Friday, March 29, 2019

Investment Summit in Nepal: Opportunities and Threats-Article-240

के नेपालमा विदेशी लगानी भित्रिएला?

भूमिका
    नेपालमा दोस्रो पटक नेपाल लगानी शिखर सम्मेलनहुँदैछ। उक्त लगानी सम्मलेन सन् २०१९ मार्च २९ देखि मार्च ३० सम्म काठमाडौमा हुने तय भएको छ। यस किसिमको लगानी सम्मेलन हुनु आफैंमा महत्वपूर्ण कुरा हो। यो व्यापार युगमा राज्यलाई कसरी समृद्ध पार्ने र जनताको आर्थिक जीवन कसरी सरल तुल्याउने भन्ने विषयतर्फ गम्भीर हुनु कुनै पनि देशको सरकारको प्रमुख कर्तव्य पनि हो। नेपालले अहिले स्थिर सरकार पाएको सन्दर्भमा सरकारले यसतर्फ चासो देखाउनुलाई अति नै सकारात्मकरूपमा लिनुपर्छ। यो लगानी सम्मेलन कति सफल भयो वा भएन भनेर टीकाटिप्पणी भने भविष्यमा गर्न त सकिन्छ नै।
    यो लगानी सम्मलेनको मुख्य ध्येय भने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने, लगानीका लागि नेपाल सुरक्षित स्थल रहेको उनीहरूलाई बोध गराउने तथा नेपालमा लगानी गरेर प्राप्त हुने मुनाफा लगानीकर्ताले स्वदेशमा लैजान पाउने सम्बन्धमा नेपाल खुकुलो किसिमको नियम बनाउन तयार रहेको जानकारी गराउने रहेको देखिन्छ।

प्रतिफल
    कुनै पनि लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल नियमित, सुनिश्चित र तुलनात्मकरूपमा (अरू देशभन्दा नेपालमा बढी मुनाफा हुने स्थिति) बढी लाभप्रद हुने कुरालाई लगानीको पूर्वशर्तको रूपमा लिएको हुन्छ र त्यो स्वाभाविक पनि हो। लगानी डुब्नेगरी आफ्नो पूँजी फसाउन कोही लगानीकर्ता नेपाल आउँदैन। यस सन्दर्भमा एउटा प्रसङ्ग के उल्लेख गर्नुपर्ने हुन्छ भने नेपालमा बन्द, हडताल, यातायात ठप्प, कारखाना बन्द जस्ता समस्या, जुन घरीघरी देखिन्छ, समाधान गर्न नेपालले के कस्तो नियम बनाएको छ, र भविष्यमा के कस्तो नियम बनाउने छ? यो प्रसङ्गलाई गम्भीरतापूर्वक किन उठाउनुपरेको हो भने राजनीतिक दलहरू, जसले सरकार सञ्चालन गर्छन्, नै स्वयं मजदूर सङ्गठनहरूलाई हडताल, बन्द, यातायात ठप्प गर्न लगाउँछन्। आफू निकट रहेका मजदूर सङ्गठनहरूलाई आफ्नो हितमा प्रयोग गर्छन्। आफ्नो इशारामा नचाउँछन्। सरकारमा नभएको बेला त राजनैतिक सङ्गठनहरूले सत्तारूढ दलको सरकारलाई असफल पार्न बन्द, हडताल गराउनु मौलिक अधिकार ठान्छन्। देशको अर्थतन्त्र धराशायी पार्न पनि रत्ति हच्किंदैनन्। आफ्नो अभीष्ट पूरा गर्न माओवादीहरूले २०५२ देखि २०६२ सालसम्ममा देशको अर्थतन्त्रलाई ध्वस्त पारेको हामीले आफ्नै आँखाले देखेको यथार्थ हो। तर विडम्बना! जुन राजनैतिक दल (माओवादी) ले कुनै समयमा देशको उद्योग, व्यापारलाई ध्वस्त पार्यो, अहिले त्यही दलले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आमन्त्रित गरिरहेको छ। कुनै समयमा माओवादीले विदेशी लगानीकर्ताहरूलाई विस्तारवादी’, ‘दलाल’, ‘सामन्त’, ‘भ्रष्ट पूँजीपतिभनेको थियो। स्मरण रहोस्, माओवादी दल अहिले ओलीको सरकारमा सम्मिलितमात्र होइन, सत्तारूढ दल नै बनेको छ। कुनै बेलाको एक नम्बर शत्रु एमालेसँग मिसिएको छ। एक ज्यान दुई शरीर भएको छ।
    माथि उल्लेख गरिएका यथार्थहरूलाई विदेशी लगानीकर्ताहरूले गम्भीरतापूर्वक लिएका छन् किनभने लगानी पच्चीसौं वर्षको लागि गरिएको हुन्छ र लगानी असुल हुन वर्षौ लाग्छ। त्यसकारण लगानीकर्ताहरूले लगानी गर्नका लागि स्थिर राजनीति भएको देश जस्तै मलेशिया, सिङ्गापुर, अमेरिका, चीन, दक्षिण कोरिया आदि रोज्छन्। नेपालको राजनीति स्थिर नरहेको सन्दर्भमा के विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न आउलान् त? यो एक यक्ष प्रश्न हो? नयाँ बोतलमा पुरानो रक्सीको स्थिति त नेपालमा छैन?

डिरेगुलेशन
    उद्योग, व्यापार, व्यवसाय आदिलाई प्रतिकूल प्रभाव पार्ने मौजुदा ऐन, कानून, नियमलाई क्रमिकरूपमा संशोधन वा समाप्त पार्दै जानुलाई व्यावसायिक जगत्मा डिरेगुलेशनभन्ने गरिन्छ। संसारकै एक नम्बर धनी राष्ट्र अमेरिका लगायत युरोपका विभिन्न मुलुकहरूले देशको आर्थिक विकास गर्न डिरेगुलेशनको निकै अभ्यास गरेको पाइन्छ। मुलुकमा विदेशी लगानीकर्ताहरूलाई बोलाएर देशको आर्थिक विकास गर्न तत्पर रहेको नेपालको सरकार के डिरेगुलेशन गर्न तयार छ? देशको आर्थिक विकासमा राज्यको भूमिका बढाउँदै लग्नुपर्छ, अर्थात् रेगुलेशन गर्नुपर्छ भन्ने मतमा विश्वास गर्ने कम्युनिस्ट सरकार (वर्तमान सरकार), के डिरेगुलेशन गर्न तयार होला? यस प्रश्नको उत्तर वर्तमान सरकारले नेपाल लगानी शिखर सम्मेलनमा आएका विदेशी लगानीकर्ताहरूलाई अवश्य दिनुपर्नेछ। नेपाल सरकारले साँच्ची नै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आउन आमन्त्रित गरेको हो भने नेपाल सरकार डिरेगुलेशन गर्न तत्पर रहेको कुरा विनाद्विविधा, प्रस्ट गरी, लिखितरूपमा र आधिकारिक किसिमले भन्नैपर्नेछ। नेपाल डिरेगुलेशन गर्न तयार रहेको कुरा सुन्न विदेशी लगानीकर्ता सम्मेलनभर व्यग्र रहनेछन्।

