Tuesday, November 8, 2011

The Truthness of the Truth (Nepali Short Fiction) - Abhinaya - 16


      सत्यको सत्य


दर्शनशास्त्रको कक्षामा एक प्राध्यापकले भने सत्य र शक्ति  बीच घनिष्ट सम्बन्ध छ। शक्तिले जे भन्यो त्यो नै सत्य हो। जोसँग शक्ति हुन्छ, सत्यलाई सत्यको रुपमा प्रमाणित गर्ने क्षमता पनि  ऊ सँगै हुन्छ।
ती प्राध्यापकले फेरि भने हुन त यो संसारमा न त सत्य नै छ न त असत्य नै। सत्य त्यो हो जसलाई सत्य हो भनी तर्कहरुद्वारा प्रमाणित गर्न सकिन्छ। र मान्छेहरुले त्यसलाई सत्यको रुपमा स्वीकार गर्छन पनि। यसै गरी असत्य त्यो हो जसलाई असत्य भनी तर्कहरुद्वारा प्रमाणित गर्न सकिन्छ। अर्थात मान्छेहरुले त्यसलाई असत्यको रुपमा स्वीकार गर्ने पार्न सकिन्छ।
धेरै विद्यार्थीहरुले ती प्राध्यापकद्वारा दिइएको सत्यको परिभाषा बुझ्न सकेनन्। एक विद्यार्थीले भने बुझ्ने कोशिश गरेको संकेत गर्दै प्रश्न गर्यो त्यस्तो हो भने सत्य नै छैन त’?
प्राध्यापकले तत्काल उत्तर दिए हो, छैन।
त्यो विद्यार्थीले पुन: प्रश्न गर्यो सूर्यले प्रकाश दिन्छ भन्ने तथ्य के सत्य होइन त?
प्राध्यापकले अघि दिएको त्यो उत्तरलाई अलि प्रस्ट पार्दै भने सूर्यले प्रकाश दिन्छ भन्ने तथ्य त्यस बेला सम्मका लागि सत्य हो जबसम्म सूर्य आगो झैँ बलि रहन्छ। तर जब सूर्य सेलाउँछ र सूर्यबाट प्रकाश आउन बन्द हुन्छ, त्यस बेला  सूर्यले प्रकाश दिन्छ भन्ने तथ्य असत्य हुन पुग्छ।
प्राध्यापकको कुरा सुने पछि अर्को एक विद्यार्थीले सोध्यो त्यस्तो हो भने सत्यको आयु हुन्छ, हैन त?
प्राध्यापकले भने हो, सत्यको आयु हुन्छ र त्यतिमात्र होइन सत्य सापेक्षिक हुन्छ पनि। र स्थान अनुसार सत्यको रुप फरक फरक हुन सक्छ।
विद्यार्थीले मुहारमा अल्मलिएको भाव प्रदर्शित गर्दै प्रश्न गर्यो कसरी?
प्राध्यापकले हाँस्दै उत्तर दिए एउटा देशमा सत्य भनिएको कुरा अर्को देशमा असत्य हुन पुग्छ। अर्थात सत्य त्यो हो जसलाई सत्यको रुपमा मानिएको हुन्छ। मरुभूमिमा कसैले भन्छ बाढीले मानिसको ज्यान लिन्छ, घर गाउँ नै बगाउँन सक्छ भने उसको त्यो भनाइलाई मानिसले पत्याउँदैनन् किनभने त्यहाँ मानिसले बाढी नै देखेका हुँदैनन्। यसै गरी बाढी आइ रहने खोला छेउका मानिसलाई कसैले भन्छ, बाढीले मानिको ज्यान लिँदैन भने उसको त्यो भनाइलाई कसैले पत्याउँदैन किनभने त्यहाँका मानिसले पानीद्वारा रचिएको विनाशलीला आफ्नै आँखाले देखेका हुन्छन्, भोगेका पनि हुन्छन
प्राध्यापकले फेरि हाँस्दै विद्यार्थीहरुतिर हेरेर भने धेरै मानिसले त्यही गर्छन् जुन धेरै मानिसले गरेका हुन्छन्। धेरै महिलाहरुले कपाल पालेको हुनाले नै धेरै महिलाहरुले कपाल पालेको हो। त्यसकारण सत्य त्यो पनि हो जुन धेरैले मानिसले गर्दछन्।
सत्यका थप अर्थहरु पेश गर्ने मनस्थितिमा ती प्राध्यापक भए तापनि विद्यार्थीहरुले हाइ हाई गरेर प्रस्तुत विषयमा कम रूचि  देखाउन थाले पछि प्रध्यापक विषय परिवर्तन गर्न बाध्य भए। कक्षको निर्धारित समय पनि सकिन आँटेको थियो।

विश्वराज अधिकारी

1 comment:

  1. was very nice , truthness changes from place to place depend upon the taker.......should have more example

    ReplyDelete