Friday, November 27, 2020

Causes of Inflation in Nepal-Article-303

 नेपालमा महँगीका कारणहरू के के हुन्?

नेपाल संसारकै महँगो राष्ट्र हुनुपर्छ। नेपालका बजारहरूमा उपलब्ध वस्तु एवं सेवाको मूल्यले यस कुराको पुष्टि गर्दछ।

हुन पनि नेपालमा सस्तो कुनै कुरा छैन। स्वास्थ्य सेवा, शिक्षा, आवास, यातायात, मनोरञ्जन, ऊर्जा, खाद्यान्न, औषधि सबै महँगो छ। नेपाल यस्तो देश हो जहाँ मध्यमवर्गीय परिवारले पनि बचत गर्न सक्तैन। अर्थात् मध्यमवर्गीय परिवारले पनि आफ्नो आम्दानीको सम्पूर्ण भाग केवल आजीविका चलाउनमैं खर्च गर्छ। उच्चवर्गले भने केही बचत गर्न सक्छ तर पनि अपेक्षित मात्रामा होइन। विकसित देशका उच्चवर्गलेझैं नेपालको उच्चवर्गले बचत गर्न सक्तैन। नेपालमा कुनै पनि कुरा अति सस्तो छ भन्ने छैन। यो कारणले गर्दा पनि नेपालको राष्ट्रिय पूँजीको आकार ठूलो हुन सकेको छैन।

नेपालका निम्नवर्गीयहरूको स्थिति त झन् कष्टकर छ, कहालीलाग्दो छ। उनीहरूको स्थिति जहिले पनि ऋणात्मक रहन्छ। निम्नवर्गीयहरूका लागि आफ्नो आवास दुर्लभ छ। काठमाडौ, वीरगंज, विराटनगर, पोखराजस्ता ठूला–ठूला शहरमा निर्धन व्यक्तिले आफ्नै घर बनाएर बस्न पाउनु लगभग असम्भव छ। यस्तो हुनुका दुई कारण छन्। पहिलो– निम्न आय भएकासँग बचत नै हुँदैन। दोस्रो–अकुशलता, प्रबन्धकीय क्षमताको अभाव, उच्च प्रविधिको कम प्रयोगजस्ता कारणले गर्दा नेपालमा भवन निर्माण विश्वमा नै ज्यादै महँगो छ। अनावश्यक खर्चहरूले गर्दा भवन निर्माण ज्यादै खर्चिलो र बोझिलो हुन पुगेको छ। भवन निर्माणलाई कम खर्चिलो बनाउन सरकारले पटक्कै ध्यान दिएको पाइँदैन। निजी क्षेत्रले पनि प्रयास गरेको देखिंदैन।

नेपालमा अति महँगी भए पनि जीवन भने चलेकै छ। कसरी होला ? नेपालको अर्थतन्त्रमा विप्रेषण (रेमिट्यान्स) को ठूलो प्रभाव छ। नेपालमा ठूलो मात्रामा रेमिट्यान्स आउने गर्दछ। कुल गार्हस्थ्य उत्पादनको तुलनामा विश्वमैं सर्वाधिक विप्रेषण प्राप्त गर्ने राष्ट्रहरूको श्रेणीमा नेपाल तेस्रोमा पर्दछ। नेपालले आफ्नो गार्हस्थ्य उत्पादनको लगभग ३० प्रतिशत बराबर आय विप्रेषणबाट प्राप्त गर्दछ। अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा ३० प्रतिशत रहेको छ। विप्रेषण अधिक पाउने राष्ट्रहरूको श्रेणीमा एक र दुई नम्बरमा क्रमशः टोंगा र हाइटी पर्दछन्। नेपालको स्थिति यस्तो रहनु अर्थतन्त्रको लागि ज्यादै दुःखद कुरा हो। यो स्थितिले नेपाल विप्रेषणले चलेको देश हो भन्ने बुझाउँछ जुन लज्जास्पद हो।

लगभग पचास लाख नेपाली अहिले देश बाहिर छन्। खासगरी अन्तर्राष्ट्रिय श्रम बजारमा काम गर्ने नेपालीहरूले ठूलो परिमाणमा स्वदेशमा विप्रेषण पठाइरहेका छन्। विप्रेषणले गर्दा नै नेपालमा जेनतेन जीवन चलेको छ। विप्रेषणले देश नधानेको भए नेपालमा गरीबी ठूलो मात्रामा वृद्धि भएर जीवनयापन अति कठिन हुने थियो। भोखमरीको अवस्था हुने थियो। तर धन्य, नेपाललाई विप्रेषणले थेगेको छ।

नेपालमा महँगी उच्च बिन्दुमा पुग्नुका अनेक कारण छन्। ती सबै कारण यो छोटो लेखमा प्रस्तुत गर्न नसकिने भएकोले केवल दुई कारण प्रस्तुत गर्ने प्रयास गरिएको छ।

नेपालको महँगी आकाश छुने हुनुको प्रमुख वा पहिलो कारण हो सरकारहरू गैरजिम्मेवार हुनु। कम लागतमा ठूलो परिमाणमा उत्पादन गर्न सकिने वा उत्पादन लागत घटाउन सकिने उपायको खोजी नेपालमा गठन भएका सरकारहरूले कहिले पनि गरेनन्। महँगी नियन्त्रणलाई कुनै पनि सरकारले गम्भीर विषयको रूपमा लिएन। कम्युनिस्ट वा काङ्ग्रेस कुनैको सरकारले पनि महँगी नियन्त्रणलाई प्रमुख प्राथमिकताको सूचीमा राखेन। सबै सरकार गरीबप्रति गैरजिम्मेवार र असंवेदनशील देखिए।

महँगी नियन्त्रण, उत्पादन वृद्धि, लागत कटौति, उत्पादकत्व वृद्धिजस्ता कार्य कुनै पनि मुलुकमा अर्थमन्त्रीको नेतृत्वमा रहेको विज्ञहरूको समूहले गर्दछ। विज्ञहरूको समूहले महँगी नियन्त्रणका उपायहरूको खोजी गर्दछ। तर दुर्भाग्य! भागबण्डाको राजनीतिले गर्दा नेपालले योग्य, कुशल र आफ्नो क्षेत्रमा राम्रो दखल भएको अर्थमन्त्री पाउन सकेन। विज्ञहरूले पनि महँगी नियन्त्रणमा योगदान पु–याउने सुझाव सरकारलाई दिन सकेनन्। दलीय राजनीतिको निहित स्वार्थले गर्दा विज्ञहरूको पहुँच सरकारसम्म हुन सकेन। उनीहरूको विज्ञताको उपयोग देशले गर्न सकेन।