ऊर्जा
    कुनै पनि मुलुकमा व्यापार, उद्योग एवं सेवा व्यवसाय सञ्चालन गर्न ऊर्जा पूर्व तत्व हो। ऊर्जाविना यो कार्य सम्भव छैन। हामी कहाँ केवल जल विद्युत् नै ऊर्जाको मुख्य स्रोत हो। कुनै समयमा लोडसेडिङ भोगेको र केवल घरेलू प्रयोगको लागि मात्र पनि ऊर्जा (विद्युत्) उपलब्ध गराउन नसक्ने हाम्रो देशले के ठूलाठूला उद्योग सञ्चालन गर्न नियमित ऊर्जा उपलब्ध गराउन सक्ला? विदेशी लगानीकर्ताहरूले यो प्रश्न पनि गर्नेछन्। र सरकारले सन्तोषजनक जवाफ दिनुपर्नेछ। ऊर्जाको सुनिश्चितताविना विदेशी लगानी सम्भव छैन।

बजार
    विदेशी लगानीकर्ताहरूले बजार पनि खोज्नेछन्। नेपालको आन्तरिक मागको लागि मात्र उत्पादन गरेर विदेशी लगानीकर्ताहरूले चाहेजस्तो मुनाफा पाउने स्थिति छैन। उनीहरूले बाह्य वा विदेशी बजारको पनि खोजी गर्नेछन्। यस्तो स्थितिमा नेपालमा उत्पादित वस्तु नेपाल र चीनले खरीद गरिदिनेछन् त? नेपालले चीन र भारतलाई आफ्ना वस्तु खरीद गरिदिने मनस्थितिमा पु¥याउन सक्नेछ? र अर्को महत्वपूर्ण कुराके नेपालले भारत र चीनभन्दा सस्तो उत्पादन गर्न सक्नेछ? फ्नो देशभन्दा नेपालमा उत्पादित वस्तु महँगो भएको स्थितिमा के चीन र भारतले नेपालका वस्तु केवल सदाशयताको हिसाबले मात्र किनिदेलान् त? प्रबन्ध, ऊर्जा र प्रविधिको क्षेत्रमा नेपाल निकै पछाडि रहेको सन्दर्भमा के नेपालले भारत, चीन वा अन्य कुनै मुलुकभन्दा सस्तोमा उत्पादन गर्न सक्नेछ? यो प्रश्नको उत्तर पनि खोजेर नेपाली पक्षले विदेशी लगानीकर्ताहरूलाई सो लगानी सम्मेलनमा दिनुपर्नेछ।

सम्भावना
    यस लेखको आशय निराशावादी कुरा गरेर नेपालमा सम्पन्न हुन थालेको नेपाल लगानी शिखर सम्मेलनको आलोचना मात्र गर्नु भने होइन। जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझै नेपालमा पनि आर्थिक विकासका प्रशस्त सम्भावनाहरू छन्। नेपालको भौगोलिक अवस्थिति, नेपालीहरूमा रहेको ज्ञान, उपलब्ध स्रोत र साधनहरूले नेपाललाई धनी हुने प्रशस्त अवसर दिएको छ। नेपालको जलस्रोतले ठूलो सम्भावना बोकेको छ। चाहिएको छ केवल जनतामा सहयोगात्मक भावना एवं नेताहरूमा इमानदारी र नेतृत्व दिने क्षमता। कुनै एकमात्र इमानदार नेता नेपालमा उदय भयो भने उसले नेपालको कायापलट गरिदिन सक्छ। सिङ्गापुरमा लि क्वान यु, मलेशियामा महाथिर मोहम्मद र चीनमा देंग जियाओपिङले गरेझैं। यी तीन नेताहरूले देशलाई शून्यबाट सय तुल्याएका हुन्। चीन त अहिले विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति भएको छ। कुनै बेला चीन गरीब राष्ट्रहरूको श्रेणीमा थियो। धेरै वर्ष पहिलेको कुरा गर्ने हो भने चीन अफिम युद्धको दलदलमा भासिएको थियो। कुनै समय चिनियाँहरू (ठूलो सङ्ख्यामा) अफिम खाएर दिनभरि लठ्ठ परेर बस्थे। आज ती चिनियाँ विज्ञान र प्रविधिको क्षेत्रमा सबै मुलुकभन्दा अगाडि हुन थालेका छन्। संसारको सबैभन्दा ठूलो टेलिस्कोप अहिले केवल चीनसँग छ। यी सबै कुरा चमत्कारी नेतृत्व र जनतामा विकास गर्ने चाहनाले गर्दा भएको हो।
    एउटा प्रसङ्गको चर्चा गर्नु यहाँ उपयुक्त होला। एकपटक सिङ्गापुरका आर्थिक विकासका पिता लि क्वान यु श्रीलङ्का गएका थिए। उनी श्रीलङ्काको आर्थिक विकास देखेर निकै प्रभावित भए। सिङ्गापुर फर्केपछि म बीस वर्षमा सिङ्गापुरलाई श्रीलङ्काझैं बनाउने छु”  भनी लि क्यान युले भनेछन्। आज श्रीलङ्का कहाँ छ, सिङ्गापुर कहाँ छ, हामी सामु छरपस्ट छ।
    असल नेतृत्वले देशलाई कहाँबाट कहाँ पुर्याउन सक्छ भन्ने कुरा सिङ्गापुरको विकासबाट थाहा हुन्छ। र खराब नेताले देशको स्थिति कतिसम्म खराब पार्न सक्छ भन्ने कुरा भेनेजुएलाको स्थितिबाट थाहा हुन्छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले धनी भेनेजुएलालाई दरिद्र भेनेजुएला बनाइदिए।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, March 29, 2019

