मृत्यु दण्ड
मृत्यु दण्डको सजाए पाएको एक अपराधीले न्याय पाउन उसले आफनो तर्क यसरी पेश गरेको थियो ‘मेरो चेतनाले गरेको अपराधका लागि मेरो शरिरलाई किन दण्डित गर्ने? त्यस कारण केवल मेरो चेतनालाई दण्डित गरेर मेरो शरिरलाई बाँच्न पाउने अधिकार प्रदान गरियोस। मलाई मृत्यु दण्ड होइन, मलाई आजीवन कारावासको सजाए दिइयोस, न्यायमूर्ति।’
‘जसलाई म भनिन्छ त्यो एक प्रणाली हो। म प्रणालीका दुई उप प्रणालीहरु छन् र ती हुन - १ चेतना २ शरिर। चेतनाको सम्बन्ध मष्तिष्कसंग छ भने शरीरको सम्वन्ध शरीर व्यवस्थासंग छ। म प्रणालीका यी दुइ उप-प्रणालीहरु चेतना र शरिरले एक अर्कासँग अन्तर क्रिया गर्दछन्, म प्रणालीका कार्य सम्पादन गर्न।’
‘म प्रणाली भित्र चेतना र शरिरको अन्तर क्रिया तीन किसिमबाट हुन्छ। पहिलो किसिमको अन्तरक्रियामा चेतना र शरिरले अलग अलग भइ कार्य गर्दछन्। र दुवैको अस्तित्व स्वतन्त्र हुन्छ। उदाहरणका लागि बिरोध प्रदर्शन गर्न वा अन्य कुनै कारणले अनसनमा बसेको कुनै मानिसले केही कुरा खान वा पिउन पूर्णतया अस्विकार गर्दछ। उसको चेतनाले उसलाई खान दिदैन, किनभने चेतनाले नै नखाने भनि अड्डि लिएको वा त्यस्तो गर्ने भनि निर्धरण गरेको हुन्छ। तर उमाथि वल प्रयोग वा हात खुट्टा चल्न न दिइ उसको नसाबाट खाद्य पदार्थ (इन्टर भेनस फ्लुड) पठाउने हो भने उसको शरीरले सहज किसिमबाट तो खाद्य पदार्थलाई स्वीकार गर्दछ। कुनै वाधा व्यवधान उत्पन्न गर्देन। चेतनाले न खा भनि दिएको आदेशलाई शरीरले पूर्णतया वेबास्ता गर्छ। खाने कुरालाई ग्रहण गर्नु पर्ने आफ्नो कार्यलाई अगाडि बढाउँदै त्यसलाई पचाउने पट्टि लाग्दछ। अर्थात शरीरले भोजन ग्रहण गर्ने, त्यसलाई पचाउने, भोजन पचाएर त्यसबाट प्राप्त आवश्यक तत्वहरु शरीरका विभिन्न अंगहरुमा पठाउने र बाँकी रहेका तत्वहरुलाई मल, मुत्र, पसिना आदिको रुपमा शरीरबाट बाहिर पठाउने कार्य गर्दछ। यो किसिमको कार्य शरिरले स्वतन्त्र भएर गर्दछ। जस्तै सुतेको बेलामा पनि , भयभित भएको बेलामा पनि वा असहज परिस्थितिमा पनि पाचन प्रक्रिया शरिर भित्र चलिने रहेको हुन्छ। शरीरले आफ्नो कार्य निर्बाध रुपमा गरिरहेको हुन्छ।’
‘दोस्रो किसिमको अन्तरक्रियामा भने चेतना र शरिरले अलग अलग भइ कार्य त गर्दछन तर अन्तमा चेतनाद्वारा शरिर नियन्त्रित हुन पुग्दछ। उदाहरण का लागि विरामी वा कुनै घटनाद्वारा व्यक्तिको मष्तिष्क (चेतना) लाई घात पुगि त्यसले कार्य गर्न छाडेमा शरिरले केवल केहि अवधिसम्म मात्र स्वतन्त्र भइ कार्य गर्दछ। तर पछि क्रमिक रुपमा शरिरले पनि कार्य गर्न छाड्छ र अन्तमा शरीर र चेतनाले कार्य गर्ने प्रक्रिया एकैसाथ बन्द हुन्छ। अर्थात शरीरले चेतनाको आदेशलाई पूर्णतया स्वीकार गर्दछ।’
