गोनौराको जादु
सधै झै आज पनि गोनौराले बेस्सरी डमरु बजायो। प्रदर्शन गरिने कुरा सार्वजनिक रुपमा घोषणा गर्यो। जादु हेर्न आउन सबैलाई आग्रह गर्यो। तर उसको जादु हेर्न दुई चार जना बालबालिकाहरु मात्र आए। आज उसले न त एक मुठी चामल पायो न त एक पैसा नै। पुरानो जादुका लागि एक पैसा पनि नदिने भनी तमासेहरुले निर्णय गरिसकेका थिए। गोनौराका आँखा भने अझै पैसा चामल थाप्न ओछ्याइएको टालामा नै केन्द्रित थिए। तर आफू जादुमा तल्लिन भएको अभिनय गर्दै थियो। अभिनय भित्र पनि अभिनय धेरै बेरसम्म उसले गर्ने भने सकेन। लामो सास फेर्दै थचक्क बस्यो। बालबालिकाहरु पेटारोबाट टाउको निकाल्न थालेको सर्प हेर्नमा तल्लिन थिए। बाबु थचक्क बस्नुको अर्थ छोराले बुझ्यो। उसले बाबुलाई अर्को ठाउँमा जादु प्रदर्शन गर्न जाऔ भनी आग्रह गरेन। बरु सर्पको टाउकोमा लात्तले हिर्कायो। सर्पले आज्ञाकारी बालक झै गरी टाउको भित्र लग्यो। गोनौराको छोराले पेटारो, ढोलक, बाँस आदि सबै कुरा बोरा भित्र हुल्यो।
‘आज सबै भन्दा ठूलो, रोमाञ्चकारी, अनौठो र खतरनाक खेल देखाउन जाँदैछु। आजसम्म यस्तो खतरनाक जादु कसैले देखाएको छैन र भविष्यमा समेत देखाउने छैन, यो मेरो दावा हो’ यो घोषणा सार्वजनिक गर्दै गोनौराले बेस्सरी डमरु बजायो। डमरुको आवाज सिङ्गो गाउँभरि गुञ्जियो।
‘गोनौराले अचम्मको खेल देखाउने भनी प्रचार गरेको छ, थाहा पायौ तिमीहरुले’? एउटा युवकले आफ्ना साथीहरुतिर हेर्दै भन्यो। आफूले प्राप्त गरेको सूचना ठीक हो, होइन भनी परीक्षण गर्न खोज्दै थियो ऊ।
सुन्नेहरुले भने ‘हामीहरुले पनि त्यस्तै सुनेका छौ। आज सबै काम छोडेर गोनौराको जादु हेर्न जाने हामीले योजना बनाएका छौ’। ती युवकहरु मध्येको एउटाले डर मिश्रित स्वरमा भन्यो ‘यदि साले गोनौराले पुरानै जादु दोहर्याए नि’?
‘त्यसको टाउकोमा हिर्काउँछु यो ढुङ्गाले’ भन्दै एउटा युवकले आफ्नो खल्तीमा राखेको ढुङ्गा झिक्यो।
‘आज म धान कुट्न जान्न। ढिकी बिग्रेको दुई दिन भयो। बरु गोनौराको नयाँ जादु हेर्न जान्छु’ एक महिलाको मुखबाट निस्केको यो संवाद सुनेर उसको पतिले कुनै प्रतिक्रिया देखाएन। हातले बाट्दै गरेको जुटको डोरी थन्क्यो र पत्नीको पछि पछि हिँड्यो।
‘मालिक, मैले हिजो नै बढी घाँस काटेर ल्याएको थिएँ। त्यो घाँसले हाम्रा गाई गोरुलाई भोलिसम्मका लागि पुग्छ। फेरि हाम्रा गाईगोरुले धेरै घाँस पनि खाँदैनन्। अरु गाई गोरु जस्तो यिनीहरु हँड पेटाहा हुन र? मालिकको निगाह भए गोनौराको नयाँ जादु हेर्न जान्थे’ गोठालोले प्रस्तुत गरेका ती तथ्यहरु अनुमतिका पूर्वाधार बने। मालिकले गोठालोतिर हेरेर मुसुक्क हाँस्यो। गोठालोले कुरा बुझ्यो। उसले जेलबाट छुटकारा पाएको महसूस गर्यो। उसको मुहारमा सूर्य उदाए झै भयो।
