Wikipedia

Search results

Wednesday, September 14, 2011

लघुकथा - ८ मनु

घोडा भनेको एक भारी बोक्ने पशु हो। आदिकालदेखि नै घोडाको उपयोग मान्छेको भारी बोक्ने कार्यमा भएको छ र भविष्यमा पनि भइ नै रहने छ। तर सबै घोडाले केवल भारी नै बोक्छन भन्ने पनि छैन। केहीले मानिस बोकेको, केहीले रथ तानेको र केहीले युद्ध मैदानमा योद्धालाई युद्ध गर्न साथ दिएको सुनिएको छ। तर जे होस घोडा जतिसुकै बलियो भएता पनि , बहादुर भएता पनि अनि बुद्धिमान भएता पनि हरेक युगमा यसले मानिसको दासता स्वीकार गरेको छ। अनि मानिसको इशारामा हिडेको, उफ्रेको छ, दौडेको छ। सामान वा मानिस जे बोके पनि भारी नै बोकेको छ। मालिकको इच्छा अगाडि घोडाको इच्छा पानीमा उठेको फोंका जस्तो हुन पुग्छ। एक छिन मै फुस्सस हुने पानी माथि उठेको फोंका

यो कथा त्यही घोडाको वंशज एक नाती घोडाको हो, जसको बाबु- बाजे पुस्ता दरपुस्ताहरुले भारी बोक्दै आए। त्यो घोडाको नाम थियो मनु। मनु एक नेता प्रसाद नाम भएको व्यक्तिको घरमा बस्ने गर्दथ्यो। नेता प्रसाद आफ्नो गाउँको मुख्य मान्छेको रुपमा स्थापित थियो। कतै बाहिर जानु पर्यो मनुको पुठ्युँमा सवार हुन्थ्यो। एक दिन मनुको मनमा एउटा विचार के आयो भने ऊ आफ्नो मालिकबाट ठगिएको छ। मालिक र उसले गरेको परिश्रम समान पनि छैन। ऊ हिडछ, मालिक हिडदैन। मालिक केवल उसको पुठ्युमाथि सबार हुन्छ, उल्टो कोर्राले हिर्काउँछ। आफू कोठा भित्र सुत्छ। उसलाई कोठा बाहिर तबेलामा सुत्न दिन्छ। यताउता कतै जाला र उसको इच्छा अनुसार कार्य नगर्ला भन्ने भयले आफ्नो नियन्त्रणमा राख्न लगाम लगाई दिने गर्छ। कहिले काहि थाकेर बिस्तारै हिंडन खोज्दा कोर्राले हिर्काउँछ र मुखै चिरिने गरी लगाम तान्छ। यस्तो निर्दयी मालिक कहाँ के बस्नु । अन्त कतै जानु पर्यो।

मनले मुख्य प्रसादको घरमा काम पायो, नेता प्रसादको घर त्यागे पछि। मुख्य प्रसादले मनुको निकै सेवा गर्यो। एउटा सइस नै सेवा सुसुल्कामा नियुक्त गर्यो मनुका लागि। मनु पहिले भन्दा निकै मोटो घाटो भयो। अनि बलियो पनि तर अचम्म! केही दिन पछि मुख्य प्रसादले मनुको पिठ्युमा भारी राखेर सामन ओसार पसार गर्न थाल्यो। भारी पनि अति नै। कहिले काहि भारीले नै थिचिनु पर्ने हुन्थ्यो। एक दिन भारीले थिचिएर लड्दा झण्डै खोलामा खस्ने स्थिति उत्पन्न भएको थियो। मनुलाई त्यहाँ पनि बस्न मन लागेन। नयाँ मालिकले भारी बोकाउनको लागि उसको चाकडी गरेको थाहा पायो।

मनु अब तेस्रो मालिकको घरमा काम गर्न आयो। तेस्रो मालिककको नाम थियो विवेक। विवेकले अचानक ठूलो रहर लाग्दो घोडा आफ्नो आंगनमा उभिएको देखेर ज्यादै खुसी भयो। बलियो मोटो घोडा उसको लागि ईश्वरले नै पठाएका हुन। अब उसको भाग्यको ढोका खुल्यो भनी गाउँभरिका मानिसलाई नाची नाची सुनायो। गाउँलेहरुले पनि मनुलाई हेरे। अनि विवेकको भाग्यमाथि डाहा गरे। मनुका लागि राम्रो खाने बस्ने राम्रो प्रबन्ध मिलायो, तेस्रो मालिकले। मनु अचम्ममा पर्यो, उसको नयाँ मालिकले भारी बोकाउने सुरसार नगरेकोमा। जबकी घोडाको कामनै हो भारी बोक्नु। मनुले बिचार गर्यो, ऊ ज्यादै दयालु मालिकको घरमा आउन पुगेछ। बसी बसी खान पाइन्छ। भारी पनि बोक्नु पर्दैन। कोरा पनि खानु पर्दैन। दौडिनु पनि पर्दैन। र सबैभन्दा ठूलो कुरा लगाम पनि लगाउनु पर्दैन। मालिकले दिएको सुविधाबाट मनुलाई शंका लाग्न थाल्यो। मनुको शंका निराधार पनि भएन। एक दिन, रातिको समयमा विवेकले मनुको ज्यान लिई गाउँमा मासु बेच्ने योजना गरेको थाहा पायो र त्यो तयारी मनुले आफ्नै आँखाले देख्यो। हत्याराहरु आउनुभन्दा पहिले नै मनुले सुँइकुच्चा ठोक्यो, त्यहाँबाट

