Friday, November 3, 2023

Nepal On The Verge Of Economic Crisis-Article-430

 नेपाल आर्थिक सङ्कटको सँघारमा

नेपाल आर्थिक सङ्कटको ज्यादै नजीक पुग्न थालेको आशङ्का व्यक्त गर्न थालिएको छ। सम्बन्धित क्षेत्रका विज्ञहरूले त्यस्तो हुन थालेकोमा चिन्ता व्यक्त गरिरहेका छन् र सरकार एवं सम्बन्धित पक्षलाई सतर्क र सचेत पनि पारिरहेका छन्। तत्काल आर्थिक सुधारका कार्यक्रमहरू निर्माण एवं कार्यान्वयन नगर्ने हो भने नेपालको आर्थिक स्थिति लेबेनानको जस्तो हुने पक्का छ। लेबेनान, अदूरदर्शी नेताहरूको स्वार्थी व्यवहारले गर्दा आर्थिक रूपमा सङ्कटग्रस्त छ। जनताको हातमा पैसा छैन भने सामानहरूको मूल्य आकाशिएको छ।

नेपाल आर्थिक सङ्कटको नजीक पुग्नुका तीन प्रमुख कारणहरू छन्। ती हुन्– १. विश्व अर्थ व्यवस्थामा आएको समस्या २. अति निराश युवा जनशक्ति र ३. अस्थिर सरकार एवं सत्तामुखी नेताहरूको क्षुद्र व्यवहार।

विश्व अर्थ व्यवस्था अहिले आफैं सङ्कटग्रस्त छ। संसारको सर्वाधिक ठूलो अर्थतन्त्र अमेरिका, जसलाई ‘इकोनोमिक पावर हाउस’ भनिन्छ, अप्रत्यक्षरूपमा दुईवटा युद्धमा संलग्न छ। अमेरिकाले इजराइल र युक्रेनलाई सैन्य र आर्थिक सहयोग गरिरहेको छ। अमेरिकाभित्र नै पनि अनेक आर्थिक समस्याहरू देखिएका छन्। अमेरिकीहरूले दशकौं यताको ठूलो मुद्रास्फीतिको सामना गरिरहेका छन्। दैनिक आवश्यक वस्तुहरूको मूल्य, केही क्षेत्रहरूमा, २० प्रतिशतले वृद्धि भएको छ। अहिले अमेरिकाको पनि आर्थिक स्थिति राम्रो छैन। संसारकै लागि ठूलो अन्न भण्डार मानिने युक्रेन अहिले युद्धमा व्यस्त छ। अस्तव्यस्त छ। चीनको अर्थ व्यवस्था पनि सङ्कटग्रस्त छ। युक्रेनसँग चलिरहेको निरन्तर युद्धले गर्दा रूसी अर्थ व्यवस्था पनि कमजोर हुन पुगेको छ। थुप्रै एशियालीहरूलाई रोजगार दिने इजराइल अहिले हमाससँग दोहरो भिडन्तमा लागेको छ। एशियाका ठूला अर्थ व्यवस्थाहरूमध्ये एक भारतको आर्थिक स्थिति पनि उत्साहप्रद छैन, खस्किंदो छ। अफ्रिकी देशहरू पनि आआफ्नै आर्थिक समस्याले पिरोलिएका छन्। दक्षिणी अमेरिकी देशहरू आआफ्नै आन्तरिक कलहमा व्यस्त छन्। अर्जेन्टिनाको आर्थिक स्थिति सोचनीय छ। अहिले विश्वभरिका राष्ट्रहरू कुनै न कुनै रूपमा सङ्कटग्रस्त छन्। आर्थिक रूपमा कमजोर छन्।

यद्यपि अडकलबाजी हा– तर पनि, अब तेस्रो विश्वयुद्ध हुन सक्छ भन्नेहरू पनि थुप्रै छन्। युद्ध होला वा नहोला, तर अहिलेको जस्तो, अनिश्चित वातावरणले लगानीकर्ताहरूलाई लगानी गर्न प्रेरित भने गर्दैन। त्यसकारण तेस्रो विश्वयुद्ध हुन सक्ने आम मनोविज्ञानले पनि विश्व अर्थ व्यवस्थालाई अति प्रभावित गरिरहेको छ। लगानीकर्ताहरूलाई लगानी गर्न अनिच्छुक बनाइरहेको छ। लगानीकर्ता एवं उद्यमीहरू लगानी गर्न एवं व्यवसाय गर्न तत्पर नहुनु विश्व अर्थ व्यवस्थाको लागि अति खराब स्थिति हो। अहिले विश्व अर्थ व्यवस्था समस्यग्रस्त छ। भन्ने हो भने अहिले अप्रत्यक्षरूपमा तेस्रो विश्वयुद्धको स्थिति छ।

