Wikipedia

Search results

Friday, October 14, 2011

लेख - १४ बहरेनको आन्दोलन



बहरेन फेरि एक चोटी चर्चा छ। चर्चामा हुनुको कारण एक १६ वर्षिय युवक जन प्रदर्शनमा मारिनु र जन बिरोधमा भाग लिएको भन्दै सरकारले चिकित्सकहरु समेतलाई पनि गिरफ्तार गर्नु हो। हुन त उक्त युवकको मृत्युको कारण हृदय गति बन्द भई भएको उल्लेख गरिएको छ तर प्रदर्शनकारीहरुले भने गोलिद्वार उक्त युवकको मृत्यु भएको भन्दै छन। 
जब गत फेब्रुअरीमा त्यहाँ बढी राजनैतिक स्वतन्त्रताको माग गर्द जन बिरोध शुरु भयो त्यस बेलादेखि नै बहरेन चर्चामा रहँदै आएको छ। त्यहाँ भएको जन आन्दोलनमा अहिलेसम्ममा ३४ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन भने एक हजार चार सय जना गिरफ्तार गरिएका छन। यसै गरी त्यस किसिमको आन्दोलनमा भाग लिएको भन्दै सरकारले तीन हजार छ सय व्यक्तिहरुलाई  जागिरबाट बर्खास्त गरि सकेको छ। केही दिन पहिले मात्र सरकारले २० जना चिकित्सकहरुको समूहलाई लामो जेल सजाए सुनाएको छ। समाचारहरुमा उल्लेख भए अनुसार ती चिकित्सकहरु मध्ये १३ जना चिकित्सकहरुले १५ वर्ष, २ जनाले १० वर्ष र ५ जनाले ५ वर्षको जेल सजाए पाएका छन। ती चिकित्सकहरु माथि अनुमति नलिइ हतियार राखेको, सरकार अपदस्थ गर्न उक्साएको, सार्वजनिक भवन बलपूर्वक कब्जा गरेको जस्ता सरकारी आरोप छ। बहरेनको राजधानी मान्मा स्थित अस्पताल-सलमानिया मेडिकल कम्प्लेक्सका बिरामीहरुलाई ती चिकित्सकहरुले असहयोग गरेको र साथै उनीहरुले राजनैतिक उद्देश्यका लागि अस्पतालको दुरुपयोग समेत गरेको आरोप पनि छ। यसै गरि अन्य व्यक्तिहरुलाई पनि जेल सजाए सुनाइएको छ। त्यसरी जेल सजाए सुनाइएका २१ जना मध्ये केहीले दुई वर्ष भने केहीले आजिवन काराबासको सजाए पाएका छन। उनीहरु माथि पनि सरकार ढाल्ने कोशिस गरेको आरोप लगाइएको छ।
इजिप्ट, सिरिया, ट्युनिसिया र लिबियामा भएको जन बिद्रोहबाट उत्साहित भएर शुरु भएको जस्तो देखिएको बहरेनको जन आन्दोलनले लिबिया र इजिप्टमा ल्याएको परिवर्तन जस्तै परिवर्तन ल्याउने संकेत दिइ रहको भने छैन बरु स्थिति सिरियाको होला जस्तो छ, अर्थात अझै लम्बिने हो कि भन्ने अनुमान गर्न थालिएको छ। त्यहाँ चलेको आन्दोलनलाई सरकारले अहिलेसम्म कठोरताका साथ दबाउँदै आएको छ। सरकारले देशमा भएको जन बिद्रोहलाई दबाउन साउदी अरबिया र युनाइटेड अरब इमिरेट्सबाट सेना समेत झिकाएको थियो र प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीहरुले गोलि समेत प्रहार गरिएका समाचारहरु प्रकाशित भएका थिए।
बहरेनको जन आन्दोनको स्वरुप अन्य देशभन्दा अलि पृथक किसिमको भएकोले पनि त्यहाँ भएको आन्दोलन लम्बिएको हुन सक्छ। लिबिया र इजिप्टमा भएको जन आन्दोलनमा राजनैतिक स्वतन्त्रता र तात्कालिन शासकहरु- गद्दाफी र मुबारकलाई सत्ताबाट हटाउनुलाई आन्दोलनको मुख्य मुद्दा बनाइएको थियो तर बहरेनको गृह कलहमा केवल राजनैतिक स्वतन्त्रता अथवा प्रजातन्त्र मात्र महत्वपूर्ण मुद्दाका रुपमा देखिएका छैनन्, सामुदायिक वा जातीय मनोमालिन्य पनि समस्याको रुपमा देखिएको छ। हुनत बहरेनी जनताहरुले जातीय सद्भाव कायम गरी बस्न सक्नेका रुपमा आफ्नो परिचय बनाएका छन तर यो आन्दोलनमा सुन्नी शासकले वहुसंख्यक सियाहरु माथि भेदभाव गरेको आरोपका आबाजहरु निकै सुनिएका छन्। बहरेन (सन् २००१) मा कुल जनसंख्याको ८१.२ प्रतिसत इस्लाम, ९ प्रतिसत क्रिस्चियन र ९.८ प्रतिशत हिन्दु वा अन्य धर्म मान्नेहरु रहेको उल्लेख गरिएको पाइन्छ। अनुमान अनुसार इस्लाम धर्म मान्नेहरुमा ७० प्रतिशत सिया र ३० प्रतिशत सुन्नी रहेका छन्। र वर्तमानका शासक, बहेरन अधिराज्यका संवैधानिक राजा शेख हमाद बिन इशा अल खलिफा सुन्नी हुन।