Thursday, March 28, 2019

Book Review - Yogmaya



उपन्यास "योगमाया" को समीक्षा

निहारिकाको लेखन कला

अहिलेको यो अति व्यस्त समयमा मात्र पाँच सात पाना लामो कथा पनि लेख्न वा पढ्न कठिन हुने अवस्थामा सयौं सयौं पाना भएको उपन्यास लेख्न सक्नु आफैमा एउटा ठूलो र प्रशंसनीय कार्य हो। निलम कार्की निहारिकाले लेख्नु  भएको उपन्यास ‘योगमाया’ मा ५३८ पानाहरू छन्। यो एक अति मोटो उपन्यास हो। रवीन्द्र नाथ ठाकुर-लिखित ‘गोरा’ उपन्यास मैले पढे पछि मैले पढेको यो दोस्रो ठूलो उपन्यास हो।
मोटो पुस्तक पढ्दा पाठकको पढ्ने धैर्य टुट्ने सम्भावना धेरै हुन्छ। तर योगमाया पढ्दा मेरो पढ्ने धैर्य भने टुटेन, योगमाया उन्यासको मूल पात्र माया न्यौपानेको जीवन-लिला कसरी समाप्त हुन्छ भन्ने कुरा मैले थाहा पाउँदा पाउँदै पनि। विभिन्न घटनाहरू थाहा पाउँदा पाँउदै पनि। यसप्रकार, यस उपन्यास (कथा) लाई रोचक एवं कौतुहलतापूर्ण पार्न निहारिका सफल भएकी छन्। उनीहरूद्वारा, उनकै शब्द र सोंचाइ एवं व्याख्यामा, प्रस्तुत गरिएका योगमाया सम्बन्धीत घटनाहरू लेखकीय दृष्टिकोणले अत्यन्तै प्रभावकारी छन। डायमन शमशसेरको ऐतिहासिक उपन्यास ‘सेतोबाघ’ पढ्दा मलाई जति आनन्द आएको थियो, जति जानकारी प्राप्त भएको थियो, त्यतिकै आनन्द मलाई योगमाया पढदा पनि आयो। त्यस्तै किसिमले जानकारी पनि पाएँ। यहाँ मैले निहारिका र डायमन शमशेरको तुलना गर्न खोजेको भने होइन, दुबै उपन्यासकारका आफ्नै किसिमको विशेषता छन। शमशेरको प्रशंग मैले यहाँ ल्याउनुको मूल उद्देश्य भने ऐतिहासिक घटनालाई प्रभावकारी किसिमले प्रस्तुत गर्ने क्षमता निहारिकामा र शमशेरमा उस्तै उस्तै रहेको दर्शाउनु हो। यस किसिमबाट मुलुकमा क्षमतावान् आख्यानकारहरूको वृद्धि हुँदै जानु, उनीहरूबाट स्तरीय कृति सृजना हुनु नेपालको साहित्य विकासको लगि खुसीको कुरा हो। यो मेरो निहारिकाप्रतिको नि:स्वार्थ दृष्टिकोण हो। यी कुराहरू लेखेर मलाई कुनै लाभ प्राप्त हुने होइन र त्यस्तो अपेक्षा पनि छैन। मैले आजसम्म निहारिकालाई व्यक्तिगत रुपमा भेटको पनि छैन। म केवल के चाहन्छु भने समालोचकहरूले कृतिहरूको निष्पक्ष भएर समालोचना गरि दिउन। कृतिकारहरू नया पुराना, स्थापित वा विस्थापित (ओझलमा परेका) वा जस्तो सुकै भएता पनि।

कथाको आधारभूमि र मूल पात्र

उपन्यास (कथा) को आधारभूमि माया न्यौपाने (कतै ठूलीहजुर पनि भनिएको छ त कतै योगमाया पनि भनिएको छ) को जन्मस्थल वा माइतीघर भोजपुरको मझुवावेशी भन्ने स्थानमा भएता पनि कथाको आधारभूमि बनारस, आसाम, काठमाडौ, वीरगञ्ज, मुक्तीनाथ, धनकुट्टा आदि जस्ता स्थानहरूसम्म पनि फैलिएको छ। कथा वा उपन्यासको मूल पात्रको रूमपमा रहेकी माया न्यौपाने लाई उपन्यासभरि (प्राय:) ठूलीहजुर पनि भनिएको छ। कथाको मूल पात्र माया भएता पनि कथमा अनेक विभिन्न पात्रहरू पनि छन। सानीहजुर (गङ्गा,) प्रेमनारायण, दुखुना, नैनकला, गन्जबहादुर आदि पनि सशक्त भूमिकामा छन्।

माया न्यौपानेको समाकालीन समाज

माया न्यौपानेको समाकालीन समाज (सन् १८६७ जन्म-१९४१ मृत्यु) ज्यादै नै रूढीवादी, परम्परावादी, लिंगविभेदी एवं अनुदार देखिएको छ। त्यसबेला प्रचलित वालविवाह, वहुविवाह आदि जस्ता कुरीतिहरूले समाज र खासगरि महिलाहरूको जीवनलाई पीडायुक्त एवं पशुतुल्य तुल्याइ दिएको छ। त्यस कालमा ‘कमारा’ ‘कमारी’ हरू केवल घरमा राखिने मात्र होइन, उपभोग्य वस्तु बजारमा बिक्री भएझै बिक्री भएको पाइन्छ। पतिको मुत्युमा ‘शती’ जान नामन्ञ्जुर गर्ने पत्नीहरूलाई परिवार, छिमेक एवं समाजले बलपूर्वक चितामा बसाएको र नमान्नेलाई लठ्ठिप्रहार गरी पतिको चितामा बस्न बाध्य पारेको जस्तो वर्वरतापूर्ण कार्यहरू त्यस समयमा सामान्य रहेको पाइन्छ। तत्कलीन समाजमा व्याप्त यस किसिमका अनमानवीय कार्यहरू बन्द गर्न माया न्यौपानेले संघर्षसहित नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ। शान्तिपूर्ण किसिमबाट समाजमा परिवर्तन ल्याउन तपस्वीनी वा जोगिनी भएको पनि देखिएन्छ। समाजमा सुधार ल्याउन तत्कालीन सरकार (श्री ५ छायामा रही श्री ३ हरूको हातमा राज्य शक्ति रहेको अवस्थामा) संग माया न्यौपानेले जोडदार रूपमा माग गरेको र उनको त्यस किसिका मागहरू सरकारले पूरा नगरि दिएकोले योगमाया वा ठूली हजुर (माया न्यौपाने) ले विरक्तिएर तथा भावावेशमा आएर आफू सहित आफ्नी छोरी (नैनकला), भाइकी पत्नी (गङ्गा), भाइकी छोरी (दुखुना) लगायत आफ्ना केही अनुयायीहरू समेत गरी, पहाडको एक चट्टानमा चढेर अरूण नदीमा फाल हानेर (डुबेर ) जुलाई ५, १९४१ मा जलसमाधी (मृत्यु वरण) गरेको पाइन्छ। छोटकरीमा भन्दा तत्कालीन राज्य व्यवस्था र समाजले माया न्योपानेले ‘धर्म राज्य’ स्थापना गर्न चाहेको उनको उद्देश्य पुरा हुन नदिएकोले उनीले सामुहिक आत्म हत्या गरेको देखिएन्छ। यसरी सयौ वर्ष पहिले नेपालमा समाज सुधारक र महिला आधिकारवादीको रूपमा माया न्यौपानेको उदय भएको पाइन्छ। निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘योगमाया’ ले यस्तै यस्तै भन्छ। योगमाया र उनको समकालीन समाजलाई सत्य (घटना, मिति, व्यक्ति, प्रशासनिक व्यवस्थ) र रोचक किसिमबाट प्रस्तुत गर्न निहारिका पूर्ण रूपमा सफल भएकी छन्। यो निहारिकाका लागि मात्र होइन, आम पाठकको लागि पनि खुसीको कुरा हो। योगमायाको तेस्रो संस्करण पनि प्रकाशित हुनुले नेपाली साहित्य बजारले विकास गर्दै गएको पनि प्रस्ट सन्देश दिन्छ।


