Wikipedia

Search results

Friday, September 16, 2011

लेख - ११ कतार र पानामाबाट धेरै सिक्न सकिन्छ


वर्तमान विश्व परिस्थिति हेर्ने हो भने अधिकांश राष्ट्रहरुले आफ्नो देशमा उपलब्ध मौलिक स्रोत र साधनहरुको अधिक्तम उपयोग गरेर राष्ट्रिय गरिबीलाई कम पार्न कम्मर कसेर लागेको देखिन्छ। चिन, देशमा उपलब्ध आपार मानवीय स्रोतको अधिक्तम उपयोग गर्नमा लागेको छ र ठूलो जन संख्या भएको कारणले श्रम लागतलाई कम पारेर विश्व बजारमा आफ्ना सामाग्रीहरु सस्तोमा बिक्री गर्न सक्षम समेत भएको छ। सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेर भारत अहिले सूचना प्रविधिको क्षेत्रमा विश्वमा नै चर्चित हुन पुगेको छ। सिंगापुर, देशमा उपलब्ध सरल समुन्द्री मार्गको उपयोग गरेर एशियाको धनी राष्ट बन्ने तरखरमा छ। केही वर्ष पहिलेसम्म आर्थिक जगतमा कतै नाम नसुनिएको कतार अहिले आफ्नो देशमा उपलब्ध रहेको तेल र ग्यास भण्डारको अधिक्तम उपयोग गरेर कम समयमै चमत्कारी किसिमले धनी हुन खोज्दै छ। कतारले केही वर्षदेखि ब्यापार बचत (Budget surplus) समेत गरेको छ र संसार मै तिब्र गतिमा आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रमा पर्दछ। कतारको कुल गार्यहस्थ उत्पादन मध्ये तेल र ग्यासबाट मात्र ५० प्रतिशत प्राप्त हुन्छ। कतारको प्राकृतिक ग्यास (Natural gas) भण्डार विश्व मै तेस्रो ठूलो मानिन्छ भने विश्व भरमा उपलब्ध प्राकृतिक ग्यास मध्ये कतारसँग १४ प्रतिशत रहेको विश्वास गरिन्छ।  कतारीहरुको सम्पत्ति र जिवनस्तर पश्चिम यूरोपका नागरिकहरु सरह छ र अरब जगतमा दोस्रो सर्वाधिक गार्यहस्थ उत्पादन (अन्तरार्ष्ट्रिय मुद्रा कोष, २००६) हुने राष्ट्र पनि कतार नै हो। विश्वमा सर्वाधिक प्रति ब्यक्ति गार्यहस्थ उत्पादन हुने राष्ट्रहरुमा कतार दुई नम्बरमा पर्दछ। नेतृत्व तह र देशबासीहरुमा विकास गर्ने इच्छा शक्ति दृढ भएमा मुलुकले कति छिटो विकास गर्छ भन्ने यथार्थको उदाहरण हुन पुगेको छ अहिले कतार।
यी त भए केही प्रतिनिधि उदाहरणहरु। यस्ता अन्य उदाहरणहरु धेरै छन। तर हाम्रो देशमा पर्यटकीय स्थल, जल स्रोत, अनुकूल हावा पानी, पर्वतीय पर्यटन, सस्तो जन शक्ति, बौद्धिक क्षमता जस्ता अनेकौ साधनहरु भएता पनि तिनको भरपुर उपयोग गरेर राष्ट्रिय गरिबीलाई कम पार्न सकिएको छैनौ। बरु उल्टो राष्ट्रिय गरिबीमा वृद्धि भएको छ, बेरोजगारहरुको संख्यामा भएको भीषण वृद्धिलाई दृष्टिगत गर्दा। रोजगारीका लागि प्रत्येक दिन विदेशिने नेपालीहरुको संख्यालाई दृष्टिगत गर्दा पनि थाहा हुन्छ नेपालमा बेरोजगारीको स्थिति कति भयावह छ भन्ने यथार्थ। सामान्य किसिमको समेत रोजगारी पाएमा धेरै नेपालीहरु विदेश जान अनिच्छुक हुन सक्छन। विदेशिनु थोरै मात्र रहर तर ज्यादै धेरै बाध्यता हुने ग्रर्दछ। नेपालमा प्रचुर मात्रामा साधन र स्रोत भएता पनि राष्ट्रले अपेक्षति गतिमा विकास गर्न सकिरहेको छैन। यस्तो हुनुका विभिन्न कारणहरु छन। ती कारणहरु मध्ये एक उल्लेख कारण चाहिँ नेताहरुमा विकास गर्ने इच्छा शक्ति नहुनु र केवल शक्तिका लागि खिचातानी गर्नु हो।
