लछमिनिया
‘मुर्गमुर्गी छैन, लछमिनिया?’ दरोगबाले सोध्यो।
लछमिनियाले तलदेखि माथिसम्म दरोगाबालालाई हेरी। भरिएको गाला। चौडा छाती। ओसत उँचाई। सेतो वर्ण। ठूला-ठूला आँखा। मधुरो तर प्रष्ट बोली। अनुहारले सोझो देखिएता पनि आँखामा आत्मविश्वासको चमक। लुँगी र सेन्डो गंजीमा अर्ध पारदर्शी शरीर।
प्रश्नको उत्तर दिन बिर्सेकी लछमिनियाको दृष्टि धेरै बेर दरोगबामा गाडिएकोमा झसंग हुँदै आँङ्गनमा चर्दै गरेको भालेहरु तिर हेर्न खोजेको भान पार्न खोजी अनि भनी ‘छ, उ चर्दै गरेका ती भालेहरु हुन’।
‘ऊ त्यो चाँहि भाले ठीक छ। त्यस्तै चाहिएको पनि हो। एक सेर मासु त होला नि?’ दरोगबाले अनुहारमा प्रशन्नता पोख्दै भन्यो।
‘एक सेर मात्र, डेढसेर भन्दा बढी होला’ लछमिनियाले भनी।
एउटा पोथीको छेउमा चर्दै गरेको भालेलाई लछमिनियाले केही बेर हेरी त्यसपछि दरोगबालाई सोधी ‘तिम्रो नाम के हो? अनि घर …………?’
‘मेरो नाम दरोगबा हो। यै गाउँको स्कूलमा काम गर्छु। घर मेरो अन्तै हो। यहाँ स्कूलमा नै बस्छु’ दरोगबाले भन्यो।
‘मुर्गामुर्गी कसका लागि चाहिएको हो? किनेर बेच्नका लागि हो कि?’ लछमिनियाले उत्सुकता मिश्रित मुद्राले दरोगबाको अनुहारतिर हेर्दै सोधी।
‘होइन, होइन, हेडमास्टर साहेबको लागि चाहिएको हो। आज मुर्गाको मासु खाने रे’ दरोगबाले भन्यो।
‘ए त्यस्तो हो भने अलि सस्तो मै मिलाई दिउँला नि। साच्चै लिने हो त?’ लछमिनियाले प्रश्न गरी।
लछमिनियाको बिहे भएको दुई महिना पनि भएको थिएन पूरा गाउँ नै बिग्रेको थियो। हैजाको डरले सबै थर्कमान थिए। अर्को गाउँबाट आउने मान्छेहरु त्यो गाउँको छेउबाट जान्थ्ये भने त्यो गाउँको मान्छेलाई अर्को गाउँमा जान पूर्ण निषेधित गरिएको थियो।
प्रत्येक दिन वा बिराएर चिता जलेको दृश्य देखा पर्नु सामान्य जस्तो भइसकेको थियो। त्यसबेला जलेका चिताहरु मध्ये एक लछमिनियाको पति रोगाईको पनि थियो। एक महिनासम्म मच्चाएको हैजाको ताण्डव नृत्यले गाउँलेहरुमा घोर निरासा र त्रास छाएको थियो। मर्नेहरुमा लछमिनियाको पति बाहेक सासु, ससुरा, देवर तथा नन्दहरु पनि थिए। त्यो बेला देखि नै लछमिनिया एकलै बस्दै आएकी हो।
हैजाले परिवार सखाप पारेको पच्चिस वर्ष बित्दासम्ममा बिहे गर्ने इच्छा धेरै पटक मडारिएको थियो लछमिनियाको मस्तिष्कमा। एक बिघा खेतीहर जमीन, दुई हल गोरु र खान लगाउन प्रशस्त भएकी लछमिनियाले बिहे गर्ने निर्णय भने गर्न सकेकी थिइन तर हँसुली, काँडा, बाजु, मठ्ठा जस्ता गहनाहरु खँदिलो किसिमले बनाएकी थिई। खोँठिला, मात्रै थियो एक तोला सुनको। गाउँमा धेरै पटक डाँका लाग्दा मुस्मातसँग, त्यो पनि एक्लै बस्नेसँग के धन सम्पत्ति होला र भनेका थिए रे डाँकाहरुले। धेरै टाढाबाट डाँकाहरु आउने हुनाले उसको धन सम्पत्ति बारे सुँइको पाउन सकेका थिएनन्। वर्षेनी सत्यनारायण भगवानको पूजा गराउने हुनाले इश्वरको कृपा उसमाथि थियो की? गाउँलेहरुले त्यस्तो पनि अडकल काटेका थिए।
