Friday, October 30, 2020

USA: Built on Hard Work-Article-299

परिश्रमले धनी भएको देश अमेरिका 

 धेरै मानिसमा अमेरिकी जीवन अति सरल छ भन्ने भ्रम हुन सक्छ। तर सोचे जस्तो अमेरिकी जीवन सरल भने छैन। भौतिक सुख–साधनहरूको उपलब्धता अति सरल हुँदाहुँदै पनि अनेक प्राकृतिक विपत्का कारण अमेरिकी जीवन सरल छैन। अनेक किसिमका वितण्डा मचाएर प्रकृतिले अमेरिकीहरूलाई अनेक दुःख, कष्ट दिने गर्दछ। अमेरिकालाई मुख्यगरी चार प्राकृतिक समस्याले बढी सताउने गरेको छ। समुद्री आँधी (Hurricane), अत्यधिक हिमपात तथा बरफ बन्ने वर्षा (freezing rain), बवण्डर (Tornado) तथा डढेलो (Wildfires) ले अमेरिकालाई भय, त्रास र ठूलो जनधनको नोक्सानीसहित प्रत्येक वर्ष सताउने गरेको छ। 

टेक्सास, क्यान्सस, फ्लोरिडा, ओक्लहोमा, नेब्रास्का यस्ता अमेरिकी राज्य हुन्, जो बवण्डर पीडित छन्। यी राज्यमा प्रत्येक वर्ष साना–ठूला बवण्डर आउने गर्दछन्। अपार शक्ति र ठूलो आकारका यी बवण्डरहरूले ठूलो जनधनको क्षति गर्ने गरेका छन्। 

 आइतवार, मे २२, २०११ मा मिजोरी राज्यको जोप्लिन शहरमा आएको बवण्डरले अमेरिकी इतिहासमा नै ठूलो उत्पात मचाएको थियो। ३८ मिनेटसम्म चलेको त्यो बवण्डरले १५८ जनाको ज्यान लिएको थियो भने एक हजारभन्दा बढी मानिसलाई घाइते पारेको थियो। यसैगरी, उक्त बवण्डरले ६ हजार ९ सय ५४ घर विनाश गरेको थियो। करीब ९ सय घरमा साना–ठूला क्षति पु–याएको थियो। आर्थिक क्षति पनि उत्तिकै भएको थियो। 

 यसैगरी, सोमवार, मे २०, २०१३ मा ओक्लहोमा राज्यको मोर शहरमा आएको बवण्डरले २४ जनाको ज्यान लिएको थियो। २१२ जनालाई घाइते पारेको थियो। ३०० घर ध्वस्त पारेको थियो। प्रायः हरेक वर्ष साना–ठूला अनेक किसिमका बवण्डर ओक्लहोमामा आउने गरेकाले यो विपत्बारे यस राज्यका बासिन्दा राम्ररी अवगत छन्। यो विपत्को सामना गर्न पूर्वतयारी गर्छन्। 

 बवण्डरबाट जोगिन त्यहाँ प्रत्येक परिवारले आआफ्नो घरमा टोर्नाडो सेल्टर (फलामको कोठा) बनाए तापनि बवण्डरले ज्यान लिने नै गर्छ। अर्कोतिर मौसमसम्बन्धी विश्लेषण अति भरपर्दो भएर, बवण्डर कुन समय र कति शक्तिका साथ आउने पूर्वजानकारी भए तापनि जनधनको क्षति शून्य पार्न सकिएको छैन। तर सर्वाधिक महत्वपूर्ण कुरा के भने बवण्डरको शक्ति, समय र दिशा पहिले नै अनुसन्धान एवं विश्लेषणद्वारा अनुमान गरिएको हुन्छ र त्यो अनुमान सत्य साबित हुन्छ, केही न्यून अपवादबाहेक। अर्थात् प्रकृतिलाई नियन्त्रण गर्न नसके पनि त्यसको असर कम पार्न भने अमेरिकाले ठूलो प्रयास गरेको पाइन्छ। र उक्त प्रयासमा सफल पनि भएको छ। 

 समुद्री आँधीले पनि अमेरिकालाई कम सताउँदैन। फ्लोरिडा, टेक्सास, नोर्थ क्यारोलिना, लुजियाना, साउथ क्यारोलिना, अलाबामा, जोर्जिया, मिसिसिपी, न्यूयोर्क, मासाच्युसेट्सजस्ता अमेरिकी राज्यलाई प्रत्येक वर्ष समुद्री आँधीले अति सताउने गर्दछ। जनधनको रक्षा गर्ने सुरक्षाका ठूला–ठूला प्रभावकारी व्यवस्था लागू गर्नुका साथै कहिलेकाहीं समुद्री आँधीले ज्यादै क्षति पु–याउने शहर खाली गर्ने आदेश शहर वा राज्यका अधिकारीहरूले औपचारिकरूपमा, ‘मान्ने पार्ने किसिमले’, जारी गर्नुपर्ने हुन्छ। शहरहरू खाली पनि हुन्छन्।

 सन् २००० पछिकै कुरा गर्ने हो भने अमेरिकामा अनेक ठूला–ठूला समुद्री आँधी आएर जनधनमा ठूलै क्षतिपु–याएका छन्। सन् २००० पछि आएका केही अति शक्तिशाली समुद्री आँधी एवं तिनले पु–याएको आर्थिक क्षति निम्न प्रकार छन्। अमेरिकामा समुद्री आँधीको उचित अभिलेख राख्न एवं तिनको प्रभावकारी व्यवस्थापन गर्न प्रत्येक समुद्री आँधीलाई छुट्टाछुट्टै नाम दिने गरिन्छ। जस्तै रिटा, कट्रिना, इज्जाक आदि। 

 अमेरिकामा आएका इज्जाक (सन् २०१२, क्षति २.३५ बिलियन डलर), डेनिस (सन् २००५, क्षति २.५४ बिलियन डलर), डोरिएन (सन् २०१९, क्षति ३.४ बिलियन डलर), गुस्ताभ (सन् २००८, क्षति ४.६ बिलियन डलर), इजाबेल (सन् २००३, क्षति ५. ३७ बिलियन डलर), जेन (सन् २००४, क्षति ५. ६६ बिलियन डलर), फ्रान्सेस (सन् २००४, क्षति ९.५ बिलियन डलर), रिटा (सन् २००५, क्षति १२.०० बिलियन डलर), चार्ली (सन् २००४, क्षति १५.०० बिलियन डलर), इर्नी (सन् २०११, क्षति १५.०८ बिलियन डलर), इभान (सन् २००४, क्षति १८.८ बिलियन डलर), विल्मा (सन् २००५, क्षति २१.०० बिलियन डलर), फ्लोरेन्स (सन् २०१८, क्षति २४.०० बिलियन डलर), माइकल (सन् २०१८, क्षति २५.१ बिलियन डलर), आइक (सन् २००८, क्षति २९.५२ बिलियन डलर), सेन्डी (सन् २०१२, क्षति ५०.०० बिलियन डलर), इर्मा (सन् २०१७, क्षति ५०.०० बिलियन डलर), हार्भी (सन् २०१७, क्षति १२५.०० बिलियन डलर), कट्रिना (सन् २००५, क्षति १२५.०० बिलियन डलर) जस्ता शक्तिशाली समुद्री आँधी निकै दुःखदायी थिए। तिनले जनधनमा ठूलो क्षति पु–याएका थिए।

