Friday, August 20, 2021

Elements Helping China to be Second Economic Power-Article-341

 कसरी हासिल गर्यो चीनले ठूलो आर्थिक उपलब्धि?

कुनै समयमा चीनमा ठूलो गरिबी थियो। करोडौ व्यक्तिहरू बेरोजगार थिए। केही दसक पहिलेसम्म पनि विश्व अर्थ व्यवस्थमा चीनको कुनै हैसितय थिएन। सन् १९८० भन्दा पहिले चीन विश्व अर्थ व्यवस्थबाट अलग थियो। छुट्टिएको अवस्थामा थियो। तर सन् १९८० पछि चीनले क्रमिक रुपमा आर्थिक प्रगति गर्न प्रारम्भ गर्यो। र गएको ३०।४० वर्ष भित्रमा पहिलो संयुक्त राज्य अमेरिका पछि चीन विश्वको दोस्रो ठूल अर्थ व्यवस्था हुन पुग्यो। जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स जस्ता विश्व महा आर्थिक महाशक्तिहरूलाई उछिनेर चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुन पुगेको छ। सन् २०२१ को तथ्यांक अनुसार जापान, जर्मनी, सुंक्त अधिराज्य, फ्रान्स, भारत, इटाली, ब्राजिल, क्यानाडा क्रमश: विश्व तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौ, आठौ, नवौं र दसौ ठूला अर्थतन्त्रहरू हुन। चीनको कुल गार्यहस्थ उत्पादन विश्वको एक नम्बर आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिकाको हाराहारीमा पुग्न थालेको छ। अमेरिकाको कूल गार्यहस्थ उत्पादन २०. ४९ ट्रिलियन डलर छ भने चीनको १३. ४ ट्रिलियन डलर छ। चीनले कसरी चमत्कारी किसिमले आर्थिक प्रगति गर्यो? चीनको अर्थतन्त्रलाई के कस्ता कुराहरूले प्रगतिको सर्वाधिक उच्च शिषरमा पुर्याए। आउनु होस ती तत्वहरूको खोजि र चर्चा गरौ जुन तत्वहरूले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र तुल्याए।

हुन त अर्थशास्त्री एवं विज्ञहरू चीनमा चमत्कारी किसिमले आर्थिक प्रगति हुनुको कारण नेता देङ्ग सियायोपिंगको उदयलाई मान्दछन। देङ्गले सर्वप्रथम चीनको राजनीतिमा आफूलाई सर्वाधिक शक्तिसाली तुल्याए। त्यस पछि उनले माओ त्सेतुंगले चीनको अर्थतन्त्रलाई टाउको तल र खुट्टा माथि गरेको स्थितिमा सुधार गरेर खुट्टा तल टाउको माथि पारे। देङ्गले चीनको अर्थ व्यवस्थालाई ठिक स्थानमा ल्याए। देङ्गले चीनमा अनेक किसिमका आर्थिक सुधारहरू गरे। बन्द अर्थ व्यवस्थमा रहेको चीनिया अर्थतन्त्रलाई उनले खुला बजार वा बजार अर्थ व्यवस्थमा लगे। र सवार्धिक महत्वपूर्क कार्य देङ्गले चीनको अर्थ व्यवस्थालाई विश्व अर्थ व्यवस्थासंग जोडे। देङ्गो उदार आर्थिक नीतिले गर्दा चीनका सामानहरू अहिले विश्व अनेक मुलुकहरुमा पाउन सकिन्छ त्यो पनि अति सस्तो मूल्यमा।

चीनको आर्थिक प्रगति चमत्कारी किसिमले हुनका लागि अनेक तत्वहरूले पनि काम गरेका छन तर ती चर्चामा छैन। ती तत्वहरूले चीनलाई तिब्र गतिमा आर्थिक प्रगति गर्न सहयोग पुर्याए। जसरी गहिरो र होचो सतहले खोलालाई बग्न सहयोग पुर्याउँछ त्यसै गरी चीनमा देखिएका ती तत्वहरुले चीनको आर्थिक प्रगति तिब्र गतिमा हुन सहयोग पुर्याए। अर्थात देङ्गका उदार अर्थनीतिका सुत्रहरुलाई कार्यान्वयन हुन ती तत्वहरुले भरपृर सहयोग गरे। ती तत्वहरूको भरपूर सहयोग नभएको भए देङ्गको उदार आर्थिक नीतिले काम गर्न कठिन हुन्थ्यो र चीनले अहिलेझै तिब्र गतिमा आर्थिक प्रगति गर्ने थिएन। आर्थात कुनै पनि आर्थिक नीतिले, त्यो नीति जति सुकै राम्रो भएता पनि, राम्रो गरी काम गर्न देशको धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक व्यवस्था पनि अनुकूल हुन आवश्यक छ।।

चीनमा रहेका यी तत्वहरूले वा यी स्थितिहरूलाई चीनलाई तिब्र गतिमा आर्थिक प्रगति गर्न सहयोग गरेको देखिन्छ।

धार्मिक कट्टरता नहुन

पाकिस्तान, भारत, इरान, अफगानिस्तान जस्ता देशहरूमा धार्मिक कट्टरता भएझै चीनमा धार्मिक कट्टरता छैन। कम्युनिष्ट समाजमा हुर्केका चीनियाहरूमा धर्मान्धता छैन। चीनिया समाजले धर्मलाई भन्दा रोजगारी, आम्दानी, व्यापार आदिलाई महत्व दिन्छ। भारतको गुजराती समाज कारोबारी भएझै चीनको समाज पनि कारबारी हो। चीनमा धर्मको नाममा कारखाना बन्द भएको, कसैलाई कुटेर मारिएको, धर्मेल व्यापारलाई प्रभावित गरेको देखिएको छैन। जुन मुलुकमा धर्मान्धता बढी हुन्छ त्यस देशले आर्थिक प्रगति सुस्त गतिमा गर्छ, धर्ममा उदार भएको राष्ट्रको तुलनामा। भारतीय समाज धर्ममा उदार भएको भए, धर्मको नाममा अनेक हिंसा नभएको भए भारत अहिले विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने थियो। तर भारतमा धार्मिक कट्टरता पनि छ, धर्मान्धता पनि। धर्म मान्नु राम्रो हो। तर धर्मलाई जीवनशैली संग जोड्नु पर्छ, व्यापारसँग होइन र यही कार्य विश्वका धनी राष्ट्रहरूले गरेका छन्।