‘तेस्रो किसमको अन्तरक्रियामा चेतनाद्वारा आशिक रुपमा शरिर नियन्त्रित हुन्छ। उदाहरणका लागि कुनै व्यक्तिले पेटभरि खाना खाएपछि पनि यदि उसलाई त्यो खाने कुरा ज्यादै स्वादिलो लागेको छ भने उसलाई त्यो खाने कुरा खाउँ खाउँ लागि नै रहन्छ। उसको चेतनाले शरिरलाई नियन्त्रित गर्दछ र पेट भरे पनि मिठो कुरा जुन त्यसले मिठो मानेको छ, मिठो मानेर खाइ नै रहन्छ। पेटले, भरिएर उसलाई कार्य गर्न गार्हो भएको सन्देश मष्तिष्कलाई दिए पनि त्यस सन्देशको चेतनाले पूर्णतया बेवास्ता गर्दछ। पेट, अर्थात शरिले पनि चेतनाको आदेशलाई वेवास्ता गर्न नसकी खाने कुरालाई ग्रहण गरि नै रहन्छ। तर पेटमा अटाउने ठाँउ नभए पछि त्यसले चेतनाले दिएको आदेशलाई पूर्णरुपमा बेवास्ता गर्दछ। पेटले आफू भित्र रहेको र पचाउन कठीन भएको कुरालाई फाल्छ। पेटको क्षमताभन्दा बढी खाएको कुरा पेटले शरिरको आदेशमा बान्ताद्वारा फाल्छ, चेतनाको आदेशलाई वेवास्ता गर्दछ।’
‘यसरी चेतना र शरिरले एक अर्कासँग कुनै अवस्थामा गाँस्सिएर कुनै अवस्थमा स्वतन्त्र भएर गर्दछन। केही खास अवस्थाहरुमा बाहेक शरीरले चेतनासँग लगभग स्वतन्त्र जस्तो रहेर नै कार्य गर्दछ। त्यसकारण शरीर र चेतनाको सम्वन्ध धेरै हदसम्म स्वतन्त्र नै छ। त्यसकारण मेरो चेतनाले गरेको सजाए मेरो शरिरले नपाओस भन्ने मेरो तर्क छ। मेरो चेतनाले आफूखुसी त्यो अपराध गरेको थियो।’
‘फेरि, चेतनामाथि सामाजिक वातावरणको बलियो प्रभाव परेको हुन्छ। सामाजिक वातावरणको प्रभाव, जुन चेतनामा परेको हुन्छ, लाई हटाउन अति नै गार्हो हुन्छ। केहि अवश्थाहरुमा त सकिदैन भने पनि हुन्छ। तर शरीर (शारिरिक क्रिया) माथि सामाजिक वातावरणको प्रभाव पर्दैन। अर्को शव्दमा, सामाजिक वातावरणले व्यक्तिको शारीरिक क्रियालाई प्रभावित गर्न सक्तैन किनभने व्यक्तिको शरीर आफ्नै क्रियाद्वारा वा आफ्नैश व्यवस्थाद्वारा चलेको हुन्छ। उदाहरणका लागि बन्द सामाजिक व्यवस्था भएको देशमा जन्मी, हुर्कि एक खास उमेरमा कुनै एक खुला समाज भएको देशमा आएको व्यक्तिको शारिरीक आकार वा संरचनामा कुनै परिवर्तन हुन सक्तैन। उ जहाँबाट हिँडेको थियो र त्यहाँ जस्तो आकारको उसको शरीर थियो उ अर्को ठाउँमा पुगे पछि पनि उसको शरीरको आकार उस्तै रहन्छ। त्यसमा कुनै परिवर्तन हुँदैन। उसको वर्ण कुनै एक स्थानमा रहँदा सेतो थियो भने अर्को स्थानमा पुगे पछि कालो हुन सक्तैन। पुडको छ भने अग्लो हुन सक्तैन। अग्लो छ भने पुड्को हुन सक्तैन। उसको शारीरिक बनावट आधारभुत रुपमा पहिले जस्तो थियो त्यस्तै नै रहन्छ। उमेर बढेर शारिरिक अवश्थामा स्वभाविक किसिमको परिवर्तन आउनु भनेको बेग्लै किसिमको कुरा हो। तर त्यो व्यक्तिको चेतनामा भने अवश्य परिवर्तन आँउछ। अर्थात स्थान परिवर्तनले उसको चेतनालाई प्रभावित गर्दछ, यदि कुनै अपवादलाई छाडेर कुरा गर्ने हो भने। बन्द समाजबाट आएको व्यक्ति एक खुला समाज वा बढी स्वतन्त्रता रहेको देशमा आएर बढी स्वतन्त्र बिचारको हुन सक्छ। खुला समाजको वातावरणले प्रभावित पारी उसमा तत्काल परिवर्तन देखा पर्न सक्छ। अर्को उदाहरणमा, आफू हुर्केको ठाउँमा साडी लगाउने महिलाले विदेशमा आएर टिसर्ट र हाफ पैन्ट लगाउने गरेको देख्न सकिन्छ।’
