खोलाबाट बढी बालुवा र ढुङ्गाको दोहन गर्दा प्राकृतिक सन्तुलन बिग्रेर बाढी पैरौले बस्तीहरूलाई सताउने स्थिति उत्पन्न हुन्छ। यस कुराको पुष्टि चुरे पर्वत शृङ्खला अहिले कुन स्थितिमा छ, त्यसबाट हुन्छ।

अमेरिकामा एउटा घर निर्माण गर्दा त्यो घरलाई बाहिरबाट अति सुन्दर देखाएर त्यसबाट भवन स्वामीले गौरवको अनुभूति गर्ने लक्ष्य राख्नुको सट्टा घरलाई भित्रबाट अनेक सुविधाले युक्त पार्ने प्रयास गरिएको हुन्छ। अमेरिकामा आवासीय घरहरू निर्माण गर्दा घरको बाहिरी रूपले खासै महŒव पाएको हुँदैन। कतिपय आवासीय भवनहरू सलाईका बट्टाजस्ता देखिन्छन्। यसैगरी घरलाई अति स्वस्थकर पार्न अमेरिकमा घर निर्माण गर्दा काठको प्रयोग ठूलो परिमाणमा गरिन्छ। एउटा आवासीय घर निर्माण गर्दा त्यसमा प्रयोग गरिएका निर्माण सामग्रीमध्ये लगभग ८० प्रतिशत काठ हुन्छ। अमेरिकाले ठूलो परिमाणमा काठ उत्पादन गर्छ। अमेरिकी भवन उद्योगले ठूलो परिमाणमा काठ प्रयोग गर्छ।

अमेरिकामा भवन निर्माण तुलनात्मकरूपमा विश्वमैं सस्तो मानिन्छ। अमेरिकामा सुविधा र स्वस्थकर भवन निर्माण महँगो छैन। यो कारणले गर्दा पनि अमरिकामा गरीबहरूले पनि आफैंले घर निर्माण गर्न सकेका छन् वा सुविधायुक्त घरमा बस्न पाउने अवसर प्राप्त गरेका छन्। अमेरिकामा बेघरबारहरूको सङ्ख्या तुलनात्मकरूपमा कम छ। अर्थात् अमेरिकामा झोपडपट्टी छैन बराबर छ। भारतको धारावीलाई संसारको नै सर्वाधिक ठूलो जनसङ्ख्या बसोवास गर्ने झोपडपट्टीको रूपमा लिने गरिन्छ। भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित धारावी झुपडपट्टी (स्थापना सन् १८८२) को क्षेत्रफल केवल २.१ स्क्वायर किलोमिटर रहेको छ तर त्यति सानो ठाउँमा करिब १० लाख मानिसको बसोवास छ। तर अमेरिकामा त्यस्तो स्थिति छैन।

यहाँ प्रश्न उठ्छ, अमेरिकामा भवन निर्माण तुलनात्मक किसिमले कसरी सस्तो भएको होला? आउनुहोस् यस प्रश्नको उत्तर खोजौं।

अमेरिकामा भवन निर्माणमा स्तरीकरण वा प्रमाणीकरण (Standardization) को व्यापक प्रयोग हुन्छ। प्रमाणीकरणको अर्थ हो, हरेक वस्तुको आफ्नो निश्चित तोकिएको आकार, रङ्ग, डिजाइन हुनु। जस्तै जुत्ता उत्पादन गर्दा उत्पादकले जुत्ता लगाउने व्यक्तिको खुट्टाको आकार अनुसार जुत्तामा नम्बर राखेको हुन्छ। जस्तै ३ देखि १२ वा सो भन्दा बढी नम्बरका जुत्ताहरू हुनु।