राजनीतिक अस्थिरता नहुनु

मुलुकमा व्याप्त रहेको राजनीतिक स्थिरताले तिब्र गतिमा आर्थिक प्रगति गर्न चीनलाई सहयोग पुर्याएको छ। हुन त त्यहाँ रहेको राजनीति प्रणाली- कम्युनिष्ट व्यवस्था, ले चीनलाई राजनीतिक रुपमा स्थिर हुन सहयोग पुर्याएको भन्ने हरू पनि छन। तर पनि चीनमा राजनीतिले उच्च बिन्दुमा स्थिरता पाएको छ। भेनेज्युएलाले आफूलाई समाजवादी भन्छ र त्यहाँ पनि एक दलीय व्यवस्था छ, तर पनि त्यो देशले राजनीतिक स्थिरता पाएको देखिंदैन। विश्वका धनी मुलुकहरूमा भन्दा पनि बढी चीनमा राजनीतिक स्थिरता छ र यो ज्यादै महत्वपूर्ण कुरा हो कुनै पनि राष्ट्र धनी हुनका लागि, त्यहाँको जनता सुखी हुनका लागि। नेपालमा यही राजनीतिक स्थिरता नभएको कारणले गर्दा मुलुकले तिब्र गतिमा त परै जाओस बान्छित गतिमा पनि आर्थिक प्रगति गर्न सकेको छैन। दक्षिण अमेरिका र अफ्रिका धेरै मुलुकहरूले राजनितक अस्थिरताको कारण आर्थिक प्रगती गर्न सकेका छैन। अफगानिस्तान, हाइटी जस्ता राष्ट्रहरूमा त राजनीतिक स्थिरता ल्याउन विदेशी सेनाहरू आउनु पर्ने स्थिति हामीले देखेकै कुरा हो।

केन्द्रीय राजनीति कमजोर नहुन

चीनको केन्द्रीय (शक्ति) राजनीति विश्वमा नै सर्वाधिक बलियो छ। केन्द्रिय राजनीति यति बलियो कम्युनिष्ट व्यवस्थाले गर्दा भएको हो र कम्युनिष्ट व्यवस्था आफैमा असल व्यवस्था होइन भन्ने हरू पनि लाखौमा छन। तर जे जस्तो भएता पनि, आर्थिक विकासको दृष्टिकोणले हेर्दा, चीनको केन्द्रीय राजनीति बलियो हुनुले चीनलाई आर्थिक प्रगति तिब्र गतिमा गर्न अति नै सहयोग पुर्याएको छ। चीनको केन्द्रीय शक्ति वा राजनीति यतिसम्म बलियो छ कि देश भित्र हुने कुनै पनि किसिमको राजनीतिक, सामाजिक, धार्मिक बिद्रोहलाई चीनले सजिले साम्य पार्न सक्छ। आफ्नो देश भित्र हुने कुनै पनि किसिमको जनअसन्तोष दबाउन चीनले विदेश सेना वा सरकारको सहयोग लिनु पर्दैन। चीनको केन्द्रीय राजनीति बलियो मात्र होइन स्वतन्त्र पनि छ, उत्तर कोरिया जस्तो कमजोर छैन। नेपाल जस्तो कमजोर छैन। नेपालका नेताहरूले मुलुकको केन्द्रिय राजनीतिलाई आफ्नो स्वार्थपूर्तिको कारणले गर्दा बलियो हुन दिएका छैन। राजनीतिक दलहरू विपरित दिशातिर मुख फर्काएर बसेका छन। एउटै राजनीतिक दल दस चोटी फुटेको छ, दस चोटी जुटेको छ। उदाहरणको रुपमा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) को गठनलालई हेर्दा हुन्छ। नेपालका राजनीतिक दलहरुले आफ्नो निरन्तरको कलहले गर्दा नेपालको केन्द्रिय राजनीतिलाई अति नै कमजोर तुल्याएका छन। केन्द्रीय राजनीति कमजोरा भएको कारणले गर्दा नेपालको राजनीतिलाई अनेक विदेशी सरकार र शक्तिहरूले नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न पाएका छन्।

फितालो इच्छा शक्ति नहनु

आर्थिक विकासका लागि आवश्यक पर्ने दृढ र बलियो इच्छा शक्ति चीनियाहरू आवश्यकता भन्दा अधिक रहेको पाइन्छ। बढी भन्दा बढी आर्थिक प्रगति गरेर, धेरै पैसा कमाएर सुविधयुक्त जीवन बिताउनु पर्छ भन्ने भावना चीनियाहरूमा उच्च रहेको पाइन्छ। कसैगरी पनि पैसा कमाउनु पर्छ भन्ने भाव चीनियाहरूमा उच्च रहेकोले धर्म र राजनीति सर्वसाधारणको जीवन अहम् बन्न सकेको छैन। धर्म र राजनीतिले चीनियाहरूलाई पिरोलेको छैन, सिरिया, यमन, भारत, पाकिस्तान,इरान आदिलाई पिरोले जस्तो छ। खाउँ, पिउँ, मौज गरौ भन्ने भावले चीनियाहरू हर घडी आम्दानीले डोर्याएको हुन्छ, उत्प्ररित गरेको हुन्छ। राम्रो आम्दानी भएको कारणले अहिले मध्य वर्गिय चीनियाहरू पनि विश्वको अनेक मुलुकहरूमा घुम्न हिंड्न थालेका छन, पैसा खर्च गर्न थालेका छन्। परम्परागतरूपमा भने चीनियाहरू पैसा खर्च गर्नमा उदार होइनन।

कुनै पनि मुलुकले तिब्र गतिमा आर्थिक प्रगति गर्न त्यस देशाका बासिन्दाहरूमा आर्थिक विकासप्रतिको इच्छा शक्ति बलियो हुनु पर्छ। आर्थिक प्रगति प्रतिको इच्छा शक्ति बलियो भएमा मात्र राष्ट्रले आर्थिक विकास गर्छ। यो कुराको पुष्टि चीनको अर्थिक विकासले गरेको छ।

कम जनसंख्या नहुनु

हुन त भोलिका दिनमा के होला भन्न सकिने स्थिति छैन। चीनले अझै आर्थिक प्रगति गरेर, श्रमिकहरुको ज्याला पनि बृद्धि गर्नु पर्ने स्थिति भएर, चीनमा उत्पादन लागत बढ्ने स्थिति आउन सक्छ। त्यो स्थितिले चीनिया समानहरु महँगो हुन सक्छ। चीनका उत्पादनहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन सक्छ। तर अहिलेको लागि भने अधिक जनसंख्या हुनुको फाइदा चीनले उठाएको छ। धेरै जनसंख्या भएको कारणले, कम ज्याला भुक्तान गर्दा श्रमिकहरू उपलब्ध हुन सकेको स्थितिले उत्पादन लागत कम पर्न गएको छ।  चीने सस्तोमा सामान उत्पादन गरेर विश्वका अनके बजारहरूमा सस्तोमा बिक्री गर्न सक्ने औसर पाएको छ। त्यसकारण अहिले मुलुकमा रहेको ठूलो जनसंख्याले चीनलाई विश्वको दोस्रो आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ। ठूलो जनसंख्या भएको कारणले गर्दा नै चीनले सस्तोमा वस्तुहरू उत्पादन गर्न सकेको हो। अनि ती सामानहरु विश्व-बजारमा बिक्री गर्न सकेको हो।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 20, 2021

https://eprateekdaily.com/2021/08/19/20035/

Friday, August 13, 2021

Is Modern Civilization heading back to Ancient Age? -Article-340

 के मानव सभ्यता आर्थिक स्वावलम्बनको युगमा फर्किएला?

