Monday, November 6, 2023

Interview With Mahesh Poudyal

 महेश पौडेलसङ्ग कुराकानी

चर्चित साहित्यकार महेश पौडेल अहिले अमेरिकाको भ्रमणमा हुनु हुन्छ। यसै क्रममा उहाँ अहिले ओक्लहोमा आइ पुग्नु भएको छ। उहाँको परिचय केवल एक चर्चित साहित्यकार मात्र होइन, एक असल ब्यक्ति पनि हो। प्रस्तुत छ विश्वदर्पणका लागि ब्लगर विश्वराज अधिकारीले महेश पौडेलसङ्ग गरेको संक्षिप्त कुराकानी।

. केही हप्तादेखि अमेरिकाको भ्रमणमा हुनु हुन्छ। अमेरिकाको विभिन्न शहरहरूमा पुग्नु भएको छ। अमेरिकाको नेपाली साहित्यिक वातावरण कस्तो रहेको अनुभव गर्नु भयो?

अमेरिकामा नेपाली साहित्यको वातावरण निकै उर्वर रहेको पाएँ। व्यक्तिगत र संस्थागत दुवै तहमा साहित्यिक कार्यहरू भइरहेका रहेछन्। पेन्सिल्भेनियको ह्यारिसबर्गजस्तो सानो ठाउँमा मात्रै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्रिवेणी साहित्यिक मन्च, स्वीकारोक्ति फाउण्डेसन, ग्लोबल भुटानी साहियिक संघ, मातृभाषा संरक्षण मान्च आदि अनेक संस्था नेपाली भाषासाहित्यकै कार्यमा लागिरहेको पाएँ। टेक्ससमै पनि अनेसास, स्रष्टा साँझ अमेरिका, ग्लोबल नेपाली स्कुल, नेप्लिज सोसाइटी अफ डालस, डालस एभरेष्ट लायन्स क्लब आदि संघसंस्था यस दिशामा अग्रसर रहेछन्। मलाई अहिल्यै थाहा छ, मेरै भ्रमणताका ओक्लाहोमा सिटी, न्यु ह्यामसायर, भर्जिनिया र ओहायोमा पनि कार्यक्रम हुँदैछन्। अमेरिकाबाट संस्थागत र व्यक्तिगत प्रयासमा भएका प्रकाशन र कार्यक्रमहरूबारे पनि म धेरेथोर जानकार छु। यसै आधारमा मैले भनेको, यहाँको नेपाली साहित्यिक धरातल ज्यादै उर्वर छ।

. साहित्यका अनेक विधाहरू मध्ये कुन विधामा बढी लेख्न रुचाउनु हुन्छ?

लेखाइका हिसाबले त म धेरै विधामा विभक्त छु, यद्यपि सिर्जनाको क्षेत्रमा मैले सबैभन्दा बढी माया कथाकारको रूपमा पाएको छु। प्रौढ र बाल पाठकका लागि गरेर मेरा ७ कथासंग्रह रहनुले पनि कथातिर मेरो झुकाउ बढी रहेको प्रस्ट हुन्छ। तर पनि, कविता, समालोचना, गीत, अनुवाद र सैद्धान्तिक लेखनमा पनि मेरो धेरथोर समय व्यतीत भइरहेकोछ।

. साहित्यिक श्रृजना स्रष्ठाले आफ्नो सन्तुष्टिको लागि लेख्नु पर्ने हो वा लोक हितका लागि लेख्नु पर्ने हो?

यसमा दुवै खाले मतहरू छन्। समाजवादी चिन्तकहरू लेखन समाजकै लागि हुनुपर्छ भन्ने सोच्छन्, तर स्वच्छन्द चिन्तकहरू सिर्जनालाई विचार वा भावको विरेचन मान्छन्, जसले मनोभावको प्रकटीकरण हुँदाहुँदै पनि समाजको पनि भावलाई सम्बोधन गर्छ। म यो दास्रो कित्ताको लेखक हुँ।

. साहित्य अराजक हुन्छ भनिन्छ। त्यस्तो हो?