योगमायाको मनोविज्ञान

योगमायालाई यस उपन्यासले एक उदार, सङ्घर्षशील, निडर, त्यागी, न्यायी देखाएको छ जुन सत्य पनि हो। तर, यो उपन्यासलाई आधार मानेर हेर्दा मेरो समालोचकीय देष्टिकोणले भने केही फरक मत राख्छ। र केही प्रश्न पनि गर्छ। प्रश्नहरू यस्ता छन: १. योगमायाको उत्तरार्ध समयमा राणाहरू कमजौर हुँदै गएका थिए। आफ्ना मागहरू भविष्यमा पूरा हुने भन्नेतर्फ आशावादी नभएर योगमायाले आत्म हत्या जस्तो (पराजित भएको स्थिति झल्किने) बाटो किन रोजेको होला, उनी जस्तो निडर व्यक्तिले? २. योगमायाले सामुहिक आत्म दाह (पहिलो प्रयासमा) र जल समाधी लिएर सामुहिक आत्महत्या किन गर्न खोजेको होला, थप संघर्ष गर्नुको सट्टा? ३. योगमायाले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गरेको वा बाध्य पारेको हो? वा उनीहरू स्वेच्छाले आत्म हत्या गर्न तयार भएका थिए? ४. छोटो समयमा नै, वा एकै पटक धेरै परिवर्तनहरू ल्याउन उनले किन खोजेको होला? ५. एकातिर उनले जातपातको, ढोंगी धर्मको विरोध गरेको देखिन्छ भने अर्कोतिर उनी बढी समय पूजाआजामा रहने र तपस्या नै गर्ने गरेको देखिन्छ। यस्तो किन भएको होला?  यी सबै प्रश्नहरूको सेरोफेरोमा माया न्यौपाने भावनमा बढी बग्ने वा लहडमा चल्ने व्यक्ति जस्तो देखिन्छिन। एक सफल नेतृत्व दिने क्षमता उनीमा हुँदा हँदै पनि आफ्नो त्यो क्षमताको उनले उपयोग गर्न नसको देखिन्छ। हुन पनि पछिल्ला समयामा योगमायाको अनुयायीहरूको संख्यामा वृद्धि भएर गएको देखिन्छ। यसकारण म दोधारमा हुन पुगेको छु। योगमाया कथा हो वा लोककथा? भन्ने विषयमा म अल्मलिएको छु।

योगमाया समालोचकीय दृष्टिकोणमा

योगमाया (उपन्यास) मा घटना, स्थिति, परिस्थिति बयानगर्दा उपन्यासकार निलम कार्की नियाहरिकाले कतै कतै आवश्यक भन्दा बढी बयान गरेको पाइन्छ र यस कारणले गर्दा पनि यो उपन्यास निकै मोटो हुन गएको प्रष्ट हुन्छ। उपन्यासको मूल्य (रू ५९५।-) बढी हुनु, यो मोटो हुनुले गर्दा भएको जस्तो लाग्छ। उपन्यासलाई अझै पातलो र कम मूल्यको पारेको भए कमजोर आर्थिक स्थितिका पाठकहरूले पनि सहजै यो उपन्यास खरिद गर्ने सक्थ्ये। नेपालमा कमजोर आर्थिक स्थिति भएका पाठकहरूको संख्या थुप्रो छ।
यस उपन्यासमा, कथाका पात्रहरूले बोल्दा कतै कतै उपन्यासकारले बोलेको वा ती पात्रहरूलाई यो बोल, त्यो बोल भन्न लगाएको, वा उपन्यासकारले  पात्रहरू लाई निर्देशित गरेको देखिन्छ। पात्रहरूले स्वभाविक रुपमा नबोलेर उपन्यासकारले बोल्न लगाएको भान हुन्छ। कतैकतै घटना घट्ने कारणमा परिस्थि भन्दा लेखकको सोंच अगाडि आएको देखिन्छ। कतैकतै सहपात्रहरूको बयान हुँदा मूल पात्र (माया) छायामा पर्न गएको पनि देखिएको छ। धेरै स्थानहरूमा,  घटना र व्यक्तिका बारे गरिएका बयानहरू उपन्यासकारले अनावश्यक रुपमा लामो पारेको प्रष्ट गरी थाहा हुन्छ।।

निष्कर्ष

नेपाली साहित्यमा ‘योगमाया’ उपन्यास एक स्तरीय कृतिको रुपमा आएको छ। यस उपन्यासमा, अनावश्यक रूपमा यौनका कुराहरू नल्याएको हुनाले परिवारका सदस्यहरूले मिलेर पढ्न सक्ने, त्यस माथि चर्चा परिचर्चा गर्ने सक्ने, उपयन्यासमा आफ्नो मौलिक दृष्टिकोण समेत राख्न सक्ने हुनाले यो उपन्यास परिवारका सबै सदस्यहरू मिलेर हेर्न सक्ने एक सामाजिक “चलचित्र’ जस्तो भएको छ। यो विशेषतालाई एक सुखद पक्षको रूपमा लिन सकिन्छ। तर यसको अर्थ यौनका कुरा ल्याउनु हुँदैन भन्ने होइन, कथाले मागेको खण्डमा त ल्याउनै पर्छ।
अन्त्यमा,

एक राम्रो कृति पाठकहरूलाई दिन सकेकोमा निहारिकालाई शुभ कामना! 