अमेरिकामा आवासीय घरहरूको छाना निर्माणमा प्रयोग हुने प्लास्टिकको वस्तुको आकार समान हुन्छ। जसले पनि घर निर्माण गर्दा त्यही आकारको प्लास्टिकको छाना प्रयोग गर्छ। सबैले समान किसिमको वस्तु घरको छाना निर्माणमा प्रयोग गर्ने भएकोले कहिले काहीं आवसीय स्थानहरूमा आफ्नो घर कुन हो छुट्याउन पनि कठिन हुन्छ। बाहिरबाट हेर्दा सबै घर एकै किसिमका देखिने हुन्छन्। प्रायः सबै घरहरूमा प्रयोग हुने झ्यालको आकार पनि एउटै किसिमको हुन्छ। पर्दाको साइज पनि लगभग एकै प्रकारको हुन्छ। भान्सामा प्रयोग हुने ग्याँस वा बिजुलीको चुल्होको आकार पनि एउटै हुन्छ। यसैगरी माइक्रो वेभ चुल्होहरूको आकार पनि एउटै हुन्छ। घर निर्माणमा प्रयोग हुने विभिन्न सामग्रीहरू एउटै नाप वा प्रमापमा उत्पादन गर्ने भनी उत्पादकहरू माझ एक किसिमको समझदारी बनेको हुन्छ। भवन निर्माणमा प्रयोग हुने अनेक सामग्री भए तापनि तिनीहरूलाई एउटा तोकिएको आकार, रंग, डिजाइनमा उत्पादन गर्ने एक किसिमको प्रचलनद्वारा सहमति भएको हुनाले सबै उत्पादकहरूले त्यसै अनुरूप भवन निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्छन्। र यसले गर्दा ती सामग्री उत्पादन गर्न उत्पादकहरूलाई उत्पादन लागत कम पर्न जान्छ। अर्थात् उत्पादन गर्दा समान आकार, रंग आदि प्रयोग गरिएकोले सामग्री उत्पादन लागत कम हुन पुग्छ। र यसरी भवन निर्माण कम्पनीहरूले सस्तोमा (उत्पादन लागत सस्तो भएकोले) निर्माण सामग्री खरीद गर्न पाएकोले सस्तोमा घर निर्माण गर्न सक्छन् र क्रेताहरूलाई पनि सस्तोमा उपलब्ध गराउन सक्छन्।

अमेरिकामा आवासीय भवन निर्माणमा प्रमापीकरणको व्यापक मात्रामा प्रयोग हुन्छ र यो कारणले गर्दा नै तुलनात्मकरूपमा विश्वमा नै भवन निर्माण (सुविधायुक्त– गरममा शीतल र जाडोमा न्यानो) सस्तो हुन पुगेको हो। अमेरिकामा जस्तोसुकै आवासीय भवन (सानो वा ठूलो) मा पनि समान किसिमका यन्त्र एवं उपकरणहरू घरलाई तातो वा चीसो पार्नका लागि प्रयोग गरिएको हुन्छ। यसरी समान किसिम (आकार, प्रविधि, स्वरूप आदि) का उपकरण एवं यन्त्रहरूको प्रयोग गरिने भएकोले र ती सबै ठाउँ (कारखाना) हरूमा एकै किसिमले उत्पादन हुने भएकाले तिनको उत्पादन लागत कम हुन आउँछ।

नेपाल वा दक्षिण एशियामा भने भवन निर्माणको स्थिति पृथक छ। दक्षिण एशियामा भवन निर्माण गर्दा आफ्नो इच्छा अनुसार फरक–फरक किसिमको निर्माण सामग्री र फरक–फरक प्रमाप प्रयोग गरिने हुँदा निर्माण लागत बेपत्ता महँगो हुन्छ। यसले गर्दा पनि दक्षिण एशियामा अनेक सुविधायुक्त घर बनाउनु गरीबका लागि सुनौलो सपना मात्र हुन्छ।

अमेरिकामा भवन निर्माण सस्तो हुनुको अर्को महत्वपूर्ण कारण भवन निर्माण कार्य पेशेवर व्यक्ति वा संस्था (ज्यmभ दगष्मिभचक) द्वारा हुनु हो। पेशेवर व्यक्तिमा भवन निमार्णसम्बन्धी वर्षौंको अनुभव हुन्छ र यो अनुभवले उनीहरूलाई सस्तोमा घर निर्माण गर्न सहयोग गर्छ। भवन निर्माण गर्ने पेशेवर व्यक्ति वा संस्थाहरूको प्रमुख कार्य नै कसरी सस्तोमा सुविधायुक्त घरहरू निर्माण गर्न सकिन्छ भन्ने अनेक उपाय पत्ता लगाउनु हो।

