Friday, April 19, 2019

Special Characteristics of American Economy: Cheap Energy-Article-243


अमेरिकी अर्थ व्यवस्थाका विशेषत: सस्तो ऊर्जा

कच्चा सामग्री उत्पादन स्थलसम्म पुर्याउन र उत्पादित सामग्री उपभोगका लागि बजारसम्म पुर्याउन यातायातका अनेक साधनको आवश्यकता पर्दछ। यसैगरी नागरिकलाई आवागमन सुविधा उपलब्ध गराउन वा गन्तव्य (कार्यस्थल) सम्म पुर्याउन र त्यहाँबाट फर्काउन यातायातका साधनहरूको आवश्यकता पर्दछ। अर्कोतिर यी यातायातका साधन सञ्चालन गर्न ऊर्जाको आवश्यक्ता पर्दछ। ऊर्जा यातायातका लागिमात्र होइन, उद्योग सञ्चालन गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन, जीवन निर्वाह गर्न र प्रभावकारी शिक्षा सुविधा उपलब्ध गराउन पनि आवश्यक पर्दछ। अब जमाना त्यो रहेन, घरमा टुकी बालेर पनि रात बितोस्। के गाउँ के शहर, हरेक क्षेत्रका आवासहरूमा उज्यालोको लागि दियो, वा बिजुली बाल्नैपर्ने हुन्छ। अर्थात् जीवन निर्वाहका लागि हामीले उपयोग गर्ने प्रायः वस्तु वा सेवा सञ्चालन गर्नका लागि हामीलाई आधुनिक ऊर्जा (जल विद्युत्, पेट्रोलियम पदार्थ, बैट्री आदि) आवश्यक पर्छ। स्थिति यस्तो छ कि आधुनिक ऊर्जाबिना हाम्रो भान्सा सञ्चालन हुन नसक्ने अवस्था छ। हाम्रो जीवन पूर्णतया ऊर्जामा आश्रित छ। ऊर्जाविना हाम्रो जीवन चलायमान हुँदैन।
    यसरी आधुनिक ऊर्जा मानव सभ्यताको अत्यावश्क अङ्ग हुन पुगेको छ। ऊर्जाको अभावमा यो गतिशील मानव जीवन नीरस र उद्देश्यहीन हुन पुग्छ। ऊर्जा, सभ्यता विकासको क्रममा पत्ता लागेको अति महत्वपूर्ण तत्व हो।
    तर अर्कोतिर कटु यथार्थ के पनि छ भने ऊर्जा जति सस्तो र सरल किसिमले उपलब्ध हुन सक्यो त्यही अनुसार जीवन निर्वाह लागत (Living Costs) कम हुन्छ। जीवन निर्वाह लागत जति कम भयो, सोही अनुसार व्यक्तिको बचत गर्ने क्षमताको विकास भएर राष्ट्रले पनि आर्थिक विकास गर्छ। यसरी कुनै पनि राष्ट्रको आर्थिक विकास त्यहाँ उपलब्ध हुने (सस्तो र नियमित) ऊर्जाको स्थितिमा निर्भर गर्दछ।
    अमेरिकाको आर्थिक विकासमा यहाँ सस्तोमा पेट्रोलियम पदार्थ (Gasoline) उपलब्ध हुने स्थितिले महत्वपूर्ण भूमिका खेलेको छ। पेट्रोलियम पदार्थबाहेक अन्य ऊर्जा पनि अमेरिकाले देशवासीलाई सस्तोमा उपलब्ध गराउन सकेको छ। अमेरिकामात्र यस्तो देश हो जसले संसारभरि यातायात उद्योग एवं सामान्य अमेरिकी उपभोक्तालाई अति नै सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँछ। यो कारणले गर्दा पनि एउटा सामान्य आर्थिक स्थिति (सर्वाधिक न्यून आय) भएको एक अमेरिकीले पनि सजिलै यातायात सुविधा (कार खरीद एवं सञ्चालन) उपभोग गर्न सक्छ वा भनौ कार, ट्रक, भ्यान आदि खरीद गरेर सञ्चालन गर्ने क्षमता राख्छ। पहिलो भेनेजुएला, दोस्रो साउदी अरेबिया, तेस्रो कुवेत, चौथो इजिप्ट, पाँचौ इरान, छैठौ युनाइटेड अरब इमिरेट्स, सातौं नाइजेरिया, आठौं मलेशिया, नवौं रूस गरी प्रेट्रोलिय पदार्थ उत्पादन गर्ने राष्ट्रहरूमा अमेरिका दसौं स्थानमा पर्दछ। संसारमैं बढी पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्रहरूमा अमरिकाको स्थान दसौं भए तापनि ती राष्ट्रहरूको तुलनामा अमरिकाले आफ्ना देशवासीहरूलाई सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकेको छ।  अमेरिकाको लागि यो ठूलो आर्थिक उपलब्धि हो।
तर पेट्रोलियम पदार्थ मात्र अमेरिकाको प्रमुख ऊर्जा श्रोत भने होइन। प्राकृतिक गैस, कोइला, पुनरनवीकरण ऊर्जा, आणविक विद्युतीय शक्ति पनि अमेरिकाका लागि महत्वपूर्ण ऊर्जाका श्रोतका रुपमा रहेका छन्। अमेरिकाले प्राप्त गर्ने, कूल ऊर्जा मध्ये, प्राकृतिक गैसबाट ३१.८%, पेट्रोलियम पदार्थबाट २८%, कोइलाबाट १७.८%, पुनरनवीकरण ऊर्जाबाट १२.७% र न्युक्लिएर इलेक्ट्रिक शक्तिवाट ९.६% ऊर्जा प्राप्त गर्दछ।
    अमेरिकाका धेरै राज्यहरूमा पेट्रोलियम पदार्थ ठूलो परिमाणमा उत्पादन हुन्छ। सर्वाधिक उत्पादन गर्ने राज्यहरूमा (सन् २०१७) भने प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ गरी क्रमशः  टेक्सास, नोर्थ डकोटा, अलास्का, क्यालिफोर्निया, न्यु मेक्सिको राज्यहरू पर्दछन् । यसबाहेक ओक्लहोमा, कोलोराडो, वाएमिंग, लुजियाना, क्यान्सस, युटाह, मोन्टाना, ओहायो, मिसिसिपी, वेस्ट भर्जिनिया, इलिन्वाय, एलाबामा, पेन्सिलभेनिया, मिचिगन, आर्कान्सा, केन्टकी, नेब्रास्का, फ्लोरिडा, इन्डियाना, साउथ डकोटा, नेवादा, टेनेसी, न्युयोर्क, मिजोरी, एरिजोना, भर्जिनियामा पनि पेट्रोलियम पदार्थ ठूलो परिमाणमा उत्पादन हुन्छ। यसरी आन्तरिक माग पूर्ति गर्ने हिसाबले पनि अमेरिकामा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन हुन्छ। अनेक राज्यमा उत्पादन गर्न सकेकोले पनि अमेरिकाले आफ्ना उपभोक्ताहरूलाई सस्तोमा पेट्रोलियम पदार्थ सहजै उपलब्ध गराउन सकेको हो।
    अमेरिकामा, यहाँका नागरिकका लागि सरकारले गैसोलिन (पेट्रोलियम पदार्थ) कतिसम्म सस्तो उपलब्ध गराएको छ भन्ने कुराको एउटा उदाहरण हेरौं। अमेरिकाको सङ्घीय सरकारले न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७ डलर २५ सेन्ट तोकेको छ। अमेरिकामा न्यूनतम पारिश्रमिक पाउने व्यक्तिले पनि आफ्नो एक घण्टाको आम्दानी (पारिश्रमिक) ले १० लिटर पेट्रोल खरिद गर्न सक्छ। अब यस स्थितिको तुलना विकासशील मुलुकहरूसँग वा नेपालको स्थितिसँग गरेर हेरौं। नेपालमा एक व्यक्तिले यदि न्यूनतम ज्याला वा पारिश्रमिक ८ घण्टाको एक कार्य दिनमा ७०० रुपियाँ प्राप्त गरेको छ भने उसको प्रतिघण्टा आम्दानी (पारिश्रमिक) ८८ रुपियाँ हुन आउँछ। यदि नेपालमा पेट्रोलको मूल्य रु ११०। प्रति लिटर छ  भने न्यूनतम पारिश्रमिक पाउने व्यक्तिले आफ्नो एक घण्टाको आम्दानीले केवल एक लिटर पनि पेट्रोल खरिद गर्न सक्तै ।
    नेपालमा न्यूनतम पारिश्रमिक पाउने व्यक्तिको लागि कार खरिद गर्नु महँगो सपना होउसको जीवन कालमा त्यो सपना कहिले पनि साकार हुन सक्तैन। किनभने नेपालमा ऊर्जा (पेट्रोल) अमेरिका भन्दा दस गुणा महँगो छ। अमेरिकामा भने एपउटा गरीब वा निम्न आय भएको व्यक्तिले पनि कार खरीद गर्न सक्छ, किनभने अमेरिकामा ऊर्जा अति सस्तो छ यसबाट पुष्टि हुन्छ कि अमेरिकाले तीव्र गतिमा आर्थिक विकास गर्नुको पछाडिको कारण ऊर्जा सस्तो हुनु हो।