२०४६ सालको राजनीतिक परिवर्तन पछि, केही अपवादलाई छाडेर, नेपालमा योग्य व्यक्ति अर्थमन्त्री चयन भएको पाइँदैन। अनुभवहीन, योग्यता नभएका, सम्बन्धित क्षेत्रको पटक्कै ज्ञान नभएका, शैक्षिक योग्यता शून्य, निक्म्मा व्यक्तिहरू नेपालका अर्थमन्त्री भएका छन्। ताजा उदाहरणको रूपमा केपी ओलीको सरकारमा रहेका अर्थमन्त्रीलाई लिन सकिन्छ। ओलीको सरकारमा रहेका वर्तमान अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ क्षेत्रमा काम गरेको न अनुभव छ, न उनी अर्थ क्षेत्रको ज्ञाता हुन्, न उनीसँग शैक्षिक योग्यता नै छ। यस्ता अर्थमन्त्रीबाट आर्थिक सुधारको अपेक्षा गर्नु आकाशको फलजस्तै साबित हुन्छ।

सरकारहरूको गैरजिम्मेवारीले गर्दा नेपालले योग्य अर्थमन्त्री पाउन सकेको छैन। स्थिति यस्तै रहने हो भने भविष्यमा पनि पाउने सम्भावना देखिंदैन। दलहरूको भागबण्डाको राजनीति, निहित स्वार्थले गर्दा अर्थमन्त्री र अर्थ मन्त्रालय उपहासको विषय हुन पुगेको छ। महत्वहीन बनाइएको छ।

भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह त्यस देशको अर्थमन्त्री (सन् १९९१–१९९६) भएको बेला उनले देशको आर्थिक स्थितिमा चमत्कारी सुधार मात्र ल्याएनन्, बर्बादीको नजीक पुगेको भारतीय अर्थतन्त्रलाई जोगाए पनि। त्यस बेलाको काङ्ग्रेसको अदूरदर्शी र अव्यावहारिक आर्थिक नीति र ‘लाइसेन्स राज’ ले गर्दा भारतको अर्थतन्त्र अति नै समस्याग्रस्त हुन पुगेको थियो, बर्बादीको नजीक पुगेको थियो। भारतले अनेक अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग लिनुपरेको थियो। समग्रमा देशको अर्थतन्त्र कठिन स्थितिमा थियो। तर देशलाई त्यो कठिन स्थितिबाट मनमोहन सिंहले पार लगाए। देशको अर्थतन्त्र बर्बाद हुनबाट जोगाए। यस कार्यको जस, उनले लामो समयसम्म प्रधानमन्त्री भएर काम गर्न पाए।

देशको अर्थतन्त्र उकास्न अर्थमन्त्रीको ज्यादै ठूलो भूमिका हुन्छ। तर यो गम्भीर विषयलाई नेपालका राजनीतिक दलहरूले उपहासको रूपमा लिए। जतनाले पनि राजनीतिक दलहरूको यो गैरजिम्वेवारीलाई दण्डित गरेन। चुनावमा त्यस्ता दलहरूलाई पराजित गरेन। दोषी जनता पनि छ, मुलुकको आर्थिक स्थिति यस्तो हुनुमा।

नेपालको महँगी आकाश छुने हुनुको दोस्रो कारण हो देशमा बृहत् उत्पादन (Mass production) हुन नसक्नु। सानो सानो परिमाणमा उत्पादन हुनु। यस तथ्यका धेरै उदाहरणहरू छन्। यहाँ मात्र एउटा उदाहरणको रूपमा कृषि क्षेत्रलाई लिउँ।

नेपालको कृषि क्षेत्रको स्थिति कस्तो छ भने कृषियोग्य भूमि सानासाना टुक्रामा विभाजित छ। स्वामित्वको आधारमा कृषियोग्य भूमि अनेकौं टुक्रामा विभक्त छ। स्वामित्वको निर्धारण वा रेखाङ्कन (आली, बार) मा कृषियोग्य भूमिको ठूलो भाग अनुत्पादक भएर गएको छ। यसरी टुक्राटुक्रा भएर रहेको भूमिमा कृषकहरूले खेती गर्दा वा बाली लगाउँदा महँगो हुन पुग्छ। र यो कारणले गर्दा कृषि उपज महँगो हुन जान्छ।

यदि कुनै एक व्यक्तिले सानासाना टुक्रामा विभक्त भूमि भाडामा लिएर, ठूलो आकार बनाएर खेती गर्ने हो भने उत्पादन लागत नियन्त्रण हुन्छ र कृषि उत्पादनको मूल्य उपभोक्ताहरूको लागि कम हुन पुग्छ। अर्कोतिर बृहत् उत्पादन भएको कारण उत्पादकले पनि ठूलो नाफा हात पार्न सक्छ।

नेपालको कृषि क्षेत्रमा लागत नियन्त्रणको लागि उच्च प्रविधिको प्रयोग हुनु पनि उत्तिकै आवश्यक छ। तर कृषि क्षेत्रमा अहिले पनि कोरा श्रम (Direct labor) को प्रयोग भएको पाइन्छ। कृषिका लागि प्रयोग हुने विधि, प्रक्रिया, सामग्रीहरू अहिले पनि परम्परागत नै छन्। यसले गर्दा पनि नेपालमा कृषि उत्पादन महँगो हुन पुगेको छ, सस्तो पार्न सकिएको छैन।

नेपालको गैरकृषि क्षेत्रमा पनि उत्पादन लागत कम पार्न उच्च प्रविधि प्रयोग भएको पाइँदैन। बृहत् उत्पादन गरिएको पाइँदैन। कृषि मात्र होइन, अन्य क्षेत्रमा पनि बृहत् उत्पादन गरेर, लागत नियन्त्रण गर्न सकिन्छ र वस्तु एवं सेवाको मूल्य कम पार्न सकिन्छ।

वस्तु एवं सेवाको मूल्य कम पारेर उपभोक्तालाई राहत दिन हामीले बृहत् उत्पादन गर्नुको विकल्प छैन। उत्पादकत्व वृद्धि गर्नुको विकल्प छैन।