अहिले हामी अति आधुनिक युगमा बाँचिरहेका छौ। यो अति आधुनिक युगमा हामीले हरेक क्षेत्रमा अति विकास गरेका छौ। यातायातको क्षेत्रमा यति विकास गरेका छौ कि एक या दुई दिनमा विश्वको एउटा कुनाबाट अर्को कुनासम्म  सजिलै पुग्न सक्छौ। हामी धरतीको यो कुनाबाट त्यो कुनासम्म पुग्न सक्ने स्थितिमा त छौ नै, आकासमा पनि पुग्न सक्ने स्थितिमा छौ। चन्द्रमामा त पुगिनै सकेका छौ, अब मंगलग्रहमा पुग्ने प्रयासमा छौ। हुन त वायुयान (Rocket) मंगलग्रहमा पुगिनै सकेको छ। त्यहाँ केवल अब मनुष्यको पदार्पण हुन बाँकि छ।

आकासमाथि मानिस कसरी र कति परसम्म पुग्न सक्छ भन्ने कुराको उदहारण विश्वविख्यात अमेरिकी कम्पनी अमेजनका मालिक एक कार्यकारी अधिकृत जेफ बेजोजले आफ्नै खर्चमा निर्माण गरेको ‘न्यु सेपार्ड रकेट’ (New Shepard Rocket)  मा सबार भएर ११ मिनटसम्म अन्तरिक्षको भ्रमण गरेर देखाइ दिएका छन्। संसारकै सर्धाधिक धनी जेफले उक्त रकेटको निर्माण आफ्नै खर्चमा गरेका थिए। र उक्त रकेटको उडान खर्च पनि स्वयं जेफले नै बेहोरेका थिए। जेफ सहित अन्य तिन जना सबार उक्त रकेटलाई ‘ब्लु ओरिजिन’ ले जुलाई २०, २०२१ मा अमेरिकाको टेक्सास राज्यको एक स्थानबाट उडाएको थियो। त्यो रकेटले अन्तिरक्षमा केवल ११ मिनेटको यात्रा गरेको थियो तर पर्यटन व्यवसाय अन्तरिक्षसम्म पुग्न सक्ने सम्भावनाको ढोका खोलिदिएको थियो। एउटा चमात्कारी एवं नौलो व्यापारको सृजना गरेको थियो।

यो अति आधुनिक युगमा हामी मोबाइ फोनमा संसार देख्न सक्छौ। हाते घडीबाट कुरा गर्न सक्छौ। हाते घडीबाट आफ्नो स्थास्थ्य सम्बन्धी धेरै कुरा जान्न सक्छौ। धनी देशका नागरिकहरूसङ्ग सवारीका लागि कारको अभाव छैन। केही देशका धनी नागरिकहरूसँग प्रति व्यक्ति दुई वा तिन कार छन्। घर भित्र प्राप्त हुने जुन सुविधाहरू छन ती सुविधाहरू कुनै एक गाडीमा प्राप्त हुने सुविधायुक्त गाडी (recreational vehicle) हरूको संख्या पनि यो विश्वमा करोडौंमा छ। संक्षेपमा भन्ने हो भने यो अति आधुनिक युगले हामीलाई अनेक चमत्कारी कुराहरू दिएको छ। अति आधुनिक युगले दिएका चमत्कारी कुराहरूले हाम्रो जीवन ज्यादै सरल पारिदिएको छ। भौगोलिक रुपमा ज्यादै टाढा रहेको कसैसँग सम्वाद गर्न, हालखबर बुझ्न अब चिठ्ठी लेख्नु पर्दैन। फोन वा सामाजिक सञ्जाल प्रयोग गरेर जति पर रहेको व्यक्तिसङ्ग हामी चाहेको बेला, तत क्षण नै कुरा गर्न सक्छौ, त्यो पनि तस्विर सहित। घरको बत्ति बाल्नु वा निभाउनु पर्यो, रेडियो खोल्नु वा बन्द गर्नु पर्यो, आफूले उठेर त्यो कार्य गर्नु पर्दैन। एक खास यन्त्रलाई भनेपछि उक्त कार्य त्यो यन्त्र (जस्तै अलेक्सा) ले गर्छ। मानिसले गर्ने धेरै कार्य आजभोलि यन्त्रहरूले गरि रहेका छन्।

यो आलेखमा यो अति आधुनिक युग जनित, यो अति वैष्य युग जनित सुविधाहरूको चर्चा गर्न खोजिएको भने होइन। यो अति वैष्य युगले हाम्रो जीवन यापनलाई कति सम्म सरल पारिदएको छ त्यस बारे चिन्तन गर्न खोजिएको पनि होइन। बरु यो अति आधुनिक युगलाई, यो अति वैष्य युगलाई के हामीले धान्न सक्छौ भन्ने बारे चर्चा गर्न खोजिएको हो। यो आधुनिक युग हाम्रो लागि जति सुविधायुक्त देखिएको छ त्येतिनै कष्टकर पनि देखिएको छ। यो आधुनिक युगमा बाँच्न हामीले धेरै कुराहरू गुमाउनु पर्ने स्थिति उत्पन्न भएको छ। यो आधुनिक युग हाम्रो लागि अति नै कठिन हुँदै गएको छ। यो आधुनिक युगको उपज कोरोना सङ्क्रमणले हाम्रो जीवनलाई कति सीमित पारिदिएको छ त्यो हामीले देखे भोगेको कुरा हो। कोरोनाले गर्दा हाम्रो जीवनशैलीमा नै परिवर्तन आएको छ। मास्क लगाउँदा हाम्रो अनुहारको रुप बदलिएको छ। मास्कले गर्दा एकले अर्कालाई सजिलै चिन्न सक्ने स्थिति छैन। हामी स्वतन्त्र भएर हिंड्न सकेका छैनो। हाम्रा गतिविधिहरू सीमित हुँदै गाएका छन। हामी सीमित भएर घरभित्र बस्न बाध्य भएका छौ।

यदि पहिले जस्तो यातायातको अति विकास नभएको भए, ठूला ठूला शहरहरूमा र एउटै शहरमा करौडौ व्यकतिहरूको बसोबास नभइ दिएको भए, छोटो समया हजरौ माइलको यात्रा पूरा गर्न सकिने स्थिति नभएको भए कोरोना सङ्क्रमण यसरी छोटो समयमा तिब्र गतिमा संसार भरि नै फैलिने थिएन। अहिलेको अति विकासले कोराना सङ्क्रमण तिब्र गतिमा एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिरहेको छ। भनिन्छ कोराना भइरस आधुनिक युगको उपज हो। यसको जन्म कुनै प्रयोगशालामा भएको हो। हुन त यस कुराको पुष्टि हुन बाँकि छ तर करोना कुनै प्रयोगशालाबाट जन्मेको हो भन्ने कुरामाथि विश्वास गर्नेहरूको संख्या ठूलो छ।