समस्याग्रस्त वर्तमान विश्व अर्थ व्यवस्थाको नकारात्मक प्रभाव नेपालको अर्थ व्यवस्थामा पनि परिरहेको छ र नेपालको अर्थ व्यवस्थालाई सङ्कटग्रस्त बनाउन योगदान पुर्याइरहेको छ।  वर्तमान विश्व अर्थ व्यवस्थामा अनिश्चितता देखिएको कारणले नै नेपालमा उद्यमीहरू लगानी गर्न तत्पर देखिएका छैनन्, जबकि नेपालका वाणिज्य बैंकहरूसँग लगानी गर्न पर्याप्त पैसा छ। अति नै तरलता छ। हुनत नेपालमा लगानी गर्न चाहनेहरू बढी त्रसित र चिन्तित, नेपालको अस्थिर राजनीति र अनिश्चितताबाट छन्।

नेपालका युवाहरूमा आएको डरलाग्दो किसिमको निराशाको स्थितिले पनि नेपालको अर्थ व्यस्थालाई सङ्कटग्रस्त पार्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। स्वदेशमा आफ्नो भविष्य असुरक्षित देखेर युवाहरू अहिले रोजगारका लागि ठूलो सङ्ख्यामा विदेशतिर लागिरहेका छन्। नेपाली युवाहरू रोजगारका लगि त्यस्ता देशमा पनि पुगिरहेका छन् जहाँ युद्ध, गृहयुद्ध तथा अनेक किसिमका समस्या छन् । केही दिन पहिले मात्र रोजगारका लागि इजराइल पुगेका नेपालीहरूमध्ये १२ जनाको हमासको आक्रमणमा परी मृत्यु भएको थियो। देशको अर्थतन्त्रलाई सही दिशामा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवाहरू ठूलो सङ्ख्यामा विदेशतिर लाग्नु ज्यादै दुःखद स्थिति हो।

स्वदेशमा आफ्नो भविष्य अन्धकारमय देखेर रोजगारका लागि विदेश जाने क्रममा नेपाली युवाहरू रूसी सेनामा समेत भर्ति भएका छन्। अति हताश र निराश नेपाली युवाहरू रूसी सेनामा भर्ति हुनु, भाडाको सैनिक बन्नु, नेपालकै इतिहासमा अति दुःखद स्थिति हो। अकल्पनीय घटना हो।

रूसको पक्षमा युक्रेनसँग युद्ध गर्न नेपाली युवाहरू रूसी सेनामा भर्ति भएको स्थितिले नेपाली युवाहरू चरम निराशामा परेको थप पुष्टि हुन्छ। हालै रूसी सेनामा भर्ति भएर रूसका लागि युक्रेनसँग युद्ध गर्न पुगेका नेपालीहरूमध्ये एक युवकको मृत्यु भएको तथा अर्का एक युवकलाई युक्रेनको सेनाले बन्दी बनाएको खबर संसारभरि फैलिएको छ। नेपाली युवा, विवेक खत्री, रूसको पक्षमा युद्ध गर्ने क्रममा युक्रेनी सैनिकद्वारा बन्दी बनाइएको र हाल उनी युक्रेनको एक जेलमा रहेको पुष्टि केही दिन पहिले मात्र युक्रेनी अधिकारीहरूले गरेका छन्।

नेपाली युवाहरू यतिसम्म निराश भएका छन् कि भाडाको सैनिक भएर युद्ध गर्न पनि हच्किरहेका छैनन्। युद्धग्रस्त क्षेत्रमा गएर, ज्यानको बाजी थापेर, युद्ध गर्न डराइरहेका छैनन्। जब मानिस चरम निराशामा पुग्छ, डर हराउँछ र ठूलो जोखिम मोल्न पनि धरमराउँदैन।

नेपाली युवाहरूलाई चरम निराशाको स्थितिमा पुर्याउने कार्य नेपालको अनिश्चित राजनीतिले गरेको हो। नेपालको राजनीतिले भन्दा पनि तिनका नेताहरू पुष्पकमल दहाल, शेरबहादुर देउवा र केपीशर्मा ओलीको स्वार्थी र अदूरदर्शी व्यवहारले गरेको हो। नेपालको राजनीतिलाई आफूले चाहेको दिशामा डोर्याउने क्षमता र चातुर्य भएका यी तीन नेताहरूको व्यवहारले गर्दा नै नेपालको अर्थतन्त्र सङ्कटको सँघारसम्म पुग्न थालेको हो। यी तीन नेताहरूको व्यवहारले गर्दा नै यस्तो भएको हो। हुनत यस्तो हुनुमा नेपालका अन्य नेताहरू पनि जिम्मेवार छन्, तर यी तीनको भूमिका भने अति महत्वपूर्ण छ। यी तीनमध्ये पनि पुष्पकमल दहालको भूमिका सर्वाधिक महत्वपूर्ण छ। पुष्पकमल, नेपालको राजनीतिमा सक्रिय रहेसम्म न यो देशमा स्थिरता आउँछ, न यो देशको आर्थिक नै विकास हुन्छ।

