Sunday, October 23, 2022

Will They Keep Promises Made In Election? 386

 चुनावमा गरिएका आर्थिक वाचा पूरा होलान्?

अब चुनाव हुन केवल एक महीना बाँकी छ। यो एक महीना मतदाताहरूको लागि जति महत्वपूर्ण छ उत्तिकै महत्वपूर्ण उम्मेदवारहरूको लागि पनि छ। उम्मेदवारहरूको लागि त झनै बढी महत्वपूर्ण छ किनभने यो चुनावले उनीहरूको राजनीतिक भविष्य निर्धारण गर्नेछ। राजनीतिलाई आफ्नो पेशा मानेर राजनीति गर्ने र कुर्सी तथा शक्ति आफ्नो हातबाट फुत्किन नदिने प्रवृत्तिका नेताहरूका लागि यो चुनाव जीवन–मृत्युको प्रश्न हुन पुगेको छ। चुनावमा पराजित भएमा आफ्नो सर्वस्व हरण हुने मनोविज्ञान राख्ने नेताहरू जे जस्तो गरेर भए पनि विजयी हुन अनेक किसिमका रणनीति निर्माण गरिरहेका छन् । र त्यो रणनीति लागू गर्न अनेकौं कार्य गरिरहेका छन्।

चुनावमा विजयी हुन प्रयोग हुने रणनीति अन्तर्गत नेताहरूले गर्ने कार्यहरूमध्ये सर्वाधिक चर्चामा रहेको आर्थिक बाचा हो। अहिले उम्मेदवारहरूले जनतालाई आफ्नो पक्षमा ल्याउन अनेक किसिमका आर्थिक बाचा गरिरहेका छन्। मतदातालाई लोभ्याउन कुनै उम्मेदवारले म मेरो क्षेत्रमा सडक बनाउने छु भन्दैछ भने कुनैले पुलहरू बनाउने छु भन्दैछ। यसैगरी कसैले म मेरो क्षेत्रमा मात्र होइन राष्ट्रभरि शिक्षा र स्वास्थ्य निश्शुल्क गर्नेछु भन्दैछ। यसरी उम्मेदवारहरूले अनेक किसिमका आर्थिक बाचा जनता वा मतदाता समक्ष गरिरहेका छन्। र उनीहरूको ती वाचालाई मतदाताहरूले पत्याएजस्तो पनि छ। मेरो वा हाम्रो उम्मेदवारले चुनाव जितेमा हाम्रो क्षेत्रमा विभिन्न किसिमका विकास एवं निर्माणको कार्य गर्नेमा मतदाताहरू ढुक्क देखिएका छन्।

तर प्रश्न उठ्छ चुनावमा विजयी हुन नेताहरूले जनतासमक्ष गरेका आर्थिक बाचा के उनीहरूले पूरा गर्लान्?

अब विजयी उम्मेदवार वा नेताहरूले चुनावमा गरेका आर्थिक बाचा पूरा गर्ने आधारहरूबारे चर्चा गरौं।

उम्मेदवारहरूले यसरी आर्थिक बाचा गरिरहेका छन् मानौ सिंहदरबारमा एउटा ठूलो कोठा छ। त्यस कोठामा, कोठाभरि पैसा राखिएको छ। चुनावमा विजयी भएर नेताहरू सिंहदरबार भित्र पस्नेछन्। र त्यस कोठाबाट पैसा झिकेर अनेक किसिमका विकास एवं निर्माणका काम गर्नेछन् र चुनावमा गरेको आर्थिक बाचा पूरा गर्नेछन्। विकास एवं निर्माणका कामहरू सहजै गर्नेछन्। पैसाको कुनै पनि किसिमको अभाव हुनेछैन। जताततै, भने जति पैसा नै पैसा छ। केवल पैसा भएको स्थानमा पुग्न बाँकी छ।