नेपालमा घर निर्माण गर्न पेशेवर व्यक्तिहरूको सहयोग लिने परिपाटी नभएको र घरधनी स्वयं घर निर्माणमा सक्रिय हुनुपरेकोले पनि भवन निर्माण महँगो हुन पुगेको हो।

अमेरिकामा घरधनी स्वयंले, घर निर्माण गर्दैन। उसले पेशेवार कम्पनीहरूले निर्माण गरिदिएको घर खरीद गर्छ। अर्थात् अमेरिकामा घर वस्तुसरह खरीद–बिक्री हुन्छ।  पलङ्ग वा टेबल खरीद गरिएझैं घर खरीद गरिन्छ। आफ्नो आवश्यकता अनुसार रोजेर घर खरीद गर्ने कार्य उपभोक्ताहरूबाट हुन्छ।

गरीबीबाट मुक्ति पाउने धेरै उपायहरू हामीले अमेरिकाको अनुभवहरूबाट सिक्न सक्छौं। र सिक्नु हाम्रो लागि हितकर पनि हुन्छ। धनी र विकसित मुलुकहरूबाट हामीले सिक्नुपर्ने कुराहरू धेरै छन्। उत्पादन लागत कसरी कम पार्न सकिन्छ भन्ने हामीले धेरै कुरा सिक्न बाँकी छ।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, March 11, 2022

https://eprateekdaily.com/2022/03/10/31831/

Friday, March 4, 2022

Our Leadership and National Economy: Article -367

 देशको आर्थिक विकासभन्दा नेताहरूको स्वार्थ ठूलो

एमसिसी सहयोग अन्ततः पास भयो। तर एमाले, एकीकृत समाजवादी, माओवादी एकता केन्द्रलगायत अन्य राजनीति दलहरूले एमसिसी सम्बन्धमा जुन द्वैध चरित्र देखाए, त्यसबाट यो कुरा सप्रमाण प्रस्ट भयो कि यी नेताहरूलाई केवल आफ्नो स्वार्थको चिन्ता छ, कुर्सीको चिन्ता छ, पदको चिन्ता छ, तर देशको बिग्रँदै गएको अर्थ व्यवस्थाको चिन्ता छैन। गएको केही वर्षदेखि यी नेताहरूले एमसिसीलाई आफ्नो स्वार्थ अनुसार व्याख्या गरिरहेका थिए, जुन कुरा जनताले बुझ्नुपर्ने हो।

एमसिसीलाई नेताहरूले आफ्नो स्वार्थ अनुसार व्याखा, अपव्याख्या गरेको राम्रो जानकारी जनतालाई हुँदाहुँदै पनि किन यस सहयोगको काठमाडौका सडकहरूमा विरोध भयो? शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि ईंटा र ढुङ्गा हान्ने काम किन भयो? एमसिसीको विरोध गर्न काठमाडौंका सडकहरूमा पुगेका जुन राजनैतिक दलका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए, तिनै दलका नेताहरूले एमसिसी पास गरे। एमसिसी पास भएकोमा एकअर्कासँग खुशी साटासाट गरिरहेका छन्। कस्तो अचम्मको नाटक!

नेताहरूको यस्तो द्वैध चरित्रले पनि कहीं देशको आर्थिक विकास हुन्छ? यथार्थमा भन्ने हो भने यी नेताहरू र यी नेताका कार्यकर्ताहरू, आर्थिक विकासका विरोधी हुन्। यिनीहरूको स्वार्थी व्यवहारले यो कुराको पुष्टि गर्दछ। र नेपालको आर्थिक विकासको लागि यो एउटा ठूलो समस्या हो। आर्थिक विकासको लागि निर्माण गरिने योजना र प्राप्त हुने सहयोग उपर नेताहरू एकमत हुनुको सट्टा आआफ्नो स्वार्थ र फाइदा अनुसार सहयोगको व्याख्या गर्ने हुनाले नेपालको आर्थिक विकास सुस्त हुन पुगेको हो। नेताहरूको रवैया यस्तै रहने हो, आउने निर्वाचनद्वारा यी नेताहरू विस्थापित नहुने हो भने नेपालको आर्थिक प्रगति अर्को पचास वर्षसम्म पनि सम्भव देखिंदैन।