सहमत छु। मान्छेको व्यक्तिगत वा समूहिक स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै पनि व्यवस्थाको उच्छेदन गर्छ सिर्जनाले। राज्य वा शासक वर्गले कुनै न कुनै बहानामा मान्छेको स्वतन्त्रतालाई सीमित वा बाधित तुल्याने उपक्रम गरिरहेको हुन्छ। यो राज्यको प्रपञ्च तोड्ने अर्थमा सिर्जना अराजक हुने हो। तर यो अराजकता त्यस्ता प्रपञ्चको विरोधको अर्थमा हो, जीवनको सम्पूर्ण व्यवस्था वा मूल्यविधान तोड्ने अर्थमा होइन। अँ, कतिपय सन्दर्भमा, लेखकहरूले आफूलाई प्राप्त अराजकताको लाइसेन्सको दुरूपयोग गरेर स्वस्थ्य मूल्यहरूको विरोधमा पनि आफूलाई उभ्याएको पाइन्छ, तर त्यस्तो अराजकता टक्दैन पनि, र त्यसले अनुयायी भेट्न पनि सक्दैन।

. अध्ययन, मनन र चिन्तनको आधारमा नेपाली लेखकहरू र अमेरिकी लेखकहरूमा के कस्ता लेखन-विविधताहरू देख्नु भयो?

नेपाली भाषी लेखकहरूकै कुरा गर्दा, नेपाल र अमेरिकाका सर्जकहरू उस्तै उस्तै पाएँ। विधागत रूपमा पनि उस्तै छन्। अँ, अमेरिकी नेपालीहरूसँग आप्रवासनका, डायस्पोरा हुनुका, क्रमिक रूपले मौलिक संस्कृतिसँग टाढिँदै जानुका र अमेरिकाभित्रको विकसित र विविध संस्कृतिको ज्ञान र अनुभवको कुरा अतिरिक्त विषयवस्तुका रूपमा विद्यमान छन्। जहाँसम्म यहाँकै रैथाने लेखक र हामी नेपाली लेखकको लेखनको प्रश्न छ, त्यहाँ तात्तिवक भिन्नता छ। यिनीहरू विश्वका नवीनतम घटनापरिटनाहरूलाई तत्काल लेखको विषय बनाइदिन्छन् र वैश्विक ध्यानलाई आकृष्ट गर्छन्। हामी, धेरैजसो, परम्परित विषय लेख्छौँ, अथवा पुराना भइसकेपछि त्यतातिर लम्कन्छौँ। यहाँको ठूलो लेखन समुदाय मूलधारकै विधाहरू, यानि कविता, कथा वा उपन्यासतिर बढी केन्द्रित छ, ताकि एउटा ठोस सामुदायिक कथा भन्न सकियोस्। यहाँका अश्वेत, आप्रवासी चाइनिज वा हिस्पोनिकको साहित्यले पनि समूहकै कथा भनिरहेको पाइन्छ, र तिनको सिर्जनालाई समग्रमा हेर्ने हो भने त्यसले अमेरिकको सरकारी इतिहासले छुटाएको अर्को इतिहास भनिरहेको हुन्छ। हामी नेपाली साना आकारका र भावप्रधान विधाहरूमा बढी व्यस्त छौँ कि जस्तो लागिरहेको छ। त्यसले गर्दा, हाम्रो मूल कथा कतै छुटिरहेको छ। उदाहरणका लागि भुटानी नेपालीले भुटान छोड्नु र अमेरिका आइपुग्नु सामान्य कथा होइन। तर आजसम्म पनि यस कथाको सटीक, गहन र आधिकारिक प्रकटीकरण गर्ने सिर्जना आएन भन्दा पनि हुन्छ। नेपालकै पनि, यतै जन्मिएको र हुर्किएको दोस्रो वा तेस्रो पुस्ताको यथार्थ बोक्ने मूलधारको लेखन आएको पाउँदिनँ। यी मूलभूत भिन्नता म प्रस्टै देखिरहेको छु।

. नेपाली लेखकहरू नया नया मुद्दा भन्दा केवल पुराना, पारम्परिक कुराहरू लेख्न रुचाउन छन्। अनि पाठकहरू पनि केवल पारम्परिक सोंच भएका साहित्यिक सामाग्री पढ्न मन पराउँ छन। के यी आरोपहरू सत्य हुन्?

