इजिप्ट तातेको अठार दिन
म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ लाखौको संख्यामा प्रदर्शनकारीहरु जम्मा हुने क्रम शुरु भएको थियो, होस्नी मुबारकको बिरोध गर्दै, उनको राजिनामाको माग गर्दै। म तहरिर स्क्याएरबाट केही पर रहेको एउटा अपार्टमेन्टमा थुनिएको थिए। त्यो अपार्टमेन्टमा बस्ने व्यवस्था मेरा एक काइरो निवासी मित्रले मिलाई दिएका थिए, खासमा म उनैको निमन्त्रणमा त्यहाँ पुगेको थिएँ। एउटा समस्या माथि अर्को समस्या थपिएको थियो, र त्यो थपिएको समस्या थियो, म पुगेको दिन देखि केही दिनसम्म मात्र मेरा ती मित्रसँग सम्पर्क भई रह्यो। तर फ्रेब्रुअरीको १ तारिखदेखि भने उनीसँग मेरो सम्पर्क पूर्ण रुमपमा टुट्यो।
एक पटक मात्र मेरा ती मित्रसँग कुराकानी भएको थियो त्यस पछि उनीसंग सम्पर्क हुन सकेको थिएन। फोनमा समेत पनि। काइरोमा बिरोधको थालनी २०११, जनवरी २५ देखिनै शुरु भइसकेको थियो। तर विस्तारै साम्य होला भन्ने आशमा म त्यता लागेको थिएँ। के साम्य हुनु उल्टो चर्किदो थियो। बैंक पसलहरु अथवा भनौ बजार लगभग बन्दै जस्तो नै थियो। केवल जता हेर्यौ उता मान्छेको भिड, बिरोध प्रदर्शन। करिब तिस वर्षदेखि सत्तमा बसेका मुबारकलाई सत्ता जोगाउन हम्मे हम्मे परिरहेको थियो। म बसेको भवनको छेउमा बस्ने एक व्यक्ति जो इजिप्सियन नै थिए, उनले नै मलाई सुनाउँथे के के भइरहेको छ भनेर। उनले आफ्नो नाम साइद भनेका थिए। अंग्रेजी गार्हो गरी बोलेता पनि वर्तमानको समय र उनले भनेका कुराहरुलाई जोड्दा के भन्न खोजेका हुन थाहा हुन्थ्यो। उनीले नै मलाई सतर्क गराएका थिए, बाहिर सडकतिर ननिस्किनु भनेर। उनले घरको बाहिर समेत ननिस्किनु भनेका थिए, त्यै पनि म कुनै बेला कोठा बाहिर आएर कुनै बेला घर बाहिर आएर हेर्थ्ये, सडकमा भइरहेको गतिविधिहरु। साइद भने बेला बेलामा तहरिर स्क्वाएर पुग्थ्ये। फर्के पछि उत्साहित हुँदै सुनाउँथे। एक दिन उनीले दंग पर्दै भनेका थिए ‘आज करिब १० लाख जति मानिसले भागलिए बिरोध प्रदर्शनमा। खाडी राष्ट्रहरुको आधुनिक इतिहासमा यो पहिलो ठूलो प्रदर्शन हो। ताहरिर स्क्याएरमा पनि २ लाख भन्दा बढि मान्छे जम्मा भएका थिए, मुबारक-शासनको बिरोध गर्न। सेनाले बल प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।’
साइदले नै भनेर मैले थाहा पाएको थिएँ- देश भरि फैलिएको बिरोधमा तिन सयभन्दा बढी व्यक्तिहरुको ज्यान गइसकेको छ। तैपनि प्रदर्शनकारीहरु पछि हटेका छैनन्। मुबारकको सांकेतिक शव-बाकस बोकेर प्रदर्शन गरेका छन्। महिलाहरु पनि पुरुषहरुसंग हातमा हात समातेर उभिएको देखिन्छन रे त्यो विसाल प्रदर्शनमा। साइद कुराबाट प्रष्ट गरी थाहा हुन्थ्यो उनी मुबारक-शासनको बिरोधी हुन भनेर।
एक दिन मैले सडकमा उट र घोडाहरु दौडेको देखेको थिएँ, म बसेको भवनबाट सडकतिर हेर्दा। साइदलाई भेट भए पछि मैले सोधें किन त्यसरी सडकमा उट र घोडाहरु दौडेको भनेर। ती उट र घोडहरु त प्रदर्शनकारीहरुलाई कुट्न, घाइते पार्न प्रगोग गरिएको रहेछ। उट र घोडामा चढेर सरकारद्वारा पठाइएका व्यक्तिहरुले प्रदर्शनकारीहरुमाथि तरबार र लठ्ठी बर्साएका थिए। प्रदर्शनकारीहरु माथि गरिएको त्यस किसिमको आक्रमणमा परेर १५०० भन्दा बढी व्यक्तिहरु घाइते भए जस मध्ये केही अवस्था चिन्ताजनक थियो। यी सबै कुराहरु मैले साइदले भनेर थाहा पाएको थिएँ।
