Wikipedia

Search results

Friday, November 4, 2011

Blue Ocean Strategy - Article 16


ब्लु ओसन स्ट्राटेजी


यो एकाइसौं सप्ताब्दिमा, वर्तमानमा रहेको उद्योग वा बजारमा प्रतिस्पर्धा गरेर आफ्ना प्रतिस्तपर्धीहरुलाई पछाडि छाडि वा उनीहरु माथि बिजय प्राप्त गरी व्यापारमा सफल हुन सकिंदैन। व्यापारमा सफल हुनका लागि व्यवसायीहरुले कुनै उद्योग वा बजारमा प्रतिस्पर्धीहरु सँग कडा मुकाविला गर्नु वर्तमान व्यापारिक वातावरणमा परम्परागत पद्धति मानिन्छ। आफ्नो व्यवसायलाई दीर्घ जिवन प्रदान गर्न तथा व्यापारमा सफल हुनका लागि मौजुदा उद्योग वा बजारमा  प्रतिस्पर्धा गर्ने नभई व्यवसायीले प्रतिस्पर्धीहरु नै नभएको नया उद्योग वा बजारको सृजना गर्नु पर्दछ। अर्थात नया मागको सृजना गर्नु पर्दछ। यसरी सृजना गरिने नया बजारमा मौजुदा ग्राहकहरु अन्य विक्रेताको वस्तु खरिद गर्न छाडेर आउने नभइ नया माग सहित नया ग्राहकहरु सृजना हुन पुगेका हुन्छन। ती ग्राहकहरु नौला हुन्छन, उनीहरुको माग नौलो हुन्छ। उदाहरणका लागि कुनै व्यवसायीले यदि आफ्नो ग्राहकलाई घोडामा चढाएर घडियर्वा पोखरी घुमाउँछ र त्यस किसिमको मनोरंजन प्रदान गरे बापत तोकिएको मूल्य लिन्छ भने त्यो व्यवसायीले नया सेवाको नया माग सहित नया बजारको सृजना गरेको मानिन्छ। त्यस्तो व्यवसायीले न त टाँगा चढेर बीरगंज-रक्सौल ओहर दोहर गर्ने मौजुदा ग्राहकहरु मध्ये केही वा धेरैलाई तानेर आफ्नो सेवा खरिद गर्न ल्याएको मानिन्छ न त उसले टाँगा प्रयोग गरेर यातायात सेवा प्रदान गर्ने उद्योगमा प्रवेश गरेको मानिन्छ। उसले त्यस किसिमको नया मनोरंजनात्मक सेवा प्रदान गरेर नया उद्योगको स्थापना गरेको मानिन्छ। ब्लु ओसन स्ट्राटेजी (Blue Ocean Strategy) ले माथि उल्लेख गरिए झै नया किसिमको व्यवसायको खोजी गरेर प्रतिस्पर्धालाई असान्दर्भिक (Irrelevant ) बनाउने कुरामा जोड दिन्छ।
ब्लु ओसन स्ट्राटेजी एक व्यापारिक रणनीति पुस्तक हो र यो पुस्तक सन २००५ मा प्रकाशित भएको थिए। यस पुस्तकका लेखक डब्लु चान किम (W. Chan Kim) र रेन मोबोर्गन (Renee Mauborgne)  हुन। यस पुस्तकले एक संगठनले मौजुदा बजारमा उपस्थित रहेका प्रतिस्पर्धीहरु सँग तिब्र प्रतिस्पर्धा गरेर उच्च विकास र मुनाफा गर्ने नभइ प्रतिस्पर्धा न भएको बजारमा नया माग सृजना गरेर उच्च विकास र मुनाफा प्राप्त गर्न सक्छ भन्ने लखकद्वयको विश्वासलाई प्रष्ट्याउँछ।