 कट्रिना नाम दिइएको समुद्री आँधीले ‘ज्याज म्युजिक’ को उद्गमस्थल मानिएको र प्राचीन फ्रान्सेली संस्कृतिको धरोहर ठानिएको लुजियाना राज्यको प्रख्यात साङ्गीतिक शहर न्यू ओर्लियन्सलाई नराम्ररी प्रभावित पा–यो। भनिन्छ, कट्रिनाको प्रभावबाट निराश र हतास धेरै न्यू ओर्लियन्सवासी अन्यत्र बसाइँ सरे। लुजियानाका अन्य शहरका बासिन्दामा पनि त्यही स्थिति देखियो। 

 अगस्त २९, २००५ मा अमेरिकामा आएको अति शक्तिशाली समुद्री आँधी कट्रिनाले न्यू ओर्लियन्समा ध्वंस नै मचायो। अगस्त ३१ सम्म, तीन दिनभित्र न्यू ओर्लियन्सको ८० प्रतिशत भूमि जलमग्न हुन पुगेको थियो। केही भागमा त १५ फिटसम्म पानी जमेको थियो। तेल (पेट्रोलियम) उत्पादन र प्रशोधन कार्य कट्रिनाले गर्दा अवरुद्ध हुन पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि भएको थियो। न्यू ओर्लियन्सको ८० देखि ९० प्रतिशत बासिन्दालाई अन्य सुरक्षित स्थानमा स्थान्तरण गरिएको थियो। शहरलाई लगभग खालि नै पारिएको थियो। सहयोगको यत्रो व्यवस्था हुँदाहुँदै पनि आफूसँग सवारीसाधन नभएका एवं समयमा उक्त विपद्बारे जानकारी नपाउने केही व्यक्ति जलाशय बनेको त्यो शहरमा फसेका थिए। केही जोगिएका एवं उद्धार कार्यमा खटेका मानिसले कतिपय लाश पानीमा बगिरहेको देखेका थिए। अति विध्वंसकारी त्यो समुद्री आँधी, कैट्रिना, ले १ हजार ४ सय ६४ न्यू ओर्लियन्सवासीको ज्यान लिएको थियो। यो आलेख तयार पारिरहँदा ओक्लहोमा राज्यका विभिन्न शहर, आजको दिनमा बरफ बन्ने वर्षा (Freezing rain) बाट पीडित छन्। रूखमा परेको पानी जमेर बरफ बन्दा र बरफको भार रूखले थेग्न नसक्दा अनेकौं रूख भाँचिएका छन्। विभिन्न स्थानमा बिजुली गएको छ। बाटो चिप्लो पार्ने गरी बरफ जमेको छ। ओक्लहोमाको अनेक स्थानमा जीवन सामान्य हुन सकेको छैन। 

 जङ्गली आगो वा डढेलोले पनि अमेरिकालाई उत्तिकै सताउँछ। अमेरिकाको ठूलो क्षेत्र जङ्गलले ढाकिएको हुनाले यहाँ डढेलो पनि प्रत्येक वर्ष लाग्ने गर्दछ। यस वर्ष क्यालिफोर्नियालाई डढेलोले अति सतायो। यस वर्ष क्यालिफोर्नियामा मात्र ८ हजार ८ सय ३४ वटा डढेलोका घटनाहरू भए। ४१ लाख ४९ हजार ३ सय ४५ हेक्टर जग्गामा आगलागी भयो। १० हजार ४ सय ८८ संरचनालाई आगोले खरानी पा–यो। ३१ जनाको ज्यान लियो। 

 अनेक प्राकृतिक विपत्ले अमेरिकालाई सताए पनि यो मुलुकको आर्थिक विकास अवरुद्ध भएको छैन। प्राकृतिक प्रकोपको सामना गर्न अमेरिकाले अन्य मुलुकसँग आर्थिक सहयोग मागेको छैन। अहिले पनि अमेरिका विश्वको एक नम्बर महाशक्ति नै छ। यस्तो किन भएको होला? उत्तर गा–हो छैन। अमेरिकीहरू कठोर परिश्रम गर्छन्। कठोर परिश्रम गरेर नै अमेरिकीहरूले यो कठिन भूमिलाई हराभरा, उब्जाउ, उत्पादक पारेका छन्। अमेरिकाले संसारभरिमा नै सर्वाधिक भटमास उत्पादन गर्छ। 

 यस्ता अनेकौं प्राकृतिक प्रकोपले भौतिक पूर्वाधारहरू नष्ट पारिरहन्छन्। परिश्रमी अमेरिकीहरू अविलम्ब नवनिर्माण गर्छन्। विनाश र नवनिर्माण सँगसँगै चलिरहन्छ। अमेरिकीहरू संसारमैं एक नम्बर परिश्रमी हुनुपर्छ। अमेरिकामा कुनै व्यक्तिले उभिएरै ६ देखि ८ घण्टासम्म काम गरेको सहजै देख्न सकिन्छ। यहाँसम्म कि नेताहरू पनि भाषण गर्दा वा जनसमक्ष घण्टौं उभिएको देख्न सकिन्छ। परिश्रमलाई महत्व दिन अमेरिकामा उभिने चलन छ। उभिएर काम गर्ने परम्परा छ। मालिक होस् वा कामदार, दुवै सँगसँगै उभिएर काम गरेको देख्न सकिन्छ। ‘म मालिक हुँ, कुर्सीमा बस्छु’, ‘तँ कामदार होस्, काम गर’, त्यस्तो सोच अमेरिकामा छैन। यसैगरी, ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोच पनि छैन। आफ्नो काम होस् वा साहुको, इमानदारीपूर्वक गर्ने चलन छ। कामदारले निरन्तर काम ग–यो कि गरेन भनी थाहा पाउन निगरानी गर्ने चलन पनि छैन। कारण, कामदारले इमानदारीपूर्वक कार्य गर्छ। आफूले पाउने पारिश्रमिकको प्रतिफल काम गरेर दिन्छ। 