नेपालमा राजनैतिक नेताहरु खासमा अहिले दिग्भ्रमित स्थितिमा छन। उनीहरुले ठीकसँग निश्चित गर्न सकिरहेका छैन के गर्ने- आफू शक्तिसाली हुने, पार्टीलाई शक्तिसाली तुल्याउने वा राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउने।
आफूलाई मात्र शक्तिसाली तुल्याउन खोज्ने मनोविज्ञान भएका नेताहरु जसरी पनि शक्तिमा कामय रहने राजनैतिक खेल खेल्नमा ब्यस्त छन्। अनेक किसिमका अनावश्यक मुद्दाहरु झिकेर हजारौ जनतालाई आफ्नो पछि लगाउन सफल पनि भएका छन। उनीहरुको यस्तो व्यवहारले गर्दा स्थानीय र राष्ट्रिय आर्थिक विकासका मुद्दाहरु ओझलमा पर्न गएका छन्। तर उनीहरुलाई यो पनि चिंता के छ भने संधै आफूलाई शक्तिसाली राख्ने दाउपेंचमा ब्यस्त रहने हो भने भोलिको चुनावमा जनताले पत्याउने छैनन् र आफ्नो राजनैतिक भविष्य चौपट हुन सक्छ। त्यसकारण उनीहरुले केही आर्थिक मुद्दालाई उठाई रहेका त छन तर केवल नाम मात्रका लागि।
पार्टीलाई शक्तिसाली तुल्याउन खोज्ने नेताहरु पार्टी बलियो भएमा मात्र आफू पनि बलियो हुने भएकोले उनीहरु पार्टीलाई बलियो तुल्याउने मुद्दाहरुमा मात्र केन्द्रित छन र स्थानीय र राष्ट्रिय आर्थिक मुद्दाहरुलाई जति महत्व दिनु पर्ने हो त्यति दिइ रहेका छैनन्। । राष्ट्र आर्थिक रुपमा सक्षम नभएमा पार्टीको भविष्य पनि सुरक्षित नहुने भन्ने यथार्थ उनीहरुलाई थाहा त छ तर राष्ट्रको आर्थिक विकासमा दृढ भएर लाग्ने हो भने आफू एक्लो पर्ने र पार्टीमाथिको आफ्नो पकड कमजोर हुँदै जाने भयले उनीहरु के गर्ने, के नगर्ने भन्ने अलमलमा छन्।
राष्ट्रलाई आर्थिक समृद्धिको दिसातर्फ डोर्याउन खोज्ने नेताहरु पनि अलमलमा छन। उनीहरुको अलमल के हो भने आफ्नो पार्टी कार्यकर्ता र समर्थकहरुको कुरा नसुनी केवल स्थानीय र राष्ट्रिय आर्थिक मुद्दाहरुमा मात्र केन्द्रित हुने हो भने आफ्ना कुराहरु नसुनिदिएको भनी कार्यकर्ता र समर्थकहरु रुष्ट हुन पुग्छन जुन नेताहरुको राजनैतिक जिवनका लागि प्रतिकूल स्थिति हुन सक्छ। भोलिका दिनहरुमा चुनाब जितिएला भन्ने कुराको कुनै ग्यारंटी हुन सक्तैन।
द्रुततर गतिमा आर्थिक प्रगति गरिरहेका राष्ट्रहरुका नेताहरुमा कुनै किसिमको अलमल छैन, देशको आर्थिक विकास गर्ने सन्दर्भमा। नेताहरु एक आपसमा समन्वय गरी राष्ट्रलाई धनी तुल्याउन हातमा हात मिलाएर अगाडि बढिरहेका छन, र सामान्य जनताले पनि उत्तिकै साथ दिएका छन् नेताहरुलाई।  
 आर्थिक समृद्धिको दिशा तर्फ द्रुततर गतिमा अगाडि बढिरहेको अर्को देश हो पानामा। मध्य अमेरिकी राष्ट्र पानामा अहिले सिंगापुर हुने उद्धेश्य लिएर तिब्र गतिमा आर्थिक विकासको दिशा तर्फ दौडिरहेको छ। उत्तर र दक्षिण अमेरिकालाई जोड्ने पानामा  गरिबी र प्रशासनीक भ्रष्टाचारबाट मुक्त भने छैन, बरु प्रशासनिक भ्रष्टाचारबाट बढी नै ग्रसित छ, त्यैपनि विकासप्रतिको कटिबद्धताले गर्दा देशमा आर्थिक विकासको लहर ल्याउन सफल भएको छ। समुन्द्री-मार्ग सुबिधा (नहर), उदार अर्थ नीति र चुस्त बैंकिग सेबाले गर्दा विदेशी लगानीकर्ताहरु पानामामा लगानी गर्न आकर्षित भएका छन। पानामामा विदेशी लगानी कूल गार्यहस्थ उत्पादनको ९ प्रतिशत जति छ। पानामाको वार्षिक आर्थिक वृद्धि दर ८ प्रतिशत रहेको छ र बेरोजागी पनि केवल लगभग ७ प्रतिशत मात्र छ। सन् २००८ मा खाद्य बचत गर्न सफल यो देश मानव विकास सुचकांकमा ६० औ स्थानमा थियो। आयात शुल्क कम भएका लैटिन अमेरिकी राष्ट्रहरु मध्ये पानामा पनि एक पर्दछ र जिवन यापन लागत (Living costs) तुलनात्मक रुपमा कम भएकोले रिटाएर जिवन विताउन धेरै व्यक्तिहरुको रोजाईमा समेत पर्दछ यो राष्ट्र। नहर (पानामा नहर) बाट ठूलो आम्दानी प्राप्त गर्न सफल पानामा मध्य अमेरिकाको तेस्रो ठूलो अर्थ तन्त्रको रुपमा उदाउन थालेको छ। त्यति मात्र होइन, पानामालाई लैटिन अमेरिकामा दोस्रो अति प्रतिस्पर्धी अर्थ तन्त्र भएको राष्ट्रको रुपमा लिने गरिन्छ। लैटिन सिंगापुरको नामबाट परिचित हुन थालेको पानामा गरिबीको समस्याबाट मुक्त भने छैन। अहिले पनि यहाँका करिब एक तिहाई जनता (सन् २००८) गरिब छन। १४.४ प्रतिशत पानामाका जनता त अति नै निर्धन छन। तर पनि आर्थिक विकास गर्ने बलियो इच्छा शक्तिको कारणले गर्दा पानामा प्रगति पथमा लम्किरहेको छ, तिब्र गतिमा। पानामाले छिट्टै प्रति व्यक्ति गार्यहस्थ उत्पादनमा कोस्टारिका र भेनेज्वेलालाई उछिन्ने अनुमान गरिंदैछ। मैनलैण्ड लैटिन अमेरिकाका पाँच धनी राष्ट्रहरु मध्ये पानामा पनि एक पर्दछ, जनताको क्रय-शक्तिको हिसाबले।
स्पेन र कोलोम्बियाबाट छुट्टिएर स्वाधिनता प्राप्त गरेको पानामाको कुल क्षेत्रफल ७५ हजार ५१७ वर्ग किलोमिटर रहेको छ भने जन संख्या ३४ लाख ५ हजार ८१३ रहेको (सन् २०१० को अनुमान) उल्लेख गरिएको छ। सन् २०१० को अनुमान अनुसार पानामाको कुल र प्रति व्यक्ति गार्यहस्थ उत्पादन (PPP)  यू यस डलरमा क्रमस:४४,३६० बिलियन र १२,५७७ रहेको थियो। मध्य अमेरिकाको दक्षिणमा पर्ने पानामाको उत्तरपश्चिममा कोस्टारिका पर्दछ। कोलम्बिया दक्षिणपूर्वमा पर्दछ। यसै गरी करेबियन सागर उत्तरमा पर्दछ भने पेसिफिक सागर दक्षिणमा पर्दछ। सन् १९०४ देखि १९१४ को बिचमा निर्मित पानामा नहर (Panama Canal) पानामाको ठूलो सम्पत्तिको रुपमा रहेको छ र यो नहरले गर्दा पनामा निकै चर्चामा छ पनि। पानामा नहरको लम्बाई  ८२ किलोमिटर रहेको उल्लेख गरिएको पाइन्छ।


विश्वराज अधिकारी


(प्रतीक दैनिकमा प्रकाशित भदौ ३० गते शुक्रवार २०६८- Friday, September 16, 2011)

1 comment: