पूँजीका कमजोरीहरु
श्रमका कमजोरीहरु भए झै पूँजीका पनि विभिन्न किसिमका कमजोरीहरु छन। पूँजीका कमजोरीहरुलाई यस प्रकार प्रस्तु गर्न सकिन्छ। सर्वप्रथम त पूँजीको जन्मदाता नै श्रम हो। श्रमद्वारा नै पूँजीको निर्माण हुन्छ। कुनै पनि पूँजीपतिले पूँजीको निर्माण गर्न अनिवार्य रुपमा (केही अपवाद वाहेक) श्रमको प्रयोग गर्नै पर्छ। श्रमको प्रयोग नगरेर उसले पूँजी निर्माण गर्न सक्दैन। त्यसकारण कुनै पनि पूँजीपतिसँग रहेको पूँजी उसले प्रयोग गरेको विभिन्न श्रमिकहरुको विगतको श्रमको मूल्य हो जुन उसले श्रमिकलाई भुक्तान गरेको हुँदैन। यसलाई उदाहरणद्वारा यस प्रकार प्रष्ट गर्न सकिन्छ। मानौ कुनै दस जनाको समूहले एक जोर जुत्ता उत्पादन गर्यो। त्यो समूहमा एक जना चाँहि संगठनकर्ता थियो। त्यो एकजोर जुत्ता उत्पादन गर्नमा श्रम लगानीको हिसाबले दसै जनाको योगदान समान थियो। कच्चा पदार्थहरूलाई अहिले उदाहरणमा समावेस नगरौ । जुत्ता उत्पादन भएर बजारमा पुगेपछि त्यो एक जोर जुत्ता रु १०० को मुनाफामा बिक्री भयो। अब प्रतिफल भाग लगाउने बेलामा के हुन्छ भने संगठनकर्ताले त्यो मुनाफा मध्येको (मानौ) ९० प्रतिशत आफूसँग राख्दछ र केवल १० प्रतिशत बाँकी नौ जनालाई ज्यालाको रुपमा भुक्तान गर्दछ। संगठनकर्ताले यसरी ९० प्रतिशत प्रतिफल आफूसँग राखेर ९० रुपैंया बराबरको पूँजीको निर्माण गर्दछ। यस प्रकार संगठनकर्ता सँग भएको त्यो पूँजी (संगठनकर्ताले आफ्नो योगदान बापत पाउनु पर्ने भाग बाहेक) कुनै कालमा श्रमिकहरुले गरेको श्रमको मूल्य हो भन्ने प्रष्ट हुन पुग्दछ। तर यहाँ प्रश्न के उठ्न सक्छ भने श्रमिक नै किन पूँजीपति बन्न सक्दैन त? एक श्रमिक पूँजीपति तब बन्न सक्छ जब उसमा संगठनकर्ताको गुणको विकास हुन्छ। तर एक श्रमिकमा संगठनकर्ताको गुणको विकास हुनका लागि धेरै कुराहरु आवश्यक हुन आउँछ। व्यक्तिको आफ्नो बौद्धिक क्षमता, बजारको अवस्था, सरकारी नीति, सामाजिक संरचना एवं मान्यता आदि आदि जस्ता तत्वहरुले कुनै एक व्यक्तिलाई संगठनकर्ता बनाउनमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन। श्रमिक संगठनकर्तामा रुपान्तरण हुने दर भने ज्यादै नै सुस्त हुन्छ।
सामान्य अर्थमा भन्ने हो भने पूँजीको निर्माण पूँजीपति (संगठनकर्ता) ले नै गर्दछ। अर्को शब्दमा भन्ने हो भने महको निर्माण मौरीले नै गर्दछ, कमिलाले गर्न सकदैन। मौरीलाई राम्रो गरी थाहा हुन्छ कुन फूलमा मह योग्य रस छ भन्ने रहस्य। त्यसैले, मौरीले सजिलै गरी दिनभरिको घुमाईमा महको पहिचान एवं संकलन गर्दछ। यसै गरी संगठनकर्ता वा पूँजीपतिलाई पनि कुन व्यापार गर्दा कुन किसिमबाट कति मुनाफा हुन्छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ। र त्यसका लागि उसले सम्भावनाको खोजी गर्ने र जोखिम लिने कार्य गर्दछ पनि । त्यस कारण संगठनकर्ताको खुबी कुनै व्यक्तिमा हुनु उसको एक ठूलो बौद्धिक विषेशता हो। यहाँ एउटा के कुरा प्रष्ट पार्न आवश्यक छ भने पूँजीको सदुपयोग र पूँजीद्वारा श्रमको शोषण दुइ अलग अलग कुरा हुन। अर्को किसिमले भन्ने हो भने पँजीपतिहरुले श्रमको शोषण नै गर्छन भन्ने कुरा पूर्ण रुपमा शत्य भने होइन। किनभने त्यस्ता धेरै उद्योगपति एवं व्यापारीहरु देखिएका छन जसले आफ्ना कामदारहरुलाई राम्रो परिश्रिक, उन्नतिको राम्रो अवसर, एवं अन्य सुबिधाहरु दिएर अधिक से अधिक मुनाफा कमाएका छन र पछि उक्त मुनाफा गरीबी निवारणमा खर्च गरेका छन पनि।
पूँजीवादको उल्लेख्य कमजोरी के हो भने यसले समाजमा वर्गको सृजना गर्दछ र परिणामस्वरुप समाज आर्थिक रुपमा विभिन्न वर्गमा विभाजित हुन पुग्दछ। र त्यस किसमको विभाजनले समाजमा बिग्रको स्थिति ल्याउन सक्छ। र एउटा वर्गको व्यवहार अर्को वर्गप्रति कटुतापूर्ण हुन आरम्भ हुन्छ। यसै गरी पूँजीवादले राष्ट्रिय आयको वितरणलाई अति नै असमान परिदिन्छ जसले गर्दा धनी झन झन धनी हुँदै जाने तथा गरीबहरु झन गरीब हुँने स्थिति देखा पर्न थाल्छ। एकातिर केही महलहरु खडा हुन्छन भने ठीक ती महलहरुको छेउमा अन्गिन्ति झुपडीहरुको ताँती लाग्न थाल्छ। पूँजीवादले राष्ट्रिय सम्पत्ति केही सीमित व्यक्तिहरुको हातमा हुने स्थिति सृजना गरिदिन्छ। उदाहरणका लागि कुनै एक देशको कुल सम्पति त्यस देशको २५ या ३० प्रतिशत व्यक्तिहरुको हातमा हुन पुग्दछ। र यो समस्या खास गरी पूँजीवादी देशहरुमा देखिएको छ। यसै गरी पूँजीवादको अर्को र ठूलो दुर्गुण के हो भने यसले केवल सक्षमले मात्र गरिखाने स्थिति पैदा गरिदिन्छ। अर्थात परिश्रम गर्नेले भन्दा पनि बुद्धि लगाउनेले बढी प्रतिफल पाउँछ र परिणाम स्वरुप कठोर परिश्रम गरेर राम्रो आय आर्जन गर्ने कुनै व्यक्तिको इच्छा पूरा हुन कठिन हुन पुग्दछ। बजारमा श्रम भन्दा पूँजीको वर्चस्व अधिक हुन पुग्दछ।
तर आश्चर्य लाग्दो र कटु यथार्थ के हो भने विश्वका अहिलेका कहलिएका धनी राष्ट्रहरुले राष्ट्रको आर्थिक विकास पूँजीवादी अर्थ व्यस्थाद्वारा नै गरेका छन। चमत्कारी किसिमबाट देशको आर्थिक विकास गर्न पूँजीवादको साहारा लिएका छन। धनी राष्ट्रहरु मात्र होइन, विकासशील राष्ट्रहरु पनि पूँजीवादको रथ चढेर आर्थिक समृद्धिको गन्तव्यमा पुग्न बैचनीका साथ दौडिरहेका छन, भन्नका लागि ती मध्येका केहीले हामीले समाजवादी अर्थ व्यवस्था अबलम्बन गरेका छौ भनेता पनि। अहिले, विश्वका वहुसंख्यक राष्ट्रहरुको गन्तव्य, आर्थिक समृद्धिका लागि, पूँजीवादी व्यवस्था नै हुन पुगेको छ। त्यसकारण अहिलेको चुनौति के हो भने देशको आर्थिक विकास द्रुततर गतिमा गर्न र गरीवी निवारणको अभियानलाई तिव्र पार्न पूँजीवादी आर्थिक व्यवस्थालाई राष्ट्रिय हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने तर्फ गम्भिरतापूर्वक सोच्नु र उपायहरु पत्ता लगाउनु। र यसरी सोंच्ने कार्य स्थानीय स्तरमा हुन बढी आवस्यक छ किनभने आर्थिक विकासको पहिलो खुडकिलो भनेको नै स्थानीय स्तर हो। र जहिले पनि चिन्तन, नीति र निर्देशन का लागि केवल केन्द्रको भर पर्ने अभ्यास कम पार्नु पर्छ पनि।
विश्वराज अधिकारी
No comments:
Post a Comment