‘आज दुरामा पञ्चैति हुँदैन। आज मुखियाजी गोनौराको जादु हेर्न जाने रे। तपाइँहरु पनि गए हुन्छ’ चौकीदारले प्रसारण गरेको यो सार्वजनिक सूचनामा सम्बन्धित कुनै पक्षले पनि बिरोध जनाएन बरु सबै खुसी नै थिए। वादी र प्रतिवादी पनि विवादी भएनन् यो समाचार सुनेर।
गोनौरा आफैले निर्माण गरेको अग्लो मचानमा चढ्यो। अनि माथिबाट नै ठूलो स्वरमा करायो ‘आजको खेल ज्यादै आश्चर्य लाग्दो र अति खतरनाक पनि छ। अनि निकै रमाइलो पनि। यो खेलको नाम हो- आकासमा पौडी खेल्ने’। गोनौरासँगै उसकी पत्नी अनि छोराछोरीहरु पनि थिए। पत्नीले आकासमा पौडी खेल्ने खेल कस्तो हुन्छ भन्ने कुरा राम्रो गरी बुझेकी थिई। उसको मुहारमा विरक्ति पोखिएको प्रष्टसंग देखिन्थ्यो। छोराछोरीहरुलाई थाहा नभको हुनाले उनीहरु ज्यादै प्रसन्न देखिएका थिए। नयाँ जादुमा बाबुले सरिक गराएकोमा उनीहरु खुसी भएका थिए।
गोनौराले उपस्थित सबैको ध्यान आफूतिर तान्दै करायो ‘आकाशमा पौडी खेल्ने खेल अब शुरु हुन्छ। सबै जना आ-आफ्नो ठाउँमा हलचल नगरी उभिनुहोला। अनि हामी आकासमा उडेपछि ताली बजाउनु होला’ गोनौराले यो उद्घोषणा सकाएर मचानबाट हामफाल्यो। गोनौराको पछि उसकी पत्नीले र त्यसपछि छोराछोरीहरुले हामफाले। चारै प्राणी भुइँमा थचारिए। उनीहरुको मुखबाट रगतको धारा बगे। अर्कोतिर जादु हेर्न उपस्थित भएका सबै तमासेहरु अतिहर्षित तथा रोमाञ्चित दखिन्थे। सबैले एकसाथ ताली बजाए। तालीको गड्गडाहटले गर्दा त्यो स्थल युद्ध भूमि झै लाग्दथ्यो। केही युवकहरुले एकै स्वरमा भने गोनौराको जादु नितान्त नौलो रहेछ। गोनौरा महान जादुगर हो। उसँग टक्कर लिने यो जिल्ला त के यो देशमा नै कोही छैन’।
एक वृद्धले ती युवकहरुको भनाइमा थप्यो ‘गोनौरा यो युगको नै महान जादुगर हो’।
उपस्थित सबै तमासेहरुले एक साथ चिच्याए ‘ गोनौरा महान जादुगर हो’। अनि सबैले जोडले ताली बजाए।
गोनौराको छेउमा उभिएको एउटा बालकले आफ्नो बाबुतिर हेर्दै सोध्यो ‘गोनौरा किन न उठेको बा’?
त्यो बालकको पछाडि बसेको एक वृद्धले उत्तर दियो ‘एक छिन पछि गोनौरा तथा उसको परिवार उठ्नेछन अनि उडेर फेरि त्यही मचानमा पुग्नेछन्’।
त्यो वृद्धको भनाइमा अघि बोल्ने त्यो बालकले पनि सहमति जनायो।
उपस्थित तमासेहरुमद्धे केहीले आश्चर्य पोख्दै भने ‘ए त्यस्तो हो?’
तमासेहरु सबैले फेरि एकपटक नारा लगाए ‘गोनौरा जिन्दावाद! महान् जादुगर जिन्दावाद!’
जादु हेर्न उपस्थित भएका सबै व्यक्तिहरु व्यग्र थिए। गोनौरा र उसको परिवार उडेर मचानमा पुगेको दृश्य हेर्न। केही कराउन पनि थाले ‘उठ गोनौरा, उठ। महान जादुगर उठ। वीर गोनौरा, बहादुर गोनौरा, तिम्रो नयाँ जादु प्रदर्शित गर। तिमी यो गाउँको इज्जत हौ, नाक हौ’।
तर गोनौरा र उसको परिवार उठेको दृश्य भने देखिएन्। उनीहरुको इहलिला समाप्त भइसकेको थियो। तर जादु हेर्न आउनेहरुको संख्यामा वृद्धि हुने क्रम भने जारी नै थियो।
No comments:
Post a Comment