सरकारलाई जिम्मेवार बनाएर तथा बृहत् मात्रामा वस्तु एवं सेवा उत्पादन गरेर मात्र पनि लागत नियन्त्रण गर्न सकिन्छ। महँगी धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। तर सरकारलाई जिम्मेवार बनाउने कार्य जनताले नै गर्नुपर्छ।



विश्वराज अधिकारी

akoutilya@gmail.cocm

प्रतीक दैनिकमा प्रकाशित Friday, November 27, 2020

http://www.prateekdaily.com/2020/11/blog-post_299.html

Friday, November 20, 2020

We Are Self-Made Poor-Article-302

 गरीबीको कारण हाम्रो व्यवहार

कुनै पनि देशलाई धनी वा गरीब त्यस देशको जनताले बनाउने हो। हामी धन सम्पत्तिको कमीले गर्दा होइन आफ्नै व्यवहारले धनी वा गरीब हुने हो। विकासशील राष्ट्रहरूको आर्थिक विकासको इतिहासले यही कुरा भन्छ। धनी राष्ट्रहरूको आर्थिक विकासले पनि यही कुरा भन्छ। त्यसकारण धन, सम्पत्ति, प्राकृतिक स्रोत, मानवीय साधन आदिको प्रचुरता महत्वपूर्ण कुरा होइन, कुनै राष्ट्र धनी हुनु, त्यस राष्ट्रको जनता निर्धन नहुनुमा त्यस देशको जनताको व्यवहार महत्वपूर्ण कुरा हो। अफ्रिकी राष्ट्रहरूको अस्थिरता, दक्षिण एशियाली राष्ट्रहरूको गरीबीले यसै कुराको पुष्टि गर्दछ। र उदाहरणको रूपमा सोमालिया, इथोपिया, सुडान, माली, रवान्डा, कंगो, नाइजर, जिम्बाब्वे, मोजाम्बिक, युगान्डा, सियरा लियोन, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल आदिको गरीबीलाई लिन सकिन्छ।

जनताको व्यवहारले राष्ट्र र जनतालाई कसरी गरीब बनाउँछ भन्ने कुराको पुष्टि गर्न केही मुलुकको स्थितिलाई प्रतिनिधि उदाहरणको रूपमा हेरौं।

रवान्डाको जातीय नरसंहार

सन् १९९४ को अप्रिलदेखि जुलाई सम्म, लगभग १०० दिन मात्र  रवान्डामा मच्चिएको जातीय नरसंहारमा ८ लाख रवान्डालीको हत्या भएको थियो। दुई जातीय समूह हुटु र टुट्सीबीच भएको विश्व इतिहासकै ठूलोमध्ये एक त्यो नरसंहारमा अल्पसङ्ख्यक टुट्सीहरू ठूलो सङ्ख्यामा मारिएका थिए। २० लाख नागरिक ज्यान जोगाउन देश (रवान्डा) छाडेर अन्यत्र शरण लिन पुगेका थिए। हुटुहरूले कतिसम्म हृदयहीनता देखाएका थिए भने उनीहरूले टुट्सी पत्नी हुने हुटुहरूलाई आफ्नी टुट्सी पत्नीको हत्या गर्न र त्यस्तो नगरेमा त्यस्ता पतिहरूको हत्या गर्ने उर्दी जारी गरेका थिए। स्थानीय रेडियो स्टेशनहरूले हुटुहरूलाई खोजीखोजी टुट्सीको हत्या गर्न समाचारको रूपमा आदेश दिएका थिए। रवान्डाको त्यो जातीय नरसंहारले त्यस मुलुकलाई गरीब बनाउन कस्तो भूमिका खेलेको थियो सजिलै अनुमान गर्न सकिन्छ। रवान्डा अहिले पनि गरीबीको दुषचक्रभित्र रुमलिएको छ।

जिम्बाब्वेका तानाशाह मुगाबी

अफ्रिकी मुलुक जिम्बाब्वे प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ र त्यही प्राकृतिक स्रोत र साधनहरूको दोहन गर्न ब्रिटिशहरू जिम्बाब्वे पुगेका थिए।  सन् १९६५ मा यो मुलुक ब्रिटिशहरूको उपनिवेशबाट मुक्त भयो। तर पनि देशको सम्पत्ति र भूमिको ठूलो भाग अल्पसङ्ख्यक गोराको कब्जामा थियो। बहुसङ्ख्यक काला अति निर्धन थिए। त्यस समयका जिम्बाब्वेका काला जातिका अति लोकपिय नेता रोबर्ट मुगाबीले गोराहरूको हातबाट कृषियोग्य जमीन खोसेर कालाहरूलाई दिने अभियान र आन्दोलन दुवै चलाए। उनको नेतृत्वमा भएको त्यो आन्दोलनले धेरै कालालाई गोराहरूको हातबाट कृषि–भूमि फिर्ता दिलायो। तर पछि मुगाबीको राजनीतिक आकाङ्क्षा ह्वात्तै बढेर गयो। उनी देशको उच्च पदमा आसीन भए। जिम्बाब्वेको राष्ट्रपति भएर उनले आफ्नो मुलुकमा लगभग ४० वर्षसम्म तानाशाही गरे। देशलाई यतिसम्म गरीब बनाए कि गोराहरूको शासन हुँदा पनि जिम्बाब्वे त्यति गरीब थिएन। मुगाबीको शासनकालमा जिम्बाब्वे यति गरीब भयो कि एक छाकको लागि खाने कुरा खरीद गर्न एक झोला पैसा बोक्नुपर्ने स्थिति उत्पन्न भयो। मुद्रास्फिति यदि बढ्यो कि जिम्बाब्वेले मिलियन, ट्रिलियन (डलर) को नोट छाप्नुप–यो। सन् २०१९ मा सिङ्गापुरको एउटा अस्पतालमा मुगाबीको मृत्यु हुनु केही पूर्वसम्म पनि उनी देशका राष्ट्रपति थिए। मुगाबीले जिम्बाब्वेलाई यति गरीब पारे कि त्यहाँ सम्पन्नताको स्थिति आउन दशकौं लाग्न सक्छ। आज जिम्बाब्वे नेपालभन्दा पनि गरीब छ। मुगाबीलाई जिम्बाब्वेको जनताले नै नेता बनाएको थियो। उनी जनताको प्रतिनिधि थिए।

