छठ्ठु
छठ्ठुले आफ्नो अतीतको स्मरण गर्दा उसलाई विश्वास गर्न गार्हो भइरहेको छ। कुनै बेला त्यस्तो पनि थियो, दस बीस मानिस जहिले पनि उसको अघि पछि हुन्थे। त्यस्तो मानिस तर आज नितान्त एक्लो हुन पुगेको छ। एक्लो पनि कस्तो भने पानी खान दिने एउटा मानिससम्म पनि छैन साथमा। कुनै समय थियो उसको भठ्ठी (रक्सी बेच्ने तथा खाने ठाउँ) मा जहिले पनि भीड हुन्थ्यो। के दिन, के रात उसको अघि पछि गर्ने मानिस कति हुन्थ्ये कति? कतिलाई त उसले चिन्हसम्म पनि गार्हो हुन्थ्यो । र ती व्यक्तिहरुलाई अपरिचित मुद्रामा छठ्ठुले हेर्दा उनीहरु मध्ये धेरैले भन्थ्ये ‘छठ्ठु मालिक, मलाई चिन्नु भएन? म रामएकबालको छोरा पल्टु’ ‘छठ्ठु काका मलाई चिन्नु भएन?, म बिल्टा, पूर्वारी टोलाको।’ अनि छठ्ठुले भन्नु पर्दथ्यो ‘कसरी सबैलाई चिन्न सक्नु? हजारौ मानिस आउँछन मेरो भठ्ठीमा। दिनभरिमै सयौं जनालाई भेट्छु, मैले।’
हुन पनि उसको भठ्ठीमा विभिन्न गाँउका सानादेखि ठूलासम्म तथा कहलिएका असलदेखि लिएर घोषित बदनाम सम्म, सबै आउने गर्दथे। साँझपख विशेष रमाइलो हुने गर्दथ्यो। साँझमा चिखना लिएर धेरै मानिस आउँदथे दारु पिउन। आउने व्यक्तिहरुलाई देखेर छठ्ठु पनि अति हर्षित हुन्थ्यो अनि आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो। ऊ मात्र एक यस्तो छ जसलाई ठूला साना सबैले आदर गर्छन भन्ने भान हुन्थ्यो उसलाई। उसको छातिको आकार अलि ठुलो भए झै उसलाई भ्रम हुन्थ्यो। रक्सीको नशाले विस्तारै छोए पछि छठ्ठुको गुणगान पनि कम हुन्थेन त्यहाँ। सबैलाई अति मनोरनज्न प्रदान गरेकोमा धेरै व्यक्तिहरुले आभार पनि प्रकट गर्दथे। छठ्ठुलाई लाग्दथ्यो उसले पैसा मात्र होइन इज्जत र प्रतिष्ठाका साथै लोकप्रियता पनि प्रशस्त कमाएको छ। दश गाउँमा छठ्ठुको नाम लिंदा नचिन्ने व्यक्तिहरु बिरलै थिए। अझै रक्सी खानेहरुको त कुरै के गर्नु, उनीहरु मध्ये शतप्रतिशतले चिन्दथे। उसको नाम लिएर दस गाउँमा उधारो माग्दा पनि सजिलैसंग पाइन्थ्यो। छठ्ठु र उसको भठ्ठी त्यति प्रख्यात हुन पुगेका थियो गाउँ गाउँमा।
छठ्ठुको भठ्ठीमा नबोलाए पनि संधै आउने ग्राहकहरु पनि थिए र ती थिए कुकुरहरु। उनीहरुको लागि मुख्य आकर्षण थियो – रक्सी खानेहरुले फालेको मासुको हाड। हाड पनि त्यस्तो, खानेहरुले चपाउन नसकेको। फालेको हाड खानका लागि कुकुरहरुको बीचमा प्राय ठूलो र भयानक युद्ध हुन्थ्यो। युद्धको प्रभावबाट जोगिन रक्सी खानेहरु बाध्य भइ सुरक्षित स्थानमा लाग्नु पर्दथ्यो, कहिले काहिँ। यो समस्याले गर्दा छठ्ठुले कुकर धपाउने कार्यको लागि नै भनेर छुट्टै, केवल साँझको समयमा काम गर्ने एउटा केटा राख्नु परेको थियो। एउटा ठूलो र ज्यादै बलियो लठ्ठी पाएको थियो त्यो केटाले। त्यो लठ्ठीमा तेल दलेर उसले ज्यादै बलियो र चम्किलो पारेको थियो। त्यो केटाको एक लठ्ठी कुनै कुकुरको जिउमा बलियो गरी पर्दा चार दिनलाई छुट्टी हुन्थ्यो त्यो कुकुरको। तर जति गरे पनि ती पल्केका कुकुरहरु त्यहाँ आउन छाड्दैनथे। एक किसिमले कुकुरहरु आउने र तिनीहरुलाई संधै धपाउनु पर्ने दिनचर्या नै बनिसकेको थियो। यो तथ्य कुकुरहरु र धपाउने दुबैलाई थाहा थियो, जस्तो लाग्दथ्यो।