‘सामाजिक वातावरणको प्रभावले व्यक्तिको चेतनालाई कहिले काहि यस किसिमबाट प्रभाव पार्दछ कि व्यक्तिको चेतना रङ्गको घोलमा सेतो कपडा राखिएको जस्तो हुन पुग्दछ। त्यो रङ्गमा रङ्गिएर, पछि त्यो कपडावाट त्यो रङ्ग कहिले नजाने जस्तो, बरु लुगा च्यातिएर जाने तर त्यो रङ्ग त्यो लुगावाट छुट्टिन नसक्ने स्थिति उत्पन्न हुन्छ। व्यक्तिको चेतनामा परेको उसको सामाजिक वातावरणको असर व्यक्तिको सामाजिक तथा निजी जीवनमा लामो कालसम्म देखा परिनै रहन्छ, सजिलै गरि जाँदैन।’
‘कुनै खास किसिमको सामाजिक परिवेशमा त्यक्तिलाई राखेर उसको व्यवहारमा त्यसै सामाजिक परिवेश अनुसारको उसको व्यवहारलाई तुल्याउन सकिन्छ। उदाहरणका लागि कुनै अति नै डर लाग्दो, कुख्यात, हत्यारा जसले २० सौ जनाको ज्यान लिएको छ, लाई, सन्त, महात्मा, धर्मात्मा, वा त्यस्ता व्यक्तिहरु जो जहिले पनि भगवानको पूजापाठमा व्यस्त रहन्छन, अर्काको सम्मपत्तिको मोह राख्नदैनन् , भक्तिमा लिन रहनुलाई नै आफ्नो जीवनको उद्देश्य वा मोक्ष ठान्दछन, संग लामो समयसम्म राखी दिने हो भने त्यो कुख्यात व्यक्ति धार्मिक स्वभावको हुन पुग्दछ, स्वभावमा परिवर्नत आएर। यसको ठीक बिपरित, यदि कुनै अति नै धार्मिक व्यक्तिलाई लामो समयसम्म अपराधी, हत्यारा, बेबिचारीहरुसँग राख्ने हो भने त्यो अति नै धार्मिक व्यक्ति त्यस किसिमका व्यक्तिहरुको सम्पर्कमा आएर ठूलो अपराधी हुन सक्छ। त्यस कारण चेतनामाथि सामाजिक वातावरणले ठूलो प्रभाव पार्ने गर्दछ। आम रुपमा धेरै मानिसहरु सामाजिक घटनाको प्रभावबाट मुक्त हुन सक्तैनन्। केहि मात्रले आफूलाई त्यस्तो प्रभाववाट मुक्त राख्न सक्छन। तर शरीर भने, चाहे अपराधीहरुको वा चाहे धर्मात्माहरुको माझमा बसोस त्यसमा कुनै किसिमको तात्विक अन्तर आउँदैन। शरीरलाई सामाजिक वातावरणले प्रभाव पार्दैन। शरिरको पाचन प्रणालीले अपराधीहरुको माझमा वस्दा पनि जुन किसिमले भोजन ग्रहण गर्ने, पचउने, र उत्सर्ग गर्ने कार्य गर्दछ, धार्मिक व्यक्तिहरुको माझमा बस्दा पनि त्यसै किसिमबाट कार्य गर्दछ। त्यसकारण हे न्यायमूर्ति, चेतना र शरिर अलग अलग भएको र यिनीहरुले अलग अलग रहेर कार्य गर्ने हुनाले मेरो यो चेतनाले गरेको अपराधको मेरो शरिरलाई सजाए नदिनुहोस, मेरो बिन्ति सुन्नुहोस।’