मुगाबी आकाशबाट झरेर जिम्बाब्वेका नेता भएका थिएनन्। त्यहाँ जनताले नै मुगाबीलाई नेता बनाएको थियो।

अस्थिरताले भरिएको अफगानिस्तान

दक्षिण एशियाको अभागी राष्ट्र अफगानिस्तान कहिले शान्त हुन सकेन। आफ्नो स्थापनाकालदेखि यो मुलुक अशान्त रहँदै आएको छ। पख्तुन, ताजिक, हाजरा, उज्बेक, ऐमक, तुर्कमेन, बलुच एवं दर्जनौं जातीय समूहको बसोवास रहेको यस मुलुकमा उक्त जातीय समूहहरूबीच कहिले एकता हुन सकेन। अनवरत कलह भइ नै रह्यो। सङ्घर्ष भइ नै रह्यो। डरलाग्दो युद्ध भइ नै रह्यो। र त्यो कलहले गर्दा अनेक शक्तिराष्ट्रहरू अफगानिस्तामा पसे। अप्रत्यक्ष शासन गरे। सन् १९८० पछि त तत्कालीन सोभियत रूसले अफगानिस्तानमा ठूलो सङ्ख्यामा सैन्यबल नै उता–यो। अहिले पनि अफगानिस्तानमा अमेरिकालगायत विभिन्न देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। अफगानिस्तानमा चलेको अनवरत सङ्घर्षमा लाखौं अफगानीको ज्यान गइसकेको छ। मारिने क्रम अहिले पनि जारी छ। २० लाख अफगानी अहिले पनि पाकिस्तान तथा इरानमा शरणार्थी जीवन बिताइरहेका छन्। यो आलेख तयार पारिरहँदासम्म अफगानिस्तानको कुनै स्थानमा बम पड्केको हुन सक्छ।

कट्टरपन्थी धार्मिक सङ्गठन (तालिबानीहरूको समूह) र उदारवादीहरू बीच राम्रो मेलमिलाप हुन नसकेर अफगानिस्तान बरबाद भइरहेको छ। अफगानिस्तानमा गरीबी बढ्दो क्रममा छ। जीवन असुरक्षित छ। अफगानहरू भय र त्रासको वातावरणमा बाँच्न अभिशप्त छन्। यदि अफगानिस्तानमा यी विभिन्न जातीय वा शक्ति–समूहबीच राम्रो मेलमिलाप हुने हो भने यो मुलुक गरीबीको दुष्चक्रबाट छिट्टै बाहिर आउन सक्छ। साधन र स्रोतको कमी यो मुलुकमा छैन। अफगानीस्तानको ‘बामियान’ पर्यटनको लागि विश्वमा नै प्रसिद्ध छ। तर अफसोच! बामियानका विश्वप्रसिद्ध मूर्तिहरू नष्ट पार्न तालिबानीहरूले धेरैपटक बमले प्रहार गरिसकेका छन्। गरीबीबाट मुक्त पार्न सक्ने पर्यटनका पूर्वाधार समाप्त पारेर देशमा कसरी समृद्धि ल्याउन सकिन्छ? तालिबानीहरूले किन यो कुरा नबुझेका होलान्? बुझून पनि कसरी? धर्मान्धताले उनीहरूको आँखामा पट्टी बाँधिदिएको छ। धर्मान्धता अफगानिस्तानको राजनीतिक अस्थिरता र गरीबीको समेत प्रमुख कारण बन्न पुगेको छ। उदार विचारका अफगानीहरूलाई आफ्नो मुलुकमा बस्न अहिले सहज छैन।

नेताहरूको स्वार्थले गतिहीन नेपाल

देशमा आर्थिक समृद्धि छिटै आउला। भनसुनको जमानाको अन्त्य होला। आफ्नो योग्यता अनुसार मानिसले रोजगार पाउला। जागीर निगाहमा निर्भर रहने छैन। विभेद अन्त्य हुनेछ। यस्तै आशाले नेपाली जनतालाई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्न उत्प्रेरित गरेको थियो। सङ्घर्ष त सफल भयो, तर नयाँ व्यवस्थामा सत्ता सञ्चालनका लागि, जनताले सही र इमानदार प्रतिनिधि छान्न सकेन। मतदाताहरूले आफ्नो स्वार्थलाई मध्यनजर गरी छानेका जनप्रतिनिधिहरू स्वार्थी निस्के र उनीहरूका क्रियाकलाप केवल आफ्नै स्वार्थको वरिपरि  घुमिरह्यो। जनप्रतिनिधि वा नेताहरूबीच हुने शक्ति सङ्घर्षले नेपाललाई अपेक्षाकृत गतिमा समृद्धिको दिशातर्फ लग्न सकेन। यसरी हाम्रो गरीबीको कारण हामी नै बन्न पुग्यौं किनभने हामीले स्वार्थमुक्त भएर इमानदार जनप्रतिनिधि रोज्न, निवार्चित गर्न सकेनौं। राम्रो होइन, हाम्रो नेता भन्यौं। नेताको चरित्र होइन, ऊ मैले रोजेको दलको हो–होइन भन्नेतिर ध्यान दियौं। अब फरक किसिमले सोचौं। ओली र दहालको शक्ति सङ्घर्षको पछि नलागौं।

हामी आफ्नो गरीबीको लागि स्वयं जिम्मेवार छौं।

एक समय नेपाल झन्डै जातीय दङ्गामा फसिसकेको थियो। जनताले निवार्चित गरेका नेताहरूले नै आफ्नो स्वार्थका लागि, मधेसी र पहाडीबीच, जातीय झगडाको बीउ छरेका थिए। देशलाई बर्बाद गर्न खोजेका थिए।

त्यो समयमा पहाडे र मधेसी समुदायबीच ठूलो मनोमालिन्य सृजना भएको थियो। सयौं वर्षदेखि सँगै बसोवास गरिरहेका तराईका पहाडे परिवारहरू, पहाडेबहुल क्षेत्रमा बसाइँ सर्न बाध्य भएका थिए। तर यस्तो स्थिति सामान्य पहाडे वा मधेसीहरूले गरेर भएको थिएन, दुवैतिर (पहाडे, मधेसी) का नेताहरूले यस्तो स्थिति सृजना गरेका थिए। पछि सामान्य मधेसी र पहाडेहरूको सदाशयता एवं सक्रियतामा यी दुई समुदायबीचको मनोमालिन्य समाप्त भएको थियो। अहिले नेपालमा मधेसी र पहाडे समुदाय मिलेर, नङ र मासुजस्तो भएर बसेका छन्। यी दुई समूहबीच कुनै समस्या छैन। तर एक कालखण्डमा केही स्वार्थी नेताहरूले यी दुई समुदायबीच ठूलै सङ्घर्ष गराउन खोजेका थिए। त्यो सङ्घर्षबाट फाइदा लिन खोजेका थिए।

अन्त्यमा, हाम्रो गरीबीका लागि र हाम्रो समृद्धिका लागि हामी स्वयं नै जिम्मेवार छौं। हामीले नै, हाम्रो सुकर्म, सद्भाव एवं मेलमिलापद्वारा आफूलाई गरीबीबाट मुक्त पार्ने हो।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, November 20, 2020

web address: http://www.prateekdaily.com/2020/11/blog-post_770.html 




Thursday, November 19, 2020

Interview with Bhagawati poudel-I-10

 कवि भगवती पौडेलसङ्गको अन्तर्वाता

संयुक्त राज्य अमेरिकाको डालस शहरलाई कर्मथलो बनाउनु भएको कवि भगवती पौडेलसँगको अन्तर्वाता प्रस्तुत गरेको छु। यो अन्तर्वाता उहाँद्वारा हालै (२०७७ साल) लेखिएको कविता सङ्ग्रह ‘अक्षरका बीउहरू’ लाई आधार बनाएर तयार पारिएको हो।

१. साहित्यका विभिन्न विधाहरू छन, जस्तै कविता, आख्यान, गजल आदि। यी मध्ये कुन लेख्न मन पराउनु हुन्छ?

- साहित्यका हरेक विधाहरु मलाई मन पर्छ । तत्काल आएका भावनाका झिल्काहरु कवितामा पोख्ने गरेकी छु । अचेल गजलमा पनि पोखिन्छु कहिलेकाहीं । आख्यान तर्फ पनि रुची छ । 

२. साहित्य लेखनतर्फ लाग्न के कुरा, घटना, परिस्थिति, मनोविज्ञान आदिले तपाइँलाई उत्प्रेरित गर्यो?

- सानै देखि पाठ्यक्रममा भएका कविताहरु वाचन गर्न मन पराउॅथें । मेरो पिताजीले केही ज्ञानका कुराहरु सिकाउनु पर्यो भने हामी छोराछोरीहरु र अरुलाई पनि कविताका हरफहरु वाचन गरेर व्याख्य गर्ने गर्नुहुन्छ । उहॅाले वाचन गर्ने कविताहरु विशेष गरि धार्मिक ग्रन्थहरु, रामायण र सुखसागरबाट मुखाग्र गरिएका हुन्छन् । मलाई यसैको प्रभव परेको हुनसक्छ ।

३. कविता वा साहित्य, रचनाकारले स्वयंको सन्तुष्टिको लागि लेख्ने हो वा पाठक वा समाजको लागि?

- मेरो विचारमा साहित्य सिर्जनाको सुरुवात स्वयंमको सन्तुष्टीबाट हुन्छ । जब पाठक समक्ष पुग्छ तब मात्र सर्जकले थाहा पाउॅछ पाठक र समाजको लागि पनि रुची भयो भएन भन्ने कुरा । साहित्यलाई पेशा ठान्नेहरुले त पाठकको रुची र बजारतिर पनि ध्यान दिनु पर्यो । मैले लेख्ने गरेका कविताहरु समाजलाई हेरेर त्यसको प्रभावले म स्वयंको सन्तुष्टिको लागि लेखिएका हुन । मेरो जस्तै भावना जसको मनमा छ उसलाई मेरा कविता मन पर्न सक्छ । मैले मेरो जीवन यात्रामा भोगेको समाजबाट  उद्वेलित मन पोखेकी हुन्छु । पाठकलाई ध्यान दिएर लेख्न थालेकी छैन । 

४. साहित्य स्वतन्त्र र स्वछन्द भएर लेखिनु पर्छ वा समाजिक मूल्य र मान्यताभित्र रहेर लेखिनु पर्छ?

- दुबै हुन जरुरी छ । समाजका मनोगत भावनाहरु साहित्यमा उतार्न खोजिएको हो भने स्वतन्त्र र स्वछन्द भएर लेखिनु पर्छ । समाजलाई एकताबद्ध गर्नको लागि लेखिएको साहित्य हो भने मुल्य र मान्यताहरुको ख्याल गर्न जरुरी छ । 

५. सामाजिक मूल्य र मान्यभित्र रहेर साहित्य लेख्दा के नया नया, अलिखित वा अकथित कुराहरू बाहिर आउलान?

- बाहिर आउॅछन तर यसको लागि सबै तहका समुदायमा सर्जकहरुको खॅाचो छ । हाम्रो नेपाली समाजमा रहेका अव्यवहारिक मूल्य र मान्यताहरुलाई व्यवहारिक बनाउन र गलत ब्याख्या गरिएका मुल्य र मान्यताहरुलाई सहि ब्याख्या गर्न साहित्य लेख्न जरुरी छ । अलिखित र अकथित कुराहरु बाहिर ल्याउन धेरैले कलम समाउनु पर्छ । 

६. केवल महिलाहरूले मात्र अनुभूत गर्न सक्ने र महिलाहरूले मात्र भोग्ने कुराहरू पनि पुरुषहरूद्वारा लेखिएको पाइन्छ। जस्तै प्रशवपीडामा महिलाको मनोविज्ञान कस्तो हुन्छ भनेर पुरुषद्वार लेखिएको हुन्छ। यस्तै स्थिति पुरुषतर्फ पनि भएको पाइन्छ। यसरी लेखिनुबाट व्यक्ति वा पात्र (रचनामा) को सही मनोदसा प्रकाशमा आउन सक्छ?

- हजुरले हरदम मेरो मनमा आईरहने प्रश्न सोध्नु भयो । अचेल स-साना आलेख, कथा, निबन्ध आदिको कुनै लिंकमा मेरो अनुभूत बोकेको सिर्शक देखें भने सकेसम्म तुरुन्तै पढ्छु । नभ्याए पछि पढ्नु पर्छ भन्ने सोंच राख्छु । सुरुमा लेखक तिर ध्यान जॅादैन । कहिलेकाही पढ्दै जॅादा भावनामा अतिरन्जित भएको पाउॅछु पुन: “लेखक को रहेछ त?” फर्केर हेर्छु । अक्सर गरेर पुरुष लेखक हुनुहुन्छ । पुरुषले महिलाको महिलाले पुरुषको मनोदसा अनुमान मात्र गर्न सक्छ अनुभव फरक हुन्छ ।

७. नेपाली साहित्यमा महिलाहरुको उपस्थिति किन कम भएको होला?

- छोरीहरुलाई पढाउने चलन पछि आयो त्यसैले हो । मेरो आमा निराक्षर हुनुहुन्थ्यो उहॅाले आफ्नो श्रीमानलाई पत्र लेख्न अरुलाई लगाउनु पर्थ्यो । निराक्षर आमाको पढेलेखेको छोरी भएर मैले बल्ल कलम चलाउन थालेकी छु । साहित्यमा लेखेर बाहिर ल्याउन हौसला चाहिन्छ । बल्ल छोरी पढाउन थालेका छन । साहित्य लेख्नु पर्छ भन्ने हौसला सबैलै पाएका छैनन् त्यसैले साहित्यमा महिलाहरुको उपस्थिति कम छ। 

८. नेपाली साहित्यमा महिलाहरूको उपस्थिति बाक्लो पार्न के गर्नु पर्ला?

- पक्कै पनि मनमा लागेका कुरा लेख्नु पर्छ भन्ने शिक्षा अभिभावकहरुबाट सुरु हुनु पर्छ । समाजमा हजुरहरु जस्तै स्थापित साहित्यकारहरुले सुझाव सहित हौसला दिनु पर्छ ।

९. नेपालमा साहित्यिक कृतिहरू अन्य पुस्तक (पाठ्यपुस्तक) झै बिक्री नहुनुको कारण के होला?

- पाठ्यपुस्तक परीक्षा पास गर्नु पर्ने हॅुदा अनिवार्य पढ्नु पर्ने भयो त्यसैले किन्छन् बिक्री हुन्छ । पाठ्यक्रममा राखिएका साहित्यिक किताव पनि किनिन्छन् । त्यो भन्दा बाहिरका कितावहरुको चर्चा कम हुन्छ त्यसैलै बिक्री हुदैनन् । नेपालमा साहित्यिक कृतिहरु प्रकासित भएका छन भनेर पाठक सामु सुचना दिने भरपर्दो माध्यम पनि छैन । 

१०. ‘एउटा साहित्यकारले नै अर्को साहित्यकारको पुस्तक पढिदिंदैन’, यो भनाइसँग तपाइँ सहमत हुनु हुन्छ?

- यसमा म सहमत छैन । पुस्तक हातमा छ भने अवस्य पढ्छन् । फरक यो हुन सक्छ , कसैले महत्वका साथ पढ्छन भने कसैलै सतहमा पढ्छन् । कसैले सकारात्मक सोंचका साथ उत्शुकता जगाएर पढ्छन भने कसैले कहॅा खोंट लगाउन पाइने ठाउॅ छ भनेर खोज्दै हिड्छन् । 

११. ‘नेपाली साहित्यको विकासको लागि साहित्यकारहरूले एक अर्कालाई सहयोग गर्नु पर्ने हो तर उल्टो छ, र एकले अर्कोको खुट्टा तानेको पाइन्छ’ यो भनाइसँग तपाइँ सहमत हुनु हुन्छ? 

- यो त प्रवृतिको कुरा हो । समाजमा नै खुट्टा तान्ने प्रवृति हावी छ भने साहित्य अक्षुतो रहन सक्दैन । यो मनोगत रोगको परिणाम कम गर्न सकारात्मक साहित्यिक बहस हुनु पर्छ । 

१२ ‘महिला साहित्यकारहरूले यौन मनोविज्ञान तर्फ कमै लेखेको पाइन्छ। थोरै लेख्नेले पनि एक किसिमको भयको घरभित्र रहेर लेखे जस्तो लाग्छ?’ यो भनाइ सत्य हो?

- भनाइ सत्य हो या होइन भन्नको लागि बलियो प्रमाण चाहिन्छ । त्यो मसॅग छैन । मनोविज्ञान, समाज विज्ञान , वाद र सिद्धान्तमा टेकेर साहित्य सिर्जना गर्न अध्ययन चाहिन्छ । हाम्रो समाजमा महिलाहरुको विस्तारै कलम चलेको हुनाले यौन मनोविज्ञान तर्फ कम लेखिनु स्वभाविक हो । हामीकहॅा यौन शिक्षा सम्बन्धी खुलेर बहस पनि कमै भएका छन् ।

 र अन्त्यमा,

१३. हालै प्रकाशित (सन् २०२०) ‘अक्षरका बीउहरू’ (कविता सङ्ग्रह) लेख्न के कुराले तपाइँलाई उत्प्रेरित गर्यो?

- कविता मैले सानै देखि लेख्ने गर्थें । लेख्नको लागि प्रेरणाको श्रेय मेरा परिवार र स्कुलका गुरुहरुदेखि नै सुरु हुन्छ । लेखिसकेका कुराहरु छपाउने बाहिर ल्याउने भन्ने कुराहरुको प्रेरणा सुरुवातमा नभएकोले कतिपय सिर्जना त हराए पनि । जब म अमेरिका आएं सन २०१२ देखि यहॅाको नेपाली समाजमा नेपाली साहित्यमा रुची राख्ने समूहहरुसॅग भेट भयो । कविता सुन्ने र सुनाउने सन्दर्भमा परिचित अग्रजहरुको उत्प्रेरणा नै “अक्षरका बीउहरु” को संग्रह हो । संस्थागत रुपमा अन्तराष्ट्रिय साहित्य समाज - डालस च्यापटर र स्रष्टा सॅाझ अमेरिका प्रेरक छन् । यो संग्रहको प्रकाशक स्रष्टा सॅाझ अमेरिका हो । उहॅाहरु सबै प्रति म आभारी छु । अन्तयमा हजुरले मेरो कुरा राख्ने मौका दिनु भयो हार्दिक धन्यवाद भन्न चाहन्छु ।

