Thursday, March 28, 2019

Book Review - Yogmaya



उपन्यास "योगमाया" को समीक्षा

निहारिकाको लेखन कला

अहिलेको यो अति व्यस्त समयमा मात्र पाँच सात पाना लामो कथा पनि लेख्न वा पढ्न कठिन हुने अवस्थामा सयौं सयौं पाना भएको उपन्यास लेख्न सक्नु आफैमा एउटा ठूलो र प्रशंसनीय कार्य हो। निलम कार्की निहारिकाले लेख्नु  भएको उपन्यास ‘योगमाया’ मा ५३८ पानाहरू छन्। यो एक अति मोटो उपन्यास हो। रवीन्द्र नाथ ठाकुर-लिखित ‘गोरा’ उपन्यास मैले पढे पछि मैले पढेको यो दोस्रो ठूलो उपन्यास हो।
मोटो पुस्तक पढ्दा पाठकको पढ्ने धैर्य टुट्ने सम्भावना धेरै हुन्छ। तर योगमाया पढ्दा मेरो पढ्ने धैर्य भने टुटेन, योगमाया उन्यासको मूल पात्र माया न्यौपानेको जीवन-लिला कसरी समाप्त हुन्छ भन्ने कुरा मैले थाहा पाउँदा पाउँदै पनि। विभिन्न घटनाहरू थाहा पाउँदा पाँउदै पनि। यसप्रकार, यस उपन्यास (कथा) लाई रोचक एवं कौतुहलतापूर्ण पार्न निहारिका सफल भएकी छन्। उनीहरूद्वारा, उनकै शब्द र सोंचाइ एवं व्याख्यामा, प्रस्तुत गरिएका योगमाया सम्बन्धीत घटनाहरू लेखकीय दृष्टिकोणले अत्यन्तै प्रभावकारी छन। डायमन शमशसेरको ऐतिहासिक उपन्यास ‘सेतोबाघ’ पढ्दा मलाई जति आनन्द आएको थियो, जति जानकारी प्राप्त भएको थियो, त्यतिकै आनन्द मलाई योगमाया पढदा पनि आयो। त्यस्तै किसिमले जानकारी पनि पाएँ। यहाँ मैले निहारिका र डायमन शमशेरको तुलना गर्न खोजेको भने होइन, दुबै उपन्यासकारका आफ्नै किसिमको विशेषता छन। शमशेरको प्रशंग मैले यहाँ ल्याउनुको मूल उद्देश्य भने ऐतिहासिक घटनालाई प्रभावकारी किसिमले प्रस्तुत गर्ने क्षमता निहारिकामा र शमशेरमा उस्तै उस्तै रहेको दर्शाउनु हो। यस किसिमबाट मुलुकमा क्षमतावान् आख्यानकारहरूको वृद्धि हुँदै जानु, उनीहरूबाट स्तरीय कृति सृजना हुनु नेपालको साहित्य विकासको लगि खुसीको कुरा हो। यो मेरो निहारिकाप्रतिको नि:स्वार्थ दृष्टिकोण हो। यी कुराहरू लेखेर मलाई कुनै लाभ प्राप्त हुने होइन र त्यस्तो अपेक्षा पनि छैन। मैले आजसम्म निहारिकालाई व्यक्तिगत रुपमा भेटको पनि छैन। म केवल के चाहन्छु भने समालोचकहरूले कृतिहरूको निष्पक्ष भएर समालोचना गरि दिउन। कृतिकारहरू नया पुराना, स्थापित वा विस्थापित (ओझलमा परेका) वा जस्तो सुकै भएता पनि।

कथाको आधारभूमि र मूल पात्र

उपन्यास (कथा) को आधारभूमि माया न्यौपाने (कतै ठूलीहजुर पनि भनिएको छ त कतै योगमाया पनि भनिएको छ) को जन्मस्थल वा माइतीघर भोजपुरको मझुवावेशी भन्ने स्थानमा भएता पनि कथाको आधारभूमि बनारस, आसाम, काठमाडौ, वीरगञ्ज, मुक्तीनाथ, धनकुट्टा आदि जस्ता स्थानहरूसम्म पनि फैलिएको छ। कथा वा उपन्यासको मूल पात्रको रूमपमा रहेकी माया न्यौपाने लाई उपन्यासभरि (प्राय:) ठूलीहजुर पनि भनिएको छ। कथाको मूल पात्र माया भएता पनि कथमा अनेक विभिन्न पात्रहरू पनि छन। सानीहजुर (गङ्गा,) प्रेमनारायण, दुखुना, नैनकला, गन्जबहादुर आदि पनि सशक्त भूमिकामा छन्।

माया न्यौपानेको समाकालीन समाज

माया न्यौपानेको समाकालीन समाज (सन् १८६७ जन्म-१९४१ मृत्यु) ज्यादै नै रूढीवादी, परम्परावादी, लिंगविभेदी एवं अनुदार देखिएको छ। त्यसबेला प्रचलित वालविवाह, वहुविवाह आदि जस्ता कुरीतिहरूले समाज र खासगरि महिलाहरूको जीवनलाई पीडायुक्त एवं पशुतुल्य तुल्याइ दिएको छ। त्यस कालमा ‘कमारा’ ‘कमारी’ हरू केवल घरमा राखिने मात्र होइन, उपभोग्य वस्तु बजारमा बिक्री भएझै बिक्री भएको पाइन्छ। पतिको मुत्युमा ‘शती’ जान नामन्ञ्जुर गर्ने पत्नीहरूलाई परिवार, छिमेक एवं समाजले बलपूर्वक चितामा बसाएको र नमान्नेलाई लठ्ठिप्रहार गरी पतिको चितामा बस्न बाध्य पारेको जस्तो वर्वरतापूर्ण कार्यहरू त्यस समयमा सामान्य रहेको पाइन्छ। तत्कलीन समाजमा व्याप्त यस किसिमका अनमानवीय कार्यहरू बन्द गर्न माया न्यौपानेले संघर्षसहित नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ। शान्तिपूर्ण किसिमबाट समाजमा परिवर्तन ल्याउन तपस्वीनी वा जोगिनी भएको पनि देखिएन्छ। समाजमा सुधार ल्याउन तत्कालीन सरकार (श्री ५ छायामा रही श्री ३ हरूको हातमा राज्य शक्ति रहेको अवस्थामा) संग माया न्यौपानेले जोडदार रूपमा माग गरेको र उनको त्यस किसिका मागहरू सरकारले पूरा नगरि दिएकोले योगमाया वा ठूली हजुर (माया न्यौपाने) ले विरक्तिएर तथा भावावेशमा आएर आफू सहित आफ्नी छोरी (नैनकला), भाइकी पत्नी (गङ्गा), भाइकी छोरी (दुखुना) लगायत आफ्ना केही अनुयायीहरू समेत गरी, पहाडको एक चट्टानमा चढेर अरूण नदीमा फाल हानेर (डुबेर ) जुलाई ५, १९४१ मा जलसमाधी (मृत्यु वरण) गरेको पाइन्छ। छोटकरीमा भन्दा तत्कालीन राज्य व्यवस्था र समाजले माया न्योपानेले ‘धर्म राज्य’ स्थापना गर्न चाहेको उनको उद्देश्य पुरा हुन नदिएकोले उनीले सामुहिक आत्म हत्या गरेको देखिएन्छ। यसरी सयौ वर्ष पहिले नेपालमा समाज सुधारक र महिला आधिकारवादीको रूपमा माया न्यौपानेको उदय भएको पाइन्छ। निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘योगमाया’ ले यस्तै यस्तै भन्छ। योगमाया र उनको समकालीन समाजलाई सत्य (घटना, मिति, व्यक्ति, प्रशासनिक व्यवस्थ) र रोचक किसिमबाट प्रस्तुत गर्न निहारिका पूर्ण रूपमा सफल भएकी छन्। यो निहारिकाका लागि मात्र होइन, आम पाठकको लागि पनि खुसीको कुरा हो। योगमायाको तेस्रो संस्करण पनि प्रकाशित हुनुले नेपाली साहित्य बजारले विकास गर्दै गएको पनि प्रस्ट सन्देश दिन्छ।


योगमायाको मनोविज्ञान

योगमायालाई यस उपन्यासले एक उदार, सङ्घर्षशील, निडर, त्यागी, न्यायी देखाएको छ जुन सत्य पनि हो। तर, यो उपन्यासलाई आधार मानेर हेर्दा मेरो समालोचकीय देष्टिकोणले भने केही फरक मत राख्छ। र केही प्रश्न पनि गर्छ। प्रश्नहरू यस्ता छन: १. योगमायाको उत्तरार्ध समयमा राणाहरू कमजौर हुँदै गएका थिए। आफ्ना मागहरू भविष्यमा पूरा हुने भन्नेतर्फ आशावादी नभएर योगमायाले आत्म हत्या जस्तो (पराजित भएको स्थिति झल्किने) बाटो किन रोजेको होला, उनी जस्तो निडर व्यक्तिले? २. योगमायाले सामुहिक आत्म दाह (पहिलो प्रयासमा) र जल समाधी लिएर सामुहिक आत्महत्या किन गर्न खोजेको होला, थप संघर्ष गर्नुको सट्टा? ३. योगमायाले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गरेको वा बाध्य पारेको हो? वा उनीहरू स्वेच्छाले आत्म हत्या गर्न तयार भएका थिए? ४. छोटो समयमा नै, वा एकै पटक धेरै परिवर्तनहरू ल्याउन उनले किन खोजेको होला? ५. एकातिर उनले जातपातको, ढोंगी धर्मको विरोध गरेको देखिन्छ भने अर्कोतिर उनी बढी समय पूजाआजामा रहने र तपस्या नै गर्ने गरेको देखिन्छ। यस्तो किन भएको होला?  यी सबै प्रश्नहरूको सेरोफेरोमा माया न्यौपाने भावनमा बढी बग्ने वा लहडमा चल्ने व्यक्ति जस्तो देखिन्छिन। एक सफल नेतृत्व दिने क्षमता उनीमा हुँदा हँदै पनि आफ्नो त्यो क्षमताको उनले उपयोग गर्न नसको देखिन्छ। हुन पनि पछिल्ला समयामा योगमायाको अनुयायीहरूको संख्यामा वृद्धि भएर गएको देखिन्छ। यसकारण म दोधारमा हुन पुगेको छु। योगमाया कथा हो वा लोककथा? भन्ने विषयमा म अल्मलिएको छु।

योगमाया समालोचकीय दृष्टिकोणमा

योगमाया (उपन्यास) मा घटना, स्थिति, परिस्थिति बयानगर्दा उपन्यासकार निलम कार्की नियाहरिकाले कतै कतै आवश्यक भन्दा बढी बयान गरेको पाइन्छ र यस कारणले गर्दा पनि यो उपन्यास निकै मोटो हुन गएको प्रष्ट हुन्छ। उपन्यासको मूल्य (रू ५९५।-) बढी हुनु, यो मोटो हुनुले गर्दा भएको जस्तो लाग्छ। उपन्यासलाई अझै पातलो र कम मूल्यको पारेको भए कमजोर आर्थिक स्थितिका पाठकहरूले पनि सहजै यो उपन्यास खरिद गर्ने सक्थ्ये। नेपालमा कमजोर आर्थिक स्थिति भएका पाठकहरूको संख्या थुप्रो छ।
यस उपन्यासमा, कथाका पात्रहरूले बोल्दा कतै कतै उपन्यासकारले बोलेको वा ती पात्रहरूलाई यो बोल, त्यो बोल भन्न लगाएको, वा उपन्यासकारले  पात्रहरू लाई निर्देशित गरेको देखिन्छ। पात्रहरूले स्वभाविक रुपमा नबोलेर उपन्यासकारले बोल्न लगाएको भान हुन्छ। कतैकतै घटना घट्ने कारणमा परिस्थि भन्दा लेखकको सोंच अगाडि आएको देखिन्छ। कतैकतै सहपात्रहरूको बयान हुँदा मूल पात्र (माया) छायामा पर्न गएको पनि देखिएको छ। धेरै स्थानहरूमा,  घटना र व्यक्तिका बारे गरिएका बयानहरू उपन्यासकारले अनावश्यक रुपमा लामो पारेको प्रष्ट गरी थाहा हुन्छ।।

निष्कर्ष

नेपाली साहित्यमा ‘योगमाया’ उपन्यास एक स्तरीय कृतिको रुपमा आएको छ। यस उपन्यासमा, अनावश्यक रूपमा यौनका कुराहरू नल्याएको हुनाले परिवारका सदस्यहरूले मिलेर पढ्न सक्ने, त्यस माथि चर्चा परिचर्चा गर्ने सक्ने, उपयन्यासमा आफ्नो मौलिक दृष्टिकोण समेत राख्न सक्ने हुनाले यो उपन्यास परिवारका सबै सदस्यहरू मिलेर हेर्न सक्ने एक सामाजिक “चलचित्र’ जस्तो भएको छ। यो विशेषतालाई एक सुखद पक्षको रूपमा लिन सकिन्छ। तर यसको अर्थ यौनका कुरा ल्याउनु हुँदैन भन्ने होइन, कथाले मागेको खण्डमा त ल्याउनै पर्छ।
अन्त्यमा,

एक राम्रो कृति पाठकहरूलाई दिन सकेकोमा निहारिकालाई शुभ कामना! 

(C) Bishwa Raj Adhikari

No comments:

Post a Comment