दरोगबाले मुर्गा किनेर लगेको धेरै दिन बिति सकेको थियो। लछमिनियाको आँखाबाट भने दरोगबाको चित्र हराउन सकेको थिएन। त्यस्ता धेरै चित्रहरु पहिले पहिले उसको आँखा अगाडि निकै मडारिने भएता पनि ती मध्ये कुनैको पनि आयु लामो हुन सकेको थिएन। लछमिनियाको आँखा आँगनमा चरि रहेको मुर्गा मुर्गीतिर भएता पनि ध्यान भने दरोगबाको सम्झनामा नै केन्द्रित थियो।
दरोगबा फेरि लछमिनियाको आँगनमा आउन थालेको देखा पर्यो। टाढैबाट लछमिनियाले दरोगबालाई देखिसकेको हुनाले सन्दुक भित्रबाट हँसुली र बाजु झिकी, राम्रो गरी पुछपाछ गरेर लगाई। बजारबाट अस्ति मात्रै किनेर ल्याएकी लहटी पनि लगाई। डोलमा राखेको पानीले मुख धोई र धेरै बेर लगाएर मुख पुछी। धोतीलाई पनि अलि व्यवस्थित गरी। कोठीमाथि राखेको ऐनामा जमेको धूलो अचराले झारी अनि ऐनामा धेरै बेरसम्म हेरी। जवानीका दिनहरुमा घाँस काट्न जाँदा उसका साथीहरुले उसको गालाको प्रशंसा गरेको सम्झी। गाला छामी, पहिले जस्तो नै लाग्यो।
आँगनमा प्रवेश गर्दै दरोगबाले भन्यो ‘गाउँभरि खोजें तर भनेको जस्तो भाले नपाएको हुनाले तिमी कहाँ आएको। तिमी कहाँ खोजे अनुसारको भाले पक्कै पनि होला जस्तो लाग्यो मलाई’।
‘छ, छ मसँग एक से एक भाले छ। फेरि मलाई भाले मात्रै पाल्न राम्रो लाग्छ पनि। बरु कस्तो चाहिने हो, ठूलो, सानो अथवा ठीक्कको?’ लछमिनियाले दरोगबाको आँखामा सम्पूर्ण दृष्टि राख्दै सोधी।
‘ठीक्कको भए हुन्छ’ दरोगबाले भन्यो। दरोगबाको ध्यान चाँहि भालेको सौदामा नै केन्द्रित थियो। कति छिटो भाले लगेर पकाउने र पाहुनाहरुलाई ख्वाउने हतार थियो उसलाई।
‘ल ल छिटै गर’ दरोगबाले भन्यो।
‘किन हतार गरेको? सूर्य त अस्ताएको छैन। रातिको खानाको लागि यत्रो हतार?’ बस, बीडी पिउँछौ? एक नम्बरको छ’ लछमिनियाले भनी अनि खुँट खोलेर बीडीको मुठ्ठा झिकी। हातमा बीडी राखेर दरोगबातिर फर्काइ। बीडी दिने क्रममा लुगा अर्ध पारदर्शी हुन गएको दरोगबा भन्दा लछमिनियालाई बढी महशूस भयो
राती अबेरसम्म मनमा अनेक कुराहरु खेलिरहेको हुनाले लछमिनियाको आँखामा निद्राको नाम निसान पनि थिएन। दरोगबा उसको घरमा घरी घरी आउनुको अर्थ खोज्दै थिई। आफैलाई प्रश्न गरी – मुर्गा मुर्गी भने जस्तो अन्त पनि त पाउन सकिन्छ। तर मेरो घर नै किन रोज्छ उसले? मेरो घरमा नै किन आउँछ घरि घरि। मेरो अगाडि ऊ किन खुल्न नसकेको? लोग्ने मान्छेहरु छिटै खुल्न सक्छन् भन्छन। त्यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्दा खोज्दै लछमिनियालाई रातको तेस्रो पहरमा निद्रा परेको थियो।
दरोगबा यो पटक लछमिनियाको आँगनमा आउनुको कारण पनि पुरानै थियो। अन्यत्र भाउ मिल्न सकेको थिएन, मुर्गा मुर्गी किन्न मोल मोलाई गर्दा।
‘के कामले आयौ ए दरोगबा?’ लछमिनियाले हाँस्दै सोधी।
‘अरुहरुले धेरै महँगो भने। तिमी कहाँ राम्रो भाउमा पाइन्छ कि भनी आएको’ दरोगबाले भन्यो।
‘बराबर आइरहनेलाई किन महँगो गर्नु? आ, भाउ न साउ? बरु भन, आँगनमा भएका ती मुर्गाहरु मध्ये कुन लिने हो? तिमीले खोजेको भाउ मै दिन्छु’ लछमिनियाले मुहारमा प्रशन्नता ल्याउँदै दरोगबालाई खुलस्त पार्न आग्रह गरी।
