Monday, October 3, 2011

बहलिया - कथा ३


फेंकु

फेंकु बनियाले जे व्यापार गरे पनि घाटा बाहेक केही हात लागेन। धान किनबेच गर्न गोला खोल्यो चन्द्रनिगाहपुरमा, त्यसमा पनि भुसुक्कै भयो। आफ्नै गाउँमा दोकान खोल्यो, उँभो लागेन। चुरा टिका लहटीको व्यापार गर्यो, आइमाईहरुले उधारो लिनसम्म लिए दिने बेलामा फुस्सा। हाँस, कुखुरा गाउँमा किनेर चन्द्रनिगाहपुरमा बेच्ने व्यापार पनि गर्यो, तर गाउँका लम्फु केटाहरुले हाँस, कुखुरा चोरेर उसलाई कंगाल पारे। अहिले उसले गरेको कोल्हुआरा (तेल पेल्ने) को व्यापार एक किसिमले जुवा जस्तै छ। करुवातेलको व्यापारमा मेहनत ज्यादा आम्दानी कम । यो व्यापार गर्दासम्म उसको पहिलेको सम्पत्तिको अब अवशेषसम्म पनि बाँकी छैन। उसले कोल्हु राखेको घर पनि बन्धकी छ र त्यो पनि ज्यादै चर्को ब्याज दरमा। त्यही अन्तिम बन्धकीले उसको कोल्हुआराको रुप लिएको छ। फेंकुको दयनीय अवरोहको सङ्क्षिप्त इतिहास यो नै हो। यसमा उसले भोगेको शारीरिक र मानसिक पीडाको उल्लेख भने गरिएको छैन।
चन्दरले हाँस्दै भन्यो फेंकुआ, आजकाल त तँ धनसेठ भएको छस्, हैन? खोइ एउटा चुरोट ख्वा । धनसेठ शब्दको प्रयोग ब्यङ्ग-बाणको रुपमा गरिएको हो भन्ने कुरा बुझेर पनि उसले एउटा चुरोट सित्तिमा दियो। चुरोट खाने  दाउमा बसेका अन्य व्यक्तिहरु एक दुई सर्को तान्न पाइने हो कि भन्ने आशमा चन्दरको अझै नजिक आए। चुरोट तान्नेहरुले एक अर्काको आँखामा हेरे। मुख नखोली सबै हाँसे, अनि फेंकुलाइ उल्लू बनाएको चुरोटको लागि हो भन्ने कुरा मौन रुपमा घोषणा गरे।
एक उमेर पुगेको व्यक्ति जसलाई गाउँका प्राय: सबैले नाना भन्ने गर्दथ्ये फेंकुको दोकानमा आयो अनि भन्यो फेंकुआ आजकाल त तेलको भाउमा निकै तेजी आएको छ नि? सबै त्यसै भन्छन्। फेरि शुद्ध तेलको त कुरा नै अर्को। तेरो त शुद्ध तेल हो नि? एक नम्बर, खाँटी। फेंकु सधैं झै खुसी भयो अनि घरभित्र पस्यो। नानाले आँगनबाट नै करायो फेंकुआ, अलिकति तेल दे त, कानमा हाल्नुछ तताएर। अति दुखिरहेको छ, मेरो दुवै कान। फेंकु तेल लिएर छिटै बाहिर निस्क्यो। ती वृद्ध तेल माग्न आएका हुन् त्यो पनि सित्तिमा भन्ने कुरा उसलाई पहिलेदेखि नै थाहा थियो।
ए फेंकुआ, अलिकति पिना देन। आज मेलामा जानुछ। सिउनगर। पिनाले नुहाएपछि कपाल अति राम्रो देखिन्छ रे, भन्छन्। अस्ति तैले पनि भनेको होस् नि, मेरो कपाल अति राम्रो छ मस्किदै अकलीले भनी अनि बाँधेको कपाल खोली । अकलीको कुरालाई फेंकुले टार्न सकेन। एक कचौरा पिना उसको अँचरामा हालिदियो।
अरुले के सित्तिमा दिन्थ्यो, यत्तिको पिना? पाँच रुपैया त यत्तिको पिनालाई पर्छ नै। फेंकु मूर्ख हुनाले दियो अकलीको  यो सम्वादमा उसकी बहिनीले असहमति जनाइन, बरु दुबैले एक अर्काको आँखामा हेरे, अनि फेंकु सजिलैसँग मूर्ख बन्यो भनी गर्व गरे।
फेंकु, भाइ अलिकति तेल देउन, टाउकोमा लगाउन। अलिकति त सित्तिमा नै दिन्छौ होला नि? अलि कति तेल पनि किन्नु पर्ला र? गाउँका पाँच छ जना केटाहरुले चर्को स्वरमा एकैचोटी भने। अलिकतिको लागि पनि के पैसा लिनु, त्यतिकै दिइ हाल्छु भन्दै फेंकुले पाँच छ जनाको टाउकोमा अलि अलि तेल हालिदियो। तेल पाइसकेपछि ती केटाहरु कबड्डी खेल्न दौडिए। खेल्ने ठाउँमा पुगेपछि एउटा केटाले हाँस्दै क्रोध मिसिएको स्वरमा भन्यो साला मूर्ख, फेंकुआ, कमको ठग छ र? खुब मुनाफा गर्छ तेल बेचेर। भोलि त्यसको त्यो ठूलो तेल राख्ने भाडो नै गायब गर्नु पर्छ है। सबै केटाहरु सहमत भए त्यो योजनामा।
जमिन्दारको प्रतिनिधिले हतारिदै भन्यो  ए फेंकुआ, एक सेर तेल दे छिटै। जिम्दार मालिकको घरमा थुप्रै परिकारहरु पकाउनु छ। चारपाँच गाउँहरुबाट थुप्रै पाहुनाहरु आएका छन्। दुईवटा त कुखुरा मात्र काट्ने योजना छ। अनि एकजोर परेवा, चिखनाको लागि।
फेंकुले सोध्यो पैसा नि? जिम्दारको सम्वाद जिम्दारको प्रतिनिधिको मुखबाट निस्क्यो ए साले चपाट, जिम्मदार जस्तो ठूलो मान्छेले तँ जस्तो जावाको खाएर भाग्छ? हुन त हो, जिम्दार जस्तो ठूलो मान्छेले एक सेर तेलको पैसा लिएर के भाग्ने होला है भन्दै फेंकुले तेल नाप्न थाल्यो। प्रतिनिधि मनमन मै मुसुक्क हाँस्यो जिम्दारको कृतिम आदेश सफल भएकोमा। ऊ सरासर आफ्नो घरतिर लाग्यो।
तेलको यो व्यापारमा  पनि ज्यादै घाटा खानु पर्यो फेंकुले। ऋण गरेर बनाएको कोल्हुआरा भत्काउँदै थियो फेंकु। कोल्हु, गोरु र बाँकी रहेको  तोरी सबै बेच्दा पनि साहूको ऋण तिर्न नसकिने अनुमान गर्यो उसले। ऋण चुक्ता गर्न साहूको घरमा काम गर्नुभन्दा बाहेक उसको अगाडि अन्य विकल्प रहेन। फेंकुले गोरुलाई आँगनको किलामा बाँध्दै थियो, धरिछन त्यहाँ आइपुग्यो, टुपलुक्क अनि सोध्यो किन फेंकु, यो व्यापारमा पनि घाटा लाग्यो?
अँ हो भनी टाउको हल्लाउँदै फेंकुले उत्तर दियो।
धरिछनले फेरि सोध्यो होइन, तिमीले जे व्यापार गरे पनि किन घाटा मात्रै लाग्छ हँ? हेर त सुखललाई, व्यापार गरेको एक बर्ष पनि भएको छैन दुई वटा घोडा किनिस्क्यो । अनि माथिबाट तीन कठ्ठा घडेरी। तिमीले व्यापार गरेको त दस बर्ष भन्दा बढी भइसक्यो होइन र?
हुन देऊ, मलाई हुन सुखल जस्तो हुनु परेको छैन। जाऊ त सुखल कहाँ, एउटा ठुटो बिडीसम्म दिन्छ उसले सित्तिमा। तर मैले जसले जे मागे पनि आफूले सके जति दिएको छु र दिन्छु पनि। सुपथमोलमा सामान दिएको छु। उधारोमा सामान दिएको छु। पर्दा ओर्दा सित्तिमा सम्म पनि दिएछु। सुखलले कसैलाई सुपथमोलमा त परैजाओस्, सित्तिमाको त कुरै नगरौ, उधारोमा पनि दिदैन। मात्र नगदा नगदी। मसँग तिमीहरुले सित्तिमा माग्छौ तर गुणगान भने सुखलको गर्छौ भन्दै फेंकुले कोल्हुतिर हेर्यो अनि लामो सास फेर्यो।
गाउँका साराले भन्छन फेंकुआले जे व्यापार गरेपनि घाटा हुन्छ भन्दै धरिछनले उसलाई अलि होच्याउने किसिमले हेर्यो।
अधिदेखि मनमा राखेको व्यथालाई फेंकुले थाम्न सकेन। उसको मुखबाट पोखियो यो गाउँका मानिसले ठग्नुसम्म ठगेका छन् मलाई। म गरिब भएको सबैले ठगेर नै हो। म उभो लाग्न नसकेको कारण पनि त्यो नै हो, यसमा मलाई कुनै संका छैन अब। मेरो घर यो गाउँमा नभएको भए उहिले नै म अर्को गाउँमा गइ सकेको हुन्थें। तर के गर्नु? घरको माया, छिमेकीको माया अनि सिंङ्गो यो गाउँ र गाउँका मानिसहरुको मायाले गर्दा, आफू ठगिएर भए पनि यो गाउँ छाड्न सकेको छैन मैले। यो गाउँलाई, आफू जन्मे हुर्केको ठाउँलाई कसरी छाड्नु त चटक्क?’

विश्वराज अधिकारी

No comments:

Post a Comment