Wednesday, July 4, 2012

Kirti Cinema Hall-Story-26

कीर्ति  सिनेमा  हल

, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु  जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको  वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीसपैंतालीस वर्ष पहिलेको वीरगंज ।  भौतिकरूपमा होइन, काल्पनिकरूपमा । म, समयको चक्र  उल्टो घुमाएर तपाईंलाई चालीस  पैंतालीस वर्ष पहिलेको वीरगंजमा लग्दैछु । 
   
हामी चालीसपैंतालीस वर्ष पहिलेको वीरगंज पुग्यौं । अहिले हामी पावर हाउसमा छौं । आउनुस् पहिले म तपाईंलाई तेजारथ टोल लग्छु । तेजारथ टोल अगाडिको यो सडक, यहाँ तपाईं रिक्सा पाउन त सक्नुहुन्छ तर जुन बेला पनि  भने होइन । वीरगंज चीनी कारखाना र कृषि औजार कारखानाका  कर्मचारीहरू वा अन्यले त्यता  लगेका रिक्साहरू खाली फर्केका छन् भने मात्र रिक्सा पाउन सक्नुहुन्छ । अथवा कुनै रिक्सा, त्यतिकै तेजारथ टोल अगाडिको यो सडकमा कोही चढ्ने मान्छे कुरेर बसेको छ भने, मात्र ।
   
हामी रिक्सा नचढौं । हिंडेर नै जाउँमुडली (मुर्ली) चोकतिर । तपाईंलाई थाहा छैन होला, तेजारथ टोल वा श्रीपुर वा मुडलीका बासिन्दाहरू वीरगंज जाउँ भन्छन् किनभने वीरगंज छुट्टै शहर हो र नगरपालिका पनि । जबकि श्रीपुर, मुडली आदि गाउँ हुन् । मुडलीबाट हिंडेको केही छिनमा हामी रेल्वेस्टेशन नजिक आइपुगेका छौं । ऊ त्यो, हामी हिंडेको यो सडकदेखि पश्चिमतिर एउटा रातो भवन देखिरहनुभएको छ नि, त्यो रेल स्टेशनको अफिस हो । अनि छेउका राता घरहरू रेल्वेमा काम गर्ने कर्मचारीहरू बस्ने क्वाटर हुन् । कुनै बेला यो ठाउँमा एउटा व्यवस्थित रेल स्टेशन थियो । रेल स्टेशनका भवनहरू अहिले पनि छन, जुन अघि मैले देखाएँ ।  तर अहिले यात्रुवाहक रेल चल्दैन । रेलले केवल रक्सौलबाट वीरगंजसम्म सामानमात्र ओसार्छ । तर पहिले रेल भारतको रक्सौलबाट वीरगंज हुँदै अमलेखगंजसम्म जाने गर्दथ्यो, यात्रुहरू बोकेर । अहिलेसम्म रक्सौलमा नेपालको एउटा रेल स्टेशन छ । हेर्नुस्, यी रेलका लिकहरू अहिले पनि छन् । वीरगंजबाट परवानीपुर छेउका गाउँ जान पनि मान्छेहरू रेल चढ्ने गर्दथे, त्यो बेला । परवानीपुरमा रेल स्टेशन थियो । अमलेखगंजमा पनि । ती स्थानहरूमा रेल्वेका भवनहरू अहिले पनि छन् ।
   
अब हामी मीना बजारको अगाडि, सुन्दर स्टोरको नजिक आइपुगेका छौं । अलिकति अगाडि हिंडे पछि माईस्थान चोक आइपुग्छ । तर माईस्थान चोक आउनुभन्दा पहिले देब्रेतिर अमृत केबिन देखिने छ र  अलिकति हिंडेपछि हिमाञ्चल  केबिन दाहिनेतिर सडकको पश्चिम दिशामा । हिमाञ्चल केबिन र अमृत केबिन, दुवै वीरगंजका नाम चलेका रेस्टुरेन्ट हुन् ।
   