‘उ त्यो रातो भाले भए हुन्छ। बरु छिटै समात्न लगाई देउ, हतार छ’ दरोगबाले भन्यो।
‘तिमी त गजबको मान्छे रहेछौ? जहिले पनि हतार नै रहन्छ तिमीलाई? तिम्री आमाले हतार मै जन्माएको हो कि क्या हो, तिमीलाई? बस। एकै छिन भए पनि बस’ भन्दै चटाई ओछ्याइ दिई, दरोगबाका लागि। लछमिनियाले भन्ने क्रम जारी नै राखी ‘बीडी पिउँछौ, कि कंकड? बीडी चाँहि गजबको छ। हिजो मात्रै कटहरिया बजारबाट किनेर ल्याएको। लङ्ग इलाइची खान्छौ भने त्यो पनि छ। अलिकति मिस्री पनि छ। चिसो पानीसँग मिस्री खुब स्वादिलो हुन्छ, चाखेर हेर्छौ। होइन भने जे खान इच्छा लाग्छ त्येही खाउ।’
भाव शून्य मुद्राले लछमिनियातिर हेर्यो दरोगबाले अनि ओछ्याएको चटाईमा बस्यो।
‘घरमा तिम्रो को को छ’? लछमिनियाले भरखरै बसेको दरोगबासँग प्रश्न गरी।
‘तीन वटी बहिनी, दुई वटा भाई अनि बाप मतारी’ दरोगबाले उत्तर दियो।
आश्चर्य भन्दा खुसी मान्दै उसले पुन: सोधी ‘अहिलेसम्म बिआह गरेको छैनौ?’
‘बच्चामा भएको थियो। सर्पले टोकेर उसको मृत्यु नहिरामा नै भयो रे। त्यसपछि, खोइ अहिलेसम्म बिआह भएको छैन’ दरोगबाले खुलस्त पार्दै बेलिबिस्तार लगायो।
‘तिमीले मेरो बिआह गरिदिनु भनेनौ, बाप मतारीलाई?’ लछमिनियाले कौतुहलतालाई रोक्न नसकी झ्वाट प्रश्न गरी।
‘आफ्नो बिआहको कुरा आफैले कसरी गर्नु? धत्’ दरोगाबाले पनि तत्कालै उत्तर दियो। बिआह नै नगरी बस्छौ त?’ लछमिनियाले प्रश्न गरी।
प्रश्नमा प्रतिप्रश्न गर्दै दरोगबाले सोध्यो ‘बिआह नगरी बस्न सकिदैन र? तिमीले पनि त यत्रो उमेर एक्लै काटे जस्तो देखिन्छ, बिआह नगरेर। तिमी पनि त नितान्त एक्लै छेउ, होइन त?’
लछमिनियालाई प्रतिप्रश्न गरि सके पछि ‘ओ हो अन्ध्यारो हुन आँट्यो’ भन्दै दरोगबाले मुर्गालाई काखी च्यापेर घरतिर लम्क्यो।
लछमिनियाले आफैले पकाएका कुराहरु खाँदा कुनै बेला हाँसो कुनै बेला रीस उठिरहेको थियो। दालमा नून सून्य। भात काँच्यै। तरकारीमा नुन अति चर्को। किन होला आज यस्तो भएको? आफैसँग प्रश्न गरी। भात लगेर आँगनमा हुर्याई।
भालेहरु रमाउँदै तँछाड मछाड गर्दै फालिएको भात टिप्न थाले। भालेहरुको कक…….कक…….कक……….आबाज सुनेर के भो कुन्नी छेउको पिंढा उठाएर त्यसलाई टाउको सम्म पुर्याउँदै हिर्काइ ती रमाउँदै गरेका भालेहरुलाई लछमिनियाले। एउटा सेतो भाले नराम्रो गरी घाइते भयो। अरु भालेहरु सुरक्षित दिशातिर लागे। घाइते भाले खुट्टा खोच्याउँदै निकै पर पुग्यो। भाले कराउँदै थियो कट्कट् कटास कट्कट् कटास। त्यो घाइते भालेलाई धेरै बेर लछमिनियाले हेरी अनि लामो साँस लिई। बिहान देखि मुजेलियामा रखेको रहरीको गेडा जाँतोमा हालेर जाँतो चलाउन थाली। घडघड घडघड घडघड घडघड आबाज धेरै बेरसम्म आएको सुनियो।
लछमिनियाको आँगनमा दरोगबा फेरि देखा पर्यो अप्रत्यसित किसिमले।
‘भाले चाहिएको होला, होइन त?’ लछमिनियाले सोधी।
