Friday, July 27, 2012

Financial Problem is Deepening in Spain-Article-52


स्पेनको गहिरिंदो आर्थिक संकट

विश्व अर्थ व्यवस्थामा सुधारको संकेत देखिनुको साटो आर्थिक समस्या झन झन गहिरिने हो कि भन्ने भय उत्पन्न हुन थालेको छ। विश्व अर्थ व्यवस्थालाई यूरोपको अर्थ व्यवस्थाले निकै प्रभाव पार्ने गर्दछ। अर्को तिर, यूरोपको आर्थिक समस्यामा सुधार आउन सकि रहेको छैन। यूरोपको आर्थिक अवस्थाले विश्व अर्थ व्यवस्थालाई धेरै प्रभाव पार्ने भएकोले विश्व अर्थ व्यवस्थामा अझै संकट आउने हो कि भनी संका गरिएको हो। यूरोपका राष्ट्रहरु- पोर्चुगल, ग्रिस, आयरलैण्ड, इटाली पहिले देखि नै समस्यग्रस्त थिए, अब स्पेन पनि गंभिर आर्थिक समस्याको भूमरिमा पर्ने हो कि भनि अनुमान गर्न थालिएको छ। स्पेनले समस्याको समाधान उचित किसिमले गर्न नसकेमामा त्यहाँ बेरोजगारी र गरिबी झनै बढ्दै जाने देखिन्छ। स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव यूरोप हुँदै   विश्व अर्थ व्यवस्थामा समेत पर्ने छ।
स्पेन यूरो जोन भित्र पर्दछ। यूरो जोन भित्र पर्ने यूरोपका १७ राष्ट्रहरु मध्ये स्पेन चौथो ठूलो अर्थ तन्त्र हो। यसै गरी विश्वको बार्हौ ठूलो अर्थ तन्त्र हो भने यूरोपको पाँचौ।  तर अहिले स्पेनमा आर्थिक संकट गहिरिएको छ। स्पेनका प्रान्तीय सरकारहरुले केन्द्र सरकारबाट आर्थिक सहयोग माग गरि रहेका छन। स्पेनमा अहिले हरेक चार जनामा एक जना बेरोजगार रहेको उल्लेख गरिएको पाइन्छ। रोजगारी खोज्ने, २५ वर्ष मुनीकहरु, ५२ प्रतिशत छन। सरकारले लिने ऋणको लागत निकै बढेको छ। १० वर्षे बन्ड (Bonds) को दर ७.५३ पुगेको छ जुन ज्यादै उच्च मानिन्छ। स्पेनले यस वर्ष (सन् २०१२) ८६ बिलियन यूरोको बन्ड निस्कासन गर्ने योजना गरेकोमा ५९ बिलियन निस्कासन गरि सकेको छ। सन् १९९९ देखि २००७ सम्म स्पेनको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा अहिले १ प्रतिशतमा झरेको छ। स्पेनका १७ प्रान्तीय सरकारहरु माथि ठूलो ऋण भार छ। सरकारी अनुमानले, सन् २०१४ देखि मात्र देशको आर्थिक वृद्धि दरमा सुधार आउने उल्लेख गरेको छ।
स्पेनको खराब आर्थिक अवस्थाको प्रभाव यूरो जोनमा तत्काल पर्ने भएकोले समयमै स्पेनलाई आर्थिक समस्याबाट बाहिर ल्याउन यूरो जोनका १६ राष्ट्रहरुले स्पेनलाई १०० बिलियन यूरो ऋण प्रदान गर्ने आश्वासन दिएका छन। यो रकमको प्रयोग स्पेन सरकारले मुलुका समस्याग्रस्त बैंकहरुलाई सहयोग गर्नमा खर्च गर्नु पर्नेछ।  