लेखहरूको हकमा यो कुरा साँचो हो, तर पाठकहरूको होइन। पाठकहरू सदैव नवीन विषयको खोजीमा हुन्छन्, र लेखकहरूले दिन सकेनन् भने उनीहरू क्रमशः ती लेखकहरूलाई पढ्न छोड्छन् र अन्य भाषाका साहित्यतिर उन्मुख हुन थाल्छन्। त्यसैले, सोच्नुपर्ने लेखकले हो । विविध भाषा जानेका लेखकहरूसँग त अनेक विकल्प हुन्छन् नि।

. अर्थ साहित्य बिच तालमेल मिलाउँदा अमेरिकीहरूले साहित्यलाई कति महत्व दिनु भएको पाउनु भयो?

यो केही अहदसम्म सत्य रहेको पाइरहेको छु। मैले भ्रमणताका मेरा केही सहपाठी र सहकर्मी पनि भेटेँ। मजस्तै ती पनि साहित्य पढेका हुन् र साहित्यिक रुझान् भएकै हुन्। तर, अमेरिका आएपछि उनीहरूको साहित्यिक रुझान् कतै छुटिसकेको पाएँ। नेपाल हुँदै केही नाम कमाएका लेखकहरू निरन्तर लेखिरहेका भेटेँ, तर यतै हुर्केको नयाँ पुस्ताले साहित्यलाई त्यति प्राथमिक रुचिको विषय बनाएको पाइनँ। उसको अभीमूखीकरण नै पढाइ, जागिर र पैसा भएको छ। अमेरिकी जीवन छ नै यस्तै। स्वाभाविक पनि हो। अँ, संघसस्थाहरूले बालबच्चामा नेपाली भाषा र साहित्यिको ज्ञान र रुचि बढोस् भनेर विशेष प्रयास र पहल गरेको पनि पाएँ। तर यसको परिणाम ठोस रूपमा देखिन त समय लाग्छ।

. आफ्नो अनेक अमेरिकी सहरहरूको भ्रमणको क्रममा, यात्रामा हँदा, अमेरिकीहरूले फुर्सतको क्षण अध्ययन गरेर बिताएको कत्तिको पाउनु भयो?

श्वेत अमिरिकीहरू त जाइँताइँ किताबै बेकेर उभिएका भेटिन्छन्। तर हामी, स्वभावैले निश्चित ठाउँ र परिवेशमा मात्रै पढ्छौँ। यसलाई म अन्यथा लिन्नँ पनि। म आफैँ पनि बाहिर, वा भीडभाडमा पढ्दिनँ। यो त हाम्रो जातीय स्वभाव हो। अमेरिकावासी नेपालीहरूको हकमा फुर्सदको क्षण भन्ने नै खासै नदेखिने रहेछ। तर पनि, पढाइप्रति तीव्र रुचि र अनुराग भएका पाठकहरू निरन्तर पढिरहेकै हुँदारहेछन्। यात्राकै क्रममा मैले भर्खरै आएका राम्रा नेपाली पुस्तक मगाएका र पढिसकेका पनि साथीहरू भेटेँ। कतिपय साथीहरू यहीँ बसेर समीक्षा लेखिरहनुभएको छ, बोलिरहनुभएको छ। यसको अर्थ, पढिरहने एउटा समूह पनि छ। तर यो समूह निकै सानो छ, र यसमा नयाँ पुस्ताको उपस्थिति ज्यादै पातलो छ।

. तपाइँको अमेरिकी भ्रमणको उद्देश्य के हो? त्यो उद्देश्य पूरा भएको पाउनु भयो?