विकास एवं निर्माणका लागि राज्यबाट पैसा अति सजिलै गरी उपलब्ध हुन सक्छ भन्ने भ्रम नेताहरूमा रहेको छ। यदि कसैलाई यो भ्रम छैन भने उसलाई राजकीय कोष कसरी निर्माण हुन्छ भन्ने पटक्कै थाहा छैन। र जसलाई राजकीय कोष कसरी निर्माण हुन्छ भन्ने राम्ररी थाहा छ, उसले पूर्णतया झूट बोलिरहेको छ। त्यो नेताले जनतासमक्ष झूटो बाचा गरिरहेको छ। 

राजकीय कोष जनताले राज्यलाई भुक्तान गरेको करबाट निर्माण हुन्छ। र त्यही कोषबाट राज्यले राजकीय कर्मचारीहरूलाई तलब एव भत्ता भुक्तान गर्छ। त्येही कोषबाट विभिन्न किसिमका विकास एवं निर्माण कार्य हुन्छ। राज्यको लागि कर नै एक मात्र भरपर्दो र ठूलो आयस्रोत हो।

नेपालको बहुसङ्ख्यक जनता गरीब भएको हुनाले वा उसको आय कम भएको हुनाले राज्यले प्राप्त गर्ने करको आकार पनि सानो हुन्छ किनभने भुक्तान गरिएको करको आकार सानो हुन्छ। यो सानो आकारको वा थोरै रकम भएको कोषबाट राज्यका कर्मचारीहरूलाई तलब, भत्ता भुक्तान गरेर, अन्य साधारण खर्च गरेर ज्यादै कम रकम राजकीय कोषमा बाँकी रहन्छ।

नेपाल वा विकासशील मुलुकमा राष्ट्रिय कोषको ठूलो अंश केवल साधारण खर्चमा भुक्तान हुने भएकोले विकास एवं निर्माणमा खर्च गर्नका लागि वा भनौं राष्ट्रिय राजमार्ग, पुल, ठूला–ठूला विद्युत् गृह वा ठूला–ठूला आयोजना सम्पन्न गर्न राज्यसँग पर्याप्त पैसा हुँदैन। यो कारणले गर्दा नेपालले ठूला–ठूला आयोजना सम्पन्न गर्न अन्तर्राष्ट्रिय दातृ संस्था– विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष आदिसँग ऋण लिनुपर्छ । अन्य राष्ट्रहरू समक्ष आर्थिक सहयोगको याचना गर्नुपर्छ। भारत, चीन आदिलाई गुहार्नुपर्छ। सडक, कलकारखाना नेपालमा अन्य राष्ट्रले बनाइदिएको प्रमाण हामीसँग छ। भवनसम्म पनि हामीले राजकीय कोषबाट निर्माण गर्न नसकेर अन्य राष्ट्रले बनाइदिएको इतिहास छ।

नेपालको राजकीय कोष आफैंमा सबल नभएको स्थितिमा उम्मेदवारहरूले विजयी भएमा सडक निर्माण गर्छु, पुल निर्माण गर्छु, कलेज, अस्पताल निर्माण गर्छु, शिक्षा, स्वास्थ्य निश्शुल्ल गर्छु, यो गर्छु, त्यो गर्छु भन्नु हास्यास्पद हो। होइन त? हास्यास्पद मात्र होइन जनताको समक्ष बोलिएको झूट पनि हो। झूठ बोलेर जनताको मत आफ्नो बक्सामा खसाउन लगाउने प्रपञ्च हो।

उम्मेदवार वाचा गर्नु उपयुक्त हुन्छ त?

नेताहरूले स्थानीय स्रोत एवं साधनको उपयुक्त प्रयोग गरेर, भ्रष्टाचार नियन्त्रण गरेर, कुशल प्रबन्धको सहयोगमा स्थानीय तहमा बलियो कोष निर्माण गर्ने बाचा गर्नु उपयुक्त हुन्छ। त्यो कोष स्थानीय विकासमा कुशलतापूवक प्रयोग गर्ने बाचा गर्नु उपयुक्त हुन्छ। आफू आर्थिक क्रियाकलापमा एकदम पारदर्शी हुने र कुनै पनि किसिमले कोष हिनामिना हुन नदिने बाचा गर्नु उपयुक्त हुन्छ। नेताहरूले आर्थिक भ्रष्टाचार नगरिदिए मात्र पनि आर्थिक विकासको राम्रो वातावरण तयार हुन्छ। स्थानीय तहमा रोजगारका अवसरहरू सृजना हुन्छ।

कुनै पनि क्षेत्रको आर्थिक विकासको लागि पहिलो जिम्मेवार पक्ष भनेको त्यहाँको जनता र त्यो जनतालाई नेतृत्व गर्ने नेता हो। यो तथ्यलाई जबसम्म स्थानीय तहमा स्वीकार गरिंदैन, प्रयोगमा ल्याइँदैन तबसम्म आर्थिक विकास सम्भव छैन। केन्द्रले आर्थिक विकास गर्ने होइन। सरकारले पनि आर्थिक विकास गर्ने होइन। स्थानीय, प्रादेशिक तथा सङ्घीय सरकारले केवल सहजकर्ताको भूमिका निर्वाह गर्ने हो। नियम, कानूनको निर्माण मात्र गर्न हो। आर्थिक विकासका लागि सक्रिय भूमिका खेल्ने होइन। कुनै पनि क्षेत्रको आर्थिक विकास त्यहाँका स्थानीय व्यक्तिले गर्ने हो।

हरेक कुराको लागि जिम्मेवार सरकार हो, हामी होइनौं भन्ने मनोभाव जनतामा रहेसम्म आर्थिक विकासका कुराहरू कथा मात्र बन्न सक्छस साकार हुन सक्तैन। हो, यस्ता कुरा उम्मेदवारले जनता समक्ष पुर्याउन आवश्यक छ, झूटो चुनावी आर्थिक बाचा गर्नुभन्दा। नेताहरूले जनतालाई नै आर्थिक विकासका लागि अग्रसर गराउनुपर्छ। आर्थिक विकासका नयाँनयाँ सोचहरू ल्याउनुपर्छ।

वर्तमान सन्दर्भमा उम्मेदवारहरूले गर्ने आर्थिक बाचाको कुनै अर्थ छैन। ती बाचाहरू केवल चुनावी नारा मात्र बन्न सक्छन्। नेताहरूले गरेका आर्थिक बाचा पूरा गर्ने स्थितिमा अहिले राष्ट्रिय ढुकुटी छँदैछैन। ठूला–ठूला आयोजनाहरू पूरा गर्न राज्यसँग ठूलो पूँजी नै छैन। देश अहिले रेमिट्यान्सले चलेको छ। यो यथार्थ मतदाताले प्रस्टगरी बुझ्न आवश्यक छ।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 21, 2022

https://eprateekdaily.com/2022/10/20/41623/

Thursday, October 20, 2022

Is World Economy Moving Toward Recession? - Article - 385

 विश्व अर्थ व्यवस्थामा मन्दी आउने सम्भावना

मुद्रास्फीति नियन्त्रण गर्न विश्वका केन्द्रीय बैंकहरूले ब्याजदरमा वृद्धि गर्ने क्रम जारिराखेका छन्। अर्थात् अहिले मुद्रास्फीति नियन्त्रण गर्न सकिएको छैन। युक्रेन–रूस युद्ध रोकिने कुनै सङ्केत देखिएको छैन। उल्टो, यी देशहरू परम्परागत युद्धबाट परमाणु युद्धतर्फ लम्किंदै छन्। रूसले युक्रेनमाथि परमाणु अस्त्र प्रहार गर्ने चेतावानी दिइरहेको छ।

विश्वका तीन ठूला अर्थ व्यवस्था–संयुक्त राज्य अमेरिका, चीन र युरोपियन युनियन तीव्ररूपमा सुस्त हुँदैछन्। युरोपियन युनियनबाट छुट्टिएको ग्रेट ब्रिटेनको अर्थ व्यवस्था पनि सङ्कटग्रस्त छ। संरा अमेरिकामा चालीसवर्ष यताकै सर्वाधिक मूल्य वृद्धि भएको छ। वस्तु र सेवाका मूल्य उच्चस्तरमा बढेका छन्।