 मनुको चौथो मालिकको नाम थियो गुरुदेव। गुरुदेवको घरमा मनुलाई निकै रमाइलो लाग्यो। मालिकलाई पुठ्युमा राखेर गाउँ गाउँमा पुर्याउनु भन्दा बाहेक अरु केही गर्नु पर्दैन्थ्यो। गुरुदेव विभिन्न गाऊँहरुमा गई सेवा र कर्तव्यको बारेमा प्रवचन दिने गर्दथे। श्रोताहरुले गुरुको सेवा गर्नुको साथै गुरुजीको घोडा भनी मनुको पनि सेवा गर्दथे। तर केही दिन पछि गुरुदेवको घरमा पनि मनुको पुरानो दु:ख दोहरियो। खान मुस्किल। जति हिडे पनि, जति गाउँहरु चाहारे पनि छुच्चो गुरुले पेटभरी खानसम्म पनि दिदैन्थ्यो। मनुको हाड छाला मात्र बाँकी रह्यो। के गर्ने, ज्यान जोगाउन त्यहाँबाट उम्किनु बाहेक अन्य कुनै  विकल्प रहेन, मनुका लागि

मनुले अब कहिलै, कुनै किसिमको दासता स्वीकार नगर्ने अठोठ गर्यो। एउटा अर्कै गाउँको ठूलो चउरमा स्वतन्त्र भई बस्न थाल्यो। आफ्नो इच्छा अनुसार त्यो चउरमा हिडने, दौडिने र चर्ने गर्न थाल्यो। जीवन निकै आनन्दमय थियो, मनुका लागि

एउटा घोडा त्यो चउरमा बेबारिसे अवस्थामा धेरै दिनदेखि बसेको गाउँ भरिका आवारा केटाहरुले थाहा पाए। ती केटाहरु बीच त्यो घोडा माथि चढ्न हुने प्रतिस्पर्धामा कहिले ती केटाहरु घाइते हुन्थ्ये भने कहिले मनु। मनु अब त्यो गाउँका लागि रमाइलोको स्रोत बन्यो। केही त्यो रमाइलो हेर्ने मात्र गर्दथ्ये  भने केही त्यो रमाइलोमा सरीक पनि हुन्थे।

एकदिन एउटा उरन्ठ्याउलो केटाले मनुको खुट्टा भाँच्चिने गरी हिर्कायो। मनु सँधैको लागि लँगडो भयो। मनुलाई त्यहाँ पनि बस्न मन लागेन। मनु थाक्यो। सबैले उसको शोषण नै गरे। स्वतन्त्र भए पनि ऊ सुरक्षित हुन सकेन। बाँच्न गार्हो भयो। स्वतन्त्रता उसको लागि अति कष्टकर भयो। जसलाई मनलाग्यो ऊ मनुमाथि सवार हुनथाल्यो। एकदिन मनुले निश्चय गर्यो अब ऊ एउटा अर्कै स्थानमा फर्कने छ।

नेतप्रसाद अचम्म पर्यो अनि मुसुक्क हास्यो पनि आफ्नो घरको आँगनमा मनुलाई देखेर  मनुको पिठ्युमा हात राख्दै लगाम समात्यो अनि भन्यो मनु, संसार कस्तो रहेछ? देखिस, आफ्नै आँखाले। मैले त केवल तँलाई तबेलामा राखेको मात्र थिएँ र भिन्नता हामी बीच केवल हाम्रो बसाईमा मात्र थियो।’ मनुले कुनै प्रतिक्रिया देखाएन, नेता प्रसादको त्यो भनाइमा। बरु चुपचाप बस्यो। नेता प्रसाद घोडामाथि चढ्यो। कोर्राले घोडालाई हिर्कायो। घोडा दौडियो। तर खुट्टा खोल्च्याङ्ग खोल्च्याङ्ग गर्दै। घोडाले खुट्टा खोल्च्याङ्ग खोल्च्याङ्ग गरेकोमा नेताप्रसाद दिक्दार भएन। बरु सन्तुष्ट भयो, लँगडो घोडाले वाध्यतावस पनि अब उसको घर छाडेर नजाने कटु यथार्थ थाहा पाएर।

विश्वराज अधिकारी 

                         

No comments:

Post a Comment