Wikipedia

Search results

Monday, November 28, 2011

Yetbariya - Story - 11 - Bahaliya


एतबरिया

एतबरिया र सोमरिया आर्थिक रुपले समपन्न दुई दिदी बहिनी। दुबैको दुलाहाको धानको बेपार। दुबैसँग एक एक लदनी घोडा। धान किनेर घोडामा लाद्ने र कहिले कटहरिया कहिले चन्द्रनिगाहपुर बजारमा बिक्री गर्ने दुबैको मुख्य काम। गाउँमा अति सम्पन्नहरुमा गणना नभएता पनि बिपन्नहरुमा पनि गणना नभएको। सुकराती, छठ, फगुआ, चकुचन पर्वहरु बिना कुनै कुण्ठा मनाउन पाउने सौभाग्य प्राप्त। दुई दिदी बहिनीको दुईबटा चुल्हो भएता पनि घर भने एउटै।
समपन्न घरमा परेकोमा दुबै दिदी, बहिनी ज्यादै प्रशन्न थिए। खुसी र समृद्धिको जस भगवानलाई दिँदै दुबैले  गएको पाँच वर्षदेखि बरहमबाबाको मन्दिर छेउमा रहेको पीपलको रुखमा जल चढाउँदै आएका थिए। वर्षको एकचोटि सतनरायन भगवानको पूजा लगाउने र बाभन सहित जात कुटुमहरुलाई यथोचित भोजन र दान दक्षिणाको व्यवस्था मिलाउने सम्पन्नता प्रदर्शनको माध्यम बनेको थियो उनीहरु दुबैको लागि।
पाँच वर्ष पछिको कुरा हो एतबरियाको काकाको छोरा जितन बीरगंजबाट फर्केको थियो आफ्नो गाउँ सिउनगर जान। बाटोमा दिदी एतबरियाको घर पर्ने हुनाले दिदीको घरमा एक दुई दिन बस्ने निधो गर्यो। दिदीको घर आएपछि किन हो केही दिन बस्न मन लागेको थियो उसलाई।
घरको काम धन्दा सकिए पछि जितनसंग बसेर गफ गर्ने नयाँ दिनचर्या बनेको थियो एतबरियाको। गफको मुख्य विषय वस्तु हुन्थ्यो ‘बीरगंजको बसाइ’। एक दिनको कुरा हो, एतबरियाको दुलाहा रुदल माझी ढिलोसम्म बजारबाट फर्केको थिएन। एतबरिया र जितन कुरा गर्दै थिए।
जितनले भन्यो ‘आ, मलाई गाउँ ठाउँ त्यति मन पर्दैन। शहर कति रमाइलो हुन्छ कति। बीरगंजमा कति रमाइलो छ कति? दुई दुई ओटा सिनेमा हल। कतै जान पर्यो रिक्सा हाजिर। कचौडी जिलेबी खान मन लाग्यो भरमार होटल। कुनै चीजको कमी नै नभएको। बजार लाग्नको लागि यो दिन त्यो दिन कुर्नै पर्दैन। सँधै बजार लागेको हुन्छ। कहिले मीनाबजार कहिले बिर्ता बजार। कहिले कुन, कहिले कुन’।
‘जितनको मुहारमा शहर बसाईको आनन्द गर्वका साथ प्रतिविम्बित भयो। शहरमा बस्नु ज्यादै गर्वको विषय वस्तु हो भन्ने उसको चिन्तनलाई सत्य प्रमाणित गर्ने उसको प्रयास सफलताको विन्दुतिर अग्रसर हुँदै थियो।
जितनले बीरगंजको बयान जारी नै राख्यो ‘पानीको लागि यहाँ जस्तो डोलले इनारबाट तान्नु नै पर्दैन। सरकारी धाराबाट प्रशस्त पानी आउँछ, थाप्नु मात्रै पर्छ’। तुलनात्मक किसिमले गाउँ भन्दा शहरमा के कस्ता सुबिधाहरु बढी पाउन सकिन्छ भन्ने तथ्य थाहा पाउन एतबरिया निकै उत्सुक देखा परी। जितनले बेलि बिस्तार लगाउने कार्य जारी नै राख्यो ‘बीरगंजमा त कति, रमाइला कुराहरु देख्न पाइन्छ। कुरा गरेर साद्दे नै छैन…………’.