साइद पेसाले एक टेक्सी ड्राइभर थिए। उमेरले ८० वर्ष पुगिसकेका मुबारकको एकलौटी शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन साइद निकै उत्साहि देखिन्थ्ये। एक दिन साइदले मलाई भनेका थिए ‘ ३० वर्ष सम्म इजिप्टको राज्य सत्ता हाथमा लिएर पनि मुबारक थाकेका छैन सक्ताबाट। सत्ताको मोह ज्यादै हुँदो रहेछ, नेताहरुमा। तर उनको शासनकालमा इजिप्टमा गरिबी र भष्टाचार बढ्नु बाहेक केही पनि हुन सकेको छैन। हामी जस्ता गरिबहरु झन झन गरिब हुँदै गएका छन। हामी जस्ता गरिबलाई बाँच्न झनै कठिन भएको छ’।
साइदले मलाई सुनाएका थिए राष्ट्रपति मुबारकले सत्ता छोड्ने कुनै संकेत दिएका छैनन् भनेर। मुबारक देश छाडेर जाँदैछन भन्ने हल्ला पनि उनैले सुनाएका थिए। फेरि उनैले सुनाएका थिए मुबारकले इजिप्ट छाडेर नजाने, आफ्नै माटोमा मर्ने इच्छा व्यक्त गरेका छन रे।
सइदले जहिले पनि मलाई तहरिर स्क्याएर तिर नजान सचेत गराउँथे। मलाई पत्रकार वा अन्य त्यस्तै कुनै विदेशी तर पदर्शनकारीहरुलाई सघाउने भन्दै मुबारक समर्थकहरुले सडकमा लछार पछार गरेर निर्घात कुटलान, होस गर्नु है भन्थ्ये। पत्रकारहरुलाई सरकार समर्थकहरुले निर्घात कुटेका पनि थिए रे।
मुबारक युगको समाप्ति पछि इजिप्टको विकास हुने र उनी जस्ता गरिबलाई पनि बाँच्न सजिलो वातावरण श्रृजना हुनेमा साइद ढुक्क थिए। त्येही आशाले घरि घरि तहरिर स्क्वाएरमा पुर्याउँथ्यो साइदलाई।
साइद इजिप्ट बाहिर कतै गएको, संसार र राजनीतिलाई बुझेका झै प्रतीत हुन्थेन्न उनको कुरा गराईबाट। उनलाइ यति मात्र विश्वास थियो कि इजिप्टमा परिवर्तन भएर होस्नी मुबारकको ठाँउमा अर्को कुनै व्यक्ति आएमा देशको आर्थिक प्रगति हुने छ र उनी जस्तो गरिबले अहिलेको जस्तो कष्टकर जिवन विताउन बाध्य हुने पर्ने छैन। उनलाई लाग्थ्यो समस्याको जड भनेको होस्नी मुबारक मात्र हुन। राजनीतिको धागो ज्यादै अल्झेको हुन्छ भन्ने कुरा उनलाई थाहा भए जस्तो लाग्थ्येन उनको सरल किसिमको कुरा गराईबाट।
परिवर्तन प्रतिको साइदको चाहना देखेर मलाई भने आफ्ने देशको र २०४६ सालको जन आन्दोलनको स्मरण हुन्थ्यो। जसरी साइदले देशमा मुबारक युगको समाप्ति पछि इजिप्टमा विकासको लहर दौडेर गरिबीको अन्त्य सदाका लागि हुने ठानेका थिए त्यसै गरी नै आम नेपालीले ३० वर्षे लामो निरंकुस पंचायत शासनको अन्त्य भइ नेपालमा गरिबी समाप्त हुने र खुसहाली छाउने विश्वाश गरेका थिए ४६।