अन्तर्वाताकार: विश्वदर्पण ब्लगका लागि विश्वराज अधिकारी

चित्र: कवि भगवती पौडेल

Friday, November 13, 2020

National Economy Shadowed by Power Struggle-Article-301

 शक्ति–सङ्घर्षको छायामा राष्ट्रिय अर्थतन्त्र

कोरोना–सङ्कटले गर्दा सम्पूर्ण विश्व नै अहिले आर्थिक मन्दीको स्थितिमा छ। सबैतिर अनिश्चितता र चिन्ता व्याप्त छ। उत्पादन व्यवस्थाले पूर्ववत् काम गर्न सकेको छैन भने जेजति उत्पादन भएको छ त्यो पनि उपभोक्ता समक्ष प्रभावकारी किसिमले लक्षित परिणाममा पुग्न सकेको छैन। वितरण व्यवस्था पहिले कहिले नदेखिएको किसिमले बिथोलिएको छ। बरोजगारी सङ्ख्यामा ठूलो वृद्धि भएको छ। गरीबी र निराश उकालो लाग्ने क्रम जारी छ। मध्यम वर्गीयहरूको जीवन गुजारा जेनतेन किसिमले भए तापनि निम्न वर्गीयहरूको जीवन अभूतपूर्व किसिमले कष्टकर हुने पुगेको छ। यस किसिमको स्थिति अहिले संसारभरि देखिएको छ।

संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, ग्रेट ब्रिटेन, इटली, जापानजस्ता धनी राष्ट्रहरूको आर्थिक स्थिति पनि कोरोना–सङ्कटले गर्दा कमजोर हुन पुगेको छ। यी राष्ट्रहरूका पर्यटन उद्योग (खास गरी हवाई सेवा र होटल व्यवसाय) उठ्न गार्हो हुने अवस्थामा पुगेको छ। र पहिलेको अवस्थामा पुग्न यी उद्योगलाई दशकौं लाग्न सक्छ। तर पनि यी धनी देशहरूमा एउटा खास स्थिति के देखिएको छ भने सङ्घीय, प्रान्तीय, स्थानीय सरकारहरू कोरोना–सङ्कटबाट क्षतिग्रस्त हुन पुगेको आआफ्नो राष्ट्रिय अर्थतन्त्रलाई माथि उकास्न दत्तचित्त भएर लागेका छन्। देशको अर्थ व्यवस्थालाई कोरोना–सङ्कटको कहरबाट जोगाउने नयाँनयाँ उपायहरूको खोजीमा सक्रिय भएर लागेका छन्। र त्यो खोजी कार्यमा सफलता पनि प्राप्त गरेका छन्।

गरीब वा विकासशील राष्ट्रका सरकारहरू पनि कोरोना–सङ्कटबाट आफ्नो देशको अर्थ व्यवस्था जोगाउन सक्रिय देखिएका छन्। यो सङ्कटको कुप्रभाव न्यून पार्न उनीहरूले नयाँनयाँ उपाय खोजी गरिरहेका छन्। नयाँनयाँ आर्थिक नीति तथा कार्यक्रम ल्याइरहेका छन्। विकासशील राष्ट्रका सरकारहरू पनि वर्तमान समस्याप्रति ज्यादै गम्भीर देखिएका छन्।

नेपालमा भने विपरीत स्थिति देखिएको छ। नेपाल सरकार राष्ट्रिय अर्थतन्त्रलाई कोरोना–सङ्कटबाट जोगाउन गम्भीर देखिएको छैन। कोराना–सङ्कटलाई गम्भीर राष्ट्रिय समस्याको रूपमा सरकारले लिएकै छैन। बरू सरकार आफ्नो आयु लम्बाउने दाउमा मात्र लागेको छ। ओली सरकार अहिले केवल आयु लम्ब्याउन लागेको कुरा उसको क्रियाकलापबाट देखिएको छ। प्रधानमन्त्री केपी ओली स्वयं नै अति कमजोर हुने क्रममा रहेको राष्ट्रिय अर्थ व्यवस्थाप्रति गम्भीर हुनुको सट्टा दलभित्र प्रतिद्वन्द्वीको भूमिकामा प्रस्तुत भएका पुष्पकमल दहालससँग व्यक्तित्व एवं शक्ति विवादमा सङ्घर्षरत छन्। उनको क्रियाशील, ऊर्जावान् समय कोरोनाले गर्दा क्षतिग्रस्त हुने पुगेको अर्थ व्यवस्थालाई कसरी जोगाउनेभन्दा आफ्ना प्रतिद्वन्द्वी एवं समानान्तर अध्यक्ष पुष्पकमल दहाललाई कसरी किनारा लगाउने भन्नेमा केन्द्रित हुन पुगेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दहालबीचको शक्ति सङ्घर्ष (नाटक) ओली प्रम भएको मितिदेखि नै मञ्चन भइरहे तापनि प्रारम्भकालमा त्यो सङ्घर्ष राष्टका लागि त्यति घातक देखिएको थिएन, तर अहिले अति घातक देखिएको छ। अहिले मुलुकमा कस्तो स्थिति सृजना भएको छ भने देशको राजनीति र सरकारको क्रियाकपाल केवल नेकपाका यी दुई अध्यक्षको शक्ति–सङ्घर्षको वरिपरि घुमिरहेको छ। ओली र दहाल बीचको शक्ति–सङ्घर्षले गर्दा कोरोनाले जीर्ण पारेको राष्ट्रिय अर्थतन्त्र अहिले छायामा परेको छ। प्राथमिकता भने यी दुई व्यक्तिहरूको शक्ति–सङ्घर्षले पाएको छस राष्ट्रिय अर्थतन्त्रले पाएको छैन। सत्तारूढ दल नेकपा स्वयं पनि यी दुई नेताको शक्ति–सङ्घर्षमा रूमलिएको छ। देशको अर्थ व्यवस्थाप्रति उदासीन हुन पुगेको छ। कोरोना–सङ्कटलाई एकातिर पन्छ्याएर राजनीतिका चतुर खेलाडी पुष्पकमल दहाल पनि आफ्नो दुनो सोझ्याउन लागेका छन्। सत्तारूढ दलको सह–अध्यक्ष भएको नाताले नेपालको कमजोर हुँदै गएको अर्थतन्त्रप्रति उनको पनि चिन्ता देखिनुपर्दथ्यो तर देखिएको छैन र यसमा आश्चर्य मान्नुपर्ने ठाउँ पनि छैन किनभने दहालको राजनीतिक जीवन केवल सत्ता र शक्ति हस्तगत गर्नमा नै बितेको छ। उनको विगतले त्यही देखाउँछ। तर अहिले भने सत्तारूढ दलको सह–अध्यक्ष भएकाले उनी मुलुकको अर्थ व्यवस्थाप्रति गम्भीर हुनु पर्दथ्यो, हुन सकेनन्।

