श्रमका कमजोरीहरु
श्रमको अर्को कमजोरी के हो भने श्रमलाई श्रमिकबाट अलग पार्न सकिँदैन। कुनै श्रमिकले आफू बीरगंज बसरे आफ्नो श्रमलाई सिमरा वा जितपुर पठाउन सक्तैन। तर पूँजीपतिले आफ्नो पूँजी आफू बीरगंजमा बसरे आफ्नो पुँजीको लगानी सजिलैसँग सिमरा वा जितपुर मात्र होइन बजारको अवस्थाले भ्याएसम्म एशिया, युरोपसम्म पनि गर्न सक्छ। विश्वमा भएको वैकिङ्ग सेवाको अभूतपूर्व विकासले गर्दा त विकसित मुलुकहरुमा कुनै एक व्यक्तिले सजिलैसँग आफ्नै देशमा बसेर अन्य देशहरुमा लगानी गर्न सक्छ। श्रमको अर्को कमजोरी के हो भने लघुकालमा श्रमको आपूर्ति बढाउन सकिँदैन। उदाहरणका लागि बीरगंजको कुनै उद्योगको क्षमता १ गते ४००० इकाइ उत्पादन गर्ने थियो र त्यो क्षमतामा बिस्तार भएर( उद्योगले कच्च पदार्थ बढी खरीद गर्न सकेर) २ गते त्यो उद्योगले ८००० इकाइ उत्पादन गर्न स्थिति भयो भने वृद्धि भएको सो क्षमता अनुसार वीरगंजको श्रमिकको संख्यामा (सबै परिस्थिति सामान्य रहेमा) तत्काल वृद्धि गरेर उत्पादनको परिणाममा वृद्धि गर्न सकदैन। यहाँ भन्न यो खोजिएको हो कि श्रम बजारमा भएको श्रम को माग वृद्धिको फाइदा मौजुदा श्रमिकहरुले लिन पाउँदैनन। एउटा श्रमिकले श्रम बजारमा उसको श्रमको माग जति बढी भएता पनि दिनमा ८ या १० घण्टा भन्दा बढी श्रम गर्न सक्दैन, अथवा थप श्रम बेच्न सक्दैन, श्रमको मागमा तत्काल वृद्धि भएता पनि। अर्को उदाहरणमा, मानौ, एउटा कुनै सैलुन संचालक, जसले एक्लैले सैलुन संचालन गरेको छ, कुनै एक दिनमा कपाल काट्नेहरुको संख्यामा व्यापक वृद्धि भयो र मानौ उसको सैलुनमा २०० जना कपाल काट्न एकै चोटी आए भने उसले केवल आफ्नो क्षमता अनुसार त्यो एक दिनमा २० या २५ जनाको मात्र कपाल काट्न सक्छ। बाँकी अरुको सक्दैन र ती ग्राहकहरु अर्को सैलुनतिर लाग्छन। र यसरी त्यो सैलुन संचालकले १७५ वा १८० जना थपको कपाल काटेर आउने रकम गुमाउँछ। तर कुनै व्यापारीलाई भने यस्तो अवस्थामा श्रमिकलाई जस्तो असर पर्दैन। जस्तै कुनै व्यापारीले दिनको १०० थान सलाई बिक्री गरिरहेको छ र आजै कै दिनमा त्यो सलाईको माग बढेर २०० थान भयो भने उसले थप १०० थान सलाईको आपूर्ति सजिलैसँग गरेर थप मुनाफा कमाउन सक्छ। यी कुराहरुको चर्चा किन गरिएको हो भने श्रमका विभिन्न किसिमका कमजोर पक्षहरु रहेकोले श्रमिकहरुले वा श्रम संगठनहरुले रोजगारदाता वा उसका प्रतिनिधिसँग सौदाबाजी (Collective bargaining) गर्दा बढो ध्यान पुर्याएर गर्नु पर्दछ। श्रमिकहरुको हितको रक्षा दीर्घकालमा कसरी हुन सक्छ त्यसतर्फ ध्यान बढी केन्द्रित गर्नु पर्दछ। श्रमिकहरुले आफ्नो हितको रक्षा कारखान संचालनमा राखेर गर्नु पर्दछ किनभने कारखाना बन्द हुँदा रोजगारदाता भन्दा बढी घाटा श्रमिकहरुलाई हुन्छ। जुन दिन श्रमिकले काम गर्न सकेन त्यो दिनको श्रमको उपयोग उसले फेरि गर्न पाँउदैन तर रोजगारदाताले यदि कुनै दिन उत्पादन गर्न पाएन भने उसले उत्पादन हुन नसकेको दिनको जति उत्पादन भोलि या पर्सी या आउँदा दिनहरुमा गरेर उत्पादन नभएको दिनको क्षतिपूर्ति गर्न सक्छ।
विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले गर्दा पनि श्रमिकहरुका लागि थप चुनौति खडा गरिदिएको छ। र यो समस्या खास गरी विकसित मुलुकहरुमा बढी देखिएको छ। तर यो समस्या विस्तारै नेपाल जस्तो विकासशील मुलुकमा पनि देखा पर्न सक्छ। श्रम बजारमा अहिले देखिएको ठूलो चुनौति के हो भने मानवीय प्रत्यक्ष श्रमको उपयोगलाई स्वचालित मेसिनहरुद्वारा विस्थापित गर्नु। र यस्तो कार्यबाट नेपाल जस्तो देश, जहाँ श्रमको आपूर्ति भन्दा माग ज्यादै कम छ, का श्रमिकहरु बढी प्रभावित हुन सक्छन। उदाहरणको रुपमा, अमेरिका, युरोप लगाएत अन्य केही देशहरुमा भेन्डिङ्ग( Vending Machine) मेसिनको प्रयोग व्यापक मात्रामा भएको पाइन्छ। भेन्डिङ्ग मेसिनबाट बिक्री गर्दा विक्रेताको आवस्यकता पर्देन। क्रेताले तोकिएको वस्तुको लागि तोकिए वरावरको मुद्रा सो मेसिनमा राखेर आफूले खरिद गर्न खोजेको वस्तु प्राप्त गर्न सक्दछ। मानिसहरुको ओहर दोहर बढी हुने ठाउँहरु- कलेज, पार्क, सिनेमा हल, मल आदिमा भेन्डिङ्ग मेसिनहरु (सिसाको ढोका भएको पारदर्शी दराज जस्तो) निकै राखिएको हुन्छन। यस्ता भेन्डिङ्ग मेसिनहरुमा विक्रेता राख्नु नपर्ने हुनाले संचालक( बिक्रेता) ले सजिलै विक्रेतालाई दिनु पर्ने तलब जोगाउन सक्छ।
विश्वराज अधिकारी
(प्रतीक दैनिकमा प्रकाशित)
(प्रतीक दैनिकमा प्रकाशित)
No comments:
Post a Comment