Wikipedia

Search results

Friday, September 9, 2011

लेख - १० किन एक्लिएको छ बर्मा

 संसारमा के भइरहेको छ बर्मालाई मतबल छैन। बाँकी संसारले पनि बर्मामा के भइरहेको छ त्यस बारे खासै चाँसो राखेको जस्तो देखिँदैन। केही छिमेकी राष्ट्रहरुले त एक किसिमले बर्माका वर्तमान सेना समर्थित सरकार वा  शासकहरुलाई नबुझिँदो रुपमा सहयोग गरेका छन र यस्तो गर्नुमा उनीहरुको आफ्नै किसिमको स्वार्थ छ। बर्माका वर्तमान शासकहरुलाई रुष्ट पारेमा बर्मा आफ्नो प्रभाव क्षेत्रभन्दा बाहिर जाला भन्ने पीर एक थरिलाई छ भने बर्मा जस्तो राम्रो बजार आफ्नो हातबाट गुम्ला भन्ने पीर अर्को थरिलाई छ। उनीहरुको बिचारमा बर्माको सैनिक सत्ता वा नाम मात्रको नागरिक सरकार परिवर्तन भएमा र यदि नागरिक सरकार आएमा, त्यसरी फेरिएको सरकारले उनीहरुलाई सहयोग नै गर्ला भन्ने कुराको कुनै ग्यारंटी छैन।
खास गरी अंग्रेजहरुको शासनको समयमा बर्मालाई एसियाको हब मानिन्थ्यो र यहाँबाट नै उनीहरुलाई एशियाका अन्य मुलुकहरुमा जान सजिलो पर्थ्यो। बर्माको राष्ट्रिय सिमानाले अन्य धेरै राष्ट्रहरुलाई छुन्छ। यातायातको दृष्टिकोणले बर्मालाई एशियाका अनेक राष्टहरुमा पुग्न सुगम बिन्दुको रुपमा लिने गरिन्छ। विश्वमा नै दुई आर्थिक महाशक्तिको रुपमा उदाउन थालेका राष्ट्रहरु- भारत र चिन बर्माका नजिक छिमेकी राष्ट्रहरु हुन। बर्मा आफै पनि साधन सम्पन्न राष्ट्र हो। अंग्रेजहरुको शासनकालमा बर्मा दक्षिण-पूर्व एशियाको दोस्रो धनी राष्ट्र थियो। त्यति मात्र होइन, विश्वमा ठूलो परिमाणमा चामल निर्यात गर्ने राष्ट्रहरु मध्ये बर्मा पनि एक थियो। बर्मालाई अहिले पनि जन सक्ति र प्राकृतिक स्रोतका लागि धनी मान्ने गरिन्छ। तर यी सबै कुराहरु हुँदा हुँदै पनि बर्मा अहिले दक्षिण-पूर्व एशियाको अति निर्धन राष्ट्रहरु मध्ये एक हुन पुगेको छ। र बर्माको स्थिति यस्तो हुनुमा मुख्य रुपमा जिम्मेबार त्यहाँको सरकारमा सेनाको नियन्त्रण रहँदै आउनु हो। सन् १९६२ मा प्रजातान्त्रिक व्यवस्था समाप्त पारि जेनरल ने बिन एक सैनिक बिद्रोहद्वारा सत्तामा आए पछि बर्माको सरकारमा अहिलेसम्म पनि सेनाको नियन्त्रण रहँदै आएको छ र त्यो परिपाटिमा परिवर्तन हुने छाँट काँट देखिएको छैन। जेनेरल ने बिनले करिब २६ वर्षसम्म बर्माको सत्ता आफ्नो हातमा लिए। सरकारमा सेनाको नियन्त्रण र  उदार एवं बजारमूखि अर्थ व्यवस्थाको अभावको कारणले गर्दा देशमा साधन सम्मपन्नताको स्थिति हुँदा हुँदै पनि बर्मा आज विश्वमा निर्धन राष्ट्रहरु मध्ये एकको चिनारी लिन बाध्य हुन पुगेको छ। कुनै समय यस्तो थियो, नेपाल त के भारतबाट समेत मानिसहरु ब्यापार र रोजगारीका लागि बर्मा जाने गर्थ्ये, त्यहाँको आर्थिक सम्पन्नताले गर्दा। एउटा हिन्दी गित, जुन आफ्नो समयमा निकै प्रचलित थियो, को बोल यस्तो छ ‘मेरे पिया गए रंगुन  किया है वहाँ से टेलिफोन तुम्हारी याद सताती है-२ जिया मे आग लगाती है।’ भारतले अहिले यति आर्थिक प्रगति गरेको छ कि आर्थिक प्रगतिको हिसाबले अहिले भारत र बर्माको तुलना गर्न गार्हो छ। नागरिक हकको उपभोगको हिसाबले नेपाल बर्मा भन्दा निकै राम्रो स्थितिमा छ। बर्माका शासकहरुले आफ्नो सत्ता टिकाई राख्न वा शक्तिमा रहिरन का लागि सेनाको सहयोग नलिएको भए अथवा सेनाले राज्यको शासन व्यवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप नगरेको भए, अनि देशमा प्रजातान्त्रिक व्यवस्थाद्वारा लचिलो आर्थिक कार्यक्रमहरुको घोषण तथा कार्यान्वयन गरेको भए बर्मा अहिले एशियाका समपन्न राष्ट्रहरु मध्ये एक हुन्थ्यो त्यहाँ उपलब्ध