‘मानिसलाई कुनै खास किसिमबाट सोंच्न र त्यस सोंचाइ अनुसारको व्यवहार गर्न मौजुदा सामाजिक वातावरण वा घटनाले ठूलो प्रभाव पारेको हुन्छ। मानिस आफू रहेको सामाजिक वातावरण अनुसारको व्यवहार गर्न बाध्य हुन्छ, केही अपवादहरुलाई छाडेर कुरा गर्ने हो भने। उदाहरणका लागि कुनै खास ठाउँमा ठूलो भीड लागेको छ र त्यहाँ कुनै किसिमको अप्रिय घटना भयो (ठूलो विष्फोट भयो) भने त्यो भीडबाट सबै व्यक्तिहरु सुरक्षित ठाउँतिर भाग्छन। भाग्ने बेलामा तल कसैले पनि हेर्दैन कोइ उसको खुट्टाले कुलचिएको छ कि भनि। अन्त कतै नहेरी केवल भाग्ने दिशातिर ध्यान केन्द्रित गरि व्यक्तिहरु दौडिन्छन, अन्य सबै दोडिरहेको देखेर। सबैले जे गरिरहेका हुन्छन (त्यहाँको परिस्थिति अनुसार) त्येही गर्छन बाँकीहरुले पनि। बरु पछि त्यहाँ मानिस द्वारा मानिस किचिएको खवर सुनेर दुखी हुन्छन।’
‘र अर्को कुरा, सामाजिक वातावरण वा कुनै घटनाद्वारा व्यक्तिको चेतना प्रभावित भइ परिणाम स्वरुप उसको व्यवहारमा कुनै किसिमको नकारात्मक परिवर्तन आएको छ भने त्यो परिवर्तनलाई पूर्व स्थितिमा लग्न वा परिवर्तनलाई सकारात्म तुल्याउन सकिन्छ। भन्न खोजेको के हो भने दुष्ट, अपराधी व्यक्तिलाई असल सामाजिक वातावरण दिएर असल व्यवहार गर्ने तुल्याउन सकिन्छ। त्यसकारण मानिसको चेतना परिवर्तनशील हुन्छ। यसलाई चाहेको दिशातर्फ मोड्न सकिन्छ। तर शरिरलाई वा यसमा खोजे अनुसारको परिवर्तन कुनै अवस्थामा पनि ल्याउन सकिंदैन। मेरो शरिरिको बनाबटमा जति सुकै प्रयत्न गरेर पनि परिवर्तन ल्याउन सकिदैन। मेरो यो अनुहारलाई अर्को व्यक्तिको जस्तो तुल्याउन सकिँदैन। न्यायमूर्ति, मेरो यो अनुहार यूरोप गए पनि अफ्रिका गए पनि उस्तै रहन्छ जस्तो पहिले (जन्म अवस्था) देखि थियो। त्यसैले जुन कुरा परिवर्तनशील छ त्यसलाई, सकारात्मक किसिमको परिवर्तन आफूमा ल्याउन मौका दिइयोस, न्यायमूर्ति। कुनै समयमा, कुनै खास अवस्थामा, परिस्थिति, घटना वा सामाजिक परिस्थितिले गर्दा मेरो चेतनाद्वारा खास किसिमको बिचार निर्माण भयो र त्येही विचारले मलाई त्यस्तो अपराध गर्न उत्प्रेरित गर्यो। त्यसकारण मेरो चेतनाका साथै त्यो परिस्थिति जसले मेरो चेतनालाई यस किसिमबाट सोंच्ने अवस्थामा पुर्यायो त्यसलाई पनि दण्डित गर्नु पर्दछ। दण्डित न गरे पनि कमसे कम मेरो अपराधमा मेरो त्यो परिस्थिति पनि दोषी रहेको भनी स्वीकार गर्नु पर्दछ, घोषणा गर्नु पर्दछ।’
त्यो अपराधीले प्रस्तुत गरेका यी तर्कहरु उपस्थित आठ जना न्यायमूर्तिहरुले ध्यानपूर्वक सुने। अपराधीका तर्कहरु सुनिसके पछि उसको अपराधको लागि कस्तो फैसला सुनाउने भनी उपस्थित आठजना न्यायधीशहरु, तल्लो अदालत, जसले उक्त अपराधीलाई मृत्युदण्ड सुनाएको थियो, को फैसलालाई कायम राख्ने वा त्यो निर्णय पल्टाउने भन्ने कुरामा विभाजित भएको देखिए। चार जना न्यायधिश तल्लो अदालतले गरेको फैसलालाई कामय राख्ने, चारजना न्यायधिश पल्टाउने भन्ने निष्कर्षमा पुगेकोले यो अपिल अदालतले अर्को सुनवाइ गर्ने भनी पीडक र पिडित दुवैलाई निर्णय सुनायो।
विश्वराज अधिकारी
No comments:
Post a Comment