विश्व आपूर्ति व्यवस्था सुस्त मात्र होइन, कुनै क्षेत्रमा अनिश्चित पनि हुन पुगेको छ। अहिले विश्वभरि नै उत्पादन र उत्पादकत्व दुवैमा निकै कमी आएको छ। विकासशील देशका अर्थतन्त्रहरूले अहिले आर्थिक सङ्घर्ष नै गरिरहेका छन्। यी सबै किसिमका स्थिति सन् २०२३ मा विश्वभरि मन्दी ल्याउने कारण बन्दैछन्। अर्थविज्ञ, अर्थशास्त्री एवं यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरू सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने भविष्यवाणी गर्दैछन्। सन् २०२३ मा सन् १९८२ र सन् २००८ झैं विश्व अर्थ व्यवस्थामा मन्दी आउने उनीहरूले अग्रिम चेतावनी दिइरहेका छन्।

के साँच्चै सन् २०२३ मा विश्व अर्थ व्यवस्थामा मन्दी आउने छ? हो, सन् २०२३ मा मन्दी आउने वातावरण तयार हुँदैछ। वर्तमान विश्व परिस्थितिले गर्दा सन् २०२३ मा मन्दी आउने सम्भावना बढेर गएको छ। आउनुहोस्, मन्दी आउन सक्ने कारण वा आधार खोजौं।

युक्रेन–रूस युद्धः युरोपका लागि ठूलो इन्धन आपूर्तिकर्ता रूस र विश्वको खाद्य भण्डार मानिएको युक्रेन दुवै युद्धरत छन्। र यी दुई राष्ट्रबीच युद्ध समाप्त हुने अवस्था देखिएको छैन। विश्व अर्थ व्यवस्थमा महŒवपूर्ण भूमिका खेल्न यी दुई राष्ट्र युद्धरत हुँदा विश्व उत्पादन र वितरण व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। इन्धनका लागि रूसको भर पर्ने युरोपेली राष्ट्रहरूको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ किनभने ती राष्ट्रहरूले रूसबाट इन्धन खरीदमा ठूलो कटौती गरेका छन्। यसैगरी खाद्यान्नका लागि युक्रेनको भर पर्ने राष्ट्रहरूमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ। युद्धरत युक्रेनले खाद्यान्न उपत्पादन पूर्ववत् स्थितिमा गर्न सकेको छैन भने जेजति उत्पादन गरिरहेको छ त्यो पनि सहजै विभिन्न राष्ट्रहरूमा आपूर्ति गर्न सकेको छैन। युद्धले गर्दा युक्रेनको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। 

युक्रेनबाट खाद्यान्न नआइपुग्दा लेबनानमा खाद्यान्न सङ्कट नै उत्पन्न भएको छ। पहिलेदेखि नै टाट पल्टिने स्थितिमा रहेको लेबेनान युक्रेन–रूस युद्धले गर्दा चरम आर्थिक सङ्कटको नजीक पुगेको छ। त्यहाँका बैंकहरू निक्षेपकर्ताको रकम उनीहरूले माग गर्दा दिन नसक्ने स्थितिमा पुगेका छन्। लेबनानका बैंकहरूमा तरलताको चरम सङ्कट छ।

युक्रेन–रूस युद्धले गर्दा यी दुवै राष्ट्रले आफूसँग रहेको रकम केवल हातहतियार निमार्ण एवं खरीदमा खर्च गरिरहेका छन्। उत्पादन कर्यमा खर्च गर्न सकिरहेका छैनन्। अर्कोतिर यी राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपरिरहेको छ।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने त छ नै, साथै त्यो मन्दीको स्थिति ज्यादै कष्टकर हुनेछ। विकासशील मात्र होइन, विकसित मुलुकका नागरिकको पनि आर्थिक जीवन पीडादायी हुनेछ।

कोभिड १९ पछिको स्थिति : सन् २०१९ मा प्रारम्भ भएको कोभिड सङ्कटले विश्व अर्थ व्यवस्थालाई गतिहीन पारेको थियो। सन् २०२० को अन्तसम्म पनि कोभिड १९ वा कोरोना–सङ्कटले अति सुस्त पारिदिएको विश्व अर्थ व्यवस्थाको गति सुस्त नै रह्यो, तीव्र हुन सकेन। सन् २०२२ देखि केही सुधार देखिए पनि युक्रेन–रूस युद्धले विश्व अर्थ व्यवस्थामा सुधार देखिएन। कोभिड १९ को असर समाप्त भए तापनि युक्रेन र रूसको युद्धले गर्दा बजारहरू अनिश्चितताको घेराभित्र परे। लगानीकर्ताहरूले लगानी गर्न चासो देखाएनन् भने उत्पादकहरू ठूलो परिमाणमा उत्पादन गर्न अनिच्छुक रहे। अर्थात कोभिड १९ ले सुस्त पारेको विश्व अर्थ व्यवस्थालाई युक्रेन र रूस युद्धले झनै सुस्त पार्न एक किसिमको अवरोधको कार्य गर्यो।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सुस्त किसिमले अगाडि बढिरहेका विश्वभरिका उत्पादक एवं वितरकहरू झनै सुस्त हुनेछन् र उनीहरूको सुस्तताले विश्व अर्थ व्यवस्थालाई तीव्रगतिमा मन्दीतिर पठाउने छ।

उपेक्षित कृषि क्षेत्र: कृषि क्षेत्रमा गरिने लगानीको प्रतिफल प्राप्त गर्न लामो समय कुर्नुपर्छ। विकसित र विकासशील, दुवै राष्ट्रका कृषकहरूले आफ्नो लागनीको प्रतिफल पाउन लामो समय कुर्नुको विकल्प हुँदैन। र प्रतिफलको लागि लामो समयसम्म कुर्नुपर्ने स्थितिको अर्थ कम अवधिमा ठूलो मुनाफा गर्न नसक्नु हो। अर्थात् सानो अवधिमा ठूलो मुनाफा प्राप्त गर्नका लागि उद्योग वा व्यापारमा लगानी गर्नुपर्ने हुन्छ। सानो अवधिमा उच्च मुनाफा दिने क्षेत्र अहिले व्यापार भएको छ। विश्वभरिका ठूला लगानीकर्ताहरूले अहिले व्यापारमा ठूलो परिमाणमा पूँजी लगानी गरिरहेका छन्। विश्वविख्यात कम्पनीहरू–एपल, माइक्रोसफ्ट, अल्फाबेट, एमेजन, टेस्ला आदिले व्यापारमा प्रचुर लगानी गरेर कम समयमा ठूलो आर्जन गर्न सकेका हुन्।

वर्तमान विश्व परिस्थिति हेर्दा अहिले कृषि क्षेत्र उपेक्षित हुन पुगेको छ। दक्षिण एशियाको सर्वाधिक ठूलो अर्थतन्त्र भारतमा पनि कृषि क्षेत्र अहिले युवापीढीको प्राथमिकतामा पर्दैन। त्यहाँका युवाहरूलाई अहिले ‘आइटी’ क्षेत्रले चुम्बकले झैं तानेको छ। त्यति मात्र होइन, भारतका मेधावी युवा अध्ययनका लागि अमेरिका आउने र अध्ययन पश्चात् अमरिकामैं स्थायी बसोवास गर्ने एक किसिमको चलन मात्र होइन, संस्कृति नै हुन पुगेको छ। भारतका मेधावी छात्रहरू कृषि पेशामा गएको उदाहरण शून्य बराबर छ। कुशल र मेधावी जनशक्तिको भारतको कृषि क्षेत्रमा उपयोग हुने हो भने यो देश दक्षिण एशियाको अन्न भण्डार हुन सक्छ। अमेरिकाझैं भारतले पनि उन्नत किसिमले खाद्यान्न उत्पादन गर्न सक्छ। भारतको अनुकूल मौसम र भूमिले उत्पादन गर्न सघाउँछ पनि।