अब त हामी अति आधुनिक युगको कुअसरबाट जोगिन पुन: आर्थिक स्वावलम्बनको युगमा फर्किन्छौ कि भन्ने प्रश्न उठ्न थालेको छ।

के मानव सभ्यता पुन: आर्थिक स्वावलम्बनको युगमा फर्किने हो? यो प्रश्नले धेरै व्यक्तिहरूको मष्तिष्कमा आजभोलि चक्कर काट्न थालेको छ।

माथिको प्रश्नको उत्तर खोज्नु पहिले आर्थिक स्वावलम्बन भनेको के हो र यो कहिले प्रचलित थियो त्यसबारे चर्चा गरौ।   

प्रत्येक परिवार वा गाउँले आफूलाई उपभोगका लागि आवश्यक पर्ने वस्तुहरू आफैले उत्पादन गर्ने र अन्य गाउँहरू प्रति हुने निर्भरता कम पार्ने प्रणालीलाई आर्थिक स्वावलम्बन भन्ने गरिन्छ। जंगली-जीवन समाप्त गरे पछि मानव सभ्यता लामो कालसम्म आर्थिक स्वावलम्बनको युगमा बाँचेको थियो। यो युगमा मानव सभ्यता अहिले जस्तो जोखिममा थिएन। एक किसिमले अति सुरक्षित थियो। आवागमन ज्यादै कम भएकोले ठूला ठूला रोगहरू छोटो समयमा फैलिने स्थिति थिएन। साथै विज्ञानको अति विकास नभएकोले डरलाग्दा शूक्ष्म जिवाणुहरु उत्पादन गर्न सकिने ज्ञान पनि थिएन। ज्यादै ज्ञान नभएकोले मानव सभ्यता सुरक्षित पनि थियो। शान्त पनि थियो। अहिलेको जस्तो मानव सभ्यता विनास गर्ने जैविक हतियार उत्पादन गर्ने प्रयोगशालाहरू पनि त्यस बेला थिएन।

आर्थिक स्वावलम्बनको युग अति सुरक्षित भएकोले मानव सभ्यता पुन: त्यस युगमा फर्किने हो कि भन्ने चर्चा वर्तमान स्थितिमा चल्नु असान्दर्भिक पनि होइन। हुन त कोरोना संकटले हामीलाई एक किसिमले हजरौ वर्ष पूर्वको आर्थिक स्वावलम्बनको युगमा पुर्याइ दिएको छ। हवाइ उडानहरू रद्द गर्नु पर्ने स्थिति, ठूला शहरका बसाइ जोखिम युक्त, भीडबाट पन्छिनु पर्ने स्थिति आदि आधुनिक युगको उपज कोरोनाको देन हो। यी सबै कुराहरू हेर्दा, कोरोना सङ्क्रमणले हामीलाई आर्थिक स्वावलम्बनको युगमा पुर्याइ दिएको स्थिति छ। छैन त?

हामीले अति आधुनिक युगलाई धान्न सकिरहेका छैनौ। अति आधुनिक युगले हामीलाई सरलता त दिएको छ तर त्यो सरलता हामीले हाम्रो जीवनलाई अति जोखिममा पारेर प्राप्त गरेका छौ।

कृषि युगलाई औधोगिक युगले नराम्रो गरि थिचेको छ। मानिसहरू कृषितिर आकर्षित हुन छाडेका छैन। कृषिमा पनि उद्योग र विज्ञानको प्रवेश भएर बालीहरुमा प्राण घातक विषहरु प्रयोग हुने प्रचलन बढेर गएको छ। हामीले उपभोग गर्ने अन्न, फलफूल, माछ, मासु, साग, तरकारी आदि सबै विषयुक्त छन। हामीले विषयुक्त खानेकुराहरू खाएको हुनाले नै हामी अहिले अनेक रोगका शिकार हुन पुगेका छौ। हरेक राष्ट्रले प्रत्येक वर्ष ठूलो धनरासी जन स्वास्थ्यमा खर्च गर्नु पर्ने स्थिति छ। अधिक पैसा खर्च गरेर यदि ठूलो परिमाणमा औषधीको प्रयोग नगर्ने हो भने प्रत्येक वर्ष प्रत्येक राष्ट्रमा अनेक रोगहरू लागेर लाखौ व्यक्तिहरू मर्नु पर्ने स्थिति आउन सक्छ।

यो आधुनिक युगले हाम्रो जीवनलाई ज्यादै जोखिमपूर्ण पार्दै लगेको छ। हाम्रो जीवनलाई सरल पार्न जति नया नया सुविधाहरू हामी थप्दै जान्छौ सोही मात्रामा हाम्रो जीवन उच्च जोखिमतिर अग्रसर हुँदै जान्छ। आज नेपालका वा यस्तै विकासशील राष्ट्रका गाउँ गाउँमा इन्टरनेट पुगेको छ। तर अर्कोतिर कोरोना सङ्क्रमणले गर्दा मानिसहरु एउटा सानो घेरा भित्र बस्न बाध्य भएका छन। भर्चुअल मिटिंग (जुम वा सामाजिक सञ्जालबाट) बढेर गएको छ तर प्रत्यक्ष मानव सम्पर्क घटेर गएको छ। अहिले मान्छेहरू अति सुविधाहरू उपयोग गरेर बाँचेका छन तर हरपल भयभीत छन। कुन बेला कसलाई कोरोना भाइरसले माथि (मृत्यु लोकमा) पुर्याउने हो अनुमानसम्म गर्न सकिने स्थिति छैन।

अहिले फैलिएको यो डरलाग्दो कोरोना भाइरस सन् २०२४ सम्ममा नियन्त्रणमा आउने भविष्यवाणी विज्ञहरूले गरिरहेका छन। त्यस्तो होला पनि। कोरोना संकट समाधान होला। सदाका लागि कोरोना नियन्त्रित भएर बस्ला, प्लेगका किटाणुहरू नियन्त्रित भएर बसेझै। तर अर्को कोरोना जस्तै डर लाग्दो भाइरस अब आउने छैन भनी कसैले ठोकुआ गर्न सक्छ? डर लाग्दा भारसहरू आउने क्रम जारि नै रहने छ। पर्यावरण विनास, उच्च मात्रमा कार्वन विसर्जन, निरन्तर डरलाग्दा जैविक हतियारहरूको उत्पादनले वा अति आधुनिकताले, यो मानव सभ्यतालाई झन झन जोखिमतिर लग्ने छ। यो कुरा पक्का छ। यो कुनै कलपना होइन।

आधुनिक युगका अति जोखिमहरूबाट जोगिन मानव सभ्यता पुन: आर्थिक स्वावलम्बनको युगतिर फर्किने कुरा अहिलेको लागि कोरा कल्पना जस्तो देखिएता पनि भोलिका दिनमा यसको आवश्यता झनै बढेर जानेछ। मान्छेहरू अब अति सुविधाभोगी यो वैष्य युगबाट थाकेको प्रतीत हुन थालेको छ। मुद्राको विकासले त यो मानव सभ्यतालाई झनै कष्टकर तुल्याइ दिएको छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, August 13, 2021

https://eprateekdaily.com/2021/08/12/19583/

Friday, August 6, 2021

People and Leaders: Two Important Elements of Economic Development-Article-339

 र्थिक विकासका दुई महत्वपूर्ण कारक तत्व

जनता र शासक कुनै पनि राष्ट्रको आर्थिक विकासका दुई सर्वाधिक महŒवपूर्ण कारक पक्ष हो। गरीब वा धनी, कुनै पनि देशको आर्थिक विकासमा यी दुई पक्षको ठूलो योगदान रहेको हुन्छ। जनता शिक्षित छ, उदार छ, विकासको लागि स्वयं अग्रसर छ भने विकासको कार्य सहज हुन पुग्छ। तर यसविपरीत यदि जनता अशिक्षित छ, अनुदार छ, विकासको लागि आफू होइन, सरकार वा अर्को पक्षलाई जिम्मेवार देख्छ, शान्ति होइन सङ्घर्षमा विश्वास गर्छ भने त्यस्तो स्थितिमा विकास कार्य कठिन हुन पुग्छ।

यस तथ्यको उदाहरणको रूपमा अफगानिस्तान, नाइजेरिया, सुडान, इथियोपिया, लिबिया, यमन, लेबनान, नेपालजस्ता राष्ट्रहरूलाई लिन सकिन्छ। अफगानिस्तान वर्षौदेखि अशान्त छ। अफगानिस्तानमा कहिले शान्ति आउन सकेको छैन। अफगानीहरू युद्ध विभीषिकामा बाँचेको तीसौं–चालीसौं वर्ष भइसक्यो। हालमा अमेरिकाले आफ्नो सेनाले अफगानिस्तान छाड्ने घोषणा गरेदेखि तालिबानी विद्रोहीहरूले अफगानिस्तान सरकारमाथि हमला अति तीव्र पारेका छन्। आफ्नै देशवासीलाई मार्न तालिबानी लडाकूहरू अहिले मस्त र व्यस्त छन्। तालिबानी लडाकू हुन् वा अन्य विद्रोही अफगानी नेता, यिनीहरूले शान्तिपूर्वक बस्न चाहने सोझा अफगानलाई कहिले शान्तिपूर्वक बस्न दिएका छैनन्।

अफगानिस्तानका विद्रोही नेताहरूले कहिले रूससँग त कहिले अमेरिकासँग मिलेर शान्तिप्रेमी जनतालाई दुःख दिने काम बन्द गरेका छैनन्। घतलाग्दो तथ्य त के हो भने अफगानिस्तानका विद्रोही नेताहरूलाई अफगानी जनताले नै जन्माएको हो। अफगानी नेताहरू कुनै अर्को देशबाट आएका होइनन्। अफगानी माटो (जनता) का उपज हुन्। अफगानिस्तान आफ्नो जनता (धर्मान्ध) र नेताहरूबाट आर्थिक रूपमा बर्बाद हुन पुगेको छ।

यमनको हालत पनि यस्तै छ। यमनले अहिले अरूको लगि युद्ध (proxy war) लड्दै छ। युद्धमा यमनीहरू संलग्न भए तापनि उनीहरूले युद्ध भने इरान र साउदी अरबियाका लागि लडिरहेका छन्। अफ्रिका तथा अरब जगत्मा आफ्नो शक्ति देखाउन इरान तथा साउदी अरेबियाले यमन र यसका नागरिक प्रयोग गरिरहेका छन्। पाँच वर्षदेखि जारी यमनको गृहयुद्धमा १ लाखभन्दा बढी यमनीको ज्यान गइसकेको छ।

विज्ञहरूले यमन–सङ्कटको समाधान समयमैं नखोज्ने हो भने लाखौ यमनी भोखमरीको शिकार हुने चेतावनी दिएका छन्। यदि यमनीहरू हामीले यो युद्ध इरान र साउदी अरेबियाको लागि लडेको हो, आप्mनो लगि होइन, हाम्रो विकास, शान्तिपूर्वक बस्नु छ, युद्ध गर्नुमा छैन भन्ने तथ्य बुझिदिए यमन आर्थिक विकासको पथमा दौडिने थियो। यमन साधन र स्रोतले भरिएको देश हो। तर आम यमनीहरूको चेतनाको स्तरले शान्तिको महŒव बुझ्न सकिरहेको छैन। उल्टो युद्धमा संलग्न हुनुलाई महत्व दिइरहेको छ। अनि कसरी हुन्छ, यमनको आर्थिक विकास? 

अर्कोतिर युरोपको जनता सुशिक्षित छ, उदार छ, विकासको संवाहक सरकार होइन, आपूmलाई ठान्छ। यो कारणले गर्दा युरोपको उल्लेखनीय आर्थिक विकास भएको छ। फ्रान्स, इटाली, जर्मनी, ग्रेट ब्रिटेन आदिले ‘प्रोक्सी’ युद्ध लडेको सुनिएको छैन । युरोपेलीहरूको चेतनाको स्तर धेरै माथि भएको हुनाले नै युरोपमा दीर्घकालीन शान्ति छ। यसविपरीत एशिया र अफ्रिकाका बासिन्दाको चेतनाको स्तर तुलनात्मकरूपमा कमजोर भएको हुनाले यी क्षेत्रमा युद्ध जीवनको एउटा आवश्यक पक्ष हुन पुगेको छ। युद्धप्रिय भएको हुनाले नै हामी नेपालीहरू पनि दश वर्ष युद्ध गरेर खुब रमायौं। हामी नेपालीलाई पनि युद्ध र सङ्घर्ष मन पर्छ। हरेक समस्याको समाधान त्यसकारण, हामी युद्ध, द्वन्द्व, सङ्घर्ष र कलहमा देख्छौं।

शासक वा नेताहरूले पनि देशलाई आर्थिकरूपमा बर्बाद पार्न सक्छन्। यस तथ्यको उदाहरणको रूपमा उत्तर कोरिया, भेनेजुएला, बर्मा, क्युबाजस्ता देशको आर्थिक अवस्थालाई लिन सकिन्छ। उत्तर कोरियाका शासक किम जोङ–उनले आफ्नो तानाशाही चलाएर उत्तर कोरियालाई आर्थिकरूपमा बर्बाद नै पारेका छन्।

एउटै समयमा विभाजित दुई कोरियाहरू– दक्षिण कोरियाले कति आर्थिक प्रगति गरेको छ र उत्तर कोरियाले कति आर्थिक प्रगति गरेको छ, हाम्रो अगाडि प्रस्ट छ। केवल आफू सत्तामा रहनका लागि उनले उत्तर कोरियालाई बर्बाद नै पारेका छन्। तर उनभन्दा पनि बर्बाद पार्नमा ठूलो हात भने उनको आसेपासे (parasite) हरूको छ। यी आसेपासेहरूले आफ्नो लाभ (शक्ति र पैसा) को लागि उनजस्ता सनकी तानाशाहलाई उत्तर कोरियाको सदाकालीन शासक बनाएका छन्।

बर्माको स्थिति पनि यस्तै छ। बर्माका सैनिक शासकहरूले सत्तामा रहिरहन बर्मालाई आर्थिकरूपमा बर्बाद पारेका छन्। हालै सैनिक विद्रोह गरेर सत्ता आफ्नो हातमा लिएका बर्माका सेना प्रमुख मिन आङ हलाङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका छन्। चीनको सहयोग पाएर सत्ताको सुख भोगिरहेका बर्माको सेनाले देशको आर्थिक स्थितिलाई अति कमजोर पारेको छ । अहिले धेरै बर्मेलीहरूको ज्यान कोरोनाको भ्याक्सिन समयमा नपाएर गइरहेको छ। कुनै बेला जापानको हाराहरीमा बर्माको आर्थिक अवस्था रहने गर्दथ्यो। भारत, नेपाल लगायत एशियाका अन्य मुलुकहरूबाट मानिस रोजगारका लागि बर्मा जान्थे । दक्षिण एशिया आउने क्रममा बर्माको आर्थिक वैभव देखेर अङ्ग्रेजहरू पहिले बर्मा झरेका थिए। त्यसपछि मात्र भारततिर लागेका थिए।

एशियाको अति समृद्ध मुलुक बर्मालाई त्यहाँका स्वार्थी शासकहरूले अति गरीब तुल्याएका छन्। बन्दूकको भरमा शासकहरूले, केवल आफूहरू सत्तामा रहन, आफ्नो देशलाई कतिसम्म दरिद्र पार्न सक्छन् भन्ने तथ्यको उदाहरणको रूपमा उत्तर कोरिया, बर्मा, जिम्बाब्वेजस्ता राष्ट्रहरूलाई लिन सकिन्छ। करीब ४० वर्षसम्म सत्तामा रहिरहन जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबीले जिम्बाब्वेलाई कङ्गाल नै पारेर गए। तानाशाहहरूले बन्दूकको भरमा शासन गरेर देशलाई आर्थिकरूपमा बर्बाद पारेको धेरै उदाहरण छ। 

देशलाई आर्थिक प्रगति गर्न नदिने दुई पक्ष– जनता र शासक दुवैको पहिचान र चर्चा हुनैपर्छ। यी दुई पक्ष असल छैन भने स्रोत र साधन पर्याप्त भए तापनि मुलुकले आर्थिक प्रगति गर्न गार्हो हुन्छ। आर्थिक प्रगतिका लागि जनताको भूमिका पनि महत्वपूर्ण हुन्छ। कुनै पनि देशको सरकार केवल एक माध्यम मात्र हो वास्तविक विकास जनताले नै गर्ने हो। यो तथ्य बोध गरेको हुनाले नै युरोपेलीहरूले चमत्कारी किसिमले विकास गरेका हुन्। हामी एशियाली र अफ्रिकीहरूले यो तथ्य बोध नगरेको र गर्न पनि नचाहेकोले हामीले आर्थिक प्रगति गर्न नसकेको हो।

नेपालीहरूले सुशासन र आर्थिक प्रगति देख्न नपाउनुमा दोष हामी जनताको पनि छ। हामी नेपाली विकासको लागि आफूलाई जिम्मेवार मान्दैनौं। विकासको लागि जिम्मेवार केवल सरकारलाई ठान्छौं। हामी कलह, द्वन्द्व, सङ्घर्ष, युद्धमा बढी विश्वास गर्छौं। शान्तिपूर्ण तरीकाले कुनै पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन। हामीले विकाससम्बन्धी अनेक भ्रम पालेका छौं।

गरीबीबाट मुक्ति पाउने तरीकाप्रति हामीमा धेरै भ्रम छ। त्यसमध्ये एउटा भ्रम, नेपालमा कम्युनिस्टहरूबाट देशको आर्थिक विकास हुन्छ, गरीबी निवारण हुन्छ, मुलुकमा सम्पन्नता आउँछ भन्ने पनि हो। नेपालका बहुसङ्ख्यक कम्युनिस्ट नेताहरूले नेपालीको गरीबीलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाएका छन्। गरीबहरूको मनोविज्ञानको गलत प्रयोग गरेर सत्तामा पुगेका छन्।

हामी तथाकथित नेपाली कम्युनिस्टहरूलाई गरीबहरूको मुक्तिदाता एवं कल्याणकर्ता मान्छौं। कम्युनिस्ट नेताहरूबाट देशको आर्थिक विकास हुन्छ भन्ने बलियो विश्वास राख्छौं। चुनावमा उनीहरूलाई मत दिएर विजयी बनाउँछौ। उनीहरूले गर्ने आन्दोलन एवं सङ्घर्षमा उनीहरूलाई साथ दिने मात्र होइन, उनीहरूको लागि ज्यान पनि दिन्छौं।

तर अधिकांश कम्युनिस्ट नेताहरू स्वार्थी एवं आत्मकेन्द्रित भएको तथ्य हामी बिर्सन्छौं। नेपालको राजनीतिलाई वर्षौंदेखि कम्युनिस्टहरूले नै बढी अस्थिर पारेको तथ्यपट्टि ध्यान दिंदैनौं। असल नेता निर्वाचित गर्दैनौं अनि प्रत्येक वर्ष तिनै स्वार्थी एव पदलोलुप नेताहरूलाई देशको नेतृत्व गर्न रोज्छौं।

कुनै पनि देशको आर्थिक विकासका लागि दुई महŒवपूर्ण पक्ष– जनता र शासक (नेता) हरूको चेतनाको स्तर माथि उठ्न आवश्यक छ। यी दुवै पक्षमा विकासको भोक जाग्न आवश्यक छ। धनी एवं विकसित राष्ट्रहरूको आर्थिक विकासको इतिहासले यही कुरा भन्छ। यस सत्यलाई हामीले हृदयङ्गम नगरेसम्म आर्थिक विकास हाम्रो लागि ‘आकाशको फल आँखा तरी मर’ मात्र हुन्छ। हाम्रो लागि मात्र होइन, अन्य राष्ट्रका लागि पनि यही हुन्छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकामा प्रकाशित: Friday, August 6, 2021

https://eprateekdaily.com/2021/08/05/%e0%a4%97%e0%a5%83%e0%a4%b9%e0%a4%aa%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a0/19076/ 

Monday, August 2, 2021

Role and Importance of Expenditure-Based Economy-Article- 338

 अर्थ व्यवस्थामा खर्च गर्ने प्रवृत्तिको किन ठूलो महत्व छ?