स्पेनमा जन प्रदर्शनहरु भएका छन, सरकारद्वारा लागू गरिएको आर्थिक अनुशासन (Austerity) विरुद्धमा। सरकारले देशको आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक अनुशासन लागू गरेको छ। गएको हप्ता राजधानी मेड्रिडमा भएको सरकार विरोधी पर्दशनमा १५ जना गिरफ्तार भएका थिए भने घाइते हुनेहरुको संख्या ४० जति थियो। स्पेनको ८० भन्दा बढी शहरहरुमा भएका पर्दशनहरुमा दसौं लाख मानिसहरुले भाग लिएका थिए र भाग लिनेहरुमा कर्मचारी, ट्रेड यूनियनका सदस्यहरु एवं सर्वसाधारणहरु पनि थिए। दंगा नियन्त्र गर्नका लागि सुरक्षाकर्मीहरुले रबरको गोली, अश्रु ग्यास तथा लठ्ठी समेतको प्रयोग गर्नु परेको थियो। प्रदर्शनकारीहरुले सरकारद्वारा गरिएको खर्च कट्टौतिको व्यापक विरोध गरेका थिए।
स्पेनको आर्थिक स्थिति यस किसिमबाट कमजोर हुनुमा खराब लगानी प्रमुख रुपमा जिम्मेबार रहेको विश्वास गरिन्छ। खास गरि प्रान्तीय सरकारहरुले गरेका खराब लगानीको कारणले गर्दा देशको आर्थिक स्थिति यो अवस्थामा आइ पुगेको हो। प्रान्तीय सरकारहरुले भौतिक संरचना, शिक्षा, स्वास्थ्य सुविधा आदिमा आवश्यकता भन्दा बढी लगानी गरे। यसै गरी निजी क्षेत्रहरुले पनि सम्पत्तिमा अर्थात घर जग्गा (होटल, भिल्ला निर्माण) मा बढी लगानी गरे। बैकहरुबाट ऋण लिएर गरिएको यो लगानी त्यति बेला भयो जुन बेला रियल स्टेट (घर जग्गा) को व्यापार तेजीको स्थितिमा थियो। तर अहिले रियल स्टेट व्यापार मन्दीको स्थितिमा छ। र मन्दीको स्थितिले गर्दा लगानीकर्ताहरुलाई लगानीको उचित प्रतिफल पाउन गार्हो परि रहेको छ।
५,०५,९९२ वर्ग किलो मिटरमा फैलिएको स्पेनको जन संख्या (सन् २०११ को अनुमान अनुसार) ४ करोड ७१ लाख ९० हजार ४९३ रहेको छ भने प्रति व्यक्ति आय, अमेरिकी डलरमा, ३२,३६० रहेको छ।
१६ रौं सप्ताब्दि सम्म पनि र  १७ रौं सप्ताब्दि का केही वर्षहरुसम्म पनि, स्पेन यूरोपको अति सम्पन्न र शक्तिसाली राष्ट्र थियो। उपनिवेश कायम गरिएका मुलुकहरुसँगको व्यापार र ती राष्ट्रहरुबाट ल्याइएका सम्पत्तिले गर्दा त्यस बेलाको स्पेन विश्व मै निकै समृद्ध थियो। कुनै समयमा स्पेनको उपनिवेश दक्षिण अमेरिका, अफ्रिका, एशिया-पेसिफिकका द्विपहरु र यूरोप सम्म पनि फैलिएको थियो। स्पेन इतिहासमा पहिलो त्यस्तो सामराज्य थियो जहाँ सूर्य कहिले पनि अस्ताउँदैन भन्ने गरिन्थ्यो। कुनै समयमा त्यति समृद्ध रहेको मुलुक अहिले यो स्थितिमा छ। जबकी धेरै पछि आर्थिक प्रगति गर्न आरम्भ गरेको चीन अहिले विश्वको आर्थिक महाशक्ति राष्ट्र बन्ने सपना देख्दै छ। चीनको यस किसिमको चमत्कारी आर्थिक प्रगतिको श्रेयता भने देङ्ग जिआओ पिंगलाई जान्छ। देङ्ग जिआओ पिंगको सट्टा माओ त्से तुङ्ग अनि उनी जस्ता नेताहरुको चीनमा निरन्तरता भइ रहेको भए अहिले आम चिनियाहरुको हातमा केवल रातो डायरी बाहेक उपलब्धि अरु केही हुने थिएन।

विश्वराज अधिकारी

No comments:

Post a Comment