    अमेरिकाको प्रतिव्यक्ति ऊर्जा उपभोग संसारमैं उच्च छ। अमेरिकमा प्रतिव्यक्ति ऊर्जा उपभोग (per capita energy consumption) सन् २०१६ मा ३०२ मिलियन ब्रिटिश थर्मल युनिट थियो। सो अवधिमा विश्वको प्रतिव्यक्ति ऊर्जा उपभोग औसतमा ७६.८ मिलियन ब्रिटिश थर्मल युनिट थियो।
    कुनै पनि देशको आर्थिक विकासको स्थितिलाई, त्यस देशमा हुने प्रतिव्यक्ति ऊर्जा खपतले दर्शाउँछ। जुन देशमा जति बढी ऊर्जा खपत हुन्छ त्यो देशले त्यति नै बढी आर्थिक विकास गरेको मानिन्छ। तर ऊर्जा मात्र आर्थिक विकास मापक विधि भने होइन।
    आर्थिक विकासको मेरुदण्ड सस्तो ऊर्जा हो भन्ने कुरा अमेरिकाले राम्ररी बुझेको हुनाले नै यहाँ ऊर्जालाई सस्तो पार्ने प्रयास मात्र गरिंदैन, भविष्यमा ऊर्जाको मूल्य अझै कसरी कम पार्न सकिन्छ भनी पत्ता लगाउन अनेक खोज एवं अनुसन्धानहरू पनि गरिन्छ। 
    नेपालमा ऊर्जा (जल विद्युत् र पेट्रोलियम पदार्थ) अति महँगो भएको हुनाले न उद्योगले सन्तोषजनक किसिमले विकास गर्न सकेको छ, न व्यापारले नै। ऊर्जा महँगो भएर यातायात लागत पनि चर्को हुन पुगेको छ। यातायात लागत चर्को भएर कम मूल्य का वस्तुहरू जस्तै खानेपानी, तरकारी, फलफूल, दूध, दही, नौनी, सागसब्जी, अन्न आदि पनि नेपाली बजारमा महँगो भएको छ। ती वस्तुहरू यातायात लागत चर्को भएर महँगो भएको हो।
    अमेरिकामा यातायात लागत कम भएको हुनाले कम मूल्यका वस्तुहरू पनि हजारौ माइलसम्म सस्तोमा ओसारपसार गर्न सकिने स्थिति छ। यसले गर्दा कम मूल्यका वस्तुहरू अमेरिकाका विभिन्न बजारमा पुग्दा, हजारौं माइलको यात्रा पार गर्दा पनि महँगो हुन पाउँदैन। अर्कोतिर यातायात लागत चर्को नभएको हुनाले उपभोक्ताहरूले सस्तोमा वस्तु प्राप्त गर्छ। उपभोक्ताले सस्तोमा वस्तु प्राप्त गर्न सक्नु भनेको उनीहरूको क्रय शक्तिमा वृद्धि हुनु हो।
    हुन त अमेरिकालाई धनी बनाउन अन्य तत्वले पनि महत्वपूर्ण योगदान पुर्याएको छ। ऊर्जामात्र महत्वपूर्ण तत्व भने होइन। तर ऊर्जाको भूमिका अमेरिकालाई धनी पार्ने सन्दर्भमा अहम् छ। व्यापार, सेवा, उद्योग, कृषि गरी प्रत्येक क्षेत्रको विकासमा अमेरिकी सस्तो ऊर्जाले महत्वपूर्ण भूमिका खेलेको प्रत्यक्ष्य देख्न पाइन्छ।
    राष्ट्रिय खपतका लागि अमेरिकाले तेल (पेट्रोलियम पदार्थ) आफुलेले मात्र उत्पादन गर्दैन, विदेशबाट खरीद पनि गर्छ। क्यानाडा, साउदी अरेबिया, भेनेजुएला, मेस्किको, कोलम्बियाबाट ठूलो परिमाण तेल आयात गर्छ।
    अमेरिकी ऊर्जाको अर्को एक विशेषता पनि छ। त्यो हो, अमेरिकामा ऊर्जाका विविध स्रोत हुनु। जस्तै प्राकृतिक ग्याँस, कोइला, न्युक्लियर पावर, पुनः नवीकरणीय ऊर्जा, विन्ड मिलजस्ता थुप्रै स्रोत छन् । यी स्रोतहरूको उपयोग घरेलु र व्यापारिक किसिमले गरिएको छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, April 19, 2019

No comments:

Post a Comment