Thursday, October 20, 2022

Is World Economy Moving Toward Recession? - Article - 385

 विश्व अर्थ व्यवस्थामा मन्दी आउने सम्भावना

मुद्रास्फीति नियन्त्रण गर्न विश्वका केन्द्रीय बैंकहरूले ब्याजदरमा वृद्धि गर्ने क्रम जारिराखेका छन्। अर्थात् अहिले मुद्रास्फीति नियन्त्रण गर्न सकिएको छैन। युक्रेन–रूस युद्ध रोकिने कुनै सङ्केत देखिएको छैन। उल्टो, यी देशहरू परम्परागत युद्धबाट परमाणु युद्धतर्फ लम्किंदै छन्। रूसले युक्रेनमाथि परमाणु अस्त्र प्रहार गर्ने चेतावानी दिइरहेको छ।

विश्वका तीन ठूला अर्थ व्यवस्था–संयुक्त राज्य अमेरिका, चीन र युरोपियन युनियन तीव्ररूपमा सुस्त हुँदैछन्। युरोपियन युनियनबाट छुट्टिएको ग्रेट ब्रिटेनको अर्थ व्यवस्था पनि सङ्कटग्रस्त छ। संरा अमेरिकामा चालीसवर्ष यताकै सर्वाधिक मूल्य वृद्धि भएको छ। वस्तु र सेवाका मूल्य उच्चस्तरमा बढेका छन्।

विश्व आपूर्ति व्यवस्था सुस्त मात्र होइन, कुनै क्षेत्रमा अनिश्चित पनि हुन पुगेको छ। अहिले विश्वभरि नै उत्पादन र उत्पादकत्व दुवैमा निकै कमी आएको छ। विकासशील देशका अर्थतन्त्रहरूले अहिले आर्थिक सङ्घर्ष नै गरिरहेका छन्। यी सबै किसिमका स्थिति सन् २०२३ मा विश्वभरि मन्दी ल्याउने कारण बन्दैछन्। अर्थविज्ञ, अर्थशास्त्री एवं यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरू सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने भविष्यवाणी गर्दैछन्। सन् २०२३ मा सन् १९८२ र सन् २००८ झैं विश्व अर्थ व्यवस्थामा मन्दी आउने उनीहरूले अग्रिम चेतावनी दिइरहेका छन्।

के साँच्चै सन् २०२३ मा विश्व अर्थ व्यवस्थामा मन्दी आउने छ? हो, सन् २०२३ मा मन्दी आउने वातावरण तयार हुँदैछ। वर्तमान विश्व परिस्थितिले गर्दा सन् २०२३ मा मन्दी आउने सम्भावना बढेर गएको छ। आउनुहोस्, मन्दी आउन सक्ने कारण वा आधार खोजौं।

युक्रेन–रूस युद्धः युरोपका लागि ठूलो इन्धन आपूर्तिकर्ता रूस र विश्वको खाद्य भण्डार मानिएको युक्रेन दुवै युद्धरत छन्। र यी दुई राष्ट्रबीच युद्ध समाप्त हुने अवस्था देखिएको छैन। विश्व अर्थ व्यवस्थमा महŒवपूर्ण भूमिका खेल्न यी दुई राष्ट्र युद्धरत हुँदा विश्व उत्पादन र वितरण व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। इन्धनका लागि रूसको भर पर्ने युरोपेली राष्ट्रहरूको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ किनभने ती राष्ट्रहरूले रूसबाट इन्धन खरीदमा ठूलो कटौती गरेका छन्। यसैगरी खाद्यान्नका लागि युक्रेनको भर पर्ने राष्ट्रहरूमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ। युद्धरत युक्रेनले खाद्यान्न उपत्पादन पूर्ववत् स्थितिमा गर्न सकेको छैन भने जेजति उत्पादन गरिरहेको छ त्यो पनि सहजै विभिन्न राष्ट्रहरूमा आपूर्ति गर्न सकेको छैन। युद्धले गर्दा युक्रेनको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। 

युक्रेनबाट खाद्यान्न नआइपुग्दा लेबनानमा खाद्यान्न सङ्कट नै उत्पन्न भएको छ। पहिलेदेखि नै टाट पल्टिने स्थितिमा रहेको लेबेनान युक्रेन–रूस युद्धले गर्दा चरम आर्थिक सङ्कटको नजीक पुगेको छ। त्यहाँका बैंकहरू निक्षेपकर्ताको रकम उनीहरूले माग गर्दा दिन नसक्ने स्थितिमा पुगेका छन्। लेबनानका बैंकहरूमा तरलताको चरम सङ्कट छ।