 यसले गर्दा अमेरिका धनी भएको हो। कल्पना गरेर, इच्छा मात्र गरेर धनी भएको होइन। पसिना बगाएर धनी भएको हो। पाण्डवहरूका लागि छोटो समयमा नै सुन्दर दरबार निर्माण गरिदिने ‘मय’ जस्तै चमत्कारी किसिमले निर्माण गरिदिने क्षमता अमेरिकीहरूमा रहेको देख्न सकिन्छ। पाँच, सात तले बाटो होस् वा फराकिला, लामा राजमार्गहरू वा गगनचुम्बी घर, अमेरिकीहरूले आफ्नै परिश्रमले निर्माण गरेका हुन्। अमेरिका आफ्नै परिश्रमी नागरिकहरूको काँधमा उभिएको छ। परिश्रम गर्ने हो भने आफ्नो देशलाई ‘स्वर्ग’ बनाउन सकिन्छ भन्ने उदाहरण अमेरिकीहरूले विश्वलाई कर्म गरेर देखाएका छन्। 

Bishwa Raj Adhikari 
akoutilya@gmail.com 
Published in 
 http://www.prateekdaily.com/2020/10/blog-post_158.html 
on Friday, October 30, 2020

Friday, October 23, 2020

Mr. PM, Enough is Enough-Article298

 अब त अति नै भयो प्रधानमन्त्रीज्यू!

बौद्धिक वर्गका केही तटस्थहरूले अहिलेसम्म ‘पर्ख र हेर’ को आधारमा प्रम केपी ओलीका कार्यहरूको गम्भीरतापूर्वक मूल्याङ्कन गरिरहेका थिए। आलोचना मात्र होइन, प्रमलाई  स्वतन्त्र किसिमले काम गर्न दिनुपर्छ र केवल विरोधका लागि विरोध नगरेर उनले कुशलतापूर्वक जिम्मेवारी सम्पन्न गर्न सक्ने वातावरण दिनुपर्छ भन्ने तर्क प्रमका विरोधीहरू समक्ष राखिरहेका थिए। तर जब आफ्नो कार्यकालमा प्रमले निरन्तर एकपछि अर्को भूलहरू गर्न थाले, जनतालाई निराशाको खाडलतिर धकेल्न थाले, देशलाई आर्थिक सङ्कटबाट बाहिर ल्याउन चिन्तित देखिन छाडे, तटस्थ बस्ने बौद्धिकजन पनि ओलीको कटु आलोचना गर्न बाध्य भए। अहिले स्थिति यस्तो छ, प्रम ओलीका कट्टर समर्थकहरू पनि उनको पक्षमा खुलेर, चर्कोसँग बोल्न सक्ने स्थितिमा छैनन्।

    पछिल्लो समयमा ओलीले देश र जनतालाई सर्वाधिक निराश पारे। यस्तो सङ्कटको घडीमा आशा र भरोसा दिनु पर्नेमा जनतालाई अति निराशा दिए। साथै आफू सक्षम प्रधानमन्त्री नभएको सङ्केत पनि गरे। हुन पनि, कुनै पनि व्यक्तिले के भन्यो त्यसको आधारमा उसको मूल्याङ्कन हुने होइन, उक्त व्यक्तिले के ग–यो, त्यसको आधारमा मूल्याङ्कन हुने गर्दछ। यसै आधारमा प्रम ओलीले के भने त्यस आधारमा होइन, उनले के के गरे भन्ने आधारमा उनको कार्यकालको मूल्याङ्कन हुनुपर्दछ। देशको आर्थिक विकासको सन्दर्भमा ओलीले धेरै कुरा भनेका छन्। नेपाली जनतालाई अनेक सपना देखाएका छन्। तर गरेका भने ज्यादै कम छन्।

आउनुहोस्, प्रम ओली कहाँकहाँ चुके र उनका कार्यहरूमा प्रभाकारिता र दूरदर्शिता कसरी देखिन छाड्यो त्यसबारे चर्चा गरौं–

    संसदीय व्यवस्थमा प्रम वा राष्ट्रपति कार्यकारी हुने र कार्यकारीले आफूले योग्य र सक्षम देखेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्ने सर्वमान्य प्रचलन छ। तर नेपालको सन्दर्भमा यो कुरा केवल सिद्धान्तमा मात्र सीमित रहेर प्रमले आफ्नो शक्ति सन्तुलन कायम राक्न आफ्ना आसेपासे वा ‘यस मैन’ वा साँठगाँठ हुने दलका अति सामान्य, अनुभवहीन, अकुशल व्यक्तिहरूलाई मन्त्री बनाउने प्रचलन हामीले देखे–भोगेको कुरा हो। तर यति हुँदाहुँदै पनि देशको आर्थिक अवस्थासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयहरू ‘अर्थ मन्त्रालय’ र ‘वाणिज्य मन्त्रालय’ मा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई प्रमले मन्त्री नियुक्त गर्ने प्रचलन थियो र अहिले पनि छ। प्रम वा  उनको पार्टीले आफ्ना आसेपासेहरूलाई अन्य मन्त्रालय दिए तापनि उपरोक्त मन्त्रालयका मन्त्रीहरू भने सक्षम एवं विज्ञलाई दिने चलन थियो र छ पनि। तर ओलीले अहिले एक अति सामान्य व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरेर आफू, सरकार र आफूसम्बद्ध दल अति सङ्कटग्रस्त रहेको, नेपालको आर्थिक अवस्थाप्रति चिन्तित नरहेको, केवल सरकार टिकाउने दाउमा लागेको आफ्नै कार्यद्वारा दर्शाएका छन्। आफ्नै अदूरदर्शी यो कार्यद्वारा ओली सर्वत्र आलोचित हुन पुगेका छन्।

 

    प्रम ओलीले हालै विष्णु पौडेललाई नेपालको अर्थमन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भएको थियो। यस्तो सङ्कटको घडीमा एक सामान्य व्यक्ति, जोसँग सम्बन्धित क्षेत्र (अर्थ मन्त्रालय) को कार्य गर्ने न कुनै शैक्षिक योग्यता छ, न त्यस क्षेत्रमा विशेष किसिमको अध्ययन एवं अनुसन्धान गरेको अनुभव नै छ, अहिले एक अति नै संवेदनशील मन्त्रालयको मन्त्री हुन पुगेका छन्। युद्धको समयमा घोडसवारी गर्न नजान्ने व्यक्तिलाई कुशल घोडसवारले गर्ने कार्यको जिम्मेवारी दिइएको छ।

    अर्थात् अर्थमन्त्रीको नियुक्ति परिस्थिति, देश र मन्त्रालय (अर्थ मन्त्रालय) को आवश्यकता अनुसार नभएर प्रधानमन्त्रीको निगाह वा दलको राजनीति अनुसार हुन पुगेको छ। कस्तो विडम्बना! यो विषम परिस्थितिमा देशले एउटा कुशल अर्थमन्त्रीको माग गरिरहेको छ। सिङ्गो देश, अहिले कोरोना–सङ्कटले गर्दा बिरामी परेको, जनताले सक्षम एवं मेधावी अर्थमन्त्री खोजिरहेको बेला प्रधानमन्त्रीको यो कस्तो निर्णय!

