Friday, April 12, 2024

People: Top Cause of Poverty-Article- 448

 जनताको मनोवृत्तिले देश गरीब हुन्छ

गरीब देश हुने हो कि जनता? यो प्रश्नको उत्तर जति सरल छ, उत्तर त्यतिकै जटिल छ। देश गरीब भएपछि जनता पनि गरीब हुनु स्वाभाविक हो। गरीब देशको जनता पनि गरीब नै हुन्छ। देशमा उपलब्ध स्रोत एवं साधनले जनतालाई धनी बनाउने हो। तर यो धारणा परम्परागत हो। र उपर्युक्त प्रश्नको सरल उत्तर हो।

आधुनिक वा नवधारणा अनुसार कुनै पनि देश गरीब हुँदैन। हरेक देशसँग कुनै न कुनै किसिमको प्राकृतिक सम्पत्ति हुन्छ नै। संसारमा यस्तो देश बिरलै भेटिएला जहाँ कुनै पनि किसिमको साधन र स्रोत नहोस्।

सर्वाधिक गरीबी र गरीबहरूको बसोवास भएको महादेश अफ्रिकालाई मान्ने गरिन्छ। अफ्रिकी महादेशका राष्ट्रहरू गरीब छन्। तर अफ्रिकी देशहरू स्रोत र साधनको अभावले गरीब भएका होइन, जनताको व्यवहार, सोच, संस्कार, परम्परा आदिले गर्दा गरीब भएका हुन्। निरन्तरको द्वन्द्व र सङ्घर्षहरूले गर्दा गरीब भएका हुन्। माथिको प्रश्नको यो जटिल उत्तर हो।

अफ्रिकी राष्ट्रहरू–बोत्सवाना र कङ्गो विश्वका क्रमशः दोस्रो र चौथो सर्वाधिक हीरा भएका राष्ट्र हुन्। संसारभरि सर्वाधिक ठूलो तेल भण्डार दक्षिण अमेरिकी देश भेनेजुएलामा छ। भेनेजुएला दक्षिण अमेरिकाको गरीब राष्ट्रमध्ये पर्दछ। कम्युनिस्ट शासकहरूले यो देशलाई गरीब पार्ने क्रम जारि नै छ।

विश्वमा सर्वाधिक कच्चा तेल उत्पादन गर्ने पाँच राष्ट्रमा कमशः १ संयुक्त राज्य अमेरिका, २ साउदी अरेबिया, ३ रूस, ४ क्यानाडा र ५ इराक पर्दछन्। विश्वमा ठूलो मात्रामा कच्चा तेल उत्पादन गर्ने राष्ट्रहरूमा साउदी अरेबिया र इराक परे तापनि संयुक्त राज्य अमेरिको तुलनामा साउदी अरेबिया र इराक दुबै गरीब छन्।

घाना, बुरकिना फासो, तान्जानिया, साउथ अफ्रिका, इजिप्ट, जिम्बाब्वे, माली, ग्युनी, अल्जेरिया अफ्रिकी महादेशका यस्ता राष्ट्र हुन् जहाँ ठूलो परिमाणमा सुन उत्पादन हुन्छ। ठूलो परिमाणमा यी राष्ट्रहरूमा सुन उत्पादन भए तापनि यी राष्ट्रहरू धनी राष्ट्रको श्रेणीमा पर्दैनन्।

कुनै पनि राष्ट्रलाई गरीब वा धनी बनाउने त्यहाँको जनता नै हो। देशलाई गरीब वा धनी तुल्याउने प्रमुख तत्व जनता नै हो। जनताको क्रियाकलाप सकारात्मक छ भने देश धनी हुन्छ, नकारात्मक हुँदा गरीब हुन्छ। अफगानिस्तानलाई अति गरीब र द्वन्दग्रस्त त्यहाँको जनताले नै बनाएको हो। साधन र स्रोतको अभावमा अफगानिस्तान गरीब भएको होइन। 

संयुक्त राज्य अमेरिका र मेक्सिको दुवै छिमेकी राष्ट्र हुन्। यी दुवै राष्ट्रको साझा आकाश छ। साझा जलवायु छ। साझा मौसम छ। साझा भूमि पनि छ। जनताको सोच र मनोविज्ञान भने साझा छैन।

संयुक्त राज्य अमेरिका विश्वको सर्वाधिक धनी राष्ट्र हो भने मेक्सिको दोस्रो, तेस्रो वा चौथो धनी राष्ट्र पनि होइन। विश्वका सर्वाधिक ठूला अर्थ व्यवस्थाको सूचीमा मेक्सिकोको स्थान १४ औं रहेको छ। अमेरिका र क्यानाडा जस्ता धनी राष्ट्रहरूको निकट रहेर पनि मेक्सिको यी दुई राष्ट्रहरूको तुलनामा गरीब छ। किन होला?