जितन आगमनको तेस्रो दिन दुपहरको बेला, गाउँमा दुल दुल घोडा आएको थियो र दखिनबारी टोलमा नाच्दै थियो। बच्चा बुच्चीहरु र जवानहरु मात्र होइन बृद्धहरु समेत दुलदुल घोडाको नाचा हेर्न दौडिए।
दौडिनेहरु तिर हेर्दै एतबरियाले जितनसँग प्रश्न गरी ‘दुल दुल घोडाको नाच हेर्न जाने होइन? ल हिँड जाऊ, उठ’।
जितनले घोडाको नाचलाई महत्वहीन पार्दै भन्यो ‘आ, जान्न। घोडा बनेर मान्छे नाचेको के हेर्नु? फिलिममा पो हेर्न पाइन्छ घोडाको कमाल। तिमी बीरगंज आएको बेला मलाई भन्नु म तिमीलाई एक से एक राम्रो फिलिम देखाइदिन्छु। खुब राम्रो राम्रो फिलिम लाग्छ। हामी त रक्सौलसम्म पुग्छौ, सिनेमा हेर्न’।
उठनै आँटेकी एतबरिया थुचुक्क बसी। नाच हेर्न जाने इच्छा मन भित्र तीब्र भएता पनि जितनले दुल दुल घोडाको नाचलाई तुच्छ प्रमाणित गरिसकेको हुनाले उसको नजरमा आफू तल परिने भयले जितनको कुरामा सही थाप्दै एतबरियाले भनी ‘हो, ठीक भनेउ तिमीले, घोडा बनेर मान्छे उफ्रेको, त्यो पनि ताल न सुरमा, के हेर्नू? त्यस्तो हेर्न पनि मूर्खहरुको भीड लाग्न शुरु भयो, कस्तो अचम्म, है?’
धान राम्रो भाउमा बिक्री भएकोमा रुदल निकै खुसी देखिएको थियो। एतबरियाको लागि एउटा पहेँलो साडी किन्यो।
नयाँ साडी हातमा लिँदै रुदलले भन्यो ‘निकै फाइदा भयो आज, यस्तो कहिले भएको थिएन’।
रुदलको यो भनाईमा एतबरियाले खासै प्रशन्नता प्रदर्शन गरिन। बरु अनुहारमा निराशा पोख्दै भनी ‘ल ल ठीक छ, बेपारमा तल माथि त भइनै रहन्छ। अँ सुन, गाँउ ठाउँमा कति बस्ने? सधैं त्यै धान, त्यै घोडा, त्यै गाउँ गाउँ घुम्नु अनि बजार जानु। मान्छेले तिमीलाई घोडबाला भनेको मलाई रत्ति पनि मन पर्दैन। हिंड बीरगंज जाऊ। त्यहाँ एउटा दोकान खोलौला’।
रुदलले आश्चर्य मान्दै  प्रश्न गर्यो ‘त्यति ठूलो शहरमा टिक्न सक्छौ? हामी जस्ता हजारौ बेपारीहरु छन् त्यहाँ। फेरि शहरमा बेपार गर्न ठूलो गल्ला चाहिन्छ। हामी जस्ताको के जोर चल्छ त्यहाँ। शहरमा, उफ ……………। भो भो बरु अरु कुनै कुरा गर। यो बालुशाही लगेर राख, नामी हलुवाईको पसलको हो। राति खानु पर्छ’। रुदलले प्रसङ्ग परिवर्तन गर्न खोज्यो।
रुदलको भनाईबाट सन्तुष्ट नभए पनि पहिलो चरणको गुनासोलाई विश्राम दिएर एतबरिया दाउरा बटुल्न हिँडी, रातिको खानाको लागि।
रात पूर्ण जवान भइसकेको थियो। कुकुरहरु निकै कराउँथै थिए। त्यो रात सम्पत्तिको सुरक्षामा विशेष ध्यान पुर्याउनु परेको हुनाले रुदल सुत्न सकेको थिएन। एतबरिया भने कुनै बेला सुत्ने कुनै बेला उठ्ने गरिरहेकी थिई। डाँकाहरुले धाबा बोल्ने हल्ला गाउँमा महामारी झै फैलिएको थियो। विपन्नहरुको लागि त्यो रात अन्य रात झै भए पनि सम्पन्नहरुको लागि भने खास रात हुन पुगेको थियो। तर एतबरियालाई भने डाँका भन्दा बढी शहर जाने रहरले नै बेला बेलामा ब्युँझ्याएको थियो।
रुदलले कोल्टो फर्दै दुलहीको नजीक हुने प्रयास गर्यो। एतबरियाले भने ठाउँ सारी अनि आफूहरु बीचको दूरीलाई पहिले भन्दा निकै फराकिलो बनाई। केही बेर दुबैबाट दूरी कम पार्ने प्रयास भएन। एतबरिया रिसाएको शंका विश्वासमा परिणत भएपछि रुदलले आत्मसमर्पण गर्यो। एतबरियाको क्रोधले हावाबाट हूरीको रुप धारण गर्ला भन्ने भयले भयभीत भयो। एतबरियालाई खुसी पार्न अप्रशन्न स्वरमा घोषणा गर्यो ‘एक महिना पछि हामी बीरगंज जाने’।
रुदलको घोषणा सुनेपछि भावनात्मक तथा भौगोलिक दुवै दूरीलाई एतबरियाले समाप्त पारी। गाउँको सम्पत्ति कसरी थान्को मान्को लगाउने र बीरगंजमा के कस्तो बेपार कसरी गर्ने बारे केही बेर सम्झौतामुखी बहस चलेपछि रातको चौथो पहरमा ती दुवै प्राणी निदाएका थिए विजय हासिल गरेको योद्धा झै।
गाउँ घुम्ने काम पाएको चौकिदार भने रातको चौथो पहरमा पनि कराउँदै थियो ‘खबरदार, पातलो निद्रामा सुत्नु होला। खबरदार !’
रुदल र एतबरिया बीरगंज आएको पाँच वर्ष बितिसकेको थियो। मीना बजारको छेउमा खोलिएको किराना दोकानले नाफा होइन घाटा नै बढी दिएको थियो। उधारो खानेहरुले भुसुक्कै पारेको हुनाले पूँजी जोगाउन समेत गार्यो परेको थियो। रुदललाई, ब्यापारमा ह्रास र पत्नीको खर्चालु स्वभावले गर्दा बेपारको अस्तित्व जोगाउन समेत गार्हो परेको थियो। ठूला बेपारीहरुको अगाडि रुदलको के जोर चलोस्? सिधा साधा, गाउँको धानको बेपारी। ठूला माछाहरुले सजिलै साना माछाहरुलाई खान सक्छन् भन्ने तथ्य रुदललाई छर्लङ्ग भएको थियो। ठूलो रुख मुनी साना विरुबाहरु हुर्कन सक्तैनन् भन्ने यथार्थ एतबरियालाई भने खुलस्त हुन बाँकी नै थियो।
पाँच दिन, दस दिन बिराएर साथीहरु सिनेमा हेर्न गएको र नयाँ नयाँ डिजाइनको सारी किन्न रक्सौलसम्म धाएको दृश्यले एतबरियालाई भतभती पोलेको थियो चैत्र वैशाषको सेतो घामले झै। यो बाहेक एतबरियालाई पोल्ने कुराहरु अरु पनि थुप्रै थिए। एउटा कोठा भित्र गुम्सिएर बस्नु कति कष्टकर भएको थियो कति? पसिनाले चोलो निथ्रुक भिज्दा असह्य हुन्थ्यो। धेरै पटक रुदललाई भनिसकेकी पनि थिई ‘अरु सबैको घरमा बिजुली पंखा छ, हामी दरिद्रको घरमा के हुन्थ्यो? के गर्नु आफ्नो त भाग्य नै खराब। मेरो बाबुले अन्त केटा  पाउन सकेनन् भसिआइ दिए यस्तोमा। शहरको सुख पाइएला भनेर आएको, यहाँ पनि दाउरा बाल्नु पर्ने? स्टोभ किन्न पनि कत्रो गार्हो? साथीहरुको अगाडि दाउरामा पकाउँदा कस्तो लाज लाग्छ?’
एतबरियाद्वारा बोलिएका वाक्यहरु सुनेर रुदलले तत्काल कुनै प्रतिक्रिया जनाएन। एतबरियाले थपी ‘तिमीमा लोग्ने मान्छेमा हुने एउटा गुण पनि छैन, छि कस्तो मान्छे। शहरमा आएर कंगाल भनाउँदाहरु पनि  करोडपति भएका छन्। सेठ मुरलीधर इण्डियाबाट यहाँ आउँदा फकत एउटा पितरिया लोटा लिएर आएको थियो रे। अहिले उसको बीरगंजमा मात्रै कति ओटा कारखाना छन् कति। ट्रक र बस गनेर साद्दे नै छैन। हरेक छोराको लागि अलग अलग घर छ।'
प्रतिक्रिया विहिन रुदलको अनुहारमा हेर्दै संकेतात्मक शैलीमा पुरुषत्वको परिचयपत्र देखाउन एतबरियाले आदेश जारी गरी, रुदललाई। ग्राहक विहिन पसलमा बसेर एतबरियाको भाषण सुन्ने रुदलको दिनचर्या बनिसकेको थियो। उसको अनुहारमा क्रोधको कुनै रेखा कोरिएको देखिएन। गाउँ मै हुँदा किनेको रेडियोमा गीत बजिरहेको थियो – मै क्या करुं राम मुझे बुढ्ढा मिल गया ………… हाय हाय बुढ्ढा मिल गया। स्टेशन बेला बेलामा सर्ने हुनाले ठीक ठाउँमा ल्याउन बेला बेलामा ट्युनिङ्ग घुमाउनु पर्दथ्यो। रुदलले ट्युनिङ्ग मिलाएर गीत सुन्ने चेष्टा गर्नुको साटो रेडियो नै बन्द गरि दियो। अघिदेखि माडिरहेको खैनी मुखमा हाल्यो। एतबरिया बसेको दिशातिर हेर्दै थुक्यो। धेरै बेरसम्म थु उ उ उ  उ गर्यो।
लामो समयसम्म थु गरेको रहस्य एतबरियाले बुझे पछि झनै क्रोधित भई अनि पतिको नजीक पुग्दै रिस पोखी ‘के थु गर्छौ मतिर हेरेर, आफनै बुद्धिमाथि थु गर न’।
अघि देखि शब्द शून्य भई बसेको रुदलले आफूलाई रोक्न सकेन, बिस्तारै बोल्यो ‘तिमीले भनेर त आएको हो नि यहाँ, कि होइन?’ वाकयुद्ध एतबरियाको तर्फबाट मात्रै निकै बेर चल्यो। दुबै चुप लागेता पनि सांकेतिक सम्वाद भने जारी नै रहेको थियो। शान्ति सम्झौताको पहल भने पछि रुदलबाट भयो।
‘रक्सौलमा सस्ता सस्ता साडीहरु पाइन्छन्। साडी पनि किन्ने र सिनेमा पनि हेर्ने। खुब राम्रो फिलिम लागेको छ। हौलसम्म नै टाँगा रिजाप गराउने। तिमी पनि जाने होइन एतबरिया?’ योजनाको पूर्ण विवरण पेश गर्दै रमकलियाले प्रश्न गरी।
‘आ जान्न। सिङ्गो जीउ दुखेको छ’ एतबरियाले अनिच्छा प्रकट गरी। पैसा नभएकाले होइन अस्वस्थ्यताको कारणले गर्दा नगएको भन्ने थप प्रमाण पेश गर्दै भनी ‘हेर न रमकलिया, आज भोलि मलाई के भएको हो? खाना पटक्कै रुच्दैन’।
‘बेपारी मान्छे पैसा जोगाउन खोजेको होली’ साथीहरुतिर हेर्दै रमकलियाले व्यङ्ग गरी। सुख्न थालेको घाउ अनायास नङ्गले घोचिएको अनुभव एतबरियालाई भयो। आफ्नो खस्किदो आर्थिक अवस्थालाई ढाक छोप गर्दै  भनी ‘पैसाको समस्या होइन। सय पचास त कुनै बेला पनि गल्लाबाट झिक्न सकिन्छ। जागिरदारहरु जस्तो पैसाको लागि महिनाको अन्त कुर्नु पर्दैन हामी बेपारीहरुले’। शहर पसेर गफदिने कला राम्रो गरी सिकि सकेकी थिई उसले। रमकलिया उसको उत्तरबाट सन्तुष्ट नभएको यकिन हुन सकेन तर आफ्नो बनाबटी उत्तरबाट ऊ आफै भने सन्तुष्ट हुन सकिन।
‘रक्सौल जान ढिलो हुन्छ, सबै जना तयार भएर मेरो घरमा आउनु है’ भन्दै रमकलिया घरतिर लम्की।
सम्भावित बेइजतिबाट जोगिएकोमा केही क्षण प्रशन्न भई तर आफ्नो उत्तरमा नाटकियपनाको सङ्गकेतसम्म पनि आउन नदिन थप के वाक्यहरु बोल्नु सकिन्थ्यो बारे केही छिन घोरिएर सोंची एतबरियाले।
निराश भएर पसलमा बसेको रुदलतिर हेर्दे एतबरियाले मौन प्रश्न गरी ‘यो स्थितिको लागि जिम्मेदार को हो?’ पत्नीको असन्तुष्टि प्रष्ट गरी थाहा पायो रुदलले। स्थितिलाई हल्का पार्न घ्यार घ्यारे रेडियोमा गीत आउने स्टेसन लगाउने प्रयत्न गर्न थाल्यो उसले।
‘रक्सौलमा अति राम्रो सर्कस आएको छ, अम्पाएर सर्कस’ हरिन्दरले आँखा सन्काउँदै जानकारी पेश गर्यो।
‘के हेर्नु त्यस्तो सर्कस? त्यति राम्रो छैन रे। हेर्नेहरु त्यसै भन्छन्’ एतबरियाले हेर्न जाऊँ भनी राखिने सम्भावित प्रस्तावप्रति प्रतिक्रिया अग्रिम रुपमा पेश गरी।
‘हत कसके भन्यो? कस्तो गजबको सर्कस छ? सुगाले बन्दुक पडकाएको, भालुले साइकल चलाएको अनि पिजरा भित्र मोटरसाइकल हाँकेको’ हरिन्दरले यसरी थप जानकारी पेश गर्यो।
क्षण भर मै प्रसङ्ग परिवर्तन गर्दै भन्यो हरिन्दरले ‘तिम्रो मरदलाई सोझो भन्नु कि लाछी भन्नु खै……………..। कहिले काहिँ तिमीलाई यसो घुमाउन उमाउन पनि त लानु पर्छ नि, हैन? हिंड, म तिमीलाई घुमाउन लग्छु। म कुनै पराई मान्छे होइन। टाढैको भएता पनि नातामा भिनाजु पर्छु। मेरो घरबालीको नहिरा तिम्रो नाहिरा गाउँमा हो कि होइन? लौ भन’।
हरिन्दरका कुराहरुलाई एतबरियाले स्वीकार गरेता पनि सर्कस हेर्न जाने प्रस्ताव भने अस्वीकार गरी। नजाने कारणको भनक भने हरिन्दरलाई लाग्न दिन।
अर्को दिनको कुरा हो, हरिन्दर फेरि एतबरियाको सामु देखा पर्यो। हिजोको प्रस्तावलाई पुन: कोट्यायो ‘मसँग जान तिमीलाई डर लागे जस्तो छ। म पनि खातपिता इज्जतदार घरको मान्छे हो। तिमीलाई सर्कस हेर्ने रहर होला र त्यो पूरा गरिदिऊँ भन्ने उद्देश्यले पो भनेको। तिम्रो मरदलाई देख्छु जहिले पनि जुका झै पसलमा टाँसिएको। हुन त तिम्रो मरदको बारेमा मैले भन्नु मनासिब होइन। तर के गर्नु तिम्रो मुख हेरेर भन्न मन लाग्छ। लोग्ने मान्छे भए पछि अलि हुन्छ नि यसो उसो ………..’।