युक्रेन–रूस युद्धले गर्दा यी दुवै राष्ट्रले आफूसँग रहेको रकम केवल हातहतियार निमार्ण एवं खरीदमा खर्च गरिरहेका छन्। उत्पादन कर्यमा खर्च गर्न सकिरहेका छैनन्। अर्कोतिर यी राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपरिरहेको छ।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने त छ नै, साथै त्यो मन्दीको स्थिति ज्यादै कष्टकर हुनेछ। विकासशील मात्र होइन, विकसित मुलुकका नागरिकको पनि आर्थिक जीवन पीडादायी हुनेछ।

कोभिड १९ पछिको स्थिति : सन् २०१९ मा प्रारम्भ भएको कोभिड सङ्कटले विश्व अर्थ व्यवस्थालाई गतिहीन पारेको थियो। सन् २०२० को अन्तसम्म पनि कोभिड १९ वा कोरोना–सङ्कटले अति सुस्त पारिदिएको विश्व अर्थ व्यवस्थाको गति सुस्त नै रह्यो, तीव्र हुन सकेन। सन् २०२२ देखि केही सुधार देखिए पनि युक्रेन–रूस युद्धले विश्व अर्थ व्यवस्थामा सुधार देखिएन। कोभिड १९ को असर समाप्त भए तापनि युक्रेन र रूसको युद्धले गर्दा बजारहरू अनिश्चितताको घेराभित्र परे। लगानीकर्ताहरूले लगानी गर्न चासो देखाएनन् भने उत्पादकहरू ठूलो परिमाणमा उत्पादन गर्न अनिच्छुक रहे। अर्थात कोभिड १९ ले सुस्त पारेको विश्व अर्थ व्यवस्थालाई युक्रेन र रूस युद्धले झनै सुस्त पार्न एक किसिमको अवरोधको कार्य गर्यो।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सुस्त किसिमले अगाडि बढिरहेका विश्वभरिका उत्पादक एवं वितरकहरू झनै सुस्त हुनेछन् र उनीहरूको सुस्तताले विश्व अर्थ व्यवस्थालाई तीव्रगतिमा मन्दीतिर पठाउने छ।

उपेक्षित कृषि क्षेत्र: कृषि क्षेत्रमा गरिने लगानीको प्रतिफल प्राप्त गर्न लामो समय कुर्नुपर्छ। विकसित र विकासशील, दुवै राष्ट्रका कृषकहरूले आफ्नो लागनीको प्रतिफल पाउन लामो समय कुर्नुको विकल्प हुँदैन। र प्रतिफलको लागि लामो समयसम्म कुर्नुपर्ने स्थितिको अर्थ कम अवधिमा ठूलो मुनाफा गर्न नसक्नु हो। अर्थात् सानो अवधिमा ठूलो मुनाफा प्राप्त गर्नका लागि उद्योग वा व्यापारमा लगानी गर्नुपर्ने हुन्छ। सानो अवधिमा उच्च मुनाफा दिने क्षेत्र अहिले व्यापार भएको छ। विश्वभरिका ठूला लगानीकर्ताहरूले अहिले व्यापारमा ठूलो परिमाणमा पूँजी लगानी गरिरहेका छन्। विश्वविख्यात कम्पनीहरू–एपल, माइक्रोसफ्ट, अल्फाबेट, एमेजन, टेस्ला आदिले व्यापारमा प्रचुर लगानी गरेर कम समयमा ठूलो आर्जन गर्न सकेका हुन्।

वर्तमान विश्व परिस्थिति हेर्दा अहिले कृषि क्षेत्र उपेक्षित हुन पुगेको छ। दक्षिण एशियाको सर्वाधिक ठूलो अर्थतन्त्र भारतमा पनि कृषि क्षेत्र अहिले युवापीढीको प्राथमिकतामा पर्दैन। त्यहाँका युवाहरूलाई अहिले ‘आइटी’ क्षेत्रले चुम्बकले झैं तानेको छ। त्यति मात्र होइन, भारतका मेधावी युवा अध्ययनका लागि अमेरिका आउने र अध्ययन पश्चात् अमरिकामैं स्थायी बसोवास गर्ने एक किसिमको चलन मात्र होइन, संस्कृति नै हुन पुगेको छ। भारतका मेधावी छात्रहरू कृषि पेशामा गएको उदाहरण शून्य बराबर छ। कुशल र मेधावी जनशक्तिको भारतको कृषि क्षेत्रमा उपयोग हुने हो भने यो देश दक्षिण एशियाको अन्न भण्डार हुन सक्छ। अमेरिकाझैं भारतले पनि उन्नत किसिमले खाद्यान्न उत्पादन गर्न सक्छ। भारतको अनुकूल मौसम र भूमिले उत्पादन गर्न सघाउँछ पनि।

भारतझैं नेपालमा पनि कृषि पेशाले महत्व पाउन सकेको छैन। भारतका युवाझैं नेपाली युवा पनि कृषि क्षेत्रलाई आकर्षक मान्दैनन्। नेपालको स्थिति त झनै डरलाग्दो छ। नेपालमा त कृषि जनशक्तिको ठूलो अभाव नै छ। नेपालका युवा ठूलो सङ्ख्यामा मलेशिया र खाडीका मुलुकहरूमा पुगेको हुनाले नेपालमा कृषि–श्रमिक र व्यवस्थापक, दुवैको ठूलो अभाव छ। नेपालका मेधावी युवाले कृषि पेशालाई महŒव दिएको इतिहासमैं देखिंदैन। उल्टो अमेरिका, युरोप, अस्ट्रेलियातिर पलायन भएका छन्।

भारत र नेपाल प्रतिनिधि उदाहरण मात्र हुन्। कृषि क्षेत्र अहिले विश्वभरि उपेक्षित हुन पुगेको छ। सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले संसारभरिका मानिसको ध्यान कृषिबाट विमुख भएको छ। ज्यान नै उच्च जोखिममा राखेर भए पनि, सुखद भविष्यका लागि अफ्रिकाका अनेक देशबाट युरोप र अमेरिका पुग्ने अफ्रिकी युवा सङ्ख्या पनि अति ठूलो छ।

अफ्रिकामा पनि कृषि क्षेत्रले महत्व पाउन सकेको छैन। अर्कोतर्फ धार्मिक क्ट्टरताको भासमा डुबेका केही अफ्रिकी देशहरूले राम्ररी कृषि भूमिको उपयोग गर्न सकेका छैनन्। सोमालियामा खाद्यान्न सङ्कटले गर्दा भोकमरीको स्थिति छ। त्यहाँको कट्टर धार्मिक सङ्गठन अल–सबाबले कतिपय स्थानमा कृषकहरूलाई भूमिको उपयोग गर्न दिएको छैन। सोमालियाको २० प्रतिशत भाग अल–सबाबको नियन्त्रणमा छ र त्यहाँ अल–सबाबको शासन चल्छ।

सोमालियाको जस्तै स्थिति अफ्रिकाका अन्य देशहरूमा पनि छ। अफ्रिकाको स्थितिले पनि सन् २०२३ मा विश्व अर्थ व्यवस्था मन्दीमा जान सहयोग पुर्याउने छ।

युद्ध र कुशासन: नेपाल, अफगानिस्तान, श्रीलङ्काजस्ता राष्ट्रले राम्रो नेतृत्व पाउन नसकेको हुनाले यी र यस्ता राष्ट्रको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ। नेताहरूको चरम स्वार्थले गर्दा यी र यस्ता राष्ट्रहरूले आफ्ना उत्पादनका साधन–भूमि, श्रम, सङ्गठन र पूँजीको राम्रो उपयोग गर्न सकेका छैनन्, गरीबी कम पार्न सकेका छैनन्।

यो चेतनाको युगमा पनि युद्ध रोकिएको छैन। युक्रेन र रूस मात्र होइन, अहिले यमन, सिरिया, इजराइल, लेबनान, पेलेस्टिन र अफ्रिकाका विभिन्न मुलुक युद्धरत छन्।

युद्ध र कुसाशनले पनि सन् २०२३ मा मन्दी ल्याउन सहयोग पुर्याउन सक्छ।

यसरी माथिका आधार एवं कारणहरूले गर्दा सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने सम्भावना प्रबल भएर गएको छ। पूर्व तयारीस्वरूप विज्ञहरूले विभिन्न नीतिगत सुधार नगर्ने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 14, 2022

https://eprateekdaily.com/2022/10/13/41272/

No comments:

Post a Comment