क्यानाडा र अमेरिकालाई यी देशका जनताले धनी पारेको हो, स्रोत एवं साधनले होइन। क्यानाडा र अमेरिकाका कतिपय स्थानमा मौसम जहिले पनि प्रतिकूल हुन्छ र मानिसको बासोवाससमेत छैन। कतिपय भूमि बञ्जर छ। त्यहाँ केही पनि उत्पादन गर्न सकिंदैन। तर स्थिति प्रतिकूल भए पनि यी देशहरूले विकास गरेका छन्। धनी देश कहलिएका छन्।

अमेरिकीहरूले आफ्नो पसिना र परिश्रमद्वारा यो देशलाई धनी बनाएका हुन्। अमेरिकीहरू औसतमा अत्यधिक कार्य गर्ने विश्वका नागरिकमध्ये पर्छन्। काम गर्नुपर्छ र इमानदारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्ने अमेरिकीहरू यो विश्वास गर्छन् कि हामीले नै आफ्नो टोल, शहर, राज्य र देशको विकास गर्ने हो। लडाइ–ँझगडा, सङ्घर्षले देशको आर्थिक विकास हुँदैन, बरु मिलेर बसेमा देशको आर्थिक विकास हुन्छ भन्ने कुरा अमेरिकीहरूलाई राम्ररी थाहा छ। यो सोच र समझदारीले गर्दा ५० राज्य भएको संयुक्त राज्य अमेरिकामा राज्य–राज्य बिच कुनै द्वन्द् छैन।

छिमेकी राष्ट्र मेक्सिकोको स्थिति भने विपरीत छ। राष्ट्रको आर्थिक विकासको लागि मेक्सिकनहरू पनि अति परिश्रम गर्छन् तर मेक्सिकोमा अपराध ठूलो मात्रामा हुन्छ। लागू औषध व्यापारका लागि मेक्सिकोलाई ‘स्वर्ण भूमि’ मान्ने गरिन्छ। विश्वका सर्वाधिक ठूला र कुख्यात पाँच लागू औषध कारोबार गर्ने संस्था (Drug Cartels) हरू मध्ये चार संस्था मेक्किकोमा छ। मेक्सिकको कतिपय स्थानमा लागू औषध कारोबार गर्ने ‘दादा’ हरूले समानान्तर सरकार सञ्चालन गरेका छन्। सिनोला कार्टेल, गल्फ कार्टेल, लस जेटास, जुराज कारटेलजस्ता कुख्यात लागू औषध कारोबार गर्ने संस्था (कारटेल) हरू मेक्सिकोमैं छन्। र यी संस्थाहरूको कारोबार युरोप, अफ्रिका, उत्तर अमरिका, दक्षिण अमेरिका र एशियाभरि फैलिएको छ।

मेक्सिकोको करीब ३५ प्रतिशत जमीनमा सरकारको होइन, लागू औषध कारोबारीहरूको नियन्त्रण छ। मेक्सिकन सरकारको अति सक्रियता हुँदाहुँदै पनि लागू औषधको कारोबार त्यस देशमा नियन्त्रण हुन सकेको छैन। सोनारा, बाजा कालिफोर्निया, नायारित, जालिस्को, चियापास आदि यस्ता मेक्सिकन राज्य हुन् जहाँ ठूलो मात्रामा लागू औषधका कारोबारीहरू छन्। मेक्सिकोको कुलिएकान शहर त लागू औषध खरीद–बिक्रीका लागि बदनाम नै छ।

सन् २०१९ को अक्टोबर महीनामा मेक्सिकोको सिनोला राज्यको कुलिएकान भन्ने शहरमा लागू औषधका कारोबारीहरू र मेक्सिको सरकारका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा, अनेक कारणले गर्दा, सरकारी सुरक्षाकर्मी पछडि हट्नुपरेको थियो। सरकारी सुरक्षाकर्मीहरू पराजित हुनु परेको थियो। सरकारले लागू औषध विरुद्ध कार्यवाही बन्द गर्नुपरेको थियो। लागू औषध कारोबारीहरू मेक्सिकोमा त्यतिसम्म बलिया छन्।

अब नेपालको कुरा गरौं। नेपाल गरीब हुनुका कारणहरू खोजौं। नेपाल जनताको सोच, व्यवहार, संस्कारको कारणले गर्दा गरीब भएको हो। जबसम्म हामी नेपालीहरू आफ्नो व्यवहार, सोच, संस्कारमा परिवर्तन गर्दैनौ तबसम्म हामी निर्धन नै रहिरहने छौं। जबसम्म हामीले धूर्त, बेइमान र भ्रष्ट नेताहरूलाई आफ्नो अमूल्य भोट दिएर चुनावमा विजयी गराइरहन्छौं, उनीहरूलाई शक्ति र सत्तामा पुर्याइ रहन्छौ तबसम्म हामी गरीब रहिरहन्छौं।

कहिले जातीयताको, कहिले क्षेत्रीयताको, कहिले साम्प्रदायिकताको, त कहिले वेशको त कहिले भाषाको कुरा लिएर आउने र हामीबीच विभाजन गरेर हामीमाथि शासन गर्ने, हामीलाई गरीब पार्ने नेताहरूको पछि लाग्न नछाडेसम्म हामी समृद्धिको दिशातर्फ अग्रसर हुन सक्तैनौं।