मलाई अमेरिका आउने बाटो खोलिदिएको त अनेसासको पुरस्कार वितरण कार्यक्रमले हो, जसका लागि मेरो पुस्तक अपरिचित अनुहार पनि छानिएको छ। तर यस कार्यक्रमको मितिभन्दा करिब डेढ महिनाअघि नै म अमेरिका आएँ। मलाई, मैले पढेका वा पढाएका कतिपय विषयहरूलाई नजिकबाट बुझ्नु थियो। विशेषतः अमेरिकाका दक्षिणी राज्यमा विद्यमान अश्वेत अमेरिकीहरूको दारुण कथालाई नजिकबाट जान्न मन थियो। मेरो अलाबमा यात्राले मलाई त्यो अवसर दियो। न्युयोर्कमा मैले विश्वशक्तिका कतिपय केन्द्र र स्तम् देखेँभ, जो मेरो लागि रोमाञ्चक अनुभव रह्यो। टोनी मोरिशन तथा जोन स्टनेबेकका रचनामा पढिने दक्षिण अमेरिकी ग्रामिण परिवेश र यहाँको अश्वेत समाजलाई पनि जान्ने मौका पाएँ। यहाँ बसिरहनुभएका नेपाली, तथा नेपाली भाषी भूटानीहरूको कथाव्यथालाई पनि नजिकबाट बुझ्न पाएँ। मजस्ता अध्येताका लागि हार्वार्ड यनिभर्सिटी, मार्टिन लुथर किङको घर तथा रोजा पार्क्स आन्दोलनस्थलमा पुग्न पाउनु निकै ठूलो उपलब्धि हो।  सपनाको अमेरिका र यथार्थको अमेरिकाका बारेमा म थप प्रस्ट भएको छु। डेढ महिनाको छोटो अवधिमा अमेरिकाका करिब १२ राज्यका केही विशेष स्थानको भ्रमण, मलाई लाग्छ, निकै हो।

१०. नेपालमा साहित्य लेखनको कुरा गर्दा, नेपालका साहित्यकारहरूको चिन्तन धारा कत बगेको जस्तो लाग्छ?

पछिल्लो समयको नेपाली लेखनमा अभूतपूर्व राजनैतिक सामाजिक सचेतता पाइन्छ। विभिन्न जात, जाति र वर्गका अधिकारका कुरा आजको लेखनका मूल मुद्दा बनिरहेका छन्। सीमान्नकृतलाई मूल धारमा ल्याउने उपक्रम नै आजको नेपाली साहित्यको केन्द्रीय विषय बनेको छ। साथै, वातावरण संरक्षण, युद्ध, पलायनजस्ता विषय पनि सहायक धारा बनेर बगिरहेको देख्छु। कतिपय आख्यानकारहरू प्राचीन र मिथकीय विषयहरूको पुनरपठनतिर पनि लागेका देखिन्छ। अँ, पुरानो आर्दवाद, एक वा दुई जातिका मूल्यविधानको पृष्ठपोषण र सत्ताको प्रसस्तिगान जस्ता विषय भने करिब करिब नामेट नै बनेर गए।

११. अन्त्यमा, विदेशमा बसेका नेपालीहरूले आफू जहाँ बसेको हो त्यहाँको बारेमा सोंचे हुन्छ। विदेशमा बसेर यता नेपालमा हामी (नेता) हरूलाई यसो गर, त्यसो गरे भन्ने होइन। नेपालको बारेमा सोंच्न हामी छौ। अमेरिकाको भ्रमण गरिसके पछि त्यस किसिमक नेताहरूको भनाइ तपाइँलाई कस्तो लाग्यो?

नेपालको बारेमा हामी सोच्छौँ भन्ने नेताले देशको बोरेमा सोचे? म कलेज र विश्वविद्यालयहरूमा पढाउँछु। मेरो कुनै पनि विद्यार्थी नेपालमा भविष्य छ, नेपालमै बस्छु भन्ने सोच्दैन। किन? यो निराशाको कारण देशको नेतृत्व र सत्ता होइन? नेपालका छिमेकीले ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हाँसिल गरिरहँदा हामी ५ भन्दा कममा रहेको वर्षौं भयो। नेपाली विश्व वा ब्रह्माण्डको जुनसुकै कुनामा रहेको होस्, उसले स्वदेश वा पितृभूमिको चिन्ता गर्छ। माया गर्छ। सहयोग गर्ने, आलोचना गर्ने, बोल्ने, सुझाव दिने र चिन्ता प्रकट गर्ने अधिकार राख्छ। गैरआवासीय नेपालीहरूको मनोलोक, देशप्रतिको माया, आपदविपदमा उनीहरूले देखाएको तदारुकता र सहयोगी भावना, देशभित्रका दलहरूलाई देशबाहिरबाट दिइरहेको आर्थिक र नैतिक सहयोग, देशका ठूला साना परियोजनाहरूमा यिनका लगानी, र कुनै कारण विदेश आइपुगेर समस्यामा परेका नेपालीको सहयोगआदि बारे जानकारी नराख्ने अदूरदर्शी, गैर जिम्मेवार र आलाकाँचा नेताहरूले यस्ता असंवेदनशील कुरा बोल्छन्।