नेताहरूको स्वार्थी व्यवहारको यो नाटक एकाङ्की होइन। यसका अनेक अङ्क छन्, जुन भविष्यमा देखिने छ। अन्य देशहरूबाट प्राप्त हुने अनुदान तथा सहयोगउपर पनि यी राजनैतिक दलहरूले राजनीति गर्नेछन्। नेताहरूले नै नेपाललाई गरीब बनाएका हुन्। ठूल्ठूला योजनाहरूमा लगानी गर्न नेपालसँग पूँजी छैन। उन्नत प्रविधि पनि छैन। प्रशिक्षित एवं कुशल जनशक्ति पनि छैन। यी कुराहरूको लागि नेपालले अन्य अन्तर्राष्ट्रिय सङ्घ, संस्था एवं राष्ट्रहरूको सहयोग अनिवार्यरूपमा लिनुपर्ने हुन्छ। भोलिका दिनमा यस्तै किसिमका किसिमका आर्थिक सहयोग लिनुपर्ने भएमा राजनीतिक दलका नेताहरूले ती सहयोगलाई आआफ्नो स्वार्थ अनुसार व्याख्या गर्नेछन्, सहयोगलाई नेपालको सार्वभौमसत्ता उपर हस्तक्षेप भएको तर्कहरू पेश गर्दै त्यो सहयोग जहाँबाट आएको हो त्यतै जाने वातावरण सृजना गर्नेछन्। यस्तो अवश्य हुनेछ।

साधन र स्रोतको हिसाबले भने नेपाल गरीब राष्ट्र होइन। दुई ठूला देश चीन र भारतबीच अवस्थित भएकोले नेपाललाई ठूला–ठूला अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सहज पारिदिएको छ। अहिले नेपालीहरू ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका छन्। नेपालले राम्रो परिमाणमा रेमिट्यान्स प्राप्त गरिरहेको छ। नेपालले प्राप्त गरेको रेमिट्यान्सलाई मात्र पनि राम्ररी उपयोग गर्ने हो भने देशभित्र अनेक उद्योग स्थापना गर्न सकिन्छ। यस्तो अनुकूल स्थिति हुँदाहुँदै पनि नेपालको आर्थिक विकास नहुनुको प्रमुख कारण नेताहरूको द्वैध चरित्र र उनीहरूले राष्ट्रको आर्थिक हितभन्दा आफ्नो स्वार्थलाई माथि ठान्नु हो।

झूटको खेती

नारायणकाजी श्रेष्ठ, भीम रावल, झलनाथ खनालजस्ता अनुभवी नेताले पनि एमसिसीको विरोध गरे। एमसिसी स्वीकार गर्दा नेपालको अस्तित्व नै सङ्कटमा पर्ने कुरा गरे। अप्रत्यक्षरूपमा नेपाल अमेरिकाको इशारामा चले चीन रुष्ट भएर क्षेत्रीय सन्तुलन बिग्रिने वा नेपाल द्वन्दमा फस्ने कुरा गरे। एमसिसी पास भएको छ। अब हेरौं के हुन्छ! यी नेताहरूले भनेझैं नेपाल कस्तो द्वन्द्वमा फस्ने हो हेर्दै जाउँ। हेर्दै जाउँ, नेपालले एमसिसी पास गरेपछि नेपालका सडकहरूमा अमेरिकी युद्धपोतहरू देखा पर्छन् कि पर्दैनन्। अमेरिकी सेनाले नेपालमा गश्ती गर्छ कि गर्दैन।

यी नेताहरूले एमसिसी आर्थिक सहयोग हो भन्ने कुरा राम्ररी बुझेका छन्। तर आफ्नो राजनीतिक फाइदाका लागि यसको अपव्याख्या गरिरहेका छन्। प्रश्न एससिसीको मात्र होइन। भोलिका दिनमा विभिन्न राष्ट्रबाट अन्य सहयोग आउँदा यी नेता र यिनीहरूले उचालेका कार्यकर्ताहरूको व्यवहार कस्तो हुन्छ त्यो महत्वपूर्ण कुरा हो। यसैगरी राष्ट्रको आर्थिक विकासका लगि महत्वपूर्ण योजनाहरू कार्यान्वयन गर्दा यी नेताहरू एकमत हुन्छन् कि हुँदैन भन्ने कुरा हो।

आफ्नो स्वार्थलाई राष्ट्रियतासँग जोडेर आफ्नो स्वार्थको रोटी पकाउने नेताहरूको व्यवहारलाई जनताले राम्ररी बुझ्नुपर्छ। नेपालको भौगोलिक अखण्डता अमेरिकाभन्दा चीन र भारतको व्यवहारसँग जोडिएको छ। चीन र भारतको नेपालसँग सिमाना जोडिएकोले नेपालको सीमा विवाद चीन र भारतसँग हुने स्थिति छ। सीमा विवाद छ पनि। अमेरिकाले नेपालको अस्मितामाथि आँच पुर्याउनु टाढाको कुरा हो। आफ्नै घरेलु समस्यामा जेलिएको अमेरिका नेपालमा सेनाका साथ प्रवेश गर्ने सम्भावना शून्य बराबर छ। तर केही नेताहरू एमसिसीको स्वीकृतिले नेपालमा अमेरिकी सेना प्रवेश गर्ने हल्ला गरिरहेका छन्। नेताहरूले यस्तै हावादारी कुरा गरिरहने हो भने भोलिका दिनमा नेपाल कमजोर भएर उल्टो चीन वा भारतका सेना नेपाल प्रवेश गर्ने स्थिति हुन सक्छ। नेताहरूले यस्ता झूटको खेती गर्नुहुँदैन।

हामी अमेरिकी खेमामा जानुपर्छ भनेको होइन। आफ्नो देशको पूँजीले पुग्छ भने एमसिसी सहयोग नलिंदा हुन्छ। तर सहयोग लिने नै हो भने एमसिसी किन नलिने? रणनीतिक दृष्टिले पनि हाम्रो सम्बन्ध अमेरिकासँग सुखद हुनु राम्रो कुरा हो। हामीले अमरिकासँग सम्बन्ध बिगारे, भोलि हामीलाई भारत वा चीनले दुःख दिए कसलाई गुहार्ने? नेपाललाई भारतले दुःख दिएको अनेक घटनाहरू छन्। र ती घटनाहरूले नेपाललाई दिएको घाउ पनि ताजा नै छ। यसैगरी चीन पनि आक्रामक हुँदै गएको छ। हङकङमा भएको प्रेस स्वन्त्रता आन्दोलनलाई चीनले निर्ममतापूर्वक दबाएको छ। ताइवानप्रति चीनको व्यवहार झन्झन् कटुतापूर्ण हुँदै गएको छ। विभिन्न टापूहरूलाई लिएर जापानसँग चीनका अनेक विवादहरू छन्। सीमा वारपार विवादमा चिनियाँ सैनिकहरूले भारतीय सैनिकहरूलाई कुटेर मारेको दृश्य हामीले अहिलेसम्म पनि बिर्सिन सकेका छैनौं। आफ्नो सिंझ्याङ प्रान्तमा चीनले ठूलो मात्रामा मानवाधिकार हनन गरेको आरोप खेपिरहेको छ।