४७ सालको जन आन्दोलनमा। तर त्यस्तो भएन, नेपाल झन गरिबीको दल दलमा फस्यो। ४६ सालको जन आन्दोलान पछि नेताहरुमा सत्ता केन्द्रित व्यवहार देखियो। देश र जनताको विकास गर्न कार्यलाई बिर्सेर मन्त्री र प्रधान मन्त्री बन्ने दौडमा लागे, उनीहरु। राजनैतिक दलहरु बिच सत्ताका लागि संधै जसो कलह र संघर्ष हुन थाल्यो। सरकार कहिले स्थिर हुन सकेन। बन्द र हडताल चुलियो। भष्टाचारमा कुनै नियन्त्रण हुन सकेन। देशका विभिन्न शहरहरुमा वस्तु उत्पादन गर्न उद्योग स्थापना हुनुको साटो मान्छे अपहरण गरेर मोटो रकम फिरौति लिने उद्योगहरु स्थापना भए। जबर जस्ति चन्दा असुल्ने र नदिनेलाई मार्ने जस्ता कार्यले व्यापकता पायो। आपराधिक गिरोहहरुले राजनीतिको रामनामी चादर ओढेर हिँसा मचाउन छुट पाए। देशमा बढेको बेरोजगारीले, खास गरी नेपाली युवाहरुलाई, यति बढी हतोत्साहि तुल्यायो निरास मनोविज्ञान र उदेक लाग्दो गरिबीबाट छुटकारा पाउन कष्टकर र जोखिमयुक्त भए पनि लाखौको संख्यामा नेपालीहरु विदेशतिर हान्निए, जागिर पाउने आशामा। रोजगारीका लागि विदेश पुगेका हजारौ नेपालीहरु मध्ये केहीले त्यहाँका रोजगारदाताहरुको यातना सहन नसकेर आत्म हत्या गरे। कतिपय नेपाली महिलाहरु रोजगारदाताहरुबाट बलात्कृत भए। सयौको संख्यामा नेपाली चेलीहरु यौन हिंसाको सिकार भएर विक्षिप्त जिवन विताउन बाध्य भए, स्वदेश फिरेर। दुर्घटनामा परेर, काम जोखिमपूर्ण भएर, मौसमको प्रतिकूलता सहन नसकेर, क्षमताभन्दा बढी काम गर्नु परेर पनि हजारौ नेपालीहरुले ज्यान गुमाए विदेशी भूमिमा। र यी सबै ४६।४७ को जन आन्दोलन पछि नै भए। भन्ने हो भने एक किसिमले नेपाल २०४६।४७ साल पहिलेको स्थिति भन्दा पनि खराब अवस्थामा पुग्यो, सामाजिक र आर्थिक दुबै किसिमले, ४६।४७ को जन आन्दोलन पछि। सामप्रदायिकता, क्षेत्रियता, जतीयताका चर्का चर्का नाराहरु पनि निस्के ४६।४७ को आन्दोलन पछि। देश नै टुक्र्याउने नाराहरु समेत पनि निस्किन बाँकी रहेनन, ४६।४७ को आन्दोलन पछि। जबकी त्यो जन आन्दोलन भएको थियो राजनैतिक, आर्थिक स्वतन्त्रताका लागि। भयो उल्टो, त्यो के भने जनता राजनैतिक दल र नेताहरुको हतियार बन्न पुगे।
र यस्तै इजिप्टमा पनि हुने हो कि भन्ने डर हुन्थ्यो मलाई। मेरो त्यस्तो डरको खास कारण थियो र त्यो खास कारण के थियो भने नेताहरु प्राय: सबै देशमा उस्तै हुन्छन, महत्वाकांक्षी अनि सत्ताको लोभी। खास गरी गरिब राष्ट्रहरुमा त नेताहरुले राजनीतिलाई सक्ति र धन उत्पादन गर्ने उद्योग नै ठान्छन। देशमा जति बढी अशान्ति मच्चियो त्यति नै बढी मात्राम नया नया शक्तिहरुको जन्म हुन्छ। र ती शक्तिहरुले सामान्य जनताको हितमा काम गर्ने उदघोष गर्छन। जनताको लागि काम गर्ने उदघोष गरेता पनि काम भने केवल आफू र आफ्नो परिवारका लागि गर्छन। जनतालाई केवले माध्यम मात्र बनाउँछन, आफ्नो स्वार्थ पूर्ति गर्ने। गरिब राष्ट्रहरुमा नेताहरुलाई आफ्नो महत्वाकांक्षा पूरा गर्न सजिलो हुन्छ पनि किनभने देशको कानून व्यवस्थामा जनताको होइन नेताहरुको नियन्त्रण हुन्छ। त्यति मात्र हो र, नियम कानूनको निर्माणमा पनि उनीहरुकै हाली मुहाली हुन्छ।