अमेरिका आएपछि थाहा पाएँ — यहाँ बस्ने नेपालीहरूमा नेपालप्रति अगाध माया छ। समर्पण छ। यसको वर्तमान र भविष्यप्रति चिन्ता छ। मातृभूमिको लागि केही गरौँ भन्ने भावना पनि छ। अँ, ससाना मतभिन्नता प्रजातान्त्रिक समाजको चरित्र हो। त्यसबाट अमेरिका वा विदेश पनि अछुतो छैन। यो गौण कुरा हो। देशभित्र रहेर देशको नेतृत्व गर्छु भन्नले विदेशमा रहेका आफ्ना नागरिक वा परिजनबाट सक्दो प्रेम र सहयोग जित्ने वातावरण बनाउनु जरुरी छ।

१२. उक्त नेताहरूले भनेझै के नेपालीहरू विदेश केवल सेवा, सुविधा उपभोग गर्न आएका हुन्छन?

नेपालीहरूलाई विदेशिने वातावरणसम्म हुत्याएको यस्तै आलाकाँचा नेताहरूले हो। धेरै बाध्यताले, र कलिकति रहरले विदेशिएका छन् नेपालीहरू। आखिर, देशमा जीवन सहज भएन, र सरकार अभिभावकको रूपमा उभिन सकेन भने आजको भूमण्डलीकृत समयमा एउटा मान्छे राष्ट्रवाद राष्ट्रवाद भन्दै देशभित्रै झुण्डिरहन्छ भन्ने मलाई लाग्दैन। कोरा भावुकताभन्दा निकै पृथक् छ आजको यथार्थ। मानिसहरू आफ्नो मात्रै होइन, आफ्ना सन्ततिको भविष्यप्रति पनि चिन्तित छन्। देशले दशकौँ दशकमा पनि विकासको एउटा सम्मानजक गति समात्न नसकेको सन्दर्भमा  पलायन अवश्यंभावी हुन पुग्छ।

१३. विदेशमा रहेका (नेपाली) हरूले स्वदेशप्रति देखाउने माया कित्रिम हो वा अर्थहीन हो?

साँचो अर्थमा माया कहिल्यै क्रितृम वा अर्थहीन हुँदैन। र, आजको समयमा मान्छे जहाँ बसोस्, उसले आफ्नो मातृ वा पितृभूमिप्रति माया देखाउने, त्यसप्रति चिन्ता प्रकाट गर्ने र परेका बखत त्यसलाई सहयोग गर्ने पूरापूर अधिकार राख्छ। भावनाको कुरालाई यो हुन्छ वा हुँदैन भनेर तर्क गुर्न अर्थहीन छ। यो आस्था हो, र आस्थामा तर्क गरिन्न।

एकदुई जना अपरिपक्व र अनुभवहीन नेताको भनाइलाई बेवास्ता गरेर आफ्नै लयमा अघि बढौँ भन्न चाहन्छु। तिनका भनाइहरूको कुनै तुक वा आयु हुँदैन, यद्यपि चित्त भने ज्यादै दुखाउँछ। 

Monday, November 6, 2023

Norman, Oklahoma, USA

साहित्यकार महेश पौडेल


 

1 comment:

  1. सुन्दर अन्तर्वार्ता | निकै मननिय प्रसङ्गका प्रश्न साथै कवि समिक्षक महेश पौड्यालको बौद्धिक विश्लेषणात्मक उत्तर |

    ReplyDelete