१२ स्वतन्त्र व्यापार क्षेत्र
स्वतन्त्र व्यापार क्षेत्र सम्झौतालाई पनि आर्थिक समृद्धि हासिल गर्ने एक माध्यमको रुपम हेर्ने गरिन्छ। स्वतन्त्र व्यापार सम्झौताले निर्यातमा वृद्धि ल्याउने हुँदा यसले राष्ट्रिय उत्पादनमा वृद्धि ल्याउने गर्दछ। राष्ट्रिय उत्पादन र निर्यातमा वृद्धि भएमा रोजगरीमा पनि सोहि अनुसार वृद्धि हुने हुँदा यो सम्झौताले राष्ट्रिय रोजगारीको क्षेत्रलाई ज्यादै फराकिलो पार्ने विश्वाश गरिन्छ। खास गरी विकासशील राष्ट्रहरुले धनी वा आफूभन्दा सम्पन्न राष्ट्रहरुसँग स्वतन्त्र व्यापार क्षेत्र सम्झौता गरेर तुलनात्मक रुपमा बढी फाइदा उठाउन सक्छन भनी धेरै अर्थशास्त्रीहरुको विश्वास रहेको पाइन्छ।
स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा नौलो भने होइन। यो अवधारणाको विकास १६ रौ तथा १७ रौ सताब्दितिर नै भएको पाइन्छ। त्यसताकाका मरकन्टाइलिष्टहरुले यो अवधारणाको अभ्यास गरेको अध्ययनहरुमा देखिएका छन्। ब्रिटिश राजनैतिक अर्थशास्त्री डेभिड रिकार्डोले सन् १८१७ मा ‘On the Principles of Political Economy and Taxation’ नामक पुस्तक लेखेका थिए जसमा उनले ‘प्रतिस्पर्धात्मक लाभ’ को बारेमा चर्चा गरेका थिए। उनले चर्चा गरेका त्यो प्रतिस्पार्धात्मक लाभलाई पछि स्वतन्त्र व्यापार सम्झौताको रुपमा हेर्न थालियो। ‘प्रतिस्पर्धात्मक लाभको सिद्धान्त’ ले के कुराको वकालत गर्दछ भने व्यापार बाधा (दुई वा सो भन्दा बढी राष्ट्रहरु बीच व्यापार हुँदा उत्पन्न हुने विभिन्न किसिमका समस्या) हरुलाई समाप्त पार्दै दुई वा सो भन्दा बढी राष्ट्रहरु बीच स्वतन्त्र रुपमा व्यापार हुने हो भने राष्ट्रहरुले जुन वस्तु वा सेवाको उत्पादनमा आफूले कुशलता (लागत र गुणमा) हासिल गरेका हुन्छन त्यो वस्तु उत्पादनमा आफूलाई केन्द्रित गर्छन र सोही वस्तुको निर्यात गरेर बढी भन्दा बढी फाइदा पाउन गर्न सक्छन। कुनै पनि राष्ट्रले कुनै खास किसिमको वस्तु वा सेवाको उत्पादनमा विशिष्ठता हासिल गर्नु नै प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नु हो।
भौगोलिक बनावट, हावा पानी, श्रम कुशलता, शिक्ष, सामाजिक वातावरण, प्रविधिको विकास, मौलिक वा भिन्न संस्कृति, प्राकृतिक सम्पदा आदिको आधारमा कुनै पनि राष्ट्रले खास किसिमको वस्तु वा सेवाको उत्पादनमा विशिष्ठता हासिल गर्न सक्छ र अर्को राष्ट्रले त्यही वस्तु वा सेवा उत्पादन गर्दा विशिष्ठता वा भिन्नता हासिल नगरेको कारणले उत्पादन असम्भव वा उत्पादन गर्दा अति महँगो हुन सक्छ। उदाहरणका लागि उच्च हिमश्रृङ्खला एवं सगरमाथाको आरोहणबाट केवल नेपालले मात्र बढी आर्थिक फाइदा प्राप्त गर्न सक्छ किनभने प्रकृतिले केवल नेपाललाई मात्र खास किसिमका उच्च हिमश्रृङ्खलाहरु र सगरमाथाको रुपमा उच्च हिमाल दिएको छ। यसै गरि औद्योगिक उत्पादनमा अहिले चिनले संसारमै विशिष्ठता हासिल गरेको विश्वाश गरिएको छ। संसारका अन्य औद्योगिक राष्ट्रहरुको तुलनामा चिनले सस्तोमा वस्तुहरु उत्पादन गर्न सक्छ। र यस्तो उसले कुशल श्रम र उच्च प्रविधिको कारणले गर्दा गर्न सकेको हो। नेपालले स्वतन्त्र व्यापार क्षेत्रको माध्यद्वारा आफ्ना मौलिक, प्रकृतिप्रदत्त र उत्पादनमा विशिष्ठताहासिल गरिएका वस्तुहरु विक्री गरेर अधिक लाभ प्राप्त गर्न सक्छ र उक्त लाभलाई राष्ट्रिय गरिबी कम पार्नमा उपयोग गर्न सक्छ।
स्वतन्त्र व्यापार क्षेत्र के हो?
दुई वा सो भन्दा बढी राष्ट्रहरुद्वारा एक अर्काको वस्तुलाई कम वा बिना भंसार शुल्कमा आ-आफ्नो राष्ट्रमा प्रवेश गर्न स्वतन्त्रता दिनु स्वतन्त्र व्यापार क्षेत्र ( Free Trade Area) को स्थापना गर्नु हो। एक सम्झौताद्वारा आ-आफ्नो देशमको सिमामा एक अर्काका वस्तुहरुलाई कम वा विना भंसार शुल्क प्रवेश गर्न दिन दुई वा सो भन्दा बढी राष्ट्रहरु सहमत हुनु नै स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्नु हो। सम्झौता गरेका राष्ट्रहरु एक अर्काको वस्तुहरुलाई बेरोक टोक आ-आफ्नो सिमामा प्रवेश गर्न दिन सहमत भएका हुन्छन। र त्यसरी सहमत हुन गरिएको सम्झौता नै स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement) हो। स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्न एक सम्झौताद्वारा सहमत भएका राष्ट्रहरु आ-आफ्नो राष्ट्रमा आयात गरिने सदस्य राष्ट्रहरुका वस्तुहरुको भंसार शुल्क कम वा निर्मुल पार्न सहमत मात्र भएका हुँदैनन् साथै आयात कोटा, विशेष शुल्क, अन्य शुल्क आदि हटाउन पनि सहमत भएका हुन्छन। स्वतन्त्र व्यापार क्षेत्र निर्माणलाई दोस्रो किसिमको आर्थिक एकीकरण (Economic Integration) को रुपमा हेर्ने गरिन्छ। संसारमा थुप्रै स्वतन्त्र व्यापार क्षेत्रहरुको निर्माण गरिएको पाइन्छ। यसरी निर्माण गरिएका स्वतन्त्र व्यापार क्षेत्रहरु मध्ये नाफ्टा (NAFTA, North American Free Trade Agreement) लाई उल्लेखनीय मानिन्छ किनभने यो संसारकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र हो। नाफ्टाको स्थापना गर्न संयुक्त राज्य अमेरिका, क्यानाडा तथा मेक्सिको सहमत भएका थिए र त्यो सहमतिमा जनवरी १, १९९४ मा हस्ताक्षर भएको थियो। नाफ्टाको स्थापनाबाट संयुक्त राज्य अमेरिका, क्यानाडा तथा मेक्सिकोले निकै आर्थिक लाभ हासिल गरेको विश्वाश गरिन्छ। तर केहीले भने खास गरी मेक्सिकोले बढी आर्थिक लाभ प्राप्त गरेको भनेका छन।
नाफ्टा बाहेक अन्य थुप्रै स्वतन्त्र व्यापार क्षेत्रहरु छन् जुन यस प्रकार छन्- ASEAN Free Trade Area, Central American Integration System, Central European Free Trade Agreement, Common Market for Eastern and Southern Africa, G-3 Free Trade Agreement, Greater Arab Free Trade Area, Gulf Cooperation Council, North American Free Trade Agreement, South African Development Community, South Asian Free Trade Agreement, Trans-Pacific Strategic Economic Partnership. यी स्वतन्त्र व्यापार क्षेत्रहरुलाइ वहु पक्षीय स्वतन्त्र व्यापार सम्झौताको रुपमा लिने गरिन्छ। दुई पक्षीय रुपमा पनि स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता गरिएको पाइन्छ त्यस मध्ये केही यस प्रकार छन- ASEAN – Australia – New Zealand Free Trade Area, ASEAN – China Free Trade Area, ASEAN – India Free Trade Area, ASEAN –Japan Comprehensive Economic Partnership, ASEAN – Korea Free Trade Area, Caribbean Community and Costa Rica, Caribbean Community and Cuba, Caribbean Community and Dominican Republic.
नेपालले निर्यात व्यापारमा वृद्धि गर्न साफ्टा (SAFTA, South Asian Free Trade Area) स्थापनाको सहमतिमा जनवरी १, २००६ मा हस्ताक्षर गरेता पनि यसबाट खासै फाइदा उठाउन सकेको भने देखिंदैन। नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाद्वारा हस्ताक्षर गरि स्थापना गरिएको साफ्टाबाट नेपालमा आर्थिक फाइदा प्राप्त गर्न सक्ने अवसरहरु भने प्रसस्त छन।
विश्वराज अधिकारी
No comments:
Post a Comment