Tuesday, November 15, 2011

Big House Small House - Nepali Short Fiction- Abhinaya - 17



सानो घर ठूलो घर


एउटा ज्यादै ठूलो घर थियो, पाँच सात तल्ले, एक व्यापारिक शहरमा। त्यो घरको छेउमा एउटा अर्को सानो, अति नै सानो भने पनि हुने, एक तल्ले ,एउटा मात्र कोठा भएको घर थियो। ठूलो घरमा सेठ गिरिधारीको बसोबास थियो भने सानोमा रामाको अर्थात रामानन्द झाको।
एक दिन ज्यादै ठूलो भूइँचालो आयो। त्यो शहरमा, अति नै ठूलो। लगभग सवै घरहरु भत्किए त्यो डरलाग्दो भूइँचालोमा। भोलिपल्ट एउटा प्रख्यात समाचारपत्रमा त्यो भूइँचालो सम्बन्धी एउटा खबर छापियो।

यस्तो पनि हुँदोरहेछ
……….संवाददाता।
यस शहरका एक ज्यादै नै धनी अनि अति नै ठूलो घरका मालिक सेठ गिरिधारीको घरबाट कसैलाई उद्दार गर्न सकिएन। लाससम्म पनि भेटिएन कसैको, ज्यादै ठूलो घर भएको हुनाले। कुन कोठामा को थियो थाहा हुन सकेन उद्दार दलका सदस्यहरुलाई। तर एउटा ज्यादै सानो घर जुन उनको घरको छेउमै थियो, त्यहाँबाट सबैलाई जीबित नै उद्दार गर्न सकियो। एकदम सकुसल। सानो घरको छत मात्र भत्किएको हुनाले जनधनको ठूलो क्षति हुन पाएन, त्यो घर ज्यादै सानो भएर त्यस्तो भएको हुनसक्छ। हिजोको भूइँचालोमा देखिएका अनौठा कुराहरुमध्ये एउटा यो पनि हो।
त्यो खबर पढेपछि झाजीले आफ्नो भत्केको त्यो घरलाई धेरै बेरसम्म हेरे। ज्यादै ठूलो घरको छेउमा आफ्नो अति नै सानो घर भएकोले झाजीले आफ्नो छाती भित्र लघुताभाषको एक ज्यादै ठूलो र बलियो घर जुन केही बर्ष पहिले उनले बनाएका थिए त्यो भने पूर्ण रुपमा भत्किएको थियो, त्यो ठूलो भूइँचालोमा।


विश्वराज अधिकारी

No comments:

Post a Comment