एतबरियाले अघिदेखिको आफ्नो मौनत भङ्ग गर्दै हरिन्दरको मन्तव्यमा सही थापी ‘हो कस्तो खालको लोग्ने मान्छे, मरद भन्न नै सरम लाग्छ। केटा खोज्ने बेलामा फुफाले मेरो बाबुको मति बिगारी दिएका थिए। मेरी मौसीले मेट्रिक पास, बरगनियाको केटासँग कुरा चलाएकी थिई’।
दोहरो सम्वादले एक क्षण विश्राम लिए पछि मनपेट पाएको हरिन्दरले दरिलो स्वरमा भन्यो ‘हिँड जाउँ एतबरिया सर्कस हेर्न, ढिलो नगर’। सर्कस हेर्न जाने प्रस्तावमा एतबरियाले बिना कुनै सर्त पूर्ण स्वीकृति जाहेर गरी।
होस आए पछि एतबरियाले थाहा पाई आफू कुनै अपरिचित ठाउँमा आई पुगेको। धेरै पटक कराई ‘हरिन्दर कता छौ?’ भनेर। एउटी अपरिचित महिलाले सुटुक्क कानमा ‘त्यो मोराले तिमीलाई बेचेर गयो’ भने पछि आफ्नो स्थिति बारे थाहा पाई। आफू बम्बईको बेश्यालयमा बेचिएकोमा कुनै शंका रहेन उसलाई। अब भने उसलाई रुदलको होइन आफ्नै भाग्य खोंटो भएको पक्का भयो। प्रत्येक दिन आउने पुरुषहरुले एतबरियाको उच्च आकांक्षाको शिखर घन र गलले भत्काउने गरेको उसले अनुभव गरी।
छ महिना पछिको कुरा हो, टाङ्गामा रक्सौलबाट आउँदै गर्दा एतबरियाले बम्बईमा हुँदा गढिमाईलाई गरेको भाखल सम्झी। माईको कृपा आफूमाथि भएकोमा खुसी पनि भई। अब लाग्ने माईको मेलामा पाँच किलो मोतिचूरको लड्डु जसरी भए पनि चढाउने निधो गरी। माईले मुक्ति दिलाएकोमा अति प्रशन्न भई।
टाङ्गाबाट उत्रेपछि एतबरिया सरासर आफ्नो दोकानतिर लागी। उसलाई अचम्म लाग्यो। उसको दोकान हुने गरेको कोठामा होटल खुलिसकेको रहेछ। होटलको नाम थियो – जय नेपाल। आफ्नो लोग्नेले होटल खोलेको हो कि भन्ने झिनो आशा राख्दै छेउमा उभिएकी एक महिलासँग प्रश्न गरी ‘यो होटल रुदलको हो?’
‘को रुदल मलाई थाहा छैन’ त्यो महिलाले जवाफ दिई।
‘यै कोठामा, पहिले किराना दोकान थियो नि’ एतबरियाले खुलस्त पारी।
एतबरियाले खुलस्त पारे पछि त्यो महिलाले थपी ‘ए त्यो किराना दोकनदार, त्यसले त एउटा रिक्साबालीकी स्वास्नीलाई भगाएर लग्यो रे। मान्छेहरुले भनेको सुनेकी हुँ, साँचो हो झूठो हो थाहा भएन’।
थप प्रश्न गर्नु उचित लागेन एतबरियालाई। एतबरिया सरासर बस पार्कतिर लम्की।
आफ्नो गाउँ पुगे पछि एतबरियाले देखी, रुदलले घोडाको पुठ्युँमा धानको बोरा राख्दै गरेको। अलि परैबाट रुदलले एतबरियालाई देख्यो अनि विपरित दिशातिर मुन्टो फर्कायो।
नजीक पुगेर स्थिति मुल्यांकन गर्दै एतबरियाले भनी ‘मौसीको घर गएको, कस्तो हतारमा गएँ जाने बेलामा खबरसम्म पनि गर्न पाइन, कसैलाई। त्यहाँ पुगेर छ महिना बित्दासम्म पनि खबर गर्न सकिएन्’।
बोरामाथिको डोरी कस्दै रुदलले बड्बडायो ‘उतै मरेको भए हुन्थ्यो नि। ठूलो भाग खान शहर हिँडेकी मान्छे, यति छिटै मन अघायो?’