मौजुदा बजारमा रहेर वा परम्परागत रुपमा अरु उत्पादहरुले उत्पादन गरेको वस्तु वा सेवा नै उत्पादन गरेर मौजुदा ग्राहकहरुलाई आफ्नो वस्तु वा सेवातिर  आकर्षित गर्नका लागि तिब्र प्रतिस्पर्धा गर्नुको साटो नया उपयोगिता सहितको नया वस्तु कम लागतमा उत्पादन गरेर व्यवसायीले बजारमा आफ्नो वर्चश्व कामय गर्नु पर्छ भन्ने कुरामा यो रणनीतिले जोड दिन्छ। यो व्यवसायिक रणनीतिले व्यापारीहरुले उपयोगिताको खोजी (value innovation) गर्नु पर्दछ र पत्ता लगाइएको नया उपयोगिता उपभोक्ताहरुको आवश्यकतासँग बलियो गरि मेल खानु पर्दछ भन्ने कुरामा जोड दिन्छ। यहाँ, नया उपयोगिता सृजना गर्नु भनेको नया वस्तु वा सेवा उत्पादन गर्नु वा विद्यमान वस्तु वा सेवामा नया किसिमको विषेशताहरु समावेस गर्नु हो। ब्लु ओसन स्ट्राटेजीले बजारमा सफल हुनका लागि दुई किसिमका व्यवसायिक रणनीतिहरु- १ प्रतिस्पर्धीहरु भन्दा कम लागतमा वस्तु वा सेवाको उत्पादन एवं विक्री तथा २ खास (niche) बजारमा व्यवसायिक क्रियाकलाप केन्द्रित गर्नु पर्ने माइकल पोर्टरको बिचारसँग असहमति राख्दछ। ब्लु ओसन स्ट्राटेजीले मुल रुपमा नया बजारको सृजना वा नया माग सहितको नया ग्राहकको खोजी गर्नु पर्ने कुरा लाई महत्वपूर्ण मान्दछ, व्यवसायिक जगतमा सफल हुनका लागि।
ब्लु ओसन स्ट्राटेजीले के मान्दछ भने व्यापारिक जगतमा रेड ओसन (red oceans) को स्थिति हुन्छ। रेड ओसन त्यो व्यापारिक अवस्था वा वातावरण हो जसमा मौजुदा उद्योगहरुको उपस्थिति हुन्छ। बजार क्षेत्र ज्ञात हुन्छ। उद्योगको सिमा क्षेत्र परिभाषित तथा स्वीकृत गरिएको हुन्छ। व्यापारिक खेलका प्रतिस्पर्धात्मक नियमहरु पनि ज्ञात हुन्छन। तोकिएको ग्राहकहरुलाई आफ्नो वस्तु वा सेवा विक्री गर्न विक्रेताहरु बीच तिब्र प्रतिस्पर्धा हुन्छ। बजारमा प्रतिस्पर्धीहरुको उपस्थिति बढदै जाँदा प्रतिस्पर्धा  अति नै तिब्र हुँदै जान्छ र फलस्वरुप एक विक्रेताले आफ्नो बजार अंश मात्र गुमाउँदैन साथै उसको भविष्य पनि अनिश्चित हुने अवस्थामा पुग्दछ।
रेड ओसनको बिपरित ब्लु ओसन स्ट्राटेजीमा बजारमा विद्यमान रहेको प्रतिस्पर्धालाई असान्दर्भिक तुल्याउन सकिन्छ। नया नया उद्योगहरुको स्थापना गरेर मौजुदा प्रतिस्पर्धापूर्ण व्यापारिक वातारणलाई प्रतिस्पर्धाहीन बनाउन सकिन्छ। नया नया माग सहितको नया बजारहरु सृजना गर्न सकिन्छ। तिब्र प्रतिस्पर्धा गरेर मौजुदा ग्राहकहरु मध्येबाट ठूलो संख्यामा ग्राहकहरुलाई आफ्नो वस्तु वा सेवातिर ल्याउनुको साटो नया उपयोगिता सहितको नयाँ वस्तु वा सेवा लिएर नया नया ग्राहकहरु समक्ष पुग्न सकिन्छ र मुनाफा बढाउन सकिन्छ।
लैप टप, इबे, माइक्रो सफ्ट, आइपैड, गुगल सर्च इन्जिन, फेस बुक, युट्युब, नेट फ्लिक्स, स्काइप, जि पि यस आदिलाई ब्लु ओसन स्ट्राटेजीसँग जोड्न सकिन्छ। उदाहरणका लागि फेस बुक होस वा स्काइप नया किसिमको व्यापार सहितको नया नया ग्राहकहरुको खोजीको सन्दर्भमा आएका वस्तु वा सेवाहरु हुन। फेस बुकको आफ्नै तोकिएका ग्राहकहरु छन। ती तोकिएका ग्राहकहरुलाई आफ्नै किसिमले फेस बुकले सेवा प्रदान गरिरहेको छ। फेस बुकले पाएको जुन सफलता छ त्यो उसले खोजी गरेको नया बजार वा नया ग्राहकहरुको परिणाम स्वरुप हो।