बुधवार, फेब्रुअरी ९, २०११ को कुरा हो साइद निरास मुद्रामा देखा परेका थिए। मतिर हेर्दै उनले भनेका थिए ‘विसाल विरोध प्रदर्शन शुरु भएको आज १६ दिन भइ सक्यो परिवर्तनको कुनै संकेत देखिएको छैन। प्रदर्शनमा भाग लिनेहरु थिकित र भयभित देखिन थालेका छन। बिरोध लामो समयसम्म चलेको हुनाले थकित देखिएका छन। आन्दोलन सफल भएन, सरकार बलियो भएर आयो भने प्रदर्शनकारीहरुलाई सरकारका मान्छेहरुले खोजी खोजी थुन्ने छन र यातना पनि उत्तिकै दिने छन भनी भयभित भएका छन, प्रदर्शनकारीहरु। प्रदर्शनकारीहरुलाई पछि सरकारले समात्ने भय यस कारणले छ, किनभने सादा पोसाकमा रहेका पुलिसहरुले प्रदर्शनकारीहरुले नथाहा पाउने गरि उनीहरुको फोटो खिचिरहेका छन् पछि गिरफ्तार गर्नका लागि। अहिले काइरोमा निकै अस्त व्यस्तको स्थिति छ। विदेशीहरुले धमाधम इजिप्ट छाड्दैछन र जो बसेका छन उनीहरु पनि ज्यादै भयभित छन, कुन बेला के हुने हो भन्ने पीरले। सरकारले वार्ता गर्ने भनेता पनि प्रदर्शनकारीहरुलाई अलमल्याएर आन्दोलन सिथिल पार्ने रणनीति लिएको छ।‘
सुक्रवार, फेब्रुअरीको १० तारिख कुरा हो, दिउँसो साइद मेरो नजिक हाँस्दै आइपुगे। म घर बाहिर निस्केको थिएँ, बाहिरको दृश्य हेर्नका लागि। उत्साहित हुँदै उनले भने ‘ देशको विभिन्न ठाउँहरुमा हजारौ कामदारहरु काममा गएनन्, हडताले गरे। र यसरी हडताल गर्नेहरुमा रेल र बसका कामदारहरु छन। राज्यका विद्युतका कर्मचारीहरु छन। यसै गरी स्वेज क्यानलका प्राविधिक सेवाका कामदारहरु अनि कपडा, स्टिल र अरु कारखानकाका कामदारहरु पनि छन। कसै कसैले त भन्छन् अस्तपतालका कर्मचारीहरु पनि हडतालमा उत्रेका छन रे। आउने शुक्रवार त ठूलो बिरोध प्रदर्शन हुने भएको छ र अझै धेरै जनाले हडताल गर्ने हल्ला छ।’
‘राष्ट्रपति होस्नी मुबारकका परिवारहरुले थुपै धन जम्मा गरेका छन। लगभग दसौ बिलियन डलर जम्मा पारेका छन, जबकी इजिप्टको करिब आधा जनसंख्या गरिबीको रेखामुनी पर्दछन। प्रदर्शनकारीहरुले नारा लगाए- भन मुबारक, ७० बिलियन डलर कहाँबाट आयो।’
साइदले यो पनि सुनाए कि उपराष्ट्रपति ओमार सुलेइमानले चेताबनी दिंदै भनेका छन नागरिक अवज्ञा गर्न भन्नु समाजका लागि घातक हो र यो हामी हुन दिन्नौ। उनको यो चेताबनीलाई मानिसले इजिप्टमा मार्शल ल लागु हुन सक्ने संकेतको रुपमा लिएका छन। उपराष्ट्रपतिले यो चेतावनी पनि दिएका थिए- मौजुदा स्थिति बिग्रेर गयो भने देशमा कु पनि हुन सक्छ। वार्तामा न आएर बिरोध मात्र गर्ने हो भने देशमा कु हुन सक्ने चेताबनी उपराष्ट्रपतिले दिए पछि प्रदर्शनकारी हरु झनै क्रुद्ध भएका छन र अब झन चर्को नारा लगाउँदैछन – हामीले छाडदैनौ जब सम्म मुबारकले छाडदैनन्।
दिउँसो मसँग भेट भए पछि साइद तहरिर स्क्वाएर पुगेका थिए। तहरिर स्क्याएर पुगेर सांझ फर्के पछि उनले सुनाएका थिए ‘राष्ट्रपति होस्नी मुबारक सार्म अल सेइख स्थित रेड सि रिसोर्टमा छन। सार्म अल सेइख काइरोदेखि २५० माइल पर छ। तर पदर्शनकारीहरु भने तहरिर स्क्याएरमा जम्मा हुंदै छन र राष्ट्रपति भवन र स्टेट टि भि बिल्डिङ्गतिर बढ्दैछन। मुबारकले आफ्ना धेरै अधिकारहरु उपराष्ट्रपति ओमार सुलेइमानलाई दिएको घोषणा गरेका छन तर पछाडि हटने संकेत भने देखाएका छैनन्। सेनाले पहिले प्रदर्शनकारीलाई समर्थन गरेको जस्तो भान पारेका थिए तर त्यस्तो होइन रहेछ, सेनाले आफ्नो समर्थन राष्ट्रपतितिर रहेको देखाएका छन। अहिले तहरिर स्क्वाएरमा करिब दुई लाख पचास हजार प्रदर्शनकारी काँधमा काँधमा मिलाएर मुबारकको बिरोध गरिरहेका छन। यति ठूलो प्रदर्शन इजिप्टको इतिहासमा पहिलो हो, भन्दै छन् धेरै जनाले।