(C) Bishwa Raj Adhikari

Friday, March 15, 2019

Positive Attitude: Fundamental of Economic Development-Article-239

आर्थिक समृद्धिको आधार जनताको असल मनोविज्ञान

परम्परागत मान्यताहरू परिवर्तन भइरहेका छन्। एउटा समय थियो, जब के विश्वास गरिन्थ्यो भने कुनैपनि देश आर्थिकरूपमा बलियो हुनका लागि त्यहाँ भरपूर प्राकृतिक स्रोत (उब्जाउ जमीन, अनुकूल मौसम, खानी (सुन, हीरा, वन, समुद्र, खोला, ठूलो भूभाग आदि) हरू हुन आवश्यक छ। अर्थात् खानी, पहाड, उब्जाउ जमीन, जलवायु आदिलाई देश समृद्ध पार्ने महत्वपूर्ण सम्पत्ति मान्ने गरिन्थ्यो। तर अब त्यो मान्यतामा परिवर्तन आएको छ। अबको नयाँ अवधारणाले के भन्छ भने कुनैपनि देश धनी हुनका लागि आवश्यक पूर्व शर्तको रूपमा जनताको मनोविज्ञान रहेको हुन्छ। देशलाई प्रशस्त मात्रामा उपलब्ध स्रोत र साधनले होइन जनताको असल मनोविज्ञानले धनी र स्थिर तुल्याउँछ।
    यो नयाँ मान्यताले के भन्छ भने जुन देशको जनता शिक्षित छ, अनुशासित छ, उदार र मिलेर बस्ने स्वभावको छ त्यो देशले तीव्र गतिमा आर्थिक विकास गर्छ। नर्वे, स्वीडेन, फिनल्यान्ड, डेनमार्क, अमेरिका, क्यानाडा, स्वीटजरल्यान्ड जस्ता राष्ट्रहरूले यसै नयाँ मान्यता अनुसार विकास गरेका हुन्। १७ सेप्टेम्बर, १७८७ मा लेखिएको संयुक्त राज्य अमेरिकाको संविधानले अहिलेसम्म निरन्तरता पाएको छ। अरू विभिन्न देशमा एउटा संविधान निलम्बन गरेर अर्को र त्यसपछि फेरि अर्को लेखिएको (जारी गरिएको) उदाहरण धेरै छ। नेपालमा पनि नेपालको संविधान २०१९रद्द गरेर अर्को संविधान जारी भएको छ। नेपालमा जनताको हितभन्दा नेताहरूको हितमा संविधान पुनर्लेखन हुन्छ। त्यस्तै स्थिति भारतको पनि छ।
    यो नयाँ मान्यताको मूल आशय भनेको देशको आर्थिक विकास जनताको मनोविज्ञानसँग जोडिएको हुन्छ, धन सम्पत्ति वा स्रोत एवं साधनहरूसँग हुँदैन। जनता सक्षम छ भने स्वयं स्रोत एवं साधनको सृजना गर्छ। जनता झगडालू स्वभावको छ, मिलेर बस्न सक्तैन, राष्ट्रिय समस्याको समाधान शान्तिपूर्वक गर्न सक्तैन, सामान्य कुरामा पनि विभेद गर्छ, साधारण कुरामा पनि हतियार उठाएर सङ्घर्ष गर्न रुचाउँछ भने भएका स्रोत र साधन पनि नष्ट भएर जान्छ। जनताको त्यस्तो किसिमको मनोविज्ञानले देशका अनेका सम्पत्ति नष्ट मात्र गर्दैन, देशमा नकारात्मक एवं विद्रोही भावना सृजना गराउँछ। मुलुकमा दश वर्षसम्म चलेको माओवादी खुनी सङ्घर्षमा मुलकका अनेक पुल, भवन, ऐतिहासिक धरोहरलगायत अनेक भौतिक सम्पत्ति नष्ट भएको हामीले देखेको कुरा हो। आर्थिक दृष्टिकोणले त्यो अति नै ठूलो क्षति थियो।
    रवान्डा, नाइजेरिया, सोमालिया, मलावी, बुर्किनाफासो, सुडान, यमन, कंगो, अफगानिस्तान आदि यस्ता मुलुक हुन् जो जन मनोविज्ञानबाट पीडित छन्। रवान्डाको जातीय नरसंहार सबैले थाहा पाएकै कुरा हो। दुई जातिय समूह हुटु र टुट्सीबीच केवल १०० दिनसम्म मात्र (April 7, 1994 – July 1994) चलेको सङ्घर्षमा करिब १० लाख व्यक्तिको निर्मम हत्या भएको थियो। कतिपय हुटु पतिहरूले आफ्नै टुट्सी पत्नीहरूको हृदयहीन भएर हत्या गरेका थिए। नाइजेरियामा केही वर्ष पहिले मात्र, महिलाहरूलाई किन शिक्षा दिएको भनी एउटा स्कूलबाट ३०० स्कूले छात्राहरूको अपहरण गरिएको थियो। अपहरण गर्ने सङ्गठन बोको हरामएउटा कट्टर धार्मिक सशस्त्र समूह हो र त्यो समूहले त्यस क्षेत्रमा धार्मिक राज्य स्थापना गर्न चाहन्छ। सन् २०१४ मा अपहरणमा परेका ती छात्राहरूमध्ये केही मुक्त भएपनि धैरै छात्रा अहिलेपनि बोको हरामको कब्जामा छन्। यतिका समय बितिसक्दा पनि छुट्न सकेका छैनन्। बोको हरामले तिनीहरूलाई यौन दासी बनाएर सन्तान उत्पादन गराउने साधनको रूपमा प्रयोग गरिरहेको खबरहरू प्रकाशित भएका छन्।
    सोमालियाले आफ्नो सम्पूर्ण भूभागमा नियन्त्रण कायम गर्न सकेको छैन। अलसबाब भन्ने कट्टर जातीय सङ्गठनले सोमालियामा अनेक किसिमको रक्तापातपूर्ण आन्दोलन चलाइरहेको छ। सोमालिया वर्षौंदेखि स्थिर राष्ट्र हुन सकेको छैन। यमनको स्थितिपनि त्यस्तै छ। सन् २०११ देखि त्यहाँ आरम्भ भएको गृहयुद्धले २० हजार नागरिकको ज्यान लिइसकेको छ। यसैगरी त्यस युद्धको चपेटा (भोखमरी, कुपोषण, बिमारी आदि) मा परी ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ। यमनमा दुई पक्ष (अन्तर्ष्ट्रिय समुदायको समर्थन प्राप्त सरकारजसको नेतृत्व अब्द्राबुह मन्सुर हादी) र हतियारधारी समूह हुथी बीच चलेको युद्ध रोकिने सम्भावना देखिएको छैन। यमनीहरूको विभाजित मनोविज्ञानको फाइदा साउदी अरेबिया र इरानले उठाइरहेका छन्। भन्ने हो भने इरान र साउदी अरेबियाको हित (मध्यपूर्वमा महाशक्ति हुने उच्चाकाङ्क्षा) का लागि यमनीहरू आपसमा काटमार गरिरहेका छन्। जनताको मनोविज्ञानले देशलाई कङ्गाल बनाउँछ भन्ने उदाहरण योभन्दा ठूलो अरू के हुन सक्छ? अनि यस्ता देश  र त्यहाँको जनता धनी हुन्छ?
    मलाला युसुफजईले पाकिस्तानमा महिलाहरूलाई शिक्षा दिनुपर्छ भन्ने अभियानको केवल समर्थन मात्र गरेको कार्यलाई पनि अपराध मानेर त्यहाँका तालिबानीहरूले उनको हत्या गर्ने उद्देश्यका साथ उनीमाथि (९ अक्टोबर २०१२ मा) गोली बर्साएका थिए। तालिबानीहरूले पाकिस्तानमात्र होइन, अफगानिस्तानमा पनि महिला शिक्षाको विरोध गरिरहेका छन्। साथै भेक्सिनदिन आउनेहरू माथि पनि गोली बर्साउने काम गरिरहेका छन्। शिशुको जीवन रक्षा गर्ने भेक्सिनको पनि तालिबानीहरूले विरोध गरिरहेका छन्। यस्तो जनमनोविज्ञान भएको स्थितिमा आर्थिक विकास कसरी सम्भव हुन सक्छ?
    नेपालजस्तै पहाडैपहाडले भरिएको मुलुक स्वीटजरल्यान्ड पनि हो। स्वीटजरल्यान्डले पहाडलाई अमूल्य निधि मानेर त्यसको भरपूर उपयोग गरेको छ। पहाडले गर्दा नै स्वीटजरल्यान्ड प्रकृतिले सिंगारिएको युरोपको एक अति सुन्दर देश हुन पुगेको छ। स्वीटजरल्यान्डलाई युरोपको खेल मैदानभन्ने गरिन्छ। तर त्यही पहाड नेपालको लागि घाँडो भएको छ। पहाडलाई घाँडो मानेर नै ठूलो सङ्ख्यामा नेपालीहरू पहाडबाट तराईतिर बसाइँ सरे। नेपालले पहाडको राम्रो उपयोग गर्ने हो भने यो मुलुक एशियाको नै सुन्दर मुलुक हुन सक्छ, स्वीटजरल्यान्डझैं। नेपालमा पहाडले तराईका र तराईले पहाडका स्रोत र साधन (जलस्रोतबिजुली र यातायात, भूमि, जलवायु, वन, खानी, ढुङ्गा) हरूको समुचित उपयोग गर्ने हो भने नेपाल दक्षिण एशियाको नै धनी राष्ट्र (प्रतिव्यक्ति आयको आधारमा) हुन सक्छ। तर विडम्बना! नेपालमा पहाड र तराईबीच राम्रो सामञ्जस्य कायम हुन सकेको छैन। तराईले आफूलाई पहाडबाट अपहेलित र ठगिएको अनुभूत गर्दछ भने पहाडले तराईमा राष्ट्रियताको कमी रहेको महसूस गर्छ। तराईको राष्ट्रिय भावमाथि शङ्का गर्दै तराईलाई भारतपरस्त मान्छ। यसैगरी तराई ठगिएको मानेर केही तराईका नेताहरूले तराईलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने आवाज पनि चर्काएका छन्। यी सबै गलत कुरा हुन्। यस्तो विग्रह भावनाले पनि आर्थिक विकास हुन सक्छ? नेपालको आर्थिक विकास जहिले पनि पछाडि पर्नमा यो विग्रह भावनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
    तराई र पहाडको सम्बन्ध नङ र मासुजस्तो छ। प्राकृतिक स्रोत र साधनहरू समुचित उपयोगको दृष्टिकोणले यी दुई क्षेत्र एक अर्कामा भर पर्नुपर्ने र सहकार्य गर्नुपर्ने अनिवार्य स्थिति छ। जलस्रोतका लागि तराईले पहाडको भर पर्नुपर्छ भने कृषिको लागि पहाडले तराइको भर गर्नुपर्छ। यस किसिमको भाव राखेर अगाडि बढेमा पो आर्थिक विकास हुन्छ। तर पहाड र तराईले एक अर्कालाई पत्याउने आधार च्यातिएको लुगाझै भएको छ। यसलाई समयमा सिउन आवश्यक छ। र हाम्रो झगडालू जनमनोविज्ञानले यो च्यातिएका लुगा सिउन सकिरहेको छैन।
    स्वीटजरल्यान्डले न पहिलो विश्वयुद्धमा भाग लियो, न दोस्रो विश्वयुद्धमा नै। स्वीटजरल्यान्ड कुनैपनि सैनिक वा सुरक्षा सङ्गठनको सदस्य छैन। यो नाटोको पनि सदस्य छैन। यो देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन। शान्ति, समन्वय र सहकार्यलाई यो देशको जनताले अति महत्व दिएको हुनाले देश र जनता दुवै समृद्ध छन्। जनताको असल मनोभावले यो देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
    जनताको मनोभावको कुरा गर्दा भारत र पाकिस्तानको चर्चा गर्नु पनि उपयुक्त हुन्छ। यी दुवै राष्ट्रले विगतमा धेरै युद्ध गरिसके। पहिलो कश्मीर युद्ध १९४७, इन्डोपाक युद्ध १९६५, इन्डोपाक युद्ध १९७१, इन्डोपाक युद्ध १९९९ लगायत सानातिना कैयौ युद्ध यी दुई राष्ट्रबीच भइसकेको छ। यी राष्ट्रहरूको मनोविज्ञान हेर्दा लाग्छ, यी राष्ट्रका जनतालाई युद्ध मन पर्ने रहेछ। यी दुवै राष्ट्रले सैन्य क्षमता वृद्धिमा जति पैसा खर्च गर्छन् त्यति गाउँगाउँमा स्कूलहरू खोल्न गर्ने हो भने यी दुवै देशको शिक्षाको स्तर माथि उठ्ने थियो। र मलालाजस्ता ले महिला शिक्षाको वकालत गर्दा गोली खानु पर्थेन। तर विडम्बना! यी दुई देशको सिमानामा सानो सैनिक कार्यवाही हुँदापनि दुवै देशका जनता युद्ध गर्ने मनस्थिति बनाएर सडकमा एक अर्कोमाथि हमला गर्न नारा लगाउन थाल्छन्। हालै भएको पाकिस्तानभारत तनावले यस्तै स्थिति देखाएको थियो। यो स्थितिमा भारत, पाकिस्तानभन्दा बढी युद्धप्रेमी देखिएको थियो। तर पाकिस्तानी प्रम इमरान खानको सुझबुझले गर्दा यो क्षेत्रमा ठूलो युद्ध हुन पाएन। जनधनको क्षति हुन पाएन।