हाम्रो पूर्वीय सभ्यता एवं संस्कृतिले हामीलाई बाल्यकालदेखि नै बचत गर्न सिकाउँछ। यस कारणले गर्दा हामी दक्षिण एशियाली बचत गर्न जोड दिन्छौं। बचतलाई भोलिको बलियो र भरपर्दो सुरक्षाको माध्यमको रूपमा हेर्छौं। राम्रो आम्दानी हुने स्थितिमा रहेकाहरूले पनि खर्च गर्दनौं, उल्टो विभिन्न किसिमका आवश्यकता मिचेर राख्छौं। अर्थात् हामीसँग पैसा भएर पनि खर्च गर्दैनौं। बचत गर्नमा जोड दिन्छौं । तर बचत गर्नु सबल अर्थतन्त्रका लागि फाइदाजनक होइन।

जसरी सवारीका साधनहरूलाई गति दिन इन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, त्यसैगरी राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खर्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। अर्थात् खर्चले गर्दा नै राष्ट्रिय अर्थतन्त्र गतिशील हुन्छ। कसैले खर्च गरेपछि मात्र वस्तु वा सेवा बिक्री हुने स्थिति सृजना हुन्छ। वस्तु वा सेवा बिक्री भए मात्र ती कुराका उत्पाकहरूले वस्तु वा सेवा उत्पादन गर्छन्।

उत्पादकहरूले उत्पादन गरे मात्र रोजगार सृजना हुन्छ। रोजगार सृजना भए मात्र अनेक व्यक्तिले रोजगार पाउँछन्। उनीहरूको हातमा खर्च गर्नका लागि कोष (आम्दानी) हुन्छ। र उनीहरूले खर्च गरेमा बजारमा वस्तु वा सेवा बिक्री हुने स्थिति सृजना हुन्छ। वस्तुहरू बिक्री भएमा तिनको उत्पादन हुन्छ। यसरी हामीले गर्ने अनेक किसिमका खर्चहरूले अर्थतन्त्रलाई गतिशील तुल्याउने कार्य गर्दछ। खर्चले गर्दा नै अर्थतन्त्रको पाङ्ग्रा निरन्तर घुमिरहने स्थितिमा रहन्छ।

खर्चको प्रकृति दुई किसिमको हुन्छ, यसलाई दुई किसिमबाट वर्गीकरण गर्न सकिन्छ। क) उपभोग्य वस्तु वा सेवामा गरिने खर्च, ख) लगानीमा गरिने खर्च।

वस्तु वा सेवा तीन किसिमको हुन्छ– १) आवश्यक आवश्यकताका वस्तु वा सेवाहरू, २) अर्ध–विलासी वस्तु वा सेवाहरू, ३) विलासी वस्तु वा सेवाहरू।

आवश्यक आवश्यकताका वस्तु एवं सेवाहरू

खाद्य पदार्थ, शिक्षा, औषधी, स्वास्थ्य सुविधा, कपडा, आवास आदि आवश्यक आवश्यकताका वस्तु हुन्। जीवन निर्वाहका लागि यी वस्तु उपभोग गर्नु अनिवार्य हुन्छ। यी वस्तुहरूको उपभोग नगरी बाँच्न कठिन हुन्छ। खाद्य पदार्थको उपभोग गर्न नपाए त बाँच्न पनि सक्तैनौं।

दक्षिण एशियामा व्यक्ति वा परिवारले आफ्नो आम्दानीको ठूलो भाग आवश्यक आवश्यकताका वस्तु वा सेवा खरीद गर्न खर्च गर्छ। यी वस्तु वा सेवा खरीद गरेर बाँकी रहेको रकम बचत गर्छ। बाँकी रकम अर्ध–विलासी वा विलासी वस्तु वा सेवा खरीद गर्न खर्च गर्दैन। 

राम्रो आम्दानी गर्ने अधिकांश मानिसले पनि आवश्यक आवश्यकताका वस्तु खरीद गरेर बाँकी पैसा अर्ध–विलासी वस्तु वा सेवा खरीद गर्न खर्च गर्दैन। त्यो बाँकी रहेको आम्दानी वा बचत कुनै उत्पादक कार्यमा लगानी पनि गर्दैन। हामीसँग रहेको बचत कुनै उत्पादक कार्यमा खर्च गर्ने साहस, प्रवृत्ति वा परम्पराको हाम्रो समाजमा सर्वथा अभाव छ।

हामी लगानी गर्न डराउँछौं । कुनै व्यापार सञ्चालन गर्न डराउँछौं। व्यापार केवल व्यापारी (जसले खानदानीरूपमा व्यापार गर्दै आएको छ वा व्यापारी घराना) हरूले गर्ने कार्य हो भनेर पन्छिन खोज्छौं। व्यापार खास जाति (बनिया वा वणिक्, हलुवाई, कोइरी, बजाज आदि) ले गर्ने हो भनेर व्यापार सञ्चालन तर्फ आकर्षित हुँदैनौं। हाम्रो यस्तो प्रवृत्ति पनि हाम्रो क्षेत्रमा व्यापारको समुचित विकास नहुनुको प्रमुख कारण बन्न पुगेको छ। अर्थात् हामी व्यापार कुनै खास जाति वा वर्गले गर्ने हो भन्ने मान्यतामा विश्वास गर्छौं।

अर्ध विलासी वस्तु एवं सेवाहरू

फेसन अनुसारको कपडा, स्मार्ट फोन, भ्रमण–यात्रा, रेस्टुरामा भोजन, सडक–खाना, आरामदायी वस्तु (खास किसिमको जुत्ता, रङ्गीन चश्मा, विशेष किसिमको खाट आदि), रिसोर्टको बसाइ, तीर्थाटन, पार्टीको आयोजना, सिनेमा आदि अर्ध–विलासी वस्तु वा सेवा हुन्। बाँच्नका लागि यी वस्तु उपभोग गर्नु आवश्यक छैन तर यी वस्तु एवं सेवाहरूको उपभोगले हाम्रो जीवनयापन सरल हुन पुग्छ।

हाम्रो समाजमा ज्यादै धनीहरूले मात्र अर्ध–विलासी वस्तु एवं सेवाहरू खरीद गर्ने चलन छ। तर राम्रो आम्दानी वा बचत हुनेले पनि यस किसिमका वस्तु एवं सेवाहरू खरीद गर्न सक्छ, तर गर्दैन।

राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न राम्रो आम्दानी वा बचत हुन सक्ने स्थितिमा रहेकाहरूले अर्ध–विलासी वस्तु वा सेवा खरीद गर्न आवश्यक छ। धनी देशहरूमा ठूलो परिमाणमा अर्ध–विलासी वस्तु एवं सेवा उत्पादन एवं बिक्री हुन्छ।