नेपालको अर्थ व्यवस्थालाई सङ्कटको नजीक पुर्याउन नेपालको राजनीतिले पनि महत्वपूर्ण भूमिका खेलेको छ। २०४७ सालमा भएको राजनीतिक परिवर्तनपछि अस्थिर हुन प्रारम्भ भएको नेपालको राजनीति २०५२ सालपछि, माओवादीले प्रारम्भ गरेको तथाकथित जनयुद्धपछि, झनै अस्थिर भयो। माओवादीहरूले आर्थिक विकासका संचरनाहरू ध्वस्त पार्न थालेपछि भरखर हिंड्न थालेको नेपालको अर्थ व्यवस्था थचक्क बस्ने स्थितिमा पुगेको थियो।

वर्तमानको राजनीतिक व्यवस्थाले न स्थिर राजनीति नै दिन सक्छ, न इमानदार नेता नै उत्पादन गर्न सक्छ। यो राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आवश्यक छ। समानुपातिक व्यवस्था र सङ्घीयता भएसम्म नेपालको राजनीतिले गति लिन सक्तैन। यो तत्काल खारेज गर्न आवश्यक छ। यी दुई व्यवस्थाले नेपाललाई आर्थिकरूपमा कङ्गाल पार्न र जनतालाई निराश बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

सर्वाधिक उत्तम उपाय त एउटा राष्ट्रिय सरकार गठन गरेर, दलहरूले प्राप्त गरेका मत र सिटको आधारमा उनीहरूलाई सरकारमा सामेल गराएर, एउटा साझा सहमतिद्वारा देशको शासन व्यवस्था सञ्चालन गर्नु राम्रो हुने थियो। यस्तो गर्न सके सङ्कटापन्न नेपालको अर्थतन्त्रलाई जोगाउन सकिन्थ्यो। तर यस्तो हुन सक्तैन। यद्यपि गर्नुपर्ने यही हो। नेपाललाई आर्थिक सङ्कटबाट जोगाउन दलहरूबीच एउटा साझा सहमति हुन आवश्यक छ। सहमति मात्र एउटा अन्तिम तर अति महत्वपूर्ण उपाय हो। यस्तो नहुने हो भने थप युवाहरू रूसी सेनामा भर्ती हुनेछन्, युद्धभूमिमा मारिने छन्। मरेका आत्माहरूले नेताहरूलाई सराप्ने छ। यति मात्र हुनेछ।

आर्थिक विकासका लागि एवं देशलाई आर्थिक सङ्कटबाट जोगाउन जति महत्वपूर्ण भूमिका नेताहरूले खेल्न सक्छन् त्योभन्दा बढी जनताले पनि खेल्न सक्छ। कसरी? देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेताहरूमाथि, साझा सहमति कायम गर्न, दबाब दिन सक्छ। कार्यकर्ताहरू आफ्नो दल र नेताहरूलाई मिलेर अगाडि बढ्न दबाब दिन सक्छन्।

दोष केवल नेताहरूलाई मात्र दिएर हुँदैन। यस्ता अविवेकी र स्वार्थी नेताहरूलाई चुनावमा विजयी गराउने, एकटै व्यक्तिलाई दुईपटक, तीनपटक, पाँचपटक प्रधानमन्त्री बनाउने जनतालाई पनि दोष दिनुपर्छ। नेपालको राजनीतिलाई अस्थिर बनाउन जनताको पनि हात छ। यो कुरा हामीले स्विकार्नुपर्छ। एउटै व्यक्तिलाई पाँचपटक देशको प्रधानमन्त्री हामी जनताले नै बनाएको होइन? एउटै व्यक्ति पटकपटक चुनावमा विजयी हुने स्थिति हामीले नै तयार पारेको होइन? 

हामीले विगतबाट धेरै कुरा सिकिसकेका छौं। नेपाललाई आर्थिक सङ्कटबाट जोगाउन, आर्थिकरूपमा टाट पल्टिन नदिन अब नेताहरूले, दलहरूले मिलेर कार्य गर्नुको विकल्प छैन। यदि स्थिति यस्तै रहने हो भने नेपालको दुईतिहाई जनसङ्ख्या विश्वका अनेक देशमा छरिने स्थिति हामीले देख्नुपर्नेछ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 3, 2023

https://eprateekdaily.com/2023/11/02/58151/

No comments:

Post a Comment