अब आउनुहोस् नेताहरूले बोल्ने झूठको अर्को उदाहरण हेरौं। नेपालको आर्थिक विकास केवल समाजवादले हुन्छ। त्यसकारण हामी समाजवादमा विश्वास गर्छौं। नेपालको आर्थिक विकास र देशमा सामाजिक न्यायको स्थिति समाजवादी अर्थ व्यवस्था लागू गरेर मात्र गर्न सकिन्छ। यी कुराहरू पनि नेताहरूले बोल्ने झूठ हो। यस्ता कुराहरू गरेर गरीबप्रति आफ्नो सहानभूति रहेको नेताहरू दर्शाउन चाहन्छन्। अर्कोतिर नेपालका बहुसङ्ख्यक गरीबलाई के विश्वास छ भने समाजवादी अर्थ व्यवस्था (आम नेपालीहरूले कम्युनिस्ट अर्थ व्यवस्था भनेर बुझेको) गरीबहरूको हितमा छ। यो व्यवस्थाले गरीबहरूको गरीबी कम पार्छ। यो कारणले गर्दा नेपालका बहुसङ्ख्यक व्यक्तिहरू समाजवादतिर आकर्षित छन्। नेपालमा गरीबहरूको सङ्ख्या पनि ठूलो छ। यस किसिमको स्थितिमा गरीबहरूको भोट लिएर चुनावमा सदा विजयी हुन र नित्य सत्तामा रहिरहन नेताहरूले समाजवादको वकालत गरेका हुन्। र यो कुरा नेताहरूले बुझेका पनि छन्।

समाजवादप्रति भ्रम

पूर्ण समाजवाद अहिले संसारको कुनै पनि राष्ट्रमा छैन। यदि कुनै राष्ट्रमा छ भने त्यस राष्ट्रको नाम दिन म यसै लेखमार्फत चुनौती दिन्छु। अहिलेको सन्दर्भमा समाजवाद भनेको ‘म्याद गुज्रेको’ औषधी हो। म्याद नाघेको औषधीले रोग निको पार्न नसकेझैं समाजवादले पनि गरीबहरूको हित गर्न सक्तैन। उल्टो केही सीमित व्यक्ति धनी हुने र अर्कोतिर बहुसङ्ख्यक व्यक्ति गरीबीको रेखामुनि झर्ने स्थिति मात्र सृजना गर्छ। कुनै समयमा समाजवादी अर्थ व्यवस्था प्रयोग गर्ने चीनले अहिले त्यो व्यवस्था पूर्णतया त्यागिसकेको छ। अहिले (सन् २०२२ अनुसार) विश्वका १०० अति धनीहरू मध्ये १३ अति धनी चीनका छन्। जुन देश (चीन) मा समाजवादको अति प्रयोग भयो त्यो देशले भने समाजवाद पूर्णतया परित्याग गरिसक्यो। समाजवादले देशको विकास सम्भव छैन भन्ने व्यवहारद्वारा नै देखाइदियो। नेपालमा भने नेताहरू समाजवादबाट मात्र देशको आर्थिक विकास सम्भव छ भन्दै झूटको खेती गरिरहेका छन्। यस्तो झूठको खेती गरेर नै उनीहरूलाई फाइदा छ। देशको आर्थिक विकास र जनताको गरीबीप्रति चिन्तित नहुने नेताहरूबाट के नै अपेक्षा गर्न सकिन्छ!

निष्कर्ष

समस्या मात्र देखाएर पाठकहरूलाई भ्रममा पार्नु वा आफू लोकप्रिय हुन तथ्यहीन कुरा गर्नु एक किसिमको बौद्धिक अपराध हो। त्यसकारण समास्याहरूको प्रस्तुतिको साथै हामीले तिनको समाधान पनि दिनुपर्ने हुन्छ। नेताहरू देशलाई आर्थिकरूपमा हित हुने कुरा आफ्नो स्वार्थसँग जोडेर विकासमा बाधा पुर्याइरहेका छन्। यो ठूलो समस्या हो। यो समस्याको समाधान के हो भने कुनै पनि किसिमको सहयोग वा योजना जसले नेपालको हित गर्छ त्यस्ता सहयोग र योजना उपर सबै नेताहरू सहमत हुन हामीले उनीहरूलाई दबाब दिनुपर्छ। उनीहरूले बुन्ने स्वार्थको जालमा फस्नुहुँदैन। भारत, चीन, जापान वा अन्य कुनै पनि राष्ट्रले दिने कुनै पनि सहयोग हामीले नेताहरूको स्वार्थको एजेन्डा बन्न दिनुहुँदैन।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, March 04, 2022

https://eprateekdaily.com/2022/03/03/31484/