स्रोत र साधनहरुलाई दृष्टिगत गर्दा। मलेसिया, इन्डोनेशिया जस्ता नव धनाड्य राष्ट्रहरुलाई उछिन्थ्यो होला आर्थिक प्रगतिको दौडमा। देशका शासकहरुको अनुदार आर्थिक र राजनैतिक व्यवस्थाले गर्दा  मुलुक सम्पन्नताको स्थितिबाट कति सजिलै गरी बिपन्नताको स्थितिमा पुग्छ भन्ने यथार्थको उदाहरण हुन पुगेको छ बर्मा वा म्यानमार। बर्मा अहिले बाँकी विश्वदेखि एक्लिएर, अलग्गिएर बसेको छ र एक किसिमले आफ्नो वरिपरि एक किसिमको काल्पनिक पर्खाल खडा गरेको छ, कोही पस्ला भन्ने डरले। तर विश्व परिस्थिति भने ठ्याकै विपरित छ। वर्तमान विश्व परिस्थितिमा प्रत्येक राष्ट्रले आफ्नो राष्ट्रको आथिक एवं सामाजिक विकास गर्न विश्वका अन्य विभिन्न राष्ट्रहरुसँग मिलेर काम गर्नु पर्ने अनिवार्यता छ। विश्वको कुनै पनि राष्ट्रले आर्थिक प्रगति गर्नका लागि आफूलाई विश्व अर्थ व्यवस्थासँग आवद्ध गर्ने पर्छ, यो अहिलेको कटु यथार्थ हो। यो कटु यथार्थलाई कसैले मान्दैन भने त्यो केवल दुर्योधन-हठ मात्र हुन सक्छ।
सन् २०१० को अनुमान अनुसार म्यानमारको जनसंख्या ५ करोड ८८ लाख ४० हजार रहेको थियो। कुल गार्यहस्थ उत्पादन भने यू यस डलरमा ७६, ४७३ बिलियन थियो। यसै गरी प्रति व्यक्ति आय यू यस डलरमा ७०२ रहेको उल्लेख गरिएको थियो। ६,७६,५४८ वर्ग किलोमिटर फैलिएको म्यानमारको  उत्तरपूर्वमा चिन पर्दछ। पूर्वमा लावोस पर्दछ भने थाईलैण्ड दक्षिण पूर्वमा पर्दछ। यसै गरी पश्चिममा बंगलादेश अनि भारत उत्तरपश्चिममा पर्दछ। बंगालको खाडी दक्षिणपश्चिममा पर्दछ। म्यानमारको चारैतिर फैलिएको एक तिहाई भूभागले समुद्रलाई छुन्छ। देशको ठूलो भुभागले समुन्द्रलाई छुनु र सीमाना पनि धेरै देशहरुसँग जोडिनु आर्थिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण कुरा हो। समुद्रीतटको सुगमताले यातायात लागत कम पार्छ भने धैरे देशसँग सीमाना जोडिएमा निर्यात व्यापारको विकासमा थप बल पुग्छ। म्यानमार विश्वको ४० औ ठूलो राष्ट्र हो भने दक्षिणपूर्व एशियाको दोस्रो ठूलो राष्ट्र हो। र यसै गरी जन संख्याको हिसाबले विश्वको २४ ठूलो राष्ट्र हो। म्यानमारको वार्षिक आर्थिक वृद्धि दर केवल २.९ प्रतिशत रहेको छ। म्यानमारको स्वास्थ्य सुबिधालाई विश्वमै  दयनीय मानिन्छ। यसै गरी त्यहाँ भएका मानवाधिकार हननका घटनाहरु पनि ज्यादै  गंभिर प्रकृतिको रहेको भनी समाचारहरुमा उल्लेख गरिएको पाइन्छ।  संयुक्त राज्य अमेरिका, यूरोपियन युनियन, क्यानाडा, अष्ट्रेलिया र केही अन्य राष्ट्रहरुले म्यानमारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन। तर व्यापारिक फाइदाका लागि चिन र भारत का साथै अन्य केही राष्ट्रहरुले भने म्यानमारसंग राम्रो सम्बन्ध कायम मात्र गरेका छैनन साथै लगानी पनि गरिरहेका छन त्यहाँ। सैनिक शासकहरुले अर्थ व्यवस्थामा निजी क्षेत्रको भूमिकालाई प्राय: सून्य पारेको स्थितिमा म्यानमारको आर्थिक प्रगति कुन किसिमले हुने हो कौतुहलताको विषय हुन पुगेको छ। कौतुहलताको विषय यस हुनाले भएको छ कि निजी क्षेत्रको भूमिकालाई शून्य वा ज्यादै न्यून पारेर कसैले राष्ट्रिय अर्थ तन्त्रको विकास तिब्र गतिमा  गर्छु भन्नु पेट्रोल नभएको ट्रकलाई डोरीले तानेर कुदाउँछु भन्नु हो।
४ जनबरी १९४८ मा बर्मा, अहिलेको म्यानमार, संयुक्त अधिराज्यको उपनिवेसबाट मुक्त भएको थियो। सैनिक शासक जुन्टाले सन् १९८९ मा देशको नाम बर्माबाट म्यानमार गरेको थियो। यसै गरी रंगुनलाइ पनि याङ्गुन गरेको थियो।

विश्वराज अधिकारी


(September 9, 2011 मा प्रतीक दैनिकमा प्रकाशित)

No comments:

Post a Comment