‘तिमीले गरेको अनुमान बिल्कुल ठीक छ। एउटा राम्रो मुर्गा चाहिएको छ। थुप्रै पाहुनाहरु आएका छन् हेडमास्टर साहेब कहाँ, सायद ससुराली तिरका हुन कि? अन्त त्यति ठूलो भाले नपाइएला भनेर सरासर तिमी कहाँ आएको। फेरि, तिमी कहाँको भाले गजबको हुन्छ। खाए पिएर मस्त भएको। एकदम एक नम्बरको’ हतारिदै दरोगबाले भन्यो।
दरोगबातिर केही बेर नियालेर हेरे पछि लछमिनियाले जबाफ दिई ‘छैन भाले टाले’।
‘उ ती चर्दै गरेका भालेहरु तिम्रै त हुन नि?’ आश्चर्य मान्दै दरोगबाले सोध्यो।
‘ल, ल ल ती भालेहरु मेरै हुन, म बेचदिन। के गर्छौ? बेच्ने इच्छा पनि त हुनु पर्यो मलाई?’ लछमिनियाले प्रश्न गरी
‘राम्रो दाममा लिन्छु। तिमीले भनेकै ………..’ दरोगबाले आग्रह गर्यो।
‘भो भो बेचदिन’ लछमिनियाले भनी।
‘ल त भैगो, किन कर गर्नु’ भन्दै दरोगबा जुन दिशाबाट आएको थियो त्यतै लाग्यो।
ठीक वा बेठीक के गरियो, लछमिनियाले छुट्याउन सकिन तर मुख मित्र पसेको नीमको तरकारी थुक्दा हुने सन्चो जस्तो महशूस भयो उसलाई। आँगनमा उभिएर दरोगबा गएको धेरै बेरसम्म हेरी। धेरै टाढा पुग्दासम्म पनि दरोगबाको टाउको माथिको सेतो मुरेठ्ठा देखिदै थियो। एक चोटी फर्केर आउला र तिमी किन यसरी अचानक रिसाएको भनी दरोगबाले सोध्ला जस्तो लागेको थियो लछमिनियालाई। तर उसको त्यो कल्पना सत्यमा परिणत हुन सकेन। अलि अलि देखिएको दरोगबाको मुरेठ्ठा पनि सडक बीच भएको पाकडको रुखले छेकिएर अदृश्य भइसकेको थियो। पिढीमा राखेको घैला उठाएर इनार तिर लागि। बाटोमा देखा पर्ने कोही सँग पनि बोलिन् लछमिनियाले।
सोडर हालेर उमालेको लुगालाई बेस्सरी पिट्दै थिई लछमिनियाले, हातमा रहेको पिट्नाले। कुनै बेला पिट्ना पटरी बाहिर परी भुँइमा बज्रिन पुगद्थ्यो। पिटनाको भारी चोटले कुनै बेला लुगा नै च्यतिने हो कि जस्तो हुन्थ्यो। लछमिनियाले दरोगबालाई टाढैबाट देखी। दरोगबा उसको घरलाई छेउ पार्दै अगाडि बढ्दै थियो।
लछमिनिया कराई ‘हो दरोगा, यता आउ यता। मुर्गा किन्न हिँडेको हो कि क्या हो?’ अघिसम्म डरको मुद्रामा रहेको दरोगबा लछमिनियाको प्रश्न सुनेपछि तत्काल प्रशन्न मुद्रामा देखियो र हाँस्दै भन्यो ‘हो, मुर्गा नै किन हिँडेको। तर तिमीले मुर्गा नबेच्ने भनी किरिया नै खाएकी थियौ त’।
‘होइन, होइन, साच्चै, बेच्नु छ। तिलबासकरातमा मौसीको घर जानु छ, रङ्गपुर, सनेस लिएर। लाई, सठौरा, मसुलार लग्ने बिचार छ यो पटक’ भन्दै लछमिनियाले दरोगबालाई पिढीमा बस्न इशारा गरी हातले।
‘कस्तो भाले चाहिने हो तिमीलाई’ लछमिनियाले प्रश्न गरी।
‘सानो भए हुन्छ’ दरोगबाले उत्तर दियो।
‘ल ल हुन्छ’ भन्दै कोठा भित्र आउन आँखाले संकेत गरी उसले दरोगबालाई।
‘होइन, भालेहरु त बाहिर चरिरहेका छन, समात्नु पर्दैन? दरोगबाले खुलस्त पार्न अनुरोध गर्यो।
दरोगबा कोठा भित्र पस्यो। लछमिनियाले फाटक लगाई। दरोगबाले आश्चर्य मान्दै पुन: सोध्यो ‘मुर्गाहरु त बाहिर नै छन् जस्तो छ, समात्न बाहिर जानु पर्दैन र?’
'आज केही मुर्गाहरुलाई भित्रै थुनेकी छु, मैले। खुला छाडे पछि तिनलाई समात्न फेरि गार्हो हुन्छ’ भन्दै लछमिनियाले फाटकको बिलैया लगाई दिइ।
विश्वराज अधिकारी
No comments:
Post a Comment