आज ती कुकुरहरु मात्र थिए छठ्ठुको आँगनमा। तिनीहरुले किन हो छाड्न सकेका थिएनन् छठ्ठुको घर, यो थाहा पाउँदा पाउँदै पनि छठ्ठुसँग अब भठ्ठी छैन। मासुको हाड पनि छैन। यहाँसम्म के भने उनीहरु बसेको घरमा कहिले काँही मात्र अब खाना पाइन्छ।
छठ्ठुले चटाईमा पल्टेर सोंच्यो – के ती रक्सी खान आउने व्यक्तिहरु केवल रक्सी खान मात्र आउने गर्दथ्ये? के तिनीहरुसँग मेरो कुनै सम्बन्ध स्थापित भएको थिएन। तिनीहरुले मलाई किन कसैले काका, कसैले फूफा, कसैले मामा, कसैले भाइ भनेका त? मेरा ती नातेदारहरु कहाँ गए? एकै पटक ती सबै आफ्ना गाउँ छाडेर अवश्य पनि अर्को गाउँमा नगएका होलान्। फेरि केहिले बिर्से पनि केहिले त सम्झिनु पर्ने हो नि? सबैले चट्टक कसरी बिर्सन सकेका होलान्। मेरो भठ्ठी बन्द भएको पाँच वर्ष भयो। तर, यो अवधिमा कोही पनि आएन मलाई भेट्न, आएका ती एक दुई जनालाई छाडेर भन्ने हो भने। यस्तै तर्क बितर्क छठ्ठुको दिमागमा चलिरहेको बेला उसलाई आफ्नो साँस रोकिन थालेको जस्तो लाग्यो। दम्माले बेसरी च्याप्यो उसलाई। कराउन पनि सकेन अइया अइया भन्दै कराउन खोज्दा।
कोही आएनन्, उसका तथाकथित नातेदार भनाउँदाहरु, परिचितहरु, हितैषीहरु। छिमेकीहरु त झगडा गर्नमा नै ब्यस्त थिए पानीका लागि। छठ्ठले कराएको उनीहरुले सुने। छठ्ठुको स्थिति गंभिर छ भन्ने कुरा पनि उनीहरुलाई थाहा थियो। तर उनीहरुको झगडाको अगाडि छठ्ठुको स्थिति गौड हुन पुग्यो।
एउटाले भन्यो पनि ‘साले भठ्ठीबाल हामीलाई छिमेकी भनेर यसो एक गिलास..............कहिले दिइस, महुआको रस चाख्न? अहिले मदद चाहियो रे त्यसलाई? यहाँ जिउँदो मानिसलाई खान पानी छैन, त्यो मर्न लागेकोलाई कसले हेर्ने? मरोस् साला भठ्ठीबाला। हेरौं को जाने होला त्यसलाई हेर्न?’
छठ्ठु फेरि करायो, रोयो। उसको आवाज भास्सिदै गयो। कोठाको दैलोमा बसेका कुकुरहरु टाउको माथि उठाउँदै रुन थाले। सबै कुकुरहरु एकै पटक रुंदा वातावरण ज्यादै दारुण हुन पुग्यो। कुकुरहरु धेरै बेरसम्म रोए। रुने क्रममा उनीहरुको बीचमा पटक्कै झगडा भएन। कुनै रुने कुनै नरुने त्यस्तो पनि भएन, सबै कुकुरले एकसाथ टाउको उचाले रोए।
ओलारको छेउमा मरेको एउटा भैंसीको गन्ध आउँदै थियो। एक जनाले त्यो भैंसीको छाला झिकिसकेको हुनाले गिद्धहरु त्यहाँ आउने क्रममा थिए। भैंसीको भैंसीको मासुको गन्धले ती कुकुरहरुलाई भने केही असर गरेन। अरु बेला ओलारमा मरेको जनावरको मासुको गन्ध पाउने बित्तिकै त्यतातिर दौडिने ती कुकुरहरु बरु झन लामो बेरसम्म रोएको रोऐ गर्न थाले, छठ्ठु कराएको सुनेर।
अघिदेखि झगडामा व्यस्त रहेका मध्ये एउटा करायो ‘किन दिउँसै कराएका यी अलक्षिना कुकुरहरु? हिर्काओन ए ससुरा हो, तिम्रा बाउहरुलाई, बाँसको लाठीले’।
