Wikipedia

Search results

Friday, July 13, 2012

Why the price of gold is rocketing?-Article-50


किन आकासिंदै छ सुनको मूल्य?

सामान्य आर्थिक स्थितिका नेपालीहरुको पहुँचबाट सुन दिन प्रति दिन धेरै टाढा हुँदै गइ रहेको छ। यो  पँहेलो धातु महँगो हुँदै जानुले सुनको गहना लगाउने मध्यम वर्गीय नेपालीहरु समेतको सपना अब केवल सपनामा मात्रै सीमित हुने र सुन केवल बलियो आर्थिक हैसियत वा अति धनीहरुले मात्र किन्न सक्ने स्थिति उत्पन्न हुँदैछ। धेरै मानिसलाई लागेको हुन सक्छ, सुनको गहना बनाउनका लागि सुनको माग बढेकोले सुनको मूल्य बढेको होला। तर त्यस्तो होइन। समाजले सुनको गहनालाई ज्यादै नै महत्व दिने केवल नेपाल, भारत र केही मुलुकहरुमा मात्र हो। नेपाल, भारतमा सुन बिहेको बेलामा, गहना बनाउनका लागि, अति नै प्रयोग हुन्छ। साथै अन्य समयमा पनि गहना बनाउन सुनको निकै प्रयोग हुने गर्छ। हुनत सुनको प्रयोग गहना बनाउनका लागि नेपाल, भारत बाहेक चीन, मध्य पूर्वका देशहरुमा पनि हुन्छ। र हल्का किसिमका गहना निर्माणका लागि सुनको प्रयोग अमेरिका, यूरोप लगाएत संसार भरि नै हुन्छ। तर अहिले जुन किसिमले सुनको मूल्य दिन प्रति दिन वृद्धि भइ रहेको छ, त्यस्तो वृद्धि केवल गहना निर्माणका लागि सुनको मागमा वृद्धि भएर मात्र भएको होइन।
सुनको माग अहिले अन्तरार्ष्ट्रिय बजारमा नै बढि रहेको छ। अन्य क्षेत्रमा गरिने लगानी भन्दा सुनमा गरिएको लगानीलाई ज्यादै सुरक्षति ठानिदै छ, आज भोलि। व्यक्ति विषेश, बैंक, अन्य संघ संस्था लगाएत सरकारहरुले समेत पनि अन्य क्षेत्रमा गरिने लगानीलाई असुरक्षित महसुस गर्दै सुनमा लगानी गरि रहेका छन, सुन खरिद गरि रहेका छन, लगानीलाई अति सुरक्षित पार्ने उद्देश्यले। यसरी चौतर्फी किसिमबाट सुनको मागमा वृद्धि भइ रहेकोले यसको मूल्य झन झन आकासिने स्थितिमा छ।
खास गरी यूरोपको आर्थिक संकटले गर्दा लगानीकर्ताहरु अन्य किसिमका लगानीहरु- विदेशी मुद्रा, शेयर आदि प्रति ससंकित हुँदै गइ रहेका छन। हुनत सन् २००२ तिर एशियाको बजारमा देखिएको वीत्तिय संकटले पनि लगानीकर्ताहरुलाई सुनमा लगानी गर्न प्रेरित गरेको थियो, त्यस बेला। तर अहिले यूरोपको आर्थिक संकटले गर्दा लगानीकर्ताहरु सुनमा लगानी गर्न बढी नै उत्साहित भएका छन। रुस, चीन, दक्षिण कोरिया लगाएत केही अन्य राष्ट्रहरुले सुन खरिदमा जोड दिइ रहेका छन। रुस र चीनले वैदेशिक संचिति (foreign reserve) मा सुनको मात्रालाई बढाउँदै लगेका छन। करिब एक वर्ष पहिले दक्षिण कोरियाको केन्द्रिय बैंकले वैदेशिक विनिमय संचिति ( foreign exchange reserve ) मा अमेरिकी डलरको हिस्सा कम पार्न १.२४ बिलियन (अमेरिकी डलर) भुक्तान गरेर २५ टन सुन खरिद गरेको थियो।
बजारमा हालको जस्तो अनिश्चितता कायमै नै रह्यो, खास गरि यूरोपको आर्थिक अवस्थामा नाटकीय किसिमले सुधार आएन भने सुनेको भाउ वृद्धि हुने क्रम रोकिने देखिंदैन। सुनको भाउ क्रमिक रुपमा बढी नै रहने छ। बजारको पृवृतिले त्यही नै देखाउँदै छ। अन्तरार्ष्ट्रिय बजारमा, सन् २००० ताका प्रति आउन्स ३०० अमेरिकी डलर रहेको सुन मूल्य अहिले लगभग १६०० पुगेको छ। यसरी सुनको भाउ आकासिंदै गइ रहेको छ, दिन प्रति दिन।
हुनत सुनको माग गहना प्रयोजनका लागि अहिले पनि उच्च छ। सुनको कुल माग मध्ये गहनाका लागि ५५, लगानीका लागि ३३ र प्रविधिका लागि १२ प्रतिशत माग भएको पाइन्छ। सुनको सबै भन्दा ठूलो मागकर्ता एवं प्रयोगकर्ता भारत हो। केही मात्रामा लगानीका लागि भएता पनि मुख्य गरी गहना कै लागि भनेर भारतमा ठूलो परिमाणमा परिवारहरुले सुन खरिद गर्छन।
सुनको आपूर्ति ठूलो मात्रामा खानीबाट हुन्छ। खानीले सुनको कुल आपूर्ति मध्ये ६१ प्रतिशत आपूर्ति गर्छ। यसै गरी संगठनहरुले २ प्रतिशत जति गर्छन। पुन प्रयोग (recycling) बाट ३७ प्रतिशत जति सुनको आपूर्ति हुन्छ।  
लण्डन स्थित मेटल्स-कन्सल्टिंग कम्पनी सि आर यू का अनुसार सन् २०११ मा विश्व मै सर्वाधिक सुन उत्पादनका गर्ने राष्ट्रहरुको सूचि यस प्रकार रहेको छ-
देश                                   उत्पादन (मेट्रिक टन)
१ चीन                                 ३८०
२ अष्ट्रेलिया                             २७२
३ स रा अमेरिका                        २४३
४ दक्षिण अफ्रिका                        २२१
५ रसिया                               २०५
६ पेरु                                 १५६
७ घाना                                १०२ 
८ क्यानाडा                             १०१
९ इन्डोनेसिया                           ९७
१० मेक्सिको                            ८२
सोही अवधिमा विश्व भरिमा सुनको कुल उत्पादन २,७८९ मेट्रिक टन भएको थियो।
अन्य तथ्यांकहरुले देखाए अनुसार विश्वमा सुन बढी उपभोग गर्ने राष्ट्रहरुमा (खरिद मूल्य अनुसार) भारत, चीन, यूरोपेली राष्ट्रहरु, मध्य पूर्वका राष्ट्रहरु, स रा अमेरिका, जर्मनी, टर्की, स्विट्जरलैंड, थाइलैण्ड आदि पर्दछन।
नेपालमा, हाल सुनको मूल्य प्रति तोला (छापावाल) रू ४८, ३५० जति रहेको देखिन्छ। माथि उल्लेख गरिएका कारणहरुले गर्दा अन्तरार्ष्ट्रिय बजारमा सुनको मल्यमा वृद्धि यसै गरी भइ नै रहने हो भने नेपालमा पनि सुनको मूल्यमा अवश्य पनि वृद्धि हुने छ। नेपालमा पनि गहना प्रयोजनका लागि ठूलो परिणाममा सुनको माग हुन्छ। तर सुनको मूल्य आकासिंदो अवस्थामा रहेकोले तुलनात्मक रुपमा कमै परिवारहरुले सुन खरिद गर्न सकि रहेका छन, मौजुदा स्थितिमा। नेपालमा खास गरी विवाहको समयमा सुनको माग ठूलो परिणाममा हुन्छ। परम्परागत रुपमा, संस्कृति धान्ने हिसाबले पनि मुलुकमा विवाहको समयमा सुनको मागमा वृद्धि हुन्छ। तर अर्कोतिर सुनको मूल्य आकासिंदो छ दिन प्रति दिन। सामान्य आर्थिक हैसियत भएका परिवारहरुको पहुँचबाट सुन निकै टाढा पुगेको छ। यस किसिमको परिस्थितिमा परम्परा, संस्कृति धान्न नेपालीहरुले गहनाका लागि सुनको प्रयोगको विकल्प खोज्नु पर्नै देखिन्छ। सुनको साटो चाँदीलाई प्रयोगमा ल्याउने हो कि गहना बनाउनका लागि?

विश्वराज अधिकारी

No comments:

Post a Comment