भारतझैं नेपालमा पनि कृषि पेशाले महत्व पाउन सकेको छैन। भारतका युवाझैं नेपाली युवा पनि कृषि क्षेत्रलाई आकर्षक मान्दैनन्। नेपालको स्थिति त झनै डरलाग्दो छ। नेपालमा त कृषि जनशक्तिको ठूलो अभाव नै छ। नेपालका युवा ठूलो सङ्ख्यामा मलेशिया र खाडीका मुलुकहरूमा पुगेको हुनाले नेपालमा कृषि–श्रमिक र व्यवस्थापक, दुवैको ठूलो अभाव छ। नेपालका मेधावी युवाले कृषि पेशालाई महŒव दिएको इतिहासमैं देखिंदैन। उल्टो अमेरिका, युरोप, अस्ट्रेलियातिर पलायन भएका छन्।

भारत र नेपाल प्रतिनिधि उदाहरण मात्र हुन्। कृषि क्षेत्र अहिले विश्वभरि उपेक्षित हुन पुगेको छ। सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले संसारभरिका मानिसको ध्यान कृषिबाट विमुख भएको छ। ज्यान नै उच्च जोखिममा राखेर भए पनि, सुखद भविष्यका लागि अफ्रिकाका अनेक देशबाट युरोप र अमेरिका पुग्ने अफ्रिकी युवा सङ्ख्या पनि अति ठूलो छ।

अफ्रिकामा पनि कृषि क्षेत्रले महत्व पाउन सकेको छैन। अर्कोतर्फ धार्मिक क्ट्टरताको भासमा डुबेका केही अफ्रिकी देशहरूले राम्ररी कृषि भूमिको उपयोग गर्न सकेका छैनन्। सोमालियामा खाद्यान्न सङ्कटले गर्दा भोकमरीको स्थिति छ। त्यहाँको कट्टर धार्मिक सङ्गठन अल–सबाबले कतिपय स्थानमा कृषकहरूलाई भूमिको उपयोग गर्न दिएको छैन। सोमालियाको २० प्रतिशत भाग अल–सबाबको नियन्त्रणमा छ र त्यहाँ अल–सबाबको शासन चल्छ।

सोमालियाको जस्तै स्थिति अफ्रिकाका अन्य देशहरूमा पनि छ। अफ्रिकाको स्थितिले पनि सन् २०२३ मा विश्व अर्थ व्यवस्था मन्दीमा जान सहयोग पुर्याउने छ।

युद्ध र कुशासन: नेपाल, अफगानिस्तान, श्रीलङ्काजस्ता राष्ट्रले राम्रो नेतृत्व पाउन नसकेको हुनाले यी र यस्ता राष्ट्रको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। नेताहरूको चरम स्वार्थले गर्दा यी र यस्ता राष्ट्रहरूले आफ्ना उत्पादनका साधन–भूमि, श्रम, सङ्गठन र पूँजीको राम्रो उपयोग गर्न सकेका छैनन्, गरीबी कम पार्न सकेका छैनन्।

यो चेतनाको युगमा पनि युद्ध रोकिएको छैन। युक्रेन र रूस मात्र होइन, अहिले यमन, सिरिया, इजराइल, लेबनान, पेलेस्टिन र अफ्रिकाका विभिन्न मुलुक युद्धरत छन्।

युद्ध र कुसाशनले पनि सन् २०२३ मा मन्दी ल्याउन सहयोग पुर्याउन सक्छ।

यसरी माथिका आधार एवं कारणहरूले गर्दा सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने सम्भावना प्रबल भएर गएको छ। पूर्व तयारीस्वरूप विज्ञहरूले विभिन्न नीतिगत सुधार नगर्ने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 14, 2022

https://eprateekdaily.com/2022/10/13/41272/