हामी माइस्थान चोकमा आइपुगेका छौं । यो चौकबाट देब्रेतिर वा पूर्व दिशामा जाने हो भने माईस्थान मन्दिर आइपुग्छ । तर माईस्थान मन्दिर आउनुभन्दा  पहिले सडकको दुवैतिर केही सेकुआ पसलहरू देख्न सक्नु हुन्छ । एक दुईवटा पाउरोटीको  पसल पनि देख्न सक्नुहुन्छ, सडकको दक्षिणपट्टि । एउटाको नाम गणेश बिस्कुट  कम्पनी हो । अब हामी माईस्थान चोकबाट दाहिनेतिर मोडिएर, पश्चिम दिशामा, घडिअर्वातिर जानेछौं । र यो चोकबाट हिंडेको केही छिनपछि नै, बाटोको दाहिनेतिर, कीर्ति सिनेमा हल देखिने छ । र म तपाईंलाई त्यही कीर्ति सिनेमा हलमा लग्दैछु । त्यहाँ पनि छरिएका छन् मेरो प्रेमका कथाका केही पानाहरू ।
   
हामी कीर्ति सिनेमा हल आइपुगेका छौं । यो सिनेमा हल वीरगंजको निकै लोकप्रिय सिनेमा हल हो । कीर्ति सिनेमा हल भनेपछि वीरगंजका बच्चाबच्चाले चिन्छन् । यो हलका केही विशेषताहरू छन्, ती के हुन्  भने यसमा थर्ड क्लास  पनि  छ र टिकट काटेर, बेलैमा हल भित्र पसेर, थर्ड क्लासमा  राखिएका बेन्चहरूमा बस्न सक्नुभएन भने भुइँमा बस्नुपर्छ । र भुइँमा बस्नका लागि तपाईंले  इँटा खोज्नुपर्छ । अझै होश पुर्‍याउनुपर्ने कुरा त के छ भने  इन्टरवलमा बाहिर जाँदा आफू बसेको इँटा लुकाएर जानुपर्छ । होइन भने त्यो इँटा अर्कोले लिएर बस्न सक्छ, तपाईं  फर्केर आउँदासम्म । यी विषेशताहरू खास हुन् । अरू  पनि केही विषेशता छन् । ती के हुन् भने यो हलमा दुई तीन हप्तामा नै फिल्म बदलिरहन्छ । यो हलले फिल्म प्राय: नयाँनयाँ ल्याउने गर्छ । काठमाडौंमा त एउटा फिल्म छ सात महिनासम्म  चल्छ रे । म काठमाडौं गएको त छैन, सुनेको मात्र हो ।  जेहोस्, यो हलको थर्ड क्लासमा  बसेर किफायती किसिमले सिनेमा हेर्न सकिन्छ, सस्तोमा, जम्मा ७० पैसामा । हामीजस्ता  विद्यार्थीहरूका लागि त  वरदान नै भएको छ, यो कीर्ति सिनेमा हल, आफूसँग भएको थोरै पैसाले धेरै रमाइलो पाउनका लागि । अनि मेरा लागि त, प्रभालाई भेट्ने सजिलो र भरपर्दो  ठाउँ पनि । यो हलमा, अझ शनिवार छ भने त कन्सेसन समेत पाउनुहुन्छ टिकट किन्दा । यस्तै पैंतालीसपचास पैसा पर्छ होला, थर्ड क्लासको टिकट काट्नका लागि । तर शनिवारको कन्सेसन शोमा टिकट लिन भने अति नै बल प्रयोग गर्नुपर्छ ।  नयाँ फिल्म  चलेको छ भने त महाभारतमा भीमले दुर्योधनसँग युद्ध गरेझैं युद्ध गर्नुपर्छ टिकट लिनका लागि, थर्ड क्लासको टिकट लिन, यो झ्यालमा । मान्छेको जीउमाथि नै पनि चढ्नुपर्छ, बेलैमा टिकट लिनका लागि । साधना हिरोइन भएको एक फूल दो मालीफिल्म यो हलमा चलेको बेला त टिकट लिन ठूलो युद्ध नै गर्नुपरेको थियो, मेरो ग्रुपले । मेरो ग्रुपको सबैभन्दा बलियो कृष्णलाई टिकट काट्ने जिम्मा दिएका थियौं । हाम्रो काम चाहिं उसलाई धकेलेर टिकट काट्ने झ्यालसम्म पुर्‍याउनु थियो । साधना हिरोइन भएको फिल्म हेर्न त्यसै त्यसै भीड हुन्छ । साधनको कपाल भनेपछि केटीहरू त हुरुक्कै हुन्छन् । त्यो फिल्म हेरेपछि धेरै केटीहरूले साधना जस्तो हेयर कटराखेका छन् । प्रभाले त्यो फिल्म कतिपटक हेरि सकिन्, अनि उनीसँगै मैले पनि । 
   
थर्ड क्लासमा केवल आठदस ओटा बेन्च मात्र राखिएको  हुनाले टिकट काटेर छिट्टै पुग्नुभएन भने सिट पाइँदैन । कोही पहिले पुगेको छ भने आफ्नो ढिलो भएको साथीका लागि आफ्नो रुमाल सिटमा 
राखेर रिजर्भ गर्छ । जेठ, असारको गर्मीमा, पसिनाले  कपडा भिजेर हैरानी नै हुन्छ । एक दुईपटक त सर्ट खोलेर  निचोर्नु नै पर्छ, फिल्म हेर्दाहेर्दै । 
   
कीर्ति सिनेमा हलको एउटा अर्को  पनि विशेषता छ । यसमा जनाना र मर्दाना क्लास बेग्लाबेग्लै छ । र पस्ने ढोका पनि बेग्लाबेग्लै छ । पूर्वतिरको ढोकाबाट पुरुषहरू प्रवेश गर्छन् । पश्चिमतिरबाट महिलाहरू, जनाना क्लासमा जानका लागि । 
   
अब म मूल कथामा आउँदै छु । मेरो र प्रभाको भेट प्राय: हरेक शनिवार वा एउटा दुईटा बिराएर, यै सिनेमा हलमा हुन्छ। हुनत स्कूलमा  पनि हुन्छ तर डराइडराई ।  यहाँ भने खुलेर कुरा हुन्छ । म आठ क्लासमा पढ्छु अनि प्रभा नौ क्लासमा । हामी दुवैजनाको घर तेजारथ टोल, कटन मिल नजिक छ । सिनेमा हेरेर  घर फर्कंदा हामीबीच निकै लामो कुरा हुन्छ । घर फर्कंदा हामी प्राय: हिंडेर नै जान्छौ, पैसाको अभावले गर्दा, खास  गरी म ।
   
म त, आफू अलि बिग्रेको हो कि जस्तो लाग्छ । केटाकेटीदेखि नै बरालिएको । प्रेमपनि सानै उमेरमा गरियो । पढाइभन्दा बढी स्कूलमा ध्यान दिने गर्छु, अनि किताबभन्दा प्रभामा । स्कूल जानु मेरो लागि पढ्नुभन्दा बढी चासो प्रभालाई भेट्नु हो ।
   
स्कूल यति मन पर्छ मलाई कि आठ क्लासमा पढेको दुई  वर्ष हुन थाल्यो । एक वर्षमा नै आठ क्लास सकिन्थ्यो  होला, तर के गर्नु, प्रभाको पछि लाग्न र कीर्ति सिनेमा हलतिर दौडिनुपरेकोले  आठ क्लासमा नै दुई वर्ष लाग्ने भयो, जस्तो छ । आठ क्लासमा अझै एक वर्ष बस्नुपर्ने हो कि ? के गर्ने पढ्न पटक्कै मन लाग्दैन ।
   
हामी अहिले कीर्ति सिनेमा हलमा नै छौं । आमासँग अलिकति पैसा फुत्काएको थिएँ बिहान, त्यसैले आज सेकेन्ड  क्लासको टिकट काट्छु । अनि  प्रभालाई पनि मैले नै पैसा दिन्छु, टिकट काट्न ।
   
न बिर्सनुहोला, तपाईं अहिले मसँग चालीसपैंतालीस वर्ष पहिलेको वीरगंजमा घुम्दै हुनुहुन्छ नि । हामीले समयलाई उल्टो गतिमा दौडाएका छौं । र त्यो बिन्दुमा पुर्‍याएका छौं । 
   
तपाईंलाई एउटा कुरा भनौं, है । त्यो मेरो ठूलो डर पनि  हो । त्यो डर के हो भने प्रभा र मेरो प्रेम केवल प्रेम  वा भनौं अधूरो प्रेममा नै सीमित हुन्छ होला, त्योभन्दा अगाडि बढ्न सक्दैन कि । हाम्रो बिहे हुन सक्दैन होला । न हुन सक्ने कारणहरू पनि छन् । हामी उमेर नपुगेकाहरूले गरेको प्रेमलाई कसले पत्याउने ? अर्को कुरा, हामी दुई फरक  जातका पनि हौं । हुन  त म जातपात मान्दिनँ । स्कूलमा मिश्रा सरले पनि  भन्नुहुन्छजातपातछुवाछूत सबै अन्धविश्वासी कुरा हुन् । मानिसको एउटै जात हुन्छ र त्यो हो, मनुष्य । संसारभरिका  सबै मानिसमा एकै रङको  रगत बग्छ छ, त्यो हो रातो रङ । जब संसारभरिका मानिसको  रगतको रङ एउटै हुन्छ भने जात कसरी फरक हुन सक्छ ?
   
मिश्रा सरको कुरा मलाई निकै मन पर्छ । मिश्रा सर मेरो लागि धेरै ठूलो मान्छे हो । संस्कृत पढाउनुहुन्छ मिश्रा सरले ।  प्रभा र मेरो बाआमाको  पनि मिस्रा सरको  जस्तै  विचार भइदिएको भए कति राम्रो हुन्थ्यो होला । 
   
मेरो र प्रभाको बिहे हुन नसक्ने अर्को कारण पनि छ । एक त म पढ्नमा मन नलगाउने, बरालिएको मान्छे, अर्को मेरो परिवार निकै गरिब छ । प्रभाको परिवार भने  धनी । हेर्दै जाउँ के के हुन्छ । मिश्रा सरले भन्नुहुन्छ हारिए न हिम्मत बिसारिए  न हरि नाम। गहबामाईको  कृपा रहनुपर्छ म माथि । 
   
, यो कीर्ति सिनेमा हलमा आएको दुई घण्टाभन्दा बढी भइसक्यो । कतिवटा गीत पनि बजिसक्यो । टेलरहरू पनि कतिवेटा देखाइसक्यो । गेटकीले कालो पर्दा पनि  झारिसक्यो । पाँचदस मिनेट  पछि सिनेमा शुरु हुन्छ होला । हिजो, स्कूल छाडेर नै भएपनि कीर्ति सिनेमा हलमा आउनुभनेको थिएँ प्रभालाई, मैले । तर किन हो आउन सकिनन् । प्रभाले सिनेमा हेर्न नपाएकोले म पनि हेर्दिनँ । स्कूलतिर नै फर्कन्छु ।
   
अब आउनुस् म तपाँईलाई वर्तमानको वीरगंजमा लग्दैछु । २०६९ साल जेठ महिनाको २९ गते सोमवारको वीरगंज ।  यो गीता मन्दिरबाट हामी घण्टाघर  जाउँ । त्यहाँबाट बसपार्क जाउँला । अनि, हामीले भोलि काठमाडौं जाने टिकट पनि त लिनुछ नि, होइन, महेन्द्रजी ? 
   
पाठकहरू, तपाईंहरूलाई एउटा कुरा भन्न बिर्सें है, मैले ।  मसँगै रहेका, मेरो प्रेमकथा सुन्ने व्यक्ति महेन्द्र यादव हुन् । हामी दुवै नोर्थ अमेरिकाको एउटै युनिभर्सिटीमा  पढाउँछौं । म इन्टरनेशनल बिजनेस पढाउँछु, यादव इकोनामिक्स ।  हामी दुवै, समर भेकेसनमा नेपाल  आएका हौं । परिवार, इष्टमित्रसँग भेट्न । मैले यादवलाई  आफ्नो होम टाउन वीरगंज, र किशोर अवस्थामा मैले अति फिल्म हेर्ने मेरो होम टाउनको हल, कीर्ति सिनेमा हल कहाँ थियो भनी देखाउन ल्याएको हो । यादवको घर जनकपुरको जनकचोक हो ।

“Hey, Yadav, how is my love story?”

“Its very interesting”

“So, you have been in love with Prava bhauju since your early childhood, right?”

“Yea. I fell in love when I was in 8th grade.”
“Binod, really you are a self-made man.”

विश्वराज अधिकारी

No comments:

Post a Comment