    युवराज खतिवडाले राजीनामा दिएर अर्थमन्त्रीको पद रिक्त भएपछि नयाँ नियुक्त हुने अर्थमन्त्री ज्यादै सक्षम हुने भनी राष्ट्रिय अर्थ जगत्मा विश्वास गरिएको थियो। पूर्व अर्थमन्त्री युवराज खतिवडा नै पनि आफ्नो कार्यकालमा सफल हुन सकेका थिएनन्। कोरोनोले उठ्नै नसक्ने स्थितिमा पुगेको राष्ट्रिय अर्थतन्त्रलाई माथि उकास्न उनले नयाँ एवं प्रभावकारी कार्यक्रम ल्याउन सकेका थिएनन्। यति हुँदाहुँदै पनि, एउटा खास कुरा खतिवडामा के थियो भने उनी सम्बन्धित क्षेत्रका विज्ञ थिए। राष्ट्रिय अर्थ व्यवस्थाका पेंचिला कुरा उनले बुझेका थिए। अर्थ व्यवस्थालाई सही दिशामा डो–याउन सक्ने शैक्षिक योग्यता खतिवडासँग थियो। यी सबै कुरा हुँदाहुँदै पनि खतिवडाले प्रभावकारी काम गर्न सकेनन् त्यो भिन्न कुरा हो।

    तर नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग न अर्थ क्षेत्रमा काम गरेको लामो अनुभव नै छ, न त्यस्तो शैक्षिक योग्यता नै छ। यस्तो एक अति सामान्य व्यक्तिलाई अति महत्वपूर्ण क्षेत्र (अर्थ मन्त्रालय) मा काम गर्ने ठूलो जिम्मेवारी दिएर ओलीले गम्भीर त्रुटि गरेका छन्। उनको यो त्रुटिले देशको अर्थतन्त्रलाई कहाँ पु–याउने हो भन्न कठिन छ।

देशमा अहिले राष्ट्रिय आम्दानी (राजस्व) अभूतपूर्व किसिमले घटेको छ भने खर्च ह्वात्तै बढेको छ। खासगरी स्वास्थ्य क्षेत्रमा सरकारी तवरबाट ठूलो धनराशि खर्च गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। रोजगार गुमाएर भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको गरीब जनतालाई आर्थिक राहत उपलब्ध गराउनुपर्ने स्थिति छ। ज्यादै सुस्त हुन पुगेको उद्योग र व्यापारलाई पहिलेको स्थितिमा ल्याउन नसके पनि बर्बाद हुनबाट जोगाउने चुनौती छ। ज्यादै सङ्कुचित हुन पुगेको रोजगारको क्षेत्रलाई सरकारी लगानी गरेर भएपनि, फराकिलो पार्नुपरेको छ। देशको अर्थतन्त्रलाई अनियन्त्रित बाढीले झैं कोरोना–सङ्कटले तहसनहस पारिरहेको छ। यस्तो सङ्कटपूर्ण घडीमा देशको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउन प्रमले एक कुशल व्यक्तिलाई अर्थ मन्त्रालय चलाउने जिम्मेवारी दिनुपथ्र्यो। सम्बन्धित क्षेत्रको विज्ञलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्नुपथ्र्यो। तर एक अति सामान्य व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरेर ओलीले राष्ट्रिय अर्थतन्त्रको उपहास गरेका छन्। खस्किंदो राष्ट्रिय अर्थतन्त्रप्रति आफू संवेदनशील नरहेको सन्देश दिएका छन्। आगामी दिनमा देश र जनताले ओलीको यस अदूरदर्शिताको चर्को मूल्य चुकाउनुपर्नेछ।

    उद्योग मन्त्रालय र अर्थ मन्त्रालय अन्य सामान्य मन्त्रालयजस्ता होइनन्। देशको आर्थिक अवस्था सुधार गर्न, अर्थ मन्त्रालयको त अझै विशेष भूमिका नै हुन्छ। गरीबी कम गरेर मुलुकलाई आर्थिकरूपमा समृद्ध पार्ने कार्य अर्थ मन्त्रालयले गर्दछ। अर्थ मन्त्रालयले राम्रो कार्य गर्दा देश धनी हुन्छ भने खराब कार्य गर्दा गरीब पनि हुन सक्छ।

    एउटा कुशल अर्थमन्त्रीले प्रभावकारी नीति, कार्यक्रम तथा योजनाहरू ल्याएर देशलाई धनी पार्न सक्छ। अहिलेको यस्तो सङ्कटपूर्ण घडीमा देशलाई टाट पल्टिनबाट जोगाउन नयाँनयाँ आर्थिक सोच र उपाय ल्याउन सक्छ। अर्थमन्त्री सम्बन्धित क्षेत्रको विज्ञ हुने भएकोले उसले आम्दानीका नयाँनयाँ स्रोत सृजना गर्ने, सुस्त रहेको रोजगार क्षेत्रलाई गति दिने तथा अति विपन्न परिवारको जीवन थप कष्टकर हुन नदिन सोचहरू ल्याउने कार्य गर्न सक्छ।

    देश अहिले दिवालिया हुने स्थितिमा पुग्न थालेको छ। गरीब परिवारहरूले पनि कोरोना उपचार खर्च स्वयं बेहोरून् भन्ने अपेक्षा सरकारले गरिरहेको छ। कोरोना–सङ्कट समाधान गर्न आवश्यक पर्ने रकम सरकारसँग नरहेको बुझिएको छ। यस्तो सङ्कटपूर्ण घडीमा प्रम ओलीले एक कुशल व्यक्तिलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुपथ्र्यो। तर यसविपरीत अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्न ओलीले यस्ता व्यक्ति छानेका छन् जो सम्बन्धित क्षेत्रको विज्ञ त होइनन् नै, विवादित व्यक्ति पनि हुन्। आर्थिक कारोबारमा नवनियुक्त अर्थमन्त्रीको व्यवहार विवादित छ। उनी अहिले पनि विवादको घेरामा छन्। स्वच्छ छविको अभाव छ।

    सरकारले धनी जनतासँग ऋण लिएर भए पनि गरीब नागरिकको निश्शुल्क कोरोनाको उपचार गर्ने जिम्मेवारी वहन गर्नुपथ्र्या, तर गरेको छ विपरीत।

    रोजगारविहीन जनताले कोरोना उपचार खर्च कहाँबाट ल्याउँछ भन्ने विषयमा ओली चिन्तित नभएको देखिएको छ।