मानिसहरू आफ्नो जन्मदिन मनाउने क्रममा एक सयको हाराहारीमा केवल जन्मदिनसँग सम्बन्धित वस्तु वा सेवा, जुन अर्ध विलासी हुन्छ, खरीद गर्छन्। अर्थात् धनी देशहरूमा केवल जन्मदिनसँग मात्र सम्बन्धित एक सयभन्दा बढी अर्ध विलासी प्रकृतिका वस्तुहरू देख्न सकिन्छ।

विलासी वस्तु एवं सेवाहरू

विलासी वस्तु एवं सेवाहरूको उपभोग ज्यादै धनाढ्य व्यक्तिहरूले गर्ने भए तापनि यी वस्तुहरू उत्पादन गर्ने कार्यमा गरीब कामदारहरू संलग्न हुने हुँदा कुनै पनि अर्थ व्यवस्थामा ठूलो परिमाणमा विलासी वस्तु एवं सेवा उत्पादन हुनु आवश्यक छ। रोजगारको स्तरमा वृद्धि गरेर धेरै व्यक्तिलाई रोजगार दिन विलासी वस्तु एवं सेवाको उत्पादन ठूलो परिमाणमा हुन आवश्यक छ। 

अति फेसन अनुसारको गहना, तारे वा महँगो होटलको वास, रुचि अनुसारको भोजन, कार, हेलिकप्टर (निजी), सुन जडित महँगो घडी, खास किसिमको अति महँगा फर्निचर, सुनचाँदी जडित वा विशेष किसिमले तयार पारिएको कपडा, ज्यादै खर्चिलो भोज वा खानपिन, विशेष सजावटसहित खास डिजाइन वा संरचना भएको घर, खर्चिलो भ्रमण आदि विलासी वस्तु एवं सेवाका उदाहरणहरू हुन्।

यस किसिमका वस्तु एवं सेवाहरूको उत्पादन एवं बिक्री हुन आवश्यक छ। तर हाम्रो समाजमा विलासी वस्तु खरीद गर्ने प्रवृत्ति र तत्परता दुवै देखिंदैन। ज्यादै धनीहरूले पनि यस किसिमका वस्तु खरीद गर्दैनन बरु आफूसँग रहेको पैसा आफूसँगै राख्छन्, अर्थात् बचत गर्छन् । ज्यादै कम मानिसले विलासी वस्तु खरीद गरेको पाइन्छ।

लगानीमा खर्च

हाम्रो समाज लगानी–मैत्री होइन। हाम्रो समाजले लगानी गर्ने (आफ्ना परिवारका सदस्य एवं साथीहरू) लाई लगानी गर्न प्रेरित गर्दैन । उल्टो अनेक किसिमको डर, त्रास, अनिश्चितता देखाएर लगानी (व्यापार सञ्चालन) गर्न दुरूत्साहित गर्छ। हाम्रो समाजमा उद्यमशीलता (entrepreneurship) को अति अभाव छ।

उद्यमशीलता भन्नाले लगानी गरेर घाटा हुन सक्छ भन्ने अनिश्चितता लिएर पनि मुनाफाका लागि जोखिम वहन गर्ने प्रवृत्ति भन्ने बुझिन्छ। हाम्रो समाजमा यो प्रवृत्तिको अभाव छ र त्यो कारणले गर्दा पनि नयाँ पीढीका युवा आफैंले नयाँ व्यापारको सृजना गर्नुको साटो विदेशतिर र खास गरी खाडीका मुलुकहरूतिर जोखिमपूर्ण स्थितिमा पनि रोजगारका लागि पुग्छन्। त्यहाँ पुगेर अनेक किसिमका दुःख–कष्ट खेप्छन्। कतिपय त बक्सामा बन्द भएर त्रिभुवन विमानस्थलमा लाश बनेर पुग्छन्। कस्तो हृदयविदारक स्थिति!

हाम्रो शिक्षा नीतिले पनि उद्यमी र उद्यमी भावनाको विकास गर्दैन। राष्ट्रिय शिक्षा एकदम परम्परागत छ। हाम्रो शिक्षालाई व्यवसायमुखी बनाउन आवश्यक छ। हाम्रो शिक्षाले उद्यमीहरू उत्पादन गर्न आवश्यक छ। हाम्रो शिक्षाले युवाहरूमा लगानी गर्ने प्रवृत्ति विकास गर्न आवश्यक छ।

राष्ट्रिय अर्थतन्त्रलाई गति दिन, राम्रो आम्दानी हुनेहरूले खर्च गर्न आवश्यक छ। विभिन्न किसिमका आवश्यक आवश्यकताका वस्तु एवं सेवाहरूलगायत अनेक अर्ध एवं विलासी वस्तु पनि खरीद गर्न आवश्यक छ। प्रायः रेस्टुरामा खाना खाने, घुमफिरका लागि रिसोर्टहरूमा जाने, जन्मदिन मनाउन फरक स्थानमा जानेजस्ता कार्यहरू गरेर हामीले खर्च बढाउनुपर्छ। खर्च बढे मात्र खरीद–बिक्री बढ्छ र खरीद–बिक्री बढेर उत्पादन बढ्छ, उत्पादन बढेर रोजगारीको स्तरमा वृद्धि हुन्छ।

यसैगरी हामीले लगानीमा पनि खर्च गर्न आवश्यक छ। नयाँनयाँ व्यापारको विकासमा हामीले लगानी गर्नुपर्छ। बचत गरेर राख्नुहुँदैन। आफूसँग रहेको बचत प्रयोग गर्नुपर्छ। लगानी गर्नुपर्छ। यस्तो गरे मात्र स्वदेशमैं अनेक रोजगार सृजना गरेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ। अनेक किसिमका सामाजिक अपराध, यौन अपराध आदि नियन्त्रण गर्न सकिन्छ।

देशवासीले खर्चको स्तरमा वृद्धि गर्न स्वदेशी उत्पादनमा पनि जोड दिन आवश्यक छ। देशवासीले खर्चमा वृद्धि गर्ने र त्यसरी गरिएको खर्च विदेश पुग्ने स्थिति राष्ट्रिय अर्थ व्यवस्थाका लागि राम्रो होइन। विदेशबाट आयातित वस्तुहरू खरीद गर्न हामीले बढी खर्च (खरीद ) गर्नुको कुनै अर्थ हुँदैन।

विदेशबाट आयातित वस्तु खरीदमा बढी खर्च गर्नुको अर्थ बालुवामा पानी हाल्नु हो। त्यसकारण खर्चमा वृद्धि गर्नु पूर्व राष्ट्रिय उत्पादन वृद्धि हुनु अनिवार्य छ। राष्ट्रिय उत्पादनमा वृद्धि, खर्च वृद्धिको पूर्व शर्त हो। यो कुरातर्फ गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ। हामीले स्वदेशमा नै अनेक किसिमका वस्तु एवं सेवा उत्पादन गरेर राष्ट्रिय उत्पादनको स्तरमा व्यापक वृद्धि गर्न आवश्यक छ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, July 30, 2021

https://eprateekdaily.com/2021/07/18584/