निर्वाचित प्रतिनिधिहरूको कार्य देशको लगि आवश्यक नियम–कानून निर्माण गर्नु हो। यसका लागि जनताले उनीहरूलाई निर्वाचित गरेको हो। यो कार्य गरेबापत जनप्रतिनिधिहरूले पारिश्रमिक पाउने गर्छन्। राज्यले उपलब्ध गराएको स्रोत र साधनको भरपूर उपभोग गर्छन्।

सांसदहरूको कार्य संसद् सञ्चालन गर्नु हो। गृहमन्त्री रवि लामिछाने प्रकरण अगाडि सारेर सांसदहरूले, मुख्यगरी नेपाली काङ्ग्रेसका सांसदहरूले संसद् अवरुद्ध पारेका छन्। संसद सञ्चालन गर्न दिएका छैनन्। यो कस्तो राजनीतिक संस्कृति हो? यो समस्याको समाधान खोज्ने कस्तो तरीका हो? एकजना मन्त्रीको कार्यको विरोधमा संसद् नै अवरोध गर्ने? देशको कार्य नै अवरुद्ध पार्ने? नेपाली काङ्ग्रेसको दलगत फाइदाको लागि संसद् नै चल्ने नदिने?

रवि लामिछानेले यदि कुनै कसूर गरेका छन् भने त्यस कसूर उपर छानबीन गर्ने प्रशासन छ। यदि कसूर गरेको ठहर भएमा लामिछानेलाई सो अपराध गरेबापत सजाय दिने अदालत छ। नेपाली काङ्ग्रेसलाई लामिछानेको कार्यप्रति शङ्का छ, उनले सहकारी–ठगी गरेका छन् भन्ने नेपाली काङ्ग्रेसलाई लागेको छ भने लामिछाने उपर काङ्ग्रेसले मुद्दा हाले हुँदैन? अदालत गए हुँदैन? संसद् नै अवरुद्ध गर्नुपर्छ?

देशको लागि आवश्यक नियम कानून निर्माण गर्ने संसद् कुनै पनि बहानामा अवरुद्ध हुनुहुँदैन। देशको आर्थिक विकासका लागि मार्ग निर्माण गर्ने संसद् निर्वाध सञ्चालन हुनुपर्छ। सांसदहरूलाई केही कार्य नै नगरी केवल होहल्ला गर्न जनताले निवार्चित गरेर संसद्मा पठएको होइन। संसद्भित्र होहल्ला गर्न राज्यले अनेक सुविधा र तलब भत्ता दिएको होइन। 

हो, यस्तैयस्तै कारणले गर्दा हामी नेपालीहरू गरीब भएका हौं। आवश्यक कार्य नगर्ने, अनावश्यक कार्य खोजीखोजी गर्ने हाम्रो प्रवृत्तिले गर्दा नै हामी गरीब भएका हौं। हामी, आफ्नो विकास विरोधी सोच र व्यवहारहरूले गर्दा गरीब भएका हौं।

जनताले बेइमान र भ्रष्ट नेताहरू निर्वाचित गरेर पठाउने र त्यस्ता नेताहरूले देशको होइन, केवल आफ्नो विकास गर्ने र यसरी स्वार्थी नेताहरूबाट देशको आर्थिक विकास नहुने अनि हामी सदा गरीब हुने। यो गोल–चक्करबाट हामी बाहिर नआएसम्म नेपालको आर्थिक विकास सम्भव छैन। नेपाल र नेपालीको आर्थिक विकास गर्न माथि भनिएको त्यो गोलचक्कर अर्थात् कुचक्र तोड्नैपर्छ। हामीले इमानदार नेता मात्र निर्चाचित गर्नुपर्छ।

नया संस्करणमा देखिएका राजेन्द्र महतो र यस्तै प्रवृत्तिका अन्य नेताहरूको पछि लागेसम्म हामी गरीबीको त्यो कुचक्रबाट कहिले बाहिर आउन सक्तैनौं।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 12, 2024

https://eprateekdaily.com/2024/04/12/66033/ 

1 comment:

  1. कस्तो सही कुरा लेख्नुभयो। आफूले पनि राम्रो काम गर्न नसक्ने, केही गर्छु भन्नेहरुको पनि खुट्टा मात्रै तान्न खोज्ने नेता भनाउंदाहरुले नै हो देशलाई अगाडी बढ्न नदिअको। अनि यस्ता भ्ष्ट नेताहरुलाई भेट दिएर जीताने जनताहरुलाई के भन्ने!
    आफू र आफ्नो पार्टिले देशको लागी केही राम्रो काम गर्न नसके पनि राम्रो काम गर्नको लागी लागेकाहरुलाई चाहीं कुनै अबरोध नराखे राम्रो हुन्थ्य्यो। कठै हाम्रो देश र त्यहॉका भ्रष्ट नेताहरु अनि त्यस्ता भ्रष्ट नेता भनाउंदाहरुलाई भोट दिएर सॉसदमा पठाउने जनताहरु! अनि देश कसरी बन्नु!

    ReplyDelete