पहिले, कहिले नदेखिएको एवं ज्यादै नै पृथक एवं पीडादायी सङ्कट, कोरोना–सङ्कटको सामना गर्न एवं यसको कुप्रभावबाट मुलुकलाई जोगाउन अहिले सरकार मात्र होइन, सत्तारूढ दलसमेत लाग्नुपर्ने हो तर विडम्बना कस्तो छ भने सत्तारूढ दलभित्र शक्ति सङ्घर्षको धारावाहिक, टेलिसिरियल चलिरहेको छ। नेकपा, हस्तिनापुरमा राज्य गर्न कौरव र पाण्डव विभाजित भएझैं भएको छ। पाण्डव समूहको नेतृत्व पुष्पकमल दहालले गरेका छन् भने कौरव समूहको नेतृत्व ओलीले गरेका छन्। तर दुवै समूह शक्ति प्राप्तिका लागि गलत किसिमले लागेका छन्। र यी दुई समूहको युद्धमा सिङ्गो मुलुकको अर्थ व्यवस्था बर्बाद हुने स्थितिमा छ। नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजार, हवाई सेवा, होटल व्यवसाय तहसनहस भएको छ। समग्रमा भन्ने हो भने नेपालको पर्यटन उद्योग बर्बादीको किनारमा पुगेको छ। यस्तो स्थितिमा पर्यटन र रोजगार क्षेत्रलाई जोगाउन नेपालका अर्थमन्त्रीले नयाँनयाँ नीति तथा कार्यक्रम ल्याउनुपथ्र्यो तर स्वयं अर्थमन्त्री र उनका संयन्त्रहरू ओली–दहाल सङ्घर्षमा लागेका छन्।

ओली सरकार विभिन्न क्षेत्रमा असफल देखिएको त छ नै, कोराना–सङ्कटको समयमा गरीब परिवारलाई आर्थिक सहयोग गर्ने सन्दर्भमा भने यो सरकार अति नै असफल एवं अदूरदर्शी देखिएको छ। गरीब परिवारको स्थिति अहिले ज्यादै दयनीय हुन पुगेको छ। केवल दुई छाक खान नपाएर पनि नेपालमा अहिले धेरैले आत्महत्या गरिरहेका छन्। गरीब परिवारमा ठूलो चिन्ता र निराशा व्याप्त छ। निश्शुल्क खाना खान पाउन बेरोजगार गरीबहरू गल्लीगल्ली, सडक–सडक धाइरहेका छन्। केवल खानाको जोहो गर्न उनीहरू अनेक ठाउँ भौतारिइरहेका छन्। यस्तो स्थितिमा गरीबहरूको उद्धार गर्न सरकारले खास किसिमको ‘राहत योजना’ ल्याउनुपथ्र्यो। गरीब परिवारलाई यो सङ्कटबाट जोगाउन डाडूपन्यौं समातेको मुलुकको अर्थमन्त्रीले विशेष योजना ल्याउनुपथ्र्यो। तर अर्थमन्त्री यो उद्धार कार्य गर्न पूर्ण असफल देखिएका छन्। उनमा कार्य कुशलता देखिएको छैन। अर्थमन्त्री यस्तो पद हो, जहाँ बस्ने व्यक्ति स्वयं कुशल र विषयको आफैं जानकार हुनुपर्छ। आफ्नो क्षेत्रको पूर्ण ज्ञाता हुनुपर्छ।

केवल सहयोगीहरूको भरमा अर्थमन्त्रीको पदमा आसीन हुन सकिंदैन। यो कारणले गर्दा नै अर्थमन्त्रीको पद सम्बन्धित क्षेत्रको विज्ञलाई दिने गरिन्छ। सम्बन्धित क्षेत्रमा राम्रो शैक्षिक योग्यता भएकालाई दिने गरिन्छ। यो चलन संसारभरि देखिएको छ। अर्थशास्त्र, अहिलेको यो युगमा सामान्य होइन, जटिल विषय हो।

नेकपाका दुईजना नेता (ओली र दहाल) को शक्ति सङ्घर्षले गर्दा नेपालको अर्थतन्त्र छायामा पर्न गएको स्थितिलाई नेपाली मतदाताहरूले चिरकालसम्म स्मरण गर्नेछन्। कोरोनाले उत्पन्न गरेको गरीबी र बेरोजगारी र त्यसप्रति तत्कालीन सरकारले देखाएको उदासीनतालाई मतदाताहरू सजिलै बिर्सने छैनन्। त्यसकारण यी दुई नेताहरूको शक्ति सङ्घर्षले देशको अर्थ व्यवस्था मात्र होइन, नेकपाको भविष्यसमेत पछिसम्म प्रभावित हुनेछ। आउँदा दिनहरूमा नेकपाको प्रभाव क्षीण भए जानेछ, स्थिति यस्तै रह्यो भने।

प्रम ओलीले आफ्नो कार्यशैलीमा परिवर्तन नल्याउने हो, नेकपाका दुई नेताबीचको शक्ति सङ्घर्षले झनै निरन्तरता पाउने हो, देशको अर्थतन्त्रलाई दयनीय हुनबाट जोगाउने किसिमको कुशल एवं विज्ञ अर्थमन्त्री देशले नपाउने हो भने यो कोरोना सङ्कटले देशको आर्थिक अवस्था झनै कमजोर पार्नेछ। साथै नेकपा लगायत यसका नेताहरूको राजनीतिक भविष्यसमेत धमिलो पार्नेछ। यथास्थितिमा आउन नेकपालाई दशकौं लाग्नेछ।

अहिले पनि समय हातमा छ। नेकपा एवं यसका नेताहरूले यस विषयमा गम्भीर हुनु आवश्यक छ। अहिले नेकपाको हातमा दुईवटा विकल्प छ। ओली–दहाल शक्ति सङ्घर्षको नाटक मञ्चन भइरहन दिने कि देशको अर्थ व्यवस्थाप्रति गम्भीर हुने व्यक्तिलाई सरकारको नेतृत्व गर्न दिने?



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 13, 2020

http://www.prateekdaily.com/2020/11/blog-post_632.html