स्थिति तनावपूर्ण भएमा आफ्नो रहस्य उदघाटन हुने भयले अनुहारमा क्रोधहीनताको भाव ल्याउँदै एतबरियाले विस्तारै बड्बडाई ‘तिमीले त रिक्साबालाको स्वास्नी भगाएको रहेछौ नि? त्यै दोकान छेउको नक्कलीलाई। त्यसै भन्छन् देख्ने, सुन्नेहरुले’।
रुदल झस्क्यो। जोडले डोरी तान्न पुग्यो र औँला नराम्रो गरी चेपियो। चेपिएको औलालाई सुमसुम्याउँदै सहायकतिर हेरेर करायो, चर्को आवाजमा ‘ऐ ससुर, पेटारसम्म कस्न आउँदैन तँलाई? घोडा कसरी लाद्छस? कसरी बेपार गरेर बाल बच्चा पाल्ने होला यो सालेले’।
सहायक निकै भयभीत भयो। एतबरिया त्यही उभिरहेकी थिई पहिले जहाँ उभिएकी थिई। रुदलले एतबरियातिर नरहेको जस्तो भान पार्दै तर उसलाई सुनाउने किसिमबाट पश्याताप मिश्रित स्वरमा बोल्यो ‘रण्डी भागी नि, तेरो सबै गहना गुरिया ………… र गल्लाको एक पैसा पनि बाँकी नराखेर। सात गाउँ चाहारे कि रैछ’।
रुदलको कुरा सुनेर एतबरियाले तत्काल कुनै प्रतिक्रिया जनाइन। रुदलले भने संभावित खतरा पन्छिएको अनुमान गर्यो।
छेउमा हटवेले धान तौलिदै थियो। धान भएतिरको तराजुको पलडा ज्यादै तल र ढक भएतिरको ज्यादै माथि भए पछि हटवेले नजीकको कुनै मान्छेले सुन्न सक्ने गरी भन्यो ‘एकातिरको पलडा बढी भयो, दस पन्ध्र किलोको ढक थप्नु पर्ने होला’। एतबरियाले हटवे छेउको ढक उठाएर उसलाई दिई। रुदल र एतबरिया दुबैले पलडा बराबर भएको दृश्य देखे। हटवेले तौलिन शुरु गर्यो ‘रामे राम, रामे राम। रामे दु, रामे दु। रामे तीन रामे तीन। रामे ………….’।
घैलामा राखेको पानी खुट्टामा खन्याई एतबरियाले अनि कोठा भित्र पसी। रुदल पनि त्यो कोठा भित्र पस्यो। रिक्साबालाको स्वास्नी प्रकरणले गहिराई प्राप्त गरेन। एतबरिया प्रवास विषयले विश्राम लियो। सहायकले घोडा चन्द्रनिगाहपुर बजारतिर कुदायो। वातावरण शान्त र शब्दहीन भयो। हटवेले धान तौलिदै थियो ‘रामे पचास, रामे पचास। रामे ………….’।
राति धेरै बेर रुदल र एतबरिया बीच कुराकानी भयो तर केवल वर्तमान र भविष्यको बारेमा, भूतलाई कसैले पनि कोट्याएन। कुरा गर्दा गर्दै रुदल कुन बेला निदायो, एतबरियाले थाहा पाइन। रुदल घुरेको स्वर चर्को भए पछि आफूले मात्रै एकहोरो बोलेको चाल पाई। सुत्ने प्रयास धेरै गरी तर सुत्न सकिन। एकै पल्ट पाएको त्यत्रो खुसीलाई केलाउँदा केलाउँदै रात छर्लङ्ग बितेको थियो एतबरियाको।


विश्वराज अधिकारी 

   

No comments:

Post a Comment