वर्तमानको आन्दोलनमा विभिन्न समूहरुको संलग्नता रहेको छ। एक थरिले वर्तमान शासन व्यवस्थाले बढी राजनैतिक स्वतन्त्रता दिनु का साथै सियाहरुमाथिको भेदभाव अन्त्य गरोस भन्ने माग गरिरहेका छन् भने अर्को थरिले वर्तमानको शासन व्यवस्थामा नै परिवर्तन होस भन्ने माग गरिरहेका छन। १२ लाख १४ हजार ७०५ (सन् २०१०) कुल जनसंख्या रहेको परसियन गल्फ नजिकमा अवस्थित बहरेन गरिब राष्ट्र भने होइन। यहाँको जनताको प्रति व्यक्ति आय अमेरिकी डलरमा २६,८५२ रहेको छ। यसै गरि कुल गार्यहस्थ उत्पादन अमेरिकी डलरमा २९, ९१२ बिलियन रहेको छ। बेरोजगारी पनि केवल ४ प्रतिशत रहेको अनुमान छ। बहरेन सन् २००७ मा बेरोजगारहरुलाई भत्ता दिने पहिलो अरब राष्ट्र बनेको थियो। भूमिगत जल र तेल भविष्यमा घट्दै जाने समस्या भने बहरेन भोग्नु पर्ने विषेशज्ञहरुको राय छ। बहरेनको अर्थ तन्त्रले अरब जगतमा तिब्र गतिमा विकास गरिरहेको विश्वास गरिन्छ। मध्य पूर्वका खुला अर्थ तन्त्र हुने राष्ट्रहरु मध्ये बहरेन पनि एक पर्दछ। यति मात्र होइन संसार मै स्वतन्त्र अर्थ तन्त्र हुने राष्ट्रहरु मध्ये बहरेनको स्थान दसौंमा पर्दछ। निर्यातबाट प्राप्त कुल आम्दानी मध्ये करिब ६० प्रतिशत तेल उत्पादन र प्रसोधनबाट प्राप्त हुन्छ। तर तेल निर्यात गर्नका लागि बहरेनले ठूलो परिमाणमा क्रुड आयल आयात गर्दछ। सन् २००८ मा बहरेन संसारमै तिब्र गतिमा विकास गरिरहेको वितीय केन्द्रको रुपमा देखा परेको थियो। बहरेनको समग्र आर्थिक स्थितिलाई हेर्दा यो मुलुक राम्रो स्थितिमा रहेको देखिन्छ। देशको आर्थिक स्थितिको विश्लेषण गर्दा बहरेनी जनताको गरिबीले यो आन्दोलनमा कुनै खास भूमिका खेलेको देखिंदैन। गृह कलहको स्वरुपलाई हेर्दा आन्दोलन हुनुको मुख्य कारणको रुपमा राजनीति नै अगाडि आउँछ।
बहरेनको तिब्र आर्थिक विकासको इतिहास पुरानो भने होइन। सन् १९३२ मा तेल पत्ता लागे पछि बहरेनको आर्थिक विकासको गतिले तिब्रता लिएको पाइन्छ। बहरेनको भूबनोटले पनि यसको आर्थिक विकासमा सघाएको देखिन्छ। ७५० वर्ग किलोमिटरमा फैलिएको र विभिन्न ३३ वटा साना साना टापुहरु मिलेर बनेको बहरेन आधिराज्यको पश्चिममा साउदी अरबिया पर्दछ र किंग फहद कजवे (पुल) ले बहरेनलाई साउदी अरबियासंग जोड्दछ। गल्फ अफ बहरेनको दक्षिण पूर्वमा कतार पर्दछ। निर्माण गरिने कतार बहरेन कजवेले बहरेनलाई कतारसंग जोड्ने छ र यसरी जोड्ने त्यो पुल संसार कै लामो समुन्द्री पुल हुनेछ। बहरेनको ‘बहरेन वर्ड ट्रेड सेन्टर’ र ‘बहरेन फाइनान्सियल हार्वर’ ले निकै ख्याति पाएका छन।
सन् २००२ को व्यवस्था अनुसार बहरेनमा महिलाहरुले चुनावमा मत हाल्न तथा भाग लिन पाउँछन र यो व्यस्थालाई महिलाहरुलाई प्रदान गर्न थालिएको राजनैतिक स्वतन्त्रताको रुपमा हेरिएको छ। बहरेनलाई पोलिग्लोट (Polyglot) राष्ट्रको रुपमा लिइन्छ। अर्थात बहरेनमा विभिन्न भाषाहरु बोल्ने गरिन्छ। आप्रवासीहरु मध्ये ठूलो संख्या भारतीयहरुको छ। बहरेनमा भारतीयहरुको संख्या करीब ३ लाख रहेको अनुमान गरिएको छ। कुनै समयमा परसियाको अधिनमा रहेको बहरेनले १५ अगस्त १९७१ मा एक विशेष सम्झौताको  अन्त्य गरी संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
बहरेनको शासन व्यवस्थामा अल-खलिफा परिवारको पकड रहँदै आएको छ। १८ औ सप्ताब्दिमा उनीहरुले यो टापुमा बिजय प्राप्त गरेदेखिको बहरेनको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। सामरिक महत्वका दृष्टिकोणले पनि बहरेनको अवस्थिति  यस क्षेत्रमा महत्वपूर्ण किसिमको रहेको परिप्रेक्ष्यमा त्यहाँको राजतन्त्रले बहरेनको मौजुदा जन अशन्तोषको समाधान थप राजनैतिक अधिकारहरु प्रदान गरेर वा अझै शक्ति प्रयोग गरेर गर्ने हो अन्तर्राष्ट्रिय जगतको लागि पनि अत्यधिक चांसोको विषय हुन पुगेको छ। 


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, October 14, 2011


http://www.prateekdaily.com/2011/10/blog-post_5150.html?utm_source=BP_recent

No comments:

Post a Comment