एक युवक बडेमाको लठ्ठी लिएर अगाडि दौडियो। कुकुरहरु सम्भावित हमलाको डरले गर्दा चाक्लिए, यता उति। लठ्ठी खाएपछि एउटा कुकुर करायो – क्याँ क्याँ क्याँ।
छठ्ठुको मृत्युको खबर गाउँभरि फैलियो तर महत्वहीन र प्रत्यासित समस्या बनेर। उसको अन्तेष्टिको बारेमा ठूलो विवाद भयो। एउटाले भन्यो ‘छठ्ठुको अन्तेष्टिको लागि उसका नातेदारहरु नै आउनु पर्छ। हामीले लाश उठाउनु हुँदैन। छिमेकीले लास कसरी उठाउने? हाम्रो त्यो को हो र? न तीन न तेर्ह ……………..’। अर्कोले प्रतिउत्तरमा भन्यो ‘जे होस् लाश त जसरी भए पनि उठाउनु पर्छ। धेरै बेर लाश राख्नु धर्मको विरुद्ध हो’।
समस्याको समाधान हुने लक्षण नदेखिए पछि छठ्ठुको मृत्युको खबर गाउँको प्रधानपन्च कहाँ पुर्याए उसका छिमेकीहरुले। प्रधानपन्चले चौकिदारलाई बोलाएर सोध्यो ‘त्यो छठ्ठुआको कोही नातेदार छ, यो गाउँमा?’
‘छैन मालिक’ चौकिदारले उत्तर दियो।
‘यो गाउँमा परिचित र शुभ चिन्तकहरु धेरै छन्, मेरा। मेरो गाउँमा केवल मेरा नातेदारहरु मात्र छन्। तर साथी, सँघातीहरु बढी यो गाउँमा छन्। मेरो गाउँमा म केवल जन्मेको मात्र हुँ। हुर्केको, फलेको, म यो गाउँमा नै हो। यो गाउँका मानिसले मलाई अति माया गर्छन, अनि आदर पनि उत्तिकै। त्यसैले त मेरो भठ्ठीमा भीड लाग्ने गर्दछ। मेरो यो प्रिय गाउँलाई म कहिले छाड्न सक्तिन भन्द्थ्यो छठ्ठुआले, मालिक’ त्यो चौकिदारले थप्यो।
‘यो गाउँमा छठ्ठुको नातेदार कोही पनि छैन’ चौकिदारले अझै थप्यो।
‘छठ्ठुआको गाउँ पुग्न कति हिँड्नु पर्छ?’ रीस र विरक्ति दुबै मिसिएको स्वरमा प्रधानपन्चले चौकिदारलाई सोध्यो।
‘पूरा एक दिन हिँड्नु पर्छ, यो गाउँबाट छठ्ठुको गाउँ पुग्न, मालिक’ चौकिदारले सम्भावित समस्यालाई पन्छ्याउने किसिमबाट भन्यो।
‘त्यसो भए तैले नै लगेर फालदे साले भठ्ठीबाललाई, सारालाई दरुआहा बनायो यसले। जा लगेर लमहा (नदी) मा फालिदे’ प्रधानपन्चले चौकिदारलाई आदेश दियो। जाँदा र फर्कदा दुइ दिन हिँड्नु पर्ने समस्या एक घण्टामा नै सीमित भएकोमा चौकिदार खुसी भयो।
प्रधानपन्चको आदेशको पालना तत्काल भयो, छोटो विलम्व पनि नगरेर।
चौकिदार अघि अघि तथा छठ्ठुको लास पछि पछि, अनि लासको पछाडि छठ्ठुको दैलो कुर्ने ती कुकुरहरुको ताँती। एउटा बोरामा छठ्ठुको लास राखेर घिसारेको थियो चौकिदारले। कुकुरहरु रुदै थिए छठ्ठुको लासको पछाडि हिँडदै। कुकुरहरु मलामी गएको दृश्य आफैमा अति अनौठो र काल्पनिक थियो। छठ्ठुको लास फाल्ने फुर्सत चौकिदार बाहेक अन्य कसैलाई थिएन। चौकिदारको फुर्सतमा बाध्यता बढी मिसिएको थियो।
गाउँमा एउटा ख्याति प्राप्त नाच टोली आएको थियो। त्यो नाच टोलीलाई चाहिने आवश्यक सामाग्रीहरु- पाल पर्दा, दर्शक बस्ने ठाउँ, टिम्की सेक्ने घुर आदिको तयारीमा लागेका थिए जिम्दारका मानिसहरु। भइ रहेको त्यस किसिमको तयारी हेर्नमा तल्लिन थिए बाँकी गाउँलेहरुले सबै।
विश्वराज अधिकारी
No comments:
Post a Comment