Saturday, October 29, 2011

Poem of the Week - 3 Selling the Dream


सपनाको बजार

गरीबीको बजारमा
जहिले पनि
सपना किन्नेहरु
सपना बेच्नेहरु
जम्मा हुन्छन्
सपना किन्ने र बेच्ने दुवैथरीबाट
मोलतोल हुन्छ
रगत, पसिना र ज्यानै बेचेर पनि
सपना किन्न खोज्छन् एकथरी
सपना पनि ज्यादै ठूलो, महत्वाकांक्षी होइन
केवल दुई छाक ढुक्कसँग
खान पाउने
वर्षभरि आङ्ग छोप्न पाउने
घाम पानी बाट जोगिन छत ठड्याउने, मात्र
मायावी रुप लिएर प्रस्तुत हुन्छन
सपना बेच्नेहरु, अर्कोथरी,
कहिले नेता बनेर
कहिले मानव ओसार पसार गर्ने व्यापारी बनेर
कहिले के बनेर कहिले के बनेर
कहिले पुर्याउँछन् युद्ध मैदानमा
कहिले पुर्याउँछन् मलेसिया,कतार हुँदै
इराकको समसानमा
सपना बेच्छन्
ज्यादै राम्रो मूल्यमा
थोक अनि खुद्रामा
उनीहरुको रगत पसिना लिएर
सपना किन्नेहरुले
मिठो सपना किन्न पाउने आशमा
कहिले खेत बेचे
कहिले घर बेचे
कहिले कसैको झण्डा बोके
कहिले कसैको डण्डा बोके
सपनाको बजारमा
सपना किन्नेहरु
सपना बेच्नेहरु
दुबै थरिको आउने क्रम भने
रोकिएको छैन
आइनै रहेका छन्
आइनै रहेका छन्
आइनै रहने छन्।

विश्वराज अधिकारी


No comments:

Post a Comment