‘भालेहरु गजब गरी एक अर्का सँग लडदै छन’ युद्ध मैदानमा उभिएका सम्पूर्ण केटाकेटीहरुले एकै स्वरमा कराए। ‘कस्तो अचम्मको भीडन्त?’ एक बालकले आफ्नो समकालिनतिर हेर्दै आश्चर्य प्रकट गर्यो। ‘आज भाले भिडन्त अति नै रमाइलो होला जस्तो छ, है’ कुनै युवक स्वरमा निस्केको यो प्रतिक्रियामा त्यहाँ उपस्थित कसैले पनि बिरोध जनाएन। त्यसैले कुनै वाद विवाद पनि भएन। केही छिन मै गाउँका लगभग सबै व्यक्तिहरु भाले-भीडन्त हेर्न झुम्मिए। भाले-भीडन्त भइरहेको त्यो युद्ध भूमिमा केवल ती दुई भालेका मालिकहरु मात्र थिएनन्। मालिकहरु त्यहाँ भएको भए युद्ध नै हुन्नथ्यो होला। त्यति महँगो भालेको खति गराएर भीडन्त हेर्ने रहर के गर्थे होला, कुखुराका मालिकहरुले।
भालेहरुको युद्ध झन झन चर्कियो। केही व्यक्तिहरु एउटा भालेको पक्षमा थिए भने केही अर्कोको। दुवै मध्ये कुनैको जीत हार हुँदा दु:ख र सुख मनाउने व्यक्तिहरुको कमी थिएन त्यो ठूलो भीडमा। पहिलो भालेले दोस्रोलाई आक्रमण गर्दा एकथरी निकै उत्साहित हुन्थ्ये। कराउँदथ्ये ‘स्यावास भाले। बलियो भाले। फुर्तिलो भाले। हो, यसै गरी हिर्का। त्यो भालेलाई ढाल। अब एक चोटी जोडले हिर्काए पछि मोरो भाले ढल्छ।’ भीडबाट आएको त्यस्तो आबाजले त्यो भाले निकै उत्साहित हुन्थ्यो। उसले प्रतिद्वन्दीलाई प्रहार गर्दा भीडबाट आएको तालीको आबाजले उसको शरीरमा ऊर्जा थपिए जस्तो हुन्थ्यो। उसको पक्षमा जति बढी ताली बज्दथ्यो ऊ त्यति नै बढी उत्साहित भई निर्णायक प्रहार गर्न तयार हुन्थ्यो।
यसै गरी दोस्रो भालेले पहिलोलाई आक्रमण गर्दा पनि भीडबाट कराएको आबाज आउँदथ्यो ‘वीर भाले। वीर बहादुर भाले। सूरवीर भाले। निडर भाले, ढिड भाले। न हार। न थाक। अब तेरो पालो हो। हिर्का। टाउकोमा जोडले हिर्का। पखेटामा हिर्का।’ यो भाले पनि मानिस चिच्याएको आवाज सुनेर निकै उत्साहित हुन्थ्यो। चोट खाएर ढलपल गर्दै खस्ने जस्तो भए तापनि भित्रबाट बल झिकेर प्रहार गर्दथ्यो। कति पटक त्यो भाले एक छिन सम्म भूइँमा खसेको खस्यै भयो। तर किन हो तालीको गडगडाहटले उसको खुट्टा र चुच्चोमा शक्तिको सञ्चार हुन्थ्यो। जुरुक्क उठदथ्यो अनि बेस्सरी प्रहार गर्दथ्यो, प्रतिद्वन्दीलाई।
उद्देश्यहीन युद्धका लक्ष्यहीन योद्धाहरु युद्ध गर्दै थिए। वीरताका साथ। रगतले लथपथ भएर। दुबैको स्थिति दयनीय थियो अनि विभत्स पनि। कुनै बेला यस्तो पनि देखिन्थ्यो कि उनीहरु युद्ध छाडेर भाग्न चाहन्छन्। आफ्नै दाजुभाई, आफ्नै खानदान र आफ्नै समूहमा के युद्ध गर्नु भन्ने भावना पनि उनीहरुको मनमा आउँदथ्यो कि क्या हो, कुनै बेला? तर भीडले घेरिएको हुनाले युद्ध छाडेर भाग्न सम्भव थिएन उनीहरुको लागि।
