Tuesday, November 29, 2011

A Serious Disease - Nepali Short Story - Abhinaya - 19


गंभीर रोग

यो बिरामीलाई डिस्चार्ज गरि सकिएको छ। रोग पनि……कुनै गम्भीर किसिमको रहेनछ। भोक भोकै धेरै दिन बसेको हुनाले शरीर कमजोर भएको ……। छिटै लग्नु पर्यो अस्पतालबाट, होइन भने अर्को गम्भीर बिरामीलाई बेड उपलब्ध गराउन गार्हो हुन्छ। बेड नपाएर त्यो गंभीर रोग लागेको बिरामीको ज्यानै पनि जान सक्छ अस्पताल प्रमुखले अर्ति-उपदेश सहित डिस्चार्ज भएको त्यो बिरामीको कुरुवाहरुलाई भने।
यो बिरामीको आफन्त , नातागोता कोही पनि छैन। कहाँ लैजाने यसलाई? हामीले त यो बिरामीलाई सडकमा लडिरहेको अवस्थामा उठाएर यो अस्पतालसम्म उपचारका लागि ल्याइदिएका हौ त्यो बिरामीलाई ल्याउने समाजसेवीहरुले जवाफ दिए।
यो बिरामीको व्यवस्था तपाँइहरुले नै जसरी भए पनि मिलाउनु पर्यो। हामीले त रोगीको शारीरिक रोगको इलाज गर्नु पर्ने हो, गर्यौ। गरीबी रोगको इलाज भने हामीसँग छैन केही क्रुद्ध देखिएता पनि मुहारमा सामान्य भाव प्रदर्शित गर्दै अस्पताल प्रमुखले पुन: भने।
समाजसेवीहरु तथा अस्पताल प्रमुखबीचको वार्तालाप सुनिरहेको त्यो बिरामी एउटा रोगवाट मुक्ति पाएकोमा केही प्रशन्न देखिन्थ्यो भने अर्को गम्भीर रोग आरम्भ हुन थालेकोमा ज्यादै चिन्तित।

विश्वराज अधिकारी

No comments:

Post a Comment