यता मेरो हालत पनि नाजुक बन्दै गइरहेको थियो। कतै निस्कन पाइरहेको थिन। तर म बसेको ठाउँ सुरक्षित भएकोले त्यस्तो डराएर भाग्नु पर्न स्थिति थिएन। म रोकिएर बसेको थिए काइरोमा र यो आशमा थिएँ कि सरकार र प्रदर्शनकारीहरुको बीचमा सम्झौता भएर प्रदर्शन शान्त होला अनि म इजिप्टका बिभिन्न ठाउँहरु घुम्न जान पाउँला। तर इजिप्टको जनताले शुरु गरेका आन्दोलनले १८ दिन पार गर्दा पनि राष्ट्रपति मुबारकले प्रदर्शनकारीको कुरा सुनेको जस्तो देखिन्थ्येन।
२०११, फेब्रुअरी ११ तारिख, शुक्रवार राति, यस्तै नौ वा दस बजेको हुनु पर्दछ, साइद मेरो कोठा अगाडि उभिएर कराए मिस्टर सुधिर। म हत्तारिँदै बाहिर निसक्ये। म बाहिर निस्किनासाथ उनले मसंग हात मिलाउँदै भने ‘मुबारक- युग समाप्त भएको छ। इजिप्ट अब स्वन्त्र भएको छ।’ मैले साइदलाई सोधे- कुनै नया घोषणा भयो? उनले भने ‘हो, भयो उपराष्ट्रपति ओमार सुलइमानले टि भिमा आज भने- राष्ट्रपति मुबारकले आफ्नो अधिकार सेनालाई सुम्पेका छन र आफ्नो पदबाट राजिनामा गरेका छन। बिरोधको केन्द्र (epicenter) बनेको तहरिर स्क्वाएरमा अहिले धुमधामसँग खुसियाली मनाइदैछ। हामीले सत्तालाइ झुक्न बाध्य पारेऔ, हामीले सत्तालाई झुक्न बाध्य पारेऔ’ भनि तहरिर स्क्वाएरमा मनिसहरु नारा लगाई रहेका छन। अभूतपूर्व खुसियाली छाएको छ त्यहाँ। मानिसहरु सडकमा उफ्रिंदै छन् खुसीले। इजिप्टको सेनाले सत्ता आफ्नो हातमा लिएको छ र सत्ता कसरी हस्तान्तरण गर्ने बारे बताउने भनेको छ। इजिप्टका उपराष्ट्रपतिले यसरी घोषणा गरेका थिए ‘"In these grave circumstances that the country is passing through, President Hosni Mubarak has decided to leave his position as president of the republic,"
(Suleiman said. "He has mandated the Armed Forces Supreme Council to run the state. God is our protector and succor.")
‘मानिसहरु भन्दै छन्- यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो दिन हो र यस्तो फेरि दोहरिने छैन। यो देशको फेरि जन्म भएको छ। यहाँका जनताहरुको पनि फेरि जन्म भएको छ र यो इजिप्ट नयाँ इजिप्ट हो।’
साइद निकै प्रफुल्ल देखिन्थ्ये। उनले मेरो हात समातेर भने ‘जाउँ, तरहरिर स्क्वाएरमा खुसियाली मनाउन।’ म साइदको पछि पछि लाग्दै हिँडे, तहरिर स्क्याएरतिर।
१८ दिन सम्म चलेर समाप्त भएको थियो जनताको बिरोधको आँधी । त्यो बिरोधको आंधीले मुबारकलाई जनताको मनबाट निकै टाढा पुर्याएको थियो। तानाशाहहरुले ढिलै गरि भएता पनि तर सत्ता छाड्नै पर्छ एक दिन भन्ने उदाहरण देखाएको थियो इजिप्टको जन आन्दोलनले।
विश्वराज अधिकारी
published in meroreport.net on Friday, October 14, 2011
No comments:
Post a Comment