भीडबाट आएको ‘स्यावास भाले। मुटु फुट्ने गरी हिर्का’ जस्ता आबाज सुने पछि ती भालेहरु आफूहरुले गरिरहेको युद्धको उद्देश्य र औचित्य बिर्सिन्थ्ये, त्यस्तो प्रतित हुन्थ्यो किनभने भीडबाट आएको उत्साहित गर्ने सुन्नासाथ दुवै युद्ध गर्न तयार हुन्थ्ये। एक अर्कालाई कस्सिएर प्रहार गर्दथे। युद्धको बारेमा सोंच्नसम्म उनीहरुलाई फुर्सत हुन्थेन। जबकी उनीहरु त्यो खेल मैदानमा मनो विनोदका लागि खेल्न भनी आएक थिए र पहिलो प्रहार एक अर्काले ख्याल ख्यालमा गरेका थिए।
दुई भालेका युद्ध हेर्न उपस्थित तमासेहरु पनि विभाजित थिए। भालेहरु शारीरिक रुपमा भीडन्तमा थिए भने उपस्थित तमासेहरु मानसिक रुपमा। तमासेहरु पनि एक अर्कासँग भावनात्मक युद्ध गर्दै थिए तर केवल रमाइलोको लागि। आन्नदको लागि।
भालेहरु अब उठ्न सक्ने अवस्थामा थिएनन्। युद्ध गर्ने क्षमता दुवैमा सदाका लागि समाप्त भइ सकेको थियो। दुवैको चुच्चो र सिउर निको नहुने गरी क्षत –विक्षत भएका थिए। एउटाको त सिउरको अवशेषसम्म पनि थिएन, टाउकोमा। दुबैका पखेटाहरुमा प्वाख थिएनन्। उनीहरुको शरीरबाट निरन्तर रगत बगिरहेको थियो।
पहिलो भाले दोस्रको शरीरमा ढल्यो। दोस्रोले कुनै प्रतिक्रिया देखाएन। दुबैले एक अर्कालाई अँगालो हाले जस्तो देखिन्थ्यो। कुनैले फेरि आक्रमण गरेन, अर्कोलाई।
भीडबाट एउटाले करायो ‘दुबै भाले थाके जस्ता छन्।’ केही दर्शकहरुले हात माथि उचालेर मुठ्ठी कस्दै एकै पटक कराए ‘उठ भाले, उठ। हिर्का आफ्नो प्रतिपक्षीलाई, आफ्नो सत्रुलाई। हेर, माया नगर, बेस्सरी हिर्का।’ तर ती भालेहरु उठेनन्। उनीहरुको इहलिला समाप्त भइसकेको थियो। एउटा बालक ‘भाले कुखुराको मासु मिठो हुन्छ’ भन्दै अगाडि बढ्यो अनि ती भालेहरीलाई हातले उठाउन खोज्यो। त्यो बालकलाई त्यसो गर्न रोक्दै एक वृद्धले हप्कायो ‘ऐ बुद्धिहीन, मरेको कुखुराको मासु खानु हुदैन भन्ने थाहा छैन तँलाई।’ त्यो बालक डरायो। उसले उठाउने आँट गर्न सकेन। केही क्षण पछि भूस्याहा कुकुरहरुको एउटा हूल त्यहाँ आयो। कुकुरहरुको बीचमा भालेको मासु खान लुछाचुड र झगडा हुन थाल्यो। केही कागहरु पनि आए त्यहाँ। अनि गिद्धहरु पनि।
कुखुराका ती दुई भालेहरुको उद्देश्यहीन भीषण भीडन्त सकियो। त्यो युद्धको साथ साथै त्यो भीडको लागि रहेको त्यो रमाइलो पनि सकियो। भीडले बाटो समात्यो। भीडबाट एउटाले करायो ‘छिटै जाऊँ, गजबको रमाइलो छ त्यहाँ। त्यो अर्को टोलमा दुईवटा बडेमाका साँढेहरु युद्ध गर्दैछन्। दुवैले एक अर्काको सिंग भाँचिसकेका छन रे। टाउको रगत रगताम्ये छ, ती साँढेहरुको।’ त्यो भीड तिब्र गतिमा साँढेहरुको युद्ध हेर्न दौडियो, दुई भालेहरुको भीषड युद्ध हेरे पछि।
विश्वराज अधिकारी
No comments:
Post a Comment