    अर्थ मन्त्रालयलाई कुनै पनि देशको मुटु मान्ने गरिन्छ। यो मुटुले नै शरीरमा रक्त सञ्चार गर्ने कार्य गर्दछ। अर्थात् कुनै पनि देशको अर्थ मन्त्रालयले उक्त देशका नागरिकका लागि रोजगार सृजना गर्ने र देशलाई धनी बनाउने कार्य गर्दछ। देशलाई जीवित राख्न अर्थ मन्त्रालयको अहम् भूमिका हुन्छ। अर्थतन्त्रको पेंचिलो कुरा बुझ्न प्रम ओलीले ढिलो गरेको प्रतीत भइरहेको छ। तर उनको यो कार्यको मूल्य उनी स्वयंले चुकाउनुपर्नेछ। ओलीको यो बल मिचाइ (अर्थमन्त्रीको नियुक्ति) ले उनी सक्षम होइन, असफल प्रम हुन् भन्ने परिचय दिनेछ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in prateekdaily on Friday, October 23, 2020

http://www.prateekdaily.com/2020/10/blog-post_622.html

Friday, October 16, 2020

We Are Poor Despite Abundance of Wealth-Article-297

 

लुगा भएर पनि किन हामी नाङ्गो?

अर्थशास्त्रीहरूले अनुकूल मौसमलाई पनि राष्ट्रको आर्थिक विकासका लागि एउटा महत्वपूर्ण सम्पत्तिको रूपमा मान्ने गरेका छन्। जलवायु, माटो, घाम, आकाश आदिले पनि आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याएका हुन्छन्।

    कुनै देशलाई आर्थिकरूपमा बलियो पार्न त्यहाँ उपलब्ध अनुकूल मौसमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। दक्षिण एशियालाई मौसम अनुकूल भएको क्षेत्र मान्ने गरिन्छ। राजनीतिक अस्थिरता, जनतामा चेतनाको कमी र सुशासनको अभावले गर्दा यो क्षेत्रको समुचित आर्थिक विकास हुन सकेन, त्यो बेग्लै कुरा हो। तर संयुक्त राज्य अमेरिका, क्यानडा जस्ता राष्ट्रहरूले मौसमको प्रतिकूलताबीच पनि चमत्कारी आर्थिक प्रगति गरेका छन्। कृषिको क्षेत्रमा, मौसमको प्रतिकूलताबीच पनि अमेरिकाले विश्वका अन्य राष्ट्रहरूलाई पछाडि पार्नेगरी आर्थिक प्रगति ग-यो। अन्न उत्पादनमा विश्वमा नै अमेरिकाको स्थान अग्रणी छ। विश्वमा नै भटमासको उत्पादन सर्वाधिक अमेरिकामा हुन्छ।

    तर अमेरिका र युरोपेली राष्ट्रहरूमा जे जति आर्थिक प्रगति भयो, त्यसको पछाडि त्यहाँको जनतामा रहेको सकारात्मक मनोविज्ञानको भूमिका  ज्यादै महत्वपूर्ण देखिएको छ। जनतामा भएको सकारात्मक मनोविज्ञान एवं आर्थिक विकासको लागि बलियो इच्छाशक्तिले गर्दा नै अमेरिका एवं खासगरी, पश्चिम युरोपका देशहरू आर्थिक विकासको मार्गमा फडको मार्न सकेका हुन्। र त्यसैको परिणामस्वरूप आज अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली विश्वको ‘इकोनोमिक पावरहाउस’ बन्न पुगेका छन्। आर्थिक विकासको इतिहासले कुनै पनि राष्ट्रको आर्थिक विकास हुनका लागि त्यस राष्ट्रको जनताको मनोविज्ञान सकारात्मक हुनुपर्ने कुराको पुष्टि गर्दछ। हुन पनि अमेरिकी र युरोपेलीहरूको बौद्धिकस्तर एशियालीहरूभन्दा परापूर्वकालदेखि उच्च रहँदै आएको छ। सकारात्मक सोच, चेतना र बौद्धिक विकासको क्षेत्रमा हामी अगाडि छौं भनेर एशियालीहरूको घमण्ड फुस्रो मात्र हो।

मानव सभ्यता विकासका लागि आवश्यक ज्ञान, सीप, प्रविधि, विज्ञान वा औषधिजस्ता लगभग सम्पूर्ण कुरा अमेरिकी र युरोपेलीहरूले आविष्कार गरे। चन्द्रमामा सर्वप्रथम पदार्पण गर्ने मुलुक पनि अमेरिका नै हो। भौगोलिकरूपमा सानो भए तापनि आफ्नो बौद्धिक क्षमताले गर्दा नै ग्रेट ब्रिटेन, फ्रान्स, स्पेनजस्ता राष्ट्रले उपनिवेश खडा गरेर विश्वका अनेक राष्ट्रमा शासन गरे। ती देशका प्राकृतिक सम्पत्तिको भरपूर उपयोग गरेर धनी भए। अहिले पनि ग्रेट ब्रिटेन, जर्मनी, फ्रान्स आदिले विश्वको अर्थ र राजनीतिलाई बलियोगरी प्रभावित गर्ने क्षमता राख्छन्। भौगोलिकरूपमा एशिया र अफ्रिकामा ठूला–ठूला राष्ट्रहरू भए तापनि आर्थिकरूपमा तिनको हैसियत सानै छ। चाहे त्यो अफगानिस्तान, बर्मा, मङ्गोलिया, लिबिया, सुडान, कङ्गो, अल्जेरिया नै किन नहोस्!

    आर्थिक विकासको लागि देशको भूगोल ठूलो हुनुपर्छ भन्ने होइन, त्यस देशमा बस्ने जनताको चेतनाको स्तर उच्च र मनोविज्ञान सकारात्मक हुनुपर्ने रहेछ। यो तथ्य सर्वकालीन सत्य रहेछ।

    हामीकहाँ त्यही कुराको कमी छ। नेपालमा जनताबीच सकारात्मक मनोविज्ञानको नितान्त खाँचो छ। हामी कुनै पनि समस्याको समाधान युक्ति वा विचार अथवा सहमतिद्वारा होइन, बलद्वारा गर्छौं। हामीलाई हरेक समस्याको समाधान गर्न सङ्घर्ष तथा हिंसा प्रयोग गर्न मन लाग्छ। हाम्रो मनोविज्ञानले त्यस किसिमबाट हामीलाई प्रेरित गर्छ। हिंसा र सङ्घर्षबाहेक समाधानका हामी अन्य वैकल्पिक उपायहरू देख्दैनौं। प्रयोग गर्नु त परको कुरा हो, यो हाम्रो सामाजिक चरित्रको यथार्थ चित्र हो।

    हाम्रो ध्यान सकारात्मक विचारतिर ढिलो तर विरोधी विचारतिर तत्काल पुग्छ। नकारात्मक सोच, विचार, समाचार हामी खोजी–खोजी पढ्छौं। त्यस उपर घण्टौं चर्चा गर्छौं तर सकारात्मक सोच, विचार, समाचार हामीलाई मन पर्दैन र तिनलाई महत्व पनि दिंदैनौं। कुनै पत्रिकामा गलत समाचार प्रकाशित भएको छ भने छोटो समयमा नै त्यो गलत समाचार लाखौं पाठकसमक्ष पुग्छ तर सही समाचार छ भने त्यो समाचार ज्यादै सीमित पाठकको आँखामा पुग्छ। कतिपयले त हेर्दैनन् पनि।

    यस्तै स्थिति रचनात्मक कार्य गर्ने सन्दर्भमा पनि देख्न सकिन्छ। कुनै रचनात्मक कार्य गर्नका लागि सहमति जुटाउन हामीलाई वर्षौं लाग्छ। तर तोडफोड गर्न, विध्वंस मचाउन, आगजनी गर्न, लूटपाट गर्न हामीबीच तत्काल सहमति जुट्छ। यस्ता कार्यमा छिट्टै सहमति जुट्छ, हामी तत्काल गर्छौं पनि। सडकमा टायर बाल्न होस्, लूटपाट गर्न होस्, गाडी जलाउन होस्, तोडफोड गर्न होस्, यस्ता कार्य गर्न हामीलाई धेरै समय लाग्दैन। दमकल, एम्बुलेन्स जलाउन पनि हामी रत्ति हच्किंदैनौं। यस्तो मनोविज्ञानले पनि आर्थिक विकास हुन्छ? हो, यस्तो नकारात्मक मनोविज्ञान भएर नै हामी लुगा भएर पनि नाङ्गो भएका हौं। अन्न भएर पनि भोको भएका हौं। जलस्रोतका लागि हामी संसारमैं, पहिलो ब्रजीलपछि धनी राष्ट्र हौं। हाम्रा नदीको उद्गमस्थल हिमाल भएकोले यी नदीहरूमा बा-है महीना पानी हुन्छ। तर अफसोस, सिंचाइ कुरा त पर, पिउनका लागि पनि हामीलाई पानीको अभाव छ।

    हामीमा सृजनात्मक सोचको अभाव तर ध्वंसात्मक विचारको बाहुल्य छ। यो भएर नै हामी विगतमा आफ्नै दिदीबहिनी र दाजुभाइको हत्या गरेर रमाएका थियौं। आफ्ना प्रियजनको हत्यालाई विजयको पर्यायवाची मानेर हर्षित भएका थियौं। माओवादी अति रक्तपातपूर्ण सङ्घर्षमा हामीले हाम्रा आर्थिक विकासका पूर्वाधारहरू ठूलो सङ्ख्यामा नाश मात्र पारेनौं, औद्योगिक विकासको गतिलाई दशकौंपछाडि धेकेल्यौं। विपरीत दिशामा हिंड्ने पा-यौं। नेपाललाई झनै गरीब बनाउने कार्य ग-यौं। हामी कतिसम्म हृदयहीन भयौं भने सार्वजनिक यातायातमा यात्रा गरिरहेका सर्वसाधारणलाई, जो न सुरक्षाकर्मी थिए, न त्यो बस प्रहरी वा सेनाको थियो, सडकमा ओछ्याइएको बारुदको चपेटामा पारेर मा-यौं। यो घटना २०६२ जेठ २४ गतेको हो। यो घटनामा तत्कालीन माओवादी लडाकूहरूले चितवनको मुढेखोलामा एउटा बसलाई ‘ल्यान्डमाइन’ मा पारेर विस्फोट गराएका थिए। त्यस विस्फोटमा परेर ४० जना जति सर्वसाधारणको ज्यान गएको थियो। त्यसरी ज्यान जानेहरू, न सुरक्षाकर्मी थिए, न माओवादीका विरोधी नै।

    हामीले अहिले पनि विगतका कलह, विग्रह र अनुत्पादक सङ्घर्षबाट सिक्न सकेका छैनौं। हामीमा रहेका नकारात्मक भावनाबाट हामी अहिले पनि ग्रसित छौं।

    कसैको मानमर्दन, आलोचना सुनेर हामीलाई अति आनन्द आउँछ तर कसैले राम्रो काम गरेको छ भने उसको प्रशंसा गर्न छुच्चो बन्छौं। सत्याग्रही डा गोविन्द केसीको प्रशंसा गर्छौं तर आफू गोविन्द केसी बन्न चाहँदैनौं। भ्रष्टाचारमा लीन हुन रमाउँछौं। यस्तो नकारात्मक चिन्तनले हामीमा दोहोरो मापदण्ड विकसित पारेको छ। यस्तो व्यवहारले पनि आर्थिक विकास हुन्छ?

    अरू कुराले होइन, हामीलाई हाम्रै सोच र व्यवहारले दरिद्र बनाउने हो, अफगानिस्तानका तालिबानहरूले आफ्नै सोच र व्यवहारले आफूलाई दरिद्र बनाएझैं। आफ्नो देशको अमूल्य निधि ‘बामियानको बौद्धकला’लाई तालिबानहरू बारुदद्वारा विस्फोट गराई अति हर्षित भएका थिए। अग्लो र फराकिलो पहाडमा ढुङ्गा कुँदेर, लामो समय (सन् ५०७ देखि ५५४ सम्म) खर्चेर बनाएको त्यो विश्वको उत्कृष्ट कला नष्ट पार्न तालिबानहरूले ठूलो यत्न गरेका थिए। तर त्यो कला नष्ट गर्दा, पर्यटकहरू संसारका अनेक मुलुकहरूबाट बामियानमा ‘बौद्धकला’ हेर्न आउने र अफगानिस्तानलाई ठूलो आर्थिक फाइदा हुने र त्यो आम्दानीले अफगानिस्तानको गरीबी कम गर्न मदत गर्ने तथ्य तालिबानहरूले बिर्सेका थिए। आफूहरूले नै आफूलाई गरीब पार्ने वातावरण तयार पारेका थिए।

    गरीबीको प्रत्यक्ष सम्बन्ध सकारात्मक मनोविज्ञानसँग छ। अयोध्याको बाबरी मस्जिद भत्काएर एकथरीले सन्तुष्टिको सास लेलान् वा लिएका होलान्, तर त्यो सन्तुष्टिको सासले आर्थिक प्रगतिको बाटो फराकिलो पार्दैन, हुँदैन। उल्टो कलह र द्वेष सृजना हुन्छ। समाज विभाजित हुन्छ। समाज, सोच र विश्वासको आधारमा अति विभाजित हुनु, आर्थिक विकासका लागि एकजुट नहुनु, जनतामा नकारात्मक विचारले घर गर्नु जस्ता कुराले दक्षिण एशियालाई साधन र स्रोतका बावजूद समृद्ध हुन दिइरहेको छैन।

    नेपालमा आर्थिक विकास गर्नका लागि हामीमा सकारात्मक धारणा विकसित हुनुको विकल्प छैन। सरकार गठन भएको भोलिदेखि नै त्यसको विरोध गर्ने, केवल नेताहरूको मात्र आलोचना गर्ने तर आफूले सिन्को नभाँच्ने चिन्तनबाट हामी बाहिर आउनै पर्छ, आर्थिक विकासको गतिलाई दोब्बर पार्ने हो भने।

    हामीले बुझ्नुपर्ने कुरा के हो भने आर्थिक विकासका वाहक हामी स्वयं हौं। हाम्रो सकारात्मक सोच र आर्थिक विकासप्रतिको अडिग र बलियो इच्छाशक्तिले नै हामीलाई गरीबी र बेरोजगारीबाट मुक्ति दिन्छ। हामी एकजुट हुनैपर्छ। आर्थिक विकासका लागि हामीले साझा धारण बनाउनै पर्छ। यो नयाँ कुरा होइन। अब यो पुरानो कुरालाई नयाँ किसिमले सोच्न आवश्यक छ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in  http://www.prateekdaily.com/2020/10/blog-post_164.html On Friday, October 16, 2020

Friday, October 9, 2020

Nepalese Goods And Export Opportunities-Article-296

 व्यापारका नयाँ–नयाँ अवसर खोजौं

हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन” –यो भनाइको विस्तृत चर्चा गरौं।

    नेपालीहरूको डाएस्पोरा (कुनै एक देश वा समुदायका व्यक्तिहरूको विदेश बसाइ (समूह) बृहत् हुँदै गएको छ र यो अझै बृहत हुने क्रममा छ। कुन सङ्ख्यामा नेपालीहरू विदेशमा बसोवास गरिरहेका छन् भन्ने ठोस तथ्याङ्क छैन। अनुमानको आधारमा, अहिले ५० लाखभन्दा बढी नेपाली स्थायी एवं अस्थायी गरी विदेशमा बसेको पाइन्छ।

    विदेशमा नेपालीहरूको बसोवास दुई किसिमको पाइन्छ। पहिलो बसोवास स्थायी प्रकृतिको रहेको छ र स्थायी बसोवास गर्नेहरू नेपालबाट स्थायी किसिमले विदेशमा बसोवास गर्न गएको पाइन्छ। स्थायी किसिमले विदेश बसोवास गर्न गएकाहरूमध्ये ज्यादै कम मात्र नेपाल फर्कने गरेका छन्। धेरै पहिले क्यानडा, अस्ट्रेलिया, अमेरिका, युरोप आदि पुगेका नेपाली परिवारका तेस्रो पुस्ता (नातिनी, नाति) प्रवासमैं जन्मे, हुर्केर विद्यालय जाने उमेरका भइसकेका छन्। र यो तेस्रो पुस्ता नेपाल फर्कने सम्भावना न्यून छ। तेस्रो पुस्ताका व्यक्ति जहाँ जुन देशमा छन्, त्यहीं उनीहरूको स्थायी बसोवास हुने प्रबल सम्भावना छ। तर आश्चर्य के छ भने यो तेस्रो पुस्ताले, प्रवासमा रहेर पनि नेपाली वस्तु रुचाएको पाइन्छ। तेस्रो पुस्तासमेतले पनि नेपाली वस्तुहरू रुचाउनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको बिक्री हुने सम्भावना ह्वात्त बढेर गएको छ। विदेशमा बस्ने पहिलो र दोस्रो पुस्ताका व्यक्तिहरूमाझ नेपाली वस्तु मन पर्ने स्थिति त अटुटरूपमा छ नै। यी कारणहरूले गर्दा मौलिक नेपाली वस्तु विदेशी बजारहरूमा र खासगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, ग्रेट ब्रिटेन आदिमा ठूलो परिमाणमा बिक्री हुने ज्यादै बलियो सम्भावना छ।

अमेरिकामा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेको अनुमान छ। अमेरिकामा स्थायी र अस्थायी किसिमले गरी करीब तीन लाख नेपालीको बसोवास रहेको अनुमान गरिएको छ। भूटानी शरणार्थीहरूलाई पनि समावेश गर्ने हो भने अमेरिकामा नेपालीभाषीको सङ्ख्या ठूलो रहेको पाइन्छ। पुनर्वासका लागि नेपालबाट अमेरिका आएका नेपाली मूलका भूटानीहरूको सङ्ख्या ५० हजारभन्दा बढी छ। टेक्सास, न्युयोर्क, इन्डियाना, नोर्थ केरोलाइना, जर्जिया जस्ता अमेरिकी राज्यहरूमा ठूलो सङ्ख्यामा भूटानी शरणार्थीहरूको बसोवास छ। अमेरिका मात्र होइन, विश्वका अन्य राष्ट्रमा पनि पुनर्वासका लागि नेपाली मूलका भूटानीहरू पुगेका छन् र उनीहरूको सङ्ख्या पनि पचास हजारको हाराहारीमा छ। विदेशमा बसोवास गर्ने नेपाली मूलका भूटानीमाझ पनि नेपाली वस्तु अति लोकप्रिय छ। विश्वका अनेक राष्ट्रमा नेपाली मूलका भूटानीहरूको ठूलो सङ्ख्यामा बसोवासले विदेशी बजारमा नेपाली वस्तु बिक्री हुने सम्भावना झनै बढाइदिएको छ।

    विदेशमा नेपालीहरूको दोस्रो किसिमको बसोवास भने अस्थायी प्रकृतिको छ। मुख्यगरी रोजगारका लागि खाडीका मुलुकहरूमा पुगेका नेपालीहरूको आप्रवास छोटो अवधिको हुन्छ। बहराइन, युनाटेड अरब इमिरेट्स, साउदी अरेबिया, इराक, कतारजस्ता खाडी मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा छ। यसबाहेक मलेसिया, थाइल्यान्ड, फिलिपिन्सजस्ता मुलुकमा पनि नेपालीहरू रोजगारका लागि पुगेका पाइन्छन्। मलेसियामा भने नेपालीहरूको ठूलो सङ्ख्यामा बसोवास रहेको पाइन्छ।

    मलेसिया, साउदी अरेबिया र कतारमा बसोवास गर्ने नेपालीहरूले ठूलो परिमाणमा स्वदेशी वस्तु खरीद गर्ने सम्भावना प्रबल छ। उपरोक्त मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले उनीहरूबाट हुने नेपाली वस्तुको मागको आकार पनि ठूलो नै हुनेछ। नेपालका व्यवसायीहरूले यी मुलुकहरूमा पनि विभिन्न मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो आय हात पार्ने सम्भावना छ।

मौलिक नेपाली वस्तुहरूको बिक्रीको सम्भावना

    नेपाली व्यापारीहरूले विदेशी बजारमा र खासगरी अमेरिकी बजारमा मौलिक नेपाली वस्तु ठूलो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाली स्वादका मौलिक वस्तु–चाउचाउ, मस्यौरा, तितौरा, चकलेट, बिस्कुट, अचार, गुन्द्रुक, दाल, तोरीको तेल, भटमास आदि ठूलो परिमाणमा बिक्री गर्न सक्छन्। यसैगरी, उपहारका सामग्री (पहाड, मन्दिर, बस्ती आदिको तस्वीर), काष्ठकलाका सामान, पूजाका सामग्री, देवीदेवताका तस्वीर, नेपाली कागजले बनेका अनेक चित्र पनि राम्रो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाली व्यापारीहरूले विदेशी बजारमा बिक्री गर्न सक्ने नेपाली मौलिक वस्तुको सूची लामो हुन सक्छ। मुख्य कुरा, नेपाली व्यापारीहरूले खोजी गर्नुप–यो। र हामीकहाँ खोजी गर्ने प्रचलन कम छ। हाम्रा व्यापारीहरू परम्परागत व्यापार गर्नमा नै रमाउँछन्। व्यापारका नयाँनयाँ अवसरको खोजी गर्दैनन्। अहिले स्थिति यस्तो छ, विदेशमा बस्ने नेपालीहरूले नेपाली स्वादका वस्तुहरू विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन्। नेपालीहरूले ठूलो परिमाणमा भारतमा उत्पादित दाल, चामल, पीठो, भुजिया, मसला (जीरा, धनिया, बेसार, मरिच आदिको धूलो), चाउचाउ आदि विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन्। नेपालीहरूलाई नेपाली स्वादका वस्तु बिक्री गर्न सक्ने अवसरको फाइदा विदेशमा रहेका भारतीय भण्डारहरूले लिइरहेका छन्। नेपाली व्यापारीहरूले यो सुनौलो अवसर गुमाइरहेका छन्।

    विदेशमा रहेका भारतीय भण्डारहरूले भने राम्रो परिमाणमा भारतीय वस्तु स्थानीय भारतीय र नेपालीलाई बिक्री गरिरहेका छन्। भारतले मौलिक भारतीय वस्तु विदेशी बजारमा ठूलो परिमाणमा निर्यात एवं बिक्री गरेको पाइन्छ। विदेशमा र खासगरी अमेरिकामा भारतीयहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले अमेरिकामा बसोवास गर्ने भारतीय व्यक्तिहरूलाई मौलिक भारतीय वस्तु बिक्री गरेर भारतले ठूलो लाभ प्राप्त गरिरहेको छ। एउटा सुन्दर व्यापारिक अवसरको भरपूर लाभ भारतले लिइरहेको छ। नेपालले आफूलाई प्राप्त भएको अवसरको उपयोग गर्न सकेको छैन। कारण, हामीमा उद्यमीसिलता (entrepreneurship) को सर्वथा अभाव छ। हामी परम्परागत व्यापार गर्न रुचाउँछौं, व्यापारका नयाँ–नयाँ अवसरको खोजी गर्दैनौं।

    भारतीयहरूले मौलिक भारतीय वस्तु विदेशी बजारमा बिक्री गर्दा दुई किसिमबाट लाभ प्राप्त गरिरहेका छन्। पहिलो, मौलिक किसिमको वस्तु भएकोले ती वस्तुहरूले स्थानीय बजारमा भएका समान किसिमका अन्य वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्दैन र तिनलाई राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। दोस्रो, भारतीयहरूको विदेशमा ठूलो सङ्ख्यामा बसोवास रहेकोले भारतका निर्यातकर्ताहरूले ठूलो परिमाणमा भारतीय वस्तु बिक्री गरेर राम्रो लाभ प्राप्त गरिरहेका छन्।

    नेपाली व्यापारीहरूले विदेशी बजारमा, खासगरी अमेरिकी बजारमा विभिन्न सामग्री बिक्री गर्न मुख्यतः दुई कुरामा ध्यान दिन आवश्यक छ। पहिलो, नेपाली व्यापारीहरूले त्यस्ता नेपाली वस्तु निर्यात गर्नुपर्छ, जुन मौलिक नेपाली प्रकृतिको होस्, जुन विदेशमा उत्पादन गर्न नसकिने किसिमको र मौलिक नेपाली स्वादको होस्। जस्तै– तितौरा, मस्यौरा, गुन्द्रुक आदि। यस्तो भएमा ती मौलिक नेपाली वस्तुले स्थानीय समान किसिमका वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्दैन र सजिलै बिक्री गर्न सकिने मात्र होइन, लाभ पनि राम्रो प्राप्त गर्न सकिन्छ।

    दोस्रो ध्यान दिनुपर्ने कुरा हो तौल। नेपाली व्यपारीहरूले विदेशी बजारमा सामान निर्यात गर्दा, निर्यात गर्ने वस्तु कम तौलको हुनु आवश्यक छ। यस्तो भएमा यातायात लागत जोगिएर स्थानीय बजारमा नेपाली वस्तु महँगो हुन पाउँदैन। उत्पादन लागतमा पनि ध्यान दिन आवश्यक छ। नेपालमा उत्पादन लागत अति चर्को छ। नेपालले उत्पादन लागत नियन्त्रण गर्न अति आवश्यक छ। नेपालले निर्यात गरेको वस्तु विदेशी बजारमा महँगो भयो भने बिक्री हुने सम्भावना क्षीण भएर जाने मात्र होइन, निर्यातकले घाटा बेहोर्नुपर्ने हुन सक्छ। नेपालमा उत्पादन लागत कम गर्ने नयाँ–नयाँ आधुनिक प्रविधिको खोजी अति आवश्यक छ।

    नेपाली डाएस्पोरा बृहत् हुँदै गएको परिप्रेक्ष्यमा यसबाट आर्थिक फाइदा लिन सकिने पर्याप्त अवसर देखिएको छ। यो स्थिति सुनौलो व्यापारिक अवसर हो।

    मौलिक नेपाली वस्तु निर्यात गरेर नेपाली व्यापारीहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन्, भारतीय व्यापारीहरूले झैं। मुख्यतः अवसर खोजी गर्नुपर्छ र त्यसको उपयोग गर्नुपर्छ।

    अब माथिको सन्दर्भलाई जोडौं। “हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन।”  नेपाली व्यापारीहरूले प्रयत्न गरेमा विदेशी बजारहरूमा मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो लाभ आर्जन गर्न सक्छन्। थप रोजगार सृजना गर्न सक्छन्। र देशलाई धनी बनाउन सक्छन्। यस्ता  असीम सम्भावना छन्।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in

http://www.prateekdaily.com/2020/10/blog-post_327.html

 on Friday, October 9, 2020