वर्तमान व्यवसायिक जगतमा व्यापार पूँजीद्वारा होइन ज्ञानद्वारा गर्नु पर्ने अवस्था सृजना भएको छ। नया नया व्यापारिक अवसरहरुको सृजना गरेर, बजारमा मौजुद रहेको प्रतिस्पर्धालाई असान्दर्भिक तुल्याएर वा कम पाएर बढी मुनाफा प्राप्त गर्न वा व्यापारिक सफलता प्राप्त गर्न सकिन्छ। अध्ययन एवं अनुसन्धानद्वारा नया नया वस्तु एवं सेवाहरु पत्ता लगाउने मात्र होइन पत्ता लगाइएका ती वस्तु वा सेवा बजारमा रहेका ग्राहकहरुका लागि आवश्यक रहेको तथा उनीहरु त्यो वस्तु खरिद गर्न तत्पर रहेको स्थिति निर्माण गर्न सकिन्छ।
विकसित तथा धनी देशहरुमा र खास गरी संयुक्त राज्य अमेरिकामा नया नया किसिमका वस्तु एवं सेवाहरुको खोजि एवं उत्पादनलाई बजार व्यवस्थापनको अति नै महत्वपूर्ण तथा नियमित कार्य मान्ने गरिन्छ। बजारमा नया नया उपयोगिता सहितको नया नया वस्तुहरु देखा परि रहेका हुन्छन। ग्राहकहरुको गतिसील आवस्कतालाई उनीहरु सन्तुष्ट हुने किसिमबाट परिपूर्ति गर्न बजारमा नया नया किसिमका उपयोगिता सहितका वस्तुहरु आउन आवस्यक छ पनि। व्यापारीहरुले पनि आफ्नो व्यवसायलाई दीर्घ जिवन दिन तथा मुनाफालाई अधिक पार्दै त्यसलाई नियमित तुल्याउन नया नया वस्तु एवं सेवाहरु बजारमा ल्याउन आवस्यक छ।
नेपालमा पनि व्यवसायिक सफलता हासिल गर्न उद्यमी वा व्यापारीहरुले नया नया किसिमका व्यापारिक अवसरहरुको खोजी गर्दै नया नया किसिमका वस्तु एवं सेवाहरु बजारमा ल्याउन आवस्यक छ। यस्तो गर्न सके देशमा व्यापारको विकास हुनुका साथै नया नया रोजगारीका अवसरहरु सृजना हुने थियो। देशमा रोजगारीको क्षेत्र विस्तार भएर कामका लागि विदेशिनु पर्ने बाध्यतामा कमी आउने थियो।
नेपालमा, परम्परागत रुपमा गरिने विभिन्न किसिमका व्यापारहरुमा सुधार गरेर तीनलाई बढी मुनाफा एवं रोजगारी दिने किसिमको तुल्याउन आवश्यक छ। अबको स्थितिमा, फलानो प्रसाद वा वहादुरले बेसनको जिलेबी बनाएर बेच्दै आएकोमा उसको छोरा छोरीले पनि त्यस्तै किसिमको जिलेबी बनाएर बिक्री गर्नु पर्छ भन्ने होइन, बरु जिलेबी त बनाउने तर त्यो जिलेबी आधुनिक मिठाईहरु भन्दा सस्तो, स्वस्थ्य एवं धेरैले मन पराउने पार्न आवस्यक छ। यसै गरी त्यो जिलेबी सजिलै खरिद गरेर चाहेको बेलामा उपयोग गर्न सकिने तुल्याउन पनि आवस्यक छ। नया स्वाद सहितको नया किसिमको जिलेबी उत्पादन गरेर त्यसका लागि बजारमा ठूलो मात्रामा माग हुने अवस्था सृजना गर्दै कुनै व्यवसायीले आफ्ना प्रतिस्पर्धीहरुलाई पछाडि छाडदै त्यो जिलेबी बिक्री गरेर बढि मुनाफा गर्नु नै ब्लु ओसन स्ट्राटेजी हो।

Bishwa Raj Adhikari
   
Published in ‘prateekdaily.com’ on Friday, November 03, 2011 


   http://www.prateekdaily.com/2011/11/blog-post_7594.html

No comments:

Post a Comment