    अब निष्कर्षतिर लागौं। आर्थिक विकासको नयाँ मान्यताले भन्छ देशको आर्थिक विकास हुनका लागि जनताको मनोविज्ञान पनि असल हुनु आवश्यक छ। जनताको मनोविज्ञानमा समस्या देखिएकोले नै साधन र स्रोतका बावजुद पनि अफ्रिकाका धेरै देशहरूले आर्थिक विकास गर्न सकेका छैनन्। त्यही अवस्था दक्षिण एशियामा पनि छ। अनि नेपाल, र छिमेकी भारत, पाकिस्तान, र अफगानिस्तानमा पनि।

Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, March 15, 2019

Friday, March 8, 2019

Exploring the Income Sources is Essential Task-Artifice-238


आम्दानीको श्रोत पत्ता लगाऔ

प्रादेशिक विभाजनले प्रदेशहरूलाई मात्र होइन, स्थानीय तह- नगरपालिका र गाउँपालिकहरूलाई पनि अधिकार सम्पन्न तुल्याएको छ। केन्द्रबाट भएको यो अधिकार प्रत्योजनको प्रयोग अब केवल राजनीति क्षेत्रमा गर्ने हो भने मुलुकको आर्थिक स्थिति कछुवा चालमा नै रहने छ। नेताहरूले केवल राजनीतिक शक्ति हस्तगत गर्न वा मन्त्री वा प्रधान मंत्री हुनमा प्रयोग गर्ने हो भने मुलुक झन झन गरिब भएर जाने छ। चुनावको लागि मात्र प्रयोग गर्ने हो नेपालीहरूको गरिबी यथा स्थानामा नै रहने छ।आर्थिक, राजनीतिक एवं सामाजिक भ्रष्टाचारको दलदलमा फँस्ने छ।
अव प्रत्येक स्थानीय निकायले आफ्नो क्षेत्रको विकासको लागि आम्दानीको स्रोत निर्माण गर्नु पर्छ। केवल केन्द्र वा प्रदेश सरकारको मुख ताक्ने परम्परा समाप्त गर्दै लग्नु पर्छ। कुनै क्षेत्रको विकास गर्ने प्रथम अभिभारा त्यस क्षेत्रको जनताको हो, त्यस पछि मात्र प्रादेशिक वा केन्द्रीय सरकारको हो। यो यथार्थलाई स्वीकार्ने पर्छ। न स्वीकार्ने हो भने आर्थिक विकासको सपना झनै पर पर पुग्ने छ।
स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासमा लाग्ने विभिन्न किसिमका खर्चहरू (सडक, स्कूल, अस्पताल, अग्नी नियन्त्रण, एम्बुलेन्स, सुरक्षा व्यवस्था, प्रहरी, न्यालय, सामाजिक सेवा) का लागि आफैले नियमित र भरपर्दो आम्दानीको स्रोत निर्माण गर्नु पर्छ। यस्तो गर्न सकियो भने मात्र आर्थिक विकासको गतिले तिब्रता लिने छ।
आम्दानीका विभिन्न स्रोतहरू छन। व्यवस्थित किसिमले अन्वेषण गर्ने हो भने ती स्रोतहरूको पहिचान र उपयोग गर्न सकिन्छ। ती विभिन्न स्रोतहरू मध्ये सर्वाधिक सजिलो, प्रचलित र अनुगमन गर्न सकिने स्रोत हो कर। कर असुलीबाट प्रत्येक स्थानीय निकायले राम्रो आम्दानी प्राप्त गर्न सक्छ। स्थानीय निकायले प्रत्यक्ष र अप्रत्यक्ष कर लिन सक्छ।
आम्दानी गर्ने प्रत्येक स्थानीय बासिन्दासँग कर लिने तर कम आम्दानी हुने वा निर्धनहरूबाट लिएको कर उनीहरूलाई वर्षको अन्तमा फिर्ता गर्ने व्यवस्था हुनु पर्छ। यस किसिमको कर प्रणालीको व्यवस्था गरेर सबैलाई करको घेरा भित्र राख्नु पर्छ। र हरेक कर भुक्तान गर्न योग्य व्यक्तिसँग (फिर्ता नगर्ने गरी ) अनिवार्य रूपमा कर लिनु पर्छ। स्थानीय तहको आर्थिक, सामाजिक विकासको लागि कर नै एक भरपर्दो आम्दानीको स्रोत हो। कुनै पनि क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने कर नै हो। 

वहुसङ्ख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य  कसरी तुल्याउने?
वहुसङख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य तुल्याउने कार्य कठिन छ तर असम्भव भने छैन। पश्चिमका राष्ट्रहरूले यस्तो गरेर नै आर्थिक विकास गरेका हुन र अहिले पनि आर्थिक विकासको क्षेत्रमा पश्चिमका राष्ट्रहरू पूर्वका राष्ट्रहरू भन्दा धेरै नै अगाडि छन्। यी राष्ट्रहरूको प्रमुख आयको स्रोत कर नै हो। हुन त यिनीहरूले बोन्ड एवं ट्रेजरी बिल जारी गरेर पनि कोष सङ्कलन गर्दछन।  
अव प्रत्येक स्थानीय निकाय (क्षेत्र) हरूले आफूलाई एक बजारको रूपमा विकास गर्नु पर्छ। र आफ्नो क्षेत्रमा मुख्य गरी तिन कुराहरूको विकास एवं विस्तारमा जोड दिनु पर्छ। ती तिन कुराहरू हुन- व्यापार, उदयोग र सेवा।
प्रकृतिले प्रत्येक क्षेत्रलाई केही ने केही (हावापानी, मौसम, जमिन, पहाड, खानी, जलस्रोत, जंगल, खोला, जलासय आदि आदि) वरदानको रुपमा दिएको हुन्छ। यसै गरी, हरेक क्षेत्रसँग आफ्नै किसिमको संस्कृति, परम्परा, चाडपर्व हुन्छ। हरेक क्षेत्रका व्यक्तिहरू खास किसिमका कार्यहरूमा कुशल (जस्तै हिमाली क्षेत्र वा पर्वतारोहणमा शेर्पाहरू) हुन्छन। यसरी, यी विभिन्न किसिमका स्रोतहरूको उपयोग गरेर हरेक क्षेत्रले आफ्नो स्थानमा व्यापार, उद्योग एवं सेवाको विकासमा जोड दिनु पर्छ। हरेक स्थान (गाउँ वा नगरपालिका) ले आम्दानीका लागि अवश्य पनि केही न केही (वस्तु वा सेवा) उत्पादन गर्नु पर्छ। गाउँहरू कृष कार्य, र शहरहरू व्यापारमा केन्द्रित हुनु पर्छ भन्ने पुरानो मान्यता अव त्याग्नु पर्छ। अब प्रत्येक स्थानलाई एक व्यापारिक केन्द्रको रूपमा विकास गर्नु पर्छ। उदाहरणको लागि, मध्य तराइको कुरा गर्ने हो भने, जनकपुर, जलेश्वर, सिम्रौनगढ, बिन्दबासिनी मन्दिर (पर्सा) यस्ता क्षेत्रहरू हुन जसले पर्यटनको पर्याप्त सम्भावनाहरू बोकेका छन। यस क्षेत्रका नागरिकहरूले पर्यटनको विकासबाट प्रशस्त आम्दानी गर्न सक्छन। पञ्चायत कालमा अधिकारहरू केन्द्रित गरिएकोले यी क्षेत्रहरूले यथेष्ठ विकास गर्न सकेनन। तर प्रजातान्त्रिक कालमा पनि यी क्षेत्रहरूले आफ्ना स्थानीय स्रोत एवं साधनहरूको उपयोग गर्न सकेका छैन। यस क्षेत्रमा भएका स्रोत र साधनहरूको उपयोगमा स्थानीयहरूले चाँसो देखाउनु पर्ने हो। तर स्थानीयहरूले आफ्नो क्षेत्रमा उपलब्ध स्रोत एवं साधनहरूको प्रभावकारी उपयोगमा ध्यान दिएको पाइँदैन। उदाहरणका लागि जनकपुरलाई नै लिन सकिन्छ। जनकपुरसँग बलियो इतिहास र जीवन्त धार्मिक स्थलहरू (जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, बारबिगाह, लक्ष्मण आखडा, धनुसागर, गंगासागर) भएता पनि यस क्षेत्र बासिन्दाहरूले यी अमूल्य निधिहरूबाट पर्याप्त लाभ लिन सकेका छैन। जनकपुरका नागरिक र विभिन्न राजनीतिक दलहरूले एउटा राम्रो सहमति बनाएर सह-कार्य गर्ने हो भने जनकपुर विश्वको नै एक महत्वपूर्ण तिर्थ स्थल बन्न सक्छ। जनकपुरले पर्यटन क्षेत्रबाट गरेको आम्दानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। जनकपुर, केदारनाथ र बद्रिनाथ (भारतका तिर्थ स्थलहरू) भन्दा क्षेत्रफलको आधारमा ठूलो मात्र छैन, यातायात र मौसको दृष्टिकोणले पनि सुगम छ। तर जनकपुरको आन्तरिक राजनीति र दलहरू बिचको खिंचातानीले एक तिर्थ स्थलको रूपमा, एक राम्रो आय आर्जन गर्ने स्रोतको रुपमा जनकपुरको समुचित विकास हुन सकेको छैन। यस किसिमका उदाहरणहरू तराइमा मात्र होइन, पहाडमा पनि थुप्रै छन।

तराइ र बजारको औसर
तराइमा विभिन्न किसिमका बजारहरू सृजना गर्ने र ती बजारहरूबाट प्रशस्त आम्दानी गर्न सक्ने थुप्रै थुप्रै सम्भावनाहरू छन। तर दु:खद कुरो तिनको प्रयोग हुन सकेको छैन। तराइमा रहेका बजारहरू भारतीय सीमा नजिक भएकोले ती बजारहरूले सस्तोमा (भारतीय स्थानीय बजारभन्दा) वस्तुहरू उत्पादन गरेर ती वस्तुहरू भारतीय-सीमा बजारमा बिक्री गर्न सक्ने पर्याप्त सम्भावना छ। तर मुख्य कुरा तराइका बजारहरूले भारतीय स्थानीय बजार भन्दा सस्तोमा उत्पादन गर्न सक्नु पर्छ। सस्तोमा उत्पादन गर्ने तरिकारहरू खोजि गर्नु पर्छ।

के भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ?
भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ र त्यस किसिमबाट उत्पादन गर्न सकिने पर्याप्त आधारहरू छन्। खास किसिमका वस्तुहरू, जसको उत्पानमा हाम्रो दक्षता छ, सस्तोमा उत्पादन गर्न सकिन्छ। भारतीय मुद्रा हाम्रो मुद्रा भन्दा बलियो भएकोले ती वस्तुहरू सजिलै भारतीय बजारहरूमा बिक्री गर्न सकिन्छ पनि। मात्र हामीले त्यस किसिमक वस्तुहरूको पहिचान गर्नु पर्छ।
नेपालमा सेवाहरू सस्तोमा उत्पादन गरेर पनि भारतीय पर्यटकहरूलाई बिक्री गर्न सकिन्छ र राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ। जस्तै रिसोर्ट, पिकनिक स्थल, होटल, लज, अस्पताल, थिम पार्क, संग्राहलय, कलेज आदि जस्ता सेवा प्रदान गर्ने स्रोतहरूको स्थापना गरेर भारतीय ग्राहकहरूलाई ती सेवाहरू बिक्री गर्न सकिन्छ।

लाभप्रद छिमेकी बजार
भारतीय सीमावर्ती बजारहरू हाम्रो लागि निकै लाफप्रद हुन सक्छन। तर दु:खद कुरा भारतीय बजारहरूले नेपालका बजारहरू उपयोग गरि रहेका छन तर सीमवर्ती नेपाली बजारहरूले भारतीय बजारहरूको उपयोग गर्न सकेका छैनन। उदाहरणका लागि अहिले पनि वीरगञ्जबाट ठूलो संख्यामा क्रेताहरू रक्सौलतर्फ विभिन्न सामानहरू खरिद गर्न जान्छन। तर रक्सौलबाट ज्यादै थोरै संख्यामा भारतीय क्रेताहरू विभिन्न समानहरू खरिद गर्न वीरगञ्ज आउँछन। यसै गरी जुन संख्यामा नेपालका सीमावर्ती क्षेत्रहरूका नेपालीहरू ‘बाबाधाम’ जान्छन त्यसको तुलनतामा कमै व्यक्तिहरू नेपालको सीमावर्ती तिर्थ स्थल (खास गरी वीरगञ्ज) तर्फ आउँछन। यस्तो किन भएको होला? हामीले किन वीरगञ्जको “अलखिया मठ” लाई बाबाधामको हाराहारीमा ल्याउन सकेनौ? अलखिया मठको प्रचार प्रसार किन गर्न सकेनौ? किनभने हामीलाई “मारकेटिंग” गर्न आउँदैन। मारकेटिंको क्षेत्रमा हामी अहिले निकै पछाडि छौ। बामे सर्ने बालकको स्थितिमा छौ। हामीसँग भएको स्रोत र साधनहरूलाई उच्च लाफ प्राप्त हुने किसिमबाट उपयोग गर्ने हामीसँग ज्ञान र सिप दुबै छैन। हिम्मत पनि छैन। जुन अनुपातमा हामी राजनीति गर्छौ त्येही अनुपातमा हामीले स्थानीय स्रोत र साधनहरूको उपयोग गर्ने हो भने, मारकेटिंग गर्ने हो भने, हाम्रो उपलब्ध स्रोत र साधनले हामीलाई छोटो समयमा नै धनी राष्ट्रको सूचीमा पारि दिन्छ। स्विट्जरलैण्ड जस्तो पहाडी देश युरोपको धनी राष्ट्रहरू मध्ये एक हुन सक्छ भने नेपाल किन हुन सक्तैन? यो प्रश्न सबै नेपालीहरूले स्वयं आफै सँग गर्न आवश्यक छ।

निष्कर्ष
माथिका कुराहरू केवल आदर्श जस्तो लाग्न सक्छन। गुरूले शिष्यलाई केवल कोरा ज्ञान दिए जस्तो लाग्न सक्छन। तर त्यस्तो होइन। विश्वका धनी राष्ट्रहरूले माथि भनिएझै गरेर धन आर्जन गरेका हुन। स्थानीय बजारहरूलको उपयोग गरेर धनी भएका हुन।
प्रत्येक क्षेत्रका स्थानीयहरूले आफ्नो क्षेत्रको स्वयंले विकास गरेर देशलाई धनी तुल्याएका हुन।
र देश धनी हुन कुनै पनि देशले करको माध्यमबाट राम्रो आम्दानी पाप्त गर्न आवश्यक छ। यसका लागि स्थानीय बजारहरू आर्थिक रूपमा सक्षम हुन आवश्यक छ।

विश्वराज अधिकारी
Wednesday, March 06, 2019