Saturday, October 8, 2011

Poem of the Week - 1 What Buddha Said?


बुद्धले भनेका थिए

तिमी मलाई तिम्रो तरवार देऊ
म तिमीलाई शब्द दिन्छु
तरबारले केवल व्यक्ति मर्छ
व्यक्तिको बिचार मर्दैन
मेरो शब्दले तिमी लड्न सक्छौ
आफ्ना बिरोधीहरुसँग

बुद्धले भनेका थिए
शब्दले न त कसैको
शरीर भेदन गर्छ
न त सीर छेदन गर्छ
केवल कसैको एउटा बिचारमा
अर्को बिचारको सम्प्रेषण गर्छ

बुद्धले भनेका थिए
तरवारको गणितमा केवल घटाउ हुन्छ
यसले संख्या घटाउन मात्र जानेको हुन्छ
बिरोधीलाई टुक्रा पारेर रमाएको हुन्छ
तरबारको धर्म पनि यही हो, कर्म पनि यही हो
तर शब्दको गणितमा केवल जोड हुन्छ
यसले जोडदै जान्छ मनहरुलाई  मनसँग
तिमी शब्दद्वारा एशियादेखि युरोपसम्म
अमेरिकादेखि अफ्रिकासम्मका मानिसहरुलाइ जोडन सक्छौ

बुद्धले भनेका थिए
तिमी मेरो शब्द लेउ
काट्न नपाएर तरबारमा झै 
न त यसमा खिया लाग्छ
ठीकसँग राख्न जानेनौ भने
न त तरबारले झै तिम्रो ज्यान नै लिन्छ
मेरो शब्दलाई म्यानमा राख्नु पर्दैन
यसलाई जहाँ पनि जसरी पनि राख्न सक्छौ

बुद्धले भनेका थिए
मेरो शब्द सत्य छ
यो अमर छ
यो उहिले पनि थियो
आज पनि छ
भोलि पनि रहि नै रहने छ
तिमीलाई थाहा छैन होला
तिमीले नसुनेको होला
तर सत्य हो
शब्दले सुन्छ, देख्छ र बोल्छ पनि
त्यसले न्याय अन्याय छुट्याउन सक्छ
तर तरबारले न देख्छ, न सुन्छ
तरबारले केवल प्रहार गर्न जानेको हुन्छ
काट्नु नै उसको धर्म हो त्यो यसले ठानेको हुन्छ

म फेरि भन्छु तिमीलाई
मेरो शब्द लेउ म तिम्रो तरबार लिन्छु
म तरबारलाई शब्द बनाउने प्रयोग गरिरेको छु



विश्वराज अधिकारी

1 comment: